
बौद्ध धर्ममा करुणा केवल एउटा उच्च आदर्श मात्र होइन; यो एक शक्तिशाली र रूपान्तरणकारी शक्ति हो, जुन हाम्रो आध्यात्मिक अभ्यासको केन्द्रमा अवस्थित हुन्छ। करुणा विकास केवल व्यक्तिगत विकासका लागि मात्र नभई अझ शान्त र समरस संसार निर्माण गर्नका लागि पनि पूर्ण रूपमा आवश्यक छ, जुन प्रायः हामी सबैको चाहना हो।
हामीले करुणा किन विकास गर्नुपर्छ?
हामी मध्ये कसैले सोध्न सक्छौं कि “मैले किन करुणा विकास गर्नुपर्छ?” हामी आफूलाई खुशी र सफल ठान्न सक्छौं, र लाग्न सक्छ, करुणा भन्ने कुरा मेरो लागि खासै उपयोगी छैन। तर यदि हामी साँच्चै खुशी र सफल महसुस गरिरहेका छौं भने, हामीले यो कति हदसम्म अरूमा निर्भर छन् भनेर जाँच्न सक्छौं, जस्तै हामीले खाने खाना उत्पादन गर्नेहरू र हामीले प्रयोग गर्ने सडकहरू मर्मत गर्नेहरू। अरूहरूबिना, हामी कहाँ हुने थियौँ?
जब हामी यो बुझ्छौं कि वास्तवमा हामीले हाम्रो वरपरको संसारप्रति धेरै कुरा ऋणी छौं, तब हामीले देख्न थाल्छौं कि करुणा विकास गर्नु एउटा यस्तो कुञ्जी हो जसले नजिक र टाढाका अन्य मानिसहरूसँग अझ गहिरो सम्बन्ध खोल्छ। बुद्धले सिकाउनुभयो कि सबै प्राणीहरू एकअर्कासँग जोडिएका छन्, र त्यसैले अरूको सुख र दुख हाम्रो आफ्नै सुख-दुखसँग गहिरो रूपमा गाँसिएको छ।
जब हामी करुणा विकास गर्न थाल्छौं, तब केही महत्वपूर्ण कुरा हुन्छ। हामी आफैं र आफ्ना व्यक्तिगत आवश्यकता, इच्छा र चिन्ताभन्दा बाहिर हेर्न थाल्छौं। हामी बुझ्न थाल्छौं कि अरूको सुख र भलाइ पनि हाम्रो जत्तिकै महत्वपूर्ण छ। तिब्बती गुरुहरूले सिकाउने एउटा सुन्दर अभ्यास यस्तो छ, हामी आफैंलाई एकतर्फ, आफ्ना आवश्यकता र चाहनासहित कल्पना गर्छौं, र अर्कोतर्फ सबै जीवित प्राणीहरूहरूलाई, जसको आफ्ना-आफ्नै आशा, दुःख, र संघर्षहरू छन्। अनि आफैंलाई सोध्छौं: कसको आवश्यकता ठूलो छ — केवल म एकजनाको, वा अनगिन्ती जीवहरूको? यो दृष्टिकोणको परिवर्तन केवल अरूलाई सहयोग गर्नेबारे मात्र होइन; यो परिवर्तनले हामीलाई आफ्नै आत्मकेन्द्रित सोचबाट स्वतन्त्र बनाउँछ, जहाँ हामी सधैं आफ्नै बारेमा मात्रै सोच्ने गर्छौं।
[उद्धरण] यदि तपाईं अरूलाई खुशी देख्न चाहनुहुन्छ भने, करुणाको अभ्यास गर्नुहोस्। यदि तपाईं खुशी हुन चाहनुहुन्छ भने, करुणाको अभ्यास गर्नुहोस्। — परम पावन १४औं दलाई लामा
यसबाहेक, बुद्धका अनुसार, करुणा साँचो सुखको स्रोत हो। भौतिक वस्तुहरू वा हाम्रो करियरका उपलब्धिहरूको पछि लाग्नु केवल अस्थायी सन्तुष्टि मात्र प्रदान गर्दछ, तर करुणाले दिर्घकालीन पूर्णता ल्याउँछ। यसले हामीलाई साना, दैनिक क्षणहरूमा खुशी पाउन मद्दत गर्छ - जस्तै केही फिर्ताको अपेक्षा नगरी दिनु वा अपरिचित व्यक्तिलाई हाँसीदिनु। यो खुशी बाहिरी परिस्थितिहरूमा निर्भर हुँदैन; यो स्वाभाविक रूपमा अरूको हेरचाह गरेर र हामीजस्तै खुसी हुन चाहने मानिसका रूपमा उनीहरूसँग जोडिएर उत्पन्न हुन्छ।
करुणा विकास गर्नुका फाइदाहरू
सुरुमा हेर्दा, अरूको दुःखतिर ध्यान दिनु र त्यसका लागि केही गर्न चाहनुले हामीलाई भावनात्मक रूपमा झनै भारी बनाउने जस्तो लाग्न सक्छ। तर, बिडम्बनापूर्ण रूपमा भन्ने हो भने — जति बढी हामी करुणा विकास गर्छौं, उति नै हामी आफैंलाई उचाल्छौं, र आफ्नै जीवनमा अझ शान्ति र उद्देश्य पाउँछौं। सरल शब्दमा भन्नुपर्दा, आफू र हाम्रो वरपरको संसार दुवैका लागि अनगिन्ती फाइदाहरू ल्याउँछ।
व्यक्तिगत स्तरमा, करुणाले तनाव, चिन्ता, र डिप्रेशन घटाउँछ भन्ने कुरा विज्ञानिक रुपमा प्रमाणित गरिसकेको छ। यसले हाम्रो भावनात्मक दृढता बढाउँछ, जसले जीवनका सबै चुनौतीहरू सामना गर्न सजिलो बनाउँछ। करुणाले हाम्रो व्यक्तिगत सम्बन्धहरूलाई पनि समृद्ध बनाउँछ। हामीलाई आफूले मन पराउनेहरूप्रति बढी बुझदार, धैर्यवान र सहयोगी बनाउँछ।
फराकिलो स्तरमा, करुणामा समाज परिवर्तन गर्ने शक्ति छ। जब हामी करुणासहित कार्य गर्छौं, हामी दयालुता र सहानुभूतिको संस्कृतिमा योगदान पुर्याउँछौं। यसले सकारात्मक वातावरण सिर्जना गर्छ जहाँ मानिसहरूले आफूलाई मूल्यवान र सहयोगित महसुस गर्छन्, जसले ठूलो सामाजिक सद्भावना र एकताको नेतृत्व गर्छ।
तर सम्भवतः करुणाको सबैभन्दा ठूलो फाइदा यही हो कि यसले हामीलाई हाम्रो वास्तविक प्रकृतिसँग जोड्छ। अनुकम्पाले हामीलाई अलगावको भ्रमभन्दा बाहिर हेर्न मद्दत गर्दछ, सबै जीवनको एकअर्कासँगको सम्बन्ध प्रकट गर्दछ। यस अनुभूतिमा, हामीले उद्देश्यको भावना मात्र होइन तर दीर्घकालीन शान्ति र पूर्तिको मार्ग पनि पाउँछौँ।

करुणा विकास गर्ने तरिकाहरू
बुद्धले करुणा विकास गर्ने धेरै विधिहरू सिकाउनु भएको थियो। जब हामी ती अभ्यासहरूमा आफैंलाई क्रमशः प्रशिक्षित गरेर, हाम्रो करुणा बिस्तारै अरूप्रति स्वचालित प्रतिक्रिया बन्छ र सहज दयालुताका कार्यहरूमा लैजान्छ।
अरूको दुःखमा चिन्तन गर्नु
हामी यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ “करुणा थकाइ” भन्ने अनुभव गर्ने मानिसहरूको संख्या बढिरहेको छ। युद्ध, दुर्भिक्ष, र अन्य विपद्को छविहरू हाम्रा समाचार र सामाजिक सञ्जालहरूमा निरन्तर देखाइन्छ, जसले गर्दा धेरै मानिसहरू अभिभूत महसुस गर्छन् र थप दुःख सुन्न वा देख्न तयार हुँदैनन्।
तथापि, करुणा विकास गर्ने सबैभन्दा प्रभावकारी तरिकाहरू मध्ये एक भनेको अरूको दुःखमा सक्रिय रूपमा चिन्तन गर्नु हो। त्यसैले, जब हामी समाचारमा कुनै त्रासदी देख्छौं, हामी केवल "ओह, कति भयानक" भन्दै तुरुन्तै स्क्रोल गर्नु हुँदैन। शरणार्थीहरूको कथाको उदाहरण लिऔं। आफ्नो मातृभूमि र सम्पूर्ण जीवन सबथोक छोडेर अज्ञात ठाउँमा जानुपर्ने कति डरलाग्दो अवस्था हो भने कुरा हामी एक क्षण समय निकालेर यो चिन्तन गरौं। जीवनको जोखिम मोलेर सुरक्षित ठाउँमा पुग्दा पनि, उनीहरूलाई प्रायः डर, आशंका वा उपेक्षाको दृष्टिले हेरिन्छ। यदि हामी वा हाम्रा प्रियजनहरू त्यस्तै अवस्थामा भएको भए कति डरलाग्दो हुन्थ्यो भनेर सोच्नुहोस्, र त्यसपछि स्वाभाविक रूपमा, करुणाको भावना जाग्नेछ: "कसैले पनि यस्तो दुःख भोग्नुनपरोस्।"
यहाँ हामीले बुझ्न सक्छौं कि दुःखमा मनन गर्नु भनेको पीडा वा दुःखमा अल्झिनु हैन, न त त्यसले हामीलाई अभिभूत बनाउनु हो। बरु, यसको अर्थ हो — दुःख एउटा सार्वभौमिक अनुभव हो भन्ने कुरा स्वीकार गर्नु। जब हामी आफू वरिपरिका र टाढा टाढाका मानिसहरूले भोगिरहेका चुनौतीहरूलाई देख्छौं र बुझ्न थाल्छौं, तब स्वाभाविक रूपमा उनीहरूको पीडा घटाउने साँचो इच्छा हाम्रो मनमा उत्पन्न हुन्छ।
दयालुताका कार्यहरूमा संलग्न हुनु
जसरी उल्लेख गरिएझैं, करुणा भनेको हामीले महसुस गर्ने कुरा मात्र होइन, यो हामीले व्यवहारमा उतार्ने कुरा हो। दयाका साना-साना कार्यहरू- चाहे त्यो कसैलाई सहयोग गर्न हात बढाउनु, कसैले बोल्न चाहेको बेला ध्यानपूर्वक सुन्नु, वा अपरिचितलाई मुस्कान दिने जस्ता – यी सबैले हाम्रो करुणालाई व्यवहारमा उतार्न मद्दत गर्छन्।
यी दयालु कार्यहरू सानातिना लाग्न सक्छन्, तर यिनले ठूलो प्रभाव पार्न सक्छ, हामीले सोचेभन्दा धेरै व्यक्तिहरूलाई छुने शक्ति राख्छन्। दयालुता पनि एक मांसपेशी जस्तै हो – हामीले गरेका प्रत्येक दयालु कार्यहरूले हाम्रो करुणालाई अझ बलियो बनाउँछन्, जसले गर्दा भविष्यमा हामी सजिलैसँग सहानुभूति र माया व्यक्त गर्न सक्षम हुन्छौं। यो विभाजित महसुस हुने संसारमा, यस्ता साना दयालु कार्यहरूले हामीलाई अन्य प्राणीहरूसँग अझ नजिक ल्याउन र संसारलाई केही उज्यालो महसुस गराउन सकिन्छ।
परोपकारी मयाको अभ्यास गर्नु
परोपकारी मया, अर्थात् अरूहरू सुखी होउन् भन्ने साँचो चाहना, यसको करुणासँग गहिरो सम्बन्ध हुन्छ। यो एक शक्तिशाली अभ्यास हो, जसबाट हामी आफू-केन्द्रित चिन्तनबाट बाहिर निस्केर सबै प्राणीहरूलाई समेट्ने व्यापक प्रेमतर्फ ध्यान केन्द्रित गर्न सिक्छौं। यसरी अभ्यास गर्दा, हामी आफैंभित्र गहिरो शान्ति र सन्तुष्टिको स्रोतसँग जडान हुन थाल्छौं, जुन पूर्ण रूपमा हाम्रो भित्र नै अवस्थित हुन्छ।
"संसारकै सबैभन्दा खुशी मानिस" भनेर चिनिने बौद्ध भिक्षु माथ्यू रिकार्डले (Matthieu Ricard) भनेझैं, "परोपकार भावना त्यो मानसिक अवस्था हो जुन अभ्यास गर्न सबैभन्दा राम्रो हुन्छ, किनभने यसले आफैंका लागि र अरूका लागि सबैभन्दा ठूलो फाइदाहरू ल्याउँछ।" जब हामी दैनिक जीवनमा परोपकार अभ्यास गर्न खोज्छौं, तब हाम्रो हृदय स्वाभाविक रूपमा अझ करुणामय र खुला बन्छ ।
यो अभ्यासका लागि कुनै ठूलो प्रदर्शन आवश्यक हुँदैन; यो हाम्रो दैनिक जीवनमा भेट हुने मानिसहरूप्रति साँचो मनले सुखको कामना गर्नुबाट सुरु हुन सक्छ। चाहे यो चुपचाप सडकमा अपरिचितलाई व्यक्तिलाई शुभकामना दिनु, साथीले शान्ति पाओस् भनेर चाहनु, वा संसारभरि पीडामा रहेका प्राणीहरूलाई मया पठाउनु—यस्ता साना तर उद्देश्यपूर्ण दयालु कार्यहरूले हाम्रो मया र करुणाको क्षमतालाई विस्तार गर्न मद्दत गर्छन्।
कहिलेकाहीं हामी त्यस्ता व्यक्तिहरूप्रति परोपकारी मया अनुभूति गर्न सजिलो मान्छौं, जो बाहिरबाट दुःख भोगिरहेका जस्ता देखिन्छन्। जस्तै, हामीले सडकमा कुनै भिखारी देख्यौं भने तुरुन्तै हामीभित्र यस्तो भावना आउन सक्छ, “ओह, उनी सुखी होऊन्, र दुःखबाट मुक्ति पाऊन्।” तर जब हामी कसैलाई धनी देख्छौं, जसको जीवनमा सबै कुरा ठीकठाक देखिन्छ, तब हामी सोच्न सक्छौं, “उनीहरूका लागि सुखको कामना किन गर्नु? उनीहरूसँग त सबै छ नि!” तर परोपकारी मया भनेको बाहिरी अनुभवभन्दा बाहिर जानु हो। कोही संघर्षरत देखिऊन् वा सफल, सबैजनाले सुखी हुने अधिकार राख्छन् भन्ने कुरा हामीले सधैं सम्झनु पर्छ।
यसका लागि बुद्धले मैत्री ध्यान को शिक्षा दिनुभएको थियो। यस अभ्यासमा, हामी सुरुमा आफैंप्रति प्रेम र दयाका भावना उत्पन्न गर्छौं, र त्यसपछि ती नै भावनाहरूलाई अरूहरूतर्फ विस्तार गर्छौं — पहिले प्रियजनहरूतर्फ, त्यसपछि तटस्थ व्यक्तिहरू तर्फ, र अन्त्यमा ती व्यक्तिहरू तर्फ जो हामीलाई गाह्रो वा चुनौतीपूर्ण लाग्न सक्छन्। यस अभ्यासको उद्देश्य भनेको हाम्रो प्रेम र करुणाको घेरा विस्तार गर्दै लैजानु हो, जबसम्म यसले कुनै अपवाद बिना सबै प्राणीहरूलाई समेट्दैन। समयसँगै, हामी जसलाई भेट्छौं, उनीहरू सबैका लागि स्वाभाविक रूपमा सुखको कामना गर्न थाल्नेछौं।
सचेतता र ध्यान
सचेतता भनेको कुनै पनि क्षणमा पूर्ण रूपमा उपस्थित भइ आफूभित्रका विचारहरू, भावना र वरपरको वातावरणप्रति निष्पक्ष ढंगले जागरूक रहने अभ्यास हो। जब हामी यो सीपलाई निखार्छौं , जुन हामी सबैले सिक्न सक्ने कुरा हो — तब हामीले आफैंको पीडा र अरूको पीडालाई अझ स्पष्ट रूपमा बुझ्न थाल्छौं।
हाम्रो चेतना बढ्दै जाँदा, स्वाभाविक रूपमा हाम्रो करुणा पनि बढ्छ, किनभने हामी बुझ्न थाल्छौं कि दुःख त मानव अस्तित्वको एउटा आधारभूत पक्ष हो, जुन हामी सबैले कुनै न कुनै रूपमा भोग्ने गर्छौं।
महान बौद्ध भिक्षु तथा शिक्षक थिच न्यात हान्हले (Thich Nhat Hanh) यति स्पष्ट रूपमा भनेजस्तै, “सचेतताबाट वा माइन्डफुलनेसले करुणालाई जन्म दिन्छ।” जब हामी अझ सचेत बन्छौं, तब हामी आफैं र अरूले अनुभव गर्ने पीडा, डर, र निराशाका स्पष्ट मात्र होइन, सूक्ष्म तरिकाहरू पनि देख्न थाल्छौं। यस्तो बुझाइले हाम्रो हृदयलाई कोमल बनाउँछ, जसका कारण हामी झोंक वा चिढचिढोपनले प्रतिक्रिया जनाउनुको सट्टा करुणा र दयाले प्रतिकार गर्न सक्षम हुन्छौं।
सचेतता र ध्यानमार्फत हामी बिस्तारै बुझ्न थाल्छौं कि जुनसुकै परिस्थितिमा किन नहोस्, सबैले आफ्नै प्रकारका संघर्ष र चुनौतीहरू भोगिरहेका हुन्छन्। यसले हामीलाई छिटो निर्णय र निष्कर्षमा पुग्ने बानीबाट बाहिर निस्कन मद्दत गर्छ। जब हामी अभ्यास गरेर आफ्नो करुणालाई सबै प्राणीहरूतर्फ विस्तार गर्न थाल्छौं, तब हामीबीच रहेका अलगाव र कहिलेकाहीँ आफूलाई अरूभन्दा माथि ठान्ने मानसिकता जस्ता पर्खालहरू भत्किन थाल्छन्, जसले गर्दा हामी अरूसँग गहिरो सम्बन्ध जोड्नबाट रोकिरहेको हुन्छ। यसरी गर्दा, हामी सामाजिक प्राणीको रूपमा हाम्रो आफ्नै खुशीमा र हाम्रो वरपरका सबैको खुशीमा योगदान गर्दछौं।
निष्कर्ष: साँचो करुणाको मार्ग
थिच न्यात हान्हले भन्नुभएको थियो, "करुणा भनेको क्रियापद हो।" अर्थात्, यो सक्रिय रूपमा अभ्यास गर्नुपर्ने कुरा हो, न केवल ती व्यक्तिहरूका लागि जो स्पष्ट रूपमा दुःखमा देखिन्छन्, तर हामीले भेट्ने प्रत्येक व्यक्तिका लागि। साना दयालु कार्यहरू, अरूको पीडामा विचार गर्नु, वा मैत्री ध्यान जस्ता अभ्यासहरू मार्फत, हाम्रो भित्रको करुणाको बीउ एकदिन सबै प्राणीहरूको लागि साँचो माया र चिन्ताको फूलमा परिणत हुन सक्छ।
मानवको रुपमा, आफ्ना व्यक्तिगत चाहना र चिन्तामा हराउनु सहज कुरा हो। तर साँचो कुरा के हो भने, जो कोही भए पनि उनीहरू को हुन्, कहाँबाट आएका हुन्, वा कस्तो देखिन्छन्, सबैजनाले सुखको चाहना गर्छन् र दुःखबाट मुक्ति पाउन चाहन्छन्। यही ठाउँमा हामीले अर्थपूर्ण योगदान दिन सक्छौं। हामीले आफूलाई सानोतिनो ठान्न सक्छौं, तर बुद्धले हामीलाई सिकाउनुभएको कि सबै कुरा र सबै व्यक्ति आपसमा जोडिएका हन्छन्। यसको मतलब हामीले अपरिचितहरूलाई दिने हरेक मुस्कान र मैत्री-करुणा ध्यानमा बिताउने हरेक मिनेट, यी सबैको हामी र हाम्रो वरपरकाहरूमा सकारात्मक प्रभाव पार्छन्।