मानव सभ्यतामा उपलब्ध प्राचीनतम साहित्यहरूमध्ये कतिपय प्रार्थनासँग सम्बन्धित छन्, चाहे ती सुमेरका मन्दिरमा भेटिएका श्लोकहरू हुन् वा प्राचीन इजिप्टमा गरिने ईश्वरका वन्दनाहरू। वर्तमान विश्वका अधिकांश प्रमुख धर्महरूमा पनि कुनै न कुनै रूपमा प्रार्थनाको उपस्थिति देखिन्छ। ईसाई, मुसलमान र यहुदीहरू आफ्ना परमेश्वरको प्रार्थना गर्छन् भने हिन्दूहरू पनि आफ्ना अनेक भगवानमध्ये कसैको स्तुति गर्छन्। सतही रूपमा हेर्दा बुद्धधर्ममा पनि उही हो। कुनै पनि बौद्ध देशका मन्दिर वा विहारमा जानुभयो भने त्यहाँ कैयौं श्रद्धालुहरू हात जोडेर बुद्धको मूर्तिअगाडि केही शब्दहरू उच्चारण गरिरहेका भेटिन्छन्। तिब्बती बुद्धधर्मसँग परिचित हुनुहुन्छ भने त त्यहाँ अंग्रजीको प्रार्थना (प्रेयर) शब्दसँग जोडिएका अनेक चीज पाउनुहुनेछ – माला (प्रेयर बिड्स), माने (प्रेयर ह्वील), लुङ्ता (प्रेयर फ्ल्याग) आदि।
प्रार्थनाको क्रियामा तीन तत्त्वहरू हुन्छन् – जसले प्रार्थना गर्छ, जसप्रति प्रार्थना गरिन्छ, र जुन विषयका लागि प्रार्थना गरिन्छ। त्यसैले बुद्धधर्मको सन्दर्भमा प्रार्थना अलि जटिल विषय बन्न पुग्छ। कुनै सृष्टिकर्ता सत्ता नमान्ने अनीश्वरवादी धर्मका अनुयायीहरू कोसँग प्रार्थना गर्छन् र के प्रयोजनले गर्छन्? हामीलाई वरदान दिने कुनै सत्ता छैन भने प्रार्थना गर्नुको के तुक भयो र? बौद्धमार्गीहरूका लागि मूलप्रश्न हो – “हाम्रा दुःख र समस्याहरू समाधान गरिदिने कुनै बाहिरी सत्ता हुन सक्ला र?”
परिवर्तनका लागि केवल प्रार्थना मात्र पर्याप्त हुँदैन। कर्म गर्नु आवश्यक हुन्छ। – परम पूजनीय चौधौं दलाई लामा
बुद्धले भन्नुभएको थियो कि कसैले पनि, यहाँसम्म कि सम्पूर्ण प्रज्ञा र क्षमताले युक्त बुद्ध स्वयंले पनि, हाम्रा सबै समस्याको समाधान गरिदिन सक्दैनन्। त्यो असम्भव नै हो। हामीले आफ्नो जिम्मेवारी आफैंले लिनुपर्छ। यदि हामीलाई दुःख र समस्याबाट मुक्ति चाहिएको छ भने तिनको कारणबाट हामी टाढा रहनुपर्छ। यदि हामीलाई खुसी चाहिएको छ भने खुसीका कारणहरू आफैंले निर्माण गर्नुपर्छ। बौद्ध दृष्टिकोणअनुसार विशुद्ध नैतिक आचरण र सदाचारले हामी त्यो अवस्था पाउन सक्छौं। आफ्नो व्यवहार र दृष्टिकोण बदलेर चाहेजस्तो जीवनको निर्माण गर्ने दायित्व हाम्रो आफ्नै हो।
बौद्धमार्गी कोसँग प्रार्थना गर्छन्?
हामी बौद्धमार्गीहरूले मूर्तिका अगाडि दण्डवत ढोग गरिरहेको, मन्दिरमा धुप बालिरहेको, हलभित्र कुनै श्लोकहरू पढिरहेको देख्छौं। उनीहरू कोसँग प्रार्थना गरिरहेका होलान् र के मागिरहेका होलान्? हुनत केही मानिसहरू “हे शाक्यमुनि बुद्ध, मलाई मर्सिडिज कार दिलाइदिनुस्!” वा “हे भैषज्य बुद्ध, मेरो रोग निको पारिदिनुस्!” भनेर प्रार्थना गर्लान्, तर अधिकांश बौद्ध गुरुहरूको दृष्टिमा यस्तो प्रार्थनाले सम्भवतः केही लाभ गर्दैन।
खासमा बुद्धधर्ममा हामी बुद्ध र बोधिसत्त्वहरूसमक्ष त्यस्तो प्रेरणा र बल प्राप्त होस् भनी प्रार्थना गर्छौं जसबाट हामी आफ्ना लागि सुखको हेतु निर्माण गर्न आत्मसुधारको काम गर्न सकौं र साथसाथै अरूलाई सकेसम्म सहयोग गर्न सकौं। यसको अर्थ उनीहरूले कुनै जादूको छडी घुमाइदिने र अकस्मात् हामीले कुनै विशिष्ट शक्ति प्राप्त गर्ने होइन। बरु उनीहरूलाई उदाहरणका रूपमा लिँदै, र उनीहरूलाई आफ्नो आदर्श मान्दै, हामी यस्तो आत्मविश्वासले भरिन्छौं – “म त्यो अवस्था प्राप्त गर्न सक्छु!”
सूत्र पाठ गर्ने, मन्त्र जप्ने, तथा इष्टदेवको मानस–दर्शन गर्ने लगायतका बुद्धधर्मको प्रार्थना क्रिया हामीलाई आफूभित्र विद्यमान क्षमतासँग परिचित गराउने र करुणा, उत्साह, धैर्य जस्ता कुशल मनोभावको विकास गर्ने उद्देश्यले गरिन्छन्। यसका साथसाथै सिर्जनात्मक काम गरेर अरूलाई सहयोग गर्न सक्षम बनाउने पनि यसको उद्देश्य हुन्छ।
सप्ताङ्ग वन्दना
सप्ताङ्ग वन्दना बुद्धधर्मको प्रसिद्ध अभ्यास हो। यसमा सम्पूर्ण बौद्ध मार्गको सार समाहित छ। यसका सात अङ्ग वा चरण छन्, प्रत्येकको एक विशेष प्रयोजन छ –
(१) म सबै बुद्धहरूलाई वन्दना गर्छु, जसले तीनै कालमा हामीलाई अनुगृहित गर्नुभएको छ। धर्म र उच्चकोटीका संघलाई वन्दना गर्छु। यो विश्वमा जति परमाणुहरू छन् त्यति नै शरीरले युक्त भएर म सबैप्रति दण्डवत गर्छु।
(२) मञ्जुश्रीलगायतले जसरी तपाईंलाई पूजन गर्नुभयो, हे जिन, त्यसैगरी म तपाईं तथागत र तपाईंका सबै सन्ततिलाई पुज्दछु।
(३) अनादिकालदेखि चलिआएको संसारमा यो र विगतका जन्महरूमा मैले नजानिकन जति पापहरू गरेँ र अरूहरूलाई गर्न लगाएँ, र फेरी मूढतावश ती पापहरूमा हर्ष मनाएँ – जेजति पनि त्यस्ता काम गरेँ, ती सबै मेरा भूल थिए, हे नाथ, तपाईंसामु म अन्तरहृदयदेखि ती सबै पापको देशना गर्छु।
(४) सबै सीमित क्षमतायुक्त सत्त्वलाई सुख प्रदान गर्नका लागि, तिनको हित गर्नका लागि तपाईंले बोधिचित्त उत्पाद गर्नाले उत्पन्न पुण्यबलको महासागरलाई म हर्षपूर्ण अनुमोदन गर्दछु।
(५) हत्केलाको अञ्जलि बाँधी सबै दिशाका बुद्धहरूलाई म प्रार्थना गर्छु, कृपया मोहको अन्धकारमा रुमल्लिइरहेका सबै दुःखी सत्त्वहरूलाई धर्मको उज्यालो प्रदान गर्नुहोस्।
(६) सबै दुःखको पार निर्वाणमा जान लाग्नुभएका हे जिन, म हत्केलाको अञ्जलि बाँधी यो याचना गर्दछु, कृपया तपाईं अनन्त कल्पसम्म यहीँ रहिरहनुहोस्, यी सबै सत्त्वलाई अन्धकारमा नछाड्नुहोस्।
(७) यसप्रकारले जेजति अभ्यास गरी जेजति पुण्य मैले आर्जन गरेँ, ती सबैका बलले म सबै सीमित क्षमतायुक्त सत्त्वको हरेक दुःख नाश गर्नसकुँ।
- यो प्रार्थनाको पहिलो अंग ढोग हो। हामी बुद्धहरूलाई ढोग्छौं, जसको अर्थ हो, हामी उहाँहरूले प्रतिनिधित्व गर्ने करुणा, मैत्री, र प्रज्ञाप्रति आदर गर्छौं। ढोगको अभ्यासमा हामी शरीरको सर्वोच्च अंग अर्थात् टाउकोलाई जमीनमा राख्छौं। यसले अहंकार हटाउन र विनम्रता अंगाल्न सहयोग गर्छ।
- त्यसपछि हामी पूजन गर्छौं। धेरै बौद्धहरूले पानीले भरेको कचौरा अर्पण गर्छन्, तर यहाँ मुख्य कुरा के वस्तु प्रयोग गरिन्छ भन्ने होइन। मुख्य कुरा त अर्पण गर्ने हाम्रो आसय हो – हामी आफ्नो समय, उर्जा, परिश्रम र सम्पत्ति अर्पण गर्छौं। यसले आसक्ति हटाउन सहयोग गर्छ।
- तेस्रोमा हामी आफ्नो कमीकमजोरी र भूलको स्वीकारोक्ति (पापदेशना) गर्छौ)। कतिपय बेला हामी अल्छी र स्वार्थी हुन्छौं, र कतिपय बेला हामी नकारात्मक (अकुशल) काम गर्छौं। यी सबैलाई हामी स्वीकार्छौं, त्यसप्रति पश्चात्ताप गर्छौं, र भविष्यमा तिनलाई फेरी कहिल्यै दोहोरिन नदिने दृढ अठोट गर्छौं। यसले नकारात्मक कार्मिक प्रवृत्तिको प्रभावबाट मुक्ति पाउन सहयोग गर्छ।
- त्यसपछिको अंग हो, अनुमोदन । हामी आफूले सम्पन्न गरेका सबै असल कार्य र अरूले गरेका तमाम अद्भूत सकारात्मक कार्यहरूको स्मरण गर्छौं। बुद्धहरूले गरेका महान कार्यहरूको पनि स्मरण गर्छौं। यसले ईर्ष्याबाट मुक्ति पाउन सहयोग गर्छ।
- त्यसपछि हामी शिक्षाका लागि अनुरोध (अध्येषणा) गर्छौं। यसले हाम्रो चित्तलाई ग्रहणशील बनाउँछ। यहाँ हाम्रो तात्पर्य यस्तो हुन्छ – “हामी ज्ञान लिन चाहन्छौं, हामी आफ्ना र अरूका लागि सुखको हेतु निर्माण गर्न चाहन्छौं।”
- त्यसपछि हामी आफ्ना गुरुलाई कहिल्यै छाडेर नजानुहोस् भनी याचना गर्छौं। अघिल्लोमा हामीले शिक्षा दिनुहोस् भन्यौं, र यसमा गुरुलाई हामीलाई नछाड्नुहोस्, यहीँ रहेर हामीलाई पूर्ण बोधि प्राप्त नहुञ्जेल शिक्षा दिनुहोस् भनेर याचना गर्छौं।
- अन्तमा सबैभन्दा महत्त्वपूर्ण अंग आउँछ, त्यो हो परिणामना। हामीले जेजति पुण्य आर्जन गर्यौं त्यसलाई समर्पित गर्छौं ताकि त्यसबाट आफ्नै तथा अरू सबै सत्त्वको हित होस्।
प्रार्थनाको यो तरीकाबाट स्पष्ट हुन्छ कि, बुद्धधर्ममा प्रार्थनाको उद्देश्य कुनै बाह्य सत्ता कहीँबाट उत्रेर हामीलाई सबै समस्याबाट सर्लक्कै बचाइदेओस् भन्ने होइन। भनाई नै छ, “तपाईं घोडालाई पानीसम्म लैजान सक्नुहुन्छ, तर पानी पिलाउन सक्नुहुन्न।” अर्को शब्दमा भन्ने हो भने, बुद्धले हामीलाई बाटो त देखाउँछन्, तर काम हामीले आफैं गर्नुपर्छ अनि मात्र आसक्ति र अज्ञानताबाट बच्न सक्छौं, र हामी सबैसँग भएको अथाह सिर्जनात्मक सम्भाव्यतालाई विकसित गर्न सक्छौं।
सारांश
बाह्य रूपमा हेर्दा बुद्धधर्ममा प्रार्थनाका सबै साज–सामान र विधिहरू छन्। तर यसको अर्थ कुनै बाह्य तत्त्वलाई हाम्रो दैनिक जीवनमा सहायताका लागि अनुनय गर्ने होइन। बुद्ध र बोधिसत्त्वहरू हाम्रा अनुकरणीय आदर्श हुन् जसले हामी अहिले भएको अवस्थाबाट पूर्ण बोधि प्राप्तिसम्मको बाटो देखाउन सक्छन्। बुद्ध र बोधिसत्त्वहरूको प्रार्थना गर्नुको अर्थ आफ्नै आन्तरिक क्षमताको विकासका लागि उनीहरूबाट प्रेरणा ग्रहण गर्नु हो, ताकि हामी अनन्त करुणा, मैत्री, प्रज्ञा र अन्य समस्त सम्भाव्यताहरूको विकास गर्न सकौं।