विगतमा हामीले गरेका व्यवहारका कारण केही मानसिक संस्कारहरुको निर्माण भएको हुन्छ जसले हामी कसरी काम गर्छौं, कसरी बोल्छौं र कसरी सोच्छौं भन्ने कुराको निर्धारण गर्छन्। कर्मले तिनै मानसिक संस्कारहरुतर्फ इंगित गर्छ। हाम्रा बानीहरुले मस्तिष्कमा निश्चित स्नायुपथहरु (neural pathways) को विकास गरेको हुन्छ, जसका कारण हामी निश्चित परिस्थितिमा निश्चित प्रकारका काम दोहोर्याइराख्छौं। सरल भाषामा भन्नु पर्दा हामीभित्र कुनै काम गर्ने इच्छा जागृत हुन्छ र हामी बाध्य भएर सोही काम गर्न थाल्छौं।
कर्मलाई भूलवश भाग्य वा नियति भनेर बुझ्ने गरिएको छ। कसैलाई कुनै चोटपटक लाग्यो वा सम्पत्ति नोक्सान भयो भने मानिसहरु भन्छन्ः “ओहो, भाग्य नै खराब रहेछ। उसको कर्म!” त्यसो भन्नु र परमेश्वरको ईच्छा भन्नु उस्तै हो – हामीलाई उक्त घटना कसरी भयो भन्ने थाहा हुँदैन र त्यसलाई आफ्नो काबुबाहिरको कुरा भन्ठान्छौं। बुद्धधर्मअनुसार कर्मको अवधारणा त्योभन्दा विल्कुल फरक हो। कर्मले हाम्रो त्यस्तो मानसिक संस्कार जनाउँछ जसका कारण हामी या त कसैसँग रिसले चुर भएर चिच्याउन थाल्छौं या उप्रतिको आफ्नो रिस अलि शान्त नहुञ्जेल धैर्यपूर्वक बस्छौं र समस्याको समाधान खोज्छौं। कर्मले त्यस्तो मानसिक संस्कार जनाउँछ जसले हामी भर्याङ ओर्लंदा आदतको रुपमा आफ्नो खुट्टा मर्किने गरी हिँड्छौं वा सुरक्षित रुपमा हिँड्छौं भन्ने कुराको निर्धारण गर्छ।
कर्मले कसरी काम गर्छ भन्ने बुझ्न धुम्रपानको उदाहरण लिन सकिन्छ। प्रत्येक पटक हामीले खाने चुरोटले अर्को चुरोट सल्काउनका लागि प्रेरणाको काम गर्छ। जति धेरै चुरोट खायो, त्यत्ति नै धेरै धुम्रपान गर्ने प्रवृत्ति प्रबल हुँदै जान्छ। हुँदा हुँदा कर्मको बलले हामीलाई थाहै नपाई अर्को चुरोट सल्काउन बाध्य बनाइसकेको हुन्छ। कर्मले त्यस्तो भाव वा आवेग जनाउँछ, जसका कारण धुम्रपान गरिन्छ। खासमा यो हामीले नै पहिलादेखि जम्मा गर्दै आएको बानीको बल हो। हामीले तान्ने चुरोटले फेरी त्यही काम दोहोर्याउने प्रवृत्तिलाई बल दिन्छ। यसले शरीरभित्रको त्यस्तो प्रवृत्ति र सम्भावनालाई पनि बल दिन्छ, जसका कारण क्यान्सरको विकास हुन्छ। चुरोट खाने संस्कार र त्यसबाट क्यान्सरको अवस्थासम्म पुग्नु भनेको हामीले नै जम्मा गर्दै आएको बाध्यकारी आवेगको परिणति हो, जसलाई “कर्मको विपाक” भनिन्छ।
बानी परिवर्तन
कर्मको अवधारणा अर्थपूर्ण छ किनकि यसले हाम्रा भावना र मनोवेगहरु कहाँबाट आउँछन् तथा हामी किन कहिले खुशी र कहिले दुःखी हुन्छौ भन्ने बुझ्न सघाउँछ। यी सब हामीले निश्चित ढाँचाबाट गर्ने व्यवहारको परिणामस्वरुप आउने हुन्। हामीले के गर्छौ र हामीमाथि के घटित हुन्छ भन्ने कुरा पहिल्यै निर्धारित हुँदैन। पूर्वनिर्धारित भाग्य वा नियति भन्ने कुरा हुँदैन।
“कर्म” भन्ने शब्दले सक्रिय शक्ति जनाउँछ। यसले भविष्यमा हुने घटनाहरु तपाईंकै हातमा हुन्छ भन्नेतर्फ इंगित गर्छ। – चौधौं दलाई लामा
हामी आफूलाई आफ्नो बानीको दास भन्ठान्छौं। आदतको रुपमा गर्ने व्यवहारका लागि हाम्रो स्नायुतन्त्रमै निश्चित ढाँचा बनेको हुँदा त्यस्तो लागेको हुन सक्छ। तर बुद्धधर्मअनुसार बानीहरुमाथि विजय प्राप्त गर्न सम्भव छ। हामी जीवनपर्यन्त आफ्ना स्नायुपथहरुमा परिवर्तन गर्न र नयाँ स्नायुपथहरुको निर्माण गर्न सक्छौं।
हाम्रो मनमा कुनै काम गर्ने भाव उत्पन्न हुनु र कर्मको बलले साँच्चिकै त्यो काम गरिहाल्नुबीच केही समय हुन्छ। मनमा जे भाव आयो हामी त्यो गरिहाल्दैनौं, किनकि हामी सबैले सानैदेखि आफूलाई रोक्न सिकेका हुन्छौं। शौच प्रशिक्षण त हामीले पक्कै पनि लिएकै हुन्छौं ! त्यस्तै कसैलाई पीडा पुग्नेगरी बोल्नुअघि हामी सोच्न सक्छौं – “यो कुरा भनौं कि नभनौं?” अरुलाई चिच्चाएर गाली गर्दा हामीलाई केहीबेर राहतको महसुस होला। तर गाली गर्ने बानी नै छ भने हाम्रो मन दुःखी रहेछ भन्ने बुझ्नुपर्छ। हामी सबैलाई थाहा छ, वार्ताद्वारा द्वन्द्वको समाधान गर्दा खुशी र शान्ति प्राप्त हुन्छ। सकारात्मक र नकारात्मक कार्यबीच भेद गर्न सक्नुले नै मानिसलाई जनावरभन्दा फरक बनाउँछ। हाम्रा लागि यो क्षमताको ठूलो महत्व छ।
तर, नकारात्मक काम गर्नबाट आफूलाई रोक्न त्यत्ति सजिलो छैन। मनमा जे भाव उत्पन्न हुन्छ, त्यसप्रति सचेत हुने पर्याप्त अवसर (स्पेस) भयो भने मात्र हामी आफूलाई रोक्न सक्छौं। होशमा रहने अभ्यासले हामीलाई त्यो अवसर (स्पेस) दिन्छ। त्यसैले बौद्ध शिक्षामा होशमा रहने अभ्यासलाई महत्व दिइन्छ। यो अभ्यासले हामीलाई शान्त बनाउँछ, र हामी के सोच्छौं, के बोल्छौं वा के गर्छौं भन्ने कुराप्रति बढी सचेत हुन थाल्छौं। हामी यसरी विश्लेषण गर्न सक्छौं – “मलाई केही भन्न मन लागेको छ तर यसले अरुलाई दुःखी बनाउँछ। मैले त्यो कुरा भनेको खण्डमा समस्या उत्पन्न हुन्छ, त्यसैले भन्दिनँ।” त्यसपछि हामी के बोल्ने र के नबोल्ने, छनौट गर्न सक्छौं। यसका विपरीत हामीले होशमा रहने अभ्यास गरेका छैनौँ भने मनको वशमा परेर जे विचार आयो त्यो बोलिहाल्छौं, जे मन लाग्यो त्यही काम गरिहाल्छौं। यसले हामीलाई दुःखबाट कहिल्यै छुटकारा दिने छैन।
आफ्नो भविष्य जानौं
भविष्यमा के भोग्नुपर्ला भन्ने कुरा हामी आफ्नै विगत र वर्तमानका कर्मगत व्यवहारलाई हेरेर भन्न सक्छौं। दीर्घकालीन रुपमा हेर्ने हो भने सकारात्मक कामले हामीलाई खुशी दिन्छ, नकारात्मक कामले अवान्छित परिणाम निम्त्याउँछ।
कुनै निश्चित कर्मको विपाक कस्तो होला भन्ने कुरा विभिन्न तत्त्वहरु र परिस्थितिहरुमा निर्भर गर्छ। एउटा बललाई आकाशतिर फ्याँक्यो भने हामी निश्चित रुपमा भन्न सक्छौं, त्यो बल जमीनमा खस्छ। तर हामीले त्यो बललाई बीचमै समात्यौँ भने जमीनमा खस्दैन। त्यस्तै विगतको अनुभवका आधारमा भविष्यमा के होला भनेर अनुमान लगाउन सकिन्छ। तर त्यो अनुमान ढुंगामा कुँदेको जस्तो वा दैवी निर्देशजस्तो सुनिश्चित र अपरिवर्तनीय हुँदैन। अरु धेरै प्रवृत्ति, कार्य, वा घटनाक्रमले कर्मको परिणामलाई प्रभावित गर्न सक्छन्। हामी मोटोपनको विमारी छौं र धेरै मात्रामा अस्वस्थकर खानेकुरा खाइराख्छौं भने भविष्यमा मधुमेहको रोग लाग्ने सम्भावना प्रबल हुन्छ। तर हामीले दृढतापूर्वक आफ्नो खानपान सुधार्यौ र तौल घटायौं भने रोग लाग्दै नलाग्न सक्छ।
भूईंमा खुट्टा बजार्यो भने निश्चित रुपमा दुख्छ। यो स्वाभाविक कुरा हो, यसका लागि कर्म वा कारण–परिणाम जस्ता कुरामा विश्वास गरिराख्नु पर्दैन। हामीले आफ्नो बानी सुधार्यौ र कल्याणकारी बानीहरुको विकास गर्यौ भने निश्चय नै सकारात्मक परिणाम आउँछ, चाहे हाम्रो धारणा जेसुकै होस्।