सकारात्मक प्रेरणाको स्रोत कसरी बन्ने

हामी तब मात्र अरूलाई सकारात्मक जीवन जिउन सहयोग गर्न सक्छौं जब उनीहरू हामीप्रति खुला र ग्रहणशील हुन्छन्। हामीले भेट्ने केही मानिस सहज रूपमै खुला प्रकृतिका हुन्छन् भने हामीमध्ये कतिपयको व्यक्तित्व सहज रूपमै आकर्षक हुन्छ। तर त्यस्तो छैन भने पनि यदि हामी उदार दिलका भयौं, रुचिकर ढंगले सल्लाह दियौं, त्यसलाई कसरी अभ्यासमा उतार्ने भन्ने प्रष्टसँग बतायौं र आफूले दिएको सल्लाह अनुरूप आफैंले पनि आचरण गरेर उदाहरण प्रस्तुत गर्यौं भने मानिसहरू हामीप्रति आकर्षित हुन्छन् र हामीबाट सकारात्मक प्रेरणा लिन तत्पर हुन्छन्।

बोधिलाभको लक्ष्य लिएर अगाडि बढ्दा हामी ६ दूरगामी मनोवृत्तिहरू (६ पारमिता) को विकास गर्छौं ताकि हामी आफ्ना सद्गुणहरूलाई परिपक्व बनाउन सकौं जो बुद्धका रूपमा सबैको हित गर्न आवश्यक हुन्छ। तर अरूलाई पनि उनीहरूको सद्गुणलाई परिपक्व बनाउन सहयोग गर्नका लागि उनीहरूलाई आफूले सकारात्मक छाप दिन सक्नुपर्छ। यो कसरी प्रभावकारी ढंगले गर्ने भन्ने सम्बन्धमा बुद्धले चार चरणको चर्या (चार संग्रहवस्तु) बारे शिक्षा दिनुभएको छः

१. दानशीलता (दान)

जहाँसम्म हुन्छ, हामी अरूप्रति दानशील बन्नुपर्छ। कोही हामीलाई भेट्न आए भने उनीहरूका लागि केही खानेकुराको व्यवस्था गर्ने र यदि उनीहरूसँगै बाहिर खान गयौं भने उनीहरूको बिल आफूले तिरिदिने गर्न सक्छौं। दानशील हुनका लागि कुनै भौतिक वस्तु नै दिनुपर्छ भन्ने छैन। साँच्चिकै महत्वपूर्ण त अरूलाई उदारतापूर्वक आफूले समय दिनु हुनेछ। अरूको अवस्था जान्ने तत्परता देखाउनु, रुचि र चासोका साथ उनीहरूको समस्या सुन्नु र उनीहरूको जीवनलाई गम्भीरतापूर्वक लिनु हामीले कसैलाई पनि दिन सक्ने अद्भूत उपहार हुनसक्छ; यसलाई कम आँक्न हुँदैन। यसले मानिसलाई सहज र खुकुलो बनाउँछ र हाम्रो साथमा उनीहरू आनन्द र आरामको अनुभूति गर्छन्। हामीबाट सकारात्मक प्रेरणा लिन अरूलाई तत्पर बनाउने यो पहिलो चरण हो।  

२. रुचिकर शैलीमा कुरा गर्ने (प्रिय वचन) 

अरूलाई आफूप्रति अझ ग्रहणशील बनाउन मैत्रीपूर्ण र रुचिकर शैलीमा कुरा गर्नुपर्ने हुन्छ। यसको अर्थ उनीहरूले बुझ्ने तरिकाले, उनीहरूले आफूसँग सरोकार रहेको महसुस हुने भाषामा, र उनीहरूको रुचिसँग मेल खाने शैलीमा कुरा गर्नुपर्छ। खासगरी उनीहरूले हामीसँग आरामको अनुभूति गर्ने ढंगले कुरा गर्नुपर्छ। उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ, जीवनमा के चलिरहेको छ जस्ता कुरा सोध्नुपर्छ। कसैलाई फुटबलमा रुचि छ भने “यो त बाहियात हो। समयको बर्बादी मात्र हो!” भन्नु हुँदैन। यसमा विचार पुर्याउनु आवश्यक छ, किनकि त्यसो भन्यौं भने उनीहरू हाम्रो कुरा सुन्न इच्छुक हुँदैनन्। उनीहरूलाई के लाग्नेछ भने हामी उनीहरूलाई हेय दृष्टिले हेर्छौं। हुनत आज भएको खेलमा फलानाले जित्यो भन्ने जति विस्तृतमा त कुरा गर्नु परेन, तर फुटबलबारे केही सामान्य कुरा गर्न सक्छौं ताकि उनीहरूलाई यसले मलाई बुझ्छ भन्ने लागोस्। कसैलाई सहयोग गर्ने हाम्रो आकांक्षा हो भने उनीहरूको कुरामा हामीले रुचि देखाउनुपर्छ। त्यो नगरिकन त कसरी अरूसँग जोडिन सकिएला र? 

यसरी कोही हामीप्रति खुला भयो र हामीले उसलाई बुझ्छौं भन्ने विश्वास भयो भने हामीले गर्ने रुचिकर शैलीको कुराकानी महत्वपूर्ण विषयतर्फ मोडिन सक्छ। उपयुक्त समय र उपयुक्त परिस्थितिमा हामी बौद्ध शिक्षाका ती विषयमा कुरा गर्न सक्छौं जो उक्त व्यक्तिका लागि सान्दर्भिक होस् र उसलाई सहयोग गर्न सकोस्। ती विषयमा कुरा गर्दा उसले लिन सक्ने केही लाभहरूबारे हामीले बताउनु आवश्यक हुन्छ। 

अरूलाई सल्लाह दिँदा हामीले प्रयोग गर्ने बोलीको लवज एकदमै महत्वपूर्ण हुन्छ। हाम्रो लवज अरूलाई दबाव दिने खालको, दया देखाएजस्तो वा उनीहरूलाई सानो देखाउने प्रकारको हुनुहुँदैन, त्यस्तो लवजको प्रयोग गर्नबाट बच्नुपर्छ। रुचिकर शैलीमा बोल्नु भनेको त्यही हो। हामीले त्यस्तो शैलीमा बोल्नुपर्छ जो अरूले सजिलैसँग स्वीकार गर्न सकुन् र उनीहरूलाई धम्काइएको वा जबरजस्ती अनावश्यक सल्लाह लादिएको जस्तो नलागोस्। यसका लागि अत्यन्तै संवेदनशील र कुशल हुनु आवश्यक छ।   सल्लाह दिनका लागि उपयुक्त क्षण र उपयुक्त तरिकाको ज्ञान पनि हुनुपर्छ। हामी ज्यादै नै गहन चर्चा गर्छौं र जहिले पनि गम्भीर तथा गर्हुङ्गो कुरा मात्र गर्न जोड दिन्छौं भने मानिसहरूलाई हाम्रो छेउ पर्न पनि भारी लाग्छ र हामीले भनेको कुरा सुन्न मन लाग्दैन। त्यसैले हामीले कहिलेकाहीँ ठट्टा रमाइलो गर्दै कुराको शैलीलाई सहज बनाउनुपर्छ। खासगरी अर्को व्यक्ति हामीले दिएको सल्लाहबाट पन्छिन खोज्दैछ भने यो उपाय उपयुक्त हुन्छ। 

कुनै शिक्षाबारे अरूलाई बताउँदा सुखद शैलीमा स्नेहपूर्वक बोल्यौं र त्यसलाई अर्थपूर्ण पनि बनायौं भने अर्को व्यक्तिलाई हामीले दिने सल्लाह अनुसारको लक्ष्य हासिल गर्न मन लाग्ने हुन्छ। किनकि त्यो शैलीले उनीहरूलाई हाम्रो सल्लाहप्रति स्पष्ट र विश्वस्त हुन सहयोग पुग्छ र त्यसबाट हुने लाभ देखेर उनीहरूले त्यसलाई महत्व दिन्छन्। 

३. अरूलाई लक्ष्य हासिल गर्न प्रेरित गर्ने (अर्थचर्या)

आफूले दिने सल्लाहलाई बुद्धधर्मको सैद्धान्तिक स्तरमा मात्र राख्नु हुँदैन; अपितु उक्त व्यक्तिको जीवनको सन्दर्भमा त्यो शिक्षालाई कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरा स्पष्टसँग बताउनुपर्छ। यसरी हामीले अरूलाई व्यावहारिक सल्लाह दिएर प्रेरित गर्नुपर्छ ताकि उनीहरू शिक्षामा बताइएको लक्ष्यलाई हासिल गर्न सकुन्। शिक्षालाई कसरी व्यवहारमा उतार्ने भन्ने जानेपछि अर्थात् चरणबद्ध रूपमा ठ्याक्कै के गर्ने भन्ने जानेपछि उनीहरू त्यसलाई लागू गर्न उत्साहित हुनेछन्। 

शिक्षालाई जीवनमा उतार्न अरूलाई प्रोत्साहित गर्नका लागि हामी उनीहरूलाई त्यो कार्यमा सहयोग पुग्ने परिस्थिति उपलब्ध गराउने प्रयास गर्छौं। यसको अर्थ अरूका लागि सहज वातावरण बनाइदिने हो, खासगरी उक्त व्यक्तिलाई बुद्धधर्ममा कुनै अनुभव नभएको अवस्थामा। क्रमिक रूपमा मात्र अरूलाई जटिल र उन्नत विधिहरूको अभ्यासका लागि प्रवृत्त गर्न सकिन्छ। यसको परिणाम के हुन्छ भने आफ्नो प्रयास जारी राख्न र उक्त विधिहरूको अभ्यासमा अगाडि बढ्न अरूलाई आत्मविश्वास प्राप्त हुन्छ। यसबाट उनीहरू आफ्नो वर्तमान क्षमताभन्दा धेरै उन्नत शिक्षालाई व्यवहारमा उतार्न खोज्दा हात लाग्ने निराशाबाट बच्नेछन्। 

४. बताइएको लक्ष्यअनुरूप आचरण गर्ने (समानार्थता)

हामीले सल्लाह दिन खोजेको व्यक्तिलाई निराश बनाउने सबैभन्दा प्रमुख तत्व भनेको उनीहरूले हामी ढोंगी भएको जान्नु हो। त्यसैले अरूलाई शिक्षाबाट विमुख हुनबाट बचाउने उपाय भनेको हामी आफैं उदाहरण बन्ने र जे सल्लाह दिँदैछौं त्यसलाई पहिला आफैंले व्यवहारमा उतार्ने हो। मानिलिउँ हामी कुनै रेष्टुराँमा खान गएका छौं र खानेकुरा आउन आधा घण्टा लाग्यो। त्यतिबेला हामी रिसले फन्फनिएर कुनै तमाशा खडा गर्र्छौं तर अगाडिको व्यक्तिलाई रिसबाट बच्ने बौद्ध शिक्षा दिँदैछौं भने बुद्धधर्ममा रिस नियन्त्रण गर्ने शिक्षा कस्तो रहेछ भन्ने उसले सोच्ला? पक्कै पनि, बुद्धधर्ममा यसको गतिलो शिक्षा रहेनछ भन्ने उसले सोच्नेछ र अभ्यास छाडिदिनेछ। त्यसपछि उसले निश्चित रूपमा हाम्रो अरू सल्लाह पनि लिन छाड्नेछ। त्यसैले जे शिक्षा दिन लागेको हो, हाम्रो आफ्नो आचरण पनि त्यहीअनुरूप हुनुपर्छ। तबमात्र अरूले हाम्रो कुरा पत्याउनेछन्। 

तर निश्चय नै हामी बुद्ध भैसकेका छैनौं, त्यसैले अरूका लागि हामी एकदमै उत्कृष्ट उदाहरण बन्न सक्दैनौं। तैपनि सक्नेजति प्रयास हामीले गर्नुपर्छ। ढोंगी नहुनुको अर्थ सहयोग गर्न लागेको व्यक्तिको नजिक हुँदा मात्र त्यस अनुरूपको आचरण गरेको नाटक देखाउने तर एक्लै हुँदा वा परिवारको साथमा हुँदा विल्कुल विपरीत ढंगको व्यवहार गर्ने होइन्। हामीले पूर्णकालिक रूपमा इमानदारीपूर्वक धर्मको लक्ष्यअनुरूप आचरण गर्नुपर्छ। 

सारांश

अरूलाई आफूसँग जोडिन र बुद्धधर्मको अभ्यासमा परिपक्व बन्न सहयोग गर्नका लागि माथिका चार चरण हाम्रो निजी सम्बन्धमा मात्र होइन, बृहत्तर रूपमा विश्वमै धर्मको शिक्षा सहज बनाउनका लागि सान्दर्भिक छन्। 

  • दानशील हुने शिक्षालाई निशुल्क रूपमा उपलब्ध गराउने
  • रुचिकर शैलीमा कुरा गर्ने शिक्षालाई सहज बुझिने भाषामा प्रस्तुत गर्ने र विभिन्न माध्यमको उपयोगद्वारा यसलाई सुलभ बनाउने, जस्तै पुस्तक, वेबसाइट, पोडकास्ट, भिडियो, सामाजिक सञ्जाल आदि
  • अरूलाई लक्ष्य हासिल गर्न प्रेरित गर्ने शिक्षाको अध्ययन कसरी गर्ने र तिनलाई कसरी क्रमिक रूपमा आत्मसात गर्दै व्यवहारमा उतार्ने भन्ने सम्बन्धमा स्पष्टसँग बताउने
  • बताइएको लक्ष्यअनुरूप आचरण गर्ने बौद्धशिक्षा अनुरूप आफैं आचरण गर्ने र धर्मसँग सम्बन्धित संस्थाहरूको हकमा पनि संस्था सञ्चालनको तौरतरिका मार्फत उदाहरण प्रस्तुत गर्ने 

बोधिलाभका लागि पूर्ण बोधिचित्त जागिसकेको छैन भने पनि यी चार चरण र तिनलाई सहयोग पुर्याउने इमानदार परोपकारी भावनाका साथ गरिने प्रयास अरूको सकारात्मक प्रेरणाको स्रोत बन्ने सबैभन्दा उत्तम उपाय हुन्।

Top