हाम्रो सबै विचलित भावनाहरू र दृष्टिकोणहरूको मूल कारण अज्ञानता हो। र अज्ञानता कारण र प्रभावको विषय हुनसक्छ, अर्थात् हाम्रो व्यवहारका प्रभाव वा वास्तविकताको अज्ञानता। व्यवहारका कारण र प्रभावप्रतिको अज्ञानता, सामान्यतया विनाशकारी कार्यहरू र गलत कर्मका लागि जिम्मेवार मानिन्छ। तर वास्तविकता र अवस्थासम्बन्धी अज्ञानता भने कुनै पनि सांसारिक व्यवहारको आधार हुन सक्छ, चाहे त्यो रचनात्मक होस् वा विनाशकारी। त्यसैले यदि हामी बुझ्न चाहन्छौं कि अज्ञानता कसरी हाम्रो विचलित भावनाहरू र दृष्टिकोणहरूको जरामा छ, हामीले अवस्थासम्बन्धी अज्ञानता, अर्थात् वास्तविकताको अज्ञानता, को सन्दर्भमा हेर्नुपर्छ।
“वास्तविकता” भन्ने शब्द अलि मजेदार छ, किनभने यसका धेरै अर्थहरू हुन सक्छन्। सामान्यतया यसको सट्टा “सत्य” शब्द प्रयोग गरिन्छ, अर्थात् कुनै कुरा सम्बन्धी सत्य। कुनै पनि कुराका दुई सत्य हुन्छन्। एउटा सापेक्ष, प्रचलित वा बाह्य सत्य हो, जसले कुनै कुरा कस्तो देखिन्छ भनेर जनाउँछ; अर्को गहिरो सत्य हो, जसले त्यो कुरा वास्तवमा कसरी अस्तित्वमा छ भनेर बताउँछ। “सत्यका तहहरू” भन्ने शब्दले एउटा अर्कोभन्दा बढी सत्य हो भन्ने आभास दिन सक्छ, तर दुबै सत्य हुन्। त्यसैले म दोस्रो सत्यका लागि “पूर्ण” भन्ने शब्द प्रयोग गर्न रुचाउँदिन, किनभने पूर्ण ले त्यसलाई अरूभन्दा बढी सत्य ठान्ने झल्को दिन्छ। त्यसको सट्टा “गहिरो” शब्द उपयुक्त हुन्छ। यसरी दुई सत्य हुन्छन् — एउटा बाह्य सत्य, जसले कुनै कुरा कस्तो देखिन्छ भन्ने बताउँछ, र अर्को गहिरो सत्य, जसले त्यो कुरा वास्तवमा कसरी अस्तित्वमा छ भन्ने प्रकट गर्छ।
आसक्ति के हो?
विचलित भावनासँग सम्बन्धित दुई सत्यका दृष्टिले हेरौं, यसो गर्दा अलिकति स्पष्ट हुनेछ। आसक्ति वा लालसा के हो? यो यस्तो विचलित मानसिक अवस्था हो जसले कुनै कुराका सकारात्मक गुणहरूलाई बढाइचढाई देखाउँछ र दुई मुख्य प्रकारमा प्रकट हुन्छ। लालसा त्यस्तो कुरा तर्फ लक्षित हुन्छ जुन हामीसँग छैन, र भावनाले भन्छ: “म यसलाई पाउनै पर्छ, यो मेरो हुनुपर्छ।आसक्ति त्यस्तो कुरा तर्फ लक्षित हुन्छ जुन हामीसँग पहिले नै छ, र “म यसलाई छोड्न चाहन्न” भन्ने अनुभूति गराउँछ। दुबै अवस्था कुनै कुराका वास्तविक वा हामीले सोच्ने सकारात्मक गुणहरूलाई बढाइचढाई गर्नेमा आधारित हुन्छन्। तेस्रो प्रकार लालच हो, जुन पनि हामीसँग भएको कुरातर्फ लक्षित हुन्छ र सन्तुष्ट नभई सधैं अझ बढी चाहन्छ।
यी सबै भिन्नताहरूसँग, हामी कुनै कुरा वास्तवमै के हो भन्ने वास्तविक सत्यबाट अनजान हुन्छौं। अर्को शब्दमा भन्नुपर्दा, हामी कुनै वस्तुको सकारात्मक पक्ष वा राम्रो गुण देख्दैनौं, तर तिनीहरूलाई बढाइचढाइ गर्छौं वा त्यहाँ नभएका राम्रो गुणहरू थप्छौं। यससँग प्रायः जाने कुरा यो हो कि हामी त्यसका कमजोरीहरू वा नकारात्मक पक्षहरूलाई कम ध्यान दिन्छौं वा पूर्ण रूपमा बेवास्ता गर्छौं। त्यसैले हामी वास्तवमै कुन कुरा राम्रो पक्ष हो र कुन कुरा कमजोरी हो भन्ने कुरा बुझ्दैनौं। त्यो "कुरा" कुनै व्यक्ति हुन सक्छ, जसलाई हामी आकर्षक र अद्भुत ठान्छौं, वा कुनै वस्तु पनि हुन सक्छ, जस्तै आइसक्रिम।
कुनै व्यक्तिप्रति हाम्रो तीव्र चाहना र आसक्ति हुने अवस्थामा विचार गरौं। उदाहरणका लागि, हामी प्रायः उनीहरूको रूपरङ वा आकर्षक लाग्ने गुणहरूलाई बढाएर देख्छौं। हामी उनलाई भेटेका सबैभन्दा सुन्दर व्यक्ति ठान्छौं, र यस्तै अन्य कुरा। हामी उनीहरूको कमजोरीहरूलाई बेवास्ता गर्न थाल्छौं, सोच्न पनि मन पराउँदैनौं, जस्तै उनी बारम्बार झर्क्याउने, अनौठो तरिकाले खाने, वा घुर्ने गर्छन्। उनी साच्चिकै राम्रा देखिने हुन सक्छन्, त्यसमा विवाद छैन, तर त्यस विशेषता लाई बढाएर देखाउने कुरा नै चाहना र आसक्तिको कारण बन्छ, जसले व्यक्तिको कमजोरीहरूलाई बेवास्ता वा कम ध्यान दिने गर्छौं। यस्तो मानसिक अवस्था अन्ततः समस्या निम्त्याउँछ, किनभने केही समयपछि त्यो मोह घट्छ। त्यसपछि जब ती कमजोरीहरू स्पष्ट देखिन थाल्छन्, हाम्रो प्रेम र आसक्ति सजिलै झर्को र क्रोधमा बदलिन्छ।
क्रोध वा झर्को त्यसको ठीक उल्टो अवस्था हो। हामी कुनै व्यक्ति वा वस्तुको नकारात्मक पक्ष र कमजोरीहरूलाई बढाइचढाइ गरेर देखाउँछौं र राम्रो पक्षहरूलाई बेवास्ता गर्छौं। उदाहरणका लागि, उनीहरूले आफ्नो कोठा सफा राख्दैनन्, लापरवाह छन्, भाँडाकुँडा माझ्न सहयोग गर्दैनन् भन्ने कुरालाई ठूलो समस्या ठान्छौं। त्यसलाई हदसम्म बढाएर लिन्छौं र त्यसबाट क्रोधित वा दुखी हुन्छौं। त्यसै समयमा, हामी उनीहरूको राम्रो पक्षहरू, जस्तै उनीहरू दयालु छन्, जिम्मेवार छन्, स्थिर छन् भन्ने कुरा बिर्सन्छौं। अन्ततः हाम्रो ध्यानमा आउने कुरा केवल यो हुन्छ, “म सहन गर्न सक्दिन कि उनी आफ्ना फोहर मोजा भुइँमा फाल्छन्।” र त्यसै कारण हामी रिसाउँछौं।
सबैभन्दा गहिरो सत्य
यी उदाहरणहरूजस्तै, कसैको सापेक्षिक वा सतही सत्यप्रति हाम्रो अज्ञानता, अर्थात् उनीहरूको सकारात्मक र नकारात्मक, वा बलियो र कमजोर पक्षहरूबारे नबुझ्नु, नै हाम्रो आसक्ति र क्रोधको मूल कारण हो। हामी उनीहरूलाई नचिन्ने, बेवास्ता गर्ने, बढाएर देखाउने, वा गलत बुझ्ने गर्छौं। तर यसभन्दा गहिरो तहमा, हाम्रो आसक्ति र क्रोधको जरामा उनीहरू वास्तवमै कसरी अस्तित्वमा छन् भन्ने गहिरो सत्यप्रति हाम्रो अज्ञानता लुकेको हुन्छ।
यद्यपि यो कुरा अत्यन्त सूक्ष्म र जटिल स्तरमा पनि छलफल गर्न सकिन्छ, आज रातीको लागि यसलाई हामी सरल रूपमा विचार गरौं। हामीलाई यस्तो लाग्छ कि त्यो व्यक्ति बाहिर कतै एउटा स्थिर अस्तित्वको रूपमा अवस्थित छ, जसको वरिपरि ठोस र स्पष्ट रेखा तानिएको छ, जस्तो कि उनी कुनै प्लास्टिकमा बेरिएका हुन्, र त्यही रूपमा हाम्रो अगाडि छन्, तस्वीरमा जमेको जस्तै अपरिवर्तनीय। यही गलत धारणा माथि आधारित भएर हामी उनीहरूलाई एउटा स्थायी, स्वतन्त्र, कुनै कारण, अवस्था, प्रभाव आदिबाट मुक्त, स्वतः स्थापित अस्तित्वको रूपमा सोच्ने गर्छौं। तर त्यो धारणा गलत हो, किनभने वास्तवमा उनीहरूको मनोभाव निरन्तर परिवर्तन भइरहेका हुन्छन्, शरीर परिवर्तन भइरहेको हुन्छ, भावना परिवर्तन भइरहेका हुन्छन्। त्यहाँ कुनै स्थायी, प्लास्टिकमा बेरिएको जस्तो अचल अस्तित्व छैन।
जब हामी “तिमी” लाई कुनै ठोस र स्थायी अस्तित्वको रूपमा गलत रूपमा बुझ्छौं, हामी सोच्ने गर्छौं, “तिमी सधैं यस्तै गर्छौ, सधैं मोजा भुइँमा फाल्छौ।” यस्तो गलत धारणा र त्यसले वास्तविकतालाई नबुझ्ने अज्ञानतामाथि आधारित भएर हामी त्यस “वस्तु”का नकारात्मक पक्षहरू बढाएर देखाउँछौं, जुन ओछ्यानको अर्को किनारमा बसेर हामीलाई झर्क्याइरहेको हुन्छ। त्यस्तै, उनीहरू वास्तवमै कसरी अस्तित्वमा छन् भन्ने नबुझ्दा हामी उनीहरूको सकारात्मक पक्षहरू पनि बढाएर देखाउँछौं, जस्तो कि उनीहरू कुनै ठोस, अद्भुत अस्तित्व हुन्। यस्तो भ्रमले हामीलाई बाध्य पार्छ उनीहरूलाई निरन्तर छुने, किनभने उनीहरू हामीलाई आकर्षक लाग्छन्। हामी यति आसक्त हुन्छौं कि उनीहरूलाई सुत्न दिन पनि मन लाग्दैन।
यदि हामी ती दुई प्रकारका अज्ञानता हटाउन सक्यौं, जसले हामीलाई कसैलाई ठोस र स्थायी रूपमा सोच्न बाध्य पार्छ, तब विचलितउ गर्ने भावना उठ्ने छैनन्। हामी बुझ्नेछौं कि व्यक्ति निरन्तर परिवर्तनशील छन्, परिवर्तनका लागि खुला छन्, र कुनै प्लास्टिकमा बेरिएको स्थिर वस्तु होइनन्। जब हामी यो बुझ्छौं, तब हामी सोच्दैनौं कि त्यो प्लास्टिकभित्रको वस्तु सधैं उही स्थायी गुणहरूसहित रहन्छ, जसलाई हामी बढाएर देखाउँछौं वा बनाउँछौं। त्यसको सट्टा, हामी उनीहरूको वास्तविक राम्रो र नराम्रो पक्षहरू देख्न सक्षम हुन्छौं र बुझ्छौं कि हरेक व्यक्तिमा सकारात्मक र नकारात्मक पक्ष हुन्छन्। हामी न त तिनीहरूलाई बढाएर देखाउँछौं, न त अस्वीकार गर्छौं। यसै आधारमा, हामी परिपक्व, दयालु र सहनशीलता, धैर्य र बुझाइका साथ प्रेमपूर्ण व्यवहारमा सम्बन्ध राख्छौं । तब न हामी आसक्त हुन्छौं न त खिन्न लाग्छ।
मेसिनहरु प्रति आसक्ति र रिस
टेप रेकर्डरको साथ पनि यस्तै हो, ठ्याक्कै उस्तै हो। यसमा आसक्त हुनु वा रिस गर्नुको आधार के छ? पहिलो कुरा, हामी त्यसलाई ठोस वस्तुको रूपमा लिन्छौं र सोच्छौं, “मैले यसमा धेरै पैसा खर्च गरेको छु,” अनि त्यहाँ त्यो वस्तु ठोस रूपमा आवस्थित छ, र त्यसपछि हामी त्यसका राम्रो पक्षहरू बढाइचढाइ गर्छौं, “यो त उपदेश रेकर्ड गर्नका लागि पूर्ण रूपमा भरपर्दो छ।” त्यसपछि हामी त्यसमा निर्भर हुन्छौं, र हामी व्याख्यानमा ध्यान दिँदैनौं, नोट पनि लेख्दैनौं, किनभने हामी सोच्छौं रेकर्डर अचूक र स्थायी छ, सधैं काम गर्नेछ। तर जब यो बिग्रिन्छ वा काम गर्दैन, हामी त्यसप्रति अत्यन्त रिसाउँछौं।
तर अन्ततः यो केवल एउटा मेसिन हो। यो भागहरूबाट बनेको छ र भागहरू पुरानो हुन्छन्; कुनै कुरा सधैंको लागि रहन्दैन।यो सत्य हो, कहिलेकाहीँ राम्रोसँग रेकर्ड गर्न सकिन्छ, तर कहिलेकाहीँ असफल हुन्छ। यो केवल मेसिन हो – ब्याट्री सकिन सक्छ र यस्तै अन्य कुराहरू हुन सक्छ। यदि हामी यो बुझ्यौं भने, ब्याट्री सकिनु ठूलो समस्या ठान्दैनौं। हामी जिम्मेवार तरिकाले प्रयोग गर्नु अघि जाँच गर्छौं कि मेसिन ठीक काम गरिरहेको छ कि छैन, ब्याट्री चार्ज छ कि छैन। तर कहिले काहीँ काम नगरे पनि, हामी रिसाउँदैनौं। हामी नोट पनि लिन्छौं र पूर्ण रूपमा यस रेकर्डिङ उपकरणमा निर्भर हुँदैनौं।
अचम्मको कुरा के छ भने हामी मेसिनहरू, जस्तै टेप रेकर्डर र अहिलेको समयमा कम्प्युटरप्रति, यति धेरै विचलित भावनाहरू उत्पन्न गर्न सक्छौं। जब मेसिनले हामीले चाहेजस्तो काम गर्दैन, हामी रिसाउँछौं। “यसको आफ्नै मन छ,” हामी सोच्छौं। हेर्नुस्, यो त हास्यास्पद छन्। हामी सोच्दछौं, “त्यो त्यहाँ छ र काम गर्नै पर्छ,” किनभने यो पूर्ण रुपमा काम गर्ने पर्ने हो। तर यो केवल मेसिन हो, भागहरूबाट बनेको, र मानिसहरूले बनाएका हुन्, जो गल्ती गर्छन् र पूर्णता जान्दैनन्। यसको अर्थ यो होइन कि हामी कम्प्युटर वा टेप रेकर्डर प्रयोग गर्दैनौं। हामी प्रयोग गर्छौं, किनभने यो अत्यन्त सहयोगी हुन सक्छ। तर यदि यो ठीकसँग काम गरिरहेको छ भने हामी त्यसमा आसक्त हुँदैनौं, र चाहेजस्तो काम नगरे पनि रिसाउँदैनौं। यसरी हामी यसप्रति सन्तुलित र स्वस्थ दृष्टिकोण राख्छौं। यो सजिलो छैन, विशेष गरी मेसिन महँगो भएमा।
कसैप्रति चाहना र आसक्ति सम्हाल्ने अस्थायी विधि
बौद्ध धर्ममा हाम्रो विचलित भावनाहरु संग सामना गर्ने दुई स्तरको विधिहरू छन्। एक अस्थायी, अनंतिम विधि हो, जो मूलतः हामीलाई चीजहरु को सापेक्ष सत्य सही तरिकामा देख्न मद्दत गर्छ। र अर्को अंतिम वा गहिरो विधि हो, जसले विचलित भावना उत्पन्न गर्ने भावनाले लक्षित गरेको वस्तुको गहिरो सत्य बुझ्न आवश्यक पर्छ। गहिरो विधिहरु को लागि काफी अध्ययन र विचार को आवश्यकता हुन्छ। तर अस्थायी, अनंतिम विधिहरु बुझ्न र लागु गर्न सजिलो छन्। त्यसैले हामी पहिले ती अभ्यास गर्छौं र लागु गर्छौं। यी अस्थायी विधिहरु को केही उदाहरणहरु हेरौं।
शरीर भित्र के छ भन्ने सोच
यदि हामी कसैप्रति आसक्त हुन्छौं वा कुनै व्यक्तिप्रति अत्यधि मोह राख्छौं र विशेष गरी उनको शरीरको सुन्दरतालाई बढाइचढाइ गर्छौं, वा यदि हामी आफ्नै शरीरप्रति पनि मोह राख्छौं भने, त्यस अवस्थामा ध्यान गर्ने विषयलाई प्रायः “शरीरको कुरूपता” भनिन्छ। हो, “कुरूप” भन्ने शब्द प्रयोग गर्दा हामी केही हदसम्म विचलित हुन्छौं। त्यो सहज शब्द होइन। त्यसकारण मलाई लाग्छ कि हामी यहाँ “कुरूपता” भन्ने शब्द प्रयोग नगरी पनि चल्छ। कहिलेकाहीँ “फोहोर” भन्ने शब्द पनि प्रयोग गरिन्छ, तर दुवै शब्दमा आजको समाजमा फैलिएको आत्मसम्मानको कमीका कारण नकारात्मक अर्थ समेटिन्छ। त्यसको सट्टा, अब हामी मानवीय शरीरलाई, अरू कसैको होस् वा आफ्नै, केवल यसको वास्तविक स्वरूपको दृष्टिकोणबाट हेर्ने प्रयास गरौं।
यहाँ हामी एउटा प्याकेजको उपमा प्रयोग गर्न सक्छौं। एउटा प्याकेजमा बाहिरबाट बेरिएको हुन्छ, जस्तो कि एउटा उपहार बाहिरी पक्षबाट बेरिएको हुन्छ र त्यसको भित्र सामग्रीहरू हुन्छ। त्यसैगरी, हाम्रो शरीर वा अरू कसैको शरीर पनि बाहिरबाट छालाले बेरिएको हुन्छ, जुन हामी सामान्यतया देख्ने कुरा हो। त्यो छाला सुन्दर प्याकेजिङ जस्तै हो। जसरी उपहार प्याकेज सुन्दर र महँगो कागज र रिबनले बेरिएको हुन्छ, त्यसै गरी शरीर पनि सुन्दर र महँगो लुगा लगाएर अझ आकर्षक देखिन सक्छ। तर लुगा पनि केवल प्याकेजिङ नै हुन्। पसलमा कुनै वस्तुलाई अझ आकर्षक देखाउन उत्पादकहरूले प्याकेजिङ डिजाइनमा धेरै मेहनत गर्छन् र ध्यान तान्ने विज्ञापन थप्छन्। त्यसै गरी, धेरै मानिसहरूले पनि आफ्नो छालाको प्याकेजलाई अझ आकर्षक देखाउन मेकअप, फेन्सी केशरचना वा हेयरस्टाइल, सुगन्ध, वा ध्यान खिच्ने ट्याटु र शरीर छेड्ने सजावटहरू प्रयोग गर्छन्।
तर प्याकेज केवल बाहिरी आवरण वा र्यापर मात्र होइन, त्यसभित्र सामग्रीहरू पनि हुन्छ। शरीरको प्याकेजभित्र हड्डी, मांसपेशी, अंगहरू आदि हुन्छन्। पेटको सामग्री बाहिर आयो भने उनीहरू वान्ता हुन्छ। आन्द्राभित्र दिसा हुन्छ, मूत्राशयभित्र पिसाब हुन्छ, र धमनी र शिराभरि रगत बगिरहेको हुन्छ। यही वास्तविकता हो, यही यो छालाको प्याकेजको भित्रको सत्य हो। यो हामीले अस्वीकार गर्न सक्दैनौं। यदि हामीले पेटको सबै वान्ता, मुखको सबै थुक, नाकको सबै सिगान, आन्द्राको सबै दिसा, मूत्राशयको सबै पिसाब र शिरा धमनीको सबै रगत निकाल्यौं र केवल छाला मात्र बाँकी रह्यो भने, त्यो हाम्रो प्रिय व्यक्ति हुँदैन, हैन र? हाम्रो प्रिय व्यक्तिको वास्तविकता भनेको पूरै प्याकेज हो। हामी केवल कपासले भरिएको छालाको पुतला होइन, जीवित मानिस चाहन्छौं। त्यसैले, हामीलाई मन परोस् या नपराओस्, यही हो त्यो प्याकेजको भित्रको वास्तविकता।
अब यो धेरै रोचक हुन्छ। हामी के कुरा सुन्दर ठान्छौं र के कुरूप ठान्छौं? के कुरा सफा ठान्छौं र के कुरा फोहोर ठान्छौं? कतिपय मानिसहरूलाई छाला सुन्दर लाग्छ तर हड्डी कुरूप लाग्न सक्छ। तर हड्डीमा के कुरूपता छ? त्यो त केवल हड्डी हो। यदि हामी अस्पतालमा कुनै शल्यक्रिया हेर्छौं र शरीरभित्रका सबै कुरा देख्छौं भने, त्यसमा के कुरूप वा घिनलाग्दो छ? त्यो त हाम्रो दृष्टिकोण हो, हैन र? शल्यक्रिया गर्ने चिकित्सकहरूलाई त त्यो कुरूप वा घिनलाग्दो लाग्दैन। त्यो त शरीरभित्रको वास्तविकता हो।
सौन्दर्य जस्ता राम्रो गुणहरूको अतिशयोक्तबाट बाच्नु
मुख्य कुरा राम्रो गुणहरूलाई बढाइचढाइ नगर्नु हो, किनभने ती गुणहरू पनि सापेक्ष र व्यक्तिगत धारणा हुन्। उदाहरणका लागि, मलाई धेरै सुन्दर लाग्ने कोही तपाईलाई बिल्कुल सुन्दर नलाग्न सक्छ। वा मलाई कुरूप लाग्ने कोही तपाईलाई धेरै सुन्दर लाग्न सक्छ। यो पूर्ण रूपमा व्यक्तिगत दृष्टिकोण हो। यदि हामीलाई कसैको छाला र शरीरको आकार आकर्षक लाग्छ भने, ठीक छ, त्यो हाम्रा लागि सुन्दर हो, त्यसमा केही गलत छैन। समस्या त्यतिबेला हुन्छ जब हामी त्यसलाई बढाइचढाइ गर्छौं। कसैलाई हेर्दा आनन्द महसुस हुनु स्वाभाविक हो। हामीलाई उनीहरूको रूप मन पर्छ, उनीहरूलाई हेर्दा खुशी लाग्छ। तर जब त्यो आकर्षण अत्यधिक हुन्छ र हामी सोच्न थाल्छौं, “म सधैं उनीहरूको शरीर छोइरहनुपर्छ, देख्नेबित्तिकै अँगालो हाल्नुपर्छ, सधैं छेउमै हुनुपर्छ,” त्यो समस्य हो। यदि कसैले उनीहरूलाई आसक्तिको दृष्टिले हेर्छ भने, हामी रिसाउँछौं, “यो व्यक्ति र उनको शरीर मेरो हो।” सडकमा हामी धेरै सुन्दर मानिसहरू देख्छौं, तर समस्या तब मात्र हुन्छ जब हामी बाध्यतापूर्वक सोच्न थाल्छौं, “काश, म यो व्यक्तिलाई छुन्थेँ वा उनीसँग यस्तो वा उस्तो गर्न पाउँथेँ।” यस्ता विचारहरूले हाम्रो मनलाई अस्थिर र पीडित बनाउँछन्।
यदि हामीले साँच्चै बाहिरी प्याकेजिङको अत्यधिक बढाइचढाइ गर्न थाल्यौं, अर्थात् मानिस कस्तो देखिन्छ भने कुरा, त्यस बेला एक्स–रे दृष्टि जस्तो सोच विकसित गरेर उस व्यक्तिको हड्डीको कल्पना गर्नु उपयोगी हुन्छ। यस्तो गर्नु कठिन छैन, विशेष गरी यदि हामीलाई हड्डी कस्तो देखिन्छ भनेर थाहा छ भने। यो कुनै शरीर–विज्ञानको पाठ होइन, यसलाई पूर्ण हुनुपर्दैन। तर हामी अनुहार र टाउकोको छालामुनि रहेको खोपडी कल्पना गर्न सक्छौं। यसले हामीलाई शान्त पार्न मद्दत गर्छ, वा यदि हामी कसैको पेटमा हात राख्दै सोच्छौं “कति रमाइलो छ”, भने थोरै होसियार भएर सोच्नुपर्छ, यदि हामी छालामुनि तीन वा चार सेन्टिमिटर गहिराइमा गएका भए के छुन्थ्यौं? यसको अर्थ हामीलाई घृणा लाग्छ भन्ने होइन। यसको अर्थ, हामीले कसैको शरीर छुनेबाट प्राप्त आनन्दलाई ठूलो कुरा बनाउँदैनौं। यस्ता तरिका अपनाउँदा हाम्रो भावनात्मक सन्तुलन बढ्छ।
पहिलेका यी विधिहरू अस्थायी मात्र हुन्। यीले तृष्णा वा आसक्ति हटाउँदैनन्। तर अस्थायी रूपमा, यीले विशेष परिस्थितिमा उत्पन्न हुने विचलित भावनाहरूलाई कम गर्छन्। ती भावनाहरूबाट पूर्ण रूपमा मुक्त हुनका लागि हामीले वास्तवमै बुझ्नुपर्छ कि व्यक्ति वास्तवमा कसरी अवस्थित छ, र त्यसलाईकुनै स्थायी “वस्तु” जस्तो ठान्न हुँदैन। तर यो धेरै कठिन र उन्नत अभ्यास हो। त्यसैले पहिले हामी यी अस्थायी विधिहरू प्रयोग गर्छौं। यस्तो गर्नका लागि सुन्ने, सोच्ने र ध्यान गर्ने तीन चरणको अभ्यास आवश्यक हुन्छ।
विधिलाई सुन्ने र त्यसबारे सोच्ने
पहिले हामीले विधि के हो भन्ने कुरा सुन्नु आवश्यक हुन्छ। यदि हामी कसैको शरीर र बाहिरी रूपप्रति धेरै आसक्त छौं भने, त्यसको उपाय हो छालाको मुनि के छ, जस्तै हड्डी र पेटभित्र के छ भन्ने कुराहरूमा सचेत रहनु हो। यो विधिबारे सुनेपछि, हामीले यसबारे सोच्नुपर्छ ताकि हामी बुझ्न र विश्वस्त हुन सकौं कि यदि हामी बाहिरी प्याकेजिङ वा आवरण मात्र होइन, प्याकेजिङभित्र के छ भन्ने कुरा पनि सचेत भएर हेर्ने हो भने, हामी त्यति धेरै तृष्णा र आसक्तिले विचलित हुने छैनौं। त्यस व्यक्तिसँग पनि हाम्रो समस्या कम हुनेछ र हाम्रो भावनात्मक बनोट पनि स्थिर हुनेछ।
चार सिद्धान्तहरूको प्रयोग गर्ने
हामीले सुनेका यी विषयहरूबारे सोच्नका लागि, तिनीहरूलाई “चार सिद्धान्त” भनिने दृष्टिकोणबाट परीक्षण गर्नुपर्छ। यी चार सिद्धान्तहरू कुनै कुरामा विश्वस्त हुनका लागि प्रयोग गरिने चार तरिका हुन्।
तर्कद्वारा स्थापना गर्ने सिद्धान्त
पहिलो सिद्धान्त अनुसार, हामी शिक्षालाई तर्कसंगत र युक्तिसंगत छ कि छैन भनेर जाँच्छौं। यस अवस्थामा, मानिस केवल छालामात्र होइनन् भन्ने कुरा स्पष्ट छ। त्यसलाई प्रमाणित गर्न खासै आवश्यक छैन। तर यदि यो विषयलाई तर्कका माध्यमबाट जाँच्न चाह्यौं भने, भित्री हड्डी बिना छालाको खाली बोरा उभिन सक्दैन। यदि हामी खान्छौं भने, पेट र आन्द्राभित्र केही हुनुपर्छ। त्यसैले यो पूर्ण रूपमा तर्कसंगत हुन्छ कि मानिसको शरीर केवल छाला होइन, किनकि छालाभित्र केही हुनैपर्छ।
कार्यक्षमताको सिद्धान्त
पछि, हामी कुनै विशेष शिक्षाले आफ्नो इच्छित परिणाम उत्पन्न गर्न कसरी काम गर्छ भन्ने कुरा परीक्षण गर्छौं। उदाहरणका लागि, यदि हामी कुनै व्यक्तिको शरीरको बाहिरी र भित्री दुवै पक्षप्रति समान रूपमा सचेत रह्यौं भने, त्यो बुझाइले हामीलाई एक पक्षलाई बढाइचढाइ नगरी अर्को पक्षलाई बेवास्ता नगर्न प्रेरित गर्छ।
हामी यसरी पनि विश्लेषण गर्न सक्छौं, यदि कोही व्यक्ति निकै सुन्दर र आकर्षक छन् भने, हामी किन उनीहरूको छाला मात्र सुन्दर पाउँछौं? किन हामी उनीहरूको पेटभित्रको वान्ता पनि सुन्दर पाउँदैनौं? स्पष्ट छ, हामी पाउँदैनौं। त्यसैले जब हामी शरीरका दुई पक्षहरू, बाहिरी र भित्री, दुवैको बारेमा सचेत हुन्छौं, त्यसले हामीलाई बाहिरी सुन्दरता हेर्न रोक्नुपर्ने वा त्यसको आनन्द नष्ट गर्नुपर्ने होइन। यसले हाम्रो आनन्दलाई सन्तुलनमा राख्छ। ठीक छ, यो व्यक्तिको शरीर बाहिरबाट सुन्दर हुन सक्छ, तर भित्र पनि त्यस्तै कुरा हुन्छ, र सबै मानिसहरूका शरीर यस्तै हुन्छन्।
यो धेरै रोचक छ जब हामी यी बुँदाहरूसँग काम गर्छौं, तिनीहरूको बारेमा सोच्छौं र अझ बढी विश्वस्त हुन्छौं, किनभने प्रायः के हुन्छ भने कुरामा हामी साँच्चै तिनीहरूलाई विश्वास गर्न चाहँदैनौं। कुनै व्यक्तिको पेट र आन्द्राभित्र के छ भन्ने कुरा सोच्दा भावनात्मक प्रतिरोध उत्पन्न हुन्छ। यो हेर्न धेरै रोचक हुन्छ। तर कुरा यो हो कि यही यथार्थ हो, यही सत्य हो। तिब्बतीहरूलाई अत्यन्त स्पष्ट र ठोस चित्रहरू मन पर्छ। उनीहरू भन्छन्, यदि तिमीले ठूला थुप्रो फोहोरबाट एउटा नाङ्गो शरीरको सुन्दर मुर्ति बनाएर त्यसलाई छालाको रंगले रंग्यौ भने, त्यो कति नै सुन्दर किन नदेखियोस्, अन्ततः त्यो फोहोरको टुक्रा नै हुनेछ।
यस बुझाइको कार्यक्षमता यस्तो हो कि यदि म कसैको शरीरको बाहिर र भित्र दुवै कुरा बुझ्छु भने, त्यसले त्यो शरीरप्रति तृष्णा र आसक्ति उत्पन्न हुन नदिन हो। किनभने म कुनै एक पक्षलाई अस्वीकार गर्दै वा अर्को पक्षलाई बढाइरहेको होइन। त्यसैले यस्तो बुझाइ मोहसँग मिल्दैन। यो बुझाइसँग मिल्ने कुरा हो, दीर्घकालीन स्थिर सम्बन्धसँग, जसमा ईमानदार माया र शरीर उमेरसँगै परिवर्तन हुँदै जाँदा धैर्यता हुन्छ। यदि हामी अहिलेको सुन्दरतालाई बढाउँछौं भने, जब उनीहरू बुढा हुन्छन् वा बिरामी भएर त्यो सुन्दरता हराउँछ, हामी अरू कसैको प्रति आकर्षण हुन थाल्न सक्छौं। तर यदि हामी बुझ्छौं र स्वीकार गर्छौं कि बाहिरी र भित्री दुवै कुरा परिवर्तन हुन्छन्, भने त्यस्तो दृष्टिकोणले स्थिर र माया पूर्ण सम्बन्ध कायम राख्न सहयोग गर्छ।
वस्तुहरूको प्रकृतिको सिद्धान्त
बाहिरबाट मानिसहरू सुन्दर र साफ देखिन्छन्, तर भित्र हड्डीहरू, मल र बान्ता हुन्छन्। यो नै वस्तुहरूको प्रकृति हो। हामी जीवित प्राणी हौं र शरीर त्यही कुराबाट बनेको हुन्छ। हामीसँग यो वास्तविकता स्वीकार गर्नुबाहेक अर्को विकल्प छैन। शरीर यसरी नै काम गर्छ।
निर्भरताको सिद्धान्त
अन्तमा हामी विश्लेषण गर्छौं यो मानसिक अवस्था र यो समझ विकास हुनका लागि के-केमा निर्भर गर्छ। सबैभन्दा महत्वपूर्ण कुरा, आत्मसंयम चाहिन्छ। जब हामी कसैलाई देख्छौं, त्यसतत्काल उत्पन्न हुने शरीर छोइहाल्ने आवेगलाई नियन्त्रण गर्नुपर्छ। केही क्षण पछाडि हटेर गहिरो विश्लेषण र आत्मनिरीक्षण गर्न आत्म-संयम चाहिन्छ। यही संयमले हामीलाई कुरा अझ स्पष्ट र गहिरो रूपमा बुझ्न सक्षम बनाउँछ।
थप रूपमा, हामीसँग यो गर्ने इच्छाशक्ति र खुलापन हुनुपर्छ र डराउन हुँदैन कि हामी व्यक्तिप्रति यति विकर्षित हुने छौं कि सामना गर्न सक्दैनौं। विधि सही रूपमा लागू गर्नु यी सबै पक्षमा निर्भर गर्छ। यदि हामीले यो पहिले नै बुझ्यौं भने, तयारी गर्न के चाहिन्छ भन्ने थाहा हुन्छ।
ध्यान
जब हामीले सोच विचारको यो प्रक्रिया पूरा गर्छौं, जसको अर्थ शिक्षालाई बुझ्ने र यसलाई विकास गर्नु उपयोगी छ भन्नेमा विश्वस्त हुने हो, अनि हामी त्यसमा ध्यान गर्छौं। ध्यान भनेको हामीले बुझेका र विश्वस्त भएका शिक्षालाई आफ्नै जीवनमा समावेश गर्ने विधि हो। यसलाई हामी बारम्बार त्यस शिक्षाअनुसार सोच्ने र कार्य गर्ने अभ्यास गरेर लाभदायी बानीको रूपमा विकास गर्छौं।
यो दुई तहको प्रक्रिया हो। पहिलो चरणमा हामी विवेचनात्मक ध्यान गर्छौं, जसलाई कहिलेकाहीँ “विश्लेषणात्मक ध्यान” पनि भनिन्छ। यो नियन्त्रणित अवस्थामै गरिन्छ, अर्थात् हामी आफैं बसेर गर्छौं, हाम्रो अगाडीको व्यक्तिसँग होइन, यसमा हामी त्यस्तो व्यक्तिलाई ध्यानमा राख्छौं जसप्रति हामीलाई आसक्ति वा तृष्णा छ, जस्तै तिनीहरूको रूप वा देखावटप्रति आकर्षण हुन्छौं। हामी त्यस व्यक्तिको तस्बिर प्रयोग गर्छौं वा उनको बारेमा मात्र सोच्चेर, अनि अनुसन्धान गर्छौं, “हो, उनीहरूसँग अस्थिपञ्जर छन्। हो, उनीहरूको पेटमा पनि केही कुरा छन्।” हामी उनीहरूको शरीरलाई पारदर्शी रूपमा कल्पना गर्छौं र अस्थिपञ्जर, पेटको सामग्री र छालाभित्रका कुराहरूलाई सोचेर, उनीहरूको शरीरको वास्तविक स्वरूप बुझ्ने प्रयास गर्छौं। यसरी हामी आफैंमा यो दृष्टिकोण सत्य हो भन्ने छाप बसाल्छौं। यो एक्स-रे दृष्टि जस्तै हो, तर व्यक्तिको बाहिरी रूपलाई नबिर्सिकन, जुन वास्तवमा सुन्दर हुन सक्छ। तिनीहरूको शरीरको भित्री भाग हेर्नाले बाहिरी रूपमा तिनीहरूको परम्परागत सुन्दरतालाई अमान्य गर्दैन।
यो विवेचनात्मक ध्यानको एक अवधिपछि, जसको क्रममा हाम्रो मानसिक ऊर्जा एक अर्थमा हाम्रो ध्यानको वस्तु, अर्थात् व्यक्तिको शरीरतर्फ गइरहेको हुन्छ, हामी स्थिरीकरण ध्यानतर्फ फर्किन्छौं। दोस्रो चरणमा हाम्रो मानसिक ऊर्जा भित्री दिशामा मोडिन्छ, र हामीले सक्रिय रूपमा विवेचना गरेका कुराहरूलाई गहिरो रूपमा महसुस गर्न प्रयास गर्छौं। हामी साँच्चै महसुस गर्न खोज्छौं, “हो, यही वास्तविकता हो, यही यो व्यक्तिको शरीरको सत्य हो, बाहिरदेखि भित्रसम्म। हो, यो सत्य हो।” र यदि हामीले व्यक्तिलाई केवल उनको शरीरसँगै पहिचान गर्दै आएका छौं भने, हामी आफूलाई सम्झाउँछौं कि त्यो व्यक्ति सँग मन, भावना र अन्य पक्षहरू पनि छन्। तर त्यो अर्को ध्यानको विषय हो।
दैनिक जीवनमा विधि प्रयोग गर्ने
जब हामीले तृष्णा र आसक्तीसँग व्यवहार गर्ने यो तरिकामा केही परिचय बनाइसकेका हुन्छौं र यो बानीको रूपमा स्थापित हुन थाल्छ, तब हामी यी विधिहरूलाई वास्तविक जीवनका परिस्थितिहरूमा प्रयोग गर्न थाल्छौं। हामी तिनीहरूलाई आवश्यक पर्दा प्रयोग गर्छौं, अर्थात् जब हामीलाई कसैप्रति प्रबल आसक्ति वा स्पर्श गर्ने तीव्र इच्छा उत्पन्न हुन्छ। हाम्रो मनसाय जाँच गर्दा, उदाहरणका लागि, हामी महसुस गर्छौं कि हामी व्यक्तिलाई स्पर्श गर्न चाहन्छौं भने त्यो उनीहरूलाई सान्त्वना दिन वा मालिस गर्नका लागि मात्र होइन, बरु हाम्रो आसक्ति र चिप्किएको भावना हो। त्यस समयमा, हामी ध्यानमा अभ्यास गरेको सोही विवेचनात्मक तरिका प्रयोग गर्छौं। हामी विवेचना गर्छौं कि तिनीहरूको शरीरमा हड्डी हुन्छ र तिनीहरूको पेटमा वान्ता हुन्छ, र हामी यो वास्तविकता हो भनेर महसुस गर्न प्रयास गर्छौं।
फलस्वरूप, हामीले परिस्थितिमा के उचित र के अनुचित हो भन्ने स्पष्ट रूपमा देख्न सक्ने मानसिक स्पष्टता अनुभव गर्छौं। यद्यपि, अन्ततः हामी यहाँ अस्थायी र प्रारम्भिक विधिसँग मात्र काम गर्दैछौं। त्यसैले, यदि अझै पनि हामीलाई कसैलाई छोइदिन मन लाग्छ, उनको हात समाउन वा केही गर्न मन लाग्छ भने पनि, हामी बुझ्छौं कि त्यो हामी आफैंलाई राम्रो महसुस गराउनका लागि हो। त्यो व्यक्तिलाई आफ्नै पक्षबाट त्यसको आवश्यकता हुन्दैन। तर, त्यस समयमा यो ध्यान प्रयोग गर्दा, हामीले गरिरहेको कुरालाई बढाइचढाइ गर्नेछैनौं। यसले हामीलाई यो पनि जाँच्न अनुमति दिन्छ कि यो कार्यले अर्को व्यक्तिलाई सहज महसुस गराउँछ कि छैन, र उनीहरूलाई यो ठीक लाग्छ कि लाग्दैन, र यदि ठीक लाग्दैन भने, हामी आफूलाई नियन्त्रणमा राखी तिनीहरूलाई नछोई बस्न सक्षम हुन्छौं।
अन्ततः, हामी सन्तुलित र विचारशील तरिकाले व्यवहार गर्नु स्वाभाविक र सहज हुन्छ। हामी बढाइचढाइ गर्दैनौं, असक्ति हुन्दैनौं, इत्यादि। त्यसैले, यदि अर्को व्यक्तिमा हाम्रो प्रति संवेदनशीलता छ भने, उनीहरूले यो महसुस गर्छन्। यदि हामी सधैं उनीहरूको हात समाउँदै हिँड्छौं भने, त्यो प्रायः हाम्रो आफ्नै असुरक्षा र एक्लोपनको कारण हो, र हामी सोच्छौं हात समाउँदा हाम्रो समस्या समाधान हुन्छ। त्यसपछि हाम्रो वरिपरि यो विचलित गर्ने कम्पन र यो असक्ति हुन्छ, जसले अर्को व्यक्तिलाई असहज बनाउँछ। यदि उनीहरू संवेदनशील छन् भने, उनीहरूले त्यो महसुस गर्छन्। तर यदि हामी शारीरिक सम्पर्कको आनन्दलाई बढाइचढाइ गर्दैनौं भने, हामी अनुभव गर्छौं, “ठिक छ, यो कसैको हात समाउनु हो। राम्रो स्पर्श हो। म जान्दछु हातभित्र हड्डी आदि छन्।” त्यसैले यो “वा! कस्तो अद्भुत कुरा!” जस्तो हुँदैन। बरु, हामी बुझ्छौं, “यो राम्रो छ र थोरै सहज महसुस हुन्छ, तर यसले मेरो सबै समस्या समाधान गर्दैन।” तब हामी सहज हुन्छौं। त्यो स्वाभाविक र प्राकृतिक हुन्छ। अर्को व्यक्तिलाई पनि यो कृत्रिम लाग्दैन र उनीहरू पनि सहज महसुस गर्छन्। यही हाम्रो लक्ष्य हो। हाम्रो लक्ष्य “कसैलाई नछुनु, सबै फोहोरमैलाको झोल मात्र हुन्” भन्ने होइन। यहाँ हाम्रो लक्ष्य सन्तुलन हो, ताकि हामी साँच्चै अरूको हितमा काम गर्न सकौं।
जब हामी यस्ता विधिहरूबारे महान बौद्ध ग्रन्थहरूमा, जस्तै शान्तिदेवको बोधिसत्वचर्यावतार मा पढ्छौं, हामीले शान्तिदेवले यो विषय कुन सन्दर्भमा चर्चा गरेका छन् भनेर बुझ्न र मूल्याङ्कन गर्न आवश्यकता हुन्छ। उदाहरणका लागि, यस विषयमा छलफल गर्दै, यो मानसिक स्थिरता र एकाग्रता प्राप्त गर्ने सन्दर्भमा हो। ध्यान गर्दा सबैभन्दा ठूलो विचलितमध्ये एक भनेको त्यो व्यक्तिको बारेमा निरन्तर सोचिरहँदै हुनु हो जसप्रति हामीलाई मोह र आसक्ति हुन्छ। त्यो अत्यन्त ठूलो विचलित हो। त्यसैले, मनको स्थिरता र एकाग्रता प्राप्त गर्न, विशेषगरी कुनै पनि ध्यान अभ्यासमा, हामीले यो विधि लागू गर्नुपर्छ, चाहे हामी त्यो आकर्षण भएको व्यक्तिसँग नभए त पनि, यही सन्दर्भमा यी विधिहरू ग्रन्थमा व्याख्या गरिएको छ।
तर यी विधिहरूको प्रयोग केवल ध्यान गरेर एकाग्रता हासिल गर्न खोज्ने अवस्थामा मात्र सीमित छैन। यी विधिहरूको प्रयोग हाम्रो सामान्य पारस्परिक सम्बन्धहरूमा पनि धेरै महत्वपूर्ण हुन्छ। त्यसैले जब हामी ग्रन्थहरूमा मोह र आसक्तिसँग सम्बन्धित यी विधिहरूको बारेमा पढ्छौं, हामीले तिनीहरूलाई केवल ध्यानमा उत्पन्न हुने विचलनको प्रतिकारका रूपमा मात्र होइन, अझ व्यापक सन्दर्भमा प्रयोग गर्न सकिने उपायका रूपमा पनि विचार गर्नुपर्छ।
ग्रन्थहरूमा क्रोध, डाह आदि अन्य विचलित गर्ने भावनाहरूलाई नियन्त्रण गर्ने विभिन्न विधिहरूको विस्तृत विश्लेषण र व्याख्याहरू पनि छन्, तर हामीसँग यहाँ तिनीहरूमा जाने समय छैन। तर कसरी हामी कुनै व्यक्तिको रूपको आधारमा उत्पन्न हुने आसक्ति र मोहसँग व्यवहार गर्छौं भन्ने यो उदाहरणले प्रयोग हुने विधिको राम्रो बुझाइ दिन्छ।
असुरक्षताको सामना गर्ने
यदि हामी गहिरिएर हेर्यौं भने पत्ता लाग्छ कि कुनै व्यक्तिप्रतिको हाम्रो आसक्ति र मोहको मूलमा असुरक्षा हुन्छ। सुरक्षाको चाहनामा हामी यो व्यक्तिसँगको सम्बन्धमा त्यसलाई खोज्ने आशा गर्छौं। असुरक्षा गहिरो विकारपूर्ण भावनामध्ये एक हो, जसलाई डर, एक्लोपन आदि कुराले बढाउँछन्। त्यसबाट कसरी मुक्त हुने?
यसका लागि हामीले सबैभन्दा गहिरो सत्य, "म" को बारेमा सबैभन्दा गहिरो वास्तविकता बुझ्न आवश्यक छ। अर्थात्, त्यहाँ कुनै ठोस "म" छैन, प्लास्टिकमा बेरिएको, सबै कुरा र सबैबाट अलग, जुन सुरक्षित बनाउन सकिन्छ। त्यस्तो कुनै कुरा छैन जसलाई स्थायी रूपमा सुरक्षित राख्न सकियोस्। हामी यस्तो वस्तुलाई सुरक्षित बनाउन खोज्दैछौं जुन हाम्रो वास्तविक अस्तित्वको अतिशयोक्त रूप हो। वास्तविकता यो हो कि हामी निरन्तर परिवर्तन भइरहेका छौं। हाम्रो मानसिक अवस्था निरन्तर परिवर्तन भइरहेको छ, हाम्रो शरीर निरन्तर परिवर्तन भइरहेको छ, हाम्रो भावनाहरू निरन्तर परिवर्तन भइरहेका छन्। भावनात्मक रूपमा, यी सबै "म" भनेर चिनिन्छ, तर त्यहाँ कुनै ठोस "म" छैन जुन त्यहाँ छ, यी सबैबाट अलग अस्तित्वमा छ, र जसलाई सुरक्षित बनाउन आवश्यक छ। यो सबै निरन्तर परिवर्तन भइरहेको हुन्छ।
यदि “म” भनेर परम्परागत रूपमा चिनिने सबै कुरा निरन्तर परिवर्तन भइरहेका छन् भने, हामीले गर्नसक्ने कुरा भनेको स्पष्ट र सुरक्षित दिशामा अघि बढ्नु हो, जसलाई “शरण” भनिन्छ। त्यो सुरक्षित दिशा भनेको यथार्थपरक रूपमा सकारात्मक दृष्टिकोण विकास गर्ने, आफूलाई सुधार्ने आदि हो। सुरक्षित बनाउनुपर्ने केही छैन, बचाउनुपर्ने केही छैन। केही पनि त्यस्तो छैन जुन सबै कुराबाट अलग भएर स्वतन्त्र रूपमा अस्तित्वमा रहन्छ। यदि हामी यो कुरा गहिरो रूपमा बुझ्छौं र त्यसमा दृढ हुन्छौं भने असुरक्षा र एक्लोपनका समस्या बिस्तारै हराउँछन्। त्यस अर्थमा डराउनु पर्ने केही हुँदैन। तर स्थायी, ठोस “म” भन्ने अवधारणालाई हटाउँदै गर्दा नास्तिक दृष्टिकोणमा नपर्नु जरुरी छ, जसले हामी छैनौं, त्यसैले हामीलाई कर्मको जिम्मेवारी पनि छैन भन्ने सोच उत्पन्न गर्छ। हामीलाई कर्मको परिणाम पक्का थाहा नहुन सक्छ, तर पनि हामी कार्य गर्छौं र उत्तम प्रयास गर्छौं।
अब, यो निस्सन्देह मुख्य रूपमा भावनात्मक असुरक्षासँग सम्बन्धित कुरा हो, तर असुरक्षाका अन्य पक्षहरू पनि छन्, जस्तै आर्थिक असुरक्षा आदि। यस्ता क्षेत्रमा पनि हामीले “म” र मेरो जिम्मेवारीबारे सापेक्ष सत्य बुझ्नुपर्छ। निश्चित रूपमा हामीले आर्थिक पक्ष वा अन्य आवश्यक पक्षहरूको हेरचाह गर्न प्रयास गर्नुपर्छ जसले हामीलाई परम्परागत अर्थमा केही स्थिरता दिन्छ। तर त्यस क्रममा, भावनात्मक क्षेत्रमा जस्तै, हामीले अवस्थाको वास्तविकतालाई बढाचढाएर हेर्नु हुँदैन। हाम्रो आर्थिक अवस्थाको वास्तविकता यो हो कि यो पूर्ण रूपमा हाम्रो नियन्त्रणमा हुन्दैन। विश्वको आर्थिक अवस्था, सामाजिक प्रणाली आदि सबैले हाम्रो आर्थिक स्थिरतालाई प्रभाव पार्छ। उदाहरणका लागि, यदि साम्यवाद पतन हुन्छ र नयाँ शासन प्रणाली आउँछ भने, अवस्था परिवर्तन हुन्छ। त्यसैले स्थिरता र सुरक्षाको एकमात्र आधार भनेको सुरक्षित दिशा लिनु र जसै परिस्थिति आए पनि सामना गर्न सक्ने उपकरणहरू क्रमशः विकास गर्नु हो। जीवन पूर्ण रूपमा स्थिर र अपरिवर्तनीय भएको भए मात्र पूर्ण सुरक्षा सम्भव हुन्थ्यो, किनकि तब हामीलाई थाहा हुन्थ्यो के हुने हो। तर त्यो असम्भव हो।
साथै, हामीलाई सन्तुष्टि पनि चाहिन्छ र कहिले पर्याप्त हुन्छ भनेर जान्नुपर्छ। म त्यस्ता मानिसहरूलाई चिन्छु जससँग एक मिलियन डलर छ, तर तिनीहरूले आफू असुरक्षित ठान्छन्, किनभने तिनीहरू भन्छन्, “मसँग दस मिलियन डलर भए मात्र म सुरक्षित महसुस गर्थें।” त्यस्तो नहुन प्रयास गर्नुहोस्। त्यो अत्यन्त दुःखी मानसिक अवस्था हो।
के अनभिज्ञताबाट छुटकारा पाउने प्रयास गर्नु निराशाजनक छ?
तपाईं आपत्ति जनाउन र भन्न सक्नुहुन्छ कि "हामी सीमित छौं। हामी बुद्ध होइनौं, त्यसैले हामी हाम्रो कार्यहरूको सबै परिणामहरू देख्न र जान्न सक्दैनौं र हामी आफू वा अरूको वास्तविकता देख्न सक्दैनौं। त्यसो भए के हामी पीडा भोग्न र दुखी हुन पर्छ? के हामी कहिल्यै आफ्नो अनभिज्ञता र भ्रमबाट छुटकारा पाउन सक्छौं?"
होइन, हामी निश्चित रूपमा अभागी छैनौं, किनभने अनभिज्ञताबाट मुक्त हुनु सम्भव छ। यो सजिलो होइन र लामो प्रक्रिया हो, तर मनसँग कुरा बुझ्ने क्षमता छ र सबै कुरा सँगै राख्ने क्षमता पनि छ। त्यसैले हामी के गर्छौं भने हाम्रो बुझाइ विस्तार गर्ने प्रयास गर्छौं। हामी निरन्तर बुझाइ बढाउँछौं र बढीभन्दा बढी दृष्टि विकास गर्छौं, ताकि हाम्रो व्यवहारको परिणाम के हुने हो भन्ने पूर्ण जानकारी नहुनुका बावजुद पनि, हामी धेरै कुरा बुझ्न सक्छौं। यस आधारमा, सम्भावना र अनुभवको आधारमा कुनै पनि परिस्थितिसँग कसरी राम्रो व्यवहार गर्ने भन्ने शिक्षित अनुमान गर्न सक्छौं र आफूलाई सुधार्ने कार्य निरन्तर जारी राख्छौं।
अरूसँग व्यवहार गर्ने क्षमता सुधार्न हामी सकेसम्म धेरै जानकारी संकलन गर्ने प्रयास गर्छौं, त्यो व्यक्ति र परिस्थितिबारेमा। हामी सामान्यतया के हुन्छ भन्ने ढाँचा बुझ्न खोज्छौं: यो व्यक्ति कसरी प्रतिक्रिया गर्छ, आदि। साथै, परिस्थितिको र व्यक्तिको व्यक्तिगत विशेषताहरू पनि ध्यानमा राख्छौं। यस आधारमा, हामीलाई कम्तिमा के प्रयास गर्ने भन्ने थाहा हुन्छ कि कसरी यस व्यक्तिसँग सम्बन्ध राख्ने र के गर्ने।
हामी सबैसँग यी सबै क्षमताहरू छन्, किनभने दिमाग यस्तै काम गर्छ। स्वाभाविक रूपमा हामी वरिपरिका सबै इन्द्रिय जानकारीहरू ग्रहण गर्छौं। हामी सबैमा ध्यान नदिन सक्छौं, हामीलाई चासो नहुन सक्छ, तर ती सबै इन्द्रिय जानकारी त्यहाँ हुन्छन्; ती भित्र आइरहेका हुन्छन्। र हामीले ढाँचाहरू देख्न सक्ने क्षमता पूर्ण रूपमा राख्छौं। उदाहरणका लागि, हामी देख्न सक्छौं कि यी तीन व्यक्ति सबै महिला हुन्, र त्यसैले हामीले कुरा कसरी मेल खान्छ भन्ने ढाँचा देख्न सक्छौं। हामी जानकारीलाई ढाँचामा राखेर त्यसबाट अर्थ निकाल्न सक्छौं। हामीले बुझ्न सक्छौं कि मेरो दायाँ हात मेरो बायाँ हात होइन, र यसरी हामी वस्तुहरूको व्यक्तिगत पहिचानमा सचेत हुन्छौं। हामीसँग फरक कुरा फरक तरिकाले बुझ्ने क्षमता पनि छ। हामी बच्चासँग कसरी कुरा गर्ने र वयस्कसँग कसरी कुरा गर्ने थाहा हुन्छ, र हामी दुवैसँग बिल्कुलै उस्तै तरिकाले कुरा गर्दैनौं। यदि हामी साँच्चिकै असंवेदनशील छैनौं भने, हामीसँग त्यो लचकता छ। त्यसैले, सबै आधारभूत सामग्रीहरू त्यहाँ नै छन्।
हाम्रो दिमागले काम गर्ने यी विभिन्न तरिकाहरू, वास्तवमा, "बुद्ध-स्वभाव" भनेर चिनिने केही विशेषताहरू हुन्। हामी सबैमा यी बुद्ध-स्वभावका गुणहरू छन् जसले हामीलाई ज्ञान प्राप्त बुद्ध बन्न सक्षम बनाउँछ। यो केवल तिनीहरूलाई चिन्ने र प्रशिक्षण दिने कुरा हो।
सारांश
सङ्क्षेपमा भन्नुपर्दा, विचलित गर्ने भावनाहरूसँग सामना गर्ने तरिका यसरी हो कि हामी सीपयुक्त विधिहरू प्रयोग गर्न प्रशिक्षण गरेर गर्छौं। हरेक प्रकारका विचलित गर्ने भावनाहरूसँग सामना गर्न धेरै विधिहरू छन्, र ती सिक्न, अभ्यास गर्न र प्रयोग गर्न सक्षम हुनु धेरै लाभदायक हुन्छ। किनभने केही परिस्थितिमा एउटा विधि प्रभावकारी नहुन सक्छ वा हामी त्यसलाई राम्रोसँग लागू गर्न नसक्ने हुन सक्छौं। तर, यदि हामीसँग अन्य विकल्प विधिहरू छन् भने, ती त्यस्तो विशेष परिस्थितिमा बढी प्रभावकारी हुन सक्छन्। कहिलेकाहीँ रोग लागेजस्तै, हामीले औषधिहरूको संयोजन प्रयोग गर्नु पर्छ। त्यसैगरी, विशेष रूपमा बलियो विचलित गर्ने भावनाहरूसँग सामना गर्न विभिन्न विधिहरूको संयोजन प्रयोग गर्नुपर्ने हुन सक्छ। त्यसकारण, जतिन्जेल हामी धेरै कुरा सिक्छौं र प्रशिक्षण गर्छौं, उति नै हामी चुनौतीपूर्ण र समस्या पूर्ण परिस्थितिहरूसँग सामना गर्न र तिनीहरूबाट बच्न सक्षम हुन्छौं।
यसका लागि, शान्तिदेवको ग्रन्थ बोधिसत्वचर्यावतार पढ्न र अध्ययन गर्न अत्यन्तै उपयोगी हुन्छ, किनभने उनको सम्पूर्ण प्रस्तुति परीक्षण तिर केन्द्रित छ: “मैले किन यी विचलित गर्ने भावनाहरूले मलाई नियन्त्रण गर्न दिइरहेको छु? म किन तिनीहरूका लागि मेरो मनमा सहज महसुस गराइरहेको छु? यिनै वास्तविक शत्रु हुन् र तिनीहरूको कुनै शक्ति छैन। जब म तिनीहरूलाई हटाउँछु, मनबाट निकाल्छु, तिनीहरू कहाँ जान्छन्? तिनीहरू सामान्य शत्रु जस्तै बाहिर कतै उभिएर फेरि मलाई आक्रमण गर्न सक्दैनन्। तिनीहरूमा केही ठोस छैन।” यसरी सोच्नु र यो सत्य हो भन्ने विश्वस्त हुनु धेरै सहयोगी हुन्छ। यसले हामीलाई यी विचलित गर्ने भावनाहरूबाट मुक्त हुन काम गर्न स्थिर आधार प्रदान गर्छ। तिनीहरूको नियन्त्रणमा नआउँदा हामीलाई आफ्नो जीवनको गुणस्तरको लागि राम्रो जिम्मेवारी लिन सक्षम बनाउँछ।