“क्लेश” के हो?
क्लेश चित्तको त्यो अवस्था हो जसलाई उत्पन्न गरेको खण्डमा हामीले चित्तको शान्ति र आत्म–संयम गुमाउँछौं।
चित्तको शान्ति गुमाउन पुगिने भएकाले क्लेश अशान्तकारी (डिस्टर्विङ्) हुन्छ; यसले हाम्रो चित्तलाई अशान्त बनाउँछ। चित्तको शान्ति गुमाउने हुनाले हामी विचलित बन्न पुग्छौं र हाम्रो सोचाइ तथा मनोभावमा स्पष्टता आउँदैन। स्पष्टताको कमीका कारण हामी आत्म–संयम राख्नलाई आवश्यक पर्ने विवेक गुमाउँछौं। के कुरा हितकर छ र के छैन, कुनै निश्चित परिस्थितिमा के गर्नु उचित हुन्छ र के हुन्न भन्ने कुरालाई हामीले विवेकपूर्वक भेद गर्न सक्नुपर्छ।
सकारात्मक कार्य गर्दाको चित्तमा पनि क्लेश जोडिनसक्छ
क्लेशका उदाहरणमा आसक्ति वा उत्कण्ठा, रिस, इर्ष्या, घमण्ड, दम्भ, लगायतका अशान्तकारी आवेग (डिस्टर्विङ् इमोसन) पर्छन्। यी आवेगहरूले हामीलाई नकारात्मक ढंगले काम गर्न प्रेरित गर्छन्, तर सधैंभरि त्यसो मात्र हुँदैन। उदाहरणका लागि आसक्ति वा उत्कण्ठाले हामीलाई नकारात्मक ढंगले काम गर्न प्रेरित गर्छन्, जस्तै चोरी गर्ने आदि। तर त्यसका साटो हामीमा अरूको माया प्राप्त गर्ने पनि तीव्र आकांक्षा हुन सक्छ; त्यसप्रति आसक्त हुन सक्छौं, र अरूको माया प्राप्त गर्नका लागि उनीहरूलाई सहयोग गर्न थाल्छौं। अरूलाई सहयोग गर्नु नकारात्मक काम होइन, यो सकारात्मक काम हो, तर यसका पछाडि क्लेश जोडिएर आएको हुनसक्छ र यस्तो भाव हुनसक्छ : “मलाई माया चाहिन्छ, त्यसैले विन्ती छ, बदलामा तिमी मलाई माया गर।”
त्यस्तै रिसको उदाहरण लिउँ। रिसका कारण हामी नकारात्मक ढंगले काम गर्न सक्छौं, गएर कसैलाई हानि गर्ने वा हत्यासम्मको काम गर्न पुगिन्छ। किनकि त्यतिबेला रिस अत्यधिक हुन्छ। त्यो विनाशकारी कार्य हो। तर मानिलिउँ हामीलाई कुनै प्रणाली वा निश्चित व्यवस्थाका कारण भएको अन्यायप्रति रिस उठ्छ, र यदि अलि धेरै रिस उठ्यो भने हामी त्यो अवस्थालाई परिवर्तन गर्न वास्तवमै कुनै कदम उठाउन पुग्छौं। त्यसमा हिंसात्मक काम नै गर्नुपर्छ भन्ने छैन। यहाँ कुरा के हो भने हामीले सिर्जनात्मक वा सकारात्मक काम गरेका हुनसक्छौं तर त्यसका पछाडिको प्रेरणा क्लेशपूर्ण हुन्छ। हाम्रो चित्त शान्त हुँदैन। चित्त शान्त नभएका कारण हामीले गर्ने कार्य सकारात्मक नै भए पनि हाम्रो चित्त र भावना स्पष्ट हुँदैन र मनोदशा स्थिर हुँदैन।
यी उदाहरणहरूमा तीव्र आकांक्षा वा रिसले युक्त भई हामी अर्को मानिसले आफूलाई माया गरोस् वा उक्त अन्यायपूर्ण अवस्थाको अन्त्य होस् भन्ने चाहेका हुन्छौं। तर त्योबेला हाम्रो चित्त वा मनोदशा स्थिर हुँदैन। त्यस्तो अवस्थामा स्पष्ट चित्त वा मनोदशा नहुने भएकाले हामीले स्पष्टसँग सोचविचार गर्न सक्दैनौं र के गर्नु ठीक हुन्छ वा आफ्नो उद्देश्य पूरा गर्न के कदम चाल्नु उचित हुन्छ भन्ने थाहा हुँदैन। फलस्वरूप हामी संयमित हुन सक्दैनौं। उदाहरणका लागि हामी कसैलाई केही काममा सहयोग गर्न खोजिरहेका हौंला, तर कतिपय परिस्थितिमा उनीहरू स्वयंलाई त्यो काम गर्न छाडिदिँदा उत्तम हुन्छ। मानिलिउँ तपाईंकी छोरी वयस्क भैसकेकी छ र तपाईं उसलाई खाना पकाउने, घरको हेरविचार गर्ने, बालबच्चा हुर्काउने आदि काममा सहयोग गर्न चाहनुहुन्छ। तर त्यसो गर्दा उसलाई सहयोग नभई उसमाथि आफ्नो तौरतरिका थोपर्नु जस्तो हुन्छ। तपाईंको छोरीलाई कसरी खाना पकाउने वा बालबच्चा हुर्काउने भन्ने विषयमा सिकाएको पटक्कै मन नपर्न सक्छ। तर उसले आफूलाई माया गरोस्, उसका लागि आफू उपयोगी बन्न सकुँ भन्ने चाहनाले हामी उसमाथि आफ्नो कुरा जबरजस्ती थोपर्न खोज्छौं। देख्दा सकारात्मक लाग्ने यस्तो कार्यमा हामी आत्म–संयम गुमाउँछौं र पछि सोच्न बाध्य हुन्छौं – “आफ्नो धारणा बताउनु र सहयोग गर्न खोज्नुका साटो म चुप नै लागेको भए ठीक हुने थियो।”
अर्को व्यक्तिलाई सहयोग गर्न उचित हुने अवस्थामा सहयोग गर्दा पनि हामीले त्यसलाई सहजतापूर्वक नलिएका हुनसक्छौं किनकि हामी बदलामा केही चाहिरहेका हुनसक्छौं। हामी उसले आफूलाई माया गरोस् भन्ने चाहन्छौं; आफ्नो जरुरत छ भन्ने जताउन चाहन्छौं; आफ्नो कदर होस् भन्ने चाहन्छौं। यसप्रकारको उत्कण्ठा हाम्रो चित्तमा छ तर छोरीले त्योअनुरूप व्यवहार गरिनन् भने हामीलाई धेरै दुःख लाग्छ।
अशान्तकारी क्लेशका कारण हामीले चित्तको शान्ति र आत्म–संयम गुमाउने प्रक्रिया त्यतिबेला झन् स्पष्ट देखिन्छ जतिबेला हामी कुनै अन्यायविरुद्ध लड्न लाग्दै हुन्छौं। उक्त परिस्थितिप्रति हामीलाई रिस उठिरहेको हुन्छ र त्यसैले चित्त व्याकुल हुन्छ। त्यो अवस्थामा कुनै कदम चाल्न लाग्दैछौं भने के गर्ने भनेर स्पष्टसँग सोचविचार गर्न सक्दैनौं। अक्सर आफूले चाहेको परिवर्तन ल्याउन उठाउनुपर्ने सही कदम उठाउन सक्दैनौं।
संक्षेपमा, हामीले नकारात्मक वा सकारात्मक जस्तो खालको काम गरे पनि यदि कुनै क्लेश त्यसमा जोडिएको छ भने हाम्रो व्यवहारले समस्या सिर्जना गर्छ। यसले अरूका लागि समस्या सिर्जना गर्छ कि गर्दैन भनेर हामीले ठ्याक्कै भन्न नसकौंला, तर मूलतः यसले हाम्रा लागि समस्या सिर्जना गर्छ। यस्तो समस्या तत्काल देखा परिहाल्छ भन्ने जरुरी छैन, तर यसको दीर्घकालीन असर हुन्छ किनकि यसरी क्लेशयुक्त व्यवहार गर्नु हाम्रो आदतको रूपमा विकसित हुन्छ र हामी यस्तो व्यवहार पुनः पुनः गरिरहन्छौं। यसप्रकारले क्लेशको प्रभावमा परेर हामीले गर्ने बाध्यात्मक व्यवहारसँगै समस्या सिर्जना गर्ने आचरणको लामो श्रृंखला बन्न जान्छ। हाम्रो चित्त कहिल्यै शान्त हुन पाउँदैन।
अरुको माया र तारिफ पाउने अभिलाषाले सहयोग वा राम्रो व्यवहार गर्न प्रेरित हुनु यसको एक स्पष्ट उदाहरण हो। यसको पछाडि मूल कारण के हुन्छ भने हामी असुरक्षित महसुस गरिरहेका हुन्छौं। तर यस्तो भावनाबाट प्रेरित भई जतिसुकै काम गरेपनि हामीलाई सन्तुष्टि प्राप्त हुँदैन। “ठीक छ, मैले माया पाएँ। अब यो पर्याप्त छ, मलाई थप केही चाहिँदैन,” भन्ने हामीलाई कहिल्यै पनि लाग्दैन। त्यसैले हाम्रो व्यवहार यही बाध्यात्मक भावनाको आदतलाई थप बल दिनेतर्फ नै लाग्छ कि “मैले माया पाएको महसुस गर्नुपर्छ। मेरो महत्व छ भन्ने महसुस हुनुपर्छ। मेरो कदर भएको महसुस हुनुपर्छ।” तपाईं अरूबाट माया प्राप्त गर्नका लागि थप सहयोग गरिरहनुहुन्छ, तर निराशा नै हात लाग्छ। तपाईंलाई निराशा यसकारणले हुन्छ कि कसैले धन्यवाद नै दियो भने पनि “उसले यो साँच्चिकै भनेको होइन” भन्ने तपाईंलाई लाग्छ। यसो हुँदा हामी कहिल्यै चित्तको शान्ति महसुस गर्न सक्दैनौं। र, अवस्था झन् झन् खराब हुँदै जान्छ किनकि यो प्रवृत्ति दोहोरिरहन्छ। यसैलाई “संसार” भनिन्छ। यो त्यो स्थिति हो जसमा समस्या अनियन्त्रित रूपमा बारम्बार उत्पन्न भइरहन्छ।
क्लेशका कारण नकारात्मक वा विनाशात्मक व्यवहार गर्न हामी प्रेरित भैरहने यस्तो प्रवृत्ति चिन्न धेरै कठिन भने छैन। उदाहरणका लागि, हामी सधैँ झर्को मानिरहने स्वभावका हुनसक्छौं र सानोभन्दा सानो कुरामा पनि हामीलाई झर्को लाग्ने वा रिस उठ्ने हुनसक्छ। अरूसँगको व्यवहारमा रुखो पाराले बोल्ने वा कठोर कुराहरू भन्ने हाम्रो आदत होला। स्पष्टै छ, यस्तो मानिसलाई कसैले मन पराउँदैन, कोही पनि उसको छेउ पर्न चाहँदैन। यसले हाम्रो अरूसँगको सम्बन्धमा निकै समस्या सिर्जना गर्छ। यो सन्दर्भमा के भैरहेको छ भन्ने बुझ्न सजिलै हुन्छ। तर कुनै क्लेशले हाम्रो सकारात्मक व्यवहारलाई निर्देशित गरेको छ भने त्यो चिन्न त्यति सजिलो नहुन सक्छ। जे होस्, हामीले दुवै परिस्थितिमा यो कुरा चिन्नु पर्छ।
क्लेशपूर्ण अवस्था वा मनोदशाको प्रभावमा परेको कसरी जान्ने
अब प्रश्न आउँछ, हामीले कुनै पनि व्यवहार क्लेशयुक्त अशान्त मनोदशा वा दृष्टिकोणको वशमा परेर गरिरहेका छौं कि छैनौं भनेर कसरी थाहा पाउने? यसमा मनमा आउने कुनै आवेग मात्र होइन, जीवनप्रति वा स्वयंप्रति राखिने दृष्टिकोण पनि पर्छ। यसका लागि हामीले आफूभित्र के भैरहेको छ र कस्तो अनुभूति गरिरहेको छु भन्नेमा अलिकति सजग रहनुपर्ने हुन्छ। क्लेश चिन्नका लागि क्लेशको परिभाषा उपयोगी हुन सक्छ। क्लेश त्यस्तो कुरा हो जसले हाम्रो चित्तको शान्ति खलबल्याउँछ र हामी आत्म–संयम गुमाउन पुग्छौं।
हामी केही कुरा बोल्न वा गर्न लागिरहेका छौं, र त्यति बेला आफूभित्र कुनै प्रकारको बेचैनी अनुभव गरिरहेका छौं वा शान्त अवस्थामा छैनौं भने त्यो क्लेश विद्यमान भएको संकेत हो।
यो अवस्था हाम्रो अचेतनमा हुन सक्छ, र अक्सर अचेतनमै हुन्छ। तर यस्तो अवस्थामा कुनै क्लेश विद्यमान भएकै हुन्छ।
मानिलिउँ हामी कसैलाई केही कुरा बुझाउन खोज्दैछौं। उक्त व्यक्तिसँग बोलिरहेको बेला पेटको भागतिर केही असजिलो महसुस हुन्छ भने त्यो अहंकार विद्यमान भएको राम्रो संकेत हो। “म त कति जान्ने छु ! मैले यो कुरा जानेको छु। म तिमीलाई यो कुरा बुझ्नलाई मद्दत गरिरहेको छु,” यस्तो भाव हुन्छ। त्यो कुरा बताएर हामीले साँच्चिकै उक्त व्यक्तिलाई सहयोग गर्न खोजिरहेको हौंला, तर पेटतिर केही असजिलो महसुस भैरहेको छ भने त्यो अहंकार विद्यमान भएकाले हो। विशेष गरेर यदि हामीले आफ्नो उपलब्धि वा राम्रा गुणहरूको चर्चा गर्न थाल्यौं भने यस्तो महसुस हुन्छ। प्रायः यस्तो बेला अलिकति असहज महसुस हुन्छ।
त्यस्तै कुनै क्लेशयुक्त दृष्टिकोणको कुरा गरौं। मानिलिउँ हामीलाई “सबैले मलाई नै ध्यान दिनुपर्छ।” भन्ने लाग्छ। यस्तो भाव हामीमा अक्सर हुन्छ। हामीलाई अरूले बेवास्ता गरेको मन पर्दैन, कसैलाई पनि मन पर्दैन। त्यसैले हामीलाई लाग्छ, “मानिसहरूले मलाई ध्यान दिनुपर्छ। मैले के भनिरहेको छु भन्ने कुरा सुन्नुपर्छ,” आदि। त्यसैले कसैले वास्ता गरिरहेको छैन भने हामीलाई केही बेचैनीको अनुभूति हुन्छ। अरूले तपाईंमाथि किन ध्यान दिने? यो कुरा सोच्ने हो भने कुनै खास कारण पाउन मुस्किल हुन्छ।
संस्कृत शब्द क्लेश (तिब्बतीमा न्योन–मोङ्) अलि जटिल शब्द हो जसलाई मैले “अशान्तकारी आवेग” वा “अशान्तकारी मनोभाव” भनेर अनुवाद गरेको छु। जटिल के कारणले भने यी दुवै शब्द – आवेग र मनोभाव – ले त्यसको ठ्याक्कै अर्थ बताउँदैनन्। उदाहरणका लागि अबोधपनालाई लिउँ। हामी आफूले गर्ने व्यवहारको अरूमा वा स्वयंमा के असर हुन्छ भन्ने कुराप्रति अबोध हुन्छौं। अथवा कुनै परिस्थितिप्रति अबोध हुन सक्छौं। के भैरहेको छ भन्ने यथार्थ हामीलाई थाहा हुँदैन। उदाहरणका लागि कसैलाई विसन्चो वा मन उदास भैरहेको होला। त्यस्तो बेला हामीले के कुरा गर्छौं र त्यसले के असर पर्छ भन्नेबारे हामी अबोध हुन्छौं। फलस्वरूप उक्त व्यक्ति हामीसँग रिसाउन सक्छ, भलै हाम्रो आशय असल किन नहोस्।
यस्तो अवस्थालाई अशान्तकारी मनोदशा भनौं। यो बेला हामीभित्र केही असहजताको अनुभूति हुनैपर्छ भन्ने पनि छैन। तर हामीले के बुझ्यौं भने शान्त नभएको मन स्पष्ट पनि हुँदैन। त्यसैले अबोधपना वा अनभिज्ञताको बेला हाम्रो चित्त स्पष्ट हुँदैन र हामी आफ्नै साँघुरो दायरामा सीमित हुन्छौं। यसरी आफ्नै साँघुरो दायरामा सीमित भएका कारण उक्त परिस्थितिमा के गर्नु उपयोगी हुन्छ र के हुँदैन भनेर भेद गर्न सक्दैनौं; र यस्तो बेला हाम्रो आत्म–नियन्त्रण कायम रहँदैन। यसरी भेद गर्न नसकेका कारण हामीले उचित र जिम्मेवार ढंगले काम गर्न सक्दैनौं। अर्थात्, आत्म–नियन्त्रणको अभावमा हामी उचित काम गर्न र अनुचित काम गर्नबाट आफूलाई बचाउन सक्दैनौं। त्यसैले अबोधपना अशान्तकारी मनोदशा नै हो, यद्यपि यसलाई आवेग वा मनोभावकै दर्जा दिन हामीलाई कठिनाइ लाग्ला। मैले पहिला पनि भनिसकेँ कि “क्लेश” अलि जटिल शब्द हो, जसलाई अनुवाद गर्न खोज्दा ठ्याक्कै मिल्ने शब्द भेटिँदैन।
गैर–क्लेश
संस्कृत र तिब्बती भाषामा अंग्रेजीको “इमोसन” सँग ठ्याक्कै मिल्ने शब्द छैन। यी भाषाहरूमा चैतसिकको कुरा गरिन्छ; यी त्यस्ता तत्व हुन् जसले हरेक क्षणमा हाम्रो मनोदशाको निर्माण गरिरहेका हुन्छन्। यस्ता चैतसिकलाई कुशल वा अकुशल अर्थात् सकारात्मक वा नकारात्मक भनेर भेद गरिन्छ। यी दुई खालका चैतसिक एक अर्काबाट भिन्न हुन्छन्। यसका अलावा पनि केही चैतसिक हुन्छन्, जो दुवै श्रेणीमा आउँदैनन्। पश्चिमी देशमा हामी जेलाई “इमोसन” (आवेग/मनोभाव) भन्छौं, त्यसमध्ये केही अशान्तकारी हुन्छन् भने केही अशान्तकारी हुँदैनन्। बुद्धधर्मले ती सबै मनोभावलाई पूर्ण रूपमा निर्मूल गर्नुपर्छ भनेको छैन, बिलकुलै छैन। हामीले चाहेको त केवल अशान्तकारी मनोभावबाट मुक्ति पाउने मात्र हो। यसका लागि दुई चरण छन् : पहिलो, ती मनोभावलाई आफूमाथि हावी हुन नदिने, र दोस्रो, तिनलाई निर्मूल गर्ने ताकि ती फेरि उत्पन्न नै नहुन्।
अशान्तकारी नहुने मनोभाव/आवेग (गैर–क्लेश) के हुन् त? हामीलाई लाग्ला कि पश्चिमा जगतमा भनिने “लभ”, “कम्प्यासन” वा “प्यासेन्स” क्लेशपूर्ण नहोलान्। तर ती शब्दको विश्लेषण गरेर हेर्ने हो भने तिनमा अशान्तकारी र गैर–अशान्तकारी दुवै खाले भेद पाउँछौं। त्यसैले तिनको प्रयोगमा हामी अलि सावधान हुनुपर्छ। यदि हामीले गर्ने लभ (प्रेम) मा “म तिमीलाई अति नै प्रेम गर्छु, मलाई तिमी चाहिन्छ, मलाई कहिल्यै छाडेर नजाऊ” भन्ने खालको मनोभाव रहेछ भने त्यो वास्तवमा ज्यादै नै अशान्त मनोभाव हो। किनकि, यदि उक्त व्यक्तिले बदलामा हामीलाई पनि उत्तिकै प्रेम गर्दैन वा हामीलाई चाहँदैन भने हामी ज्यादै निराश बन्छौं। हामीलाई असाध्यै रिस उठ्छ, र अचानक हाम्रो मनोभाव बदलिन्छ, र हामी भन्न पुग्छौं, “म तिमीलाई प्रेम गर्दिन।”
त्यसैले कुनै चित्तावस्थाको विश्लेषण गर्ने हो भने हामी के पाउँछौं भने त्यो निश्चित आवेगको अवस्था हुनसक्छ, र त्यसलाई हामीले “प्रेम” नै भनेका छौं भने पनि त्यो अवस्था अनेक चैतसिकहरूको सम्मिश्रणबाट उत्पन्न हुन्छ। कुनै पनि आवेग या मनोभाव हामीमा आफ्सेआफ उत्पन्न हुने होइन। त्यो मनोभावमा सधैं एक सम्मिश्रण हुन्छ, त्यसका अनेक पक्षहरू हुन्छन्। “म तिमीलाई प्रेम गर्छु, तिमीबिना बाँच्न सक्दिन,” यस्तो भनिने प्रेम निश्चित रूपले अरूमाथिको निर्भरता हो र यो अवस्था ज्यादै अशान्तिपूर्ण हुन्छ। तर अशान्तिपूर्ण नहुने प्रेम पनि हुन्छ, जसमा केवल अर्को व्यक्ति सुखी होस् र उसलाई सुखका कारणहरू प्राप्त होउन् भन्ने कामना गरिन्छ। यसमा उक्त व्यक्तिले के गर्छ, त्यो हेरिँदैन। उसबाट केही अपेक्षा हामीले राख्दैनौं।
उदाहरणका लागि, त्यस्तो क्लेशमुक्त प्रेम वा माया हामीले आफ्ना सन्तानका हकमा अनुभव गर्न सक्छौं। हामी उनीहरूबाट बदलामा केही चाहँदैनौं। हुनत केही बाबुआमाले चाहन्छन् पनि होला। तर अक्सर हाम्रा सन्तानले जे गरेपनि हामी उसलाई माया गरिरहन्छौं। उ सुखी होस् भन्ने हामी चाहन्छौं। तर यहाँ पनि क्लेश जोडिएर आउन सक्छ। उसलाई सुखी राख्ने क्षमता आफूसँग होस् भन्ने इच्छा हामीमा हुन्छ। मानिलिउँ, हामीले उ खुसी होस् भनेर पुतलीको खेल देखाउन लग्यौं, तर काम बनेन। उ त्यसमा रमाएन, खुसी भएन, बरु आफ्नो कम्प्युटर गेम खेलेर बस्यो। त्योबेला हामी दुःखी हुन्छौं। हाम्रो दुःखको कारण के हो भने उसको खुसीको कारण हामी भएनौं, बरु त्यो कम्प्युटर गेम भयो। यद्यपि हामी आफ्नो सन्तानप्रतिको त्यो भावलाई “माया” भनिरहन्छौं। “म तिमी खुसी भएको देख्न चाहन्छु। म तिमीलाई खुसी दिलाउने प्रयास गर्छु। तिम्रो जीवनमा त्यसरी खुसी ल्याउने सबैभन्दा महत्वपूर्ण व्यक्ति म नै हुन चाहन्छु।”
यो सबै चर्चाको उद्देश्य के हो भने हामीले आफ्नो चित्तको भावनात्मक अवस्थालाई मिहीन रूपमा जान्नुपर्छ र आफ्ना मनोभाव र आवेगहरूलाई जे नाम दिन्छौं, त्यसमा ज्यादै अड्किएर बस्नु हुँदैन। चित्तको कुन अवस्थाको कुन पक्षले हाम्रो शान्तिलाई खलबल्याउँछ, हामीलाई विचलित बनाउँछ, र हाम्रो स्पष्टता र आत्मसंयम गुम्छ भन्ने कुराप्रति सजग भएर जान्नु पर्छ। यी वास्तवमै हामीले काम गर्नुपर्ने पक्षहरू हुन्।
क्लेशको मूल कारण अनभिज्ञता
हामी आफ्ना क्लेश अर्थात् अशान्तकारी चित्तावस्था वा मनोभाव वा दृष्टिकोणबाट मुक्ति चाहन्छौं भने तिनको कारण थाहा पाउनु जरुरी हुन्छ। कारणबाट मुक्ति पाउन सक्यौं भने तिनबाट पनि मुक्ति पाउन सकिन्छ। तर समस्या खडा गर्ने यस्ता क्लेशबाट मात्र मुक्तिले हुँदैन, हामीले तिनको जरैसम्म पुगेर त्यसबाट मुक्ति पाउनु पर्छ।
त्यसो भए क्लेशको मूल जरा या कारण के हो? यसको मूल कारणलाई “अविद्या” भनिन्छ, मैले यसलाई “अनभिज्ञता” भन्ने गरेको छु। हामी यसबारे अनभिज्ञ छौं, अर्थात् हामीलाई थाहा नै छैन। अविद्या भन्दाखेरि हामी मूर्ख छौं भन्ने जस्तो सुनिन्छ। तर कुरा त्यसो होइन, हामी मूर्ख होइनौं। बस्, हामीलाई थाहा छैन, या हामीलाई भ्रम वा मिथ्या बोध छ। हामी कुरालाई गलत ढंगले बुझिरहेका छौं।
हामी के कुराबारे अनभिज्ञ छौं या भ्रममा छौं? मूलतः हामीले गर्ने व्यवहार र त्यसबाट उत्पन्न परिस्थितिको नतिजाबारे। हामी कुनैबेला अति नै क्रोध या आसक्ति या निराशाको अवस्थामा छौं भने त्यो अवस्थामा हामीले विगतमा विकास गरेको आदत वा प्रवृत्तिको आधारमा बाध्यात्मक ढंगले व्यवहार गर्छौं। मूलतः कर्म भनेको त्यही हो; हामी आफ्ना क्लेश अर्थात् अशान्तकारी आवेगको प्रभावमा बाध्यात्मक ढंगले व्यवहार गर्छौं, र त्यसमा आफ्नो नियन्त्रण हुँदैन।
यस्तो बाध्यात्मक व्यवहारको जडमा हाम्रो अनभिज्ञता हुन्छ : हामीले गर्ने कार्य वा बोल्ने वचनको के नतिजा हुन्छ भन्ने हामीलाई थाहा हुँदैन। अथवा हामीलाई भ्रम हुन्छ : हामीले सोचेका हौंला, कुनै चीज चोरी गर्दा सुखी भइन्छ, तर त्यसो हुँदैन। अथवा तिमीलाई सहयोग गर्दा तिम्रा लागि म आवश्यक भएको सिद्ध गर्न सकुँला र तिमीले मलाई माया गर्नेछौ भनेर सोचेको हौंला, तर नतिजा त्यसो हुँदैन। अर्थात् हाम्रो व्यवहारको के नतिजा हुन्छ भन्ने हामीलाई थाहा हुँदैन, र त्यो अवस्थामा हामी भन्छौं, “मैले त्यो कुरा गर्दा तिमीलाई चोट पुग्छ भन्ने थाहा भएको भए भन्दिनथेँ।” या तिमीलाई खुशी मिल्छ भन्ने सोचेको थिएँ, तर मिलेन। अथवा, “तिमी व्यस्त थियौ भन्ने मलाई थाहा थिएन।” वा, “तिमी विवाहित हौ भन्ने थाहा थिएन।” हामीलाई मिथ्या बोध हुनसक्छ, जस्तो कि – “तिमीसँग पर्याप्त समय छ भन्ने सोचेको थिएँ, तर रहेनछ।” वा, “तिमी अविवाहित छौं, कसैसँग सम्बन्धमा छैनौ भन्ने सोचेर प्रेम सम्बन्धको प्रयास गरेको थिएँ, तर त्यसो गर्नु उपयुक्त रहेनछ।” त्यसैले हामी देख्छौं, या त हामीलाई परिस्थितिका बारेमा थाहै हुँदैन, या त्यसबारे भ्रममा हुन्छौं : हामी त्यसलाई मिथ्या तरिकाले बुझिरहेका हुन्छौं।
यथार्थ के हो भने हामीले गर्ने बाध्यकारी व्यवहारको मूल कारण अनभिज्ञता हो। तर यो अनभिज्ञता नै क्लेशको जड हो र क्लेश बाध्यकारी व्यवहारसँग जोडिएको हुन्छ भन्ने चाहिँ त्यति स्पष्टसँग देख्न सकिँदैन। त्यसैले यो विषयलाई अलि मिहिन रूपमा हेर्नु जरुरी हुन्छ।