परम्परागत मितिअनुसार, शाक्यमुनि बुद्ध, जसलाई गौतम बुद्ध पनि भनिन्छ, ईसा पूर्व ५६६ देखि ४८५ सम्मको अवधिमा मध्य उत्तरी भारतमा रहनु भएको थियो। विभिन्न बौद्ध स्रोतहरूमा उहाँको जीवनका बारेमा थुप्रै र फरक-फरक वर्णनहरू पाइन्छन्, जसका थप विवरणहरू क्रमशः समयसँगै विकसित भएका देखिन्छन्। बुद्धको निर्वाणपछिको तीन शताब्दीसम्म मात्र पहिलो पटक बौद्ध साहित्य लिपिबद्ध गरिएकाले ती विवरणहरू कति प्रमाणिक छन् भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ। तथापि, केही विवरणहरू पछि मात्र लेखिएको पाइयो भन्दैमा तिनीहरूलाई अविश्वसनीय ठान्नु उचित हुँदैन, किनभने ती धेरै कुराहरू मौखिक परम्पराबाट निरन्तर रूपमा सर्दै आएको सम्भावना रहन्छ।
सामान्यतः, बुद्ध स्वयंको जीवनकथा समेत महान् बौद्ध आचार्यहरूको परम्परागत जीवनीहरू शिक्षामूलक उद्देश्यका लागि तयार पारिएका हुन्, केवल ऐतिहासिक अभिलेखको रूपमा होइन। विशेष गरी, यी जीवनीहरू यसरी रचिएका छन् कि तिनले बौद्ध अनुयायीहरूलाई मोक्ष र बोधिको आध्यात्मिक मार्गमा लाग्न शिक्षा र प्रेरणा प्रदान गरुन्। बुद्धको जीवनकथाबाट लाभ उठाउनका लागि, हामीले यसलाई यही सन्दर्भभित्र बुझ्नुपर्छ र यसबाट आफूले के-कस्ता शिक्षाहरू लिन सक्छौं भन्ने कुरा विश्लेषण गर्नुपर्छ।
बुद्धको जीवनका स्रोतहरू
बुद्धको जीवनसम्बन्धी सबैभन्दा प्रारम्भिक स्रोतहरूमा थेरवाद परम्पराका ग्रन्थहरू, मध्यम-लम्बाइका प्रवचनहरूको सङ्ग्रह (पाली: मज्झिम निकाय) बाट केही पालि सुत्तहरू पर्छन्, र विभिन्न हीनयान सम्प्रदायहरूको विनय ग्रन्थहरूमा पनि बौद्ध भिक्षुहरूको अनुशासन सम्बन्धी नियमहरूसँगै बुद्धको जीवनका केही पक्षहरू उल्लेख गरिएका छन्। यद्यपि, यी सबै ग्रन्थहरूले बुद्धको जिवन कथाका केही टुक्राटुक्रा मात्र प्रस्तुत गर्छन्।
पहिलो विस्तारित विवरण इ.पू. दोस्रो शताब्दीको उत्तरार्धका बौद्ध काव्य कृतिहरूमा देखा पर्यो, जस्तै हीनयानको महासांघिक सम्प्रदायको महावस्तुहरू (संस्कृत महावस्तु)। यो ग्रन्थ, जुन तीन टोकरी-जस्तो संग्रह (संस्कृत त्रिपिटक, तीन टोकरी) भन्दा बाहिरको थियो, यसले उदाहरणका लागि, बुद्ध राजपरिवारमा राजकुमारको रूपमा जन्मिएको विवरण थपेको थियो। अर्को यस्तै काव्य कृति हीनयानको सर्वास्तिवाद सम्प्रदायको साहित्यमा देखा पर्छ, जसलाई ललितविस्तार सूत्र (संस्कृत ललितविस्तार सूत्र) भनिन्छ। पछिका महायान संस्करणहरूले यस प्रचिन संस्करणलाई उधारो लिएर अझ व्याख्या गरे, जस्तै उदाहरणका लागि यो व्याख्या गरेर कि शाक्यमुनि युगौं अघि नै ज्ञानप्राप्त भइसकेका थिए र राजकुमार सिद्धार्थको रूपमा अवतार लिएर अरूलाई ज्ञान प्राप्तिको मार्ग देखाउने उद्देश्यले उदाहरणस्वरूप देखाइरहेका थिए।
अन्ततः यी मध्ये केही जीवनीहरू तीन टोकरी-जस्तो संग्रहमा (सं. त्रिपिटक) समावेश गरियो। सबैभन्दा प्रसिद्ध कवि अश्वघोषद्वारा पहिलो शताब्दी ईस्वीमा लेखिएको बुद्धका कर्महरू (संस्कृत बुद्धचरित) हो। अन्य संस्करणहरू तन्त्रहरूमा झन् पछि देखा परे, जस्तै चक्रसंवर साहित्यमा। त्यहाँ हामी यस्तो वर्णन भेट्छौं कि जब शाक्यमुनि बुद्ध प्रज्ञापारमितासूत्र (संस्कृत: प्रज्ञापारमितासूत्र, ज्ञानपरिपूर्णताको सूत्रहरू) मा शिक्षाहरू दिइरहेका थिए, त्यसैबेला बुद्धले वज्रधारको रूपमा पनि अवतार लिएर तन्त्रहरूको शिक्षाहरू दिएका थिए।
हरेक विवरणबाट हामी केही न केही सिक्न सक्छौं र प्रेरणा प्राप्त गर्न सक्छौं। तर अहिले हामी मुख्यतः ऐतिहासिक बुद्धलाई चित्रण गर्ने संस्करणहरूमा ध्यान दिऔं।
बुद्धको जन्म, प्रारम्भिक जीवन र संन्यास
प्रारम्भिक विवरणहरू अनुसार, शाक्यमुनिको जन्म हालको भारत र नेपालको सिमानामा पर्ने शाक्य राज्यको एक कुलीन, धनी योद्धा परिवारमा भएको थियो, जुन राज्यको राजधानी कपिलवस्तु थियो। शाक्यमुनिको जन्म राजपरिवारमा राजकुमारको रूपमा भएको भन्ने कुरा प्रारम्भिक विवरणहरूमा उल्लेख छैन; राजकुमारको रूपमा जन्मिएको र उनको नाम सिद्धार्थ भएको भन्ने कुरा पछि मात्र देखा पर्छ। उनका पिता शुद्धोधन भएको उल्लेख पाइन्छ, तर आमा मायादेवीको नाम, साथै उनले आफ्नो सपनामा सेतो छ बिँड भएको हात्तीले छेउबाट प्रवेश गरेको देखेकी थिइन् भन्ने अद्भुत गर्भधारणको कथा, र आसित ऋषिको भविष्यवाणी—कि उनले या त महा राजा वा महा ऋषिको रूपमा जीवन बिताउनेछन्—यी सबै कुरा पछि थपिएका विवरणहरू हुन्। त्यसपछि बुद्धको पवित्र जन्मको कथा पनि देखा पर्छ, जसअनुसार उनी आमा मायादेवीको छेउबाट जन्मिएका थिए, कपिलवस्तु नजिकैको लुम्बिनी उपवनमा। त्यहाँ उनले सात पाइला चालेका थिए र भनेका थिए, “म आइपुगेँ।” साथै, आमाको सुत्केरी हुँदा मृत्यु भएको कुरा पनि पछि उल्लेख भएको विवरणहरूमा देखा पर्छ।
युवावस्थामा बुद्धले सुख-सुविधाले भरिएको जीवन बिताए। उनले यशोधरा नामकी एउटी महिलासँग विवाह गरे, र तिनीहरूको राहुल नामको एक छोरा भयो। २९ वर्षको उमेरमा, बुद्धले आफ्नो पारिवारिक जीवन र राजकुमारको विरासत त्यागे र घुमफिर गर्ने भिक्षुक आध्यात्मिक खोजी बने।
बुद्धको संन्यासलाई उनको समाज र युगको सन्दर्भमा हेर्नु महत्त्वपूर्ण छ। जब बुद्धले आध्यात्मिक खोजी बन्नको लागि घर छोडे, उनले आफ्नी पत्नी र छोरालाई कष्ट र गरिबीको जीवनमा छोडेनन्। तिनीहरूको हेरचाह उनको धनी, विस्तारित परिवारले पक्कै पनि गर्ने थियो। बुद्ध योद्धा/क्षेत्रिय जातिका सदस्य पनि थिए, यसको मतलब उनले निस्सन्देह कुनै दिन आफ्नो परिवार छोडेर युद्धमा जानुपर्ने थियो, जसलाई पुरुषको कर्तव्य मानिन्थ्यो।
बाह्य शत्रुहरूसँग युद्ध अनन्तसम्म लड्न सकिन्छ, तर वास्तविक युद्ध भनेको आन्तरिक शत्रुहरूसँग हो, र बुद्ध यही युद्ध लड्नका लागि घर छाडेर निस्किएका थिए। यस उद्देश्यका लागि परिवार छाड्नुबाट यो देखिन्छ कि आत्मिक मार्गमा लाग्ने व्यक्तिको कर्तव्य भनेको आफ्नो सम्पूर्ण जीवन त्यस खोजमा समर्पित गर्नु हो। तर हाम्रो आधुनिक संसारमा, यदि हामी घरपरिवार छाडेर भिक्षु बन्ने निर्णय गर्छौं भने, हाम्रो जिम्मेवारी हुन्छ कि हामीले आफ्नो परिवारको राम्रोसँग हेरचाह भएको सुनिश्चित गरौं। यो केवल जीवनसंगी वा सन्तान मात्र नभई, हाम्रा वृद्ध आमाबुबाहरूलाई पनि समेट्छ। हामी परिवार छाडौं वा नछाडौं, बौद्धको रूपमा हाम्रो कर्तव्य भनेको बुद्धले गरेझैं सुखप्रतिको लतलाई जित्दै दुःख कम गर्नु हो।
बुद्ध जन्म, बुढेसकाल, रोग, मृत्यु, पुनर्जन्म, दुःख र भ्रमको प्रकृतिको बुझाइमार्फत दुःखलाई जित्न चाहन्थे। पछि लेखिएका कथाहरूमा बुद्धलाई उनका रथ चालक छन्नले दरबारबाट बाहिर सहरतिर लग्छन्। सहरमा बुद्धले बिरामी, वृद्ध, र मृत व्यक्तिहरूलाई देख्नुभयो, साथै एक सन्यासीलाई पनि देख्नुभयो। छन्नाले यी सबैको अर्थ बुद्धलाई बताउँछन्। यिनै घटनाहरूको माध्यमबाट बुद्धले सबैले भोग्नुपर्ने दुःख चिन्हित भयो र त्यसबाट मुक्त हुने उपायबारे सोच्न थाल्नुभयो।
बुद्धले आफ्ना रथ चालकबाट आध्यात्मिक मार्गमा सहायता पाउने यो प्रसंग भगवद् गीता मा अर्जुनलाई उनका रथ चालक कृष्णले आफ्ना नातेदारहरूसँग युद्ध लड्ने योद्धाको रूपमा आफ्नो कर्तव्यको बारेमा बताएको विवरणसँग समानान्तर देखिन्छ। बौद्ध र हिन्दू दुवैको सन्दर्भमा, हामीले यस्तो गहिरो अर्थ देख्न सक्छौं, जहाँ व्यक्तिले आफ्नो सहज जीवनको पर्खाल नाघेर सत्यको खोजी गर्न प्रयास गर्छ, र रथ चालकका शब्दहरू त्यस वाहनलाई अघि बढाउने शक्ति हुन् — अर्थात् सत्यको खोजी गर्ने प्रेरणा ।
बुद्धको अध्ययन र ज्ञानप्राप्ति
गृहत्यागी र ब्रह्मचारी भई आध्यात्मिक खोजमा हिंड्दा, बुद्धले मानसिक स्थिरता र निराकार समाधि प्राप्त गर्ने विधिहरू दुई गुरुसँग अध्ययन गरे। उनले ती गहिरा समाधिको सबैभन्दा उच्च स्तर हासिल गर्न सके, जहाँ न त उनलाई स्थूल दुःख अनुभव हुन्थ्यो, न सामान्य सांसारिक सुख। तर पनि उनी सन्तुष्ट भएनन्। उनले देखे कि ती अवस्थाहरूले केवल अस्थायी राहत प्रदान गर्छन्, स्थायी समाधान होइन; तिनीहरूले पक्कै पनि उनले जित्न खोजेका गहिरो, सार्वभौमिक दुःखहरूलाई हटाउँदैनन्। त्यसपछि पाँच जना साथीसहित बुद्धले कठोर तपस्या अभ्यास गरे, तर यसले पनि अनियन्त्रित रूपमा दोहोरिने पुनर्जन्म (संसार) सँग सम्बन्धित गहिरा समस्याहरू समाधान गरेन। पछि लेखिएका कथाहरूमा मात्र यस्तो प्रसङ्ग भेटिन्छ—जहाँ बुद्धले नैरञ्जना नदीको किनारमा छ वर्ष लामो उपवास तोड्छन्, र सुजाता नामकी युवतीले उनलाई दूध-भातको कटोरा चढाउँछिन्।
हाम्रो लागि, बुद्धको उदाहरणले संकेत गर्छ कि हामी केवल पूर्ण रूपमा शान्त हुन वा ध्यानमा "मस्त" हुनमा सन्तुष्ट हुनुहुँदैन, झनै कृत्रिम साधनजस्तै लागूपदार्थको प्रयोग त स्वीकार्य हुँदै होइन, गहिरो समाधिमा फिर्ता लिनु, वा चरम अभ्यासहरूले आफैलाई यातना वा दण्ड दिनु पनि समाधान होइन। हामी मुक्ति र ज्ञानप्राप्तिसम्म पुग्नुपर्छ, र हामीलाई यी लक्ष्यहरूमा पुर्याउनमा कम पर्ने आध्यात्मिक विधिहरूमा कहिल्यै सन्तुष्ट हुनुहुँदैन।
बुद्धले कठोर तपस्या अस्वीकार गरेपछि, उनले डरलाई जित्नका लागि जंगलमा एक्लै ध्यान गर्न थाले। हरेक डरको जगमा एउटा असम्भव रूपमा अवस्थित "म" लाई समात्ने र जुन हाम्रो सुख र मनोरञ्जन खोज्ने बाध्यताभन्दा अझ बलियो आत्ममोहको भावनाबाट उत्पन्न हुन्छ। त्यसैले १०औं शताब्दीका भारतीय आचार्य धर्मरक्षितले आफ्नो ग्रन्थ "तीक्ष्ण अस्त्रको चक्र" (The Wheel of Sharp Weapons) मा एक गहिरो रूपक प्रयोग गरेका छन्—जहाँ उनले विषालु बोटबिरुवाको जंगलमा घुम्ने मयूरहरूलाई तिनी बोधिसत्वहरूको प्रतीक मानेका छन्। ती बोधिसत्वहरू कामना, क्रोध र अज्ञानताजस्ता विषालु भावनाहरूलाई रूपान्तरण गरी प्रयोग गर्छन्, ताकि आफ्नो आत्ममोह र असम्भव "म" प्रतिको आसक्तिलाई जित्न सकून्।
धेरै ध्यान साधनापछि, बुद्धले ३५ वर्षको उमेरमा पूर्ण ज्ञानप्राप्ति गर्नु भएको थियो । पछि लेखिएका विवरणहरू अनुसार, उहाँले वर्तमानको बोधगया क्षेत्रको बोधि वृक्षमुनि यस बुद्धत्व प्राप्ति गर्नु भयो। त्यहाँ उहाँलाई बाधा पुर्याउन, इर्ष्यालु देवता माराले डर त्रास दिलाउने र मोहित पार्ने दृश्यहरू प्रकट गरेर ध्यान भंग गर्ने प्रयास गर्यो। तर बुद्धले ती सबै प्रलोभन र भयलाई जितेर अन्ततः पूर्ण बोध प्राप्त गर्नु भएको थियो।
सबैभन्दा प्रारम्भिक विवरणहरूमा, बुद्धले तीन प्रकारका ज्ञान प्राप्त गरेर पूर्ण ज्ञानप्राप्ति हासिल गर्नु भयो।: आफ्ना सबै पूर्व जन्महरूको पूर्ण ज्ञान, अन्य सबैको कर्म र पुनर्जन्मको ज्ञान, र चार आर्य सत्यहरूको ज्ञान। पछिका विवरणहरूले व्याख्या गर्छन् कि, ज्ञानप्राप्तिसँगै, उनले सर्वज्ञता हासिल गर्नु भयो।

उपदेश र बौद्ध संघ समुदायको स्थापना
ज्ञानप्राप्ति गरेपछि, शुरुमा बुद्धले अरूलाई त्यही प्राप्त गर्ने बाटो सिकाउन हिचकिचाउनुभयो, किनकि उहाँलाई लाग्यो कि कसैले पनि यो मार्ग बुझ्न सक्दैनन्। तथापि, भारतीय देवताहरू ब्रह्मा, ब्रह्माण्डका सृष्टिकर्ता, र इन्द्र, देवताहरूका राजाले उहाँलाई शिक्षा प्रदान गर्न अनुरोध गर्नु भयो। आफ्नो अनुरोध राख्दै, ब्रह्माले बुद्धलाई भन्नु भयो कि यदि उहाँले शिक्षा दिनु भएन भने संसारले अनन्त दुःख भोग्नेछ, र कम्तिमा केही मानिसहरू त उहाँका वचनहरू बुझ्न सक्षम हुनेछन्।
यो विवरण एक प्रकारको व्यङ्गात्मक तत्त्व हुनसक्छ, जसले बुद्धको शिक्षाको श्रेष्ठता देखाउँछ, जुन शिक्षाहरू तत्कालीन भारतीय आध्यात्मिक परम्पराहरूले दिएको मार्गभन्दा पर र माथि थिए। यदि सृष्टिकर्ता ब्रह्मा र देवराज इन्द्रजस्ता सर्वोच्च देवताहरूले समेत स्वीकार्छन् कि संसारलाई बुद्धको शिक्षाको खाँचो छ, किनभने उनीहरूसँग सबैको दुःखलाई स्थायी रूपमा अन्त्य गर्ने कुनै उपाय छैन, भने साधारण मानिसलाई यी शिक्षाहरू कति आवश्यक छन् भन्ने कुरा झन् स्पष्ट हुन्छ। अझ थप रूपमा, बौद्ध चित्रणहरूमा ब्रह्मा प्रायः घमण्डको प्रतीक हुन्। उनी आफूलाई सर्वशक्तिमान सृष्टिकर्ता हो भन्ने उनको झुटो विश्वासले यस्तो "म" छ जुन असम्भव तरिकाले पूर्ण रूपमा स्वतन्त्र र सबै कुरा नियन्त्रण गर्न सक्नेछ। यस्तो भ्रमले अनिवार्य रूपमा निराशा र दुःख ल्याउँछ। हामी वास्तवमा कसरी अस्तित्वमा छौं भन्ने बारेमा केवल बुद्धका शिक्षाहरूले मात्र यो वास्तविक दुःख र यसको वास्तविक कारणको साँचो अन्त्य ल्याउने बाटो प्रदान गर्न सक्छ।
ब्रह्मा र इन्द्रको अनुरोधलाई स्वीकार गर्दै, बुद्ध सारनाथ प्रस्थान गर्नु भयो र त्यहाँको मृगदाव मा आफ्ना पाँच जना पूर्वसाथीहरूलाई चार आर्य सत्यहरूको उपदेश दिनुभयो। बौद्ध प्रतीकात्मकतामा, हरिण कोमलताको प्रतीक भएकाले, बुद्धले पनि यस्तो मध्यम मार्ग सिकाउनुभयो जसले इन्द्रिय सुख र कठोर तपस्या, दुबैको चरमबाट टाढा रहन प्रेरित गर्छ।
छिट्टै, वाराणसी नजिकका धेरै युवाहरू बुद्धसँग जोडिए र पूर्ण ब्रह्मचर्य पालना गर्दै भिक्षु बने। ती युवाहरूका आमाबुबाहरू गृहस्थ अनुयायी बने र भिक्षा दिएर बुद्ध र उहाँका शिष्यहरूको सहयोग गर्न थाले। जब समूहका कुनै सदस्यले पर्याप्त प्रशिक्षण प्राप्त गर्थे र योग्य ठहर्थे, उनीहरूलाई अरूलाई शिक्षा दिन पठाइन्थ्यो। यसरी बुद्धको भिक्षु अनुयायीहरूको संख्या चाँडै बढ्न थाल्यो र उनीहरू विभिन्न स्थानहरूमा बसेर छुट्टाछुट्टै “गुम्बा” जस्ता सामुदायहरू गठन गर्नु भयो।
बुद्धले यी मठ समुदायहरूलाई व्यवहारिक मार्गदर्शनअनुसार संगठित गर्नुभयो। प्रारम्भिक अवस्थामा भिक्षु भन्ने शब्द प्रयोग गरे पनि, उनीहरूले अन्य व्यक्तिलाई समुदायमा प्रवेश गराउन सक्थे, तर त्यसका लागि केही प्रतिबन्धहरू पालना गर्नुपर्थ्यो ताकि धर्मनिरपेक्ष शासकहरूसँग द्वन्द्व नहोस्। त्यसैले, यस समयमा बुद्धले अपराधीहरू, राजकीय सेवामा कार्यरत जस्तै सेना भएको व्यक्तिहरू, दासत्वबाट मुक्त नभएका व्यक्ति, र कुष्ठरोगजस्ता संक्रामक रोग भएका व्यक्तिहरूलाई मठ समुदायमा प्रवेश निषेध गर्नुभयो। त्यस्तै, २० वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई पनि प्रवेश दिइँदैन थियो। बुद्धले झमेला टार्न र समुदाय तथा धर्म शिक्षाप्रति जनताको सम्मान सुरक्षित गर्न चाहनुभयो। यसबाट देखिन्छ कि, बुद्धका अनुयायीका रूपमा हामीले स्थानीय परम्पराको सम्मान गर्नुपर्छ र सम्मानजनक व्यवहार गर्नुपर्छ, ताकि अरूले बौद्ध धर्मप्रति राम्रो छवि बनाउनेछन् र यसको बदला सम्मान पनि दिनेछन्।
चाँडै नै, बुद्ध मगध फर्किनु भयो, त्यो राज्य जहाँ बोधगया अवस्थित छ। उहाँलाई राजधानी सहर, राजगृह - आजको राजगीर - मा राजा बिम्बिसारले निम्त्याइनुभयो, जो उनका संरक्षक र शिष्य बने। त्यहाँ, शारिपुत्र र मौद्गल्यायन पनि बुद्धको बढ्दो संघमा सामेल भए, र उहाँका केही निकटतम शिष्यहरू बने।
बुद्धले बुद्धत्व प्राप्त गरेको एक वर्षभित्रै आफ्नो गृहस्थल कपिलवस्तु फर्कनुभयो, जहाँ उहाँका छोरा राहुलले संघमा प्रवेश गरे। बुद्धका सौतेनी भाइ, सुन्दर नन्द, पहिले नै घर त्यागेर संघमा प्रवेश गरिसकेका थिए। बुद्धका पिता राजा शुद्धोधनलाई पारिवारिक वंश काटिएकोमा धेरै दुःखी भए र त्यसैले भविष्यमा कुनै पनि छोराले संघमा प्रवेश गर्नुअघि आफ्ना आमाबाबुको अनुमति लिनुपर्ने प्रस्ताव गर्नुभयो। बुद्धले यसमा पूर्ण सहमति जनाउनुभयो। यस घटनाको उद्देश्य बुद्धको आफ्ना पिताप्रति कठोर व्यवहार देखाउनु होइन, तर विशेष गरी आफ्नै परिवारभित्र बौद्ध धर्मप्रति द्वेष उत्पन्न नहोस् भन्ने कुराको महत्त्व देखाउनु हो।
बुद्धको आफ्नो परिवारसँगको भेटसम्बन्धी पछिल्लो विवरण अनुसार, उहाँले अलौकिक शक्ति प्रयोग गरी तेत्तीस (त्रायस्त्रिंशत्) स्वर्ग वा केही स्रोतअनुसार तुषित स्वर्गमा प्रस्थान गर्नुभयो र त्यहाँ पुनर्जन्म लिनुभएकी आफ्नी आमालाई धर्म उपदेश दिनुभयो। यस घटनाले आमाको कृपा बुझ्न र त्यसको ऋण चुकाउने महत्त्वलाई देखाउँछ।
बौद्ध संघ समुदायको विकास
बुद्धका प्रारम्भिक भिक्षु समुदायहरू साना थिए, र २० जनाभन्दा बढी पुरुषहरू थिएनन्। हरेक समुदाय स्वतन्त्र थियो, र भिक्षाको खोजीमा निश्चित सीमाभित्र रहन्थ्यो। समुदायका कार्य र निर्णयहरू सबै सदस्यको सहमतिबाट लिइन्थ्यो ताकि कुनै प्रकारको असहमति वा विवाद नहोस्। कुनै एकजनालाई सर्वोच्च अधिकार दिइँदैनथ्यो। बुद्धले आफ्ना अनुयायीहरूलाई धर्म शिक्षालाई नै अन्तिम अधिकारका रूपमा लिन निर्देशन दिनुभयो। यदि आवश्यक परेमा मठ अनुशासन परिवर्तन गर्न सकिन्थ्यो, तर त्यो परिवर्तन सम्पूर्ण समुदायको सहमतिमा आधारित हुनुपर्थ्यो।
राजा बिम्बिसारले बुद्धलाई अन्य भिक्षुक आध्यात्मिक सम्प्रदायहरूसँग मिल्दोजुल्दो केही प्रथाहरू अपनाउने सुझाव दिए, जस्तै जैनहरूको प्रथा, जसअनुसार उनीहरूले त्रैमासिक सभा आयोजना गर्थे। ती सभाहरूमा धर्मका विषयमा छलफल गरिन्थ्यो। बुद्धले यो सुझाव स्वीकार गर्नुभयो, जसले उहाँको समयअनुसारका सामाजिक अभ्यासहरूलाई सम्मान गर्ने र तिनीहरूबाट उपयोगी कुराहरू समावेश गर्ने उदार दृष्टिकोण देखाउँछ। बुद्धले आफ्ना मठ समुदाय र धर्म शिक्षाको केही संरचना जैन परम्पराबाट प्रेरित भएर बनाउनु भएको मानिन्छ। जैन धर्मका संस्थापक महावीर बुद्धभन्दा करिब अर्धशताब्दी पहिला जन्मिएका थिए।
शारिपुत्रले पनि बुद्धसँग भिक्षुहरूको नियमहरू तयार गर्न अनुरोध गरे। तर बुद्धले विशेष समस्याहरू उत्पन्न भएपछि मात्र नियम व्रत बनाउने निर्णय गर्नुभयो, ताकि त्यस्ता घटनाहरू पुनः नदोहोरिउन् भनेर त्यसका लागि प्रतिबन्ध गर्न सकियोस्। यो नीति दुई प्रकारका कार्यहरूमा लागू गरियो—पहिलो, स्वभाविक रूपमा विनाशकारी कार्यहरू, जुन जुनसुकै व्यक्तिका लागि पनि हानिकारक हुन्छन्; दोस्रो, नैतिक रूपमा तटस्थ कार्यहरू, जुन विशेष व्यक्तिहरूलाई, विशेष परिस्थितिमा, विशेष कारणले निषेध गरिएको थियो। यसरी, अनुशासनका नियमहरू (विनय) व्यवहारिक थिए र आवश्यकतानुसार एकएक गर्दै बनाइएका थिए। बुद्धको मुख्य उद्देश्य समस्याबाट जोगिनु र अरूलाई दुःख नदिनु थियो।
विनयका नियमहरूको आधारमा, बुद्धले त्यसपछि त्रैमासिक भिक्षु सभामा प्रतिमोक्ष व्रतको पाठ गर्ने प्रथा सुरु गर्नुभयो, जसमा भिक्षुहरूले आफैंले गरेका कुनै पनि उल्लङ्घनहरू खुलस्त रूपमा स्वीकार गर्नुपर्थ्यो। सबैभन्दा गम्भीर उल्लङ्घनहरूमा समुदायबाट निष्कासनको प्रावधान थियो, अन्यथा केवल समयावधिको लागि लाज तथा पश्चात्ताप स्वरूप निगरानीमा राखिने व्यवस्था थियो। पछि गएर, यी सभाहरू द्वैमासिक रूपमा मात्र गरिन थालियो।
त्यसपछि बुद्धले तीन महिनाको वर्षा ऋतुको अवधिमा वर्षावास स्थापना गर्नुभयो, जसअन्तर्गत भिक्षुहरूले एकै स्थानमा बस्नुपर्थ्यो र कुनै यात्रा गर्नु हुन्न थ्यो । यसको उद्देश्य वर्षाको समयमा बाटाहरू डुबानमा परेपछि खेतहरूबाट हिँड्दा बालीमा क्षति नहोस् भन्ने थियो। यस कारण स्थायी विहारहरूको स्थापना भयो, जुन व्यवहारिक पनि थियो। यो विकास पनि गृहस्थ समुदायलाई हानि नगर्न र उनीहरूको सम्मान प्राप्त गर्नका लागि भएको थियो।
दोस्रो वर्ष ऋतुको वर्षावासदेखि सुरु गर्दै बुद्धले कोशल राज्यको राजधानी श्रावस्ती बाहिरको जेतवन वनमा २५ वर्षवास बिताउनुभयो। यहाँ व्यापारी अनाथपिण्डदले बुद्ध र उनका भिक्षुहरूका लागि एक विहार निर्माण गरिदिए, र राजा प्रसेनजितले पनि समुदायलाई थप संरक्षण प्रदान गरे। जेतवनको यो विहार बुद्धको जीवनका धेरै महत्वपूर्ण घटनाहरूको दृश्यस्थल थियो, जसमा सबैभन्दा प्रसिद्ध घटना सायद त्यो हो, जब बुद्धले चमत्कारी शक्तिको प्रतियोगितामा आफ्ना समयमा प्रख्यात छ वटा गैर-बौद्ध सम्प्रदायका नेताहरूलाई पराजित गर्नुभयो।
आजभोलि हामीमध्ये कोही पनि चमत्कारिक कार्यहरू गर्न सक्दैनौं होला, तर बुद्धले आफ्ना विपक्षीहरूलाई तर्कभन्दा पनि चमत्कार शक्तिहरूको प्रयोग गरेर पराजित गर्नु यस कुराको सङ्केत हो कि जब अरूको मन तर्कका लागि बन्द हुन्छ, तब हाम्रो बोध वा अनुभूतिको सत्यता प्रमाणित गर्ने सबैभन्दा राम्रो उपाय हाम्रो व्यवहार र कर्ममार्फत त्यसको प्रदर्शन गर्नु हो। हामीसँग अङ्ग्रेजीमा पनि यस्तै खालको भनाइ छ — "कार्यले शब्दभन्दा चर्को स्वरमा बोल्छ।"
बौद्ध भिक्षुणी सङ्घको स्थापना
बुद्धले आफ्नो शिक्षण कार्यको पछिल्लो चरणमा, आफ्नी काकी महाप्रजापतीको अनुरोधमा, वैशालीमा भिक्षुणीहरूको समुदाय स्थापना गर्नुभयो। प्रारम्भमा उहाँ यस किसिमको संघ सुरु गर्न हिचकिचाउनु भएको थियो, तर पछि उहाँले यस्तो निर्णय लिनुभयो कि यदि भिक्षुणीहरूले भिक्षुहरूभन्दा बढी प्रतिमोक्ष व्रतहरू लिनुपर्ने व्यवस्था गरेमा यो सम्भव हुन्छ। बुद्धको यस्तो व्यवस्थाले यो भन्न खोजिएको होइन कि महिलाहरू पुरुषहरूभन्दा बढी अनुशासनहीन छन् र त्यसैले उनीहरूलाई बढी व्रतमार्फत अनुशासित गर्नुपर्छ। बरु, उहाँले डर थियो कि महिलाहरूको संघ स्थापना गर्दा बौद्ध धर्मलाई समाजले गलत रूपमा बुझ्नेछ र यसले उहाँको शिक्षाको समयभन्दा चाँडै अन्त्य ल्याउन सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, बुद्धको चाहना समाजबाट कुनै प्रकारको अनादर नहोस् भन्ने थियो र त्यसैले भिक्षुणी समुदाय कुनै पनि अनैतिक व्यवहारको शङ्काभन्दा माथि रहन आवश्यक ठानिन्थ्यो।
यद्यपि समग्रमा हेर्दा, बुद्धले नियमहरू बनाउने कुरामा अनिच्छा देखाउनुभयो र जुन नियमहरू आवश्यक नरहेको ठहरिए, ती हटाउन पनि तयार हुनुहुन्थ्यो। यो नीति दुई सत्यको गतिशीलतालाई देखाउँछ — गहनतम सत्य तर स्थानीय परम्परा अनुरूप परम्परागत सत्यप्रति पनि सम्मान। गहनतम सत्यमा हेर्दा भिक्षुणी संघ हुनुमा कुनै समस्या छैन, तर त्यस समयका साधारण मानिसहरूले बौद्ध शिक्षालाई हेप्ने काम नगरोस् भनेर भिक्षुणीहरूका लागि थप अनुशासनका नियमहरू आवश्यक ठहरिए। गहनतम सत्यमा समाजले के भन्छ वा के सोच्दछ भन्ने कुराले फरक पार्दैन, तर संवृत्ति सत्यमा भने बौद्ध समुदायले जनताको सम्मान र विश्वास पाउने कुरा अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले, आजको समय र समाजमा — यदि भिक्षुणीहरू, महिलाहरू वा अन्य कुनै अल्पसंख्यक समूहप्रति बौद्ध परम्पराले कुनै प्रकारको पूर्वाग्रह देखाइएमा बौद्ध धर्मप्रति अनादर हुन्छ, त्यस्तो अवस्थामा बुद्धको भावना भनेको ती परम्परालाई समयअनुसार सुधार गर्नु हो।
अन्ततः, सहिष्णुता र करुणा बुद्धका शिक्षाहरूका प्रमुख आधारहरूमध्ये रहेका छन्। उदाहरणका लागि, बुद्धले नयाँ अनुयायीहरूलाई जो पहिला कुनै अन्य धार्मिक समुदायको समर्थन गर्थे, त्यही समुदायलाई समर्थन गर्न जारी राख्न प्रोत्साहन गर्नुभयो। बौद्ध संघभित्र पनि, उहाँले सदस्यहरूलाई एकअर्काको हेरचाह गर्न निर्देशन दिनुभयो, जस्तै यदि कोही बिरामी भए भने, किनभने सबैजना बौद्ध परिवारका सदस्य हुन्। यो कुरा सबै गृहस्थ (उपासक ) बौद्धहरूका लागि पनि एक महत्वपूर्ण शील हो।
बुद्धको शिक्षण विधि
बुद्धले अरूलाई मौखिक निर्देशनहरू र आफ्नो जीवित उदाहरण दुवैमार्फत सिकाउनुभयो। मौखिक रूपमा शिक्षादिंदा, उहाँले दुई तरिका अपनाउनुहुन्थ्यो, त्यो उहाँले समूहलाई शिक्षा दिइरहनु हुनुहुन्थ्यो वा व्यक्तिलाई भन्ने आधारमा। समूहहरूका सामु, बुद्धले आफ्ना शिक्षाहरूलाई प्रवचनको रूपमा व्याख्या गर्नुहुन्थ्यो, प्रायः प्रत्येक मुद्दालाई फरक शब्दहरूसँग दोहोर्याउनुहुन्थ्यो ताकि श्रोताहरूले राम्रोसँग बुझ्न र सम्झन सकून्। जब व्यक्तिगत रूपमा निर्देशन दिनुहुन्थ्यो—जसको समय प्रायः कुनै गृहस्थले बुद्ध र उनका भिक्षुहरूलाई भोजनका लागि बोलाएको घरमा खानपछिको समय हुन्थ्यो—त्यस बेला बुद्धको शैली फरक हुन्थ्यो। उहाँले कहिल्यै पनि श्रोताको विचारको विरोध गर्नुहुन्नथ्यो वा चुनौती दिनुहुन्नथ्यो, बरु श्रोताकै दृष्टिकोणबाट कुरा सुरु गरेर प्रश्नहरू सोध्नुहुन्थ्यो जसले श्रोतालाई आफ्ना विचारहरू स्पष्ट गर्न सहयोग गर्थ्यो। यसरी, बुद्धले व्यक्तिलाई आफ्नो अवस्था सुधार गर्न र बिस्तारै वास्तविकताको गहिरो बुझाइ प्राप्त गर्न नेतृत्व गर्नुहन्थ्यो। एउटा उदाहरण यो हो कि बुद्धले एक घमण्डी ब्राह्मणलाई यो बुझ्न लगाउनुभयो कि मानिसको श्रेष्ठता जन्मिएको जातबाट होइन, उसले विकास गरेको सद्गुणहरूबाट निर्भर हुन्छ।
अर्को उदाहरण बुद्धको त्यो निर्देश हो जुन उहाँले एउटा शोकमा डुबेकी आमालाई दिनुभएको थियो जसले आफ्नो मृत बच्चालाई बुद्धकहाँ ल्याएर बच्चालाई जीवित पार्न बिन्ती गरेकी थिइन्। बुद्धले भन्नुभयो, “ यस्तो घरबाट एक दाना तोरीको बीउ ल्याऊ जहाँ मृत्युले कहिल्यै नछोएको होस्, त्यसपछि म केही गर्न सक्छु कि हेर्नेछु।” ती महिलाले एक घरबाट अर्को घरमा गईन्, तर हरेक घरमा कसै न कसैको मृत्यु भइसकेको थियो। विस्तारै उनले बुझे कि एक न एक दिन सबैको मृत्यु हुन्छ, र यसरी उनी आफ्नो बच्चाको दाहसंस्कार शान्त मनले गर्न सक्षम भइन्।
बुद्धको शिक्षण विधिले हामीलाई देखाउँछ कि व्यक्तिगतरूपमा कसैलाई सहयोग गर्न खोज्दा प्रत्यक्ष रूपमा टकराव नगरी सहायता गर्नु उत्तम हुन्छ। सबैभन्दा प्रभावकारी तरिका भनेको तिनीहरूलाई आफैँले सोच्न प्रेरित गर्नु हो। तर जब समूहलाई शिक्षा दिइन्छ, त्यसबेला कुरा स्पष्ट र सिधा रूपमा बुझाउनु राम्रो हुन्छ।
बुद्धको विरुद्धमा षड्यन्त्र र मतभेद
बुद्धले महापरिनिर्वाण प्राप्त गर्नु भन्दा सात वर्षअघि, उहाँका इर्ष्यालु भतजा देवदत्तले संघको नेतृत्व लिनका लागि षड्यन्त्र रचे। यस्तैगरी, राजकुमार अजातशत्रुले पनि आफ्ना पिता राजा बिम्बिसारलाई हटाएर मगधको शासक बन्ने योजना बनाए, र त्यसकारण देवदत्त र अजातशत्रु मिलेर षड्यन्त्र गरे। अजातशत्रुले बिम्बिसारको हत्या गर्ने प्रयास गर्यो, जसको परिणामस्वरूप बिम्बिसारले राजगद्दी छोड़ी छोरोलाई सुम्पिए। अजातशत्रु सफल भएको देखेपछि, देवदत्तले बुद्धको हत्या गर्न उनलाई आग्रह गरे, तर बुद्धको हत्या गर्न गरिएका सबै प्रयासहरू असफल भए।
निराश देवदत्तले त्यसपछि आफू बुद्धभन्दा पनि "पवित्र" भएको दाबी गरेर र अझ कडा अनुशासनका नियमहरू प्रस्ताव गरेर भिक्षुहरूलाई बुद्धबाट टाढा लैजाने प्रयास गरे। चौथो शताब्दी ईस्वीका थेरवाद गुरु बुद्धघोषद्वारा रचित विशुद्धिमर्ग(पाली: विशुद्धिमग्ग) अनुसार, देवदत्तका नयाँ प्रस्तावहरूमा निम्न कुराहरू समावेश थिए:
• च्यातिएका र टालिएका लुगा लगाउने
• केवल तीनवटा वस्त्र मात्र प्रयोग गर्ने
• भिक्षा माग्न मात्र जाने, भोजनको निम्तो कहिल्यै स्वीकार नगर्ने
• भिक्षा माग्दा कुनै घर नछोड्ने, सबै घरमा जाने
• जति भिक्षा संकलन भयो, त्यही एकपटकमै बसेर खाने
• केवल आफ्नो पात्र बाट मात्र खाने
• अन्य कुनै खाना अस्वीकार गर्ने
• सधैँ वनमै बस्ने
• रुखमुनि मात्र बस्ने
• घरभित्र नभई खुला आकाशमुनि बस्ने
• धेरैजसो समय शवदाह स्थल (श्मशान) मा बस्ने
• जहाँजतै बास पाइयो, त्यहीमा सन्तुष्ट भएर निरन्तर ठाउँ-ठाउँमा घुमिरहने
• सुत्दा कहिल्यै लम्पसार नपरी, सधैँ बसिरहेको अवस्थामा सुत्ने
बुद्धले भन्नुभयो कि यदि भिक्षुहरूले यी थप अनुशासनका नियमहरू पालना गर्न चाहन्छन् भने त्यो बिल्कुलै ठिक छ, तर सबैलाई त्यसो गर्न बाध्य पार्नु असम्भव हुनेछ। केही भिक्षुहरूले देवदत्तको अनुसरण गर्ने निर्णय गरे र बुद्धको समुदाय छोडेर आ-आफ्नै संघ स्थापना गरे।
थेरवाद सम्प्रदायमा, देवदत्तले निर्धारण गरेका अनुशासनका थप नियमहरूलाई “१३ शाखाका अभ्यास गरिने अनुष्ठान” भनिन्छ। आजको समयमा थाइल्यान्डजस्ता स्थानहरूमा पाइने वनवासी भिक्षु परम्परा सम्भवतः यही अभ्यासबाट उत्पन्न भएको देखिन्छ। बुद्धका शिष्य महाकाश्यप यो कडा अनुशासन पालना गर्ने सबैभन्दा प्रसिद्ध अभ्यासकर्ता थिए, जसको धेरै अंश आज पनि हिन्दू परम्पराका घुमन्ते साधुहरूद्वारा पालन गरिन्छ। तिनीहरूको अभ्यास बुद्धको समयका घुम्ते भिक्षुक आध्यात्मिक खोजीहरूको परम्पराको निरन्तरता जस्तो देखिन्छ।
महायान सम्प्रदायहरूमा पनि यस्तै प्रकारको अभ्यास गरिने १२ लक्षणहरूको सूची पाइन्छ। यस सूचीमा “भिक्षा माग्न जाँदा कुनै पनि घर नछाड्ने” भन्ने अभ्यासलाई हटाइएको छ, र त्यसको सट्टामा “फोहोरमा फालिएको वस्त्र लगाउने” भन्ने अभ्यास थपिएको छ, जबकि “भिक्षा माग्न जाने” र “आफ्नै पात्रबाट मात्र खाने” अभ्यासलाई एउटै मानिएको छ। यस अनुशासनको धेरै अंश पछि भारतको उच्च सिद्ध प्राप्त गरेका तान्त्रिक साधकहरूको परम्परामा पनि देखिन्छ, जसलाई ‘महासिद्ध ’ भनिन्छ, र जो महायान बौद्धधर्म र हिन्दू धर्म दुवैमा पाइन्छन्।
पहिलेबाट स्थापित बौद्ध परम्पराबाट अलग भएर अर्को संघ स्थापना गर्नु, वा आजको भाषामा भन्नुपर्दा, छुट्टै धर्म केन्द्र खोल्नु आफैंमा कुनै समस्या होइन। यसो गर्नुलाई "भिक्षु समुदायमा मतभेद" सिर्जना गर्ने मानिंदैनथ्यो, जुन पाँच घोर अपराधमध्ये एक हो। तर देवदत्तले यस्तो संघभेद गरे, किनभने उनको पछि लागेर अलग भएको समूहले बुद्धको भिक्षु संघप्रति अत्यधिक द्वेष पालेको थियो र तीव्र आलोचना गरेका थिए। केही विवरणहरूका अनुसार, यस संघभेदबाट उत्पन्न भएको द्वेष केही शताब्दीसम्म टिकेको थियो।
यस मतभेदको विवरणले देखाउँछ कि बुद्ध अत्यन्त सहनशील हुनुहुन्थ्यो, र कुनै हिसाबले पनि कट्टरपन्थी थिएनन्। यदि उहाँका अनुयायीहरूले उहाँले निर्धारण गरेकोभन्दा कडाइपूर्ण अनुशासन अपनाउन चाहेमा त्यो ठिकै हुन्थ्यो; र यदि उनीहरूलाई त्यस्तो चाहना थिएन भने त्यो पनि ठिकै थियो। कसैलाई पनि बुद्धले सिकाएको अभ्यास गर्न बाध्य पारिएको थिएन। कुनै भिक्षु वा भिक्षुणीले भिक्षु संघ त्याग्न चाहेमा पनि त्यो स्वीकार्य मानिन्थ्यो। तर साँच्चिकै विनाशकारी कुरा भनेको बौद्ध समुदाय, विशेष गरी भिक्षु संघलाई, दुई वा बढी द्वेषभाव राख्ने समूहहरूमा विभाजन गर्नु हो, जसले एकअर्कालाई बदनाम गर्न खोज्छन् र क्षति पुर्याउन प्रयास गर्छन्। पछि गएर त्यस्ता समूहहरूमध्ये कुनै एकमा सहभागी भई त्यसको घृणामूलक अभियानमा संलग्न हुनु पनि अत्यन्त हानिकारक हुन्छ। यद्यपि, यदि कुनै समूहले विनाशकारी वा हानिकारक कार्य गरिरहेको छ, वा हानिकारक अनुशासन पालन गरिरहेको छ भने, त्यस्तो समूहमा नजाने सन्देश दिनु करुणाबाट प्रेरित कर्तव्य हो। तर यस्तो चेतावनी दिने उद्देश्यमा कहिल्यै क्रोध, घृणा, वा बदला लिने भावना मिसिएको हुनु हुँदैन।
बुद्धको पारिनिर्वाण
यद्यपि मुक्तिको प्राप्तिसँगै बुद्ध सामान्य मृत्युलाई अनियन्त्रित अनुभव गर्नुपर्ने अवस्थाभन्दा माथि हुनुभएको थियो, तैपनि ८१ वर्षको उमेरमा बुद्धले आफ्ना अनुयायीहरूलाई अनित्यताको शिक्षा दिनु लाभदायक हुनेछ भनेर निर्णय गर्नु भयो र आफ्नो शरीर त्याग्न उपयुक्त हुनेछ भनी निर्णय गर्नुभयो। त्यसो गर्नुअघि उहाँले आफ्ना अनुयायी आनन्दलाई उहाँलाई लामो समयसम्म बाँचेर शिक्षा दिन आग्रह गर्न मौका प्रदान गर्नुभयो, तर आनन्दले बुद्धले दिएको संकेत बुझेनन्। यसले देखाउँछ कि बुद्धले अनुरोध गरेपछि मात्र सिकाउनुहुन्छ, र यदि कसैले सोधेन वा चासो देखाएन भने उहाँ अन्यत्र जानुहुन्छ जहाँ उहाँ बढी उपयोगी हुन सक्नुहुन्छ। शिक्षक र शिक्षाको उपस्थिति विद्यार्थीहरूमा वा अनुयायीहरूमा निर्भर हुन्छ।
कुशीनगरमा, चुन्ड नाम गरेका एक भक्तको घरमा बुद्ध र उनका भिक्षुहरूलाई अर्पण गरिएको भोजन सेवन गरेपछि बुद्ध गम्भीर अस्वस्थ हुनुभयो। मृत्युलाई समीप देख्दा, बुद्धले आफ्ना भिक्षुहरूलाई भन्नुभयो कि यदि उनीहरूमा कुनै शंका वा अनुत्तरित प्रश्नहरू छन् भने, अबदेखि उनको धर्म शिक्षामा र आफ्नै नैतिक अनुशासनमा निर्भर हुनुपर्छ, जुन अब उनीहरूको गुरु हुनेछ। बुद्धले संकेत गर्दै हुनुहुन्थ्यो कि हरेक व्यक्तिले शिक्षाहरूबाट आफैंले कुराहरू बुझ्नुपर्छ, किनकि सबै उत्तरहरू प्रदान गर्ने कुनै निरपेक्ष अधिकार हुनेछैन। त्यसपछि, बुद्धले पारिनिर्वाण प्राप्त गर्नुभयो।
चुन्ड अत्यन्त दुःखी र व्याकुल भए, सोच्दै कि आफूले बुद्धलाई विष दिएको हुनसक्छ। तर आनन्दले उनलाई सान्त्वना दिँदै भने कि उनले वास्तवमा बुद्धलाई अन्तिम भोजन अर्पण गरेर ठूलो “पुण्य” संचय गरेका छन्।
त्यसपछि बुद्धको दाहसंस्कार गरियो, र उहाँको खरानीहरूलाई स्तूपहरू—अवशेष राख्ने धार्मिक स्मारकहरूमा राखियो। ती विशेष रूपमा ती स्थानहरूमा राखिएका थिए जुन पछि चार प्रमुख बौद्ध तीर्थस्थल बने:
- लुम्बिनी – जहाँ बुद्धको जन्म भएको थियो
- बोधगया – जहाँ बुद्धले बोधि प्राप्त गर्नुभएको थियो
- सारनाथ – जहाँ बुद्धले पहिलो पटक धर्मको उपदेश दिनुभयो
- कुशीनगर – जहाँ बुद्धले पारिनिर्वाण प्राप्त गर्नुभयो।
सारंश
विभिन्न बौद्ध परम्पराहरूले बुद्धको जीवनको भिन्न-भिन्न विवरणहरू प्रस्तुत गर्छन्। यी भिन्नताहरूले देखाउँछन् कि प्रत्येक परम्पराले बुद्धलाई कसरी बुझ्छ र उहाँको उदाहरणबाट हामीले के सिक्न सक्छौं भन्ने कुरा।
- हीनयान संस्करणहरू – यी विवरणहरू केवल ऐतिहासिक बुद्धको कुरा गर्छन्। बुद्धले आफूलाई कठोर परिश्रम गरेर कसरी बोधिप्राप्त गर्नुभयो भन्ने देखाउँदा, हामी सामान्य मानिसले पनि त्यही मार्गमा लाग्न सक्छौं र आफैंले प्रयास गर्न सिक्छौं।
- सामान्य महायान संस्करणहरू - बुद्धले धेरै कल्पअघि नै बोधि प्राप्त गरिसक्नुभएको थियो। १२ बोधिप्राप्तका कार्यहरूसहितको जीवन प्रकट गरेर, उहाँले हामीलाई सिकाउनुभयो कि बोधिप्राप्तिको अर्थ सबै प्राणीहरूको हितका लागि अनन्त समयसम्म सेवा गर्नु हो।
- अनुत्तरयोग तन्त्र विवरणहरू - बुद्धले एकैसाथ शाक्यमुनिको रूपमा दूरगामी विवेकशील चेतनामाथिका सूत्रहरू (प्रज्ञापारमिता सूत्रहरू) सिकाउनुहुन्थ्यो र वज्रधरको रूपमा तन्त्रहरू सिकाउनुहुन्थ्यो। यसले संकेत गर्छ कि तन्त्र अभ्यास पूर्ण रूपमा शून्यताको माध्यमक शिक्षाहरूमा आधारित छ।
यसरी, बुद्धको जीवनका विभिन्न संस्करणहरूबाट हामी धेरै लाभदायक कुरा सिक्न सक्छौं र विभिन्न स्तरमा प्रेरणा प्राप्त गर्न सक्छौं।