शून्यता, जसलाई अंग्रेजीमा “इम्प्टिनेस” भनेर अनुवाद गरिएको छ, बुद्धले दिनुभएको प्रमुख शिक्षामध्ये एक हो। बुद्धले के बोध गर्नुभयो भने मानिसहरूमा आफू, अरू, र सबै चीज कसरी अस्तित्ववान छन् भन्ने विषयमा भ्रम हुन्छ र हरेकले आफ्नो जीवनमा भोग्ने समस्याहरूको खास कारण यही भ्रम हो। उनीहरूको मनले हरेक चीजको असम्भव अस्तित्व प्रक्षेपण गरिरहेको हुन्छ। आफूले गरेको प्रक्षेपण यथार्थसँग मेल खाँदैन भन्ने थाहा नहुने अज्ञानका कारण मानिसहरूले आफ्नो र अरूको लागि समस्या तथा दुःखको सिर्जना गर्छन्। उदाहरणका लागि, यदि हामीले आफूलाई असफल व्यक्तिका रूपमा प्रक्षेपण गर्यौं र जे गरे पनि जीवनमा म सफल हुन्न भन्ने ठान्यौं भने हीनभावनाले युक्त भै निराशामा डुब्ने मात्र होइन कि आत्मविश्वासको कमीका कारण आफ्नो सुधारको काम पनि नगर्ने बन्छौंं। र, आफ्नो जीवनलाई नीचस्तरमा सीमित गरिदिन्छ
शून्यता भनेको पूर्ण विहीनता हो, त्यस्तो अस्तित्वको विहीनता जसलाई हामी आदतवश गरिने कल्पनामार्फत प्रक्षेपण गर्छौं। आफूले गरेको कल्पनालाई नै सत्य ठान्ने यो आदत हामीभित्र जरो गाडेर बसेको छ। यसैले हामीलाई त्यस्तो प्रक्षेपण गर्न बाध्य बनाउँछ। उदाहरणका लागि “असफल” एक शब्द र कल्पना मात्र हो। यदि हामीले आफूलाई “असफल” व्यक्तिको ठप्पा लगाउँछौं, र “असफल” शब्द वा पदसँग आफूलाई जोड्छौं भने के बुझ्नुपर्छ भने यो केबल तात्कालिक अर्थ दिने शब्द मात्र हो। हुन सक्छ, जीवनमा कुनैबेला हामी साँच्चै असफल भयौं होला, या यो पनि हुन सक्छ कि हामी असफलै भएको त होइन, तर परिपूर्णता (पर्फेक्सन) खोज्ने बानीले गर्दा मैले राम्रो गर्न सकिनँ भन्ने लागेको होस्। जे भए पनि हाम्रो जीवन कुनै एक असफलताभन्दा निकै ठूलो छ र यसमा सफलता वा असफलता बाहेक पनि धेरै थोक घटित भैसकेको छ। तर आफूलाई “असफल” भनेर ठप्पा लगाउनाले हामी मानसिक रूपमा आफैंलाई एक “असफल” कोटिको टोकरीभित्र राख्छौं र त्यही टोकरीमा अस्तित्ववान एक प्राणीको रूपमा सम्झिन्छौं। वास्तवमा यहाँ हामी आफूमा भित्रैदेखि केही खराब वा गलत छ त्यसैले म यही टोकरीमा रहन योग्य हुँ भन्ने विश्वास गरिरहेका हुन्छौं। यो विश्वासले नै हामीलाई यस्तो टोकरीभित्र रहने बनाइदिन्छ। र, हामीले आफ्नो जीवनमा अरू जति धेरै काम गरेका भएपनि वा अरूले हाम्रा बारेमा जे सोचेपनि बेकारै जानेछ।
यसरी असफलताको टोकरीभित्र आफैं थन्किनु, त्यहीँ रहन आफू योग्य छु भन्ने सोच्नु कपोल कल्पनाको उपज मात्र हो। यथार्थसँग यसको सरोकार छैन। असफलताको टोकरीमा थन्किनुपर्ने अस्तित्व कसैको पनि हुँदैन। असफल भन्ने शब्द र कल्पनालाई आफूप्रति लक्षित गरेको आधारमा नै असफल व्यक्तिका रूपमा हाम्रो अस्तित्व भएजस्तो लाग्ने हो। तर “असफल” वा “असफल व्यक्ति” केवल तात्कालिक अर्थ दिने शब्दहरू मात्र हुन्। कुनै बेला त्यसको सही अर्थ पनि लाग्न सक्छ, जस्तो कि तासको खेलमा हारेको व्यक्ति तात्कालिक परिस्थितिमा असफल नै हो। तर कहिल्यै जित्नै नसक्ने, साँच्चिकै हरुवा, वा अस्तित्वबाटै “असफल” कोही पनि पनि हुँदैन।
असफल व्यक्तिलाई वास्तविक अस्तित्ववाला ठानेर आफूलाई त्यसमा आत्मसात गर्नु यथार्थभन्दा भिन्न कुरा हो, अर्थात् यो सोच यथार्थबाट शून्य छ। यो बोध भयो भने हामी बुझ्नेछौं कि त्यस्तो अस्तित्व हुने कुरै आउँदैन। यसको यथार्थसँग कुनै सम्बन्ध छैन। कुनै बेला केही कुरामा असफल भएपछि “असफल” भन्ने शब्द वा अवधारणालाई सिंगै आफैंमा लागू गरेको हुनाले म साँच्चिकै असफल नै हुँ भन्ने भाव आउँछ। तर हामीभित्र त्यस्तो केही अन्तर्निहित खराबी छैन जसले आफ्नै बुतामा हामीलाई स्थायी हरुवा र केवल हरुवा मात्र बनाओस्। यस्तो असम्भव अस्तित्वको पूर्ण विहीनता नै शून्यता हो। भूत, वर्तमान वा भविष्य, कुनै कालमा पनि यसप्रकारको अस्तित्व कसैको हुन सक्दैन।
शून्यताको एकदमै राम्रोसँग बोध भयो भने मात्र हामी आफ्ना कल्पनाहरूलाई विखण्डित गर्न र तिनमा विश्वास गर्न बन्द गर्न सक्छौं। शून्यताबोधको ध्यान अभ्यासका मद्दतले कुनै बेला आदतवश आफूलाई असफलको ठप्पा लगाउन पुग्यौं भने त्यसप्रति सचेत हुन, यस्तो सोच निरर्थक रहेको जान्न, र कोरा कल्पनालाई बन्द गर्न सक्छौं। अन्ततः हामी यो बानीलाई तोड्न र आफूलाई असफल ठान्न सधैँका लागि बन्द गर्न सक्छौं।
सारांश
कुनै पनि कुराको अस्तित्व असम्भव तरिकाले हुँदैन भन्नुको मतलब कुनै चीजको पनि अस्तित्व छैन भन्ने होइन। शून्यताले केवल असम्भव अस्तित्वलाई मात्र नकार्छ, जस्तै आफ्नै मात्र बुतामा स्थापित अन्तर्निहित अस्तित्व। व्यावहारिक सजिलोका लागि “यो” वा “त्यो” भनिने शब्द वा अवधारणाले जेजति चीजलाई जनाइन्छ ती कुनै पनि चीज अस्तित्वमा छैनन् भन्नु यसको तात्पर्य होइन।