व्याख्या
अक्सर हामी सानासाना कुराहरू पनि भनेजस्तो नहुँदा आफूलाई दीनहीन ठानेर दुःखी भैरहेका हुन्छौं। जस्तै, रेस्टुराँमा खोजेको खानेकुरा नभेट्दा, यात्रा गर्न चाहेको मिति वा समयमा प्लेन वा ट्रेनको टिकट नपाउँदा, वा पौडी खेल्न जान मन लागेको बेला रूघाले सताउँदा। तर जीवनलाई वस्तुनिष्ठ भएर हेर्ने हो भने हामी आफूलाई अकल्पनीय रूपमा भाग्यमानी पाउनेछौं। हामी कैयौं त्यस्ता निकृष्ट परिस्थितिहरूबाट मुक्त छौं जहाँ कुनै रचनात्मक वा अर्थपूर्ण काम गर्न सम्भव हुँदैन। फेरी, हामी त्यस्ता कैयौं अवसरले युक्त छौं जहाँ बुद्धधर्मजस्तो आध्यात्मिक शिक्षा लिन पाइन्छ र आफ्नो जीवनलाई सुधार्न सकिन्छ।
यदि हामी सन् २०१५ को महाभूकम्पबाट क्षतिग्रस्त नेपालका कुनै ठाऊँ वा कुनै अनिकाल वा युद्धग्रस्त क्षेत्रमा भएका भए, अथवा आध्यात्मिक अभ्यास उपलब्ध नभएका वा गैरकानुनी ठहरिने क्षेत्रमा जन्मेका भए, वा कुनै जेलमा हिंसात्मक अपराधीका बीच थुनिएका भए, अथवा कुनै युद्धक्षेत्रमा सैनिकका रूपमा लडाईं गरिरहनु परेको भए के बुद्धधर्मका शिक्षा ग्रहण गर्न तथा तिनको अभ्यास गर्न पाउँथ्यौं होला? अथवा अभ्यास गर्न सम्भव भए पनि अति कठिन हुनेगरी कुनै शारीरिक, मानसिक वा भावनात्मक अपांगता भएको भए के गर्थ्यौं होला? त्यस्तै अति धनवान् भएकाले कुनै काम गर्नु नपर्ने, सधैँ भोज पार्टी र मनोरञ्जनमा जीवन बित्ने भएकाले आध्यात्मिक कुरामा कुनै चासो नै नहुने भएका भए के हुन्थ्यो होला? अथवा बिल्कुलै विपरीत बुद्धि र आध्यात्मिक अभ्यासप्रति विरोधको भावनाले भरिएका भए हामी के गर्थ्यौं होला?
अर्कोतिर, हामीसँग अहिले धेरै अवसरहरू उपलब्ध छन्। बौद्धशिक्षाका अनुवादहरू उपलब्ध छन्, जो या त पुस्तकमा वा इन्टरनेटमा पाइन्छन्; तिनको प्रकाशनमा सहयोग गर्ने दाताहरू छन्; बौद्ध शिक्षकहरू र केन्द्रहरू छन् हामी जहाँ शिक्षा लिन पाउँछौं; तिनको सञ्चालनमा सहयोग गर्ने मानिस छन्; र हामीसँग शिक्षा ग्रहण गर्ने बुद्धि र रुचि छ।
माथि बताइएजस्तो निकृष्ट अवस्थाबाट हामी मुक्त छौं, र अनेक त्यस्ता अवसरबाट सम्पन्न छौं जसले यो जीवनलाई अद्वितीय बनाएका छन्। यस्तो अमूल्य जीवन प्राप्त भएकामा हामीले हर्ष गर्नुपर्छ र यसको सकेसम्म सदुपयोग गर्नुपर्छ।
ध्यान
- श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गर्नुहोस्।
- कल्पना गर्नुहोस्, भूकम्पका बेला तपाईं नेपालका पहाडमा ट्रेकिङ्गका लागि जानुभएको थियो। त्यही बीचमा तपाईं फस्नुभयो। फर्किने उपाय पनि भएन, खानेकुरा र पानी पनि पाउनुभएन।
- तर कुनै उपायले तपाईंलाई हवाई उद्धार गरियो, र तपाईं घर फर्किन पाउनुभयो।
- त्यस्तो भयावह अवस्थाबाट मुक्ति पाउँदा कति आनन्द हुन्छ, त्यसको अनुभव गर्नुहोस्।
- त्यो मुक्तिमा हर्षित हुनुहोस्।
- कल्पना गर्नुहोस्, तपाईं सिरियामा हुनुहुन्छ र इस्लामिक स्टेटले तपाईं बसेको सहर कब्जा गर्यो। तपाईं त्यहाँबाट उम्किने उपाय छैन।
- तर कुनै तरीकाले त्यहाँबाट उम्किएको अनुभव गर्नुहोस्।
- यस्तो मुक्तिको अनुभवमा हर्षित हुनुहोस्।
- कल्पना गर्नुहोस्, तपाईं जेलको कोठामा बन्द हुनुहुन्छ र एउटा हुल्याहा ग्याङ् पनि तपाईंकै कोठामा छ। उनीहरू हिंस्रक छन् र तपाईंलाई रातोदिन डराउने धम्क्याउने गरिरहन्छन्।
- केहीगरी उक्त जेलबाट मुक्त भएको अनुभव गर्नुहोस्।
- त्यसमा हर्षित हुनुहोस्।
- सुडानको अनिकाल र खडेरीमा भोकभोकै तड्पिनुपरेको कल्पना गर्नुहोस्।
- कसैले खानेकुरा खसालिदिएको र आफूले पर्याप्त खाने र पिउने कुरा पाएको कल्पना गर्नुहोस्।
- त्यसमा हर्षित हुनुहोस्।
- अल्जाइमर रोग लागेर केही कुरा सम्झिन नसक्ने, कसैलाई नचिन्ने र अर्थ लाग्ने तीनवटा शब्द पनि बोल्न नसक्ने अवस्थामा पुगेको कल्पना गर्नुहोस्।
- त्यो रोगबाट निको भएको कल्पना गर्नुहोस्।
- त्यसमा हर्षित हुनुहोस्।
- यी सबै परिस्थितिहरूको भारी आफ्नो काँधबाट छुटेर मुक्त भएको अनुभव गर्नुहोस् – भूकम्पमा नेपालमा फस्नु, इस्लामिक स्टेटको बन्दी भएर सिरियामा बस्नु, हिंस्रक ग्याङ्सँग जेलको कोठाभित्र थुनिनु, सुडानको भोकमरीमा तड्पिनु, अल्जाइमर रोग लाग्नु।
- आफूलाई प्राप्त यस्तो अद्वितीय स्वतन्त्रताको अनुभव गर्नुहोस्।
- अब, आफूलाई प्राप्त सबै अद्भूत अवसरहरूको स्मरण गर्नुहोस् – बौद्धशिक्षाका अनुवादहरू पुस्तकमा वा इन्टरनेटमा उपलब्ध छन्, दाताहरूले तिनको प्रकाशनमा सहयोग गरेका छन्, बौद्ध शिक्षक र केन्द्रहरू छन् जहाँबाट तपाई शिक्षा लिन पाउनुहुन्छ, ती केन्द्रहरूलाई संरक्षण गर्ने मानिस छन्, हामीसँग सिक्ने रुचि र बुद्धि दुवै छ।
- अन्तमा, यी सबै स्वतन्त्रता (क्षण) र अवसर (सम्पत्ति) हरूबाट आफू युक्त भएको स्मरण गर्नुहोस्। इतिहासको अधिकांश कालखण्डका अधिकांश मानिससँग यसलाई तुलना गर्नुहोस् र आफ्नो जीवन कति अद्वितीय रहेछ, बोध गर्नुहोस्।
- यसमा हर्षित हुनुहोस् र आफूलाई प्राप्त यो अनमोल जीवनको पूर्ण सदुपयोग गर्ने, यसलाई खेर जान नदिने प्रण गर्नुहोस्।
सारांश
हाल प्राप्त अवसरहरूको मूल्यांकन गर्दा हामी आफूलाई असाध्यै भाग्यमानी पाउनेछौं। कम्तीमा यो क्षण त हामी जीवनका ती कठोर परिस्थितिहरूबाट मुक्त छौं जसले हामीलाई भावनात्मक तथा आध्यात्मिक सुधारका लागि काम गर्न दिने थिएनन्। त्यसैले हामी आफ्नो जीवनप्रति गहिरो कदरको भाव विकासित गर्छौं। पक्कै पनि, कसैको पनि जीवन वा परिस्थिति परिपूर्ण (पर्फेक्ट) हुँदैन, तर सम्भावित कैयौं भयावह अवस्थाहरूको तुलनामा हामी ज्यादै भाग्यमानी छौं। यो कुरालाई मनन गर्दै हामी आफूलाई प्राप्त यो सुअवसरको सकेसम्म सदुपयोग गर्ने र जीवनलाई उन्नत बनाउने दिशामा आवश्यक कदम चाल्ने आत्मविश्वासको विकास गर्छौं।