विश्वभरका मेरा बुद्धमार्गी दाजुभाइ र दिदीबहिनीहरूमा बुद्ध जयन्ती (Vesak) को अवसरमा अभिवादन गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ।
शाक्यमुनि बुद्धले लुम्बिनीमा जन्म लिएर बोधगयामा बोधिलाभ तथा कुशीनगरमा देहत्याग गर्नुभएको २६०० वर्ष बितिसक्यो। तर मलाई लाग्छ, उहाँका शिक्षाहरू अहिलेको युगमा पनि उत्तिकै सार्वभौमिक र सान्दर्भिक छन्। बोधिलाभपश्चात् अरुको हित गर्ने उत्कट कामनासँगै उहाँले जीवनको बाँकी समय भिक्षुको रुपमा बिताउनुभयो र रुचि राख्ने जोकोहीलाई पनि आफूले हासिल गरेको ज्ञान बाँड्नुभयो। प्रतीत्यसमुत्पादको ज्ञान तथा अरूलाई हानि नपुर्याउने र सकेसम्म अरुलाई सहयोग गर्ने उहाँको शिक्षाले अहिंसाको अभ्यासलाई जोड दिएको छ। अहिलेको विश्वसन्दर्भमा यसले अत्यधिक सकारात्मक बल प्रदान गर्छ। हाम्रा प्रिय मानवजातिको सेवाका लागि करुणाप्रेरित अहिंसाजस्तो उत्तम उपाय अरु छैन।
यो विश्व झनै आपसमा अन्तरसम्बन्धित हुँदै गएको छ। हाम्रो कल्याण र खुशी अन्य धेरै मानिसहरूमाथि निर्भर गर्दछ। आज हामीले सामना गर्नुपर्ने चुनौतीहरूका कारण मानवजातिको एकतालाई स्वीकार्नु अनिवार्य भएको छ। हामीबीच केही सतही मतभिन्नता भएता पनि सबै मानिसको मूल चाहना शान्ति र खुशी नै हो। यसमा सबै बराबर छन्। ध्यानको माध्यमबाट आफ्नो मनलाई प्रशिक्षित गर्नु बौद्ध अभ्यासको एक अभिन्न अंग हो। चित्तको शान्ति तथा करुणा, मैत्री, उदारता र धैर्यजस्ता गुणहरूको विकास प्रभावकारी ढंगबाट गर्न हामीले ती गुणलाई दैनिक व्यवहारमा उतार्नै पर्छ।
केही वर्षअघिसम्म विश्वका विभिन्न बौद्ध समुदायहरू एक आपसको अस्तित्वबारे झण्डै अनभिज्ञ जस्तै थिए। आफूबीचका धेरै समानतालाई जानेर तिनको सम्मान गर्ने अवसर हामीले पाएका थिएनौं। तर आज, रुचि हुने जोकोहीका लागि पनि विश्वका विभिन्न भू–भागमा प्रवर्द्धित सबै बौद्ध परम्पराहरूबारे जान्न सहज भएको छ। ती विभिन्न बौद्ध परम्पराको अभ्यास र प्रशिक्षण गर्ने हामीहरू सबै एकआपसमा भेट्न र एक अर्काबाट सिक्न सक्षम भएका छौं।
तिब्बती बौद्ध भिक्षु भएका नाताले म आफूलाई नालन्दा परम्पराको उत्तराधिकारीको रूपमा लिन्छु। तर्कशास्त्र र विश्लेषणमा आधारित तात्कालीन नालन्दा विश्वविद्यालयको बौद्ध शिक्षा त्यसबेलाको भारतमा उत्कर्षमा पुगेको थियो। एक्काइसौं शताब्दीका हामी बौद्धमार्गीहरूका लागि त धार्मिक आस्थाको मात्र भर नपरी बुद्धका शिक्षाहरू बुझ्न र यसको अनुसन्धानमा संलग्न हुन झनै आवश्यक छ।
बुद्धको समयबाट आजसम्म आइपुग्दा विश्वमा धेरै परिवर्तन भैसकेको छ। भौतिक जगतको ज्ञानलाई आधुनिक विज्ञानले परिष्कृत र विकसित गरेको छ। अर्कोतर्फ, बौद्ध विज्ञानले चाहिँ मन र मनोभावहरूको विस्तृत र प्रत्यक्ष जानकारी प्रदान गरेको छ, जुन आधुनिक विज्ञानका लागि अझैपनि नौलो छ। त्यसैले यी दुवैसँग एक अर्काको ज्ञानलाई पूर्णता प्रदान गर्ने विशिष्ट क्षमता छ। मलाई लाग्छ, यी दुवैलाई मिलाएर लग्न सक्यो भने हाम्रो भौतिक, भावनात्मक र सामाजिक कल्याणलाई समृद्ध बनाउने ठूलो सम्भाव्यताको बाटो खुल्नेछ।
बौद्धमार्गी भएका नाताले बुद्धको शिक्षा सम्हालेर राख्नु हाम्रो कर्तव्य हो। यसलाई हामीले सम्पूर्ण मानवजातिसँगको हाम्रो सम्बन्धमा विस्तार गर्नु सान्दर्भिक हुनेछ। सबै धर्मले मानिसहरू अझ खुशी होऊन् भन्ने नै कामना गर्छन्। यो बोधका साथ हामीले धर्महरूबीचको समझदारीलाई प्रोत्साहित गर्नु आवश्यक छ। आज विश्वले गम्भीर संकटको सामना गरिरहेको छ, हामीलाई आफ्नो स्वास्थ्यको चिन्ता छ र प्रियजन गुमाउनुपरेको पीडा छ। यो बेला हामीलाई एक विश्व परिवारको रूपमा केले जोड्छ, त्यसमा ध्यान दिनु आवश्यक छ। एक आपसलाई करुणाको भावले सहयोग गर्नु आवश्यक छ। एकजुट भएर र विश्वव्यापी रूपमा समन्वयपूर्ण पहल गरेर मात्र हामी कल्पनाभन्दा बाहिरको यो संकटको सामना गर्न सक्छौं।
दलाई लामा, ७ मे २०२०