What is happiness catalin pop noyd

खुशी दीगो कल्याणको अनुभूति हो। यो चित्तमा शान्ति र जीवनमा सन्तुष्टिको भाव हो। हामी सबै सधैंभरी खुशी खोजिरहेका हुन्छौं। यसको अलिकति मात्र स्वाद पाइयो भने यो अवस्था सधैंका लागि कायम रहोस् भन्ने चाहन्छौं।

मानिसहरु सुखसयल र खुशीमा झुक्किन सक्छन्। हामीहरु प्रायः सोच्ने गर्छौं – मीठो खानेकुरा खान पाउँदा, महँगो कपडा लगाउन पाउँदा र सधैभरी मोजमस्ती गर्न पाउँदा खुशी भइन्छ। तर हामीले सोचेजस्तो यी सुखसयलहरूले काम गर्दैनन्। हामी यस्तो पनि सोच्न सक्छौं कि आवश्यकताहरु र चाहनाहरू पूरा भए हामी खुशी हुनेछौं। तर यथार्थमा आफ्नो बारेमा मात्र सोचिरहँदा हामी झन् एक्लो र निराश हुनपुग्छौं।

हामीलाई कहिलेकाहीँ आफ्ना विचार र मनोभावहरूसँग एक्लै बस्नुपर्दा दिक्क लाग्न सक्छ। त्यस्तो बेला हामी आफूलाई भुलाउनका लागि संगीत, कम्प्युटर गेम, खानेकुरा वा यौनको सहारा लिन थाल्छौं वा पेशागत काममा हराउन थाल्छौं। तर त्यसले हामीलाई अरुसँग नजीक ल्याउन सक्दैन, न त साँच्चिकै खुशी नै दिन सक्छ।

खुशी हुन र अरुसँग जोडिनका लागि हामी प्रायः सामाजिक सञ्जाल (सोसियल मिडिया) को सहारा लिन थाल्छौं। अरुले हाम्रो सेल्फीमा गर्ने “लाइक” र साथीहरूको “कमेन्ट” ले हामीलाई केहीबेर सुखको अनुभूति दिन सक्छ। तर त्यस्तो सुख क्षणिक हुन्छ र हामीलाई त्यसको अझ बढी चाहना हुन थाल्छ। हामी बारम्बार आफ्नो फोन चेक गर्न थाल्छौं। हामीलाई सुखको अर्को मात्रा चाहिन्छ। तर जतिसुकै “लाइक” वा “मेसेज” पाए पनि अंततः हामी अरुसँगको आत्मीयता कम भएको अनुभव गर्न थाल्छौं।

बुद्धले भन्नुभएको छ – वास्तविक खुशीको सबैभन्दा ठूलो उपाय अरुको खुशीमा रमाउनु हो। भित्रदेखि नै अरुको कल्याण र खुशीको कामना गर्यो भने हाम्रो हृदय खुला तथा प्रेमपूर्ण हुन थाल्छ र हामी स्वतः अरुसँग बढी नजीक अनुभव गर्न थाल्छौं। हाम्रो आफ्नै पनि कल्याण हुन थालेको अनुभव गर्छौं। शारीरिक स्तरमै हामीले आरामको अनुभूति गर्न थाल्छौं। अरुको खुशीको कामनाका साथ हामी उनीहरूलाई सकेसम्म सहयोग गर्न र हानिबाट बचाउन प्रयत्नशील हुन्छौं। त्यसले विश्वास र मित्रताको वातावरण बनाउँछ र हाम्रो जीवन अर्थपूर्ण हुन थाल्छ। परिवार र साथीहरूको भावनात्मक सहयोग पाएर हामी जीवनमा आइपर्ने जुनसुकै चुनौतिको सामना गर्न सक्षम भएको अनुभूति गर्न थाल्छौं।

तर अरुको कल्याण गर्न सक्षम हुनका लागि हामीले आफैंबाट काम शुरु गर्नुपर्छ। पहिला आफ्नो ख्याल राखौं। यदि आफ्नै खुशीको कामना गर्न सकिएन भने अरुको पनि गर्न सकिँदैन। बुद्धधर्ममा हामी विश्वव्यापी रुपमा सबैको खुशीको कामना गर्छौं। 

खुशी आन्तरिक शान्तिमा निर्भर गर्छ, जसका लागि हृदयमा स्नेहको भाव हुनुपर्छ। चौधौं दलाई लामा

हामी सजिलै सोचिदिन्छौं – यो संसारमा कुनै पनि परिवर्तन ल्याउन हामी पूर्णतया असमर्थ छौं भनेर। त्यसैले हाम्रो मनमा विचार आउँछ – “जेसुकै होस्। मलाई के मतलब?” तर यथार्थमा हामीले कसैको कल्याणको कामना गर्यौ र सहयोग गर्ने प्रयास गर्यौ भने बिल्कुलै अपरिचित मान्छेहरुमा पनि त्यसको प्रभाव पर्छ। आफ्नो प्रयासले जुनसुकै स्तरमा भएपनि हामी सकारात्मक प्रभाव पार्न सक्छौं। कसैलाई देख्दा मुस्कुराउने वा लाईनमा एकजनालाई अगाडि जान दिनेजस्तो एकदमै सामान्य काम गर्दा पनि हामीलाई ठूलो आत्मसन्तुष्टि मिल्न सक्छ – अरुलाई दिन हामीसँग केही त छ भनेर। हामी आफैँसँग र जीवनसँग खुशी हुन थाल्छौं।

अरुसँग सम्बन्ध सुधार्नका लागि उनीहरूको खुशीको कामना गर्नुपर्छ र कसरी उनीहरुलाई सहयोग गर्न सकिन्छ भनेर सोच्नुपर्छ। अरुको अवस्था देखेर आफूलाई महत्वपूर्ण ठान्ने र त्यसैमा रमाउने गर्न थाल्यो भने पक्कै पनि हामी कसैसँग नजीक हुन सक्दैनौं। हामी आत्म–केन्द्रित हुने कि सच्चा हृदयले अरुको कल्याणको कामना गर्ने, सोच्नु जरुरी छ।

हामी मानिसहरु सामाजिक प्राणी हौं। अरुसँगको आत्मीय सम्बन्धमा मात्र हामी खुशी रहन सक्छौं। खुशी जीवन जीउनका लागि हामीले दयालुपन तथा अरुप्रति करुणा र स्नेहको भाव जागृत गर्नुपर्छ।


Top