करुणाको विकास कसरी गर्ने

हामी सबैसँग करुणामय जीवन जीउने जन्मजात क्षमता हुन्छ। अरु प्राणी दुःख र यसका कारणहरूबाट मुक्त होऊन् भन्ने कामना हामी सबैले गर्न सक्छौं। यो क्षमतालाई विकसित गर्दै हामी आफ्नो र अरुका लागि अभूतपूर्व लाभ हासिल गर्न सक्छौं।

प्रारम्भमा, वास्तविक जीवनमा वा इन्टरनेटमा भेटिने मानिस तथा जनावरहरूप्रति करुणाको भाव जगाउँदै अभ्यास शुरु गर्न र यो भावलाई विकसित गर्न सक्छौं। यो भावलाई क्रमशः सबै मानिसका लागि फैलाउँदै लग्छौं। प्रिय, अप्रिय, अपरिचित सबै मानिसका लागि करुणाको भाव विकसित गर्ने अभ्यास गर्छौं। कीराफट्यांग्रा, साङ्लादेखि लिएर यो सम्पूर्ण विश्वका सबै प्राणी समावेश नहुञ्जेल हामी यसलाई विस्तार गर्दै लग्छौं।

करुणाको अभ्यास भावनात्मक र तार्किक दुवै दृष्टिले उपयुक्त छ। भावनात्मक रूपमा हामीले यो पृथ्वीका सबै प्राणीबीच अन्तरसम्बन्ध रहेको बुझ्नु आवश्यक छ। यो विश्वको अर्थतन्त्र र हामीले भोग गर्ने सबै कुराहरू – खानेकुरा, लत्ताकपडा, उपकरण, घर, गाडी लगायत सबै – अरुको परिश्रमबाट निर्मित हुन्छन्। अरु मानिसले काम नगर्ने हो भने हामीसँग सडक, बिजुली, इन्धन, पानी, खानेकुरा केही पनि हुने थिएन। यो चिन्तनले हामीलाई स्वतः सबैप्रति कृतज्ञ बनाउँछ। यसले हाम्रो मनमा खुशी ल्याउँछ र हामी “आनन्दमय प्रेम” को अनुभव गर्न सक्छौं। यो कृतज्ञताको भावमा हामी जति ध्यान गर्छौं, त्यति नै हामी अरुको खुशीमा रमाउन सक्छौं। जसरी कुनै आमाले आफ्नो एक्लो बच्चाको ख्याल राख्छिन्, त्यस्तै हामी अरुको ख्याल राख्न सक्छौं। अरुको दुःखमा हामी विचरा भनेर सहानुभूति देखाउँदैनौ। बरु उप्रति समानुभूति राख्छौं, मानौं उसको समस्या हाम्रो आफ्नै समस्या हो।

तार्किक हिसाबले हेर्दा पनि सबैप्रति एकैनासले करुणाको अभ्यास गर्नु एकदमै उपयुक्त छ। यद्यपि धेरै मानिसले त्यतातिर विचारै पुर्याउँदैनन्। सबै मानिस खुशीको चाहना राख्ने तथा दुःख र पीडाबाट मुक्तिको कामना गर्ने मामिलामा एक समान छन्। कुनै मानिस हामीसँग जतिसुकै नजीक या टाढा किन नहुन्, अथवा जुनसुकै पेशा गर्ने किन नहुन्, सबैका लागि यी दुई कुरा समान रूपले सत्य छन्। कसैले अरुलाई ठूलो हानि हुने काम गर्छ भने त्यो उसले अज्ञानवश गरिरहेको हुन्छ। उ अन्यौलग्रस्त र भ्रमित हुन्छ, र सोच्न सक्छ कि उसले गर्ने कामले उसलाई वा समाजलाई फाइदा हुन्छ। उनीहरू भित्रैदेखि खराब भने हुँदैनन्। कोही पनि भित्रैदेखि “खराब” हुँदैन। उनीहरूप्रति पनि करुणाको भाव राख्नु तर्कसंगत छ र उपयुक्त पनि। हामीले पीडा भोग्न नखोजे जस्तै उनीहरू पनि पीडाबाट मुक्ति खोजिरहेका हुन्छन्।

करुणा ध्यान

करुणा ध्यानको अभ्यासमा यसलाई क्रमिक रूपमा तीव्र बनाउँदै लगिन्छ। प्रथमतः हामी आफूलाई मनपर्नेका लागि, दोश्रोमा तटस्थ (न प्रिय न अप्रिय) र त्यसपछि मन नपर्ने मानिसका लागि करुणाको अभ्यास गर्छौं। अन्तमा सम्पूर्ण जगतका लागि सबैतिर समान रूपले करुणाको विस्तार गर्छौं।

प्रत्येक चरणमा हामी यस्तो भावना जागृत गर्छौंः

  • उनीहरू दुःख र यसका कारणहरूबाट मुक्त हुन सके कति राम्रो हुने थियो होला!
  • उनीहरू दुःखबाट मुक्त होऊन्, म उनीहरूको मुक्तिको कामना गर्छु।
  • म उनीहरूलाई सहयोग गर्न सकुँ।

करुणामा अरुलाई सहयोग गर्ने तत्परता हुन्छ, ताकि उनीहरू समस्याबाट पार पाउन सकुन् र दुःखबाट मुक्त हुन सकुन्। यो व्यावहारिक उपाय अपनाएर समस्या समाधान गर्न सकिन्छ र कुनै पनि अवस्थामा निराशामात्र हुँदैन भन्ने दृढ विश्वासले प्रेरित हुन्छ। बुद्धधर्मअनुसार करुणा भनेको मनको त्यस्तो क्रियाशील अवस्था हो जो अरुको सहयोगका लागि जुनसुकै पनि बेला कर्मक्षेत्रमा उत्रिन तत्पर हुन्छ।

Top