सार्वभौमिक मैत्रीभाव, अर्थात सबैजना खुशी होउन् र खुशीका कारणहरूले पूर्ण होऊन् भन्ने कामना तब जागृत हुन्छ जब हामी आफ्नो जीवन अरुसँग पूर्णरूपमा अन्तरसम्बन्धित भएको कुरा जान्दछौ। हामीमध्ये हरेक सिंगो मानवजातिको एक अंश हौं। हाम्रो कल्याण यो विश्वको सम्पूर्ण मानव समुदायको कल्याणसँग अन्योन्याश्रित रुपमा जोडिएको छ। त्यसैले आर्थिक संकट अथवा मौसम परिवर्तनका असरहरूबाट हामी कोही पनि अछुतो रहँदैनौं। यही अन्तरसम्बन्धका कारण हामीले सबैप्रति मैत्रीभाव (प्रेमभाव) राख्नु एकदमै उपयुक्त हुन्छ।
अरुप्रति मैत्रीभाव जगाउने बित्तिकै हाम्रो मनमा स्वतः शान्ति आउँछ। यो जीवनमा सफलताको सर्वोच्च स्रोत हो। – चौधौं दलाई लामा
मैत्रीभाव जागृत गर्नका लागि हामीले परस्परको अन्तरसम्बन्ध बुझ्नु पर्छ। हामी जे खान्छौं, उपभोग गर्छौं, र जे कुरामा मजा लिन्छौं, त्यसका पछाडि अरु कसैले कडा परिश्रम गरेको हुन्छ। तपाईं जुन इलेक्ट्रोनिक उपकरणमा यो लेख पढिरहनु भएको छ, त्यो बनाउन विश्वका विभिन्न कुनामा हजारौं मानिसले काम गरेका हुन्छन्। यसलाई अलि गहिरिएर सोच्ने हो भने हामी सबैसँग जोडिएको अनुभव गर्न सक्छौं र सबैप्रति कृतज्ञ हुन सक्छौं। यसले हामीभित्र एक गहिरो सन्तुष्टिको भाव जगाउँछ। हामी अरुको खुशीप्रति सचेत हुन्छौं। यसले हामीमा सार्वभौमिक मैत्रीभाव जगाउन सहयोग गर्छ।
मैत्रीभावका लागि एक छोटो ध्यान
प्रथमतः हामीले आफैंप्रति मैत्रीभाव जगाउनु पर्छ। हामीले आफ्नै खुशीको कामना गर्न सकेनौं भने अरुको पनि गर्न सक्ने छैनौं।
यस्तो भावनाका साथ ध्यान शुरु गरौंः
- अहो, म खुशी हुन सकेँ र खुशीका कारणहरूले युक्त हुन सकेँ भने कति राम्रो हुने थियो होला!
- म खुशी हुन सकुँ।
- म आफूलाई खुशी दिन सकुँ।
आफू खुशी हुने कामना प्रबल रुपमा अनुभव गर्न थालेपछि यो भावलाई क्रमशः अन्य धेरैभन्दा धेरै मानिसका लागि विस्तार गर्दै लग्छौं।
- पहिला, आफ्ना प्रियजन र मित्रहरूका लागि मैत्रीभावको विस्तार गर्छौं।
- त्यसपछि, हामीले दैनिक जीवनमा भेट्ने तर आसक्ति वा द्वेष नभएका तटस्थ मानिसहरूप्रति मैत्रीभाव जगाउँछौं।
- तेश्रो, हामीलाई पटक्कै मन नपर्ने मानिसहरूका लागि मैत्रीभाव जागृत गर्दै लग्छौं।
- अन्तिममा, सम्पूर्ण विश्व र यसमा बस्ने सवै प्राणीप्रति मैत्रीभावको विस्तार गर्छौं।
यसरी हामी मैत्री (प्रेम) को भाव जगाउँदै यसमा आफूलाई मात्र होइन, आफ्ना वरपरका सबै मानिस र सम्पूर्ण जीवजगतलाई नै समावेश गर्दै लग्छौं।
अरुको खुशीका लागि आफूले गर्नसक्ने केही छ भने त्यो गरौं। गर्न नसकिने रहेछ भने उसलाई चाहिने कुरा कल्पनामा मात्र भए पनि गरिदिऊँ जसले उसको अल्पकालीन मात्र नभई दीर्घकालीन हित गरोस्। यो विपन्नहरूका लागि खानेकुरा र बासस्थान उपलब्ध गराइदिनुसँग मात्र सम्बन्धित छैन। धेरै धनी र सफल मानिसहरू पनि अत्यन्तै दुःखी छन्, हाम्रो मैत्रीभाव उनीहरूका लागि पनि उत्तिकै हुनुपर्छ। अभ्यास गर्दै जाँदा परिवारजन, साथीहरू, र हाम्रो सम्पर्कमा आउने हरेकका लागि मैत्रीभाव आफ्सेआफ जाग्न थाल्छ। यसले हामीलाई र अरु सबैलाई खुशी बनाउँछ।