बुद्धधर्म त्यस्तो विधिहरूको संग्रह हो जसले हामीलाई यथार्थको सही स्वरूप जानेर आफ्नो मानवीय क्षमताको पूर्ण विकास गर्न सहयोग गर्छ।
करीब २,५०० वर्षअघि भारतमा सिद्धार्थ गौतम – जो बुद्धको नामबाट विख्यात हुनुभयो – ले दिनुभएको यो शिक्षा एशियाभरी फैलियो। अहिले यो विश्वको चौथो ठूलो धर्मका रुपमा स्थापित छ। बुद्धले जीवनको अधिकांश समय आफूले प्राप्त गरेको बुद्धत्त्वको ज्ञान बाँड्नमा उपयोग गर्नुभयो। अरु पनि ज्ञानप्राप्त बुद्ध बन्न सकुन् भन्ने उहाँको चाहना थियो। सबैजनामा बुद्ध बन्न सक्ने उत्तिकै क्षमता भए पनि उनीहरुको प्राथमिकता, रुचि र क्षमताहरुमा व्यापक अन्तर हुन्छ। यो कुरालाई ध्यानमा राख्दै उहाँले अनेक प्रकारका विधिहरुको शिक्षा दिनुभयो जसको सहायताले मानिसहरु आफ्नो सीमाबाट माथि उठ्न सकुन् र आफ्नो पूर्ण सामर्थ्य विकसित गर्न सकुन्।
बुद्धधर्म अपनाइएको विभिन्न ठाउँमा धर्मका फरक फरक पक्षहरुमाथि जोड दिइएको छ। बुद्धधर्मका विभिन्न स्वरुपहरु भए पनि ती सबैले दिने आधारभूत शिक्षा उही छन्।
बुद्धधर्मका आधारभूत शिक्षाहरू – चार आर्यसत्य
बुद्धको सबैभन्दा महत्वपूर्ण शिक्षा चार आर्यसत्यको शिक्षा हो। प्रबुद्ध व्यक्तिहरूले यी चार सत्यको यथार्थलाई आत्मसात गर्दछन्।
पहिलो आर्यसत्यः यथार्थ दुःख
जीवनमा धेरै खुशीहरू हुन्छन्। तर एक अत्यन्त सानो कीरादेखि लिएर घरबारविहीन मानिस र ठूला अरबपतिसम्म सबैले जीवनमा अनेकौं दुःखहरुको सामना गर्नुपर्छ। जन्म र मृत्युको बीचमा हामीले रोग, बृद्धावस्था, प्रियजनको वियोगजस्ता अनेक कुरा भोग्नुपर्छ। खोजेको कुरा नपाउँदा र नचाहेको कुरा आइपर्दा हामी हतास र निराश बन्छौं।
दोश्रो आर्यसत्यः दुःखको यथार्थ कारण
हाम्रा समस्याका पछाडि विभिन्न जटिल कारण र परिस्थितिहरु हुन्छन्। तर बुद्धले बताउनुभए अनुसार दुःखको असली कारण हाम्रो आफ्नै अज्ञान हो जसले गर्दा हामी यथार्थलाई देख्न सक्दैनौं। हाम्रो मनले आफूलगायत अरु सबैजना र सबैथोकप्रति भ्रमपूर्ण कल्पनाहरु गरिरहेको हुन्छ, जसका कारण हामी दुःखी हुन्छौं।
तेश्रो आर्यसत्यः दुःखको यथार्थ निरोध
दुःखको मूल कारण हाम्रो आफ्नै अज्ञान हो, जसलाई नष्ट गरेर हामी सबै प्रकारका दुःखहरुबाट मुक्ति पाउन सक्छौं र फेरी ती दुःखले हामीलाई सताउने छैन।
चौथो आर्यसत्यः चित्तको यथार्थ मार्ग
यथार्थको सही स्वरुपलाई राम्रोसँग जानेर अज्ञानलाई पन्छाउन सकियो भने समस्याहरू उत्पन्न हुन बन्द हुनेछन्। यसका लागि हामी सबै एक आपसमा अन्तरसम्बन्धित र अन्तरनिर्भर छौं भन्ने बोध हुनु जरुरी छ। यही बोधका साथ हामी सबै प्राणीप्रति प्रेम र करुणाको भाव जगाउँछौं। एक आपसको अस्तित्वका बारेमा हाम्रो भ्रम निर्मूल भएपछि हामी आफ्नो र अरुको भलाईको काम गर्न सक्छौं।
बौद्ध शिक्षाको क्षेत्र
दलाई लामाले बुद्धधर्मको शिक्षालाई तीन भागमा विभाजन गर्नुभएको छः
- बौद्ध चित्तविज्ञान – व्यक्तिगत स्तरमा बोध, विचार र संवेगहरुले कसरी काम गर्छन्, सोको ज्ञान।
- बौद्ध दर्शन – नीतिशास्त्र र तर्कशास्त्रको अध्ययन, बौद्धधर्म अनुसार यथार्थको ज्ञान।
- बौद्ध धर्म – विगत र भविष्यको जन्म, कर्म, अनुष्ठान र प्रार्थनामा विश्वास।
बौद्ध विज्ञानले इन्द्रियजनित बोध, एकाग्रता, जागरुकता, सचेतना, स्मरण तथा सकारात्मक र नकारात्मक मनोभावलगायत चित्तका विभिन्न संज्ञानात्मक कार्यहरुका बारेमा विस्तृत खाका प्रस्तुत गरेर वर्तमान स्नायु विज्ञान (न्युरो साइन्स) को ज्ञानलाई परिपूर्ण गर्छ। हामीले सकारात्मक स्नायुपथ विकसित गरेर आफ्नो चित्तको कल्याणकारी क्षमतालाई बढाउन सक्छौं।
बौद्ध चिन्तनले आस्थाभन्दा अन्वेषणमा धेरै विश्वास गर्छ। त्यसैले वैज्ञानिक निष्कर्षहरु बौद्ध चिन्तनका लागि धेरै सहयोगी छन्।– चौधौं दलाई लामा
भौतिक स्तरमा हेर्ने हो भने बौद्ध विज्ञानमा चिकित्साका उन्नत पद्धतिहरु समावेश छन्, जो अनेक प्रकारका रोगको उपचारका लागि उपयोगी हुन्छन्। बाह्यस्तरमा बौद्ध विज्ञानले पदार्थ र ऊर्जाको विस्तृत विश्लेषण प्रस्तुत गर्छ, जुन धेरै हदसम्म क्वान्टम विज्ञानसँग मिल्छ। यसले ब्रह्माण्डको उत्पत्ति, जीवन र अन्तको विषयमा पनि चर्चा गर्छ। साथै वर्तमान ब्रह्माण्डभन्दा अगाडि ब्रह्माण्डहरुको अनादि श्रृंखलाहरुतर्फ इङ्गित गर्छ।
बौद्ध दर्शनले परस्पर निर्भरता, सापेक्षता र कार्य–कारण जस्ता विषयहरुका बारेमा चर्चा गर्छ। यसमा तर्कशास्त्रको विस्तृत व्यवस्था छ, जसका आधारमा हामी आफ्नो चित्त र यसले गर्ने दोषपूर्ण कल्पनाहरुको बारेमा जान्न सक्छौं।
बौद्ध नीतिशास्त्रको आधार चाहिँ हाम्रो त्यो विवेक हो जसका माध्यमबाट हामी आफ्नो र अरुका लागि के हितकर छ र के हानिकारक छ भन्ने छुट्याउन सक्छौं।
हामी आस्तिक वा अनीश्वरवादी जे भए पनि तथा ईश्वर वा कर्ममा विश्वास राख्ने वा नराख्ने जे भएपनि हामी सबैजना नीतिशास्त्रको पालना गर्न सक्छौं। – चौधौं दलाई लामा
हामीले अरुलाई हानि नपुर्याउने हरसंभव प्रयास गर्दै दया, इमान्दारी, धैर्यजस्ता आधारभूत मानव मूल्यहरुको महत्व बुझ्न र तिनको विकास गर्नु आवश्यक छ।
बौद्ध धर्ममा कर्म, विगत और भविष्यका जन्महरु, पुनर्जन्मको प्रक्रिया, पुनर्जन्मबाट मुक्ति तथा बोधि प्राप्ति जस्ता विषयमा चर्चा गरिन्छ। यसमा जप, ध्यान साधना र प्रार्थना जस्ता अभ्यासहरू शामिल छन्। बुद्धधर्ममा “बौद्ध बाइबल” जस्तो कुनै एउटै मात्र पवित्र ग्रन्थ छैन। प्रत्येक बौद्ध परम्परामा अलग–अलग ग्रन्थहरु छन्, जुन बुद्धकै मूल शिक्षामा आधारित छन्।
बुद्धधर्म मान्ने मानिसले जुनसुकै बेला र जहाँ पनि प्रार्थना गर्न सक्छन्, यद्यपि कतिपयले मन्दिर या आफ्नो घरमा बनेका पूजास्थलहरु छान्दछन्। प्रार्थनाको उद्देश्य मनोकामनाहरु पूर्ति गर्ने होइन, बरु आफ्नो आत्मबल, विवेक र करुणा जागृत गर्ने हुन्छ।
खानेकुरा सम्बन्धमा कुनै खास नियम छैन, तर धेरै आचार्यहरुले आफ्ना विद्यार्थीलाई सकेसम्म शाकाहारी भोजन ग्रहण गर्न प्रोत्साहित गर्नुहुन्छ। बुद्धले आफ्ना अनुयायीहरुलाई जाँडरक्सी नखान र नशालु पदार्थको सेवन नगर्न उपदेश दिनुभएको थियो। बौद्ध शिक्षा होश र आत्मसंयमको विकास गर्न सिकाउने शिक्षा हो, जसका लागि नशालु पदार्थ लिनु वा जाँडरक्सी खानु बाधक बन्छ।
बुद्धधर्ममा विहार या गुम्बामा बस्ने परम्परा छ जहाँ भिक्षु र भिक्षुणीहरु सयौं व्रतहरु पालना गरिरहेका हुन्छन्। त्यसमा ब्रह्मचर्यको व्रत पनि पर्छ। उनीहरु आफ्नो कपाल खौरिन्छन्, भिक्षु कपडा धारण गर्छन्, र विहारभित्रै बस्छन्। उनीहरु अध्ययन, ध्यान साधना, प्रार्थना, र गृहस्थका लागि अनुष्ठानहरु गरिदिने जस्ता कार्यमा व्यस्त हुन्छन्। आजकल धेरै गृहस्थहरु पनि बुद्धधर्मको अध्ययन गर्छन् र बौद्ध केन्द्रहरुमा गएर ध्यान साधनाको अभ्यास गर्छन्।
बुद्धधर्म सबैका लागि खुला छ
बुद्ध पनि हामीजस्तै मानव हुनुहुन्थ्यो। उहाँले आफ्नो अस्तित्वको मूलस्वरुप जान्नुभयो, र आफ्ना कमी कमजोरीबाट पार पाउँदै आफ्नो पूर्ण क्षमतामा स्थित हुनुभयो। बुद्धधर्ममा यसैलाई बोधि प्राप्त गरेको अवस्था भनिन्छ। तर जादुजस्तो हात हल्लाएकै भरमा बुद्धले हाम्रा सबै समस्याको समाधान गरिदिन सक्नुहुने थिएन। बरु उहाँले हामीलाई त्यस्तो बाटो देखाउनुभयो जसको अनुसरण गर्दै हामी आफ्नो जीवनका समस्याहरू समाधान गर्न र मैत्री, करुणा, दयालुपन, प्रज्ञाजस्ता चित्तका अनेकौं सकारात्मक गुणहरुको विकास गर्न सक्छौं।
यी गुणहरूको विकास कसरी गर्ने भन्ने शिक्षा सबैका लागि खुला छ। जुनसुकै संस्कृति र धर्म मान्ने मानिसले पनि यी शिक्षाहरू लिन सक्छन्। बुद्धधर्ममा कुनै ईश्वर वा भगवानहरूप्रति आस्थाको विकास गर्नु आवश्यक छैन। बरु यसको शिक्षा ग्रहण गर्नुअघि कुनै बहुमूल्य चीज किन्न लागेको बेलाजस्तै राम्रोसँग जाँच परख गर्न प्रोत्साहित गरिन्छ। नैतिकता, करुणा र विवेकजस्ता बुद्धको शिक्षाको सार बुझेर हामी स्वतः हानिकारक काम गर्नबाट आफूलाई रोक्छौं। आफू र अरुलाई पनि कल्याणकारी हुने सकारात्मक कामहरु सक्रियतापूर्वक गर्न थाल्छौं। यसले हामी सबैलाई खुशी र कल्याणको साझा लक्ष्यतर्फ पुर्याउन सहयोग गर्छ।