डार्विनको क्रमिक विकासको सिद्धान्तमा प्राकृतिक छनौटको प्रक्रिया र समयसँगै प्रजातिहरूको जैविक शरीरमा आउने परिवर्तनबारे व्याख्या गरिएको छ। उनको पुस्तक “द ओरिजिन अफ द स्पिसिज” मा प्रस्तुत यो चर्चालाई त्यो समयमा धर्मविरोधी मानिएको थियो। त्यतिबेला सर्वशक्तिमान ईश्वरले यो स्थायी विश्वको सिर्जना गरेका र यहाँका जीवहरू अपरिवर्तनीय छन् भन्ने धारणा थियो, र उनको सिद्धान्त उक्त धारणाको विरुद्ध थियो। अहिले पनि विश्वका कतिपय धर्मअनुसार उनको क्रमिक विकासको सिद्धान्त मिल्दैन, तर बुद्धधर्ममा उनका मूल धारणाहरूको विरोध हुनुपर्ने केही कुरा छैन। बरू बौद्धमार्गीका लागि त यो सिद्धान्त बुद्धको प्रतीत्यसमुत्पादको शिक्षा र धर्मका चार प्रमुख विशेषतामध्ये पहिलो अर्थात् अनित्यतासँग पूरै मेल खान्छ। सृष्टिवादसँग चाहिँ बुद्धधर्मको कुरा मिल्दैन। अनेक हेतु र प्रत्ययका आधारमा चीजहरू निरन्तर उत्पन्न भैरहेका हुन्छन् र तिनीहरूमा क्रमिक विकास चलिरहेको हुन्छ। अर्थात् यहाँ गतिहीनता छैन, र सबै चीज जसरी यो विशाल प्रवाहको अंग हुन्, त्यसैगरी मानिस र जनावर होइनन् भन्नु तर्कसंगत हुँदैन।
तर यसको मतलब समय र क्रमिक विकाससम्बन्धी बौद्ध धारणा डार्विनसँग ठ्याक्कै मिल्छ भन्ने चाहिँ होइन। डार्विनको सिद्धान्त जीवको उत्पत्ति हुने जैविक र भौतिक आधारहरूमा केन्द्रित छ। उनका अनुसार जीवको रूप थप जटिल बन्दै जाँदा चेतनाको स्तर पनि बढ्दै जान्छ। तर उनी त्यो गहिराइसम्म पुगेका छैनन् जुन गहिराइमा बुद्धले चेतनाको निम्नतम स्तरबाट पूर्ण बुद्धत्व प्राप्तिसम्मको अवस्थाको व्याख्या गर्नुभएको छ। फेरी डार्विनले प्रजातिहरूको समग्र चेतना विकासको कुरा गरेका छन् भने बुद्धधर्ममा त्यसका साथसाथै जीवहरूको व्यक्तिगत स्तरमा चेतना विकासको चर्चा गरिन्छ।
त्यसका अतिरिक्त, डार्विनको क्रमिक विकासमा एक क्रमबद्ध र निरन्तर “सुधार” हुन्छ – अर्थात् उत्तरोत्तर ढंगले सकारात्मक परिवर्तन हुँदै जीवहरू उन्नत बन्दै जान्छन्, जसले उनीहरूलाई बाँच्न र सन्तति जन्माउन सहज हुन्छ। तर बुद्धधर्मअनुसार जीवको जन्म अनेक स्वरूपमा हुन सक्छ, र यो प्रक्रिया समरेखीय (लिनियर) ढंगले उन्नतितर्फ मात्र बढ्दैन। प्रत्येक जीव र सिंगै प्रजातिको अवनति पनि हुन सक्छ जसको निर्धारण कर्म, हेतु र प्रत्ययहरूले गर्छन्। त्यसैले यी विवरणहरू भिन्न भए पनि मूलभूत रूपमा विकासको सिद्धान्त दुवै प्रणालीमा पाइन्छ।
ब्रह्माण्डको विकास र विघटन
वैज्ञानिकहरूका अनुसार १४ अरब वर्ष अगाडि "बिग ब्याङ्ग" अर्थात् महाविष्फोट भएको थियो, त्योसँगै ब्रह्माण्डको एक विशाल र तीव्र विस्तार भएको थियो। त्यो नै हाम्रो समयको सुरुवात थियो, र त्यही घटनाका कारण चार अरब वर्ष अगाडि यो पृथ्वीको निर्माण भयो। समयक्रमसँगै हाइड्रोजन ग्यासबाट अनेक तारा र ग्रहहरू विकसित भए, र अहिले हामी बस्ने पृथ्वीमा एककोषीय जीवको उत्पत्ति भयो। यो जीव विस्तारै विकसित हुँदै गयो र अहिले हामीले देख्ने तमाम उन्नत जीवरूपहरूको निर्माण भयो। वैज्ञानिकहरू के पनि भन्छन् भने ब्रह्माण्डको विस्तार र विकास हुँदै जान्छ र केही अरब वर्षपछाडि यसको अन्त पनि हुन्छ। त्यो कसरी हुन्छ भन्नेबारे अनेक अवधारणा उनीहरूले प्रतिपादित गरेका छन्।
बुद्धले अगञ्ञसुत्तमा ब्रह्माण्डको विकास र अन्ततः विघटनका बारेमा बताउनुभएको छ। यसमा उहाँले पृथ्वीको पर्यावरणको विनाश कसरी बढ्दै जान्छ र अन्ततः यसको विखण्डन हुन्छ, कसरी अनेक जीवरूपहरू उत्पन्न हुँदै र लोप हुँदै जान्छन्, र कसरी विभिन्न समाजहरू उत्पन्न हुँदै र लोप हुँदै जान्छन् भन्ने कुरा बताउनुभएको छ। आधुनिक विज्ञान र बुद्धधर्मबीचको भिन्नता के हो भने बुद्धले यो ब्रह्माण्डको उत्पत्ति, अवस्थिति र अनादिकालदेखि निरन्तर चल्दै आएका अनेकौं चक्रको एक अंश मात्र हो र यो एकपटकको घटना मात्र होइन भनी बताउनुभएको छ। त्यस्तै समयको न कुनै शुरुवाती बिन्दु छ, न अन्तिम भन्ने पनि बताउनुभएको छ। सूत्रमा भनिएको छ –
ढीलो वा चाँडो, एक लामो समयको अन्तरालपछि, हे वाशेट्ठ, यो संसारको विघटन हुन्छ ... तर ढीलो वा चाँडो, एक लामो समयको अन्तरालपछि, यो संसारको पुनः उदय हुन्छ ... त्यो समयमा पानीको ठूलो पिण्ड मात्र हुन्छ र केवल अँध्यारो हुन्छ, अन्धो बनाउने गरी अँध्यारो। चन्द्रमा र सूर्य हुँदैनन्, तारापुञ्ज र ताराहरू हुँदैनन्, दिन र रात हुँदैन, महिना र पक्षहरू हुँदैनन्, ऋतु र वर्षहरू हुँदैनन्, महिला र पुरुष हुँदैनन्। जीवहरू केवल जीवको रूपमा मात्र हुन्छन्।
यहाँ हामी स्पष्टसँग देख्न सक्छौं कि बुद्धले ब्रह्माण्डीय प्रणालीका चक्रहरूको बारेमा कुरा गर्नुभएको छ। उहाँले जीवहरूका बारेमा उल्लेख गर्नुभएको छ। सूत्रमा ती जीवहरूको लिंग कसरी देखापर्छ, कसरी समाजहरूको निर्माण हुन्छ र त्यहाँ अनेक वर्गहरू हुन्छन् भन्ने कुरा पनि उल्लेख छ। त्यसपछि पर्यावरण र जीवहरूमा कसरी विखण्डन शुरु हुन्छ र अन्ततः तिनीहरू कसरी विलय हुन्छन् भन्ने पनि चर्चा गरिएको छ।
यो सूत्र तथा प्रतीत्यसमुत्पाद र अनित्यताका सम्पूर्ण शिक्षाहरूबाट हामी के देख्न सक्छौं भने महाविष्फोटको सिद्धान्त र संसारको अन्त हुने जति पनि वैज्ञानिक सिद्धान्तहरू छन्, तिनको विरुद्ध बुद्धधर्ममा कुनै कुरा छैन।
शरीरको विकास
अब, जीवहरूको भौतिक शरीरको विकास कसरी हुन्छ त्यसलाई अझ गहिराइमा बुझौं। डार्विनको विकासको सिद्धान्त यसमा स्पष्ट छ – हामी सबै एककोषीय जीवबाट विकसित हुँदै आएका हौं। उनको सिद्धान्तले क्रमिक विकास प्रस्तुत गर्छ, जहाँ जीवहरूको क्रमिक उन्नति मात्र हुन्छ। अर्थात्, उनीहरूमा अझ सुधारिएको रूपमा विकसित हुँदै जाने अन्तर्निहित प्रवृत्ति हुन्छ। यहाँ हामी भौतिक शरीरको मात्र चर्चा गर्दैछौं। बुद्धधर्मका अनुसार यो ग्रहमा भएका जीवको भौतिक स्वरूप र ती स्वरूपमा पुनर्जन्म हुने चित्तसन्तान (चित्तको प्रवाह) को निरन्तरताबीच ठूलो अन्तर हुन्छ।
कुनैबेला यो ग्रहमा डाइनासोरहरू विचरण गर्थे, जो अहिले लोप भैसके। अहिले हामी डाइनासोरका रूपमा जन्मिन किन सक्दैनौं? वैज्ञानिक सिद्धान्तले के भन्छ भने ६ करोड ६० लाख वर्ष अगाडि एक प्रलयंकारी घटनाका कारण डाइनासोर विलुप्त भए। तर अन्य स्तनधारी जीव (हामी मानव समेत) लोप भएनन्, पछि थप विकसित हुँदै गए। डार्विनको सिद्धान्तले के भन्छ भने डाइनासोरहरू “सर्वश्रेष्ठ मात्र बाँच्ने” (सर्भाइवल अफ द फिटेस्ट) नियमका आधारमा योग्य भएनन् र समूल नाश भए।
बौद्ध दृष्टिकोणबाट हेर्दा, कार्मिक बल र प्रवृत्ति विपाक हुनका लागि उपयुक्त परिस्थिति हुनुपर्छ। त्यसैले यतिबेला डाइनासोरका रूपमा जन्मिनका लागि यो पृथ्वीमा उपयुक्त परिस्थिति छैन। बरु त्यसका साटो अन्य धेरै प्रकारका जैविक शरीरहरू यहाँ उपलब्ध छन्, ती शरीरहरूमा पुनर्जन्म हुन सक्छ। तर तिनीहरू पनि समयक्रमसँगै परिवर्तित हुन्छन्। यद्यपि, यो ब्रह्माण्डको अर्को कुनै कुनामा डाइनासोर अहिले अस्तित्वमा रहेछन् भने बुद्धधर्मअनुसार त्यहाँ गएर हाम्रो पुनर्जन्म हुन सक्छ।
वैज्ञानिकहरूसँगको एक छलफलमा परम पूजनीय दलाई लामालाई सोधियो – के कम्प्युटर पनि कुनै दिन जीव हुन सक्छन्, के तिनीहरूमा पनि चित्त हुन सक्छ? उहाँले रोचक शैलीमा उत्तर दिनुभयो – कम्प्युटर वा रोबोट कुनै दिन त्यो उन्नत बिन्दुमा पुगे जहाँ चित्तसन्तानका लागि आधार प्रदान गर्न सक्ने गरी तिनको विकास भयो भने कुनै चित्तसन्तानले त्यस्तो बिल्कुलै अजैविक वस्तुलाई पनि आफ्नो जीवनको आधार बनाउने गरी त्योसँग जोडिन नसक्ने कुनै कारण छैन।
यसको अर्थ यो होइन कि कम्प्युटर भनेको एक चित्त हो। हामी कम्प्युटरमा कृत्रिम ढंगले चित्तको निर्माण गर्न सक्दैनौं। तर यो अति उन्नत भयो भने कुनै चित्तसन्तानले यसमा जोडिएर यसलाई आफ्नो निरन्तरताको भौतिक आधार बनाउन सक्छ। यो त डार्विनभन्दा पनि ज्यादै कुरा उन्नत भएन र!
किन बुद्धले विकासको धेरै चर्चा गर्नुभएन?
बौद्धमार्गीले बुद्धलाई सर्वज्ञता मान्छन्, सम्यक सम्बोधि प्राप्त भएपछि उहाँलाई सबै कुराको ज्ञान भयो। हामीलाई जिज्ञासा हुनसक्छ – उहाँले यो ब्रह्माण्डको प्रक्रिया के हो तथा जीवहरूको विकास कसरी भयो आदिबारे विस्तृत रूपमा किन बताउनुभएन?
बुद्धले सामान्यता जेजति पनि शिक्षा दिनुभयो, त्यसको उद्देश्य हामीलाई निर्वाण र बोधिको बाटोमा अग्रसर गराउने नै हो। त्यसैले यो ब्रह्माण्ड र यहाँका जीवहरूले पार गर्नुपर्ने विशाल चक्रहरूबारे उल्लेख गर्नुपछाडिको उद्देश्य पनि मानिसलाई आफ्नो वर्तमान जीवन कति मूल्यवान रहेछ भन्ने कुराको बोध गराउनु थियो। मानव जीवनको दुर्लभता र यसलाई प्राप्त गर्ने कठिनाइका बारेमा जानकारी भएपछि मानिसहरू आफूलाई प्राप्त यो अवसरबाट जतिसक्दो लाभ लिँदै आध्यात्मिक लक्ष्यमा अगाडि बढ्न प्रेरित हुन्छन्। पक्कै पनि, बुद्ध यो धरतीमा अन्तरिक्षविज्ञान वा खगोलशास्त्र पढाउन आउनुभएको थिएन।
अध्यात्मको यो लक्ष्यसँग असम्बन्धित कुराहरूको चर्चा गर्नु समय र उर्जाको बर्बादी मात्र हो। हाम्रो चित्त त्यसै पनि भ्रान्तिद्वारा भरिपूर्ण छ र हामी अशान्तकारी आवेगहरू (क्लेश) द्वारा वशीभूत छौं। त्यसमाथि यो ब्रह्माण्ड कस्तो छ र यहाँ कति जीवहरू छन् जस्ता कुराको चर्चामा अल्झियौं – त्यो पनि तिनका बारे पहिल्यै गलत सूचनायुक्त धारणा राखेर – भने निर्वाण प्राप्त गर्ने र अरूलाई सहयोग गर्ने लक्ष्यबाट हामी झनै भट्किन्छौं मात्र।
बुद्धको जीवनका थुप्रै त्यस्ता घटना छन् जसले यो कुरा बुझ्न सजिलो बनाउँछ। उदाहरणका लागि, बुद्धलाई मानिसहरू सोध्थे – यो संसार शाश्वत छ कि छैन, मृत्युपछि हाम्रो आत्मा जीवित रहन्छ कि रहँदैन, आदि। तर बुद्धले यस्ता प्रश्नको जवाफ कहिल्यै दिनुभएन, केही बताउनुभएन। उहाँले के भन्नुभयो भने मानिसहरू पहिल्यैदेखि भ्रमित छन्। यो संसारको सृष्टि गरिएको हो, एक अपरिवर्तनीय र निर्मित आत्मा हुन्छ भन्नेजस्ता मिथ्यादृष्टिले युक्त छन्। त्यो अवस्थामा उहाँले जे बताएपनि त्यसले मानिसमा थप जटिल भ्रम मात्र थप्नेथियो। कुनै अपरिवर्तनीय र निर्मित आत्मा भन्ने चीज नै छैन भने त्यस्ता आत्माहरू गन्न सकिने संख्यामा छन् कि असंख्य, त्यो जानेर के फाइदा?
यो आफैंमा एक गहन शिक्षा हो। के यो ब्रह्माण्डको आकार वा यसमा रहेका जीवहरूको संख्या थाहा पायौं र तिनीहरूको अवस्थिति कस्तो छ आदिबारे सही जानकारी पायौं भने त्यसले हाम्रा समस्या र दुःखको अन्त गर्छ? के त्यस्तो जानकारीले अरूको हित गर्न सहयोग गर्छ? बुद्धले भन्नुभएको थियो, यस्ता प्रश्नको सटीक उत्तर नपाइकनै हामी मरिसक्छौं, र आफ्नो अमूल्य जीवन खेर फाल्छौं। यसबारे अड्कलबाजी गर्नु रमाइलो हुनसक्ला, तर यसले हामीलाई केही लाभ हुँदैन। बरु हामीले आफ्नो वर्तमान परिस्थितिको मूल्यांकन गर्दै अहिले आफूलाई प्राप्त अद्भूत अवसरको सकेसम्म लाभ लिने प्रयत्न गर्नु चाहिँ महत्त्वपूर्ण छ। हामी यो संसारमा छौं, र हामीसँग एक अमूल्य मानव शरीर र चित्त छ, जसको मद्दतले हामी आफ्ना दुःखहरूबाट पार पाउन र अरूलाई पनि सहयोग गर्न सक्छौं। यसको उपयोग गर्दै हामी पूर्ण बोधि प्राप्तिका विधिहरूको अभ्यास गर्न सक्छौं। त्यो अवस्था हासिल गर्न सक्यौं भने, हुनसक्छ हामी यस्ता उत्तर दिन नसकिने प्रश्नहरूको उत्तर आफैं भेट्नेछौं!