बुद्ध को हो?

हामी सबैले ती बुद्धका बारेमा सुनेका छौं जो एक महान् आध्यात्मिक शिक्षक हुनुहुन्थ्यो, जो करीब २५०० वर्षअघि भारतीय उपमहाद्वीपमा बस्नुहुन्थ्यो र त्यतै शिक्षा प्रदान गर्नुहुन्थ्यो। तर ती ऐतिहासिक बुद्ध, जसलाई शाक्यमुनि बुद्ध भनिन्छ, एकमात्र बुद्ध होइनन्। बुद्धधर्मअनुसार बुद्धहरू असंख्य हुन्छन्। वास्तवमा बुद्धधर्मको एक सारभूत शिक्षा के हो भने यो ब्रह्माण्डका प्रत्येक जीवमा बुद्ध बन्ने सम्भाव्यता हुन्छ।
Who is buddha 01

ऐतिहासिक बुद्ध

परम्पराअनुसार बुद्धका अधिकांश जीवनकथाले के भन्छन् भने बुद्ध हुनेवाला व्यक्ति भारतीय उपमहाद्वीपमा (हालको नेपाल) राजकीय शाक्यवंशमा इसापूर्व पाँचौं शताब्दीतिर जन्मेका थिए। उनको नाम सिद्धार्थ गौतम राखिएको थियो। उनको जन्म भएको उत्सव मनाउँदै गर्दा असित नामका एक विद्वान साधु आइपुगे र उक्त बालक या त एक महान् राजा हुनेछ या महान् धार्मिक शिक्षक भनेर घोषणा गरे। । सिद्धार्थका पिता शुद्धोदन शाक्यवंशका प्रमुख थिए र आफ्नो छोराले आफूजस्तै राजा हुने बाटो लेओस् भन्ने चाहन्थे। त्यसैले एक महान् राजा बन्ने बाटोबाट विचलित गराउन सक्ने हरेक कुराबाट आफ्नो छोरालाई अलग राख्ने निर्णय गरे। 

युवावस्थाका सिद्धार्थलाई परिवारभित्रै दरबारमा अलगसँग राख्न थालियो र हरेक प्रकारका विलासिताका सामान उपलब्ध गराउन थालियो – बहुमूल्य जवाहरात, सुन्दर स्त्रीहरू, कमलले सजिएको पोखरी, लोभलाग्दा पशुपंक्षी आदि। हरेक प्रकारका दुःख र विपत्तिबाट उनलाई टाढा राखियो – बिरामी वा बृद्ध मानिसलाई दरबारभित्र प्रवेश नै दिइएन। समय बित्दै जाँदा सिद्धार्थ पढाइ र खेलकूदमा अब्बल भएर निक्लिए, र यशोधरासँग बिहे गरे। उनीहरूको पुत्र पनि भयो, जसको नाम राहुल राखियो। 

झण्डै ३० वर्षको उमेरसम्म सिद्धार्थले एकदमै सुखसयलपूर्ण जीवन बिताए। तर दरबारको पर्खालबाहिरको दुनियाँ कस्तो छ भन्ने खुलदुली उनमा भैरहन्थ्यो। “यदि यो राज्य मेरो हो भने,” उनले सोचे, “पक्कै पनि मैले यसलाई हेर्नुपर्छ, मेरा जनतालाई देख्नुपर्छ।” अन्ततः शुद्धोधनले आफ्नो छोरालाई दरबारबाहिरको भ्रमणमा निस्किने प्रबन्ध मिलाइदिए। सडकहरू सफा गरिए, बिरामी र बृद्धबृद्धालाई लुक्न लगाइयो। सिद्धार्थलाई उनको सारथी छन्दले सहरका सडकमा घुमाए, जनताले हात हल्लाउँदै र मुस्कुराउँदै उनको अभिवादन गरे। तैपनि, भीडको बीचबाट सिद्धार्थका आँखा सडकको कुनामा उभिएको एक त्यस्तो व्यक्तिमा पर्यो जसको ढाड कुप्रो परेको थियो, छाला चाउरी परेका थिए। अचम्मित र स्तम्भित हुँदै उनले उक्त प्राणीलाई के भयो भनी छन्दलाई सोधे। “तपाईंले देख्नुभएको प्राणी एक बृद्ध मानिस हो। यो अवस्था हामी सबैको हुनेवाला छ,” छन्दले जवाफ दिए। पछि सिद्धार्थले एक बिरामी मानिस र एक मरेको मानिस देखे। यसले उनको आँखा उघारियो। यी अवस्थाहरू आमरूपमा घटित हुन्छन्, तिनलाई टाल्न सकिँदैन, र तिनले उनी आफैँलाई पनि छोड्ने छैनन्। यो बोध उनलाई भयो। 

अन्तमा उनले एक आध्यात्मिक व्यक्ति देखे जो संसारको दुःखबाट मुक्तिको खोजमा हिँडेको थियो। पहिलो तीन दर्शनले सिद्धार्थलाई यतिका समय दरबारको सुखले आफूलाई जीवनको दुःखबाट टाढा राखेर झुक्याएको रहेछ भन्ने बोध भयो। आध्यात्मिक व्यक्तिको दर्शनले उनमा दुःखबाट मुक्तिको बाटो पनि खोज्न सकिने रहेछ भन्ने बोध जागृत भयो। 

हुनत सिद्धार्थले त्योभन्दा पहिले बृद्ध वा बिरामी मानिस नदेखेका होलान् भन्ने सम्भावना कमै छ, तर यो प्रकरणले सांकेतिक रूपमा के बताउँछ भने कसरी सिद्धार्थमात्र होइन हामी सबै नै दुःखलाई बेवास्ता गर्दै बाँचिरहेका हुन्छौं। दरबार फर्केपछि सिद्धार्थलाई ठूलो बेचैनी भयो। उनले आफ्नो जीवन सुखसयलका साथ आफ्ना प्रियजनका बीच बिताएका थिए। तर एक दिन म बुढो हुन्छु, बिरामी पर्छु, र मर्छु भन्ने थाहा भैसकेपछि कसरी त्यत्तिकै आनन्द र आरामपूर्वक बस्नु? सबै मानिसलाई यसबाट मुक्त गराउने उपाय खोज्नुपर्यो भन्ने उत्कट अभिलाषाका साथ एक रात दरबारबाट लुसुक्क निस्केर घुमन्ते सन्यासीको जीवन बिताउन थाले। 

सिद्धार्थले थुप्रै महान् शिक्षकहरू भेटे र उनीहरूबाट ध्यान सिकेर समाधिको निकै उच्च स्तरसम्म पुगे। तर समाधिका यी अवस्थाहरूले मात्र दुःखबाट मुक्त नगराउने भएकाले उनलाई सन्तुष्टि भएन। त्यसैले उनले दुष्कर तपस्या गर्न थाले। शरीरलाई खानेकुरा र सबै खालका शारीरिक आरामबाट बञ्चित गराउने र अधिकांश समय ध्यानकै अभ्यासमा बिताउने गर्न थाले। करीब ६ वर्षसम्म यस्तो दुष्कर तपस्या गर्दा उनको शरीर अत्यन्तै दुब्लो भयो। अस्थिपञ्जरको ढाँचालाई एकदमै पातलो छालाले ढाकेको जस्तो उनको शरीर भयो। 

एकदिन नदीको किनारमा बसिरहेको बेला उनले एक गुरुले एक बालकलाई सांगीतिक बाजा बजाउन सिकाउँदै गरेको सुने – “बाजाका तारहरू ज्यादै खुकुला भए भने तिमीले त्यसलाई बजाउन सक्दैनौ। तर फेरी ती ज्यादै कस्सिनु पनि हुँदैन, कस्सियो भने चुँडिन्छन्।” यो सुनेपछि सिद्धार्थलाई आफूले बर्षौं गरेको दुष्कर तपस्या बेकारको रहेछ भन्ने बोध भयो। दरबारको सुखसयलजस्तै दुष्कर तपस्या पनि अर्को अतिवादी चर्या रहेछ र त्यसले दुःखबाट मुक्ति गराउने रहेनछ भन्ने उनलाई थाहा भयो। यी दुवैबीचको मध्यममार्ग चाहिँ सही उपाय हुनेछ भन्ने उनलाई लाग्यो। 

त्यसैबेला सुजाता नाम गरेकी एक युवतीले सिद्धार्थलाई खीर खान दिइन्। त्यो ६ वर्षपछि उनले खाएको पहिलो गतिलो खानेकुरा थियो। उनका तपस्वी साथीहरू त्यो देखेर चकित भए। उनी चाहिँ एक पीपलको रुखमुनि गएर आसन जमाएर बसे। त्यहाँ सिद्धार्थले अठोट गरे, “जबसम्म पूर्ण ज्ञान प्राप्त गर्दिन, तबसम्म यो आसनबाट उठ्दिन।” त्यो पीपलको रुखलाई अहिले बोधिवृक्ष भनिन्छ, जहाँ सिद्धार्थले पूर्ण बोधि प्राप्त गरे। बोधिलाभ पछि उनलाई बुद्ध (पूर्णरूपमा ज्ञान खुलेको) भन्न थालियो। 

बोधिलाभ पछि बुद्धले चार आर्यसत्य र अष्टाङ्गिक मार्गको शिक्षा दिए। त्यसपछि ४० वर्षसम्म उनले उत्तरी भारतीय गाउँ नगरहरू घुम्दै आफूले प्राप्त गरेको ज्ञान अरूलाई बाँडिरहे। उनले भिक्षुहरूको संघ स्थापना गरे। भिक्षुसंघले बुद्धको शिक्षालाई भारतभरि र अन्ततः एशिया र विश्वभरि नै फैलाउँदै लगे। 

करीब अस्सी वर्षको उमेरमा कुशीनगरमा बुद्धको महापरिनिर्वाण भयो। शरीर छाड्नुअघि बुद्धले भिक्षुसंघलाई कुनै जिज्ञासा भए राख्न र आफूले दिएको शिक्षासम्बन्धी कुनै विषयमा थप स्पष्ट पार्नुपर्ने भए सोध्न आग्रह गरे। धर्म र शीलयुक्त आत्म–अनुशासनलाई आधार बनाउने सल्लाह उनले आफ्ना शिष्यहरूलाई दिए। उनको अन्तिम वाक्य यस्तो थियो – “हे भिक्षुहरू, ध्यानपूर्वक सुन, यो मेरो अन्तिम उपदेश हो। हेतुप्रत्ययबाट बनेका संसारका हरेक चीज परिवर्तनशील हुन्छन्। तिनीहरू चिरस्थायी हुँदैनन्। आफ्नो निर्वाणका लागि आफैं परिश्रम गर्नुपर्छ।” यसो भनेर उनी दाहिने कोल्टो फर्केर सुते र प्राण त्याग गरे।

बुद्धहरू को हुन्?

ऐतिहासिक बुद्ध को थिए भन्ने चर्चा हामीले गर्यौं। खासमा बुद्ध हुनु भनेको चाहिँ के हो त?

सरल भाषामा भन्दा बुद्ध भनेको त्यो हो जो जागेको छ। बुद्धहरू ती हुन् जो गहिरो निद्राबाट जागेका छन्। तर यो निद्रा रातभर पार्टी गरेर सुतेपछि आउने निद्राजस्तो होइन। यो भ्रमको त्यस्तो गहिरो निद्रा हो, जो हाम्रो जीवनको प्रत्येक क्षणमा व्याप्त छ। यो भ्रम हामी कसरी अस्तित्ववान छौं, र सबै चीज कसरी अस्तित्ववान छन् भन्ने कुरासँग सम्बन्धित छ। 

बुद्धहरू देवता होइनन्, न त विधाता नै हुन्। सबै बुद्धहरू सुरुवातमा हामीजस्तै हुन्छन्, भ्रमले भरिएका, अशान्तकारी आवेगले भरिएका, समस्याले ग्रस्त। तर करुणा र प्रज्ञाको बाटोमा हिँड्दै र यी दुई गुणको विकास गर्न क्रमिक प्रयत्न गर्दै गयो भने बोधिलाभ हासिल गर्न सम्भव छ। 

बुद्धका मुख्यतः तीन प्रमुख गुण हुन्छन्ः 

  1. प्रज्ञा – बुद्धमा कुनै मानसिक अवरोध हुँदैन। उनीहरू हरेक कुरालाई पूर्णरूपमा जान्न सक्षम हुन्छन्, खासगरी अरूलाई के गरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा।
  2. करुणा – यस्तो प्रज्ञा भएको र हामीहरू सबै एक आपसमा अन्तरसम्बन्धित रहेको बोध भएका कारण बुद्धहरूमा असीम करुणा हुन्छ। आफू सबैको सहयोग गर्न सक्षम रहेको कुरा पनि उनीहरूलाई थाहा हुन्छ। करुणाबिनाको प्रज्ञाले मानिसलाई ज्यादै शिक्षित बनाउन सक्छ तर तिनीहरू समाजका लागि धेरै उपयोगी हुँदैनन्। करुणाले नै उनीहरूलाई अरूको हितका लागि क्रियाशील हुन अभिप्रेरित गर्छ। त्यसैले हामी सबै मानिससँग सम्बन्ध स्थापित गर्न बुद्धहरूले यो दोस्रो गुणको विकास गर्छन्। 
  3. शक्ति – दुःखबाट मुक्त हुने ज्ञान र अरूको हित गर्ने प्रबल आकांक्षाले गर्दा बुद्धहरूसँग साँच्चिकै अरूको हित गर्ने क्षमता हुन्छ। उनीहरूले हामीलाई अनेक उपाय कौशलको उपयोग गर्दै बोधिलाभ सम्मको बाटो देखाउन सक्छन्। 

जसरी आफूलाई दुःख मन पर्दैन त्यसरी नै अरू कसैलाई दुःख मन पर्दैन भन्ने कुरा बुद्धले जानेका हुन्छन्। सबैजना सुखी नै हुन चाहन्छन्। त्यसैले बुद्धहरूले आफ्नो लागि मात्र काम गर्दैनन्, यो ब्रह्माण्डका सबैका लागि काम गर्छन्। उनीहरू आफ्नो जति ख्याल राख्छन्, अरूको पनि त्यति नै राख्छन्। 

असाधारण प्रगाढ करुणाको बलले उनीहरू सबै दुःखबाट मुक्तिको उपाय अर्थात् प्रज्ञाको शिक्षा दिन्छन्। यो प्रज्ञा चित्तको त्यस्तो स्पष्टता हो जसले यथार्थ र कल्पनाबीच ठीकठीक भेद गर्न सक्छ। प्रज्ञाको मद्दतले नै हामी अन्ततः सबै नकारात्मक चीजहरू (भ्रम, स्वार्थीपना र नकारात्मक आवेग) बाट मुक्ति पाउन सक्छौं। हामी आफैं पनि पूर्ण बुद्ध बन्न सक्छौं, र पूर्ण आन्तरिक शान्तिको अनुभूति गर्न सक्छौं। 

सारांश

बुद्ध त्यस्ता शिक्षक हुन् जो उपाय कुशलताको उपयोग गर्दै कुन तरिकाले हाम्रो उच्चतम हित गर्ने सकिन्छ, जान्दछन्। उनीहरू करुणाले युक्त हुन्छन्, र हामीलाई सही मार्गदर्शन गराउँदै हाम्रो हित गर्न सधैँ तत्पर र इच्छुक हुन्छन्। (बुद्ध बन्नुअघिका) सिद्धार्थजस्तै हामी पनि अक्सर संसारका दुःखहरूप्रति अनभिज्ञ हुन्छौं। तर जति पन्छाउन खोजे पनि वा बेवास्ता गरे पनि बुढ्यौली, बिमारी, मृत्युले हामीलाई कुनै दिन छोपिहाल्छ। बुद्धको जीवनकथाबाट हामी उनले जस्तै दुःखको यथार्थलाई सामना गर्ने र त्यसलाई राम्रोसँग जान्ने प्रेरणा प्राप्त गर्न सक्छौं। त्यसो गर्नाले जीवनमा भोग्नुपर्ने हरेक निराशापूर्ण अवस्थामा आफूलाई मुक्त राख्न सक्नेछौं। उनको जीवनकथा र शिक्षाले हामीलाई आफ्ना विनाशकारी आवेग (क्लेश) र भ्रमहरूबाट मुक्त भै उनीजस्तै सबै प्राणीको हित गर्न सक्षम बन्नेतर्फ प्रयास गर्नुपर्छ भन्ने प्रेरणा दिन्छन्।

Top