आत्म-करुणाको महत्व

Image%201%20%283%29

आत्म-करुणा बौद्ध अभ्यासको आधारशिला हो, तर पनि दैनिक जीवनमा यसलाई प्रायः गलत रूपमा बुझिन्छ वा बेवास्ता गरिन्छ। हामीमध्ये धेरैलाई अरू प्रति दयालु र करुणाशील बन्न सिकाइएको हुन्छ, तर त्यही दयालुता आफैंप्रति देखाउन हामीलाई कठिन हुन्छ। बौद्ध धर्ममा आत्म-करुणा केवल माया देखाउने कार्य मात्र नभएर, यो आध्यात्मिक विकास र जीवनको कल्याणका लागि अत्यावश्यक आधार हो।

यदि कुनै व्यक्ति बाढी आएको र छिटो बग्ने नदीमा झर्दा धारामा बगाउँछ भने, उसले अरूलाई नदी पार गर्न कसरी सहायता गर्न सक्छ? – बुद्ध

आत्म-करुणा के हो?

आत्म-करुणा भन्नाले अन्ततः आफूलाई त्यही माया, हेरचाह, र समझदारीका साथ व्यवहार गर्नु हो जुन हामीले आफ्ना प्रिय मित्रलाई प्रदान गर्छौं। हामी प्रायः साथीहरूको समस्याप्रति निष्पक्ष र सहानुभूतिपूर्ण ढंगले सुनाउन सजिलो महसुस गर्छौं, तर जब कुरा आफैंप्रति आउँछ, हामी सोच्न थाल्छौं कि त्यस्तो व्यवहारको हामी हकदार छैनौं। आत्म-करुणा भन्नुको अर्थ हो—आफ्ना कमजोरी, असफलता, र संघर्षहरूलाई कठोर निर्णय बिना स्वीकार गर्नु। आफूलाई दोष दिने वा आलोचना गर्ने साटो, हामीले आफूलाई स्वीकार्न र बुझ्न प्रयास गर्नुपर्छ। यो करुणापूर्ण  दृष्टिकोण आत्म-भोगविलासिता वा बहाना बनाउने बारेमा होइन बल्कि सबैले - आफू सहित - सबैले जीवनमा अनिवार्य रूपमा सामना गर्ने चुनौतीहरूलाई चिन्नु हो।

बौद्ध धर्ममा आत्म-करुणा किन महत्त्वपूर्ण छ?

करूणाको सुरूवात हामीबाट हुन्छ।

सामान्य रूपमा भन्ने हो भने, अरूप्रति साँचो करुणा आफूप्रति करुणाबाट नै सुरु हुन्छ। यदि हामी आफैंप्रति कठोर र आलोचनात्मक छौं भने, सोच्नुहोस्—अरूप्रति साँचो करुणा देखाउनु कति चुनौतीपूर्ण हुनेछ।आत्म-करुणाको अभ्यासमार्फत हामीभित्र एक दयालु र नम्र दृष्टिकोण विकसित हुन्छ, जसले स्वाभाविक रूपमा बाहिर प्रसारण हुन्छ र हामीलाई अरूसँग अझ गहिरो सहानुभूतिपूर्ण सम्बन्ध बनाउन सहयोग पुर्‍याउँछ।

यसले भावनात्मक उपचारलाई प्रवर्द्धन गर्छ

जीवन उतारचढावले भरिपूर्ण छ, र हामीले आफ्नो दुःखलाई कसरी प्रतिक्रिया दिन्छौं त्यसले हाम्रो कल्याणमा महत्त्वपूर्ण फरक पार्छ। आत्म-करुणाले कठिन समयहरूमा शान्त पार्ने मरहम प्रदान गर्दछ। यसले हामीलाई हाम्रो पीडाबाट अभिभूत नभएर त्यसप्रति खुला रहन अनुमति दिन्छ, जसले हामीलाई झट्काहरूबाट अझ सजिलैसँग फर्किन मद्दत गरिन्छ।

यसले नकारात्मक आत्म-कुराकानीलाई कम गर्छ

हामीमध्ये धेरैको भित्र एउटा आलोचक बसिरहेको हुन्छ, जसले निरन्तर हाम्रो मूल्यांकन गर्छ र सानो बनाउँछ। केही मानिसहरूका लागि त त्यो भित्री आवाज कहिल्यै चुप लाग्दैन। पहिलोपटक सुन्दा गम्भीर नलाग्न सक्छ, तर यस्तो नकारात्मक आत्म-वार्ताले गहिरो असर पार्न सक्छ, जसले अपर्याप्तताको भावना, र आत्म-विश्वासको कमी पैदा गर्न सक्छ। आत्म-करुणाको अभ्यासबाट — उदाहरणका लागि, आफ्नो “बुद्ध-स्वभाव” हामी प्रत्येकमा बुद्ध बन्ने सम्भावना रहेको तथ्यलाई चिन्नेर — हामी त्यो भित्री आलोचकलाई शान्त पार्न सक्छौं र कठोर आलोचकलाई समर्थन र प्रोत्साहन दिने सोचले बदल्न सक्छौं।

यसले व्यक्तिगत विकासलाई प्रवर्द्धन गर्छ

केही मानिसहरू सोच्दछन् कि आत्म-करुणा भनेको आत्म-केन्द्रित व्यवहार हो, जहाँ हामी केवल आफैंको ख्याल राख्छौं, आफ्ना गल्तीहरूबाट पन्छिन्छौं, वा आफ्ना कमजोरीहरूलाई बेवास्ता गर्छौं। तर वास्तविकता यसको ठीक विपरीत हो। आत्म-करुणाले हामीलाई आफ्ना गल्ती र अपूर्णतालाई सुरक्षित वातावरणमा स्वीकार गर्न सहयोग गर्छ।यिनै कुराबाट सिक्ने र बढ्ने अवसर प्राप्त हुन्छ। यद्यपि केही मानिसहरू कठोर आत्म-आलोचनाबाट लाभ लिन सक्छन्, अधिकांशका लागि माया र समझदारीमा आधारित दृष्टिकोणले आत्म-सुधारतर्फ लैजाने सम्भावना बढी हुन्छ।

आत्म-करुणाको अभ्यास कसरी गर्ने

आफ्नो दुःखलाई स्वीकार गर्नुहोस्

आत्म-करुणाको अभ्यास सुरु गर्नको लागि पहिलो कदम भनेको आफू दुःखमा छौं भन्ने कुरा स्वीकार गर्नु हो। यो सुन्दा सजिलो लाग्न सक्छ, तर वास्तवमा कहिलेकाहीँ यो कुरा स्विकारी हाल्नु सजिलो हुँदैन विशेषगरी जब हामी आफैलाई सधैं बलियो, सधैं नियन्त्रणमा रहनुपर्ने ठान्छौं। त्यसैले, सबैभन्दा पहिले, मानसिक वा शारीरिक जुनसुकै पीडा भए पनि, त्यसलाई बिना कुनै निर्णय वा दोषारोपण, शान्तिपूर्वक चिन्न र स्वीकार गर्न आफैंलाई अनुमति दिनुहोस्।

आफैंसँग दयालुताको व्यवहार गर्नुहोस्

तपाईंको नजिकको साथी कठिन समयमा गुज्रिरहेको छ भने तपाईं कसरी प्रतिक्रिया दिनुहुन्छ, कल्पना गर्नुहोस्। तपाईंले कस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ? तपाईंले कसरी सहयोग  गर्नुहुन्छ? अब, त्यही माया र समझदारी आफैंप्रति पनि देखाउने  प्रयास गर्नुहोस्।आफैंसँग कोमल, सहयोगी भाषामा बोल्नुहोस् र आफैंलाई आवश्यक सान्त्वना प्रदान गर्नुहोस्।

आफ्नो साझा मानवताको पहिचान गर्नुहोस्

स्मरण गर्नुहोस् कि दुःख सबैले अनुभव गर्नु हुन्छ, कसैले पनि कहिल्यै गल्ती गरेको छैन भन्ने कोही छैन। यो मानवीय अस्तित्वको स्वाभाविक अंश हो।जब तपाईं बुझ्नुहुन्छ कि तपाईंको संघर्षहरूमा तपाईं एक्लो हुनुहुन्न, तब तपाईं अरूसँग अझ जोडिएको महसुस गर्नुहुन्छ र आफ्ना अनुभवहरूमा त्यति एक्लोपनको महसुस गर्नु हुन्न।

सचेत जागरूकताको अभ्यास गर्नुहोस्

आफ्ना भावनाहरूबाट विचलित नभईकन तिनीहरूसित उपस्थित रहनुहोस्। आफ्ना भावना र विचारहरूलाई जिज्ञासापूर्वक र खुला मनले अवलोकन गर्नुहोस्। तिनीहरूलाई जबरजस्ती परिवर्तन गर्ने वा दबाउने प्रयास नगरी तिनलाई एतिकै रहन दिनुहोस्। यस किसिमको सचेत अभ्यासले तपाईंलाई नम्र रहन सहयोग गर्छ र आन्तरिक शान्तिको विकास गर्न मद्दत गरिन्छ।

निष्कर्ष

आत्म-करुणा बौद्ध अभ्यासमा कुनै विलासिता वा पछि सम्झिनु पर्ने कुरा होइन; यो करुणामय जीवनको एक अनिवार्य पक्ष हो। जब हामी आत्म-करुणा विकास गर्छौं, तब हामी आफ्नो भलाइका लागि एक बलियो आधार तयार गर्छौं, साथै अरूको लागि उपस्थित हुन सक्ने क्षमतालाई पनि मजबुत पार्छौं। स्मरण रहोस् — आफूलाई माया गर्नु स्वार्थीपन होइन; यो अझ करुणाशील, सचेत र सन्तोषजनक जीवनतर्फको एक अत्यावश्यक कदम हो। त्यसैले, अहिलेको यही क्षण केही समय निकाल्नुहोस्, माथि उल्लिखित बुँदाहरूलाई फेरि एकपटक मनन गर्नुहोस्, र आफूलाई त्यो करुणा दिनुहोस् जसका तपाईं साँचो हकदार हुनुहुन्छ।

Top