आर्यदेव श्रीलंकाको राजपरिवारमा जन्मिनुभएको थियो। उहाँको जीवनकाल करीव ईस्वी दोश्रो शताब्दीको मध्यदेखि तेश्रो शताब्दीको मध्यसम्म रहेको थियो। उहाँ कमलको फूलबाट उत्पत्ति हुनुभएको थियो भन्ने भनाई पनि छ। सानै उमेरमा भिक्षु बनेर बौद्ध धर्मग्रन्थ त्रिपिटकको अध्ययन गरिसकेपछि आर्यदेव दक्षिण भारतका राजा उदयीभद्रको शातवाहन राज्यमा नागार्जुनसँग शिक्षा ग्रहण गर्न आउनुभयो। राजा उदयीभद्रले नागार्जुनबाट सुहृल्लेख र रत्नावली ग्रन्थहरू चिठीको रूपमा प्राप्त गर्नुभएको थियो। आर्यदेव नागार्जुनसँग अध्ययन गर्ने क्रममा उहाँसँगै हाल भारतको आन्ध्रप्रदेशस्थित नागार्जुनकोन्ड उपत्यका नजीकको पवित्र श्रीपर्वत जानुभएको थियो। यो स्थान तत्कालीन शातवाहन राज्यमै पर्दथ्यो।
त्यसबेला मातृचेट नाम गरेका एक शिवभक्त थिए जसले नालंदामा सबैलाई शास्त्रार्थमा पराजित गरिरहेका थिए। उनको चुनौतीको सामना गर्न आर्यदेव पनि त्यहाँ जानुभयो। बाटोमा उहाँले एक बृद्ध महिला भेट्नुभयो जो विशेष शक्तिहरू प्राप्त गर्ने उद्देश्यले प्रयत्न गर्दै थिइन्। उक्त प्रयोजनका लागि उनलाई एक विद्वान भिक्षुको आँखा चाहिने थियो। करुणा भावले ओतप्रोत भई आर्यदेवले ती महिलालाई आफ्नो एक आँखा चढाउनु भयो। तर आँखा हात पर्ने वित्तिकै ती महिलाले त्यसलाई ढुंगाले कुच्याईदिइन्। उक्त घटना पछाडि आर्यदेवलाई ‘एकचक्षु’को रूपमा चिनिन थालियो। नालन्दा पुगेर आर्यदेवले मातृचेटलाई शास्त्रार्थमा मात्र नभई अन्य विशेष शक्तिहरूको प्रतिस्पर्धामा पनि हराउनुभयो। त्यसपश्चात् मातृचेट आर्यदेवको शिष्य बने।
आर्यदेव नालन्दामा धेरै वर्ष रहनुभयो। तर पछि उहाँ फेरी नागार्जुनकहाँ फर्कनुभयो। नागार्जुनले आफ्नो मृत्युअघि सबै विद्या आर्यदेवलाई सुम्पिनुभयो। आर्यदेवले दक्षिण भारतका भूभागमा कैयौं विहारहरू स्थापित गर्नुभयो र सवैतिर शिक्षा प्रदान गर्दै हिड्नुभयो। यसरी उहाँले महायान परम्पराको स्थापना गर्नुभयो। खासगरी आफ्नो ग्रंथ बोधिसत्वयोगचर्या चतुःशतक शास्त्र कारिका को सहायताले माध्यमिक दर्शनका सिद्धान्तहरू स्थापित गर्नुभयो। यस ग्रंथलाई संक्षिप्तमा चतुःशतक पनि भनिन्छ। नागार्जुनजस्तै आर्यदेवले पनि गुह्यसमाज तंत्रका बारेमा टीकाहरू लेख्नु भएको थियो।