परिचय
बुद्धधर्ममा प्रवेशका लागि प्रथमतः चार आर्यसत्यको ज्ञान लिनु आवश्यक हुन्छ। बुद्धले पनि आफ्नो शिक्षणको प्रारम्भ यसैबाट गर्नुभएको थियो। त्यसैले बुद्धधर्म अध्ययनको थालनी चार आर्यसत्यबाट गर्नु उपयुक्त हुन्छ। बुद्धका पालामा पहिल्यैदेखि अनेकौं धार्मिक र दार्शनिक प्रणालीहरू विद्यमान थिए। अहिलेको युगमा हाम्रा सामु अझ धेरै आध्यात्मिक शिक्षणहरू उपलब्ध छन्। त्यसैले बुद्धधर्मको ज्ञानका लागि यसका सबैभन्दा विशेष शिक्षाहरू के हुन् भनेर जान्नु महत्त्वपूर्ण हुन्छ। हुनत सामान्य रूपमा बुद्धधर्मले दिने शिक्षा अन्य धार्मिक पद्धतिहरूले दिने शिक्षासँग मिल्छः जस्तै, कसरी अरुप्रति दयालु र मैत्रीपूर्ण हुने, कसरी अरुलाई हानि पुग्ने काम नगर्ने, इत्यादि। यी कुराहरू प्रायः सबै धर्म र दर्शनमा छन्। यति ज्ञानका लागि मात्र बुद्धधर्मको अध्ययन गरिरहनु पर्दैन, यद्यपि बुद्धधर्ममा दयालुपन, मैत्री र करुणाको विकासका लागि कैयौं उपयोगी उपायहरू उपलब्ध छन्। यी उपायहरूबाट हामी सबैले लाभ लिन सक्छौं, चाहे हामी बुद्धधर्मका अरु शिक्षाहरू ग्रहण गरौं वा नगरौं।
तर जब “बुद्धधर्मको खास विशेषता के हो?” भन्ने प्रश्न आउँछ, हामीले चार आर्यसत्यको कुरा गर्नैपर्छ। हुनत यहाँ पनि हामी अन्य विभिन्न प्रणालीहरूसँग मिल्ने कतिपय कुरा पाउँछौं।
यो शब्दावली––चार आर्यसत्य––अलि अनौठो छ। “आर्य” भन्नाले एक निश्चित नश्ललाई भनिएको हो कि भन्ने भान पर्न सक्छ। तर यसको अर्थ माथिल्लो कोटिको ज्ञान भएको मानिस हो। चार आर्यसत्य ती तथ्यहरू हुन् जुन यथार्थलाई कल्पनाभन्दा अलग राखेर देख्न सक्ने मानिसले मात्र सत्य हो भनी चिन्न सक्छन्। यी चार तथ्यहरू सत्य हुन्, तर धेरै मानिसले तिनलाई बुझ्न सक्दैनन्। अधिकांश मानिसले त तिनीहरूको बारेमा सुनेका पनि हुँदैनन्।
पहिलो आर्यसत्य
पहिलो आर्यसत्य (दुःख सत्य) लाई सामान्यतया “दुःख” भन्ने गरिन्छ। बुद्धले हाम्रो जीवनमा दुःखहरू छन् र जसलाई हामी सुख भन्ठान्छौं, तिनमा पनि कैयौं समस्याहरू साथसाथै जोडिएर आउँछन् भनी बताउनुभएको थियो। “दुःख” भन्ने शब्द संस्कृतबाट आएको हो। यसको विपरीत “सुख” हुन्छ। शब्द व्युत्पत्तिको हिसाबले “ख” भनेको आकाश हो, र “दुः” उपसर्गले असन्तोष वा नराम्रो अनुभव बुझाउँछ। यसलाई “खराब” भन्ने पूर्वाग्रही अर्थ दिइहाल्नु त हुँदैन, तर यसले संकेत त्यसै दिशातर्फ गर्छ। “दुःख” शब्दले यो आकाशमा केही नराम्रो छ भन्नेतर्फ इंगित गर्छ।यहाँ आकाश भन्नाले हाम्रो चित्त र सामान्य जीवन भोगाईका अन्तरालहरू बुझिन्छ। यो एक अप्रिय अवस्था हो।
यसमा अप्रिय के छ त? प्रथमतः हामी स्थूल प्रकारका दुःखहरू अनुभव गर्छौं, जस्तै शारीरिक पीडा, बेखुशी र उदासीपन। यो हामी सबैले बुझ्न सक्छौं, र सबैजना यसबाट बच्न चाहन्छौं। मानिसमात्र होइन, पशुहरू पनि यसबाट बच्न चाहन्छन्। पीडा र बेखुशी अप्रिय अवस्था हुन् र यसबाट बाहिर निस्कनुपर्छ। तर यति कुरा मात्र बताउनु बुद्धधर्मको विशेषता होइन। दुःखको दोश्रो प्रकार पनि छ। त्यो हो, परिवर्तनको दुःख। यो हाम्रो सामान्य दैनिक जीवनको सुखहरूसँग सम्बन्धित छ। हाम्रो सुखमा के समस्या छ त? समस्या के छ भने यो टिक्दैन, सुखको अनुभव सधैंभरी परिवर्तन भैरहन्छ। हामीले सामान्य रूपमा पाउने सुख साँच्चिकै सुख भैदिएको भए जति धेरै सुख पायो त्यत्ति हामीमा यसको भाव बढ्दै जानुपर्ने हो। उदाहरणका लागि, चकलेट खाँदा सुखको अनुभव हुन्छ। त्यसैले जति धेरै चकलेट खायो, त्यत्ति नै धेरै हामी खुशी हुनुपर्ने हो। दिनभरी चकलेट खाइरह्यो भने त सुखको अनुभव दिनभरी नै बढ्दै जानुपर्ने हो। तर त्यसो हुँदैन, यो कुरा हामीलाई राम्रोसँग थाहा छ। त्यस्तै कुनै प्रिय व्यक्तिले तपाईंको हात मुसारेको तपाईंलाई मन पर्ला। तर कल्पना गर्नुस्, उसले घण्टौंसम्म मुसारिरह्यो भने के हालत होला! सुखको भाव एकैछिनमा पीडामा परिवर्तन हुन थाल्छ, वा तपाईंलाई असजिलो लाग्न थाल्छ। यसरी नै सामान्यतया हाम्रो सुखको भाव परिवर्तन भैरहन्छ। तैपनि हामीलाई त्यही सुखको साधन चाहिन्छ, त्यसबाट हामी कहिल्यै सन्तुष्ट हुन सक्दैनौं। तत्काल नभएपनि केही समयपछि हामीलाई फेरी अर्को चकलेट चाहिन्छ।
तपाईंले कहिल्यै यसरी सोच्नु भएको छ – “मनपर्ने खानेकुरा कति खाएँ भने मैले यसको पूरा स्वाद लिन सकुँला?” स्वादका लागि एक सानो गाँस नै पर्याप्त हुन्छ, तर हामी सन्तुष्ट हुँदैनौ र हामीलाई अरु बढी, झन् बढी, झन्झन् बढी चाहिइरहन्छ। तर यसरी दैनिक जीवनका सामान्य सुखहरूबाट माथि उठ्नु पनि बुद्धधर्मको मात्र उद्देश्य होइन। अन्य धेरै धर्महरूले यसको शिक्षा दिन्छन् र सांसारिक सुखहरूभन्दा पर गएर शाश्वत सुखयुक्त स्वर्गको खोजी गर्ने सल्लाह दिन्छन्।
दुःखको तेश्रो प्रकार चाहिँ बुद्धधर्मको विशेष शिक्षा हो। यो “सर्वव्यापी दुःख” हो। यसलाई हामी “सर्वव्यापी समस्याहरू” पनि भन्न सक्छौं। यो हाम्रो जीवनको सबै भोगाइमा व्याप्त छ। हामी आफ्नो इच्छाविपरीत पुनर्जन्म लिन्छौं, जसबाट जीवनका उतार चढावहरू शुरु हुन्छन्। अर्को अर्थमा, बारम्बारको पुनर्जन्म तथा हाम्रो मन र शरीरको अवस्थाका कारण हामी पहिलो र दोस्रो प्रकारका दुःखहरूको सामना गर्छौं। यहाँ पुनर्जन्मको कुरा उठेको छ, जसको बारेमा हामी पछि चर्चा गर्नेछौं।
हुनत अन्य भारतीय दार्शनिक पद्धतिहरूले पनि पुनर्जन्मको चर्चा गरेका छन्। त्यसैले यो पनि बुद्धको विशिष्ट शिक्षा होइन। तर उहाँले जुन गहिराइमा पुगेर पुनर्जन्म प्रक्रियाको विस्तृत व्याख्या गर्नुभएको छ, तत्कालीन कुनै पनि दर्शन वा धर्म त्यत्ति गहिराइमा पुग्न सकेका थिएनन्। पुनर्जन्म कसरी हुन्छ, हाम्रो चित्त र शरीरले पीडा, बेखुशी र सांसारिक सुखका आरोह अवरोहहरूलाई कसरी भोग्छन् भन्ने कुरा उहाँले विस्तारमा बताउनुभएको छ।
दोस्रो आर्यसत्य
दोस्रो आर्यसत्य (समुदय सत्य) ले हामीले अनुभव गर्ने बेखुशीका असली कारणहरूको व्याख्या गर्छ। पुनर्जन्म आदिको चर्चा हामी यही बिन्दुमा गर्दैनौं, बरु बुद्धले गर्नुभएको सरल र तार्किक व्याख्यालाई बुझ्ने प्रयास गर्छौं। दुःख र सामान्य सुखहरू निश्चित कारणहरूले गर्दा उत्पन्न हुन्छन्। तर बुद्धले “असली कारणहरू” को कुरा गर्नुभएको छ। हामीलाई दुःख र सुख आफूले गरेका कामको पुरस्कार वा सजायस्वरूप आएका हुन् जस्तो लाग्छ, तर बुद्धको भनाईमा तिनीहरू सकारात्मक वा नकारात्मक व्यवहारहरूका कारण उत्पन्न हुन्छन्।
त्यसो भए नकारात्मक व्यवहार के हो त? के यो हानि पुर्याउनुसँग मात्र सम्बन्धित छ? हानि अरुलाई पनि पुर्याउन सकिन्छ, र आफैंलाई पनि। हामीले अरुलाई गर्ने व्यवहारको परिणाम के हुन्छ, ठ्याक्कै भन्न गाह्रो छ। हाम्रो व्यवहारले अरुलाई हानि पनि हुन सक्छ, लाभ पनि। उदाहरणका लागि, तपाईंले कसैलाई ठूलो धनराशि प्रदान गर्नुभयो, तर अरु कसैले त्यो धन चोर्नका लागि उसको हत्या गरिदियो। तपाईंको उद्देश्य अरुको हित गर्नु होला, तर हित हुन्छ नै भन्ने कुनै पक्का छैन। तर आफ्नो हकमा निश्चित व्यवहारहरू नकारात्मक हुन्छन्, त्यो चाहिँ पक्का छ। बुद्धको इशारा यस्तै नकारात्मक व्यवहारतर्फ हो, जुन आत्म–विनाशकारी हुन्छ।
यसले हामी नकारात्मक आवेगहरू (क्लेश) को वशमा परी सोचिने सोच, बोलिने बोली, र गरिने कार्यहरूप्रति इंगित गर्छ। नकारात्मक आवेगहरूको काम नै हामीलाई व्याकुल बनाउने हो। तिनले हाम्रो मनको शान्ति खोस्छन्, र हामी आत्म–संयम गुमाउँछौं। यस्ता आवेगहरूको सूची लामो छ, जसमा रिस, लोभ, आसक्ति, ईर्ष्या, घमण्ड इत्यादि पर्छन्। हाम्रो सोच यस्ता आवेगहरूको वशमा छ भने हामी जे बोल्छौं वा गर्छौं, त्यसले हामीलाई बेखुशी मात्र बनाउँछ। तत्काल होला या नहोला, तर यसले हामीलाई दीर्घकालमा बेखुशी नै निम्त्याउँछ, किनकि यसले हामीलाई त्यस्तै प्रकारको व्यवहार गरिराख्ने बनाउँछ।
यसका विपरीत हामी सकारात्मक काम पनि गर्न सक्छौं। तर यस्तो काम नकारात्मक आवेगहरूको वशमा परेर गरिँदैन। सकारात्मक कामका लागि मैत्री, करुणा र धैर्यजस्ता सकारात्मक मनोभावहरूले प्रेरकको काम गर्छन्।
सकारात्मक व्यवहार गर्नाले हामीलाई खुशी प्राप्त हुन्छ। हाम्रो चित्त सहज भावमा हुन्छ, र हामीले शान्ति महसुस गर्छौं। यस्तो अवस्थामा हामी आफूमाथि नियन्त्रण कायम गर्न सक्छौं र समस्या निम्त्याउने खालका मूर्खतापूर्ण काम वा कुरा गर्दैनौं। सकारात्मक व्यवहार गर्दैमा तत्काल परिणाम देखिन वा नदेखिन सक्छ, तर दीर्घकालमा यस्तो व्यवहारले खुशी ल्याउँछ। तर यस प्रकारले सकारात्मक व्यवहार गरेता पनि हाम्रो आफ्नै अस्तित्व, अरुको अस्तित्व र यथार्थको बारेमा केही अज्ञान कायम रहन्छ।
हाम्रो सामान्य खुशी वा बेखुशी हामी बाहिरको कुनै न्यायाधीश जस्तो तत्त्वले हाम्रा लागि पुरस्कार वा सजायस्वरूप तोकिदिने कुरा होइन। यो त भौतिकशास्त्रका नियमहरू जस्तै निश्चित नियममा आधारित हुन्छ। हामी आफ्ना बारेमा एक भ्रमपूर्ण दृष्टिकोण राखेर व्यवहार गर्छौं। हामी सोच्छौ, “म सबैभन्दा महत्वपूर्ण मानिस हुँ। सबै चीज मैले भनेजस्तै हुनुपर्छ। सुपरमार्केटको पैसा तिर्ने लाइनमा म नै अगाडि हुनुपर्छ। मै पहिलो हुनुपर्छ।” खासमा हामीमा पहिलो हुने लोभ हुन्छ, त्यसैले अरु कोही हामीभन्दा अगाडि पुगे भने हामीलाई रिस उठ्छ। उक्त व्यक्तिले केही ढीला गर्यो भने हामीलाई असह्य हुन्छ र मनमा उनीहरूप्रति अनेक खालका अप्रिय विचार आउन थाल्छन्। हामीले केही सकारात्मक काम नै गरिहाल्यौं भने पनि त्यसका पछाडि “म” भन्ने भावको भ्रम विद्यमान हुन्छ। उदाहरणका लागि हामीले अरूलाई केही सहयोग गर्यौं भने उनीहरूले हामीलाई मन पराइदिऊन् वा बदलामा हाम्रा लागि केही गरिदिऊन् भन्ने चाहना हुन्छ। केही नभए धन्यवाद मात्र पनि भनिदिऊन् भन्ने चाहना राख्छौं।
यसरी अरुलाई सहयोग गर्नाले हामी खुशीको अनुभव त गर्छौं तर भित्रभित्र त्यत्ति सहज भैरहेको हुँदैन। हामीले अनुभव गरेको खुशी दीर्घकालसम्म टिक्दैन। केही समयमै यो एक प्रकारको असन्तुष्टिमा परिणत हुन्छ। यो क्रम हाम्रो जीवनभर चलिरहन्छ, र बुद्धधर्मको दृष्टिकोणले हेर्ने हो भने भविष्यका जीवनहरूमा पनि दोहोरिन्छ।
अलि गहिरोसँग विचार गर्ने हो भने थाहा पाउँछौं, हामीलाई जुनसुकै कुराको पनि भ्रम छ। जस्तै, हामीले कसैलाई धेरै माया गर्यौं भने उसको हरेक राम्रा कुरालाई एकदमै बढाइचढाइ गर्छौं। त्यस्तै कोही मानिस मन परेन भने उसको हरेक नकारात्मक गुणलाई असाध्यै बढाइचढाइ गर्छौं र उसको कुनै पनि राम्रो पक्ष देख्दैनौं। यसबारे थप अनुसन्धान गरेर हेरौं, हामीले अनुभव गर्ने हरेक कुरामा हाम्रा भ्रमहरू अन्तनिर्हित रहेको पाउनेछौं।
यसलाई थप गहिरिएर हेर्यौं भने थाहा पाउनेछौं, हाम्रो क्षमताको सीमा नै यो भूलको मुख्य कारण हो। हाम्रो शरीर र चित्तका कारण हामीमा विभिन्न सीमितताहरू छन्। जब हामी आफ्नो आँखा बन्द गर्छौं, यस्तो लाग्छ कि बाँकी विश्वको अस्तित्व नै छैन, म मात्र छु। हाम्रो मस्तिष्कभित्र यही “म” को आवाज गुन्जिन्छ, यस्तो लाग्छ, मभित्र मै मात्र छु। यो अलि अचम्मलाग्दो छ। तर हामीले यसैसँग आफूलाई एकाकार सम्झन्छौं, किनकि यसले सधैँ गुनासो गरिरहन्छ – “मलाई अगाडि बढ्नु छ, मैले यस्तो गर्नुछ, मैले उस्तो गर्नुछ।” यो सधैँ चिन्ता गरिरहन्छ। तैपनि हामीलाई आफ्नो मगजभित्र गुन्जिने यो आवाज एकदमै विशेष, अद्वितीय र अरुभन्दा बिल्कुल अलग अस्तित्वमा रहेको जस्तो लाग्छ, किनकि जब हामी आफ्नो आँखा बन्द गर्छौं, यही “म” भाव हाम्रा सामु टड्कारो रूपमा आइपुग्छ।
यो एकदमै भ्रमपूर्ण दृष्टिकोण हो, किनकि हामी कसैको पनि अस्तित्व अरुसँग पूर्ण अलग र स्वतन्त्र रूपमा हुँदैन। त्यस्तै कुनै एक जना मानिस अरुभन्दा ज्यादै विशेष पनि हुँदैन। हामी सबै मानिसहरू मात्र हौं। अन्टार्कटिकाको हिउँमा घुम्ने एक लाख पेन्गुइनको बथानलाई हेरौं, के उनीहरूमध्ये कुनै एक अरुभन्दा एकदम विशेष हुन्छ र? हुँदैन। उनीहरू सबै उस्तै हुन्छन्। हामी मानवजातिको हकमा पनि त्यही लागू हुन्छ। पेन्गुइनले हामीलाई देख्दा सबै मानिस उस्तै हुन् भन्ठान्छ होला। “म अरुभन्दा विशेष छु, म सबैबाट अलग स्वतन्त्र अस्तित्वको मानिस हुँ,” यस्तो सोचले गर्दा हामीलाई आफ्नो पारा देखाउन मन लाग्छ, र त्यसो गर्न नपाउँदा रिस उठ्छ।
यस्तो भ्रमपूर्ण दृष्टिकोण हुनुको कारण चाहिँ हाम्रो चित्त र शरीरको स्थूल रूप नै हो। हामीले यो संसार देख्ने भनेको आफ्नो टाउकोमा भएका यी दुई आँखाका प्वालहरूमार्फत हो। मेरो पछाडि के छ, म देख्न सक्दिन। अहिले तत्काल के छ, त्यो मात्र म देख्न सक्छु। यो भन्दा अघि के थियो र पछि के आउनेछ, त्यो म देख्न सक्दिन। त्यसैले हाम्रो क्षमता एकदम सीमित छ। उमेर ढल्दै जाँदा हामी राम्रोसँग सुन्न सक्दैनौं। कसैले एकथोक भन्दै हुन्छ, हामी अरुथोक सुन्छौं र हामीलाई रिस उठ्छ। यसरी सोच्ने हो भने हाम्रो क्षमता साह्रै दयालाग्दो छ।
हाम्रो सार्वभौम समस्या के हो भने हामी यस्तै शरीर र चित्त लिएर बारम्बार जन्म लिन्छौं जसले यो भ्रमलाई अझ बढाउँछ मात्र। यही भ्रमपूर्ण दृष्टिकोणका कारण हामी विनाशात्मक वा हदसे हद साधारण खालको सकारात्मक काम गर्छौं । हामीले अनुभव गर्ने बेखुशी वा साधारण खुशी यसैको उपज हो।
यो भन्दा पनि गहिरिएर हेर्ने हो भने विषय थप जटिल हुँदै जान्छ। तर हामी अहिले त्यसको चर्चा गर्दैनौं। तर के बुझौं भन् हाम्रो भ्रमपूर्ण दृष्टिकोण नै हाम्रो बारम्बारको पुनर्जन्मको कारण हो। यो पुनर्जन्मको चक्र हाम्रो नियन्त्रण बाहिर हुन्छ। हाम्रो समस्याको मूल कारण यही हो। यो भ्रम वा अनभिज्ञतालाई अज्ञान पनि भनिन्छ। हुनत यहाँ अज्ञान शब्द प्रयोग गर्दा हामीलाई मूर्ख भनेको हो कि भन्ने भान पर्न सक्छ। तर मूर्ख हुनु समस्या होइन। यहाँ त्यसो भन्न खोजिएको पनि होइन। अनभिज्ञताको अर्थ हामीलाई आफू र अरु सबै कुरा कसरी अस्तित्वमा रहेका छन् भन्ने जानकारी नहुनु हो। हामी आफूलाई सबैभन्दा महत्त्पूर्ण व्यक्ति भन्ठान्छौं। आफूलाई ब्रह्माण्डको केन्द्र नै भन्ठान्छौं। तर यो वास्तविकताको ठ्याक्कै उल्टो हो। हामी यो अर्थमा अज्ञानी छौं। वास्तविकता के हो भने हामी यो संसारमा सबैसँग एकसाथ अस्तित्वमा छौं। हामी मूर्ख नहौंला, तर हाम्रो शरीर र चित्तका कारण हामी त्यसरी सोच्न थाल्छौं।
त्यसैले हामी यी सत्यहरूलाई “आर्यसत्य” भन्छौं। जसले वास्तविकता देख्छ, उसको दृष्टिकोण अरुको भन्दा फरक हुन्छ। सामान्यतया हामी आफ्नो भ्रम र कल्पनाहरूलाई वास्तविकता भन्ठान्छौं। हामी त्यसैलाई सत्य भन्ठान्छौं, यसबारे अरु केही सोच्दैनौं। किनकि हामीलाई लाग्छ “म नै सबैभन्दा महत्त्वपूर्ण हुँ। मेरै कुरा लागू हुनुपर्छ। अरुले मलाई माया गर्नुपर्छ।” कसैलाई यसको उल्टो भाव आउन सक्छ, “म सबैको घृणाको लायक छु। म केही काम लाग्ने मान्छे होइन।” यी दुवै विचार एउटै सिक्काका दुइ पाटा मात्र हुन्। यस्तो दृष्टिकोण नै दुःखको मूल कारण हो।
तेस्रो आर्यसत्य
तेस्रो आर्यसत्य (निरोध सत्य) लाई हामी “यथार्थ निरोध” भन्न सक्छौं। यसको अर्थ के हो भने हाम्रा भ्रमपूर्ण दृष्टिकोणहरू फेरी कहिल्यै नदोहोरिने गरी तिनबाट मुक्ति पाउन सम्भव छ। दुःखको यथार्थ कारण, अर्थात् यो भ्रमपूर्ण दृष्टिकोणबाट मुक्ति पाइयो भने समस्याहरूबाट मुक्ति पाइन्छ। जीवनका उतारचढावहरूले दुःख दिँदैनन्, र बाध्यकारी ढंगबाट हुने पुनर्जन्महरूको चक्करबाट छुटकारा पाइन्छ। यसरी हामी “मुक्ति” को अवस्थामा पुग्छौं। यो बारम्बारको पुनर्जन्मको चक्रलाई संस्कृतमा “संसार” र मुक्तिको अवस्थालाई “निर्वाण” भनिन्छ, र मलाई विश्वास छ तपाईंहरूले यी शब्दहरू सुन्नुभएकै होला।
बुद्धको समयका अरु भारतीय दार्शनिक प्रणालीहरूले पनि संसारबाट मुक्तिको कुरा गरेका छन्। तत्कालीन भारतमा मुक्तिको अवधारणा सबैतिर थियो। तर बुद्धले देख्नुभयो, कुनै पनि प्रणालीले गहिराइमा गएर दुःखको यथार्थ कारणको चर्चा गर्न सकेका थिएनन्। बढीमा यो बाध्यकारी पुनर्जन्मको चक्रबाट केही समयको लागि ‘ब्रेक’ पाइएला र कुनै अन्य लोकमा पुनर्जन्म होला जहाँ तपाईंको मन विचारशून्य अवस्थामा पुगेर युगौंसम्म अल्मलिनेछ। तर एक दिन त्यसको पनि आयु सकिनेछ। बुद्धको समयमा कुनै पनि दार्शनिक प्रणालीले यथार्थ मुक्तिको अवस्थामा पुर्याउन सकेका थिएनन्।
बुद्धले यथार्थ निरोधको शिक्षा दिनुभयो। भ्रमपूर्ण दृष्टिकोणहरूलाई रोक्न र तिनीहरू कहिल्यै नदोहोरिने गरी तिनबाट मुक्ति पाउन सकिन्छ भन्ने कुरा बताउनुभयो। उहाँले यो पनि बताउनुभयो कि यसरी मुक्ति पाउन सकिने कुरा बुझ्नु र त्यसमा आत्मविश्वास हुनु जरुरी हुन्छ। होइन भने हामी मुक्तिको कामना नै नगर्न सक्छौं। हामी यो भ्रमबाट सधैँका लागि मुक्ति पाउन तत्पर भएनौं भने यसैलाई स्वीकारेर, चुपचाप दुःख भोग्दै बसेर परिस्थितिलाई जसरी हुन्छ व्यहोर्दै जान्छौं। दुःखमुक्तिका लागि अनेकौं उपचारको विकास भएको छ, जसको अन्तिम उद्देश्य परिस्थितिसँग मित्रता गरेर बस्न सिकाउनु हो। त्यसले काम चलेन भने मनको शान्तिका लागि औषधिहरू खानुपर्ने अवस्थामा पुगिन्छ।
चौथो आर्यसत्य
चौथो आर्यसत्य (मार्ग सत्य) लाई “यथार्थ मार्ग” भन्न सकिन्छ। यसले तेस्रो सत्यलाई राम्रोसँग बुझ्न सहयोग गर्छ। यसले चित्तको त्यस्तो अवस्था बुझाउँछ, जसमा हामीले आफूलाई स्थापित गर्न सक्यौं भने निर्वाणसम्म पुग्न सकिन्छ। यसलाई हामी “चित्तको मार्ग” पनि भन्न सक्छौं। चित्तसँग सम्बन्धित भएकाले यसलाई अन्य भाषामा उल्था गर्न त्यत्ति सजिलो भने छैन।
हाम्रो मनले एकदमै निरर्थक कल्पनाहरू गर्छ। र, यस्तो कल्पना विभिन्न स्तरमा हुन सक्छ। कहिलेकाहीँ मनको कल्पना अतिमा पुग्छ र स्किजोफ्रेनिया वा पागलपन जस्तो अवस्था हुन्छ। यस्तो बेला सबैजना आफ्नो शत्रुजस्तो लाग्न सक्छ। तर यस्तो कल्पना सामान्य स्तरमा पनि हुन सक्छ, जस्तै – “यो चकलेट केक आजसम्म मैले भेटेका केकमध्ये सर्वोत्कृष्ट हो, यो खाएँ भने म साँच्चिकै खुशी हुनेछु।” मैले एकपटक बुखारेस्ट जाँदै गर्दा यस्तो अनुभव गरेको थिएँ। भिएनामा विमानको स्टपओभर थियो। मैले एक स्याउको केक देखेँ, र मलाई लाग्यो – “यो भियनीज आपल स्ट्रुडेल (स्याउको केक) संसारकै सबैभन्दा उत्कृष्ट हुनुपर्छ।” मैले एक टुक्रा किनेँ। त्यो त्यति राम्रो थिएन। केकबारे मेरो कल्पना निरर्थक साबित भयो। स्याउको केकको अस्तित्व मेरो कल्पना थिएन, त्यो साँच्चिकै थियो। तर त्यो सर्वोत्कृष्ट केक हो र त्यसले मलाई साँच्चिकै खुशी बनाउनेछ भन्ने सोच चाहिँ मेरो मनको कोरा कल्पना मात्र साबित भयो।
एवं प्रकारले तपाईं र म यो संसारमा छौं। बुद्धधर्मले हाम्रो अस्तित्व छैन भन्दैन। यसले त खाली के भन्छ भने हामी आफ्नो अस्तित्वमाथि कल्पनाका आधारमा अयथार्थ कुरा थोपर्छौं। हामी सोच्छौं कि यहाँ सबै चीज अरुबाट निरपेक्ष आफैँ अलग्गै अस्तित्वमा आएका हुन्। तर संसारमा कुनै कुरा पनि कुरा त्यस्तो हुँदैन। हरेक चीजका पछाडि धेरै कारण र संयोजनहरू विद्यमान हुन्छन्, जसको अस्तित्वले मात्र उक्त चीज अस्तित्वमा आउँछ। ती कारण र संयोजनहरू पनि सधैँ परिवर्तन भैरहन्छन्। तर हामी यो कुरा देख्दैनौं। आँखा अगाडि जे आयो त्यो मात्र हामी देख्छौं। जस्तै, हामी कसैको प्रतीक्षा गर्दैछौं तर उ कुनै कारणवश आएन। हामीलाई लाग्छ – त्यो मानिस एकदमै खराब छ, मसँग सधैँ नराम्रो व्यवहार गर्छ, मलाई मन पराउन पनि छाडिसक्यो, आदि। हामी सोच्छौं, उनीहरूका लागि सडकमा ट्राफिक नै हुँदैन, अफिसमा कहिल्यै पनि थप काम आइपर्दैन, उनीहरूले नसोचेको समस्या भोग्नै पर्दैन। तर हरेक चीजका पछाडि विभिन्न कारण र संयोजनहरू हुन्छन् भने उनीहरू खराब हुनुका पछाडि पनि उनीहरूको आफ्नो मात्र हात हुँदैन।त्यसमा अरु धेरै कुराको भूमिका हुन्छ। तैपनि हाम्रो मन कुनै कुराको कल्पना गर्छ, त्यसैमा झुण्डिरहन्छ, र रिस गर्छ। रिस एक नकारात्मक आवेग हो। त्यसैले अर्कोपटक उसलाई भेट्दा हाम्रो दृष्टिकोण अर्कै हुन्छ, हामी उसँग चिच्याएर रिस पोख्छौं र आफ्नो सफाइमा केही भन्ने मौका पनि दिदैनौँ। तर यसमा सबैभन्दा बढी दुःखी र बेखुशी हुने हामी आफैं हो, अरु कोही होइन।
यो संसारमा हामी छौं तर हामीले सोचेजस्तो रूपमा होइन। हामी आफूलाई अरुबाट पृथक आफैं अस्तित्वमा आएको विशेष व्यक्तिका रूपमा सोच्छौं, जुन हाम्रो कल्पनाको कोरा प्रक्षेपण मात्र हो। यो बेकारको कुरा हो। यो यथार्थ होइन। हाम्रो प्रक्षेपणको यस्तो अयथार्थतालाई नै बुद्धधर्ममा “शून्यता” भनिएको हो। संस्कृतमा यो शब्दको एक अर्थ “केही हैन” भन्ने हुन्छ, अर्थात् हामीले सोचेजस्तो यथार्थ बिल्कुलै हुँदैन। जस्तै, हामी आफ्नो नयाँ पार्टनरलाई दन्त्यकथाको सेतो घोडामा आउने सर्वगुण सम्पन्न राजकुमार वा राजकुमारीको रूपमा सोच्छौं (प्रक्षेपण गर्छौं), तर यथार्थ त्यस्तो हुँदैन। संसारमा त्यस्तो मानिस हुन सम्भव छैन, तैपनि हामी त्यस्तै मानिस खोजिरहन्छौं। अनि जब हाम्रो पार्टनर हामीले सोचेभन्दा फरक निस्कन्छ, हामी दुःखी हुन्छौं र अर्को मानिस खोज्न थाल्छौं। हामी असम्भवको खोजी गर्छौं र पाएनौं भने फेरी अर्को असम्भवको खोजी गर्छौं।
त्यसैले चित्त (मन) को लागि सही मार्ग भनेको हामीले कल्पनाका आधारमा गरेको प्रक्षेपण बेकारको कुरा हो र त्यो यथार्थभन्दा फरक छ भन्ने बुझ्नु हो। दुःखको यथार्थ कारणका बारेमा विचार गर्दा पाउनेछौं, आफ्नो प्रक्षेपण यथार्थसँग मेल खान्छ भन्ने सोच्नाले दुःख उत्पन्न हुन्छ। त्यसैले सही मार्ग भनेको यस्तो प्रक्षेपण यथार्थबाट भिन्न हुन्छ भन्ने राम्रोसँग बुझ्नु हो। हामीले कल्पनाका आधारमा गर्ने प्रक्षेपण र यथार्थ एक आपसमा विल्कुल अलग हुन्छन्। यसलाई फेरी दोहोर्याएर भन्छु – हाम्रो भ्रमपूर्ण दृष्टिकोण भनेको यो प्रक्षेपण यथार्थसँग मेल खान्छ भन्ने सोच्नु हो, र सही दृष्टिकोण भनेको त्यस्तो होइन भनेर बुझ्नु हो।
हाम्रो कल्पना या अन्य केही चीज या त सत्य हुन्छ, या हुँदैन। एकैपटक सत्य हुने र नहुने दुवै हुन सक्दैन। आफ्नो सन्दर्भमा यसलाई विचार गरेर हेरौं – हामीलाई आफूबारेको कल्पना सत्य जस्तो लाग्छ कि असत्य? “हो” भन्ने लाग्छ कि “होइन” भन्ने? अलिकति गहिरिएर हेर्यौं भने “होइन” भन्ने कुरा नै तर्कसंगत देखिन्छ, “हो” भन्ने कुरामा कुनै सत्यता देखिँदैन। जब म आँखा चिम्लिन्छु, अरुलाई देख्दिन, उनीहरू छैनन् जस्तो लाग्छ। के त्यसको मतलब उनीहरू अस्तित्वबाट हराउने हो त? होइन। मलाई आफू विश्वको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिजस्तो लाग्छ र सधैँ आफूले चाहेजस्तो होस् भन्ने सोच्छु। तर यो एकदमै वाहियात कुरा हो। जति गहिरिएर विचार गर्यो, त्यत्ति हाम्रो दिमागभित्रको यो लघुतायुक्त “म” को अस्तित्त्वप्रति प्रश्न उठ्छ। आफ्नो मस्तिष्कभित्र हेरौं – कहाँ छ यो “म” भन्ने तत्त्व जसले हाम्रो दिमागमा अनेकथरी कुरा खेलाइरहन्छ र हाम्रा लागि निर्णयहरू गरिदिन्छ? जति खोजेपनि यो “म” भन्ने तत्त्व भेटिँदैन। अवश्य पनि, म काम गर्छ, बोल्छु, सबैथोक गर्छु। यसलाई नकार्न सकिँदैन। तर त्यस्तो सघन “म” भन्ने बस्तु छ र यसले भनेजस्तै मात्र सबैथोक हुनुपर्छ भन्ने कुरा चाहिँ सही होइन। यस्तो “म” लाई तर्कले स्थापित गर्न सकिन्न। जति आफूभित्र अनुसन्धान गरेर हेर्यो, त्यत्ति यो “म” भन्ने कुरा पाईंदैन। त्यसैले यसलाई केन्द्रबिन्दु बनाएर गरिने कल्पना र प्रक्षेपणहरू सबै स्वतः यथार्थभन्दा भिन्न हुन्छन्।
यस्तो भ्रमपूर्ण ढंगले बाँच्नुको परिणति के हो त? हामी दुःखी हुनु हो। अनि आफूबारेको भ्रमबाट मुक्ति हुनु भनेको? समस्याहरूबाट पनि मुक्त हुनु हो। आफ्नो मिथ्या दृष्टिलाई बेकारको चीज भनेर बुझ्ने वित्तिकै त्यो कोणबाट हामी संसारलाई हेर्न छाड्छौं। दृष्टि सम्यक भयो भने मिथ्या दृष्टि विस्थापित हुन्छ। हामीले आफ्नो सम्यक दृष्टिलाई हरदम कायम राख्न सक्यौं भने फेरी भ्रमको चक्करमा पर्नुपर्दैन।
हुनत बुद्धको यो शिक्षा पनि उहाँको मात्र विशेष होइन। दृष्टिकोण सही भयो भने भ्रम निवारण हुन्छ तथा दुःख र पुनर्जन्मको चक्रबाट मुक्ति पाइन्छ भन्ने कुरा अरु भारतीय पद्धतिहरूले पनि गरेका छन्। तर सूक्ष्मतम स्तरमा पुगेर यस्ता भ्रमपूर्ण मिथ्या दृष्टि निवारण गर्ने वैज्ञानिक पद्धति चाहिँ बुद्ध शिक्षाको विशेषता थियो। ध्यानबाट पूर्ण समाधिको अवस्थामा पुग्न र सम्यक दृष्टिलाई आफ्नो चित्तमा स्थापित गरेर भ्रमबाट पूर्ण निवृत्त हुन बुद्धले त्यसबेलाको भारतीय परम्परामा उपलब्ध पद्धतिहरूको उपयोग गर्नुभयो। यो शिक्षाबाट हामी दुःख र दुःखको यथार्थ कारण, दुवैबाट पूर्ण निवृत्त हुन सक्छौं।
हाम्रो मानसिक प्रेरणाले चित्तमा यथार्थबारे सम्यक दृष्टि कायम राख्न र नकारात्मक आवेगहरूबाट अलग रहन बल प्रदान गर्छ। मैत्री र करुणाजस्ता अभ्यासले यो प्रेरणा प्राप्त हुन्छ। हामी सबै एक आपसमा अन्तरसम्बन्धित छौं र हामीजस्तै अरु पनि खुशीकै चाहना गर्छन् भन्ने जानेपछि अरुलाई सहयोग गर्न हामीले आफ्ना भ्रमहरूबाट मुक्ति पाउनै पर्छ।
चार आर्यसत्यको मुख्य शिक्षा यही हो। यसलाई अझ गहिरोसँग बुझ्न चित्त र कर्मबारे बौद्ध शिक्षाको ज्ञान आवश्यक हुन्छ।
सारांश
बुद्धधर्म र अन्य धार्मिक तथा दार्शनिक पद्धतिहरूबीच कतिपय कुरा समान छन्। तर चार आर्यसत्यको शिक्षाले हामीलाई आफ्नो यथार्थका बारेमा, हामीले भोग्ने दुःखका बारेमा, र यसबाट मुक्तिको उपायसम्बन्धमा जुन ज्ञान दिन्छ, त्यो अरु कसैले दिन सकेको छैन। चार आर्यसत्यको शिक्षा बुद्धको पहिलो शिक्षा थियो।
बुद्धलाई हामीले एक चिकित्सकका रूपमा लिन सक्छौं। प्राणीहरूले भोग्नुपर्ने अनेक दुःखका बारेमा बुद्धले हामीलाई त्यसरी बताउनुभयो, जसरी एक चिकित्सकले रोगका बारेमा बताउँछन्। चिकित्सकले रोगको कारण त्यसरी नै बताउँछन्, जसरी बुद्धले यथार्थबारे मिथ्या दृष्टिका कारण हामीले दुःख भोग्ने कुरा बताउनुभयो। चिकित्सकले रोगको निदान हुन सक्छ कि सक्दैन बताउँछन् र हामीलाई औषधि दिन्छन्। त्यस्तै बुद्धले दुःखको यथार्थ निदानको कुरा बताउनुभयो र त्यो प्राप्त गर्ने मार्ग बताउनुभयो। दुःखबाट मुक्त हुनु छ भने औषधि खाने कि नखाने, वा उक्त मार्गमा हिँड्ने कि नहिँड्ने, निर्णय गर्ने काम हाम्रै हो।