बौद्ध शिक्षाको परीक्षणका चार कसी

कुनै बौद्ध शिक्षा सही छ या छैन भन्ने कुराको सावधानीपूर्वक परीक्षण गर्नुपर्छ। यदि हामी कुनै असल गुणको विकास गर्न चाहन्छौं भने त्यसका लागि केकस्तो पूर्वतयारी गर्नुपर्छ, उक्त गुणको विकास भैसकेपछि त्यसले हामीलाई कसरी सहयोग गर्छ, त्यसबाट प्राप्त लाभ तार्किक दृष्टिबाट सही छ कि छैन र वास्तविकतासँग मेल खान्छ कि खाँदैन भनेर जान्नु आवश्यक हुन्छ। यी सबै मापदण्डमा उत्तम ठहरियो भने उक्त शिक्षालाई हामी आत्मविश्वासका साथ व्यवहारमा उतार्न सक्छौं।

धर्मको अभ्यासमा सफलताका लागि यथार्थपरक दृष्टिकोण राख्नु आवश्यक हुन्छ। धर्मशिक्षा जीवन जगतको यथार्थसँग मेल खाने खालको छ कि छैन भनेर परीक्षण गर्नुपर्छ। यस्तो परीक्षणका लागि बुद्धले प्रमाणका चार कसी (चार युक्ति, तिब्बतीमा रिग्पा शी) को शिक्षा दिनुभएको छ। यी चार कसी बुद्धधर्मका आधारभूत मान्यताहरू हुन्। यहाँनेर बुद्धले भन्नुभएको कुरा स्मरणीय छ, “कुनै पनि शिक्षा मप्रति श्रद्धा वा सम्मान भएका कारण मात्र ग्रहण नगर। त्यसलाई सुन किन्न लागेको बेला जसरी जाँचेर हेरिन्छ, त्यसैगरी आफैंले जाँचेर हेर।”

ती चार कसी निम्नानुसार छन् ः 

  • निर्भरताको कसी (अपेक्षा युक्ति, तिब्बतीमा तोपाई रिग्पा)
  • व्यावहारिकताको कसी (कार्यकारण युक्ति, तिब्बतीमा झ्येपे रिग्पा)
  • तर्कको कसी (प्रमाण युक्ति, तिब्बतीमा छेमाई रिग्पा)
  • प्रकृतिको कसी (धर्मता युक्ति, तिब्बतीमा छोन्यी क्यी रिग्पा)

चोङ्खापाले आफ्नो ग्रन्थ महान् मार्ग क्रम (लाम्-रिम्-छेन्मो) मा यसको कसरी व्याख्या गर्नुभएको छ, त्यो चर्चा गरौं।

निर्भरताको कसी

निश्चित चीजहरू आफ्नो आधारका लागि अन्य चीजहरूमा निर्भर हुन्छन्। यो नै प्रमाणको पहिलो कसी अर्थात् निर्भरताको कसी (अर्थात् अपेक्षा युक्ति) हो। कुनै पनि परिणाम प्राप्त हुनका लागि त्यसका हेतु र प्रत्ययहरू हुनुपर्छ। यो हामी सबैले मान्ने सिद्धान्त हो। यसबाट हामीले के बुझ्ने? हरेक चीज अन्य चीजहरूमा निर्भर गर्ने भएकाले हामी जुन गुण या विषयको बोध विकसित गर्न चाहन्छौं, त्यो कुन कुन कुरामा निर्भर गर्छ भन्ने कुराको जाँच गर्नुपर्छ। र, ती चीजहरूको आधार निर्माणका लागि के पूर्वतयारी आवश्यक छ भन्ने कुराको जाँच गर्नुपर्छ।

आध्यात्मिक सिद्धिको प्रत्येक स्तर कुनै अन्य सिद्धि वा कारक तत्त्वमा निर्भर हुन्छ। उदाहरणका लागि, यदि हामी सविवेक बोध वा शून्यता वा यथार्थबोधको विकास गर्न चाहन्छौं भने हामीले उक्त बोध कुन कुरामा निर्भर गर्छ भनेर अनुसन्धान गर्नुपर्छ। त्यसका लागि एकाग्रता चाहिन्छ। एकाग्रता भएन भने हामी बोधको विकास गर्न सक्दैनौं। त्यसो भए एकाग्रता केमा निर्भर गर्छ त? एकाग्रताको आधार हो, आत्मानुशासन। यदि चित्त भट्किँदा त्यसलाई पुनः आफ्नो स्थानमा ल्याउने अनुशासन हामीसँग छैन भने एकाग्रता पनि हुन सक्दैन। त्यसैले यदि हामी शून्यताको सविवेक बोध हासिल गर्न चाहन्छौं भने प्रथमतः केही मात्रामा भए पनि आत्मानुशासन र एकाग्रताको विकास गर्नु आवश्यक हुन्छ। 

धर्मको अध्ययनमा यो पहिलो कसीको उपयोग गर्नु एकदमै आवश्यक छ। हामीमध्ये धेरैले ग्रन्थहरूमा पढेका राम्राराम्रा कुराहरू आफ्नो जीवनमा हासिल गर्ने चाहना राख्छौं। तर यदि आफ्ना चाहनालाई यथार्थपरक दृष्टिले हेर्ने हो भने तिनको प्राप्ति केमा निर्भर गर्छ भन्ने अनुसन्धान गर्नु जरुरी हुन्छ। लक्ष्य हासिल गर्न कुन कुन कुराको आवश्यकता पर्छ भन्ने थाहा भएपछि हामी ती कुराहरूलाई कसरी सिद्ध गर्ने, जान्दछौं। ती कुरालाई आधार बनाएर हामी अगाडि बढ्छौं। यसरी हाम्रो अभ्यास व्यावहारिक बन्छ। 

व्यावहारिकताको कसी

प्रमाणको दोस्रो कसी व्यावहारिकता कसी (अर्थात् कार्यकारण युक्ति) हो। हेतु र प्रत्ययमा आधारित जुनसुकै चीजको फेरी आफ्नै विशिष्ट कार्य र परिणाम हुन्छ। जस्तै, आगोले जलाउने कार्य गर्छ। जलाउने कार्य आगोले गर्छ, पानीले गर्दैन। यो एक स्वयंसिद्ध प्रमाण हो जसलाई हामी सबै स्वीकार गर्छौं। बुद्धधर्ममा पनि यो स्वयंसिद्ध प्रमाण हो। यो चर्चाको तात्पर्य के हो? यसको तात्पर्य के हो भने धर्मको अध्ययनमा कुनै चीजले गर्ने विशिष्ट कार्यको हामीले अनुसन्धान गर्नुपर्छ। हामीलाई निश्चित चित्तावस्था निर्माणको निर्देशन दिइएको हुन्छ, जस्तै मैत्री र एकाग्रता। यी त्यस्ता चित्तावस्थाहरू हुन्, जसको विकास हामीले गर्नुपर्छ। त्यसैगरी भ्रम र रिसजस्ता चित्तावस्थाहरू पनि छन्, जसबाट आफूलाई मुक्त गराउनुपर्छ। यसका लागि निश्चित विधिहरूको शिक्षा दिइएको छ। ती विधिहरू राम्ररी जान्न तिनले कसरी काम गर्छन् अर्थात् तिनको कार्य के हो, बुझ्नु आवश्यक हुन्छ। केही कुराहरू एक आपसका लागि सहयोगी हुन्छन्, केही हुँदैनन्। त्यस्तै केही चित्तावस्थाहरूले अन्य चित्तावस्थाको निर्माण वा विकास गर्न सहयोग गर्छन्। 

उदाहरणका लागि, मैत्रीभाव विकसित गर्ने ध्यान साधनाको कुनै विशिष्ट विधिको विवेचना र अनुभव गर्नाले उक्त विधिप्रति हाम्रो विश्वास बढ्छ। हामी यसरी जाँच गर्छौं – “यो सही हो कि हैन?” त्यसपछि उक्त विधिलाई  अनुभवद्वारा जान्ने प्रयास गर्छौं। यसो गर्नुको प्रयोजन उक्त विधिका बारेमा विश्वस्त हुनु हो। साधनाको कुनै विधि सही भएको र त्यसले गर्ने काम प्रभावकारी भएकोमा विश्वस्त हुँदा के फाइदा हुन्छ? उक्त विधि अपनाएर साधना गर्ने हाम्रो क्षमता बढ्छ। आफूले गर्न लागेको काममा हामीलाई विश्वास नै भएन भने हामी उक्त काम गर्दैनौं। यदि त्यसको प्रत्येक चरणबाट हुने लाभका बारेमा जान्यौं भने प्रत्येक चरणलाई नै हामी पूरा मनोयोगका साथ सम्पन्न गर्छौं। तर यदि हामीले त्यसलाई जान्न सकेनौं भने त्यसका कुनै चरणको पनि अभ्यास गर्दैनौं।

यसका अलावा एउटा चीजलाई नष्ट गर्न वा त्यसको खण्डन गर्न अर्कोले कसरी कार्य गर्छ, त्यो पनि जान्नुपर्छ। उदाहरणका लागि, कुनै द्विविधा वा असमञ्जसतालाई नष्ट गर्न सम्बन्धित विधिले कसरी काम गर्छ, जान्नुपर्छ। उक्त विधिका बारेमा वा त्यसलाई अनुसरण गर्ने आफ्नो क्षमताका बारेमा विश्वासको अभाव भयो भने त्यसले हाम्रो सफलतामा बाधा पुर्याउँछ।

हामीले सिकेका हरेक चीज र साधनाका लागि उठाएका हरेक कदमले केलाई बढाउँछ र केलाई नष्ट गर्छ भन्ने जान्नु एकदमै महत्त्वपूर्ण छ। यसो गर्दा आफ्नो प्रयासका बारेमा हाम्रो दृष्टिकोण व्यावहारिक हुन जान्छ। उदाहरणका लागि, मैत्रीभावजस्तो सकारात्मक चित्तवृत्ति वा दृष्टिकोण विकसित गर्न किन जरुरी छ? यसको एक मान्य कारण के हो भने यसबाट चित्त शान्त हुन्छ र हामी अरुलाई सहायता गर्न योग्य हुन्छौं। र, रिस जस्तो कुनै नकारात्मक चित्तवृत्तिबाट मुक्त हुँदा हामीलाई के फाइदा हुन्छ? फाइदा हुन्छ किनकि रिसबाट मुक्त हुनु भनेको रिसका परिणामहरूबाट पनि मुक्त हुनु हो। रिसबाट अरुका लागि र स्वयं आफ्नो लागि अनेक समस्याहरू उत्पन्न हुन्छन्। धूम्रपानजस्ता विनाशकारी व्यवहार र बानीहरूलाई त्याग्न चाहन्छौं भने पनि यही कुरा जान्नु आवश्यक हुन्छ। कुनै कामको परिणाम के हुन्छ, त्यो हामीले जान्नुपर्ने हुन्छ। जस्तै, धूम्रपान गर्दा हाम्रो फोक्सोमा कस्तो असर पर्छ, त्यो जानेपछि धुम्रपान किन त्याग्नुपर्ने हो भन्ने पनि थाहा हुन्छ। यसरी हामी व्यावहारिकताको कसीबाट परीक्षण गर्छौं।

तर्कको कसी

प्रमाणको तेस्रो कसी (अर्थात् प्रमाण युक्ति) तर्कद्वारा कुनै कुरा स्थापित गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। कुनै पनि कुरा तबमात्र स्थापित वा प्रमाणित हुन्छ जब बोध वा ज्ञानको कुनै प्रामाणिक माध्यमले त्यसको खण्डन गर्दैन। प्रथमतः हामीले यो जाँच्नुपर्छ कि धर्मका रूपमा हामी जे सिक्दैछौं, धर्मशास्त्रका कुनै निकायद्वारा त्यसको खण्डन गरिएको छ कि छैन। कुनै शिक्षा धर्मको शिक्षा हो कि होइन कसरी निश्चय गर्ने? यदि त्यो शिक्षा बुद्धद्वारा दिइएको शिक्षासँग मेल खान्छ भने त्यो धर्मको शिक्षा हो। तर बुद्धले फरक फरक शिष्यलाई फरक फरक शिक्षा दिनुभएको थियो, जुन सतही रूपमा परस्पर विरोधी जस्तो लाग्छ। त्यसो भए बुद्धको गूढतम आशय के थियो भन्ने कसरी थाहा पाउने? भारतीय आचार्य धर्मकीर्तिले यसलाई यसरी बुझाउनु भएको छ – यदि कुनै शिक्षा बुद्धका उपदेशहरूमा बारम्बार आउँछ भने हामीले बुझ्नु पर्छ कि बुद्ध त्यसलाई महत्वपूर्ण ठान्नुहुन्थ्यो। नैतिकताका विषयहरूमा यो कुरा विशेष तवरले महत्वपूर्ण छ।

कुनै कुरालाई प्रामाणिक तरीकाबाट जान्ने दोस्रो उपाय हो, त्यसलाई तर्क तथा निष्कर्षको सहायताले बुझ्ने। उक्त कुरा तर्कसम्मत छ कि तर्कविरुद्ध? के त्यसलाई सामान्य बोधद्वारा बुझ्न सकिन्छ? कि त्यो बिल्कुलै अस्वाभाविक छ? जान्ने तेस्रो प्रामाणिक तरीका भनेको त्यसलाई स्पष्ट बोधको सहायताले जान्ने हो। जब हामी वास्तवमै ध्यानसाधना गर्छौं, त्यतिबेला हाम्रो अनुभवले उक्त कुराको खण्डन गर्छ कि पुष्टि?

अब हामी एक उदाहरणका माध्यमबाट यो कसीको उपयोग कसरी गर्ने, हेरौं। मानिलिउँ, हामीले यस्तो शिक्षा पाएका छौं – विरोधी गुण प्रयोग गरेर कुनै त्रुटि या समस्याको हल गर्न सकिन्छ, जस्तै “मैत्रीभावद्वारा क्रोधलाई जित्न सकिन्छ।” यहाँ प्रथमतः हामी यो जान्ने प्रयास गर्छौं कि के यो साँच्चिकै बुद्धको शिक्षासँग मेल खान्छ? अवश्य पनि खान्छ। बुद्धद्वारा दिइएको कुनै पनि शिक्षाले यसको खण्डन गर्दैन।

के यो कुरा तर्कको दृष्टिले सही छ? निश्चय नै, मैत्रीभावमा अरुका लागि सुखको कामना गरिन्छ। फलानो व्यक्तिले मलाई नोक्सान पुर्याउँदैछ र उप्रति मलाई रिस उठेको छ। तर उ किन त्यस्तो नराम्रो व्यवहार गर्दैछ? उ त्यस्तो व्यवहार गर्दैछ किनकि उ आफैं दुःखी छ। उ मानसिक या भावनात्मक रूपमा विचलित छ। मेरो चित्तमा उक्त व्यक्तिका लागि मैत्रीभाव छ भने उ सुखी होस् भन्ने कामना गर्छु। म कामना गर्छु कि उ विचलित नहोस्, दुःखी नहोस्। यस्तो दृष्टिकोणले हामीलाई उक्त व्यक्तिप्रति रिसको भाव उत्पन्न गर्नबाट रोक्छ। यो एकदमै तर्कसंगत दृष्टिकोण हो। यदि उक्त व्यक्तिले धेरै नै नोक्सान पुर्याइरहेको छ र उसले त्यसो गर्न बन्द गरोस् भन्ने चाहन्छौं भने हामीले उप्रति मैत्रीको भाव विकास गर्नुपर्छ। हामीले उक्त व्यक्ति खुशी होस् भन्ने कामना गर्नुपर्छ, किनकि उ खुशी भयो भने मात्र अरुको नोक्सान गर्दैन। उप्रति रिस मात्र गर्नाले उसले हामीलाई हानी गर्न छाड्दैन। यो शिक्षा तर्कको दृष्टिले सही छ। 

अन्तमा, हामी स्पष्ट बोध वा ध्यान साधनामा हुने अनुभवका माध्यमबाट शिक्षाको परीक्षण गर्छौं। अर्थात्, कुनै शिक्षा काम लाग्छ कि लाग्दैन भनेर त्यसलाई प्रयोग गरेर हेर्छौं। यदि म मैत्रीभावको विकास गर्ने ध्यान साधना गर्दैछु भने त्यसबाट मेरो रिस कम हुन्छ कि हुँदैन? पक्कै पनि कम हुन्छ। यो तेस्रो कसी हो जसबाट कुनै शिक्षा तर्कसंगत छ कि छैन भन्ने थाहा हुन्छ। यसप्रकार हामी प्रमाणका लागि तर्कको कसी प्रयोग गर्छौं। 

प्रकृतिको कसी

प्रमाणको अन्तिम कसी पदार्थ वा जीवको प्राकृतिक स्वभाव (धर्मता युक्ति) हो। यसले के भन्छ भने निश्चित तथ्यहरू पदार्थ वा जीवको स्वाभाविक प्रकृतिकै अंग हुन्छन्। जस्तै, आगोको स्वभाव तातो दिनु हो भने पानीको स्वभाव भिजाउनु हो। आगोले किन तातो दिन्छ र पानीले किन भिजाउँछ? यो ती पदार्थहरूको प्राकृतिक स्वभाव नै हो। धर्मको अध्ययनमा पनि हामीले कुनै तथ्य पदार्थ वा जीवको प्राकृतिक स्वभावकै कारणले भएको हो कि भनेर विचार गर्नुपर्छ। जस्तै, सबै जीव सुखी हुन चाहन्छन्, कोही पनि दुःख चाहँदैन। किन? किनकि यो उनीहरूको प्राकृतिक स्वभाव हो। एउटा अर्को उदाहरण लिउँ। नकारात्मक कर्मको परिणाम दुःख हुन्छ भने सकारात्मक कर्मको परिणाम सुख। किन? किनकि यो ब्रह्माण्ड त्यसैगरी चल्छ। बुद्धका कारण ब्रह्माण्डको नियम त्यसरी बनेको होइन। यो त प्रकृतिको सत्य नै हो। यसरी केही तथ्यहरू यो जीवनको स्वाभाविक प्रकृतिकै अंग हुन् भन्ने बोध गरेपछि तिनलाई त्यही रूपमा स्वीकार गर्नुपर्छ। त्यसलाई स्वीकार नगर्नु र त्यसबाट विचलित हुनु भनेको समयको बर्बादी मात्र हो।

धर्मसाधनाको दृष्टिले सबै चीजको प्राकृतिक स्वभावको सबैभन्दा सान्दर्भिक पक्ष हो – संसारको चक्र चलिरहन्छ, कहिले तल र कहिले माथि भैरहन्छ। यसको सम्बन्ध केवल सौभाग्यपूर्ण या दुर्भाग्यपूर्ण पुनर्जन्मसँग मात्र हैन, अपितु हाम्रो दैनिक जीवनको प्रत्येक क्षणसँग हुन्छ। हाम्रो मनोदशा र चाहनामा पनि उतारचढाव भैरहन्छ। यदि हामी यो कुराको सत्यलाई स्वीकार गर्छौं भने यसका बारेमा सोचेर विचलित हुँदैनौं। संसारबाट तपाईं के आश राख्नुहुन्छ? यो कुरा त निश्चित छ कि ध्यानको अभ्यास कहिले एकदमै राम्रो हुन्छ, कहिले हुँदैन। कुनै दिन मलाई अभ्यास गर्न मन लाग्छ, कुनै दिन लाग्दैन। यसमा के ठूलो कुरा भयो र! यो त यसरी नै चल्छ। यसलाई सहजतापुर्वक लिनुहोस्, यसका बारेमा सोचेर उदास नहुनुहोस्। यो कुरा बुझ्नु एकदमै आवश्यक छ। 

यदि हामी धर्मप्रति एक व्यावहारिक दृष्टिकोण राख्न चाहन्छौं भने बुद्धले सिकाउनुभएका यी चार कुराहरू एकदमै उपयोगी हुन्छन्। यसलाई बुझ्नका लागि आफ्नो शरीरप्रति अनासक्तिको उदाहरण लिउँ, र हेरौं उक्त शिक्षाको परीक्षणका लागि प्रमाणका यी चार कसीको प्रयोग कसरी गर्न सकिन्छ।   

१. शरीरप्रति अनासक्तिको विकास कुन कुरामा निर्भर गर्छ? यो अनित्यता, पुनर्जन्म, आत्म–अस्तित्वको आधार, शरीर, चित्त, र आत्म आदि बीचको सम्बन्धको बोधमा निर्भर गर्छ। 

२. शरीरप्रति अनासक्ति विकास गर्नुको व्यावहारिक प्रयोजन के हो? यो अनासक्तिले रोग, वृद्धावस्था तथा शरीर जराजीर्ण हुनुको निराशा र तनावबाट बचाउँछ। 

३. के यो कुरा तर्कसम्मत छ? अवश्य पनि। बुद्धले दिनुभएको शिक्षाअनुसार शरीर अर्थात् एक अनित्य चीजसँग आफूलाई आत्मसात गर्दा जुन दुःख हुन्छ, शरीरप्रतिको अनासक्तिले त्यसबाट बचाउँछ। के यो कुरा तर्कसंगत छ? छ, किनकि शरीर परिवर्तनशील छ र क्षण प्रतिक्षण बुढो हुँदै जान्छ। के हामी यो ज्ञानको लाभलाई अनुभव गर्न सक्छौं? सक्छौं, किनकि जति जति हामी अनासक्त हुँदै जान्छौं, त्यति त्यति हामी पाउँछौं कि हामीलाई दुःख र समस्याको अनुभव कम हुँदै हुन्छ। 

४. अनि पदार्थहरूको प्राकृतिक स्वभावको कसी चाहिँ कसरी जाँच्ने? यदि मैले आफ्नो शरीरप्रति अनासक्तिको ध्यान गरेँ भने मेरो खुशी हरेक दिन बढ्दै जान्छ कि जाँदैन? पक्कै पनि जाँदैन। किनकि यो संसार हो, र यहाँ हरेक चीजमा उतारचढाव भैरहन्छ। तर दीर्घकालीन रूपमा हेर्ने हो भने म पहिलेभन्दा बढी खुशी हुन्छु र मेरो जीवन सुधारिन्छ, तर यो कहिले पनि सीधा रेखामा अगाडि बढ्दैन। उतारचढाव आउनु हरेक कुराको प्राकृतिक स्वभाव हो। 

सारांश

शरीरप्रति अनासक्तिजस्तै अन्य शिक्षालाई पनि प्रमाणका चार कसी (चार युक्ति) को उपयोग गर्दै परीक्षण गर्दा हामी उक्त शिक्षाप्रति एक यथार्थपरक र व्यावहारिक दृष्टिकोण विकसित गर्न सक्छौं। बुद्धले “मैले दिने कुनै पनि शिक्षा मप्रति श्रद्धा वा सम्मान भएका कारण मात्र ग्रहण नगर। त्यसलाई सुन किन्न लागेको बेला जसरी जाँचेर हेरिन्छ, त्यसैगरी आफैंले जाँचेर हेर” भन्नुका पछाडि उहाँको तात्पर्य यिनै चार कसीमा राखेर शिक्षाको परीक्षण गर्नुपर्छ भन्ने थियो।

Top