चार आर्य सत्य ती आधारभूत सत्य हुन्, जसले हाम्रो समस्याहरूबाट मुक्तिको बाटो देखाउँछन्। यो बुद्धको पहिलो शिक्षा हो। यसमा अन्य सम्पूर्ण बौद्ध शिक्षा आधारित छन्।
पहिलो आर्यसत्यः यथार्थ दुःख
हाम्रो जीवन सामान्यतया असन्तुष्टिले भरिएको छ। यो नै पहिलो सत्य हो। जन्मदेखि मृत्युसम्म अनेकौं सुखका पलहरू हुन्छन्, तर तिनीहरू कहिल्यै पनि स्थायी हुँदैनन्। त्यस्तै धेरै पलहरू अप्रिय पनि हुन्छन्।
- दुःख – बिमारी, निराशा, एक्लोपन, चिन्ता र असन्तोष सजिलैसँग बुझ्न र अनुभव गर्न सकिन्छ। यी कुराहरूका लागि हाम्रो वरिपरिको वातावरण प्रतिकूल पनि हुनु पर्दैन। हामी आफ्नो सबैभन्दा प्रिय मित्रसँग बसेर मनपर्ने खाना खाइरहेको बेला पनि हामी दुःखी भैरहेका हुन सक्छौं।
- क्षणिक सुख – हामी जे कुरामा सुख खोजीरहेका हुन्छौं, ती कुनैपनि लामो समय टिक्दैनन्। ती कुनैले पनि सन्तोष दिँदैनन्, ती चाँडै दुःखमा परिणत हुन्छन्। जस्तो कि हामी ठिहिर्याउने चिसोमा छौं भने त्यसबाट बच्न तातो कोठाभित्र पस्छौं। तर केही छिनपछि त्यो तातो पनि असहनीय हुन थाल्छ, र हामी फेरी ताजा हावा खोज्न थाल्छौं। हाम्रो सुख स्थायी भए राम्रो हुन्थ्यो, तर हुँदैन। समस्या त्यहीँनेर छ।
- दोहोरिरहने समस्याहरू – सबैभन्दा समस्याको कुरा त, हामी जीवनको उतारचढावको सामना गर्न जुन उपायहरू अपनाउँछौं, तिनले झन् समस्याहरू मात्र थप्छन्। उदाहरणका लागि, हाम्रो कसैसँगको सम्बन्ध अस्वस्थकर हुन सक्छ। तर हामी त्यो अवस्थामा जे गर्छौं, त्यसले समस्यालाई झन् जटिल बनाउँछ। हामी सम्बन्ध तोड्छौं, तर हाम्रो बानी बिग्रिसकेको हुन्छ। त्यसैले हामीले नयाँ सम्बन्ध जोड्यौ भने त्यो पनि त्यस्तैखाले हुन्छ। त्यो पनि समस्याग्रस्त हुन्छ।
दोश्रो आर्यसत्यः दुःखको यथार्थ कारण
हाम्रो दुःख र क्षणिक सुख अकारण उत्पन्न हुँदैन। त्यसका पछाडि अनेकौं कारण र परिस्थितिहरु हुन सक्छन्। बाह्य तत्त्वहरु (जस्तो कि हाम्रो समाज) हाम्रा लागि समस्याहरु उत्पन्न गराउने कारक तत्त्व हुन सक्छन्। तर बुद्धले हामीलाई आफ्नै चित्तको अवलोकन गर्न सिकाउनुभएको छ। घृणा, रिस, लोभ जस्ता अनेक अशान्त मनोभावहरुले हामीलाई आत्मविनाशकारी दिशातर्फ धकेलिरहेका हुन्छन्। तिनका कारण हामी मन, वचन, र कर्मबाट त्यस्तै काम गरिरहेका हुन्छौं।
बुद्धले अझ गहिराईबाट यस्ता मनोभाव पछाडिको यथार्थ कारण र वास्तविकताबारे बताउनुभयो। यथार्थलाई हामी जुन ढंगमा बुझ्छौं, त्यो नै हाम्रा यस्ता मनोभावहरूको कारण बन्छ। आफूले गर्ने व्यवहारको दीर्घकालीन असरबारे द्विविधा रहनु र सचेतनाको कमी हुनु अनि हाम्रो आफ्नो, अरुको, र समस्त सृष्टिको अस्तित्वका बारेमा एकदमै भ्रमपूर्ण दृष्टिकोण भएका कारण यस्ता मनोभावहरू आउने हुन्। सबैथोक एक आपसमा अन्तरसम्बन्धित भएको नदेख्ने बरु ती सबै आफैं अस्तित्वमा आएका हुन् र अरुसँग विल्कुल सम्बन्धित छैनन् भन्ने धारणा हामीले राखिरहेका हुन्छौं।
तेश्रो आर्यसत्यः दुःखको यथार्थ निरोध
हामीले यी सबै दुःखहरू भोगेर बसिरहनु पर्दैन। यी दुःखको कारण पत्ता लगाएर तिनलाई जरैदेखि उखेल्यौं भने तिनको परिणाम पनि उत्पन्न हुने छैन। यथार्थको बारेमा हामीमा जुन भ्रम छ, त्यसलाई हटाउन सकियो भने समस्याहरू आउने छैनन्। बुद्धले कुनै एक वा दुई समस्या हटाउने कुरा गर्नुभएको थिएन। बरु नयाँ समस्याहरू निर्माण गर्ने हाम्रो स्वभावलाई नै बदल्ने कुरा गर्नुभएको थियो।
चौथो आर्यसत्यः चित्तको यथार्थ मार्ग
आफ्नो अबोधपन र अज्ञानबाट मुक्ति पाउनका लागि हामीले आफ्नो मार्गको अवरोधका बारेमा विचार गर्नु आवश्यक हुन्छ। यसका लागि:
- तात्कालिक सुख प्राप्त गर्न हतारिनुभन्दा दीर्घकालीन योजना तयार गरौं।
- जीवनको कुनै सानो पक्षमा मात्र नअल्झिकन जीवनलाई समग्रतामा हेर्ने प्रयास गरौं।
- तत्कालका लागि आफूलाई के सुविधा हुन्छ, त्यो मात्र हेर्न छाडेर आफ्नै बाँकी जीवन र भविष्यका पुस्ताहरूमा आफ्नो कामको के असर पर्छ, विचार पुर्याऔं।
कहिलेकाहीँ जीवनका निराशाहरूबाट आजित भई हामी आफूलाई बिर्सने उपाय गर्न थाल्छौं। समस्यालाई भुल्न र मन बहलाउन रक्सी वा जंकफुड (पत्रु खानेकुरा) खान थाल्छौं। तर त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने सोच्दैनौं। यदि यसको लत बस्यो भने स्वास्थ्य त खराब हुन्छ नै, हाम्रो आफ्नो मात्र नभई सम्पूर्ण परिवारकै जीवन तहसनहस हुन्छ। हामीलाई लाग्न सक्छ कि हामी जे गर्छौं, त्यसको कुनै परिणाम हुँदैन, हामीलाई कुनै असरले छुँदैन। यो भ्रमको प्रभावकारी ढंगबाट निवारण गर्न यस्तो विचार गर्न सकिन्छ:
- हामी यो पृथ्वी र सम्पूर्ण मानवजातिसँग अन्योन्याश्रित रुपमा जोडिएका छौं। आफ्नो अस्तित्वका बारेमा हामीमा जुन भ्रमपूर्ण कल्पना छ, त्यो यथार्थसँग मेल खाँदैन।
निरन्तर ध्यान साधनाद्वारा हामी यस्तो सोचको विकास गर्न सक्छौं र यसमा आफूलाई अभ्यस्त गर्न सक्छौं। अन्ततः हामी आफ्नो भ्रम र त्यसले सिर्जना गरेको खोक्रो कल्पनाहरूबाट पार पाउन सक्छौं।
हामी सबै खुशी हुन चाहन्छौं, तर खुशी हामीबाट टाढा भागिरहेको हुन्छ। बुद्धले प्रस्तुत गर्नुभएको चार आर्यसत्यको शिक्षाले हामीलाई वास्तविक खुशीको मार्ग बताएको छ। यो शिक्षा सार्वभौमिक छ, र २५०० वर्ष अगाडि दिनुभएको ज्ञान अझै पनि उत्तिकै सान्दर्भिक छ।
चार आर्यसत्यको ज्ञानद्वारा हामी आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरुको सामना गर्न सक्छौं। त्यसका लागि बौद्ध धर्मावलम्बी हुनु पर्छ भन्ने छैन। सधैं हामीले सोचेजस्तो मात्र हुन सम्भव हुँदैन। तर त्यसै कारणले हामी हताश वा निराश भैहाल्नु पर्दैन। चार आर्यसत्यको शिक्षाले त्यो सबै कुरा समेटेको छ जुन हामीलाई सच्चा खुशी प्राप्त गर्न र आफ्नो जीवनलाई सार्थक बनाउन आवश्यक हुन्छ।
संक्षेपमा भन्नुपर्दा हामीले दुःखको सही स्वरुपको बारेमा बुझ्नु पर्छ, दुःखको असली कारणबाट आफूलाई मुक्त गराउनु पर्छ, दुःखको सही निरोधको अवस्थामा रहनु पर्छ, र चित्तको सही मार्ग पहिल्याउनु पर्छ।