परिस्थितिको वास्तविकता राम्रोसँग बुझ्नु आवश्यक
आन्तरिक शान्ति मानसिक शान्तिसँग सम्बन्धित हुन्छ। शारीरिक अनुभवले मानसिक शान्तिमा प्रभाव पार्नै पर्छ भन्ने जरुरी छैन। हाम्रो मन शान्त छ भने शारीरिक अवस्थाले धेरै फरक पार्दैन।
के हामी प्रार्थनाद्वारा आन्तरिक शान्तिको विकास गर्न सक्छौं त? अलि सक्दैनौं। शारीरिक अभ्यासद्वारा? सक्दैनौं। केवल ज्ञान प्राप्तिद्वारा? सक्दैनौं। आफ्ना भावनाहरूलाई मारेर? त्यो पनि होइन। कुनै पनि कठिन परिस्थितिमा आफूले चाल्ने कदमका कारण हुने लाभ वा हानि र यसका परिणामहरूप्रति पूर्ण सचेत भई काम गर्छौं भने हाम्रो मन विचलित हुँदैन। त्यही नै आन्तरिक शान्तिको अवस्था हो।
यस हिसाबले करुणा र व्यावहारिक दृष्टिकोणको महत्व ठूलो छ।कुनैबेला अवाञ्छित कुरा घटित हुँदा व्यावहारिक दृष्टिकोण नभएकै कारण हाम्रो मनमा अत्यधिक भय उत्पन्न हुन सक्छ। त्यतिबेला हामीले सबै परिदृष्यलाई राम्रोसँग केलाएका हुँदैनौं। जसकारण हामीमा पर्याप्त जागरुकता र बुझाईको कमी हुन्छ। उचित जाँचबुझ नगरेका कारण हामीमा भय उत्पन्न हुन्छ। स्थितिलाई राम्रोसँग बुझ्न त्यसका सबै पक्षलाई सबै कोणबाट हेर्नुपर्छ। त्यसो गरेमा मात्र पूरा परिदृष्य छर्लङ्ग हुन्छ। जे देखिन्छ, त्यो वास्तविकता भन्दा फरक हुन सक्छ। त्यसैले हामीले सबै कोणबाट कुरा बुझ्नु आवश्यक हुन्छ।
केवल झलक्क देख्दैमा कुनै कुरा सकारात्मक छ वा नकारात्मक, भन्न गाह्रो छ। तर यदि हामीले त्यसको राम्रोसँग जाँच परख गर्यौ र त्यसबारे थप सत्य बुझ्यौ भने मात्र सकारात्मक हो कि नकारात्मक भन्न सकिन्छ। त्यसैले हामीले परिस्थितिको समग्र र विवेकपूर्ण मूल्यांकन गर्नुपर्छ। तर यदि ‘मलाई यस्तो वा त्यस्तो निस्कर्ष चाहियो’ भनेर शुरु गर्यौ भने पक्कै पनि हाम्रो मूल्यांकन पूर्वाग्रही हुन जान्छ। भारतको नालन्दा परम्परा अनुसार जाने हो भने सबै विषयलाई वस्तुगत ढंगबाट मूल्यांकन गर्नुपर्छ। धर्मको हकमा पनि यही लागु हुन्छ।
अरुप्रति चित्त खुला राख्नुको महत्त्व
जहाँसम्म मानसिक शान्तिको अभाव र असन्तोषको कुरा छ , ती अत्यन्त आत्मकेन्द्रित मनोवृत्तिका कारण उत्पन्न हुन्छन्। हरेक व्यक्तिले दुःखबाट छुटकारा पाउनु पर्छ र खुशी हुनुपर्छ। यो उसको अधिकार हो। तर हामी आफ्नो बारेमा मात्र सोच्छौं भने चित्त नकारात्मक बन्छ। त्यति बेला सानो समस्या पनि ठूलो जस्तो लाग्छ र हामी असन्तुलित हुन पुग्छौं। तर जब हामी अरुलाई पनि आफूजत्तिकै प्रिय मान्छौं, हाम्रो चित्त खुला र उदार बन्न थाल्छ। फलस्वरुप ठूलो समस्या पनि त्यति ठूलो लाग्दैन। कुनै कुरालाई आफ्नो मात्र दृष्टिकोणले हेर्छौ कि अरुको पनि, त्यसले हाम्रो मनोभावमा निकै ठूलो परिवर्तन ल्याउँछ।
मानसिक शान्तिका लागि दुई तत्त्वहरू महत्वपूर्ण छन्। त्यसमध्ये पहिलो हो, होश अथवा जागरुकता। कुनै पनि कुरालाई वास्तविकताको कसीमा राखेर हेर्यौ भने बुझ्नेछौं कि परिणामहरू त्यस्तो सोच्नै नसकिने गरी आएका हुँदैनन्। दोश्रो हो करुणा, जसले हाम्रो चित्तको ‘भित्री ढोका’ खोल्छ। त्यसका विपरीत डर र शंकाले चाहिँ हामीलाई अरुबाट टाढा बनाउँछ।
बाहिरी रूपरंगमा धेरै चिन्ता नगरौँ
[मनलाई विचलित बनाउने अर्को कुरा अरुले हाम्रो बाहिरी रूपरंगको बारेमा के सोच्छन् भनेर चिन्तित हुनु हो।] म पहिलो पटक बेइजिङ जाँदा मलाई त्यहाँको कुनै अनुभव थिएन। म अलिकति व्यग्र थिएँ, र थोरै चिन्तित पनि। मैले त्यहाँ के जानेँ भने आफ्नो बाहिरी रूपरंगका बारेमा धेरै चिन्तित भइराख्दा कुनै पनि कुरामा गडबडी हुनेवित्तिकै मानिसको अनुहार रातो–रातो हुन थाल्छ। तर जब मानिसले बाहिर जेसुकै होस् भन्ने कुरामा धेरै वास्ता गर्दैनन् र खुलेर व्यवहार गर्छन्, कुनै समस्या हुँदैन।
सन् १९५४ को कुरा हो। बेइजिङमा भारतीय राजदूत मलाई भेट्न मेरो कोठामा आएका थिए। चिनियाँ अधिकारीहरूले फूल, फलफूल, आदि धेरै थोकको प्रबन्ध गरेका थिए। उनीहरूले चिनियाँ दोभाषे पनि राख्नुपर्छ भनेर कर गरे, यद्यपि मेरा केही अधिकारीहरूले अंग्रेजी जान्दथे। हाम्रो कुरा तिब्बती भाषाबाट पहिले चिनियाँ अनि अंग्रेजीमा अनुवाद गर्दै हुन थाल्यो। कुराकानीका क्रममा फलफूलको भाँडा घोप्टियो, र अघिसम्म गजधुम्म परेर औपचारिक ढर्रामा बसिरहेका चिनियाँ अधिकारीहरू भूईंमा हातखुट्टा टेकेर फलफूल समेट्न थाले। पहिलादेखि नै सहज हिसाबले आफूलाई प्रस्तुत गरेको भए केही फरक पर्ने थिएन, तर त्यसो नहुँदा उनीहरूका लागि अप्ठ्यारो परिस्थिति बन्यो।
एकपटक मेक्सिको सिटीमा अन्तरधर्म सम्मेलनका बेला एक जापानिज भिक्षुसँग भेट भयो। उनको हातमा एक जप माला थियो। मालाको डोरी चुँडियो। उनी आफ्नो हात मालामा घुमाइरहेका थिए, जबकि मालाका दानाहरू सबै कोठाभरी छरिँदै थिए। तर उनलाई ती दानाहरू टिप्न साह्रै लाज लागिरहेको थियो। आफू कस्तो देखिन्छु भन्ने कुरामा उनी धेरै नै चिन्तित थिए। उनी सहज हुन सकिरहेका थिएनन्।
जे होस्, आन्तरिक शान्तिका लागि करुणा, परोपकार, सत्यनिष्ठा र इमानदारी अत्यन्तै महत्वपूर्ण छन्। बाहिरी रुपरंग र भेषभूषाले आन्तरिक शान्तिमा कुनै फरक पर्दैन। म आफूलाई विशेष छु भनेर कहिल्यै पनि सोच्दिन, हजारौं मानिसका अगाडि प्रस्तुत हुन मलाई कुनै अप्ठ्यारो लाग्दैन। तपाईंहरू सामु उभिएजस्तै हजारौं मानिसका अगाडि उभिएर म त्यसरी नै बोल्छु जसरी थोरै मान्छेका अगाडि। केही गल्ती गरिहालेँ भने म त्यसलाई तुरुन्त विर्सिदिन्छु। त्यसमा कुनै ठूलो समस्या भएन। अरुले कुनै गल्ती गरे भने म केवल हाँसिदिन्छु।
आन्तरिक परिवर्तन
आन्तरिक परिवर्तनको कुरा मानिसको भावनात्मक स्तरसँग सम्बन्धित छ। आन्तरिक परिवर्तन एक त स्वाभाविक रुपमा उमेरसँगै आउँछ। अर्को, बाहिरी परिस्थितिका कारण पनि आन्तरिक परिवर्तन आउन सक्छ । यी आफसेआफ घटित हुने परिवर्तनहरू हुन। यसका अतिरिक्त मान्छेको प्रयासबाट पनि आन्तरिक परिवर्तन संभव छ। आफूले सोचेअनुसारको परिवर्तन ल्याउन सक्नु नै हाम्रो मूल अभिष्ट हो। मुख्य कुरा नै यही हो।
यहाँनेर हामी अर्को जन्मको कुरा गरिरहेका छैनौं। मुक्ति वा स्वर्गको पनि कुरा गरिरहेका छैनौं। बरु कसरी सबै कठिनाइ र समस्याका वाबजुद पनि यो जीवनलाई अझ खुशी र शान्त राख्न सकिन्छ भन्ने छलफल गरिरहेका छौं। यसका लागि क्रोध, घृणा, डर, ईर्ष्या, शंका, एक्लोपन, तनाव, आदि कुराहरूको सामना कसरी गर्ने, त्यो जान्नु जरुरी छ। यी सबै कुरा हाम्रो आधारभूत मानसिक वृत्तिसँग सम्बन्धित छन्। हामी धेरै आत्म–केन्द्रित भएका कारण यी भावहरू आउने हुन्। जतिबेला हामी यी भावहरू अनुभव गरिरहेका हुन्छौं, त्यतिबेला हाम्रा लागि आफ्नो स्वार्थ मात्र सबैभन्दा महत्वपूर्ण लागेको हुन्छ। ईर्ष्याको भाव आउनुको कारण पनि त्यही हो। आफ्नो बारेमा मात्र सोचिरहँदा अलिकति मात्र पनि तलमाथि पर्यो भने रिस उठ्न थाल्छ। त्यसबाट डर उत्पन्न हुन्छ। त्यो बेला हामीले आफ्नो बारेमा मात्र सोचिरहेका हुन्छौं, अरुका बारेमा होइन। हामी अरुलाई पनि त्यस्तै भन्ठान्छौं । उसले आफ्नो बारेमा मात्र सोच्छ, मेरो बारेमा कुनै वास्ता गर्दैन भनेर सोच्छौं। त्यसपछि हामी एक्लो भएको अनुभव गर्न थाल्छौं, र सोच्छौं – “म कसैलाई पनि विश्वास गर्न सक्दिन।” हामी आफ्नो वरिपरीका सबै मान्छेलाई शंकाको दृष्टिले हेर्न थाल्छौं।
मूलतः सबै मानिसलाई मैत्रीभाव मन पर्छ। यो मानिसको स्वभाव हो। हामीले मैत्रीपूर्ण व्यवहार गर्यौ भने प्रायः अरुले पनि सोही अनुसार गर्न थाल्छन्। चिन्ता उत्पन्न गराउने नकारात्मक भावनाहरूको सामना गर्न हामीलाई त्यसको विपरीत भावनाको आवश्यकता पर्छ। उदाहरणका लागि, हामीलाई गर्मी भयो भने तापक्रम घटाउनु पर्छ। अँध्यारो छ भने त्यसलाई भगाउनका लागि बत्ती बाल्नुको विकल्प हुँदैन। भौतिक संसारमा यो कुरा लागू हुन्छ। विपरीत शक्ति प्रयोग गरियो भने परिवर्तन आउँछ। यो प्रकृतिको नियम हो। तर यो भौतिक स्तरमा मात्र होइन, मानसिक स्तरमा पनि लागू हुन्छ। आफ्नो विचार वा दृष्टिकोण परिवर्तनका लागि हामीलाई विपरीत विचार वा दृष्टिकोण को आवश्यकता पर्छ। [जस्तो कि आत्म–केन्द्रित र शंकालु स्वभावको सामनाका लागि अरुप्रतिको सरोकार र मैत्रीपूर्ण व्यवहार]
मानिलिऊँ एउटा पहेँलो फूल छ। कुनै कारणवश मैले त्यसलाई “यो सेतो हो” भन्न सक्छु। तर फेरी पछि त्यसलाई पहेँलो भन्ठान्न सक्छु। यी परस्पर विरोधी दृष्टिकोण भए। यी दुबै एकैपटक लागू हुन सक्दैनन्। जब पहेँलो जस्तो लाग्छ, सेतो जस्तो लाग्नै सक्दैन। ती दुबै अनुभूति एक अर्कासँग पूर्णतया फरक हुन्छन्। यसरी नै पूर्णतया फरक मनोभाव जागृत गर्न सकेमा आन्तरिक परिवर्तन घटित हुन सक्छ।
समस्याको अर्को कारण अज्ञान पनि हो। यसको निवारणका लागि अध्ययन, विश्लेषण, र अनुसन्धानको आवश्यकता पर्छ। सत्यलाई जान्न नसक्दा अज्ञान उत्पन्न हुन्छ। अज्ञानको विपरीत बल विश्लेषणको बल हुन्छ। अरुको बारेमा पनि सोच्न थाल्यो भने आत्मकेन्द्रित भैराख्ने स्वभावबाट उठ्न सकिन्छ। यसका लागि मतिशोधन [आफ्नो चित्तवृत्तिको शुद्धिकरण] को आवश्यकता हुन्छ।
धर्मनिरपेक्ष नैतिकता
के मतिशोधन [चित्तवृत्तिको शुद्धिकरण] का प्रयत्नलाई कुनै धर्म वा आध्यात्मिक प्रणालीसँग जोड्नु आवश्यक छ? मलाई लाग्छ, यसमा धर्मको कुनै सरोकार छैन।
अध्यात्मको कुरा गर्ने हो भने यसमा चाहिँ दुई प्रकार छन्ः एक, धर्म वा धार्मिक मान्यतासँग जोडिएको र अर्को, नजोडिएको। धर्मसँग नजोडिएको लाई चाहिँ म ‘धर्म निरपेक्ष नैतिकता’ भन्छु। धर्मनिरपेक्षताको अर्थ धर्मको निषेध होइन, बरु सबै धर्मप्रति समान दृष्टिकोण राख्नु र सबैलाई उत्तिकै सम्मान गर्नु हो। उदाहरणका लागि भारतीय संविधानको कुरा गर्ने हो भने यो एक धर्म निरपेक्ष संविधान हो। यसले सबै धर्मलाई उत्तिकै सम्मान गर्छ। पारसी र जरथ्रुस्टका अनुयायीको पनि भारतीय सेना र राजनीतिमा समान स्थान छ, जबकि ती समुदाय भारतमा निकै सानो संख्यामा छन्। भारतको अरबभन्दा बढीको जनसंख्यामा उनीहरु केवल एक लाखको हाराहारीमा होलान्।
धर्म निरपेक्ष नैतिकताले नास्तिकहरूको नैतिकतालाई पनि समेट्छ। यसमा आधारित रहेर हामी जनावरहरू प्रति पनि सम्मान र नैतिकताको व्यवहार गर्न सक्छौं। धर्म निरपेक्ष नैतिकताको अर्को पक्ष वातावरण संरक्षण गर्नु हो। हामीले धर्म निरपेक्ष ढंगबाट आफ्नो मतिशोधन गर्नु पर्छ । यसका लागि हामीले आफूमा धर्म निरपेक्ष नैतिकताको विकास गर्नुपर्छ। पृथ्वीमा बस्ने सबै मानिसका लागि यो आवश्यक छ। धार्मिक प्रणालीहरूले धर्म निरपेक्ष नैतिकताको विश्वव्यापी विकासलाई अझ सशक्त बनाउन सहयोग गर्न सक्छन्। धार्मिक प्रणालीहरू यस्तो विकासमा बाधक होइन बरु सहयोगी हुन सक्छन्।
जब हामी धर्मनिरपेक्ष नैतिकताको कुरा गर्छौं, हाम्रो अभिप्राय गैर–साम्प्रदायिक हुनुपर्छ। जब कुनै धार्मिक प्रवृत्तिको मान्छेले यसरी धर्मनिरपेक्ष नैतिकताको प्रवर्धन गर्ने काम गर्छ, उसले सही अर्थमा आफ्नो धर्मको पालना गरिरहेको हुन्छ। तर उसले त्यसो गर्दैन भने उ चाहे नियमित रुपमा चर्च जाओस् वा मस्जिद वा यहुदी प्रार्थना स्थल, उ सच्चा धर्म अनुयायी हो भन्ने कुरामा मलाई शंका लाग्छ।