भय : विचलित भावनाहरूको सामना

10:33
भय जीवनमा कुनै पनि सकारात्मक कुरा हासिल गर्नका लागि सबैभन्दा ठूलो बाधाहरूमध्ये एक हो। एउटा भ्रमित मानसिक अवस्थामा, जुन विशेषगरी सुरक्षाको अनुभूति के हो भन्ने अज्ञानतामा आधारित हुन्छ। तर विभिन्न आपतकालीन र अस्थायी उपायहरूको प्रयोग गरेर हामी भयको जकडनबाट आफूलाई मुक्त गर्न सक्छौं।

भय सामना गर्ने आपतकालीन उपायहरू

तिब्बती बौद्ध परम्परामा महिला बुद्ध स्वरूप तारा भयबाट हाम्रो रक्षा गर्ने बुद्धको पक्षको प्रतीक हुन्। तारा वास्तवमा शरीरका ऊर्जा-हावा र सासको प्रतिनिधित्व गर्छिन्। जब ती शुद्ध हुन्छन्, उनी कार्य गर्न र आफ्नो लक्ष्य पूरा गर्न सक्ने क्षमताको पनि प्रतीक हुन्छिन्। यो प्रतीकात्मक अर्थले सास र सूक्ष्म ऊर्जासँग काम गर्ने केही आपतकालीन उपायहरूको सङ्केत गर्छ, जसले भय नियन्त्रण गर्न मद्दत गर्छ।

यी आपतकालीन उपायहरू ध्यान, अध्ययन, वा धर्मदेशना सुन्नुअघि गरिने तयारी अभ्यासहरू (पूर्वाभ्यास) बाट उत्पन्न भएका हुन्। यी अभ्यासहरूले आफैंमा पनि आपतकालीन अवस्थाहरूमा, जब हामी अत्यन्तै डराएका वा आतिएका हुन्छौं, मनलाई शान्त पार्न मद्दत गर्छन्। ती गहिरा उपायहरू प्रयोग गर्नु अघि गरिने पहिलो चरणहरू पनि हुन्। हामी यीमध्ये कुनै एक मात्र प्रयोग गर्न सक्छौं वा तल दिएको क्रमअनुसार पाँचै अभ्यास गर्न सक्छौं।:

  1.  आँखा बन्द गरी सासको आवागमन गन्नु। सास भित्रिने र बाहिरिने प्रक्रिया एक चक्र हो। सास भित्रिँदा त्यसको अनुभूति लिनु, तल पेट फुलिँदा र फेरि बिस्तारै घटिँदा सास बाहिरिने अनुभवमा ध्यान केन्द्रित गर्नु।
  2. आँखा आधा खोलेर, हल्का तल भुइँतिर ध्यान राख्दै सासको चक्र गन्नु। यसमा सास बाहिरिने, अलिक विराम, र सास भित्रिने क्रमलाई एक चक्रका रूपमा लिनु। माथिको जस्तै ध्यान राख्नु र केहीबेरपछि आफ्नो शरीरको तल्लो भाग कुर्सी वा भुइँसँग छोइएको अनुभूति पनि समावेश गर्नु।
  3. आफ्नो उद्देश्य वा प्रेरणालाई पुनः पुष्टि गर्नु, जस्तै किन र कसरी आफूलाई अझ शान्त बनाउने हो भन्ने स्पष्ट गर्नु।
  4. आफ्नो मन र ऊर्जालाई क्यामेराको लेन्सजस्तै केन्द्रित हुँदै स्पष्ट रूपमा एक बिन्दुमा मिलिरहेको कल्पना गर्नु।
  5. सास गन्ने काम नगरी, सास फेर्दा पेटको उठ्ने र घट्ने अनुभवमा ध्यान दिनु। शरीरका सबै ऊर्जाहरू सन्तुलित रूपमा बगिरहेका छन् भन्ने महसुस गर्नु।

भय भनेको के हो?

भय भनेको शारीरिक र मानसिक असहजता हो, जुन कुनै ज्ञात वा अज्ञात वस्तु वा अवस्थासँग सम्बन्धित हुन्छ, जसलाई नियन्त्रण गर्ने, सामना गर्ने वा आफ्नो इच्छा अनुसार परिणाम ल्याउने क्षमता हामीले नभएको महसुस गर्छौं। हामी भयभित हुने कुरा हटाउन चाहन्छौं, त्यसैले त्यसप्रति तीव्र विरक्ति हुन्छ। यदि डर कुनै निश्चित वस्तुसँग सम्बन्धित नभएर सामान्य चिन्ता मात्र हो भने पनि, कुनै अनिर्दिष्ट “केही कुरा” बाट छुटकारा पाउने तीव्र चाहना रहन्छ।

भय केवल रिस होइन। यद्यपि रिस जस्तै, यसले हामीले डराएको वस्तुको नकारात्मक गुणहरूको वृद्धि र "म" लाई बढाउने समावेश हुन्छ। रिसमा भयले थप्ने कुरा मानसिक तत्व हो जुनले स्थिति नियन्त्रण गर्न वा सामना गर्न नसकिने कुरा छुट्याउने (पहिचान गर्ने) क्षमता प्रदान गर्छ। त्यसपछि हामी डराएको कुरामा र त्यस प्रकारको छुट्याउने तरिकामा आफैँमा ध्यान दिन्छौं। त्यो छुट्याउने र ध्यान दिने तरिका सही वा गलत हुन सक्छ।

भय अनभिज्ञतासँगै आउँछ

भय सधैं वास्तविकताको कुनै न कुनै तथ्यको अनभिज्ञता (अज्ञान, भ्रम)सँगै आउँछ – चाहे त्यो तथ्य नजान्नु होस् वा त्यसलाई वास्तविकतासँग विपरित तरिकाले जान्नु होस्। अब छवटा सम्भावित भिन्नता हेरौँ। 

(१) जब हामी कुनै स्थिति नियन्त्रण वा सामना गर्न नसक्नुमा डराउँछौं, हाम्रो भय कारण र परिणामको र वस्तुहरूको अस्तित्वको अनभिज्ञतासँगै आउन सक्छ। हाम्रो डरको तरिकाले आफैँ र डराएको कुरामा ध्यान दिने अवधारणात्मक वस्तुहरू हुन्:

  • एक ठोस रूपमा अवस्थित "म" – यस्तो व्यक्ति जसले केवल आफ्नो शक्तिद्वारा सबै कुरा नियन्त्रण गर्न सक्षम हुनुपर्छ, जस्तै हाम्रो बच्चा चोट नपारोस्।
  • एक ठोस रूपमा अवस्थित "चीज" – यस्तो वस्तु जुन आफ्नै रूपमा अवस्थित छ र अरू कुनै कुराबाट प्रभावित हुँदैन, जसलाई हामी केवल आफ्नै प्रयासले नियन्त्रण गर्न सक्नुपर्छ, तर कुनै व्यक्तिगत कमजोरीका कारण गर्न सक्दैनौं।

यी अवस्थित हुने असम्भव तरिकाहरू हुन् र कारण र परिणाम काम गर्ने असम्भव तरिकाहरू हुन्। 

(२) जब हामी कुनै स्थिति सामना गर्न नसक्नुमा डराउँछौं, त्यससँगै आउने अनभिज्ञता मनको प्रकृति र अनित्यताको स्वभावको हुन सक्छ। हामी हाम्रो भावना वा प्रियजनको क्षतिपूर्ति सामना गर्न नसक्नुमा डराउँछौं, तर हामी अनभिज्ञ छौं कि पीडा र दु:खका अनुभव केवल दृश्यहरूको उत्पत्ति र अनुभूतिको प्रक्रिया हुन्। ती अस्थायी छन् र बित्नेछन्, जस्तै दन्त चिकित्सकले दाँत ड्रिल गर्दा हुने पीडा। 

(३) हामी कुनै स्थिति सामना गर्न नसक्ने डर हुँदा, यसले हामी आफैंले त्यसलाई सामना गर्न नसक्ने डर समावेश गर्न सक्छ। यसले एक्लोपन र अकेलोपनको डर पनि समावेश गर्न सक्छ। हामी सोच्छौं कि हामी परिस्थिति कम गर्न सक्ने अरू कोही भेट्टाउन सक्छौं।यहाँ अवधारणात्मक वस्तुहरू हुन्:

  • एक ठोस रूपमा अवस्थित "म" – यस्तो व्यक्ति जो असक्षम, अपर्याप्त, पर्याप्त राम्रो छैन, र कहिल्यै सिक्न नसक्ने।
  • एक ठोस रूपमा अवस्थित "अरू कोही" – यस्तो व्यक्ति जो मभन्दा राम्रो छ र जसले मलाई बचाउन सक्छ।

यो अरू र हामी कसरी अस्तित्वमा छौं भन्ने र कारण र परिणामको अनभिज्ञताको अर्को रूप हो। यो सत्य हुन सक्छ कि अहिले हामीसँग कुनै कुरा, जस्तै हाम्रो गाडी बिग्रिँदा, त्यसलाई सामना गर्न पर्याप्त ज्ञान छैन, र अरू कसैसँग त्यो ज्ञान छ जसले हामीलाई सहयोग गर्न सक्छ। तर यसको अर्थ यो होइन कि कारण र परिणामको प्रक्रियाबाट हामी सिक्न सक्दैनौं। 

(४) जब हामी कसैबाट डराउँछौं, उदाहरणका लागि हाम्रो रोजगारदाताहरूसँग, तब हामी उनीहरूको परम्परागत स्वभावबारे अनजान हुन्छौं। हाम्रा रोजगारदाताहरू पनि हामीजस्तै भावना भएका मानव प्राणीहरू हुन्। उनीहरू पनि खुशी हुन चाहन्छन्, दुःखी हुन चाहँदैनन्, र मन पराइएका हुन चाहन्छन्, मन नपराइएका होइनन्। कार्यालय बाहिर पनि उनीहरूको आफ्नै जीवन हुन्छ, जसले उनीहरूको मनोवृत्तिमा प्रभाव पार्छ। यदि हामी आफ्ना रोजगारदाताहरूसँग मानवीय दृष्टिकोणबाट सम्बन्ध राख्न सक्छौं भने, र आफ्ना-आफ्ना भूमिकाबारे सचेत रहन्छौं भने, हाम्रो डर कम हुनेछ।

(५) त्यसै गरी, जब हामी सर्प वा कीरापतंगहरूबाट डराउँछौं, तब हामी यस कुराबारे पनि अनविज्ञ हुन्छौं कि उनीहरू पनि हामी जस्तै चेतनशील प्राणी हुन्, जसले खुशी हुन चाहन्छन् र दुःखी हुन चाहँदैनन्। बौद्ध दृष्टिकोणबाट हेर्दा, हामी अनविज्ञ हुन्छौं कि उनीहरू कुनै निश्चित जातको स्थायी पहिचान नभएको व्यक्तिगत मानसिक प्रवाहको वर्तमान रूप हुन्। हामी अनविज्ञ हुन्छौं कि तिनीहरू हाम्रा अघिल्ला जन्महरूमा हाम्रा आमाहरू पनि भएका हुन सक्छन्। 

(६) जब हामी असफलता वा रोगबाट डराउँछौं, तब हामी आफ्ना सीमित संसारिक प्राणीको परम्परागत स्वभावबारे अनविज्ञ हुन्छौं। हामी पूर्ण सिद्ध छैनौं, त्यसैले गल्ती गर्नु, कहिलेकाहीँ असफल हुनु वा बिरामी पर्नु स्वाभाविक कुरा हो। “संसारबाट अरू के अपेक्षा गर्नुहुन्छ?”

सुरक्षित महसुस गर्नु 

बौद्ध दृष्टिकोणबाट, सुरक्षित महसुस गर्नुमा यी कुराहरू समावेश हुँदैनन्:

  • सर्वशक्तिमान प्राणीको सहारा लिनु, किनभने सर्वशक्तिमान हुनु असम्भव छ।
  • यदि कुनै शक्तिशाली प्राणीले कुनै रूपमा मद्दत गर्न सक्छ भने पनि, त्यस प्राणीलाई खुसी पार्न, चढावा दिन वा बलि चढाउनुपर्ने आवश्यकता हुन्छ, ताकि सुरक्षाको वा सहयोगको आशा गर्न सकियोस्।
  • हामी आफू नै सर्वशक्तिमान बन्नु।

सुरक्षित महसुस गर्नका लागि, हामीलाई निम्न क्रममा आवश्यकता हुन्छः

  1. हामी के कुराबाट डराउँछौं भनेर जान्नु र त्यसको आधारमा रहेका भ्रम र अज्ञानतालाई पहिचान गर्नु।
  2. जसबाट हामी डराउँछौं, त्यसलाई सामना गर्नलाई वास्तवमा के हो भन्ने यथार्थपरक बुझाइ राख्नु, विशेषगरी त्यससँग सम्बन्धित भ्रमबाट मुक्त हुनका सन्दर्भमा।
  3. हामी डराउने कुराहरू सामना गर्नका लागि हाम्रो क्षमता अहिले र दीर्घकालीन रूपमा कति छ भनेर मूल्याङ्कन गर्नु, आफूलाई नअन्डरस्टिमेट गर्नु नओभरस्टिमेट गर्नु, र आफ्नो वर्तमान विकासको स्तरलाई स्वीकार गर्नु।
  4. अहिले गर्न सक्ने कुरा कार्यान्वयन गर्नु — यदि गरिरहेका छौं भने खुशी मान्नु, र यदि गरिरहेका छैनौं भने, आफ्नो वर्तमान क्षमताको भरपुर उपयोग गरेर गर्ने सङ्कल्प गर्नु र त्यसको अभ्यास गर्नु।
  5. अहिले पूर्ण रूपमा सामना गर्न नसके पनि, त्यसलाई पूर्ण रूपमा सामना गर्न सक्ने स्तरमा पुग्न कसरी विकास गर्ने भन्ने ज्ञान राख्नु।
  6. त्यो स्तरमा पुग्नका लागि लक्ष्य निर्धारण गरी त्यसतर्फ काम गर्नु।
  7. आफू सुरक्षित दिशामा अघि बढिरहेका छौं भन्ने महसुस गर्नु।

माथिका सात चरणहरूले बौद्ध धर्ममा भनिने “सुरक्षित दिशा लिनु” (शरण लिने) भन्ने कुरा व्याख्या गर्छन्। यो कुनै निष्क्रिय अवस्था होइन, तर जीवनमा सुरक्षित दिशा अपनाउने सक्रिय अभ्यास हो — यथार्थपरक रूपमा आफ्ना डरहरूबाट मुक्त हुने दिशामा काम गर्ने प्रक्रिया। त्यसका फलस्वरूप हामी सुरक्षित र संरक्षित महसुस गर्छौं, किनभने हामीलाई थाहा हुन्छ कि जीवनमा सकारात्मक र सही दिशामा अघि बढिरहेका छौं, जसले अन्ततः सबै समस्याहरू र कठिनाइहरूबाट मुक्त हुन सक्षम बनाउँछ।

डर लाग्दो अवस्थाहरूलाई सामना गर्ने यथार्थपरक दृष्टिकोण

हामीले सम्झनु आवश्यक कुराहरू :

  • हाम्रो वा हाम्रो प्रियजनको जीवनमा जे हुन्छ, त्यो व्यक्तिगत कर्मका शक्तिहरूको ठूलो जालको परिणाम हो। साथै ऐतिहासिक, सामाजिक र आर्थिक कारणहरू पनि हुन्। दुर्घटना वा अनिच्छित घटनाहरू घट्छन्, र हामी कति सावधान भए पनि वा उनीहरूलाई कति सावधान रहन सल्लाह दिए पनि, उनीहरूलाई तीबाट पूर्ण रूपमा जोगाउन सक्दैनौं। हामीले गर्न सक्ने कुरा भनेको तिनीहरूलाई यथार्थपरक सल्लाह दिनु र उनीहरूको कुशल कामना गर्नु हो।
  • दुर्घटना र भयलाई पार गर्नका लागि शून्यताको अकल्पनात्मक बोध प्राप्त गर्न आवश्यक छ। तर शून्यतामा पूर्ण रूपमा तल्लीन हुनु भनेको जमिनमा टाउको गाडेर डरबाट भाग्नु होइन। यो डरबाट पलायन होइन, बरु त्यो अज्ञानता र भ्रम हटाउने विधि हो जसले हाम्रो कर्मलाई अनिच्छित परिणाममा परिणत गर्छ र जसले भय उत्पन्न गर्छ।
  • जब हामी शून्यताको अकल्पनात्मक बोधको माध्यमबाट कर्म शुद्ध गर्न काम गर्छौं, त्यतिबेला पनि संसार (अर्हत्व) बाट मुक्ति प्राप्त गर्ने स्तरसम्म हामीले दुर्घटना र भय अनुभव गर्नुपर्छ। किनकि संसारको स्वभाव नै उतारचढावयुक्त हुन्छ। प्रगति सीधा रेखामा हुँदैन, कहिले राम्रो हुन्छ, कहिले हुँदैन।
  • जब हामी अरहतको रूपमा संसारबाट मुक्त हुन्छौं, तब पनि अनिच्छित घटनाहरू वा दुर्घटनाहरू घट्न सक्छन्। तर त्यसबेला हामीले ती घटनाहरू बिना पीडा, बिना दुःख र बिना भय अनुभव गर्छौं, किनभने त्यतिबेला सबै विचलित गर्ने भावना र दृष्टिकोणबाट मुक्ति प्राप्त भइसकेको हुन्छ। केवल अरहतको स्तरमा पुगेपछि मात्र हामी सबै भयलाई सबैभन्दा गहिरो रूपमा सामना गर्न सक्षम हुन्छौं।
  • जबसम्म हामीले बुद्धत्व प्राप्त गर्दैनौं, तबसम्म हामी दुर्घटना वा अनिच्छित घटना अनुभव नगरी रहँदैनौं। केवल बुद्ध मात्र निडर भएर यस्तो घोषणा गर्न सक्नुहुन्छ:
    • स्वयंले प्राप्त गरेका सबै राम्रो गुण र सीपहरूको अनुभूति ।
    • स्वयंको मुक्ति र ज्ञान प्राप्तिमा बाधा पुर्‍याउने सबै अवरोधहरूको वास्तविक निवारण ।
    • अरूहरूले मुक्ति र बुद्धत्व प्राप्त गर्न हटाउनुपर्ने आवरणहरू ।
    • ती आवरणहरू हटाउन अरूहरूले भरोसा गर्नुपर्ने विरोधी शक्तिहरू ।

डर सामना गर्ने अस्थायी उपायहरू

  1. माथि उल्लेखित सात चरणहरू जीवनको सुरक्षित दिशामा अगि बढिरहेको पनः पुष्टि गर्नुहोस्।
  2. डर लाग्दो अवस्थाको सामना गर्दा, जस्तै क्यान्सर परीक्षण, सबैभन्दा खराब अवस्था कल्पना गर्नु र त्यसबेला के हुने र हामीले त्यसलाई कसरी सामना गर्ने भनेर सोच्नु। यसले अज्ञातको डर कम गर्न मद्दत गर्छ।
  3. कुनै काम गर्नुअघि, जस्तै विमान समात्न समयमै विमानस्थल पुग्ने कुरा, यदि एउटा उपाय असफल भयो भने अरू तयारीहरू पनि राख्नु, ताकि कुनै विकल्प नभएको डरावनी अवस्था सिर्जना नहोस्।
  4. शान्तिदेवले सिकाएझैं, यदि डर लाग्दो अवस्था छ र केही गर्न सकिन्छ भने, चिन्ता नगरी गर्नु। यदि केही गर्न सकिँदैन भने, चिन्ता गर्नु व्यर्थ छ।
  5. मुक्ति प्राप्ति सम्म हामीले डर र दुःख अनुभव गर्नैपर्छ, त्यसैले आफ्नो मनलाई महासागर जस्तो गहिरो र विशाल ठान्नुपर्छ। जब डर वा दुःख उठ्छ, त्यसलाई महासागरको लहरझैं उठ्न र शान्त हुन दिनुपर्छ। लहरले महासागरको गहिराइको शान्तता बिगार्दैन।
  6. यदि हामीले सदाचरणबाट पर्याप्त सकारात्मक कर्मबल (पुण्य) जम्मा गरेका छौं भने, भविष्यमा पनि मूल्यवान् मानवीय जीवन पाउने आत्मविश्वास राख्न सक्छौं। डरबाट सबैभन्दा राम्रो सुरक्षा हाम्रो आफ्नै सकारात्मक कर्म हो, यद्यपि सम्झनुपर्छ कि संसारको स्वभाव उतारचढावयुक्त हुन्छ।
  7. डरलाग्दो परिस्थितिको सामना गर्दा, हामी धर्म रक्षक वा तारा वा औषधि बुद्ध जस्ता बुद्ध-आकृतिको सहायता अनुरोध गर्ने अनुष्ठान गर्न वा गराउन सक्छौं। यस्ता आकृतिहरू सर्वशक्तिमान प्राणीहरू होइनन् जसले हामीलाई बचाउन सक्छन्। हामी अनुरोध गर्छौं र तिनीहरूको ज्ञानवर्धक प्रभावमा आफूलाई खोल्छौं, ताकि त्यसले हाम्रा पहिले गरिएका रचनात्मक कार्यहरूबाट कर्म बलहरू फलाउने परिस्थितिको रूपमा काम गर्न सकोस् जुन अन्यथा नफलेको हुन सक्छ। अझ सुरक्षित प्रभाव भनेको तिनीहरूको ज्ञानवर्धक प्रभावले हाम्रा पहिले गरिएका विनाशकारी कार्यहरूबाट कर्म बलहरूलाई सानो असुविधामा फलाउने परिस्थितिको रूपमा काम गर्नु हो जुन अन्यथा सफलतामा बाधा पुर्‍याउने गम्भीर अवरोधमा फलेको  हुन सक्छ। यसरी, कठिनाइहरूबाट डराउनुको सट्टा, हामी तिनीहरूलाई नकारात्मक कर्म बलहरू "जलाउने" को रूपमा स्वागत गर्छौं।
  8. हाम्रो बुद्धस्वभावको पुनः पुष्टि गर्नु। हामीसँग गहिरो चेतनाका आधारभूत तहहरू छन् जसले कठिन र डर लाग्दो अवस्थाहरू बुझ्न (ऐना-जस्तो गहिरो चेतना), ढाँचा पहिचान गर्न (समानता गहिरो चेतना), अवस्थाको विशेषता बुझ्न (व्यक्तिगत  गहिरो चेतना), र कसरी कार्य गर्न सकिन्छ (कहिलेकाहीँ केही गर्न नसक्ने कुरा बुझ्न पनि) (पूर्ण गहिरो चेतना) सक्षम बनाउँछ। साथै, हामीसँग कार्य गर्न आवश्यक ऊर्जाको आधारभूत तह पनि छ।
  9. बुद्धस्वभाव भएको अर्थ हामीभित्र सबै शुभ गुणहरूको आधार पूर्ण रूपमा उपस्थित छ भन्ने हो। पश्चिमी मनोवैज्ञानिक दृष्टिले यी गुणहरू सचेत वा अवचेतन हुन सक्छन्। (हामी तिनबारे सचेत हुन सक्छौं वा नहुन सक्छौं, र तिनीहरू विभिन्न स्तरमा विकसित भएका हुन सक्छन्) प्रायः हामी अवचेतन गुणहरूलाई “छायाँ” का रूपमा प्रक्षेपण गर्छौं। अवचेतन अज्ञात भएकाले, त्यसको अज्ञानताबाट उत्पन्न तनाव अज्ञातको डरको रूपमा प्रकट हुन्छ, जसले हाम्रा अवचेतन गुणहरूको डर पैदा गर्छ। यसरी, हामीले आफ्नो सचेत बौद्धिक पक्षसँग पहिचान गर्न सक्छौं र अज्ञात, अवचेतन भावनात्मक पक्षलाई बेवास्ता वा अस्वीकार गर्न सक्छौं। हामी आफ्नो भावनात्मक पक्षलाई छायाँको रूपमा प्रक्षेपण गर्न सक्छौं र अत्यधिक भावनात्मक व्यक्तिहरूप्रति डर अनुभव गर्न सक्छौं। आफ्नै भावनात्मक पक्षप्रति डर र आफ्ना भावनाहरूसँग सम्पर्क टुट्ने चिन्ता हुन सक्छ। यदि हामी सचेत भावनात्मक पक्षसँग पहिचान गर्छौं र अवचेतन बौद्धिक पक्षलाई अस्वीकार गर्छौं भने, हामी बौद्धिक पक्षलाई छायाँको रूपमा प्रक्षेपण गर्छौं र बौद्धिक व्यक्तिहरूप्रति डर अनुभव गर्छौं। हामी बुझ्ने प्रयास गर्न डराउँछौं र बौद्धिक रूपमा कमजोर हुने चिन्ता गर्छौं। त्यसैले, दुबै पक्षहरूलाई बुद्धस्वभावका अंगका रूपमा पूर्ण रूपमा पुनः पुष्टि गर्नुपर्छ। हामी यी दुई पक्षहरूलाई तान्त्रिक ध्यानजस्तो जोडीको रूपमा एक-अर्कालाई अँगालिरहेको कल्पना गर्न सक्छौं र आफूलाई त्यो पूर्ण जोडीको रूपमा अनुभव गर्न सक्छौं।
  10. बुद्धस्वभावको अर्को पक्ष पुनः पुष्टि गर्नु, जसअनुसार मनको स्वभाव नै सबै डरहरूबाट स्वतन्त्र हुन्छ, त्यसैले डर अनुभव गर्नु केवल अस्थायी र सतही घटना हो।
  11. बुद्धस्वभावको अर्को पक्ष पुनः पुष्टि गर्नु, जसअनुसार हामी अन्यबाट प्रेरित भई डर लाग्दो अवस्थाहरूको सामना गर्ने साहस उत्पन्न गर्न सक्छौं।

सारांश

जब हामी डरले ग्रस्त हुन्छौं, त्यसलाई सामना गर्ने यी उपायहरू सम्झन सकेमा, हामी आफैंलाई शान्त पार्न र डर लाग्दो जस्तो लागेको अवस्थासँग यथार्थपरक रूपमा सामना गर्न सक्षम हुनेछौं।

Top