पुनर्जन्म के हो?

अन्य भारतीय धर्महरू जस्तै बुद्धधर्म पनि पुनर्जन्ममा विश्वास गर्छ। मानिसको चित्तको प्रवाह उसका सबै मानसिक प्रवृत्ति, प्रतिभा आदि गुणहरूसहित विगतका जन्महरूदेखि निरन्तर रहँदै भविष्यका जन्महरूमा जान्छ। व्यक्तिले गरेको कर्म र त्यसबाट सञ्चित बलका आधारमा उसको पुनर्जन्म विभिन्न प्रकारका उच्च वा नीच लोकहरूमा हुन सक्छ, उ मनुष्य, पशु, किराफट्याङ्ग्रा, भूतप्रेत, वा अन्य अदृश्य रूपहरूमा जन्मिन सक्छ। सबै सत्त्व आसक्ति, रिस, अबोधपन जस्ता क्लेशको वशीभूत भै अनेक बाध्यात्मक कर्म गर्छन् र त्यसबाट सिर्जित बलले पुनर्जन्म लिइरहन्छन्। यो पुनर्जन्ममा उनीहरूको कुनै नियन्त्रण हुँदैन। कसैले विगतको व्यवहारगत प्रवृत्तिका कारण चित्तमा उत्पन्न हुने क्लेश (नकारात्मक आवेगहरू) को वशीभूत भै अकुशल कर्म (नकारात्मक आचरण) गर्छ भने त्यसको फलस्वरूप दुःख भोग्छ। त्यसको विपरीत कसैले कुशल कर्म (सकारात्मक आचरण) गर्छ भने उसलाई खुशी प्राप्त हुन्छ। यसप्रकार हरेक व्यक्तिले भविष्यका जन्महरूमा भोग्ने सुख वा दुःख उसलाई कसैले पुरस्कार वा दण्डसजायका रूपमा दिने होइन, त्यो त उसले आफैं विगतमा गरेको कर्मअनुसार कार्य–कारणको नियमअन्तर्गत उत्पन्न हुने कुरा हो।

पुनर्जन्मलाई कसरी बुझ्ने?

कुनै पनि कुरा सत्य हो कि होइन भनेर कसरी जान्ने? बौद्ध शिक्षाअनुसार सत्य जान्ने दुई तरीका छन् ः प्रत्यक्ष र अनुमान। कुनै प्रयोगशालामा गरिने परीक्षणमा हामी वस्तुको अस्तित्वबारेको सत्यलाई प्रत्यक्ष रूपमा थाहा पाउन सक्छौं। जस्तै, तलाऊको पानीको थोपालाई माइक्रोस्कोपमा राखेर हेर्यौ भने त्यहाँ प्रशस्तै जिवाणु भएको कुरा सत्य हो भनी हामी प्रत्यक्ष रूपमा थाहा पाउन सक्छौं। 

तर केही कुरा प्रत्यक्ष रूपमा थाहा पाउन सकिन्न। त्यसका लागि हामीले तर्क, विश्लेषण र अनुमानको सहारा लिनुपर्छ। जस्तै चुम्बकीय शक्ति छ भन्ने कुरा हामी चुम्बक र फलामे सुईलाई नजीक राख्दा हुने प्रतिक्रियाको मद्दतले अनुमान लगाउन सक्छौं। पुनर्जन्मलाई प्रत्यक्ष रूपमा प्रमाणित गर्न अति कठिन छ। तर त्यस्ता कैयौं मानिसको उदाहरण हामीसँग छ जसले आफ्नो पूर्वजन्मको स्मरण गर्न सक्छन्, त्यो जन्मका आफ्ना व्यक्तिगत सामान ठम्याउन सक्छन्, र आफूसँग परिचित मानिसलाई पुनः चिन्न सक्छन्। यसबाट हामी पुनर्जन्म हुने कुरा सत्य भएको अनुमान लगाउन सक्छौं, यद्यपि कतिपय मानिस यस्तो निष्कर्ष निकाल्न नमिल्ने ठान्छन् र यसमा कुनै चाल छ कि भनेर शंका गर्छन्। 

पूर्वजन्म स्मरणका दृष्टान्तहरूलाई एकातर्फ राखौं र तर्कको मद्दतले यो कुरा बुझ्न खोजौं। परम पूजनीय दलाई लामाले भन्नुभएको छ – कुनै कुरा यथार्थसँग मेल खाँदैन भने उहाँ ती कुरालाई बुद्धधर्मबाट हटाउन राजी हुनुहुन्छ। पुनर्जन्मको हकमा पनि उहाँ त्यसै भन्नुहुन्छ। वास्तवमा उहाँले पुनर्जन्मकै सन्दर्भमा पहिलो पटक त्यो कुरा बताउनुभएको थियो। यदि वैज्ञानिकहरूले पुनर्जन्मलाई गलत साबित गर्न सक्छन् भने हामीले पुनर्जन्म सत्य हो भनेर मानिरहनु पर्दैन। तर यदि वैज्ञानिकहरूले यसलाई गलत साबित गर्न सक्दैनन् भने उनीहरूले यसको अस्तित्व हुन पनि सक्ला कि भनी अनुसन्धान गर्नुपर्छ, किनकि उनीहरूको बाटो तर्क र वैज्ञानिक विधिको बाटो हो, यसैबाट नयाँ नयाँ कुरा जान्न सकिन्छ। पुनर्जन्म हुँदैन भनेर ठोकुवा गर्नका लागि यसको अस्तित्व छैन भनी प्रमाणित गर्नुपर्ने हुन्छ। “मैले आफ्नो आँखाले देखेको छुइँन, त्यसैले पुनर्जन्म हुँदैन,” भन्नु त बेतुकको कुरा हो, यसले पुनर्जन्मको अस्तित्वविहीनता प्रमाणित गर्दैन। हाम्रो आँखाले नदेख्ने धेरै कुरा सत्य हुन्छन्, जस्तै चुम्बकीय शक्ति र गुरुत्वाकर्षण बल। 

पुनर्जन्म हुन्छ या हुँदैन भनेर जान्न तर्कपूर्ण विश्लेषण

वैज्ञानिकहरूले पुनर्जन्म हुँदैन भनेर प्रमाणित गर्न सक्दैनन् भने कदाचित् हुन पनि सक्ला भनेर अनुसन्धान गर्नु वाञ्छनीय हुन्छ। वैज्ञानिक विधि भनेको केही तथ्यका आधारमा एक सिद्धान्त लिनु र त्यसलाई प्रमाणित गर्न सकिन्छ कि भनेर परीक्षण गर्नु हो। त्यसैले हामीले तथ्यमाथि विचार गर्नुपर्छ। एक उदाहरण लिऊँ – शिशुहरू खाली क्यासेटजस्तो रित्तो जन्मिँदैनन्। शिशु अवस्थामा नै उनीहरूमा केही खास बानी र व्यक्तिगत विशेषताहरू विद्यमान हुन्छन्। त्यो कहाँबाट आउँछ?

त्यो सबै मातापिताबाट प्राप्त भौतिक चीजहरू (शुक्रकीट र डिम्ब) को निरन्तरताबाट मात्र आएको हो भन्न सकिँदैन। गर्भाशयमा एक ठाउँमा मिसिँदैमा सबै शुक्रकीट र डिम्ब भू्रणका रूपमा विकसित हुन पाउँदैनन्। त्यो के हो जसका कारण तिनीहरू भ्रूणका रूपमा विकसित हुन्छन् वा हुँदैनन्? शिशुमा अनेक जन्मजात बानी र प्रवृत्ति देखिनुको कारण के हो? हामी भन्न सकौंला त्यो सबै डिएनए र जीनका कारण भएको हो। त्यो त भौतिक कुरा भयो। शिशु अस्तित्वमा आउनुका पछाडि भौतिक कारण छ भन्नेमा त कसैको पनि विमति छैन। तर अनुभूतिको कुरालाई चाहिँ कसरी बुझ्ने? चित्त कहाँबाट उत्पन्न हुन्छ? 

संस्कृत वा तिब्बती भाषाबाट चित्तलाई अंग्रेजीमा अनुवाद गर्दा “माइन्ड” शब्द प्रयोग गरिएको छ, तर त्यसले ठ्याक्कै उही अर्थ दिँदैन। ती मूलभाषामा “माइन्ड” को अर्थ चित्तको स्तरमा भैरहेको गतिविधि वा सक्रियता हुन्छ, त्यो गतिविधि सञ्चालन गर्ने कुनै तत्त्व वा सत्ता होइन। यहाँ गतिविधि वा सक्रियता भन्नाले विचार, दृश्य, ध्वनि, आवेग, भावना, आदिको संज्ञानात्मक उत्पत्ति र तिनलाई देख्ने, सुन्ने, जान्ने वा नजान्ने आदि संज्ञाको तहमा हुने सहभागिता (जोडाइ) बुझिन्छ। 

कुनै व्यक्तिभित्र यस्तो संज्ञानात्मक वस्तु र तिनसँगको संज्ञानात्मक जोडाइ कहाँबाट उत्पन्न हुन्छ? हामी यहाँ उक्त व्यक्तिको भौतिक शरीर कहाँबाट आउँछ भन्ने प्रश्न गर्दैछैनौं, किनकि त्यो त मातापिताबाट प्राप्त हुन्छ भन्ने स्पष्टै छ। बुद्धि कहाँबाट आउँछ भन्ने पनि चर्चा गर्दैछैनौं किनकि त्यसका लागि पनि कुनै आनुवांशिक आधार प्रस्तुत गर्न सकिन्छ। तर कसैलाई चकलेट आइसक्रिम मन पर्छ भने त्यो पनि आनुवांशिक गुण हो भन्नु चाहिँ अतिशयोक्ति हुन जान्छ। 

हामी भन्न सक्छौं कि हाम्रा केही रुचिहरू हामी कुन पारिवारिक पृष्ठभूमि वा आर्थिक या सामाजिक परिस्थितिमा छौं, त्यसबाट प्रभावित हुन्छन्। यी कुराहरूको प्रभाव निश्चय नै हुन्छ। तर त्यसैले मात्र हामीले गर्ने हरेक कुरा निर्धारित गर्छ भन्न कठिन छ। उदाहरणका लागि, मलाई बालक छँदै योगमा रुचि उत्पन्न भयो। तर मेरो परिवार वा समाजमा कसैलाई पनि त्यस्तो रुचि थिएन। म बस्ने ठाउँ नजिक केही पुस्तक उपलब्ध थिए, त्यसैले तपाईं भन्न सक्नुहोला कि ममाथि सामाजिक परिस्थितिको प्रभाव थियो। तर मलाई हठयोगको एउटा खास पुस्तकमा किन रुचि उत्पन्न भयो? किन मैले त्यसलाई उठाएँ? यो अर्को प्रश्न हो। के सबैथोक संयोगवश वा भाग्यवश हुन्छ? कि तिनका पछाडि अरू कुनै कारण पनि छ? 

व्यक्तिभित्र चित्तसम्बन्धी गतिविधि कहाँबाट उत्पन्न हुन्छ?

अरू सबैथोकलाई एकातिर पन्छाएर हाम्रो मूल प्रश्नमा आऔं – व्यक्तिको चित्तमा संज्ञानात्मक वस्तुहरू र तिनसँगको संज्ञानात्मक जोडाइको सम्पूर्ण गतिविधि कहाँबाट उत्पन्न हुन्छ। यसरी संज्ञान गर्नसक्ने क्षमता कहाँबाट उत्पन्न हुन्छ? मानिसको जीवनको झिल्को कहाँबाट उत्पन्न हुन्छ? डिम्ब र शुक्रकीटको मिश्रणमा केले जीवन उत्पन्न गर्छ? यसलाई मानव केले बनाउँछ? त्यो के चीज हो जसले देख्ने र विचार उठ्ने जस्ता क्रियाको उत्पत्ति गराउँछ र त्यसमा व्यक्तिको संज्ञालाई लगेर जोड्छ? अर्थात् त्यो के हो जसले मानव मस्तिष्कको रासायनिक र विद्युतीय क्रियाकलापलाई व्यक्तिको अनुभूति बनाउँछ?

शिशुको चित्तमा हुने गतिविधि मातापिताबाट मात्र आएको हो भन्न पनि कठिन छ। आएको हो भने कसरी आयो? पक्कै त्यसको कुनै प्रक्रिया हुनुपर्छ। शिशुले संज्ञाको स्तरमा जान्ने गुण मातापिताबाट डिम्ब र शुक्रकीट पाएजसरी नै पाएको हो त? के त्यो रतिक्रियाको चरम अवस्थाबाट प्राप्त हुन्छ? वा गर्भाशयबाट डिम्ब निस्कँदा सँगै निस्कन्छ? अथवा शुक्रकीटमा हुन्छ? वा डिम्बमा मात्रै? मातापिताबाट कहाँनिर यो चित्तको गुण प्राप्त हुन्छ भन्ने कुराको तार्किक वा वैज्ञानिक जानकारी हुन नसक्दा हामीले यसको वैकल्पिक समाधान खोज्नुपर्ने हुन्छ। 

विशुद्ध तर्कको दृष्टिले हेर्ने हो भने कुनै पनि क्रियात्मक परिघटना (फङ्क्शनल फेनोमेना) त्यसको आफ्नै पूर्ववर्ती क्षणको निरन्तरताबाट आउँछ, जहाँ त्यस्तै प्रकारको परिघटना भएको हुन्छ। उदाहरणका लागि कुनै भौतिक परिघटनालाई लिऊँ, चाहे त्यो कुनै पदार्थ होस् वा उर्जा। त्यो पदार्थ वा उर्जा त्यसैको पूर्ववर्ती पदार्थ वा उर्जाबाट उत्पत्ति भएको हुन्छ। यसमा एकप्रकारको निरन्तरता हुन्छ। 

रिसको उदाहरण लिएर हेरौं। रिस उठ्दा शारीरिक स्तरमा उर्जा उत्पन्न हुन्छ, त्यो आफ्नै ठाउँमा छ। यहाँ हामी रिस उठ्दा चित्तको स्तरमा हुने गतिविधिको मात्र चर्चा गरौं – रिसको आवेग उठ्दै गरेको हामी अनुभव गर्न सक्छौं र त्यसको होशपूर्ण वा बेहोशीमै भए पनि जानकारी हुन्छ। त्यसरी कुनै व्यक्तिमा रिस उठ्दा हुने अनुभूतिका पछाडि यसै जन्ममा पहिला रिस उठेको अनुभूति हुनुपर्छ र त्यो त्यही अनुभूतिको निरन्तरता हुनुपर्छ। तर जीवनमा रिस पहिला कहाँबाट आयो? या त त्यो रिस हाम्रो मातापिताबाट आएको हुनुपर्छ, जसको प्रक्रिया के हो बताउन सकिँदैन। या त्यो हामीलाई सृष्टि गर्ने ईश्वरबाट आएको हुनुपर्छ। तर हाम्रो सृष्टि कुनै सर्वशक्तिमान तत्त्वले कसरी गर्छ भन्नेबारेको व्याख्यामा अनेक तार्किक असंगति छन्, र यसले समस्या खडा गर्छ। यस्ता समस्याबाट बच्ने वैकल्पिक व्याख्या के हो भने कुनै पनि व्यक्तिको जीवनमा उठ्ने रिसको अनुभूति त्यसको आफ्नै पूर्ववर्ती अनुभूतिको निरन्तरता हुनुपर्छ। पुनर्जन्मको सिद्धान्तले गर्ने व्याख्या पनि यही हो।   

चलचित्रसँग तुलना 

पुनर्जन्मलाई हामी चलचित्रसँग तुलना गरेर बुझ्न सक्छौं। जसरी अनेकौं चित्र–फ्रेमहरूको निरन्तरताबाट एक चलचित्र बन्छ, त्यस्तै अनेकौं परिघटनाप्रतिको हाम्रो चेतनाको अनवरत परिवर्तनशील निरन्तरताबाट हाम्रो चित्तसन्तान (चित्त–प्रवाह) उत्पन्न हुन्छ। यो एक जीवनकालभित्र पनि हुन्छ र एक जीवनबाट अर्को जीवनमा पुग्दा पनि निरन्तर रहन्छ। यसरी पुनर्जन्म लिने कुनै ठोस वा भेट्टाउन सकिने तत्त्व हुँदैन जसलाई हामी “म” अथवा “मेरो मन” भन्न सकौं। घुम्ने पट्टी (कन्भेयर बेल्ट) माथि राखिएको सानो मूर्ति एक ठाउँबाट अर्को ठाउँमा पुगेजस्तै एक जन्मबाट अर्को जन्ममा जाने रूपमा पुनर्जन्मलाई तुलना गर्न मिल्दैन। बरु यो चलचित्रजस्तो चाहिँ हो, जुन निरन्तर परिवर्तनशील हुन्छ। हरेक फ्रेम अघिल्लोभन्दा फरक हुन्छ, र तिनमा एक निरन्तरता हुन्छ। एक फ्रेम अर्कोसँग सम्बन्धित हुन्छ। त्यसैगरी हाम्रो चित्तसन्तानको निरन्तरताको पनि परिवर्तनशील क्रम हुन्छ, यद्यपि कतिपय क्षण बेहोशीको हुनसक्छ। फेरी, हरेक चलचित्र चलचित्रै भए पनि एक आपसमा फरक हुन्छन्। त्यस्तै व्यक्तिहरूको चित्तसन्तान पनि एउटै हुँदैन। यस्ता अनगिन्ति चित्तसन्तानमा चेतनाका धाराहरू बेग्लाबेग्लै रूपमा निरन्तर प्रवाहमान हुन्छन्। यी हरेकले आफूलाई आफ्नै परिप्रेक्ष्यमा “म” भन्ने नाम दिन्छन्। 

पुनर्जन्मको सवालमा हामी यही ढंगले तार्किक विश्लेषण गर्दै अनुसन्धान थाल्छौं। तार्किक विश्लेषणमा कुनै सिद्धान्त अर्थपूर्ण लाग्यो भने थप अनुसन्धान गर्दै आफ्नो पूर्वजन्मको स्मरण गर्नसक्ने व्यक्तिहरू पनि छन् भन्ने तथ्यलाई गम्भीरतापूर्वक लिन्छौं। यसप्रकार तर्कपूर्ण विश्लेषणका मद्दतले हामी पुनर्जन्मको वास्तविकता जाँच गर्छौं।

पुनर्जन्म लिने के हो?

बुद्धधर्मअनुसार पुनर्जन्म लिने भनेको त्यस्तो आत्मा होइन जो एक ठोस मूर्ति वा मानिस जसरी घुम्ने पट्टी (कन्भेयर बेल्ट) मा बसेर एक ठाउँबाट अर्को ठाउँमा पुग्छ, त्यसैगरी एक जीवनबाट अर्को जीवनमा प्रवेश गरोस्। घुम्ने पट्टीको तुलना समयसँग गरौं र यसमा सवार आफूलाई “म” भन्ने तत्त्वलाई ठोस र अचल आत्मा वा व्यक्तिसँग तुलना गरौं जसले समयको गति सँगसँगै “म अहिले युवा छु, अब म बुढो भएँ, म अहिले यो जुनीमा छु, अब म त्यो जुनीमा गएँ” भन्दछ। बुद्धधर्मअनुसार पुनर्जन्म भनेको त्यस्तो होइन। यहाँ पुनर्जन्मलाई चलचित्रसँग तुलना गर्नु ठीक हुन्छ। चलचित्रमा निरन्तरता हुन्छ, जहाँ एक फ्रेमपछि अर्को फ्रेम प्रवाहको रूपमा आउँछ। 

बुद्धधर्ममा म नै तिमी बन्छु वा हामी सबै एउटै चीज हौं भनिँदैन। हामी सबै एउटै चीज हौं भने दुई व्यक्तिलाई भोक लाग्दा एकजना कारभित्रै बसिराख्ने र अर्कोले मात्र बाहिर गएर खाँदा दुवैको पेट भरिनुपर्ने हो। तर त्यसो हुँदैन। हामी हरेकको निरन्तरताको व्यक्तिगत र अलग अलग क्रम हुन्छ। मेरो चलचित्रमा चल्ने क्रम तपाईंको चलचित्रमा चल्दैन। तर हामी दुवैको जीवन चलचित्रजस्तो अगाडि बढ्छ, अर्थात् यो ठोस र अचल हुँदैन। जीवन एक फ्रेमबाट अर्को फ्रेम गर्दै चलिरहन्छ। कर्मको नियमानुसार यसले एक क्रम लिन्छ र निरन्तर गतिशील रहन्छ। 

यो हरेक प्रवाह एक छुट्टै जीवन हो जसलाई “म” भन्न सकिन्छ। यस्तो कुनै प्रवाहलाई जीवन होइन भन्न मिल्दैन। चलचित्रको शीर्षकले सिंगै चलचित्र र त्यसका हरेक फ्रेमलाई एकमुष्ट जनाउँछ। त्यो शीर्षकको चलचित्र कुनै एउटा फ्रेममा मात्र ठोस रूपमा समेटिँदैन, त्यसरी नै “म” ले चित्तको प्रवाह र त्यसका अनेक क्षणहरूलाई भिन्नाभिन्नै रूपमा जनाउँदैन, ती सबैको समग्रतालाई जनाउँछ। कुनै एक क्षणमा मात्र यो ठोस रूपमा पाईंदैन। यसरी सापेक्षिक रूपमा भन्दा “म” वा “आत्मतत्त्व” हुन्छ। बुद्धधर्म उच्छेदवादी (पूर्ण नाशवादी) प्रणाली होइन।

के मानिसको पुनर्जन्म सधैँ मानिसकै रूपमा हुन्छ? 

यहाँ हामी चैतसिक गतिविधि र यसका विशेषता दर्शाउने सामान्य तत्त्वहरूबारे चर्चा गर्दैछौं। मानिसको चैतसिक गतिविधिको एक विशेषता मानव बुद्धि हो। हामीलाई ज्ञात नै छ, बुद्धिलाई “मन्द बुद्धि” देखि “अत्यन्त तीक्ष्ण बुद्धि” सम्म विभिन्न तहमा वर्गीकृत गर्न सकिन्छ। चैतसिक गतिविधिका अंग हुने अन्य धेरै तत्त्वहरू छन्, जस्तै – रिस, लोभ, आसक्ति, व्याकुलता, र यस्ता आवेगको वशमा परी गरिने बाध्यकारी कृत्यहरू। कतिपय मानिसमा यिनै तत्त्वहरूले चैतसिक गतिविधिलाई त्यो हदसम्म नियन्त्रण गरेका हुन्छन् कि उनीहरू आफ्नो मानव बुद्धिको प्रयोग गर्न सक्दैनन्। उनीहरू अधिकांशतः लोभ, रिस आदि आवेगको वशमा परी आफ्ना सबै कृत्य गर्छन्। 

उदाहरणका लागि, केही मानिसहरूमा यौनेच्छा असाध्यै ज्यादा हुन्छ। उनीहरू नयाँ मानिस भेट्न रक्सी खाने बारहरूको चक्कर लगाउँछन् र जो भेट्टायो उसैसँग यौनसम्पर्क स्थापित गर्छन्। उनीहरूले गर्ने यस्तो व्यवहार कुकुरको भन्दा फरक हुँदैन, कि कसो? कुकुरहरूले त्यसै गर्छन्, जुन कुकुर भेट्यो, जहाँ भेट्यो, जतिबेला भेट्यो, यौनसम्पर्क गर्न थालिहाल्छन्। उनीहरूमा आत्म–संयम भन्ने कुरै हुँदैन। मानिसले पनि त्यस्तै व्यवहार गर्ने हो भने पशुको जस्तो मानसिक प्रवृत्तिको बल संग्रह गर्छन्। यसलाई पुनर्जन्मको सन्दर्भमा विचार गरौं – त्यस्तो व्यक्तिको चैतसिक गतिविधिमा उक्त लालसाको मानसिकता अत्यन्तै हावी हुन्छ, र पुनर्जन्म हुँदा त्यसैको परिपूर्तिका लागि उपयुक्त हुने शरीरमा उ पुग्छ, अर्थात् उसको पुनर्जन्म पशुको योनिमा हुन्छ। यसमा कुनै आश्चर्य मान्नु पर्दैन। 

त्यसैले हामीले आफूले गर्ने कृत्यको जाँच गर्नुपर्छ – “के म यसरी नै कुनै पशुले गर्नेजस्तो कृत्य गरिरहेको छु?” झिंगाको उदाहरण लिऊँ। झिंगाको प्रवृत्ति भनेको पूर्णतः अस्थिर प्रवृत्ति हो। झिंगा एक ठाउँमा एक क्षणभन्दा बढी बसिरहन सक्दैन। उ सधैं उडिरहेको हुन्छ, सधैं यताउता भट्किरहेको हुन्छ। के हाम्रो मन त्यस्तै त छैन, झिंगा जस्तै? यदि हो भने हामीले कस्तो पुनर्जन्मको अपेक्षा गर्नुपर्ला? के हाम्रो पुनर्जन्म एक बुद्धिमान र उत्तम एकाग्रतावाला जीवका रूपमा हुन सक्ला? 

यसप्रकारले विचार गर्नाले हामीलाई के बुझ्न सजिलो हुन्छ भने मानवको पुनर्जन्म मानवकै रूपमा हुनुपर्छ भन्ने जरुरी छैन। हामी जुनसुकै पनि योनिमा जन्मिन सक्छौं, हामी उच्च वा नीच जुनै लोकमा पुग्न सक्छौं। यदि हामीले मानवका रूपमा धेरै कुशल कर्मको बल संग्रह गरेका रहेछौं भने पशुकै लोकमा जन्म भयो भने पनि जब विगतका पाशविक प्रवृत्तिहरूको बल सकिँदै जान्छ, तब ती कुशल कर्म हावी हुन थाल्छन् र पुनः हाम्रो जन्म मानव लोकमा हुनसक्छ। हामी सदा सर्वदा नीच लोकमा मात्र जन्मिरहनका लागि अभिसप्त छैनौं। 

यहाँनेर के बुझ्नु आवश्यक छ भने हाम्रो चैतसिक गतिविधिमा यो मानवको हो वा पुरुष वा महिलाको हो भनेर छुट्याउने कुनै अन्तर्निहित तत्त्व छैन। त्यहाँ विशुद्ध चैतसिक गतिविधि मात्र हुन्छ। पुनर्जन्मको खास निर्धारणकर्ता कर्म हो अर्थात् हामीले बाध्यात्मक ढंगले गर्ने कृत्यका कारण बनेका अनेक आदतहरूको बल हो। अर्को जन्ममा यस्ता आदतहरूलाई क्रियान्वित गर्न उपयुक्त आधार प्राप्त हुने खालको शरीर हामी पाउनेछौं। 

सारांश

पुनर्जन्मको बौद्ध व्याख्यालाई तर्कको कसीमा राखेर जाँच गर्ने हो भने हामीले कार्य–कारणको त्यो प्रक्रियाको अध्ययन गर्नुपर्छ जसले व्यक्तिको चित्तसन्तान अर्थात् चित्तसम्बन्धी गतिविधिको कहिल्यै नसकिने प्रवाहलाई प्रभावित गर्छ। यसबाट हामी अनादिकालदेखि पुनर्जन्मको सिलसिला चलिरहेको छ र यसलाई आफ्नै अघिल्लो जीवनकालमा संग्रह गरेको कर्मको बलले निर्धारण गर्छ भन्ने निष्कर्षमा पुग्छौं।

Top