शास्त्रार्थको उद्देश्य र लाभ

02:41
बुद्धधर्ममा शास्त्रार्थको प्रयोजन अरुलाई तर्कबलले हराउने होइन। यसको प्रयोजन त विद्यार्थीहरूलाई विषयवस्तुको बोध सुदृढ बनाउन सहयोग गर्ने हो, ताकि उनीहरूलाई ध्यानको अभ्यास गर्नेबेला कुनै शंका बाँकी नरहोस्। यसमा कक्षाका प्रत्येक विद्यार्थीले आफ्नो सहपाठीलाई कुनै विषयमा आफ्नो कुराको पुष्टि गर्न चुनौती दिन्छन्। त्यसका लागि उनीहरू प्रश्न सोध्छन् र अर्काले दिएको उत्तरमा कुनै तालमेल नमिलेको भेट्नासाथ त्यसलाई औंल्याइहाल्छन्। यो प्रक्रियाबाट प्रश्न गर्ने र उत्तर दिने दुबैलाई लाभ हुन्छ।

बुद्धधर्मको शिक्षामा शास्त्रार्थको एक प्रमुख उद्देश्य तपाईंलाई एक स्पष्ट र निश्चयात्मक बोध (तिब्बतीमा ङेशे) को विकास गर्न सहयोग गर्नु हो। तपाईं कुनै विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहुन्छ र तपाईंको सहपाठीले त्यसलाई अलग अलग कोणबाट चुनौती दिन्छ। यदि उसले दिएका सबै चुनौतीबाट आफ्नो दृष्टिकोणको बचाउ गर्न सक्नुभयो भने तपाईंले पाउनुहुनेछ कि तर्कको दृष्टिले तपाईंको बुझाईमा कुनै अन्तर्विरोध छैन, त्यहाँ कुनै विरोधाभाष छैन। तब तपाईं उक्त दृष्टिकोणमा एक निश्चयात्मक बोधका साथ आफ्नो ध्यान केन्द्रित गर्न सक्नुहुन्छ। यस्तो बोध अटल हुन्छ। यसबाट जुन चित्तवृत्तिको विकास हुन्छ, त्यसलाई हामी दृढ विश्वास (तिब्बतीमा मोपा) भन्छौं। अनित्यता, आफू र अरुबीचको समानता, अरुप्रतिको सम्मान, बोधिचित्त, शून्यता आदि कुनै विषयमा एकाग्रचित्त भएर ध्यान गर्नका लागि यस्तो दृढ विश्वासमा आधारित बोध र दृढ निश्चयको आवश्यकता हुन्छ। तपाईं आफू एक्लै, केवल विश्लेषणात्मक ध्यान वा धर्मचिन्तनद्वारा मात्र यस्तो निश्चयात्मक बोधको विकास गर्ने प्रयास गर्न सक्नुहुन्छ तर त्यसो गर्दा तपाईंको बोधलाई चुनौती दिने कोही हुँदैन। बरु आफ्ना विद्वत् सहपाठी समूहसँग शास्त्रार्थ गर्दा तपाईंको बोध निखारिन पाउँछ। उनीहरूले तपाईंको बुझाईमा भएका कमीकमजोरी वा अन्तर्विरोधहरू सजिलै पत्ता लगाइदिन सक्छन्, जुन तपाईं आफैं कदापि गर्न सक्नुहुन्न।

यसका अतिरिक्त वादविवाद गर्दा जुन वातावरण बन्छ, त्यो एकाग्रता विकास गर्ने दृष्टिले नयाँ साधकहरूका लागि ध्यान अभ्यासभन्दा बढी सहयोगी हुन्छ। आफ्ना सहपाठी विद्यार्थीद्वारा दिइएको चुनौती र श्रोताका रूपमा कक्षामा अन्य विद्यार्थीहरूको उपस्थितिले तपाईंलाई आफ्नो एकाग्रता कायम राख्न बाध्य बनाउँछन्। तर एक्लै ध्यान अभ्यास गर्दा चित्त भट्किन र निदाउनबाट बच्नका लागि तपाईंसँग आफ्नो इच्छाशक्ति मात्रै हुन्छ। यसका अलावा गुम्बाको प्रांगणमा एकैसाथ शास्त्रार्थका थुप्रै समूहहरू हो-हल्लासहित सञ्चालित हुन्छन्। त्यो स्थितिमा तपाईं आफ्नो एकाग्रतालाई कायम राख्न बाध्य हुनुहुनेछ। छेउछाउमा चलिरहेका वादविवादका कारण तपाईंको एकाग्रता भंग भयो वा तपाईंलाई झर्को लाग्यो भने तपाईं हार्नुहुनेछ। यदि शास्त्रार्थ प्रांगणमा एकाग्रता कायम राख्ने कौशलको विकास भयो भने तपाईंले त्यसलाई आफ्नो ध्यान साधनामा उपयोग गर्न सक्नुहुनेछ, र धेरै हो-हल्ला हुने ठाउँमा पनि तपाईंलाई समस्या हुनेछैन।

त्यस्तै, शास्त्रार्थले तपाईंको व्यक्तित्व विकासमा सहयोग गर्छ। तपाईं लजाएर एउटा कुनामा बसेर शास्त्रार्थ गर्न सक्नुहुन्न। आफ्नो प्रतिद्वन्द्वीले चुनौती दिँदा तपाईंले बोल्नैपर्छ। अर्कातर्फ, तपाईंमा घमण्ड वा रिस जाग्यो भने दिमागले राम्रोसँग काम गर्दैन र प्रतिद्वन्द्वीले जित्नेछ। हरेक क्षण तपाईंले आफ्नो भावनात्मक सन्तुलन कायम राख्नुपर्छ। तपाईंको जित वा हार जे भए पनि शास्त्रार्थले तपाईंलाई आफ्नो “म” लाई चिन्ने अवसर दिन्छ, जसलाई जित्नुछ। “मैले जितेँ, म धेरै बुद्धिमान छु,” या “म हारेँ, म कति मूर्ख छु,” – यस्तो सोच आयो भने तपाईं आफूलाई अत्यधिक महत्वपूर्ण र मूर्त ठान्ने “म” सँग परिचित हुन पाउनुहुनेछ। यही “म” भावलाई तपाईं आफू भन्ने ठान्नुहुन्छ। जबकि यो “म” एक कोरा कल्पना मात्र हो, जसको खण्डन गर्नु आवश्यक छ। 

यदि तपाईं शास्त्रार्थमा आफ्नो प्रतिद्वन्द्वीका अगाडि उसको दृष्टिकोण तर्कसम्मत छैन भन्ने प्रमाणित पनि गर्नुहुन्छ भने त्यसले तपाईं धेरै बुद्धिमान र उ मूर्ख भएको सिद्ध हुँदैन। यो कुरालाई याद राख्नुपर्छ। तपाईंको प्रेरणा सदैव यही हुनुपर्छ कि आफ्नो प्रतिद्वन्द्वीलाई तर्कद्वारा सिद्ध गर्न सकिने सबै विषयका बारेमा स्पष्ट बोध र दृढ विश्वास विकास गर्न सहयोग गर्न सकियोस्।

Top