बुद्ध र उहाँको समयका राजनीतिक घटनाक्रमहरू

ऐतिहासिक बुद्धको जीवन शास्त्रीय बौद्ध साहित्यबाट धेरै तहहरूमा देखा पर्छ। सबैभन्दा प्रारम्भिक संस्करण कुनै एक ग्रन्थमा देखिँदैन, तर थेरवाद परम्पराको पाली सुत्त (संस्कृत: सूत्र) र विनय साहित्यमा उल्लेखित घटनाहरूको आधारमा जोडेर मात्र बुझ्न सकिन्छ। महासांघिक, सर्वास्तिवाद र महायान परम्पराका पछि लेखिएका ग्रन्थहरूले यी प्रारम्भिक स्रोतहरूबाट देखिएको सरल रूपरेखालाई विस्तार गर्दै अनेकौं, कहिलेकाहीँ अलौकिक विशेषताहरूले सजाएका छन् । तथापि, पाली साहित्यबाट देखा पर्ने मौलिक चित्रले एउटा अत्यन्तै मानवीय व्यक्तित्वलाई देखाउँछ, जसले अशान्त, असुरक्षित समयमा बाँचेर व्यक्तिगत र आफ्नो भिक्षु समुदाय दुवैमा असंख्य कठिनाइहरू र चुनौतीहरूको सामना गरेको थियो। यहाँ हामी स्टिफन बॅचलरको Confession of a Buddhist Atheist ( एउटा बौद्ध नास्तिकको स्वीकारोक्ति) मा प्रस्तुत गरिएको विद्वत अनुसन्धानको आधारमा बुद्धको जीवनको यो सबैभन्दा प्रारम्भिक संस्करणको रूपरेखा प्रस्तुत गर्नेछौं। सबै नामहरू पालीको रूपमै दिइनेछन्। 

बुद्धको जन्म ५६६ ईसा पूर्वमा लुम्बिनी पार्क मा भएको थियो, जुन हालको दक्षिणी नेपालमा पर्छ। यो पार्क कपिलवत्थु (सं. कपिलवस्तु) बाट धेरै टाढा थिएन, जुन शाकिय (सं. शाक्य ) को राजधानी थियो। यद्यपि उनको व्यक्तिगत नाम सिद्धत्थ (सं. सिद्धार्थ ) पाली संहितामा देखिँदैन; तैपनि, सुविधाको लागि, हामी यहाँ यसैको प्रयोग गर्नेछौं। गोतम (सं. गौतम ), बुद्धलाई जनाउन प्रायः प्रयोग गरिने अर्को नाम, वास्तवमा उनको गोत्रको नाम थियो।

सिद्धत्थका बुबा, सुद्धोदन ( सं. शुद्धोदन ), पछिल्लो बौद्ध साहित्यमा वर्णन गरिएझैं राजा थिएनन्। बल्कि, उनी गोतम गोत्रका एक कुलीन व्यक्ति थिए, जसले शाकियमा क्षेत्रीय गभर्नरको रूपमा काम गरेका हुन सक्छन्। पाली संहिताले उनकी आमाको नाम उल्लेख गर्दैन; तर पछिल्ला संस्कृत स्रोतहरूले उनलाई मायादेवी भनेर चिनाउँछन्। सिद्धत्थकी आमाको जन्मेको केही समयपछि नै मृत्यु भयो र त्यसैले उनी उनकी बहिनी पजापति (सं. महाप्रजापति ) द्वारा हुर्काइएको थियो, जसलाई उनका बुबाले त्यस समयको चलन अनुसार विवाह गरेका थिए।

शाकिय एक पुरानो गणराज्य थियो, तर सिद्धत्थको जन्मको समयमा, यो शक्तिशाली कोशल ( सं. कोशल ) राज्यको भाग थियो। कोशल हालको बिहारमा गंगा नदीको उत्तरी किनारादेखि हिमालयको फेदसम्म फैलिएको थियो। यसको राजधानी सावत्थी (सं. श्रावस्ती ) थियो।

बुद्धको जीवनका मुख्य स्थानहरूको भौगोलिक विवरणले उनको जीवनी बुझ्न सजिलो बनाउन सक्ने भएकोले, यहाँ यसको रूपरेखा प्रस्तुत गरौं। शाकिय कोशलको पूर्वी भागमा अवस्थित थियो, शाकियको दक्षिणपूर्वमा मल्ल (सं.मल्ल ) प्रदेश थियो। मल्लको पूर्वमा वज्जि (सं.वृजि) गणराज्य थियो, जसको राजधानी वेसाली (सं. वैशाली) मा रहेको थियो। वज्जि गणराज्य कुलहरूको संघद्वारा शासित गर्थ्यो; लिच्छवि (सं. लिच्छवि) गोत्र तिनीहरूमध्ये सबैभन्दा प्रसिद्ध थियो। वज्जि र कोशलको दक्षिणमा, गंगा नदीको पारिपट्टि, शक्तिशाली मगध (सं. मगध) राज्य थियो, जसको राजधानी राजगह (सं. राजगृह) मा थियो। कोशलको पश्चिममा, हालको पाकिस्तानी पञ्जाबमा, गान्धार (सं.गान्धार) अवस्थित थियो, जुन फारसी अकेमेनिड साम्राज्यको (Persian Achaemenid Empire) एक प्रान्त थियो। यसको राजधानी तक्कशिला (सं.तक्षशिला) मा त्यस समयको सबैभन्दा प्रसिद्ध विश्वविद्यालय थियो। त्यहाँ ग्रीक र फारसी विचारधारा तथा संस्कृति समकालीन भारतीय ज्ञान र परम्परासँग मिश्रित भएका थिए।

कपिलवस्तु, जहाँ सिद्धार्थले बाल्यकाल बिताएका थिए, त्यो उत्तरी सडकमा रहेको एक प्रमुख शहर थियो, जुन त्यस समयमा मुख्य व्यापारिक मार्ग मानिन्थ्यो। उत्तर मार्गले कोशललाई पश्चिमतर्फ गान्धारासँग जोड्थ्यो र शाक्य, मल्ल, तथा वज्जि गणराज्य हुँदै दक्षिणतर्फ मगध पुग्थ्यो। यसरी, यद्यपि पालि ग्रन्थहरूमा सिद्धार्थ गौतमको उनन्तीस वर्षको उमेरअघिको जीवनबारे थोरै मात्र उल्लेख गरिएको छ, उनले धेरै संस्कृतिहरूको साक्षात्कार गरेका सम्भावना उच्च छ। उनी तक्कशिलामा अध्ययन गरेका पनि हुन सक्छन्, यद्यपि यसको निश्चित प्रमाण छैन।

सिद्धार्थले भद्दकच्चनासँग विवाह गरेका थिए, जसलाई संस्कृत साहित्यमा यशोधरा भनेर चिनिन्छ। उनी सिद्धार्थकी काका/काकीको छोरी थिइन् र देवदत्त (सं. देवदत्त) की बहिनी थिइन्। पछि देवदत्त बुद्धका मुख्य प्रतिद्वन्द्वी बने। उनीहरूका एक छोरा थिए, राहुल (सं. राहुल)। आफ्ना छोराको जन्मको केही समयपछि सिद्धार्थ २९ वर्षको उमेरमा कपिलवस्तु छाडेर आध्यात्मिक सत्यको खोजीमा मगधतर्फ प्रस्थान गरे।उनी उत्तर मार्ग हुँदै गङ्गा नदी पार गरेर राजगृह आइपुगे। त्यतिबेला मगधमा राजा बिम्बिसार र कोशलमा राजा पसेनदि (सं. प्रसेनजित) को शासन थियो। कोशल र मगधबीचको गठबन्धनका रूपमा, दुबै राजाहरूले एकअर्काको बहिनीसँग विवाह गरेका थिए। राजा पसेनदिकी बहिनी देवी (सं. देवी) थिइन्।

मगधमा सिद्धार्थले दुई गुरुहरूका समुदायमा अध्ययन गरे - आलार कालाम (सं. आराड कालाम) र उद्दक रामपुत्त (सं. उद्रक रामपुत्र)। ब्राह्मणिक परम्पराबाट आएका तिनीहरूले उनलाई शून्यतामा र कुनै कुराको भेद गर्ने वा नगर्ने दुवैमा गहिरो एकाग्रता प्राप्त गर्न सिकाए। तर सिद्धार्थ यी उपलब्धिहरूसँग सन्तुष्ट भएनन्, र त्यसैले उनले यी गुरुहरूलाई छोडे। त्यसपछि उनले चरम तपस्याको अभ्यास गरे, लगभग केही नै नखाएर। फेरि उनले महसुस गरे कि यस्तो अभ्यासले मुक्ति प्राप्त हुँदैन। त्यसपछि उनले आफ्नो उपवास तोडे र नजिकैको उरुवेला (सं. उरुबिल्व) गए, जुन आजका बोधगया हो, जहाँ उनले पैंतीस वर्षको उमेरमा बोधिवृक्ष मुनि ज्ञान प्राप्त गरे। यो उनी मगध आएको छ वर्षपछिको कुरा थियो।

बोधि प्राप्त गरेपछि बुद्ध पश्चिमतर्फ मिगदाया (सं. मृगदाव) प्रस्थान गर्नु भयो। जुन मृगउद्यान थियो। जो इसिपत्तन (सं. ऋषिपतन्) मा पर्दछ, जुन आजको सारानाथ हो, वाराणसीको छेउमै अवस्थित छन्। यद्यपि यो क्षेत्र गङ्गा नदीको उत्तरमा भए पनि, राजा पसेनदिले यो क्षेत्र मगधलाई दाइजोको रूपमा दिएका थिए जब उनले आफ्नी बहिनी देवीलाई राजा बिम्बिसारसँग विवाह गरेका थिए। बुद्धले वर्षायाम त्यही मृगदायमा आफ्ना पाँच जना साथीसँग बिताए र छिट्टै थोरै संख्यामा अनुयायीहरू आकर्षित गर्न थाले, जसले एक ब्रह्मचर्य समुदायको रूप लियो, जसको हेरचाह गर्न अब बुद्ध स्वयं जिम्मेवार भए।

वैशालीका लिच्छवि कुलीन महालीले बुद्धको बारेमा सुने र राजा बिम्बिसारलाई उनलाई मगधमा निम्त्याउन सुझाव दिए। त्यसैले वर्षायामपछि बुद्ध र उहाँको बढ्दो सङ्घ पूर्वतर्फ फर्किएर मगधको राजधानी राजगृह पुगे। राजा बिम्बिसार बुद्धको शिक्षाबाट निकै प्रभावित भए र उहाँलाई एक परित्यक्त उद्यान “वेलुवन” (सं. वेणुवन) अर्थात् “बाँसको वन” प्रदान गरे, ताकि बुद्धले वर्षायामको समयमा त्यहाँ आफ्नो सङ्घलाई स्थिर राख्न सकुन्।

चाँडै, एक प्रख्यात स्थानीय गुरुका मुख्य शिष्यहरू शारिपुत्त (सं. शारिपुत्र) र मोग्गल्लान (सं. मौद्गल्यायन) बुद्धको समुदायमा सामेल भए। पछि, तिनीहरू बुद्धका निकटतमको शिष्यहरू बने। शारिपुत्तले बुद्धलाई बढ्दो भिक्षु समुदायका लागि व्रतहरू बनाइदीन बुद्धसँग अनुरोध गरे र राजा बिम्बिसारले समुदायलाई अन्य भिक्षुक आध्यात्मिक समूहहरू, जस्तै जैनहरूका केही रीतिरिवाजहरू अपनाउन सुझाव दिए। विशेष गरी, राजाले प्रत्येक पन्द्र दिनमा उपोषध (सं. उपोषध) सभा आयोजना गरेर धर्मका शिक्षाहरूमा छलफल गर्न सल्लाह दिए। बुद्धले यस सल्लाहलाई स्वीकार गर्नुभयो।

एक दिन, अनाथपिण्डिक (सं. अनाथपिण्डद), कोसलको राजधानी सावत्थीका एक धनी बैंकर, व्यापारको सिलसिलामा राजगृह आए। बुद्धबाट प्रभावित भएर, उनले उनलाई राजा पसेनदिको राजधानी सावत्थीमा वर्षायाम बिताउने ठाउँ प्रदान गरे। केही समयपछि, बुद्ध र उनका भिक्षुहरूको समुदाय कोसलमा सरे; तर अनाथपिण्डदले उनीहरूका लागि उपयुक्त बासको व्यवस्था गर्न केही वर्ष लाग्यो।

यसैबीचमा, बुद्ध कपिलवस्तुमा आफ्ना परिवारलाई भेट्न फर्के। उनका बुबा शुद्धोदन चाँडै नै उहाँका अनुयायीहरूमध्ये एक बने र उनका आठ वर्षका छोरा राहुलले नवसिखको रूपमा भिक्षु समुदायमा प्रवेश गरे। त्यसपछिका वर्षहरूमा, धेरै शाक्य कुलका कुलीनहरू पनि भिक्षु संघमा प्रवेश गरे, जसमा बुद्धका काका भाइहरू आनन्द (सं. आनन्द), अनुरुद्ध (सं. अनुरुद्ध), र देवदत्त, साथै बुद्धका सौतेनी भाइ नन्द (सं. नन्द) पनि थिए, जो "सुन्दरनन्द" (सं. सुन्दरिनन्द), "सुन्दर नन्द" भनेर पनि चिनिन्थे।

बुद्धकी सौतेनी आमा र काकी पजापतीले बढ्दो समुदायमा सामेल हुन अनुरोध गरे, तर बुद्धले सुरुमा इन्कार गरे। निरुत्साहित नभएर, तिनले आफ्नो टाउको खौरिन्, पहेंलो वस्त्र लगाइन् र अन्य महिलाहरूको ठूलो समूहसँग जे भए पनि बुद्धको पछि लागिन्। पजापतीले बुद्धसँग दीक्षाका लागि अनुरोध गरिरहिन्, तर बुद्धले दोस्रो र तेस्रो पटक इन्कार गरे। अन्ततः, बुद्धको परिनिर्वाण हुन केही वर्षअघि, आनन्दले मध्यस्थता गरेर उनकी तर्फबाट एक पटक फेरि अनुरोध गरे, र बुद्धले अन्ततः महिलाहरूलाई दीक्षा दिन सहमति जनाए। यो घटना वज्जी गणराज्यको वैशालीमा भएको थियो, र यो बौद्ध धर्ममा भिक्षुणी संघको सुरुवात थियो।

अनाथपिण्डिक आफ्नो महान् उदारताका लागि प्रसिद्ध थिए र बुद्ध कोसल फर्केको केही वर्षपछि, उनले सावत्थीमा "जेतवन" (सं. जेतवन), "जेतको वन" भनिने एक उद्यान किन्नका लागि ठूलो मात्रामा सुन खर्च गरे। त्यहाँ, उनले बुद्ध र उनका भिक्षुहरूका लागि अत्यन्त विलासी वर्षायाम निवास निर्माण गरे। अन्ततः, आफ्नो ज्ञान प्राप्तिको लगभग बीस वर्षपछि, बुद्धले आफ्नो भिक्षु समुदायका लागि औपचारिक वर्षायाम विश्राम (सं. वर्षाक) को प्रथा स्थापना गर्नु भयो, जसमा भिक्षुहरू प्रत्येक वर्षको तीन महिनाको वर्षायामको अवधिमा एकै ठाउँमा बस्नेछन् र बाँकी वर्षमा जस्तै ठाउँ-ठाउँ घुम्नेछैनन्। समग्रमा, बुद्धले जेतको कुञ्जमा उन्नाइसवटा वर्षायाम वास बिताउनुभयो, र त्यही अवधिमा उहाँले आफ्ना ८४४ प्रवचनहरू दिनुभयो। अनाथपिण्डिकले बुद्धको भिक्षु समुदायका मुख्य संरक्षक भएर काम गरिरहे, यद्यपि उनको जीवनको अन्त्यतिर उनी दिवालिया भए।

कोशलका राजा पसेनदिले गौतम बुद्धलाई पहिलो पटक जेतवनमा भेटेका थिए, जब बुद्धको उमेर करिब चालीस वर्ष हुनुहुन्थ्यो। बुद्धबाट अत्यन्त प्रभावित भएर, पछि पसेनदि पनि उहाँका संरक्षक र अनुयायी बने। तर बुद्ध र राजा पसेनदिबीचको सम्बन्ध सधैं नाजुक रह्यो। यद्यपि राजा बौद्धिक रूपमा शिक्षाको संरक्षक थिए, उनी एउटा भोगवादी पनि थिए र प्रायः धेरै क्रूर थिए। उदाहरणका लागि, शङ्कालु स्वभावका कारण उनले मल्ल देशका उनका मित्र तथा आफ्नै सेना प्रमुख बन्धुलालाई हत्या गराए। पछिल्ला पश्चात्तापका कारण, उनले बन्धुलाका भतिजा करायणालाई सेनापति नियुक्त गरे। धेरै वर्षपछि, सेनापति करायणाले आफ्ना काकाको मृत्युको बदला लिन राजा पसेनदिलाई गद्दीच्युत गरे।बुद्धले यस्ता उतारचढावपूर्ण व्यवहार र राजा पसेनदिको अस्थिर भाग्यलाई सहन गर्नुभयो, निस्सन्देह, किनभने उहाँको भिक्षु सङ्घलाई डाँकाहरू, वन्यजनावरहरूबाट सुरक्षाको आवश्यकता थियो र धनी संरक्षकहरूको पहुँच पनि आवश्यक थियो, जसले सङ्घलाई जीविकोपार्जन गर्न सहयोग पुर्‍याउँथे।

आफ्नो राजवंशको उत्तराधिकारी सुनिश्चित गर्न राजा पसेनदिलाई छोराको आवश्यकता थियो। उनका पहिलो पत्नी, मगधका राजा बिम्बिसारकी बहिनी, सायद सन्तानविहीन थिइन्। त्यसपछि राजाले दोस्रो विवाह गरे—मल्लिका (सं. मल्लिका) सँग, जो एक सुन्दरी तर तल्लो जातकी थिइन् र बुद्धकी अनुयायी थिइन्। दरबारका ब्राह्मण पुरोहितहरू उनका निम्न जात जन्मप्रति निकै आक्रोशित भए। मल्लिकाले राजा पसेनदिलाई एक छोरी जन्माइन्, जिनको नाम वजिरी (सं. वज्रि) राखियो।

त्यसपछि राजाले महसुस गरे कि उनलाई छोरो जन्माउनका लागि तेस्रो पत्नी लिनुपर्छ। त्यसैले उनले त्यसपछि बुद्धका काकाको छोरो महानाम (सं. महानाम) की छोरी वसभासँग विवाह गरे, जो बुद्धका बुबाको मृत्युपछि शकिय गभर्नर बनेका थिए। महानाम बुद्धका निकट शिष्यहरू आनन्द र अनुरुद्धका भाइ थिए। महानामले वसभालाई कुलीन महिलाको रूपमा प्रस्तुत गरे पनि, उनी वास्तवमा एक दासी महिलाबाट उनकी अवैध छोरी थिइन्। वसभाले राजा पसेनदिलाई एक छोरा विददभ दिए पनि, उनकी आमाको वंशबारे गरिएको यो छलले विददभको कोशल सिंहासनको उत्तराधिकारीको रूपमा स्थिति अस्थिर बनायो। यही छल बुद्धका लागि पनि असहज परिस्थिति बन्यो, किनभने वसभा बुद्धकी आफन्त थिइन्।

आफ्नो जन्मका वास्तविक तथ्यहरू नबुझी, विददभले पहिलो पटक सोह्र वर्षको उमेरमा शकिय देश र हजुरबा महा नामलाई भेट्न गए। त्यहाँ रहँदा राजा पसेनदिका सेनापति करायणाले विददभकी आमाको वास्तविक पृष्ठभूमिबारे थाहा पाए। जब सेनापति करायणाले राजालाई जानकारी दिए कि उनका छोरा एक दासी महिलाको अवैध नाति हुन्, राजा पसेनदि शकियहरूप्रति क्रुद्ध भए। उनले आफ्नी श्रीमती वसभा र छोरा विददभलाई राजकीय पदबाट हटाए र उनीहरूलाई दासत्वमा धकेलिदिए। बुद्धले उनीहरूको पक्षमा हस्तक्षेप गर्नुभयो, र अन्ततः राजा पसेनदिले दुबैलाई पुनः राजकीय सम्मानमा बहाल गरे।

यसपछि, बुद्धको कोशलमा स्थिति असुरक्षित बन्दै गयो, र करिब सत्तरी वर्षको उमेरमा उहाँ पहिलो पटक फेरि मगध र त्यसको राजधानी राजगृह फर्किनुभयो। त्यहाँ बुद्ध राजाका बाँसको वनमा नभई राजदरबारका वैद्य जीवक (सं. जीवक) को स्वामित्वमा रहेको आँपको वनमा बस्नुभयो। यसबाट बुझिन्छ कि सम्भवतः त्यतिबेला बुद्ध पहिले नै बिरामी भइसकेका थिए।

जब बुद्ध बहत्तर वर्षका भए, उहाँकस पहिला संरक्षक, मगधका राजा बिम्बिसारलाई आफ्ना छोरा अजातसत्तु (सं. अजातशत्रु) का पक्षमा सिंहासन त्याग्न बाध्य पारियो। अजातसत्तुले आफ्ना बुबालाई कारागारमा थुने र अनाहार गराएर मृत्युदण्ड दियो। बिम्बिसारकी विधवा, राजा पसेनदिकी बहिनी देवी, कारण मृत्यु भइन्। उनको मृत्युको बदला लिन, पसेनदिले आफ्ना भतिजा अजातसत्तुविरुद्ध युद्ध सुरु गरे र गङ्गाको उत्तरमा वाराणसी वरपरका गाउँहरू फिर्ता लिन प्रयास गरे जुन उनले देवीको दाइजोस्वरूप बिम्बिसारलाई प्रस्तुत गरेका थिए। युद्ध अनिर्णयकारी थियो र शान्ति सुरक्षित गर्न, पसेनदिले आफ्नी छोरी वजिरीलाई अजातसत्तुसँग विवाह गराउन बाध्य भए।

करिब त्यही समयमा, बुद्धका काका/फुपूका छोरा देवदत्त, जो अजातसत्तुका गुरु बनेका थिए, र बुद्धको भिक्षु सङ्घमथि नियन्त्रण लिन प्रयास गरेका थिए। उनले भिक्षुहरूका लागि केही अतिरिक्त कठोर अनुशासन नियमहरू लगाउन बुद्धलाई मनाउन खोजे—जस्तै, सधैं जंगलमा बस्नुपर्ने, रुखमुनिबाहेक कहीं नसुत्ने, गृहस्थहरूको घरभित्र नजानुपर्ने, केवल च्यातिएका पुराना लुगा मात्र लगाउनुपर्ने र नयाँ लुगा वा वस्त्रको दान नस्वीकार्ने, र कडाइका साथ शाकाहारी बन्नुपर्ने। बुद्धले यस प्रस्तावलाई अस्वीकार गर्नुभयो, किनभने उहाँको विचारमा यस्ता नियमहरूले सङ्घलाई अत्यधिक कठोर तपस्वी बनाइदिने थियो र समाजबाट टाढा पारिदिने खतरा थियो। देवदत्तले बुद्धको अधिकारलाई खुला चुनौती दिए र बुद्धका धेरै युवाभिक्षुहरूलाई आफूतिर आकर्षित गरी पृथक भिक्षु सङ्घ स्थापना गरे—जसले बौद्ध समुदायमा विखण्डन ल्यायो। वास्तवमा, देवदत्तले बुद्धलाई हत्या गर्न पटक–पटक प्रयास गरे, तर सबै असफल भए। अन्ततः, शारिपुत्त र मौग्गल्लानले ती भिक्षुहरूलाई फकाई बुद्धको मूल सङ्घमा पुनः ल्याउनु भयो।

यस्तो देखिन्छ कि देवदत्तले आफ्नो कार्यहरुप्रति पछुतो भएको थिए, तर बुद्धसँग क्षमायाचना गर्न नपाउँदै उनको मृत्यु भयो। जे भएत पनि, बुद्धले कहिल्यै पनि देवदत्तप्रति कुनै वैरभाव वा द्वेष राख्नुभएन।त्यस्तै, राजा अजातसत्तुले पनि आफ्नै बुबा बिम्बिसारको हत्या गरेकोमा पछुतो मानेकस थिए र राजदरबारका वैद्य जीवकको सुझावमा उनले बुद्धसँग खुला रूपमा आफ्ना पापकर्म स्वीकार गरे र प्रायश्चित्तको मार्ग माग्नु भयो।

करिब एक वर्षपछि, बुद्ध फेरि एक पटक आफ्नो जन्मभूमि शकिय देशतर्फ यात्रा गर्नुभयो। त्यही समयमा राजा पसेनदि बुद्धलाई श्रद्धा अर्पण गर्न आइपुगेका थिए, तर त्यही अवसरमा सेनापति करायणाले दरबारमा विद्रोह गर्दै राजकुमार विददभलाई कोशलको सिंहासनमा बसालिदिए।पदच्युत राजा पसेनदिसँग अब अन्त कतै जाने ठाउँ थिएन र, त्यसैले उनी मगधतर्फ भागेर राजगृह पुगे—जहाँ उनले आफ्नो भान्जा तथा ज्वाइँ राजा अजातसत्तुसँग शरण खोजेका थिए। तर अजातसत्तुले उनलाई शहरमा प्रवेश गर्न अस्वीकार गरे र भोलिपल्ट बिहान, राजा पसेनदि मृत अवस्थामा फेला परेका थिए।

यसैबीच, नयाँ कोशल राजा विददभले आफ्ना हजुरबा महानामले उनको वंशपरम्पराको बारेमा गरेको छलको बदला लिन शकिय राज्यमाथि युद्ध घोषणा गरे। महानाम, तपाईंले सम्झनुहोस्, बुद्धका काका/फुपूका छोरा थिए र त्यतिबेला शकिय राज्यका शासक थिए। बुद्धले राजा विददभलाई आक्रमण नगर्न तीन पटक प्रयास गरेर सम्झाउनु भयो, तर अन्ततः त्यो प्रयास असफल रह्यो। कोशलको सेनालाई कपिलवत्थु—शकियहरूको राजधानी का सबै बासिन्दालाई हत्या गर्न आदेश दिइएको थियो। यस वधकाण्डलाई रोक्न असमर्थ भएर, बुद्ध पनि मगधको राजगृह भाग्नुभयो—अजातसत्तुबाट सुरक्षा खोज्दै, ठीक त्यस्तै जसरी राजा पसेनदिले पनि त्यसअघि प्रयास गरेका थिए, यद्यपि असफल भएका थिए।

मगध जाने बाटो वज्जि गणराज्यमार्फत जान्थ्यो, जहाँ बुद्धका सबैभन्दा नजिकका शिष्य शारिपुत्त राजधानी वैशालीमा उहाँको प्रतीक्षा गरिरहेका थिए। तर त्यहीं, बुद्धका एकजना पूर्वसेवक सुनक्कत्त (सं. सुनाक्षत्र) जो वैशालीका एक कुलीन थिए, र पहिले दिक्षा लिएर पछि भिक्षु जीवन त्याग गरेका थिए—उनले बुद्धको बदनाम गर्न वज्जिको संसदमा बयान दिए। सुनक्कत्तले भने कि बुद्धसँग कुनै अलौकिक शक्ति छैन, र उहाँ केवल तर्कको आधारमा तृष्णा कसरी रोक्ने उपाय मात्र सिकाउनुहुन्छ, तर आध्यात्मिक पारावस्थामा पुग्ने उपाय भन्ने सिकाउनु हुन्न्। बुद्धले यस आलोचनालाई पनि प्रशंसा स्वरूप नै लिए। तर पनि, यो आरोप र सम्भवत: यसै समयमा स्थापना भएको भिक्षुणी सङ्घको प्रभावका कारण बुद्ध वज्जि गणराज्यमा आफ्नो समर्थन र प्रतिष्ठा गुमाउनुभयो। फलस्वरूप, बुद्ध गङ्गा नदी पार गरेर राजगृह पुगे, जहाँ उहाँ नजिकैको गृद्धकूट पर्वत (सं. गृद्धकूट) का गुफाहरूमा बस्नुभयो।

वस्सकार, राजा अजातसत्तुका प्रधानमन्त्री, बुद्धलाई भेट्न आए र उनले अजातसत्तुको योजना, आफ्नो राज्य विस्तार गर्नका लागि चाँडै नै वज्जि गणराज्यमाथि आक्रमण गर्ने मनसाय भएको बुद्धलाई जानकारी गराए। यद्यपि बुद्धले वज्जिहरूलाई बलपूर्वक जित्न सकिन्न र उनीहरूले आफ्नो परम्परागत सम्मानजनक तरिका कायम राख्ने सल्लाह दिए तापनि, पहिले जसरी कोशलले शकियमाथि आक्रमण गर्दा पनि रोक्न नसकेझैं, उनले त्यो युद्ध टार्न भने सकेनन्। यसै समयतिर बुद्धका सबैभन्दा नजिकका शिष्यहरू शारीपुत्त र मौग्गलानको पनि निधन भयो। वृद्ध शारीपुत्तको मृत्यु रोगका कारण भयो भने मौग्गलानलाई एकान्त ध्यानमा रहेको बेला डाँकाहरूको हातबाट कुटिएर भयो।

मगधमा कुनै सहानुभूति वा समर्थन नपाएपछि, बुद्धले फेरि उत्तर फर्किने निर्णय गर्नु भयो, सम्भवतः आफ्नो जन्मभूमि शकियमा, कोसलाको आक्रमणपछि के बाँकी रह्यो भनेर हेर्नका लागि।यात्रा सुरु गर्नु अघि, बुद्धले आनन्दलाई सबै भिक्षुहरूलाई गिध्दपर्वतमा जम्मा गर्न भने, जहाँ उहाँले आफ्नो अन्तिम उपदेश दिनु भएको थियो। उहाँले भिक्षु संघलाई वज्जि गणतन्त्रको प्रजातान्त्रिक प्रणालीअनुसार सञ्चालन गर्न निर्देशन दिए। भिक्षुहरूले नियमित रूपमा सभाहरू गर्नु पर्ने, आपसी मेलमिलापमा बस्नुपर्ने, भिक्षा साझेदारी गर्नुपर्ने, र ज्येष्ठ भिक्षुहरूको सम्मान गर्नुपर्ने बताए।

बुद्ध चाँडै गिध्दपर्वत र मगध छोडेर वज्जि गणराज्यको राजधानी वैशाली पुगे, जहाँ उहाँले वर्षा ऋतुको वास बस्नुभयो। त्यहाँ पुग्दा, बुद्धले समाजमा युद्धको खतरा नजिकिँदै गर्दा पनि नैतिक पतन गहिरिएको पाउनुभयो। वज्जि सभाबाट समर्थन गुमाइसकेकाले, बुद्धले यो वर्षा वास एक्लै बिताउनुभयो र आफ्ना भिक्षुहरूलाई उनीहरूले आफ्ना साथी वा समर्थकहरूमध्ये कोहीकहाँ आश्रय खोज्न भन्नु भयो।

वर्षा ऋतुको दौरान, अस्सी वर्ष पुगेका बुद्ध गम्भीर रूपमा बिरामी हुनुभयो र मृत्युसँग नजिक पुग्नुभयो। आनन्दले उहाँसँग भिक्षुहरूका लागि अन्तिम उपदेश दिन आग्रह गरे। बुद्धले भन्नुभयो कि उहाँले आफूले जानेका सबै कुरा उनीहरूलाई सिकाइसकेका छन् र भविष्यमा ती शिक्षाहरू नै उनीहरूको मुख्य शरण र मार्गदर्शनको स्रोत हुनु पर्नेछ। दुःखबाट मुक्त हुनको लागि, ती शिक्षाहरूलाई जीवनमा आत्मसात् गर्नुपर्छ र कुनै नेता वा समुदायमा मात्र भर परेर मुक्ति सम्भव छैन। त्यसपछि बुद्धले घोषणा गर्नुभयो कि अब चाँडै उहाँको परिनिर्वाण प्राप्त हुने छ।

वर्षा ऋतु सकिएपछि, बुद्ध आफ्ना शिष्य तथा सम्वन्धी आनन्द र अनुरुद्धसँग फेरि यात्रा सुरु गर्नुभयो। शकिय देशतर्फ जाँदै गर्दा, उनीहरू मल्ल देशका दुई प्रमुख शहरहरूमध्ये एउटा पावा भन्ने ठाउँमा रोकिए। त्यहाँ, तिनीहरूलाई चुण्ड (सं. चुन्द) नाम गरेका एक लोहारले विष मिसाइएको सुँगुरको मासु खुवाए। केही अनुचित कुरा शंका लागेपछि, बुद्धले आफ्ना सम्वन्धीहरूलाई त्यो मासु नखान भन्नुभयो र आफैंले मात्र खानुभयो, अनि बाँकी मासु गाड्न निर्देशन दिनुभयो। मल्ल देश नै त्यो सैन्य प्रमुख करायणको जन्मभूमि थियो, जसले शकियहरूमा सामूहिक हत्या गराएका थिए। त्यसैले यो सम्भावना छ कि त्यो विष वास्तवमा आनन्दका लागि लक्षित गरिएको थियो, जसले बुद्धका सम्पूर्ण शिक्षाहरू कण्ठस्थ गरेका थिए। यदि आनन्दको मृत्यु भएको भए, बुद्धका शिक्षाहरू र भिक्षु समुदाय लामो समय सम्मा टिक्न सक्दैन थियो।

गम्भीर रक्तस्रावयुक्त पखालाबाट पीडित भएर, बुद्धले आनन्दलाई नजिकैको कुशीनारा (सं. कुशीनगर) लैजान भने। त्यहाँ, दुई रुखको बीचमा ओछ्यान बिछ्याएर राखिएको थियो। बुद्धले आफुसँग भएका थोरै भिक्षुहरूलाई सोध्नुभयो कि के उनीहरूलाई अझै केही प्रश्न वा शंकाहरु छन् कि छैनन्? तर, गहिरो शोकमा डुबेका आनन्द र अरू सबै भिक्षुहरू मौन रहे। त्यसपछि बुद्धले असी वर्षको उमेरमा, ४८५ ईसापूर्वमा निधन भयो।

बुद्धको पार्थिव शरीर दाहसंस्कार गर्न लागिएको ठीक अघिको समयमा, पावाबाट भिक्षुहरूको एक समूह आइपुग्यो। तिनीहरूको नेतृत्व महाकस्सप (सं.महाकश्यप) ले गरिरहेका थिए, जसले अन्तिम श्रद्धाञ्जली अर्पण नगरेसम्म दाहसंस्कार नगर्न आग्रह गरे। महाकस्सप मगधका ब्राह्मण थिए, जो केही वर्षअघि बुढेसकालमा भिक्षु बनेका थिए। जब बुद्धले पहिलोपटक उनलाई भेटेका थिए, आफ्नै पुरानो जिर्ण वस्त्र दिनुभयो र त्यसको सट्टामा ब्राह्मणको नयाँ वस्त्र लिनुभयो। पछि, बुद्धले दिएको त्यो वस्त्रलाई बौद्ध परम्परामा अधिकारको हस्तान्तरण र बौद्ध गुरुहरूको परम्परागत लाइनको सुरुवातको प्रतीक मानियो।

यद्यपि बुद्धले आफ्ना शिष्यहरूलाई धेरै अवसरहरूमा स्पष्ट रूपमा भन्नुभएको थियो कि आफ्नो निधनपछि धर्म नै उनीहरूको गुरुको रूपमा काम  गर्नेछ। उहाँ चाहनुहुन्थ्यो कि भिक्षु समुदायले वज्जिको गणतान्त्रिक प्रणालीलाई पछ्याएर अघि बढून्। उहाँले समुदायलाई कोसल वा मगधजस्ता राजतन्त्रको रूपमा परिवर्तन गरी एउटा मात्र मुख्य भिक्षुलाई प्रमुखको रूपमा राख्ने इरादा थिएनन्।

यद्यपि, बुद्धको निधनपछिका दिनहरूमा महाकशस्सप र आनन्दबीच शक्ति संघर्ष भएको देखिन्छ। अर्को शब्दमा भन्ने हो भने, यो गुरुबाट शिष्यमा स्वेच्छाचारी अधिकार सुम्पिने परम्परागत भारतीय प्रणाली र सानो समुदायमा बस्ने, साझा अभ्यास र सिद्धान्तहरू पालना गर्ने भिक्षुहरूको बढी लोकतान्त्रिक र समतामूलक प्रणालीबीचको संघर्ष थियो। अन्ततः, महाकस्सप विजयी भए।

बुद्धको दाहसंस्कार र उहाँका अवशेषहरू वितरण गरेपछि, भिक्षुहरूले महाकस्सपको प्रस्ताव अनुसार अर्को वर्षको वर्षा ऋतुमा राजगहामा एक परिषद् आयोजना गर्ने सहमति जनाए, जसको उद्देश्य बुद्धले दिएका शिक्षाहरूलाई सम्झनु, पुष्टि गर्नु र संहिताबद्ध गर्नु थियो। महाकस्सपले त्यो परिषद्मा सहभागी हुन सक्ने वृद्ध भिक्षुहरू छान्ने जिम्मा पाएका थिए। उनले केवल अर्तहरूलाई, अर्थात् मुक्ति प्राप्त गरेका भिक्षुहरू छाने, जसको संख्या ४९९ थियो। सुरुमा, महाकस्सपले आनन्दलाई अर्हत्व प्राप्त नगरेको आधारमा  सामेल गरेनन्। आनन्दसँग बुद्धका उपदेशहरू सबैभन्दा उत्कृष्ट स्मरणशक्ति भए तापनि, महाकस्सपले उनलाई बाहिर राखे। थप रूपमा, आनन्द बुद्धको इच्छाको दृढ समर्थक र मुखर समर्थक थिए कि उनको संघको एक मात्र नेता नहोस्। महाकस्सपलाई आनन्द मन नपर्नुको अर्को सम्भावित कारण यो पनि हुन सक्थ्यो कि आनन्दले नै बुद्धलाई महिलाहरूलाई भिक्षुणीको रूपमा दीक्षा दिन सहमत गराएका थिए, जुन महाकस्सपको परम्परावादी ब्राह्मण पृष्ठभूमिलाई मन नपरेको हुनसक्छ। तर अन्ततः, परिषद्मा सहभागी अन्य वृद्ध भिक्षुहरूले आनन्दलाई बाहिर राखिएकोमा विरोध जनाएपछि महाकस्सपले उनीहरूका कुरा माने र आनन्दलाई परिषद्मा सहभागी हुन दिए। थेरवाद विवरणअनुसार अनुसार, सभा सुरु हुनु अघिल्लो रात आनन्दले अर्हत्व प्राप्त गरेका थिए।

सभा सुरु हुने प्रतीक्षामा रहँदा, आनन्दको भेट राजा अजातसत्तुका प्रधानमन्त्री वस्सकार (सं. वर्षकार) सँग भयो। वस्सकारबाट आनन्दले थाहा पाए कि मगधका सेना वज्जिमाथि आक्रमणको तयारी मात्र होइन, पश्चिमतिरको राज्य अवन्तीका राजा पज्जोत (सं.प्रद्योत) बाट सम्भावित आक्रमणको सामना गर्ने तयारी पनि गरिरहेका थिए। यसरी, बुद्धले आफ्नो समुदायमा गुरुहरूको एक रेखा रहने चाहना नराखे पनि, महाकस्सपको नेतृत्व सम्हाल्नुले ती संकटपूर्ण र अनिश्चित समयमा बुद्धका शिक्षाहरू र भिक्षु समुदायको अस्तित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

राजगहा नजिकैको सत्तिपण्णिगुहा (सं. सप्तपर्णगुहा), अर्थात् "सात पातको गुफा" मा आयोजित पहिलो बौद्ध परिषद्मा पाँच सय अर्हतहरू सहभागी भएका थिए। परिषद् महाकस्सपको अध्यक्षतामा सम्पन्न भयो। आनन्दले बुद्धका अधिकांश सूत्रहरू सम्झिएर वाचन गरे भने उपालि (सं. उपालि) ले विनय, भिक्षु अनुशासनका नियमहरू वाचन गरे। यस सभाको थेरवाद परम्पराअनुसार, यस परिषद्मा अभिधम्म (सं. अभिधर्म) अर्थात् विशेष ज्ञानसम्बन्धी शिक्षाहरू भने वाचन गरिएनन्। तर सर्वास्तिवाद परम्पराभित्र वैभाषिक धारामा भनिन्छ कि महाकस्सपले केही अभिधम्म शिक्षाहरू वाचन गरे, तर सबै होइन। सौत्रान्तिक परम्पराको दाबी अनुसार भने, यी अभिधम्म शिक्षाहरू वास्तवमा बुद्धका शब्द नभइ,  सात जना अर्हतहरूले ती रचना गरेका थिए।

तिब्बती परम्पराअनुसार, महाकस्सपले सात जना धर्मगुरुहरूको परम्परागत श्रेणीको सुरुवात गरे। चीनको छान (Chan) परम्परा, जुन पछि कोरियाली सोन (Son) र जापानी जेन् (Zen) परम्पराले पछ्याउने, भारतमा अट्ठाइस पितृहरूको वंशको खोजी गर्छन्, जसमा बोधिधर्मा अठ्ठाइसौं गुरु मानिन्छन्। बोधिधर्मा ती भारतीय गुरु थिए जसले छान परम्पराका शिक्षाहरू चीनमा ल्याएका थिए। पूर्वी एसियामा, उनी प्रथम छान गुरु (Chan Patriarch) का रूपमा मानिन्छन्।

संक्षेपमा भन्ने हो भने, थेरवाद सम्प्रदायको पालि साहित्यले बुद्धलाई एक करिश्मात्मक र प्रायः दुःखद आध्यात्मिक नेताका रूपमा चित्रण गर्छ, जसले अत्यन्त कठिन परिस्थितिहरूमा आफ्नो लगातार बढ्दो शिष्य तथा अनुयायी समुदायलाई स्थापना गर्न र समर्थन गर्न संघर्ष गर्नुपर्‍यो। उहाँले राजनीतिक षड्यन्त्रहरू, धेरै युद्धहरू, आफ्नै जन्मभूमिका जनताको सामूहिक हत्या, सरकारी उपस्थितिमा व्यक्तिगत निन्दा, आफ्नै शिष्यबाट नेतृत्वको चुनौती, आफ्ना निकटतम शिष्यहरूमध्ये एकको हत्या, र अन्ततः विषप्रयोगद्वारा मृत्युको सामना गर्नुपरेको थियो। तथापि यी सबै कठिनाइहरूका बीच पनि बुद्धले सधैं मानसिक शान्ति कायम राख्नुभयो र कहिल्यै निराश हुनुभएनन्। बोधि प्राप्त गरेपछि उहाँले सिकसएका ४६ वर्षहरुमा, उहाँले संसारलाई मुक्तिको र ज्ञानको मार्ग देखाउने आफ्नो प्रतिबद्धतामा अडिग रहनुभयो।

Top