एशियामा बुद्धधर्मको विस्तार

05:09
मिसनरी धर्मप्रचारकको जस्तो अभियान नथालिए पनि बुद्धको शिक्षा समयक्रममा दूरदराजका भूभागहरूसम्म फैलियो। पहिला दक्षिणपूर्वी एशियामा पुग्यो, त्यसपछि मध्य एशिया हुँदै चीन र पूर्वी एशियाका अन्य भूभागमा पुग्यो। त्यसपछि तिब्बतमा आइपुग्यो र त्यहाँबाट मध्य एशियाका अन्य भूभागमा पनि पुग्यो। यो विस्तार सहज र क्रमिक रूपमा भयो। स्थानीय मानिसमा विदेशबाट आएका बौद्ध धर्मावलम्बी व्यापारीहरूको राम्रो प्रभाव पर्यो। कुनै ठाउँमा भने शासकहरूले बौद्ध धर्म अपनाए ताकि यसबाट जनतामा नैतिकताको विकास होस्। तर कसैलाई पनि धर्म अपनाउनका लागि बाध्य पारिएन। बुद्धको शिक्षा मानिसका सामु राखियो, उनीहरू त्यसबाट आफूलाई कल्याण गर्ने कुरा लिन स्वतन्त्र थिए।

भारतीय उपमहाद्वीपमा बुद्धधर्म शान्तिपूर्ण तवरले फैलियो र त्यहाँबाट एशियाभरी टाढा–टाढाका देशहरूसम्म पुग्यो। कुनै नयाँ ठाउँमा पुग्दा त्यहाँको स्थानीय संस्कृति र मानसिकतासँग मिल्दो गरी बौद्ध अभ्यासका तरीका र शैलीलाई परिमार्जित गरियो। तर त्यसो गर्दा प्रज्ञा र करुणाका मूलभुत बुँदाहरूमा कुनै सम्झौता गरिएन। बुद्धधर्ममा कहिल्यै पनि एक केन्द्रीय धर्मगुरु वा विरासतको व्यवस्था गरिएन। बरु यो जुन देशमा पुग्यो, त्यहाँ यसको आफ्नै स्वरुपको धार्मिक व्यवस्था र आध्यात्मिक नेतृत्वको विकास भयो। हाल यस्तो आध्यात्मिक नेतृत्वमध्ये परम पावन दलाई लामा विश्वमै सबैभन्दा प्रसिद्ध र अन्तर्राष्ट्रिय सम्मानप्राप्त व्यक्तित्व हुनुहुन्छ।

संक्षिप्त इतिहास

बुद्धधर्मका दुइ प्रमुख हाँगाहरू छन्ः श्रावकयान (सामान्य यान) जसले व्यक्तिगत मुक्तिमा जोड दिन्छ, र महायान (बृहत्तर यान) जसले अरुको कल्याणका लागि पूर्ण बुद्धत्व प्राप्तिमा जोड दिन्छ। यी दुबै यानभित्र पनि थुप्रै उपशाखाहरू छन्। हाल बुद्धधर्मका तीन प्रमुख रुप विद्यमान छन्ः दक्षिण पूर्वी एशियामा मानिने श्रावकयान (जसलाई थेरवाद भनिन्छ), तिब्बती परम्पराको महायान, र चीनियाँ परम्पराको महायान।

  • थेरवाद परम्परा ईसापूर्व तेश्रो शताब्दीमा भारतबाट श्रीलंका र बर्मा (म्यान्मार) पुग्यो। त्यहाँबाट दक्षिण पूर्वी एशियाका थाइल्याण्ड, क्याम्बोडिया र लाओसमा फैलियो।
  • श्रावकयानका केही उपशाखाहरू हालको पाकिस्तान, अफगानिस्तान, पूर्वी र तटीय इरान तथा मध्य एशियासम्म पुगे। ईसाको दोश्रो शताब्दीमा मध्य एशियाबाट चीन पुगे। पछि यी श्रावकयान परम्पराहरू महायानसँग मिसिए जुन त्यही बाटो भएर भारतबाट चीन पुगेको थियो। अन्ततः चीन र मध्य एशियाका अधिकांश क्षेत्रमा महायान प्रमुख परम्पराको रूपमा विकसित भयो। यो चीनियाँ शैलीको महायान पछि कोरिया, जापान र भियतनाम पुग्यो।
  • तिब्बती परम्पराको महायान चाहिँ सातौ शताब्दीमा शुरु भयो। त्यतिबेलासम्म भारतमा बुद्धधर्मको पूर्ण ऐतिहासिक विकास भैसकेको थियो। यही परम्परा तिब्बत पुग्यो, जहाँबाट यसको विस्तार सम्पूर्ण हिमालय क्षेत्र, मंगोलिया, मध्य एशिया र रसियाका विभिन्न भागहरू (बुर्यातिया, काल्मिकिया, टुभा) मा भयो।

यसका अतिरिक्त दोश्रो शताब्दीमा भारतीय शैलीको महायान बुद्धधर्म भारतदेखि दक्षिणी चीनको समुद्री व्यापारिक बाटो हुँदै भियतनाम, क्याम्बोडिया, मलेशिया, सुमात्रा र जाभासम्म पुग्यो। ती धार्मिक परम्पराहरू हाल विद्यमान छैनन्।

बुद्धधर्मको विस्तार कसरी भयो?

एशियाका धेरै देशहरूमा विभिन्न माध्यमबाट मूलतः शान्तिपूर्ण तरीकाले बुद्धधर्मको विस्तार भयो। शाक्यमुनि बुद्ध स्वयंले यसको उदाहरण स्थापित गर्नुभएको थियो। नजीक नजीकका राज्यहरूमा यात्रा गर्दै शिक्षा दिने क्रममा उहाँले आफूले प्राप्त गर्नुभएको ज्ञान इच्छुक र रुचि भएका मानिसहरूलाई बाँड्नु भयो। त्यस्तै उहाँले आफ्ना भिक्षुहरूलाई विश्वका विभिन्न भागमा गएर ज्ञान बाँड्ने निर्देशन दिनुभयो। तर उहाँले कहिल्यै पनि मानिसहरूलाई मान्दै आएको धर्मको निन्दा गर्न र त्यसलाई त्यागेर आफ्नो नयाँ मतलाई अंगाल्न आग्रह गर्नुभएन। कुनै नयाँ धर्म स्थापित गर्ने उहाँको उद्देश्य थिएन। बुद्धको उद्देश्य त अरूलाई यथार्थका ज्ञान नभएका कारण आफैँले सिर्जना गरेको असन्तुष्टि र दुःखबाट मुक्त हुन सहयोग गर्नु मात्र थियो। उहाँपछिका पुस्ताका अनुयायीहरूले यही शैलीबाट प्रभावित भएर मानिसहरूलाई ती उपाय बताए जो उनीहरूले आफैँ अपनाएका थिए र त्यसबाट लाभान्वित भएका थिए। एवं रीतले टाढा टाढासम्म बुद्धको शिक्षा प्रसारित भयो जसलाई आज हामी “बुद्धधर्म” भन्छौं।

कतैकतै यस्तो विस्तार क्रमिकरूपमा भएको छ। उदाहरणका लागि जब बौद्ध व्यापारीहरू कुनै नयाँ ठाउँमा बसाईं सराई गरेर जान्थे, त्यहाँका स्थानीय वासिन्दाहरू स्वतः आगन्तुकको नयाँ धर्मप्रति आकर्षित हुन्थे। यस्तो आकर्षण पछिल्ला दिनहरूमा इन्डोनेशिया र मलेसियामा इस्लाम धर्मविस्तारको क्रममा पनि देखिएको थियो। ईसापूर्व दोश्रोदेखि ईसाको दोश्रो शताब्दीताका मध्य एशियाको सिल्क रुटका मरुद्यान राष्ट्रहरू (ओएसिस स्टेट्स) मा बुद्धधर्म फैलिँदा पनि यस्तै भएको थियो। स्थानीय शासक र जनताले भारतबाट आएको यो धर्मका बारेमा जाने र उनीहरूले व्यापारीहरूलाई आफ्नो मातृभूमिबाट बौद्ध भिक्षुहरूलाई शिक्षक वा सल्लाहकारका रूपमा आमन्त्रण गर्न आग्रह गरे। अन्ततः धेरैले बुद्धधर्म अवलम्बन गरे।

लडाईंमा विजयपश्चात स्थानीय जनतामा विस्तारै आएको साँस्कृतिक रुपान्तरण पनि यस्तो क्रमिक विकासको अर्को उदाहरण हो। जस्तै, ईसापूर्व दोश्रो शताब्दीपश्चात हालको पाकिस्तानमा अवस्थित तत्कालीन गन्धार क्षेत्रको बौद्ध समुदायमा ग्रीकहरू समाहित भएका थिए।

प्रायजसो यस्तो प्रसार मुख्यतया शक्तिशाली राजाहरूको प्रभावका कारण भएको पाइन्छ। ती राजाहरू पहिला आफैँ बौद्ध धर्मलाई ग्रहण र समर्थन गर्दथे। उदाहरणका लागि, ईसापूर्व तेस्रो शताब्दीको मध्यतिर भारतमा सम्राट अशोकको व्यक्तिगत समर्थनको परिणाम स्वरूप बुद्धधर्म उत्तरी भारतभर फैलियो। अशोक एक महान् साम्राज्य निर्माणकर्ता थिए, तर उनले आफ्ना प्रजाहरूलाई बुद्धधर्म अपनाउने जबरजस्ती गरेनन्। चट्टानका खाँबाहरूमा कोरिएका लेखनका माध्यमबाट आफ्नो देशभरि नै जनताहरूलाई नैतिक जीवन जीउन आग्रह गरे, र आफैंले पनि ती सिद्धान्तहरू अनुसरण गरे। फलस्वरुप उनले अरूलाई बुद्धको शिक्षा ग्रहण गर्न प्रेरित गरे।

सम्राट अशोकले कहिले आफैँ सक्रिय रूपमा त कहिले श्रीलंकाली राजा देवानामपिय तिस्सजस्ता विदेशी शासकहरूको निमन्त्रणामा टाढा–टाढाका मुलुकहरूमा मिसन पठाएर आफ्नो राज्यबाहिर धर्म परिवर्तन गरे। उनले भिक्षुहरूलाई दूतको रूपमा पठाउँथे। तर भ्रमणमा जाने भिक्षुहरूले अरूलाई रूपान्तरण गर्न दबाब दिँदैनथे। उनीहरू केवल बुद्धको शिक्षा उपलब्ध गराउँथे, जसले मानिसहरूलाई आफ्ना लागि आफैं छनौट गर्ने सुविधा दिन्थ्यो। दक्षिण भारत र दक्षिणी बर्मा जस्ता ठाउँहरूमा बुद्धधर्मले चाँडै जरा गाडेको देखिनु तर मध्य एशियाका ग्रीक उपनिवेश जस्ता स्थानहरूमा तत्काल प्रभावको कुनै अभिलेख नहुनुले पनि यो कुरालाई पुष्टि गर्छ।

सोह्रौं शताब्दीका मंगोलियन शक्तिशाली शासक अल्तान खान जस्ता अन्य धार्मिक राजाहरूले बौद्ध शिक्षकहरूलाई उनीहरूको देशमा आमन्त्रित गरे। आफ्ना जनतालाई एकताबद्ध गर्न र आफ्नो शासन सुदृढ पार्नको लागि बुद्धधर्मलाई देशको आधिकारिक धर्म घोषणा गरे। यस प्रक्रियामा उनीहरूले गैर–बौद्ध, आदिवासी धर्महरूका केही प्रचलनहरूलाई निषेध गरेको हुन सक्छ, र त्यसका अनुयायीहरूलाई सताएको पनि हुन सक्छ। तर आक्कलझुक्कल भएका त्यस्ता घटनाहरू प्रायः राजनीतिक रूपमा प्रेरित भएर गरिन्थे। त्यस्ता महत्वाकांक्षी शासकहरूले पनि कहिल्यै आफ्ना प्रजालाई बुद्धधर्मको आस्था वा पूजा पद्धतिहरू अपनाउन बाध्य पारेनन्। शासकले जे कदम उठाए, त्यो पक्कै पनि बुद्धधर्मको अंग थिएन।

सारांश

शाक्यमुनि बुद्धले कहिल्यै पनि मानिसहरूलाई आफ्नो शिक्षा आँखा चिम्लेर पत्याउन र ती शिक्षाहरूलाई स्वीकार गरिहाल्न कर गर्नुभएन, बरु ती शिक्षालाई सावधानीपूर्वक जाँच्ने र अनुसन्धान गर्ने सल्लाह दिनुभयो। त्यसैले के स्पष्ट छ भने जनताहरूले कुनै अति–उत्साही धर्मप्रचारक या कुनै राज्यको आदेश वा दबावका कारण बुद्धधर्म स्वीकार गर्नुपर्ने आवश्यकता थिएन। सत्रौं शताब्दीको शुरुवातमा एक बौद्ध शिक्षक नेइची तोयिनले मंगोलियामा घुमन्ते समुदायलाई बुद्धधर्मको अनुयायी बनाउन प्रलोभनको सहारा लिए। कसैले एक पाठ कंठस्थ गर्यो भने उसलाई एक जनावर दिने योजना ल्याए। तर ती घुमन्ते समुदायका मानिसले सरकारी अधिकारीहरूलाई यसको सूचना दिए। त्यसपछि ती शिक्षकलाई दंडित गरेर देश निकाला गरियो।

यसरी हामी देख्छौं कि मैत्री, करुणा र प्रज्ञाको सन्देश बोकेर स्थानीय मानिसहरूको आवश्यकता र स्वाभावलाई उपयुक्त हुनेगरी परिमार्जित हुँदै बुद्धधर्म एशियाका अधिकांश भागमा शान्तिपूर्ण तवरले फैलियो।

Top