चित्त शान्तिका लागि श्वासमा ध्यान

चित्त शान्त गराउने परम्परागत बौद्ध विधिमा श्वासमा गरिने ध्यान अभ्यास पर्छ। बौद्ध परम्परामा श्वासमा गरिने ध्यानका तरिका धेरै छन् र श्वाससम्बन्धी अभ्यास पनि धेरै छन्। मेरो जानकारीमा भएअनुसार तीमध्ये अधिकांश तरिकामा श्वासलाई मुखबाट लिइँदैन, नाकबाट लिइन्छ, र श्वासलाई बलपूर्वक नलिई सहज स्वाभाविक रूपमा लिइन्छ।

तीमध्ये कुनै तरिकामा हामीले श्वासलाई रोक्छौं भने कुनैमा रोक्दैनौं। कुनै बेला श्वास भित्र तानिसकेपछि केही बेर रोक्छौं भने कुनै बेला बाहिर छाडिसकेपछि थोरै बेर विश्राम दिन्छौं। श्वास लिने यो तरिका श्वासप्रश्वास सम्बन्धी कस्तो साधना गर्दैछौं भन्नेमा भर पर्छ।

चित्तलाई शान्त बनाउनु छ भने त्यसका लागि परम्परागत विधिमा श्वास बाहिर छोड्ने र भित्र लिने सामान्य चक्रको उपयोग गरिन्छ। श्वास बाहिर छोडिसकेपछि एकै छिन विश्राम दिन्छौं, जसबाट स्वाभाविक रूपमै भित्र लिने श्वास गहिरो हुन जान्छ, त्यसका लागि कुनै थप बल प्रयोग गर्नु पर्दैन। चित्त शान्त गर्ने यो सरलतम विधिमा श्वास भित्र लिइसकेपछि रोकिँदैन, यद्यपि अन्य विधिहरूमा रोक्ने अभ्यास पनि छन्। बाहिर छोड्ने र भित्र लिने यो सरल चक्रको उपयोगका विभिन्न प्रयोजन छन्, तर यहाँ हाम्रो प्रयोजन चित्तलाई शान्त गर्ने हो। हामी विचारहरूलाई शान्त गर्न खोज्दैछौं र यसका लागि एकाग्रता बढी चाहिन्छ। यो विधिमा गरिने गणना मानिसले सामान्यता सोच्नेभन्दा भिन्न छ। एकाग्रता र सजगता बढी चाहिने भएकाले अरू कुरा सोच्ने अवसर मिल्दैन। यसले चित्त शान्त गर्न मद्दत गर्छ। 

यो परम्परागत विधि हो। तर पश्चिमा समाजसँगको मेरो अनुभव के छ भने खासगरी उनीहरू जब कुनै शिक्षा लिन आउँछन्, त्यो बेला धेरै तनावमा हुन्छन्। उनीहरू ज्यादै तनावयुक्त काममा धेरै मेहनतसाथ काम गरेर आएका हुन्छन्, कक्षाहरू अक्सर बेलुकीपख हुन्छन् र त्यो समयमा ट्राफिकको ज्यादै चाप हुन्छ, अथवा यस्तै केही हुन्छ। तिब्बतका वा भारतका पारम्परिक बौद्ध समाजमा यो अवस्था हुँदैन। विहान उठेर सीधै आसनमा बसेर ध्यान अभ्यास गर्ने हो भने पनि यो अवस्था हुँदैन। तनावमा भएको कुनै पश्चिमा व्यक्तिलाई बौद्ध केन्द्रमा आउनासाथ सीधै श्वासमा ध्यान केन्द्रित गर्न लगाउने हो भने यसले थप तनाव सिर्जना गर्छ, किनकि उनीहरू पहिल्यै तनावमा छन् र आफूले सामान्यतया गरिरहेको भन्दा भिन्नै काम गर्न लगाउँदा अन्यौलको अवस्था हुन्छ। 

श्वासमा ध्यान गर्ने यो पहिलो अभ्यासको उद्देश्य चित्तलाई शान्त गर्ने हो। तर यसरी श्वासलाई बाहिर छाड्ने, केही क्षण विश्राम दिने र लिने चक्रलाई गणना गर्ने परम्परागत विधिले अन्यौलमा पार्छ र थप तनाव सिर्जना गर्छ भने त्यसबाट ध्यानको उद्देश्य पुरा हुँदैन। त्यसैले पश्चिमा समाजका व्यक्तिहरूको सन्दर्भमा मेरो सुझाव के छ भने यही विधिमा अडिराख्नु आवश्यक छैन। परम्परागत विधिले अभ्यास गर्दा तनाव हुने अवस्थामा पश्चिममा प्रचलित तरिकाअनुसार सामान्य रूपमा श्वास भित्र आएको र बाहिर गएकोमा ध्यान दिने र त्यसैको गणना गर्नु उपयाेगी हुन्छ। यसमा श्वास बाहिर छोडेर विश्राम दिने काम गर्नु पर्दैन।

हाम्रो चित्त ज्यादै अशान्त छ भने चित्तलाई शान्त गर्न हामी यो विधिले श्वासको चक्रको गणना गर्न सक्छौं। तर चित्त त्यति धेरै अशान्त छैन र अपेक्षाकृत शान्त वा ध्यानका लागि तयार छ भने गणना गरिरहनु पर्दैन। 

परम्परागत बौद्ध दृष्टिकोण अन्तर्गत श्वासको ध्यान गर्ने तीन विधिहरू हामी अवलम्बन गर्न सक्छौं। आफ्नो अवस्था कस्तो छ, त्यसको मूल्यांकन आफैंले गरेर उपयुक्त विधिको अभ्यास गर्नुपर्छ। यसमा निम्नानुसार पर्छन्ः

  • यदि हामी ज्यादै नै तनावमा छौं भने पश्चिमा जगतमा प्रचलनमा आएजस्तै भित्र लिएको र बाहिर छोडेको श्वासलाई एक श्वास मान्दै सामान्य हिसाबले गणना गरिन्छ। 
  • त्यति सारो तनावमा छैनौं तर चित्त केन्द्रित छैन भने माथिको परम्परागत विधिजस्तै बाहिर छोडेर हल्का विश्राम दिने र भित्र लिने गर्दै श्वासको गणना गरिन्छ। 
  • चित्त अपेक्षाकृत शान्त छ भने गणना गर्नु आवश्यक छैन, श्वासको चक्रमा मात्र ध्यान दिए हुन्छ।

यी विधिहरू अनुसार अभ्यास गर्दा हामीले आफ्नो अवस्थाप्रति संवेदनशील भएर जुन विधि उपयुक्त हुन्छ त्यसै अनुसार गर्नुपर्ने हुन्छ। बौद्ध शिक्षाको एक अद्भूत पक्ष के हो भने यहाँ उपायहरूको विविधता छ। त्यसैले कुनै एक निश्चित लक्ष्य हासिल गर्न अक्सर अनेक विधिहरू उपलब्ध हुन्छन्। यसरी अनेक विधि हुनुका फाइदा धेरै छन्। आफ्नो अहिलेको भावनात्मक अवस्था कस्तो छ त्यसप्रति संवेदनशील भयौं र विभिन्न विधिको शिक्षा लिएका छौं भने जुन विधि उपयुक्त हुन्छ, त्यसैलाई उपयोगमा ल्याउन सक्छौं। एक विधिले काम गरेन भने अर्को विधि अपनाउँछौं। अब चित्त शान्तिका लागि माथिका तीन विधिमध्ये कुनै एक लिँदै श्वासमा ध्यान केन्द्रित गरौं। 

[ध्यान अभ्यास]

चित्त शान्तिको यो प्रारम्भिक अभ्यासमा आँखालाई या त खुला राखेर दृष्टिलाई भूईंतिर जान दिइन्छ, या आँखा बन्द गरिन्छ। यी दुवै तरिका भगवान बुद्धले सिकाउनु भएको हो। बौद्ध शिक्षामा दुई प्रमुख परम्परा छन्। जसमध्ये हीनयान अन्तर्गत बाँकी रहेको एकमात्र परम्परा थेरवादमा अक्सर आँखा बन्द गरेर ध्यान गरिन्छ भने अर्को प्रमुख परम्परा महायानमा अक्सर आँखा खुला राखेर दृष्टिलाई नाकको टुप्पातिर वा भूईंतिर जान दिइन्छ। यसरी आँखा खुला राख्दा भूईंतिर वा नाकको टुप्पातिर हलुकापूर्वक दृष्टिलाई छाडिदिनु पर्छ, आँखालाई केन्द्रित गरेर हेर्ने होइन। 

फेरि पनि, हामी स्वयंप्रति संवेदनशील हुनु जरुरी हुन्छ। यदि हामी ज्यादै तनावग्रस्त वा उत्तेजित अवस्थामा छौं भने आँखा बन्द राखेर ध्यान गर्नु उचित हुन्छ। तर अलिकति शान्त भैसकेका छौं भने भूईंतिर हलुकापूर्वक दृष्टिलाई छाडिदिँदै आँखा खुला राख्नु उपयुक्त हुन्छ। यहाँ महत्वपूर्ण कुरा के हो भने आँखा बन्द गरेर दुनियाँबाट बेखबर हुँदै चित्त शान्त बनाउने हाम्रो उद्देश्य होइन। अपितु संसार र अन्य मानिससँगको व्यवहारमा हामी शान्त र तनावमुक्त हुन चाहन्छौं। त्यसका लागि आँखा खुला राखेर गरिने ध्यान अभ्यास सहयोगी हुन्छ। 

ध्यानको अर्को मुख्य पक्ष आफ्नो प्रेरणामा स्पष्ट हुनु हो। यसलाई ध्यान साधनाको प्रशिक्षण लिनु वा अभ्यास थाल्नु पछाडिको हाम्रो भावनात्मक वा मनोवैज्ञानिक कारण के हो भनेर जाँच्ने अर्थमा बुझ्न सक्छौं। म किन यो अभ्यास गर्दैछु? के यसका पछाडि ममा कुनै अपराधबोध छ? या आफ्नो समूहको दवाबमा गर्दैछु? कि म यसलाई एक सामाजिक अवसरका रूपमा, या कुनै समूहसँग जोडिएका नाताले, या चामत्कारिक गुरूबाट उर्जाको खुराक पाउने “धर्म–जंकी” का रूपमा अभ्यास गर्दैछु? के म गुरूलाई प्रेम गरेका कारण उप्रतिको आसक्तिवश अभ्यास गदैछु? यी कुनै कुरा बुद्धधर्मको दृष्टिकोण अन्तर्गत पर्दैनन्। यी त पश्चिमा दृष्टिकोण हुन्, यद्यपि यसरी अभ्यास गरे पनि लाभ नै हुन्छ।  

पारम्परिक बौद्ध दृष्टिकोणबाट हेर्दा आफ्नो प्रेरणामा स्पष्ट हुनु भनेको आफ्नो आशयमा स्पष्ट हुनु हो। बौद्ध दृष्टिमा प्रेरणा एक प्रकारको आशय हो। अर्थात्, यहाँ धाएर यो अभ्यास गर्नुका पछाडि हाम्रो आशय के हो, हाम्रो लक्ष्य के हो?हाम्रा तीन सम्भावित लक्ष्य हुन सक्छन्, जसका कारण हामी यो अभ्यास गर्न भेला भएका छौं। यसमाथि विचार गर्नु उपयुक्त हुन्छ। तर फेरि पनि, हामी स्वयंप्रति संवेदनशील र इमान्दार हुनु जरुरी छ। हाम्रो लक्ष्य वा उद्देश्य के हो? आफूलाई बौद्धमार्गी मान्नेले सजिलैसँग “म यो अभ्यास गर्दैछु किनकि म सबै जीवको हितका लागि बुद्धत्व प्राप्त गर्न चाहन्छु” भन्ला। तर ती त फगत शब्दहरू मात्र हुन्। 

बुद्धत्व प्राप्त गर्नु भनेको के हो यथार्थ ज्ञान नभई र यो संसारका प्रत्येक कीटपतंग समेतलाई बारम्बार दोहोरिरहने पुनर्जन्मको अनियन्त्रित श्रृङ्खलाबाट मुक्त गर्छु भन्ने इमान्दार चाहना नभई फगत “म सबै जीवको हितका लागि बुद्धत्व प्राप्त गर्न चाहन्छु” भन्नुको कुनै अर्थ हुँदैन। त्यसैले हाम्रो वास्तविक लक्ष्य के हो, त्यसमा यथार्थ र इमान्दार दृष्टि राख्नु जरुरी हुन्छ। बुद्धधर्म अनुसार तीन  लक्ष्यहरू हुन सक्छन्। पहिलो त हामीले यथार्थमै यो जीवनका आफ्ना सम्बन्धहरू सुधार्न चाहेका हुन सक्छौं, जसका कारण यो अभ्यास गर्न लाग्दैछौं, किनकि यो बौद्ध पद्धति अनुसारको एक प्रकारको उपचारात्मक उपाय पनि हो।

हामी यो कुरालाई धर्मको सरलीकृत अभ्यास (धर्म–लाइट) को दृष्टिकोणबाट बुझ्न सक्छौं। यो दृष्टिकोणबाट हेर्दा, “म यो अभ्यास वर्तमान जीवनका सम्बन्धहरू सुधार्ने उद्देश्यले गर्दैछु, तर म यसलाई मुक्ति र बोधि प्राप्तिका दिशामा एक सहयोगी चरणको रूपमा लिन्छु।” भनेर सोच्न सकिन्छ। अथवा धर्मको वास्तविक अभ्यास (रियल–थिंग धर्म) को स्तरमा लिन सक्छौं, जसमा यस्तो दृष्टिकोण राखिन्छ – “म यो अभ्यासलाई साँच्चिकै मुक्ति र बोधि प्राप्तिको चरणको रूपमा गर्दैछु।” त्यसैले हाम्रो वास्तविक लक्ष्य वा उद्देश्य जे भए पनि त्यसबारे हामी स्पष्ट हुनुपर्छ। आफ्नो लक्ष्यप्रति इमान्दार भएमात्र पूरा मन लगाएर काम गर्न सकिन्छ। तर  लक्ष्यप्रति इमान्दार भइएन भने हामीले गर्ने अभ्यास फगत एक लहड जस्तो मात्र हुनेछ।

त्यसपछि हामी मन लगाएर निर्देशन सुन्ने प्रयास गर्छौं र त्यो पनि सचेतनापूर्वक गर्छौं। मन यताउता भाग्यो भने पुनः ध्यानमा फिर्ता ल्याउने प्रयास गर्छौं, निद्रा लाग्यो भने आफूलाई जागा राख्ने प्रयास गर्छौं। शरीरलाई तनाव नदिइकन सीधा भएर बस्दा मन एकाग्र गर्न सहयोग पुग्छ भने त्यसै गर्छौं। उर्जा कम भएको जस्तो लाग्यो भने टाउको नउठाई दृष्टिलाई मात्र थेरै माथि उठाएर आँखीभूईंको बीचमा राख्छौं। र यदि अलि ब्यग्रता वा तनाव महसुस भैरहेको छ भने टाउकोलाई सीधै राखेर दृष्टिलाई तलतिर जान दिन्छौं र ध्यानलाई नाभिमा राख्छौं। सामान्य रूपमा श्वास फेर्ने क्रममा श्वास भित्र लिइसकेपछि छोड्ने आवश्यकता नहुन्जेल भित्रै रोकेर राख्छौं। 

यसप्रकारले सचेत प्रयास गर्ने वा आशय राख्ने वा एकाग्र हुने निर्देशन मैत्रेयले दिनुभएको चित्तको एकाग्रतासम्बन्धी उपदेशबाट लिइएको हो। आँखीभूईंमा दृष्टि राख्ने वा नाभिमा ध्यान राख्ने निर्देशन कालचक्र साधनाबाट लिइएको हो। यसप्रकारको प्रारम्भिक निर्देशनहरूको संग्रह पारम्परिक बौद्ध प्रणालीमा ठ्याक्कै एकै ठाउँमा नभेटिए पनि यहाँ बताइएका कुरा सबै बौद्ध शिक्षाहरूबाटै लिइएको हो। मैले यो सबैलाई एकै ठाउँमा यसरी प्रस्तुत गर्नुको कारण के हो भने मेरो अनुभवमा प्रायः पश्चिमी जगतका मानिसहरू ज्यादै तनावले भरिएर ध्यानको अभ्यासमा आउँछन् र निर्देशनहरूलाई यसरी संग्रहित गरेर बताउँदा त्यो अवस्थालाई सम्बोधन गर्न सहज हुन्छ। अत्यधिक तनावग्रस्त जीवनशैलीलाई सुहाउँदो यसप्रकारको प्रारम्भिक अभ्यास पद्धति हामीलाई आवश्यक पर्छ। 

Top