बोधि के हो?

बोधि प्राप्त गर्नुको अर्थ बुद्ध बन्नु हो, मानवजातिको विकास र सामर्थ्यको उच्चतम स्तरमा पुग्नु हो। बुद्धधर्मको उच्चतम लक्ष्य यही हो। यस पृथ्वीका प्रत्येक प्राणीभित्र त्यो अवस्थामा पुग्ने क्षमता विद्यमान रहेको हुन्छ।

अहिले हामीहरु बुद्ध भैसकेका छैनौं। हामी अनेकौं समस्याहरु र निरन्तरको उतारचढावयुक्त जिन्दगी बाँचिरहेका छौं। हामी भ्रमपूर्ण जिन्दगी बाँचिरहेका छौं जहाँ हाम्रो मनले सम्पूर्ण जगतलाई आफ्नो निरर्थक र भ्रमपूर्ण दृष्टिकोणबाट हेर्छ, र हामी त्यसैलाई सत्य भन्ठान्छौं। सुख पाउने भ्रममा हामी ती कुराहरु गरिरहेका हुन्छौं जसले वास्तवमा हामीलाई थप दुःखी बनाइरहेको हुन्छ।

प्रायः हामी अरुलाई कस्तो असर पर्छ भन्ने कुराको रत्तिभर पनि फिक्री नगरी आफ्नो मनखुशी कामहरु गरिरहेका हुन्छौं। हामी आफूलाई ब्रह्माण्डको केन्द्रविन्दु भन्ठान्छौं र आफूलाई नै सर्वोपरी ठान्छौं। यो सोचाई यथार्थभन्दा विल्कुल फरक हो। यो स्वार्थी सोच हो। यसले आफैंलाई र अरुलाई दुःखी मात्र बनाउँछ। बोधिको अवस्थामा पुग्नका लागि हामीलेः

  • आफ्नो व्यवहारको आफैंमाथि र अरुमाथि कस्तो असर पर्छ भन्ने कुरा बुझेर नकारात्मक कामहरु गर्नबाट बच्नु पर्छ।
  • सृष्टिका तत्त्वहरुको यथार्थ स्वरुप जानेर तिनका बारेमा भ्रमपूर्ण दृष्टिकोण बनाउनबाट आफूलाई बचाउनु पर्छ। 

जब हामी मनका भ्रमपूर्ण दृष्टिकोणहरुबाट मुक्त हुन्छौं, तब ती भ्रमहरुमा आधारित नकारात्मक मनोभावहरु (जस्तै रिस, घृणा, लोभ, ईर्ष्या आदि) हाम्रो चित्तमा आउन बन्द हुन्छन्। अनि हामी फेरी कहिल्यै ती नकारात्मक मनोभावहरुको वशीभूत भई बाध्यकारी आचरणहरु गर्ने छैनौं। तर यसका लागि निम्न कुराहरू आवश्यक छन् :

  • नैतिक आत्म–अनुशासन, जसले अविवेकी व्यवहारबाट बच्ने शक्ति प्रदान गर्छ।
  • एकाग्रता, जसले व्याकुलता वा अल्छीपनाबाट बचाउँछ।
  • विवेक, जसले लाभकारक र हानिकारक कुराहरू तथा सत्य र झूठबीच फरक छुट्याउन सहयोग गर्छ।
  • संवेगात्मक सन्तुलन, जसले प्रेम र करुणाजस्ता सकारात्मक गुणहरूको विकास गर्न सहयोग गर्छ।

यी कुराहरुबाट हामीले मनलाई शान्त गराउन सक्छौं तर त्यो मात्र पूर्ण हुँदैन। प्रत्येक प्राणी र प्रत्येक पदार्थबीच जुन अन्तरसम्बन्ध र परस्पर निर्भरता हुन्छ, त्यो बुझ्नु पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले सबैको हित गर्ने सर्वोत्तम उपाय कुन हो भनेर निश्चित गर्न त्यत्ति सजिलो हुँदैन।

यसका लागि हामी पूर्ण ज्ञानप्राप्त बुद्ध हुनुपर्छ। त्यो अवस्थामा हाम्रो मनले कुनै कुरामा आफ्नो तर्फबाट केही पनि प्रक्षेपण गर्दैन। हामी सम्पूर्ण सृष्टिको अन्तरसम्बन्ध र परस्पर निर्भरता स्पष्ट रुपमा देख्न सक्छौं। तब हामीलाई अरुको हित गर्ने सही उपायको स्पष्ट ज्ञान हुन्छ। त्यसका लागि हाम्रो शरीरमा असीमित क्षमता आउँछ।   हामी अरुलाई ठ्याक्कै के भन्न खोजेको हो, बुझाउन सक्छौं। हाम्रो चित्तले कुनै पनि कुराको ज्ञान सम्पूर्ण रुपमा लिन सक्छ। प्रत्येक प्राणीका लागि हाम्रो मनमा प्रेम, करुणा र स्नेहको भाव अत्यन्तै प्रगाढ हुन्छ, मानिलिऊँ ती सबै हाम्रा आफ्ना प्रिय सन्तान हुन्। हामी सबैको कल्याणका लागि काम गर्छौं र बदलामा केही पनि चाहँदैनौं। जब हामीमा ज्ञानको उदय हुन्छ, हामीले धैर्य गुमाउने वा रिसाउने भन्ने कुरै हुँदैन। कुनै निश्चित व्यक्तिप्रति हाम्रो आसक्ति हुँदैन। आफू धेरै व्यस्त भएका कारण वा थाकेका कारण समेत कसैको बेवास्ता गर्ने काम हामीले गर्दैनौं।

जब हामी बुद्ध बन्छौं, हामी सर्वज्ञ हुन्छौं तर सर्वशक्तिमान चाहिँ हुँदैनौं। हामीले त्यत्तिकै अरुको दुःख हरण गरिदिन सक्दैनौं, तर उनीहरुलाई ज्ञान बाँडेर र आफैं उदाहरण बनेर सही बाटो देखाउन सक्छौं। बोधिसम्मको बाटो तय गर्नका लागि हामीलेः

  • सकारात्मक उर्जाको अथाह भण्डार आफूमा जम्मा गर्नुपर्छ र अरुलाई स्वार्थरहित भएर यथासक्य सहयोग गर्नुपर्छ।
  • यथार्थलाई सही रुपमा हेर्ने अभ्यास गर्नुपर्छ र संसार हेर्ने आफ्ना दोषपूर्ण दृष्टिकोण बन्द गर्नुपर्छ।

बोधिको अवस्थासम्म पुग्ने बाटो निर्माण गर्नका लागि हामीसँग कच्चा सामग्री छन्ः मानव शरीर र बुद्धि–विवेक। हाम्रो चित्त र हृदयको स्वभाव आकाशजस्तै हुन्छ, यिनमा विचलनकारी मनोभाव र अशान्त विचारहरु आउन सक्छन् तर प्रदूषित गर्न सक्दैनन्। हामीले केवल त्यो स्वभावलाई पूर्ण क्षमतामा प्रस्फुटित मात्र गर्नुपर्छ।

हामीलाई लाग्न सक्छ बोधि भनेको प्राप्त गर्नै नसकिने लक्ष्य हो। हुन पनि यो कठिन छ। कसैले पनि आजसम्म सजिलै बोधिको अवस्था प्राप्त गरेको दावी गरेको छैन। तर त्यो दिशातर्फ अग्रसर हुन सकेमा जीवनले अद्भुत अर्थ पाउँछ। सबैसँग आफ्नो अन्तरसम्बन्ध रहेको ज्ञान भएपछि निराशा र वेचैनीबाट हामी मुक्त हुन्छौं। हाम्रो जीवन धन्य बन्छ, जब हामी सबैभन्दा ठूलो यात्रामा निस्कन्छौं। त्यो यात्रा हो, सबैको कल्याणका लागि बोधि प्राप्त गर्ने।

Top