अरुलाई सहयोग गर्ने ११ बौद्ध तरीका

11 ways to help others

धेरै मानिसहरू र जनावरहरू दिनहुँ दुःख भोगिरहेका हुन्छन्। उनीहरूलाई सहयोग गर्ने उपाय पनि धेरै छन्। तर त्यसका लागि उनीहरूको सही स्थिति पहिचान गर्नु र सहयोगको उत्तम उपायबारे जान्नु आवश्यक हुन्छ। केवल करुणा र कार्यकुशलता मात्र पनि पर्याप्त हुँदैन। हामी आफ्नो समय दिन तत्पर हुनुपर्छ र हामीमा आत्मानुशासन, धैर्य, लगनशीलता, एकाग्रता र विवेक हुनुपर्छ । अरूलाई मद्दत गर्न सहयोग पुर्याउने एघार तरीकाहरू यहाँ प्रस्तुत छन्। यी तरीकाहरूले अरुलाई लाभ मात्र गर्दैनन्, हामी आफैंलाई  एक्लोपनाबाट बाहिर निस्कन र जीवनलाई अर्थपूर्ण बनाउन मद्दत गर्छन्।

१. पीडा भोगिरहेकालाई सहयोग

हामीले विरामी, अपांग, वा पीडामा परेकाको विशेष ध्यान राख्नु आवश्यक छ। कसैले ठूलो भारी बोकिरहेको छ र अप्ठेरो काम गरिरहेको छ भने हामी उसको भारी बोकिदिएर उसलाई सहयोग गर्न सक्छौं।

२. समस्यामुक्त हुने बाटो नपाई अन्यौलमा रहेकालाई सहयोग

समस्याबाट निस्कने बाटो नपाई अलमलमा परेकाले यदि सल्लाह मागे भने हामी सल्लाह दिन सक्छौं, नभए पनि उनीहरूको कुरा सुनिदिन सक्छौं। आफ्नो कुकुर वा बिरालो कोठामा थुनिएको छ भने त्यसलाई बाहिर निकाल्न सक्छौं। त्यसै गरी झ्यालमा फट्पटाइरहेको झिंगालाई झ्याल खोलिदिएर बाहिर निकाल्न सक्छौं। पक्कै पनि त्यो झिंगालाई हाम्रो कोठाभित्र थुनिएर बस्न मन हुँदैन।

३. हामीलाई सहयोग गर्ने मानिसको गुण तिरौं

यो संसार चलाउन मद्दत गर्ने सबै मानिसको कामको सराहना गरौं। त्यस्तै, जसले हाम्रा लागि धेरै योगदान गरेको छ, उसको गुण तिर्ने प्रयास गरौं, जस्तै हाम्रा आमाबुवा। यसरी गुण तिर्ने प्रयत्न गर्दा भित्रदेखि कृतज्ञ भावले गर्नुपर्छ, न कि पश्चात्ताप वा बाध्यताको भावले।

४. भयभीतहरूलाई सान्त्वना र संरक्षण प्रदान गरौं

डराइरहेका मानिस वा जनावरलाई सान्त्वना दिने हरसंभव प्रयत्न गरौं। कसैलाई खतरनाक ठाउँमा जानु छ, जहाँ उसलाई हानि पुग्ने संभावना छ भने हामी उसलाई साथ र संरक्षण दिन सक्छौं। हिंसाबाट बचेर भागेका शरणार्थीलाई उनीहरूको अवस्था सामान्य नहुञ्जेल सरक्षण दिन सक्छौं। त्यस्तै युद्धमा अथवा अन्यत्र कुनै दुर्व्यवहार वा आघात भोगेका मानिसहरूको मनको घाउ पुर्न हाम्रो सहानुभूति र सहायताको अझ विशेष आवश्यकता हुन्छ।

५. शोकमा रहेकालाई ढाढस दिऔं

आफ्नो प्रियजनको मृत्यु वा सम्बन्धविच्छेदबाट शोकमा परेका मानिसलाई करुणापूर्ण तरीकाले सान्त्वना दिने प्रयत्न गरौं। “ओहो, विचरा” भनेर उसमाथि कृपा गर्ने हिसाबले हैन, बरु आफूलाई उसको ठाउँमा राखेर हेरौं, र उसको पीडालाई आत्मसात गर्ने प्रयास गरौं।

६. विपन्नलाई आर्थिक सहायता गरौं

परोपकारी संस्थाहरूलाई दान दिनु त ठीकै हो, तर बाटोमा रहेका भिखारीहरूलाई पनि दान गर्नु राम्रो हुन्छ। दानको मामिलामा कुनै हिचहिचाहट राख्न हुँदैन। घरविहीन भिखारीहरू फोहोरी र नराम्रा देखिन सक्छन्, र उनीहरूलाई हेर्न पनि मन नलाग्न सक्छ। तैपनि उनीहरूसँग मुस्कुराउन र अलिकति सम्मानपूर्वक व्यवहार गर्न सकिन्छ। सडकमा बस्ने ती भिखारी हाम्रो आफ्नै आमा वा छोरा भएको भए के गर्थ्यौं? गनाउने फोहोरको थुप्रो भनेर नाक खुम्च्याउँदै हिँड्थ्यौं होला?

७. धर्मप्रति अभिरुचि भएकालाई धर्मसँग परिचित गराऔं

सधैं हामीसँग समय बिताउन मन पराउने मानिसहरू छन् भने उनीहरूलाई सहयोग गर्नुपर्छ। उनीहरूलाई सधैं आफूमा आश्रित बनाइराख्ने होइन, बरु बुद्धधर्मको आधारभूत शिक्षाहरूसँग परिचित गराउन सहयोग गर्नुपर्छ, ताकि उनीहरू पनि खुशी हुन र अरुलाई सहयोग गर्न सक्षम बनुन्। तर यसमा उनीहरूले अभिरुचि देखाए भने मात्र। कसैको धर्म परिवर्तन गराउनु आवश्यक छैन, सामान्य सहयोग र सल्लाह मात्र दिए पुग्छ। यसरी हामी उनीहरूसँगको सम्बन्धलाई अझ अर्थपूर्ण बनाउन सक्छौं।

८. मानिसको रुचिअनुसार सहयोग गरौं

अरुलाई उनीहरूको अनुकूल हुनेगरी सहयोग गर्न प्रयत्न गर्नुपर्छ। कसैले हामीबाट कुनै शिक्षा लिन खोज्छ भने त्यो आफूलाई मन नपर्ने विषय भएपनि उसको हित हुन्छ भने सकेसम्म सहयोग गर्नुपर्छ। यसलाई यसरी पनि बुझ्न सकिन्छ - हामी साथीसँग रेस्टुरेन्ट जान्छौं, तर सधैंभरी आफूलाई मात्र मनपर्ने खाना खाने जिद्दी गर्दैनौं किनकि त्यसो गर्नु स्वार्थी काम हुनेछ। कहिलेकाँही अरुको चाहनाअनुसार पनि चल्छौं। त्यस्तै आफूलाई मन नपर्ने भए पनि अरुको चाहनाअनुसार हामी सहयोग गर्न सक्छौं। सधैंभरी आफ्नोबारेमा मात्र सोचिरहनु पर्दैन।

९. ईमान्दार मानिसलाई प्रोत्साहित गरौं

जसले ईमान्दारीको जीवन बाँचिरहेको छ र सकारात्मक काम गरिरहेको छ उसको प्रशंसा गरौं र उसलाई प्रोत्साहित गरौं। तर उसको अहंकार नबढोस् भनेर सावधानी पनि अपनाउनु पर्छ। खासगरी आत्मसम्मान कम भएका मानिसको हकमा यो लागू हुन्छ। कसैले राम्रो काम गरिरहेको छ तर उ पहिल्यै घमण्डी छ भने अरुको अगाडि उसको कामको प्रशंसा गरौं, उसकै अगाडि चाहिँ नगरौं। अरुलाई सहयोग गर्ने उनीहरूको क्षमताको सराहना गरौं। तर साथसाथै केही गलती गरिरहेको भए त्यसलाई औंल्याएर उनीहरूको अहंकारलाई कम गर्न मद्दत गरौं।

१०. विध्वंसात्मक काम गरिरहेकालाई रचनात्मक काम सिकाऔं

कसैले एकदमै विध्वंसात्मक र नकारात्मक जीवन बिताइरहेको छ भने उसलाई बेवास्ता अथवा निन्दा मात्र नगरौं। बरु उसलाई नकारात्मक व्यवहार गर्नबाट कसरी जोगिने र कसरी आफूलाई परिवर्तन गर्न सकिन्छ भन्ने बाटो देखाउन सहयोग गरौं।

११. कुनै उपायले काम गरेन भने असाधारण क्षमताको उपयोग गरौं

हामीमध्ये कसैसँग कुनै असाधारण क्षमता हुन सक्छ। जस्तै हामी मार्शल आर्टको ज्ञाता हुन सक्छौं, जुन अरुलाई प्रदर्शन नगरिरहेका हुन सक्छौं। कतै कुनै मानिसलाई कसैले आक्रमण गरिरहेको देख्यौं र अरु केही उपाय लागेन भने आफ्नो क्षमताको प्रयोग गर्दै आक्रमणकारीलाई भगाउन सक्छौं।

अरुलाई सहयोग गर्ने यस्ता अनेकौं उपाय छन्। हाम्रो कौशल तब देखिन्छ जब हामी उपयुक्त समयमा उपयुक्त मान्छेलाई आवश्यक सहयोग गर्न र नचाहिएको बेला उनीहरूलाई आफ्नो हेरचाह आफैं गर्न छाडिदिन्छौं। कोही प्रत्यक्ष शारीरिक वा मानसिक पीडामा छन् भने उनीहरूलाई तत्काल हाम्रो सहयोगको आवश्यकता हुन्छ। तर सहयोग पनि उचित मात्रामा गर्नुपर्छ – ज्यादै धेरै पनि होइन, ज्यादै थोरै पनि होइन। जो भाग्यशाली छैनन्, उनीहरूलाई आफ्नो खुट्टामा उभिन सहयोग गर्नुपर्छ। तर सबैभन्दा राम्रो उपाय भनेको उनीहरूलाई आफ्नो ख्याल आफैं राख्नसक्ने हुन आवश्यक उपाय र सीप सिकाउने नै हो।

Top