कार्यमा करूणा: एउटा बौद्धको दृष्टिकोण

Image%201%20%281%29

करुणा — अर्थात् अरूहरू दुःख र त्यसका कारणहरूबाट मुक्त होऊन् भन्ने चाहना — मानवताको सबैभन्दा सुन्दर गुणहरू मध्ये एक हो। यद्यपि, करुणाको विचार प्रेरणादायक भएत पनि, यसले साँच्चिकै शक्ति तब पाउँछ जब हामी यसलाई व्यवहारमा उतार्छौँ। त्यसोभए, कार्यमा करुणा बौद्ध साधकहरूको रूपमा हाम्रो गहिरो मूल्यहरूको मूर्त रूप हो। यो सबै प्राणीहरूको कल्याणप्रतिको हाम्रो प्रतिबद्धताको ठोस अभिव्यक्ति हो। जब हामी आफ्नो करुणाशील चाहनालाई वास्तविक, अर्थपूर्ण कार्यहरूमा रूपान्तरण गर्छौं, तब हामी वरपरको संसारमा राहत ल्याउन सक्छौं। के त्योभन्दा अर्थपूर्ण अरू केही हुन सक्छ र?

किन करुणालाई कार्यमा उतार्न आवश्यक छ

दुःखलाई राहतमा रूपान्तरण गर्नु

चार आर्य सत्यहरूमध्ये पहिलो सत्यले बताउँछ कि जन्मदेखि मृत्युसम्मको जीवन दुःख र असन्तोषले भरिएको हुन्छ। यस दुःखको प्रतिकारका लागि प्रज्ञा सँगै करुणा पनि आवश्यक छ। यद्यपि, करूणा आफनो पूर्ण अर्थमा करुणा केवल समझदारी वा सहानुभूतिको रूपमा सीमित हुँदैन — यसले कार्यको माग गर्छ। करुणालाई व्यवहारमा परिणत गरेर, हामी अरूको दुःखलाई प्रत्यक्ष रूपमा कम गर्न सक्छौं। चाहे त्यो आवश्यक परेको मित्रलाई सहयोग गर्नुहोस्, कुनै सकारात्मक अभियानलाई समर्थन गर्नुहोस्, वा पीडामा परेका कसैको साथ बस्नुहोस् — हाम्रा करुणापूर्ण कार्यहरूले अरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। कार्यमा आधारित करुणाले हामीलाई पनि रूपान्तरण गर्छ। जब हामी दयालु कार्यहरूमा संलग्न हुन्छौं, हामी बिस्तारै उदार र संसारप्रति खुला हृदय विकास गर्दै जान्छौं।

सकारात्मक कर्म सम्भावनाको सिर्जना

बौद्ध धर्ममा, हाम्रो कार्यहरूको नियत अत्यन्त महत्वपूर्ण छ। साँचो करुणाबाट प्रेरित कार्यहरूले सकारात्मक सम्भावना सिर्जना गर्छन्, जुन बुद्धले भविष्यको सुखको कारण हुने बताउनुभएको छ। जब हामी करुणाबाट कार्य गर्छौं, हामी दयालुताका बीउहरू छर्छौं जसले हाम्रो आफ्नै जीवनमा र अरूको जीवनमा फल दिनेछ। करुणाशील कार्यले विनाशकारी सम्भावनाहरूको चक्र पनि तोड्छ। जब हामी बारम्बार क्रोध वा स्वार्थ होइन, दया र समझदारीसाथ परिस्थितिहरूको सामना गर्छौं, तब हाम्रो मन र हृदय बिस्तारै सकारात्मक कर्महरूमा अभ्यस्त हुँदै जान्छन् — जुन अन्ततः हाम्रो स्वभावकै हिस्सा बन्छ। जबसम्म तिनीहरू हाम्रो स्वभाव नै बन्दैनन्। यसले बढी आन्तरिक शान्ति र बुद्धत्वतर्फको स्पष्ट मार्ग निम्त्याउँछ।

अन्तरसम्बन्धको  समझ

कार्यमा आधारित करुणाले हामीलाई सबै प्राणीहरूबीचको अनतरसम्बन्धलाई बुझ्न मद्दत गर्छ। यो ब्रह्माण्डमा कुनै पनि प्राणी छैन जसले दुःखको कामना गर्छ; सबैले समान रूपमा सुख चाहन्छन्। जब हामी करुणाका साथ व्यवहार गर्छौं, हामी यो स्वीकार गर्छौं कि हामी सबै एक ठूलो समग्रताका हिस्सा हौं  र अरूको सुख–दुःख हाम्रो आफ्नैसँग गहिरो रूपमा जोडिएको छ। यस किसिमको चेतनाले हामीभित्र एकता र सम्बन्धको भावना जागृत गराउँछ। यसले अलगाव र छुट्टावको भित्ताहरू भत्काउँछ, जसले धेरैजसो पीडाको जरा बोकेको हुन्छ। एक विभाजित महसुस हुने संसारमा, कार्यमा आधारित करुणा यस्तो शक्तिशाली शक्ति हो, जसले हामीलाई सम्झाउँछ कि हामी सबै एउटै यात्रामा छौं र एक-अर्कालाई समर्थन गरेर हामी अझ समरस र मेलमिलापपूर्ण संसार निर्माण गर्न सक्छौं।

करुणालाई कार्यमा रूपान्तरण गर्ने उपायहरू

दान

छ पारमितामध्ये पहिलो दान हो, यो करुणालाई कार्यमा अभ्यास गर्ने सबैभन्दा राम्रो तरिकाहरूमध्ये एक हो। यसको अनेकौं रूपहरू हुन सक्छन्, जस्तै: यदि हामी सक्षम छौं भने आवश्यक परेका व्यक्तिहरूलाई सामाग्री प्रदान गर्नु, वा हामी आफ्नो समय र शक्ति पनि विभिन्न तरिकाहरूमा बाँड्न सक्छौं। बौद्ध धर्ममा दिनु भनेको केवल प्राप्त गर्ने व्यक्तिका लागि मात्र होइन, दिने व्यक्तिका लागि पनि हो। जब हामी शुद्ध र प्रसन्न हृदयले, र विशेष गरी केही फर्काएर पाउने आशा नगरी दिन्छौं, तब हामी हाम्रो व्यक्तिगत चाहनाहरूबाट मुक्त हुन्छौं र नि:स्वार्थताको आनन्दमा खुल्न थाल्छौं।

भावनात्मक साथ र सान्त्वना दिनु

के तपाईंले याद गर्नुभएको छ कि जब कोही कठिन समयबाट गुज्रिरहेको हुन्छ, तिनीहरूलाई प्रायः सल्लाहको आवश्यकता हुँदैन - तिनीहरूलाई केवल आफ्नो छेउमा कोही चाहिन्छ? कहिलेकाहीं, हामीले गर्न सक्ने सबैभन्दा करुणाशील कुरा भनेको केवल उपस्थित हुनु हो। भावनात्मक सहयोग प्रदान गर्नु - दयालु शब्दहरू, अँगालो, वा बिना कुनै निर्णय रूपमा सुन्नु - यसले गहिरो सान्त्वना र राहत दिन सक्छ। यस किसिमको करुणाशील कार्यका लागि कुनै ठूलो प्रयास आवश्यक छैन; प्रायः यी स-साना दयाका कार्यहरूले नै सबैभन्दा ठूलो प्रभाव पार्छन्। जब हामी अरूको पीडाको समयमा उनीहरूको साथमा हुन्छौं, हामी देखाउँछौं कि हामी वास्ता गर्छौं र तिनीहरू एक्लै छैनन्।

समुदायमा स्वयम्सेवा

समुदायमा स्वयंसेवक बन्नु करुणालाई व्यवहारमा उतार्ने अर्को प्रभावकारी तरिका हो। अधिकांश स्थानहरूमा यसका लागि धेरै अवसरहरू उपलब्ध हुन्छन् — जस्तै खाद्य बैंकमा सहयोग गर्नु वा सामुदायिक सरसफाइ अभियानमा सहभागी हुनु। स्वयंसेवा गर्नाले हामीलाई अरूको भलाइमा प्रत्यक्ष रूपमा योगदान गर्न मौका दिन्छ, साथै यसले हाम्रो जीवनमा उद्देश्यको गहिरो अनुभूति पनि दिलाउँछ। अरूलाई सहयोग गर्न समय र श्रम समर्पण गर्दा, हामी धैर्यता र करुणा दुबैको अभ्यास गर्छौं। साथै हामी विनम्रता पनि विकास गर्छौं, आफू ब्रह्माण्डको केन्द्र होइनौं भन्ने बुझाइसँगै, सबैले कुनै न कुनै कठिनाइ भोगिरहेका हुन्छन् भन्ने समझ पैदा हुन्छ, जसले हाम्रो करुणामय सोचलाई अझ बलियो बनाउँछ।

सामाजिक न्यायको लागि वकालत गर्नु

कार्यमा आधारित करुणा सामाजिक न्यायको वकालतको रूपमा पनि प्रकट हुन सक्छ। यसको अर्थ सबै प्राणीहरूको अधिकार र गरिमाको पक्षमा उभिनु, अन्यायको विरोध गर्नु, र अझ न्यायपूर्ण तथा करुणामय समाज निर्माणतर्फ काम गर्नु हो। यसका लागि हामी जनचेतना फैलाउन, नीतिमा सुधार ल्याउन समर्थन गर्न, शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन वा त्यस्तो कार्य गर्ने संस्थाहरूलाई आर्थिक सहयोग गर्न सक्छौं। यस्ता वकालतहरू चुनौतीपूर्ण हुन्छन्, तर ती करुणालाई व्यवहारमा उतार्ने प्रभावशाली तरिका हुन्, विशेषतः जब तिनीहरू समाजका सबैभन्दा उपेक्षित र पीडित वर्गप्रति लक्षित हुन्छन्। यसले देखाउँछ कि हामी दुःख भोगिरहेकाहरूको सहायता गर्न आफ्नो शक्ति प्रयोग गर्न इच्छुक छौं। 

करुणालाई व्यवहारमा उतार्दा हुने फाइदाहरू

जब हामी करुणाका साथ व्यवहार गर्छौं, यो केवल अर्को व्यक्तिलाई मद्दत गर्ने कार्य मात्र नभई  यो हाम्रो आफ्नै लागि पनि खुशी र अर्थको स्रोत बन्छ। कसैको बोझलाई साँच्चै कम गरेको थाहा पाउँदा उत्पन्न हुने आनन्दको कल्पना गर्नुहोस्, चाहे त्यो थोरै मात्र भए पनि। यो आनन्द सांसारिक भौतिक लाभको सन्तुष्टि जस्तै क्षणिक हुँदैन - यो गहिरो र स्थिर दीर्घकालीन खुशी हुन्छ, र यसलाई कुनै पैसाको आवश्यकता पर्दैन; हामी सबैले भाग लिन सक्छौं। थप रूपमा, हरेक करुणाशील कार्यले हाम्रो मन भित्र करुणाको बानीलाई झनै बलियो बनाउँछ। चाँडै नै, हामीले कुनै पनि व्यक्ति वा परिस्थितिको सामना गर्दा करुणाका साथ व्यवहार गर्नु हाम्रो दोस्रो स्वभाव जस्तै बन्न पुग्छ।

हामीमध्ये जो जो बौद्ध धर्म अभ्यास गर्न चाहन्छौं, उनीहरूका लागि करुणा सबैभन्दा अमूल्य साथी हो भन्न सकिन्छ। करुणाको माध्यमबाट, हामी आफूसँग अरू प्राणीहरूबीच सम्बन्ध गाँस्न रोक्ने बाधाहरू हटाउन सक्छौं र, परम पावन दलाई लामा ज्यूले हामीलाई सधैं सम्झाइरहनुहुन्छ जस्तै, हामी सामाजिक प्राणी हौं, अनि हाम्रो अरूसँगको सम्बन्धले नै साँचो सुखी र अर्थपूर्ण जीवन निर्माण गरिन्छ।

निष्कर्ष

कार्यमा आधारित करुणा बौद्ध अभ्यासको मुटु हो; र अहिलेको संसारलाई यसको अत्यन्त आवश्यकता छ। यसले हाम्रो मनभित्र रहेका सुन्दर करुणामय अभिप्रायहरूलाई वास्तविक र स्पर्श गर्न मिल्ने प्रयासहरूमा रूपान्तरण गर्छ, जसले दुःख कम गर्न र राम्रो संसार निर्माण गर्न सहयोग पुर्‍याउँछ। उपयुक्त कुनै पनि तरिकाबाट — माथि उल्लेख गरिएका उपायहरू वा अनगिन्ती अन्य माध्यमबाट — करुणापूर्ण कार्यहरूमा सहभागी हुँदा, हामी केवल आवश्यक परेका व्यक्तिहरूलाई मद्दत गर्ने मात्र नभएर हामी बुद्धत्वको मार्गमा आफूलाई पनि अघि बढाइरहेका हुन्छौं।

Top