हामीले हाल भोगिरहेको जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न ग्लास्गो, स्कटल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२६) हुन लागेको सुन्दा मलाई खुशी लागेको छ।
विश्व तापमान बृद्धि आजको आपतकालीन यथार्थ हो। विगतमा जे भयो, त्यसलाई हामी कसैले पनि परिवर्तन गर्न सक्दैनौं। तर भविष्य कसरी राम्रो बनाउने, त्यसमा हामी सबैले योगदान गर्न सक्छौं। वास्तवमा आफू स्वयंप्रति र यो संसारमा हाल जीवित सात अरबभन्दा बढी मानिसप्रति हाम्रो जिम्मेवारी छ, सबैले शान्तिपूर्ण र सुरक्षित जीवन बाँच्न पाउने सुनिश्चितता हामीले गर्नुपर्छ। आशा र दृढ संकल्पका साथ हामीले आफ्नो र आफ्ना वरपरका मानिसको जीवनको ख्याल राख्नुपर्छ।
हाम्रा पूर्वजले यो पृथ्वीलाई समृद्ध र उदार मानेर चलेका थिए, जुन यो हो पनि। तर त्योभन्दा महत्वपूर्ण, यो पृथ्वी हाम्रो एउटै मात्र आश्रय हो। हामीले यसलाई आफ्नो लागि मात्र होइन, भविष्यका पुस्ता र यो ग्रहमा हामीसँगै बस्ने असंख्य जीवप्रजातिका लागि पनि सुरक्षित राख्नुपर्छ।
उत्तरी र दक्षिणी ध्रुवबाहेक हिउँको सबैभन्दा ठूलो भण्डार रहेको तिब्बती पठारलाई “तेस्रो ध्रुव” पनि भन्ने गरिन्छ। ब्रह्मपुत्र, गंगा, सिन्ध, मेकोङ्ग, साल्विन, पहेँलो नदी, र याङ्त्सेजस्ता विश्वका केही प्रमुख नदीहरूको उद्गम यहीँबाट भएको छ। एशियाका झण्डै दुई अरब मानिसका लागि यी नदीहरू जीवनको स्रोत हुन् किनकि यहीँबाट पिउन, सिँचाइ गर्न र जलविद्युत उत्पादन गर्न पानी प्राप्त हुन्छ। तिब्बतका अनेकौं हिमतालहरू पग्लिनु, नदीमा बाँधहरू बनाइनु र तिनको दिशा परिवर्तन गरिनु, वनविनाश हुनु, आदि त्यस्ता उदाहरण हुन् जसले कुनै एक क्षेत्रमा गरिएको पर्यावरणीय लापरवाहीको असर सबैतिर पर्छ भन्ने देखाउँछन्।
हामीले भविष्यको चिन्ताको सम्बोधन भयप्रेरित प्रार्थना गरेर होइन, वैज्ञानिक तथ्यमा आधारित यथार्थपरक कदम चालेर गर्न सक्छौं, यो आजको आवश्यकता हो। यो ग्रहका वासिन्दा अहिले जति परस्परमा निर्भर छन्, त्यति पहिला कहिल्यै थिएनन् होला। हामीले गर्ने हरेक क्रियाकलापले हाम्रा मानव मित्रहरूलाई मात्र होइन, असंख्य प्राणी र वनस्पतिका प्रजातिलाई समेत असर गर्छ।
यो पृथ्वीलाई ध्वस्त गर्नसक्ने शक्ति हामी मानव जातिमा मात्र छ, तर हामी नै त्यो प्रजाति पनि हौं जोसँग यसको रक्षा गर्नसक्ने सबैभन्दा ठूलो क्षमता छ। सबैको हितका लागि हामीले जलवायु परिवर्तनको मुद्दालाई विश्वव्यापी सहकार्यका साथ सम्बोधन गर्नु आवश्यक छ। तर व्यक्तिगत स्तरमा पनि हामी सबैले जे गर्न सक्छौं, त्यो गर्नुपर्छ। दैनिक जीवनमा गरिने स–साना क्रियाकलापले पनि ठूलो परिणाम दिन सक्छन्, जस्तै पानीको प्रयोग कसरी गर्ने, आफूलाई नचाहिने बस्तुलाई कसरी तह लगाउने, आदि। प्राकृतिक वातावरणको संरक्षण गर्नुलाई हामीले आफ्नो दैनिकीको हिस्सा बनाउनुपर्छ, र विज्ञानले हामीलाई के शिक्षा दिन्छ, त्यो लिनुपर्छ।
हाम्रा युवा पुस्ताले जलवायु परिवर्तनको विषयमा ठोस कदम चाल्नुपर्ने माग राखिरहेको देख्दा म उत्साहित हुन्छु। यसले भविष्यको लागि केही आशा प्रदान गर्छ। ग्रेटा थन्वर्गलगायतका युवा अभियन्ताले विज्ञानको कुरा सुन्नुपर्ने कुरामा सचेतना जगाउन जुन प्रयास गरिरहेका छन्, त्यो एकदमै महत्वपूर्ण छ। उनीहरूको अडान यथार्थमा आधारित छ, हामीले तिनलाई प्रोत्साहित गर्नुपर्छ।
म सधैं सबै मानवजातिको एकतालाई कायम राख्नुपर्ने कुरालाई जोड दिन्छु, प्रत्येक मानिस हाम्रै समग्रताको अंश हो। विश्व तापमान वृद्धि र जलवायु परिवर्तनबाट हुने खतरा कुनै देशको सीमाभित्र मात्र बाँधिएर बस्दैन; यसले हामी सबैलाई असर गर्छ।
हामी यो संकटको एकसाथ सामना गर्दैछौं, त्यसैले यसको प्रभाव कम गर्न ऐक्यवद्धता र सहकार्यको भावनाका साथ चल्नु आवश्यक हुन्छ। म आशा र प्रार्थना गर्छु, कि हाम्रा नेताहरू यो संकटको सामनाका लागि संयुक्त कदम उठाउने सामर्थ्य जुटाउन्, र सुधारको एक समयतालिका बनाउन्। यो संसारलाई सुरक्षित, पर्यावरणमैत्री, र सुखी बनाउन हामी सबैले पहल गर्नैपर्छ।
प्रार्थना र शुभकामना सहित,
दलाई लामा
३१ अक्टोबर २०२१