परिचय
जब हामी बौद्ध धर्मका संस्थापक शाक्यमुनि वास्तवमा को थिए भनेर बुझ्न चाहन्छौं, तब हामी बुद्धका जीवनकथाका थुप्रै फरक-फरक संस्करणहरू भेट्न सक्छौं। यस्तो अवस्थामा हामीले प्रश्न उठाउन सक्छौं कि यी सबै कथाहरू एउटै व्यक्तिको बारेमा कुरा गरिरहेका हुन् त? यो प्रश्नको उत्तर दिनु सजिलो कुरा होइन।
बुद्धको जीवनको एउटा संस्करण थेरवाद परम्पराको धर्मग्रन्थ पालि क्याननबाट देखापर्छ।वास्तवमाड ती ग्रन्थहरूमा उहाँको जीवनको सम्पूर्ण विवरण एउटै स्थानमा छैन, तर विभिन्न ग्रन्थहरूबाट साना–साना अंशहरू जोडेर एउटा कथा तयार गर्न सकिन्छ। पछि आउने बौद्ध साहित्यहरूले यस आधारभूत संरचनामा धेरै विवरणहरू थपेका छन्।
महायान परम्पराले बुद्धको परिचयलाई धेरै विस्तारित गर्दै बुद्धको जीवनको अर्को संस्करण प्रस्तुत गर्दछ, जुन थेरवादको संस्करणभन्दा फरक छ। थेरवादको संस्करणअनुसार बुद्ध एक ऐतिहासिक व्यक्तित्व हुन्, जसले इसापूर्व ५६६ देखि ४८५ सम्मको अवधिमा जीवन बिताएका थिए र जीवनकालमै बुद्धत्व प्राप्त गरी मृत्युका साथ आफ्नो निरन्तरताको अन्त्य गरिएको मानिन्छ। महायान संस्करणले पालि क्याननमा दिइएको कथालाई अझ विस्तारपूर्वक वर्णन गर्दै बताउँछ कि बुद्धले कसरी धेरै जन्मअघि नै बुद्धत्व प्राप्त गरिसकेका थिए र शाक्यमुनिको रूपमा पृथ्वीमा अवतरण लिएका थिए। पृथ्वीमा उहाँले अन्यहरूलाई यो कसरी गर्न सकिन्छ भनेर उदाहरण देखाउनका लागि बुद्धत्व प्राप्तिका बाह्र कार्यहरू सम्पन्न गर्नु भएको थियो। जब उहाँको मृत्यु भयो, उहाँको सतत अस्तित्व समाप्त भएन, बरु उहाँ अन्य धेरै लोकहरूमा प्रकट भई सबै प्राणीलाई शिक्षा दिन र लाभ पुर्याउनका लागि निरन्तर क्रियाशील रहनुभयो।
बुद्धको अर्को संस्करण त्यो हो जुन हामीले तन्त्रहरूमा पाउछऔं। यस संस्करणमा बुद्ध विभिन्न स्वरूपहरूमा एकैपटक प्रकट हुन्छन्। यी स्वरूपहरूलाई “ध्यानका देवताहरू” भनिन्छ, जसका विभिन्न रंगहरू, असंख्य हातहरू, मुखहरू र खुट्टाहरू हुन्छन्, र तिनीहरूले बुद्धका विभिन्न बोधका पक्षहरूलाई प्रतिनिधित्व गर्छन्। बुद्ध यी सबै विभिन्न स्वरूपहरूमा प्रकट हुनुहुन्छ, तर त्यसै समयमा मानवीय स्वरूपमा पनि शिक्षादान गर्नुहुन्छ—जस्तो कि भारतको गिद्धपर्वतमा, जहाँ उहाँले सूत्रहरू पनि उपदेश दिनु भएको थियो।
विशेष सन्दर्भहरूमा बुद्धको जीवन
यी विभिन्न संस्करणहरू र तिनका उपसंस्करणहरू अलिकति अन्योलजनक देखिन्छन्। त्यसैले प्रश्न उठ्छ: वास्तवमा बुद्ध को हुनुहुन्थ्यो? यी सबै संस्करणहरूलाई बुझ्नका लागि सबैभन्दा पहिले हामीले एउटा आधारभूत बौद्ध सिद्धान्त बुझ्न आवश्यक हुन्छ। बुद्धको जीवनका प्रत्येक संस्करणले बौद्ध शिक्षाको खास पक्षअनुसार, अर्थात् विशेष सन्दर्भमा, धर्मको उपदेश दिनुभएको थियो। जस्तै पालि क्याननमा वर्णित बुद्ध थेरवाद शिक्षाको सन्दर्भभित्र धर्म दिनुहुन्थ्यो। त्यसैले त्यही बुद्धले सामान्य महायान वा तान्त्रिक शिक्षाहरू दिएको भन्नु उपयुक्त हुँदैन।
महायान ग्रन्थहरूमा वर्णन गरिएको बुद्ध “ऐतिहासिक बुद्ध” होइनन् (अर्थात्, जसले एकै जीवनमा बुद्धत्व प्राप्त गरे र जसको निरन्तरता मृत्युमा अन्त्य भयो)। यही कुरा तान्त्रिक शिक्षाहरूमा वर्णन गरिएको बुद्धको सन्दर्भमा पनि सत्य हुन्छ।
संक्षेपमा भन्नुपर्दा, बुद्धको जीवन वा अन्य कुनै विषयहरूको चर्चा गर्दा ध्यानमा राख्नुपर्ने एउटा आधारभूत बौद्ध सिद्धान्त यो हो कि विभिन्न शिक्षाहरूमा वर्णन गरिएको वा प्रस्तुत गरिएको जुन्सुकै कुरालाई एउटा विशेष सन्दर्भभित्र बुझिनुपर्छ। एउटै विषयवस्तुलाई विभिन्न सन्दर्भहरूमा विचार गर्ने अर्को तरिका भनेको केही प्रश्नहरू सोध्नु हो, जस्तै: मेरो दैनिक जीवनमा यस सामाग्रीको विषयमा सिक्नुको के फाइदा हुन्छ?
बौद्ध आध्यात्मिक मार्गमा यस समाग्रीको के लाभ हुन्छ?
शाक्यमुनि बुद्धको जीवनलाई विभिन्न सन्दर्भहरूमा हेर्दा हामी आशा गर्न सक्छौं कि केही जटिल र विवादास्पद प्रश्नहरूबाट जोगिन सक्नेछौँ, जस्तै: के बुद्धले साँच्चै महायान सूत्रहरू उपदेश दिनुभएको थियो? के उहाँले तन्त्रको शिक्षाहरू दिनुभएको थियो? बुद्धको समयमा शिक्षाहरू मौखिक रूपमा मात्र संचारित हुने भएकाले केही लेखिँदैनथ्यो। त्यसैले बुद्धले महायान र तान्त्रिक शिक्षाहरू दिनुभयो कि दिएनन् भन्ने विषयमा बौद्ध परम्पराभित्र धेरै बहसहरू भएका छन्। यस्तै एक बहस भारतीय महान पण्डित शान्तिदेवको ग्रन्थ बोधिसत्वचर्यावतार मा भेटिन्छ, जहाँ उहाँ भन्नुहुन्छ: “तपाईं हीनयानीहरू (थेरवादहरू आदि)ले हाम्रो महायान सुत्रहरूलाई अयोग्य ठहराउनका लागि दिने जुनसुकै कारणहरू, म ती नै कारणहरू तपाईंहरूका सुत्रहरूलाई अयोग्य ठहराउन प्रयोग गर्न सक्छु।” अर्को शब्दमा भन्नुपर्दा, दुबै सम्प्रदायहरू, हिनयान र महायान दुबै परम्पराले आफ्ना शिक्षाहरू मौखिक परम्पराको रूपमा प्रसारण भएको दाबी गर्छन्। त्यसैले, यदि थेरवाद पक्षले महायान पक्षलाई तपाईंहरूको शिक्षाहरू त पछि आएका हुन्, त्यसैले ती बुद्धले दिनुभएको होइन र अविश्वसनीय छन्” भन्छन् भने महायान पक्षले उत्तर दिन सक्छ कि“त्यो कुरा तपाईंहरूकै शिक्षामा पनि लागू हुन्छ। तपाईंहरूका शिक्षाहरू पनि मौखिक परम्पराबाट आएका हुन् र पछि मात्र लिपिबद्ध गरिएका हुन्। त्यसैले यदि हाम्रा शिक्षाहरू अवैध हुन् भने, तपाईंहरूका पनि त्यस्तै अवैध हुन्छन्।”
यस लेखमा पहिले प्रस्तुत गरिएको अर्को तर्क यो पनि हो कि थेरवाद र महायान दुबै सन्दर्भहरूमा बुद्धको अवधारणा फरक-फरक छ। थेरवादको सन्दर्भमा वर्णन गरिएको बुद्धले थेरवाद धर्मग्रन्थहरूमा उपदेश दिनुभयो भने, महायान सन्दर्भको बुद्धले महायान धर्मग्रन्थहरूमा उपदेश दिनुभयो।यी फरक सन्दर्भहरू, थेरवाद हिनयानको प्रतिनिधिको रूपमा र महायान सूत्र परम्परा, र महायान तान्त्रिक परम्परा—भित्रबाट हामी बुद्धको सामान्य जीवनबारे बुझ्न सक्छौं।
बुद्धको समय
सबैभन्दा पहिले हामीले प्रश्न सोध्नुपर्छ कि बुद्ध कहिले बाँच्नुभएको थियो? उहाँ एउटा निश्चित समयमा, विशेष समाजभित्र बाँच्नुभएको थियो, अर्थात् एउटा निश्चित सन्दर्भभित्र। त्यो समाजमा पहिल्यै केही आधारभूत विश्वासहरू विद्यमान थिए, जुन बुद्धले सम्बोधन गर्नुभयो। त्यो विश्वास प्रणालीमा, तत्कालीन सम्पूर्ण भारतीय चिन्तनधारामा पाइने केही आधारभूत विषयवस्तुहरू समावेश थिए, र इतिहासभरि विकसित भएका थिए। बुद्धले ती विषयहरूलाई जस्तै पुनर्जन्म, जुन कर्म (व्यक्तिगत कार्यहरू) अनुसार निर्धारण हुन्छ र त्यस पुनर्जन्मको चक्रबाट मुक्ति कसरी पाउने भन्ने कुरालाई विस्तारपूर्वक व्याख्या गर्नुभयो। सामान्यतया सबै भारतीय दर्शन प्रणालीहरूले यस्तै भन्छन् कि पुनर्जन्मबाट मुक्त हुनका लागि ज्ञान वा यथार्थको बोध नै उपाय हो। तर बुद्ध, ती विभिन्न दर्शन र धर्महरूले दिएको उत्तरप्रति असन्तुष्ट भएर, सत्यको बोधमा पुग्नका लागि ध्यान, साधना, र विभिन्न अभ्यासहरू गर्न लाग्नुभयो।
बुद्धको समयमा भारतमा एक निरंकुश प्रणालीतर्फको बलियो आन्दोलन देखिन थालेको थियो। त्यतिबेला विभिन्न प्रकारका राज्यहरू थिए, जहाँ व्यापारीहरू दिनप्रतिदिन धनी बन्दै गएका थिए र धनसम्पत्तिमा राजाहरूको बराबरीमा पुग्न थालेका थिए। यसको प्रतिक्रिया स्वरूप, राजाहरू झनै निरंकुश बन्दै गएका थिए। भारतका केही क्षेत्रहरूमा भने साना गणतन्त्रहरूले उदय लिइरहेका थिए, जहाँ सामान्य जनताको विचारमा आधारित भएर एक गैर-श्रृंखलाबद्ध (non-hierarchical) चिन्तन प्रणाली विकास हुँदै गएको थियो। बुद्ध यस्तै कुनै गणतन्त्रमा (वा नजिकै) जन्मनुभएकाले, उहाँ यस प्रणालीबाट प्रभावित हुनुभयो। त्यसकै आधारमा उहाँले आफ्नो भिक्षु संग स्थापना गर्नुभयो, जहाँ सबै निर्णयहरू सबै सदस्यहरूको सामूहिक सहमतिमा गर्नुपर्ने व्यवस्था थियो।
साथै, त्यस समयमा, पुराना वैदिक धर्मको विपक्षमा प्रतिक्रिया देखाउने मानिसहरूको आन्दोलन थियो जसमा यसका अनुष्ठानहरू र पुजारीहरू आदि थिए, यो वैदिक धर्म गणतन्त्र र निरंकुश राज्य दुवैले मान्ने एउटा धर्म थियो। प्रतिक्रियावादीहरू "श्रमणेरहरू" थिए, घुम्ती तपस्वीहरू वा समाजबाट "छुट्टिएकाहरू", वनतर्फ डुल्ने, ध्यान गर्ने, र आफ्नै आध्यात्मिक विकासमा लाग्ने घुमन्ते संन्यासीहरू थिए। यस प्रकारको आन्दोलनका प्रतिनिधिहरूमा बुद्ध मात्र नभई अन्य सम्प्रदायहरू र अनुयायीहरू पनि समावेश थिए। धार्मिक वा आध्यात्मिक मार्गमा लाग्न चाहने जोकोहीका लागि, कम्तीमा केही समयको लागि भए पनि समाजबाट टाढा बस्नु, स्वतन्त्र भएर सत्यको खोजी गर्नु महत्वपूर्ण मानिन्छ र एकपटक हामीले सत्य पाएको महसुस गरेपछि, त्यसलाई अरूमाथि जबर्जस्ती थोपर्नु होइन र बरु एक प्रकारको “लोकतान्त्रिक” तरिकाबाट साझेदारीपूर्ण रूपमा प्रस्तुत गर्नु उचित हुन्छ, न कि श्रेणीबद्ध वा निरंकुश शैलीमा।
जीवनीहरूको उद्देश्य र मान्यता
बौद्ध सन्दर्भमा—भारतीय वा तिब्बती—मा जीवनीहरू केवल ऐतिहासिक तथ्य प्रस्तुत गर्नका लागि नभई, बरु कुनै महान व्यक्तिको जीवनकथाका विशेष पक्षहरूलाई देखाएर शिक्षा दिन र प्रेरणा दिनका लागि प्रयोग गरिन्छ। यस सन्दर्भमा, कुनै धार्मिक व्यक्तित्वको जीवनकथा अरूलाई प्रेरणा दिनका लागि भनिन्छ, त्यसैले पश्चिमी दृष्टिकोणबाट हेर्दा कथाका केही अंशहरू निकै अकल्पनीय लाग्न सक्छन्। जस्तै उदाहरणका लागि, बुद्धको जीवनीमा आउने कथाहरू, जब बुद्धकी आमालाई सपनामा छ वटा दाँत भएको सेतो हात्तीको आगमन हुन्नु, वा बुद्धको आमाको छेउबाट जन्मिएर सात कदम चाले र "म यहाँ छु!" भने, इत्यादि। यस्ता घटनाहरू पश्चिमी दृष्टिले असामान्य लाग्न सक्छन्। तर भारतीय वा तिब्बती दृष्टिकोणले हेर्दा, ती कथाहरू ऐतिहासिक रूपमा सत्य छन् वा छैनन् भन्ने कुरा त्यति महत्वपूर्ण हुँदैन र महत्वपूर्ण कुरा त यो हो कि ती कथाहरूले दर्शक वा पाठकलाई के प्रतिनिधित्व गर्छन् वा के सिकाउँछन्। यो कुरा तब सान्दर्भिक हुन्छ जब हामी द्धले साँच्चै के गर्नुभयो, वा उहाँका अनुयायीहरूमाझ के भयो भने कुरा पत्ता लगाउन ऐतिहासिक रूपमा बुद्धको जीवन जोड्न चाहन्छौं, वा यदि हामी कथालाई एउटा भारतीय वा तिब्बती पाठकको दृष्टिकोणबाट बुझ्न खोज्छौं भने त्यो अर्कै तरिका हो। हरेक सन्दर्भमा जीवनकथाले हामीलाई केही सिकाउँछ, र एक तरिका अर्काभन्दा बढी “वैध” छ भन्नु उचित हुँदैन। बौद्ध चिन्तनको एउटा महत्वपूर्ण सिद्धान्त नै यो हो कि कुनै पनि विषयवस्तुलाई विभिन्न तहहरूमा, विभिन्न दृष्टिकोणबाट बुझ्न सक्नुपर्छ, र ती धेरै दृष्टिकोणहरू वैध हुन सक्छन् भन्ने कुरालाई विचार गर्नु पर्छ। यसैले, यथार्थमा के भएको थियो भन्ने कुरा एकवटै सत्यमा सीमित छैन, सत्यका अनेक पक्षहरू हुन सक्छन्।
बौद्ध साहित्यमा प्रचलित एउटा उदाहरण तरल पदार्थको हो। मानिसहरूलाई त्यो तरल पानीजस्तो देखिन्छ र भोकाएका प्रेत आत्मा हरूलाई त्यो पीवजस्तो देखिन्छ, अनि नर्कका प्राणीहरूलाई त्यो अम्ल (acid) जस्तो देखिन्छ भने देवताहरूलाई त्यो अमृतजस्तो देखिन्छ। अब प्रश्न उठ्छ: कुन चाहिं सही हो? बौद्ध दृष्टिकोण अनुसार, यी सबै सही हुन्, किनभने कुनै पनि कुराको मान्यता वा वैधता निश्चित सन्दर्भभित्र मात्र सापेक्षिक रूपमा निर्धारण हुन्छ।
अर्को उदाहरण परिवार थेरापी/उपचारको एउटा विधाबाट लिन सकिन्छ, जसलाई "सन्दर्भिक थेरापी" (contextual therapy) भनिन्छ। यस विधिमा, कुनै पारिवारिक परिस्थितिमा प्रत्येक सदस्यलाई सोधिन्छ कि उनीहरूले त्यो परिस्थिति कसरी अनुभव गरिएको थियो। बुबाले आफ्नो अनुभव सुनाउँछन्, आमाले अर्कै, र हरेक छोराछोरीले आ–आफ्नो भिन्न भिन्न संस्करण सुनाउँछन्। यी सबै संस्करणहरू सही मानिन्छन् र समान सम्मान दिइन्छ, किनभने हरेक सदस्यले त्यस परिस्थितिलाई आफ्नै तरिकाले अनुभव गरेका हुन्छन्। यो सोचाइ बौद्ध दृष्टिकोणसँग धेरै मेल खान्छ र बुद्धको जीवनकथामा पनि यसलाई प्रयोग गर्न सकिन्छ। यदि हामी बुद्धको जीवनकथालाई विभिन्न तरिकाले पढ्छौं भने, ती सबै संस्करणहरू सही हुन्छन् र हरेकले हामीलाई केही न केही सिकाउँछन्।
बुद्धको जीवनका मुख्य तथ्यहरू र हाम्रो अभ्याससँगको सम्बन्ध
बुद्ध एक सुविधा सम्पन्न र धनी परिवारमा जन्मनुभएको थियो (उहाँ राजकुमार थिए वा होइन भन्ने विषयमा केही विवाद छ), जसले गर्दा उहाँले धेरै सुख–सुविधा र लाभ प्राप्त गर्नुभयो, जसमा राम्रो शिक्षा पनि समावेश थियो। उहाँको विवाह भयो र एक छोरा पनि जन्मिए। पेशागत हिसाबले हेर्दा, बुद्धलाई उहाँका पिताको स्थान ग्रहण गरेर गणतन्त्रको नेतृत्व गर्न प्रस्ताव दिइयो, तर श्रमण आन्दोलनका अनुयायी भएका कारण, बुद्धले त्यो प्रस्ताव अस्वीकार गर्नुभयो। यहाँ यो कुरामा जोड दिनु जरुरी छ कि बुद्धले आफ्नी पत्नी र सन्तानलाई छाडेर जानु गैरजिम्मेवार व्यवहार थिएन। भारतीय समाजमा, पत्नी र बच्चाहरूको हेरचाह हजुरबा हजुरआमा र अन्य सदस्यहरूको विस्तृत परिवारमा हुन्छ। साथै, बुद्ध क्षत्रिय/योद्धा जातिमा जन्मनुभएको थियो, जुन जातिका पुरुषहरू युद्ध लड्न घरबाट निस्कन्थे। बुद्धले पनि अन्तरिक अज्ञानता र क्लेशहरूको विरुद्धमा आफ्नै युद्द लड्नु भएको थियो्
बुद्धको पारिवारिक जीवन त्याग्ने निर्णयले हामीलाई यस्तो शिक्षा दिन्छ कि सत्यको खोजी, अर्थात् पुनर्जन्मको दुःख वा मानसिक र भावनात्मक पीडाको अन्त्य भनेको पद, शक्ति वा धनभन्दा कहीँ बढी महत्वपूर्ण हुन्छ। विश्वव्यापी व्यक्तिगत समस्याहरु जस्तै क्रोध, लोभ, स्वार्थ आदि—वा सामाजिक समस्याहरूको समाधान कसरी खोज्ने भन्ने कुरा बुझ्नु, आफैँका लागि शक्ति र सम्पत्ति खोज्नुभन्दा धेरै अर्थपूर्ण छ। यही नै बुद्धको जीवनले हामीलाई सिकाउने मुख्य पाठ हो।
परमपावन दलाई लामा भन्नुहुन्छ कि सय प्रतिशत आध्यात्मिक जीवन अपनाउनु सबैका लागि होइन, बल्कि महत्त्वपूर्ण कुरा तपाईंको जीवनको गुणस्तर र तपाईंको वरपरका मानिसहरूको जीवनको गुणस्तर हो। बुद्धले भने सम्पूर्ण रूपमा आध्यात्मिक मार्ग अनुसरण गर्नुभयो। राजदरबार छाडेर रथमा निस्कनु भयो (यो भगवद् गीता मा आउने उदाहरण जस्तै), र त्यस क्रममा उहाँले रोग, वृद्धावस्था, मृत्यु जस्ता दुःखहरू र वनतर्फ डुलेका साधुहरू देख्नुभयो, जसको उपस्थिति दरबारभित्र कहिल्यै देखिँदैनथ्यो।
बुद्धको जीवनसँग सम्बन्धित विविध कथाहरूको प्रतीकात्मकतालाई जुङ्गियन सिद्धान्तमा (Jungian theory) लागू गर्न सकिन्छ। जहाँ बुद्ध यति धेरै धन–सम्पत्ति र इन्द्रिय सुखमा डुब्नुभएको थियो कि उहाँले संसारको दुःख देख्न सक्नुभएको थिएन। तर जब उहाँ रथमा दरबार बाहिर निस्कनुभयो, जो उहाँको आध्यात्मिक यात्राको प्रारम्भ थियो। त्यस बेला मात्र उहाँले रोग, बुढ्यौली, र मृत्युजस्ता दुःखहरू देख्नुभयो र सबै मानिसले भोग्ने सामान्य समस्याहरूको यथार्थता बुझे।
बुद्धको जीवनकथा र बौद्ध शिक्षाको एक अत्यन्त महत्वपूर्ण पक्ष भनेको अभ्यासमा अतिवादमा नजानु हो। दरबार छाडेपछि बुद्धले कठोर ध्यान र अत्यधिक तपस्या गर्न थाल्नुभयो, जसमा उहाँले प्रायः आफूलाई मृत्यु नजिकै पुर्याउने गरी अनाहार बस्नुभयो। तर एक दिन, रुखमुनि बस्दा, उहाँले बुझ्नुभयो कि यस्ता कठोर अभ्यासहरू लाभदायक छैनन्। त्यसपछि उहाँले आफ्नो ब्रत तोड्दै, एक गोठालो केटीबाट दही स्वीकार गर्नुभयो। भारतीय चिन्तनमा गाई (दही, दूध आदि) मातृ प्रेम र करुणाको प्रतीक हो। त्यसैले यो प्रतीकात्मक छ कि बुद्धलाई गाईको उत्पादन प्रस्ताव गरियो जसले हामीलाई सिकाउँछ कि यो करुणा हो जसले हामीलाई आत्म-यातनाबाट जगाएर उचित मार्ग पत्ता लगाउन सक्षम बनाउँछ, एक मार्ग जुन विश्वव्यापी दुःखसँग सम्बन्धित हुन्छ।
बोधि प्राप्त गर्नुअघि, बुद्ध बोधि वृक्षको मुनि बसिरहनुभएको थियो (भारतीय चिन्तनमा पवित्र रुखहरू एक सामान्य विषयवस्तु हुन्) र र त्यही बेला मारा प्रकट भयो। मारा, जसको संस्कृत अर्थ मृत्यु हो, उसले बाधा, विघ्न, प्रलोभन आदि कुराहरूको प्रतिनिधित्व गर्छ। यसबाट हामीले के बुझ्न सक्छौं भने—यहाँसम्म कि बुद्धले पनि, पूर्ण बोध प्राप्त गर्नु अघिसम्म, केही सकारात्मक कुरा हासिल गर्न लाग्दा कठिनाइहरू, अवरोधहरू, र मानसिक संघर्षहरूको सामना गर्नुपरेको थियो।
उहाँ बोधिप्राप्त हुनुअघि, बुद्ध आध्यात्मिक रूपमा अत्यन्त उन्नत भइसक्नुभएको थियो। उहाँ कुनै प्रारम्भिक अभ्यासकर्ताबाट एक्कासि बोध प्राप्त भएको थिएन। बरु, उहाँको अभ्यासको अन्तिम चरणमै बाधाहरू र विघ्नहरू झनै तीव्र रूपमा देखा परे, जस्तै बुद्धले आफ्नो लक्ष्य हासिल गर्नुअघि तीव्र अवरोधहरूको सामना गर्नुपरेको थियो, त्यसैगरी हामीले पनि आफ्ना जीवनमा सकारात्मक कार्यहरू पूरा गर्न खोज्दा अवरोधहरूको सामना गर्नुपर्छ। वास्तवमा, हामी जे जति सकारात्मक र अर्थपूर्ण काम गर्न खोज्छौं, त्यति नै तीव्र विघ्नहरू देखापर्न सक्छन्। त्यसैले यस कथाको शिक्षाले हामीलाई भन्छ—निराश नभइ, योद्धाजस्तै साहस र दृढताका साथ ती बाधाहरू पार गर्नुपर्छ। यो विचार बुद्धको क्षत्रिय जातिबाट आएको पृष्ठभूमिसँग सम्बन्धित छ, किनभने वास्तविक युद्ध त हाम्रो आन्तरिक मोह, भ्रम, डर र विकारहरूसँग हुन्छ।
बुद्धले बोध प्राप्त गरेपछि, उहाँले आरम्भमा धर्म उपदेश दिने विषयमा केही संकोच गर्नु भयो, उहाँले सोच्नुभयो कि संसारमा यस्तो को होला जसले मेरो गहिरो अनुभूतिको अर्थ बुझ्न सक्छन्? तर जब उहाँलाई धर्म सिकाउन अनुरोध गरियो, उहाँले सोच्नुभयो कि कसैले बुझ्ला कि भन्ने आशामा प्रयास त गर्नेछु। यसबाट हामीले सिक्न सक्ने कुरा के हो भने, जसरी बुद्धले गाह्रो भए पनि करुणाका कारण धर्म उपदेश दिनुभयो, त्यसैगरी हामीले पनि, शिक्षण वा मार्गदर्शन दिन कठिन भए तापनि, करुणाबाट प्रेरित भएर त्यो प्रयास गर्नुपर्छ।
बुद्धले अरूलाई धर्म सिकाउन थालेपछि धेरैले उहाँको अनुयायी बन्न चाहे, र त्यहीबाट संघ अर्थात् भिक्षु-जीवनको सुरुवात भयो। आरम्भमा कुनै विशेष भिक्षु नियम थिएनन्। तर, भिक्षुहरू समाजमै बस्ने भएकाले, सामाजिक जीवनमा उत्पन्न हुने समस्याहरूबाट जोगिनका लागि अनुशासनका विभिन्न नियमहरू बनाइए, जसलाई ‘विनय’ भनिन्छ। यी नियमहरू कसैले तानाशाही गरेर बनाएको थिएनन्, बल्कि समस्या पत्पन्न भएअनुसार ल्याइएका थिए। उदाहरणका लागि, भिक्षुहरूले भीक्षामा खाना माग्दा (त्यतिबेलाको श्रमण परम्पराअनुसार) मानिसहरूले उनीहरूलाई लोभी नठानून् भन्ने उद्देश्यले केही नियमहरू बनाइए—जस्तै, उनीहरूले आफैँ खाना माग्न नपाउने, जे दिइयो त्यही स्वीकार्नुपर्ने, खाना जम्मा गरेर राख्न नपाउने, फेरि फेरि माग्न नपाउने, आदि। यी नियमहरू समाजले भिक्षुहरूलाई अस्वीकार नगरोस् भन्ने सुनिश्चित गर्न बनाइएका थिए, र आजको दिनमा पनि तिनीहरू हाम्रो लागि मान्य छन्।
सुरुवातमा बुद्धले महिलाहरूलाई भिक्षुणीको रूपमा संघमा सामेल गर्न हिचकिचाएका थिए, किनभने उहाँलाई चिन्ता थियो कि समाजले पुरुष र महिला जंगलमा सँगै बस्नु अनुचित हो भनी ठान्न सक्छ। तर पछि जब उहाँले महिलाहरूलाई भिक्षुणी संघमा स्वीकार गर्नुभयो, तब समाजमा गलत धारणा नबनियोस् भनी अत्यन्त विशेष नियमहरू बनाइयो—जस्तै, कुनै भिक्षु र भिक्षुणी एक्लै सँगै हुन नपाउने, सधैं अरू एक जना संरक्षक (भिक्षुणी) साथमा हुनुपर्दछ, एउटै ओछ्यान वा आसनमा बस्न नपाउने, आदि। यी नियमहरूले हामीलाई सिकाउँछन् कि एकतर्फ बुद्धले सत्यको खोजीका लागि समाजको सबै प्रकारको वैभव र सम्मान अस्वीकार गर्नुभयो, तर अर्कोतर्फ उहाँले समाजमा गलत सन्देश पनि दिन चाहनुहुन्नथ्यो। कुनै व्यक्ति समाजका सबै मूल्यहरूसँग सहमत नहुन सक्छ, तर पनि समाजबाट अलग हुनु हुँदैन। यो कुरा आजका राजनीतिज्ञहरूका लागि पनि लागू हुन्छ, उनीहरूले कूटनीतिक बन्न, अनावश्यक शंका नउठ्ने गरी कसरी अभिव्यक्त हुने भन्ने कुरा सिक्नुपर्छ, चाहे उनीहरूको सोच समाजका मूल्यहरूसँग मेल नखाओस्।
बुद्धका एक जना काका का छोरा, देवदत्त थिए, जसले बुद्धलाई अत्यधिक मन नपराउने र सधैं उहाँलाई समस्यामा पार्ने गर्थे। वास्तवमा, यदि तपाईंले पाली ग्रन्थहरूमा थप हेर्नुभयो भने, बुद्धलाई धेरै मानिसहरूले दु:ख दिएका थिए र मन पराउँदैनथे। यसले हामीलाई एउटा बहुमूल्य पाठ सिकाउँछ कि बुद्धजस्तो व्यक्तिलाई पनि मन पराउँदैन थियो र उहाँले सबैलाई खुशी पार्न सक्नुभएन, त हामी कसरी सक्छौं? त्यसैले हामी यथार्थवादी हुनुपर्छ र अरूले हामीलाई मन पराएनन् वा हामीले सबैलाई खुशी पार्न नसक्दा निराश हुनु हुँदैन।
बुद्धको जीवनकथाहरूमा जब उहाँको परिनिर्वाण उल्लेख गरिएको छ। आनन्द (बुद्धका प्रमुख शिष्यमध्ये एक) सँग बुद्धलाई नजान आग्रह गर्ने अवसर थियो, तर उनले त्यो आग्रह गरेनन्, र त्यसैले बुद्धको जीवन समाप्त भयो। यसबाट हामीले सिक्ने कुरा के हो भने, बुद्धले केवल तब शिक्षण दिनुहुन्छ जब सोधिन्छ, र केवल तब रहनुहुन्छ जब बस्नु भनेर अनुरोध गर्छन्। यदि कसैले पनि उहाँलाई रोक्न चाहँदैन भने, उहाँ जानुहुन्छ। यो पाठ हामीले हाम्रो जीवनमा पनि लागू गर्न सक्छौं—यदि कसैले हाम्रो सहयोग चाहँदैन वा हाम्रो उपस्थिति आवश्यक ठान्दैन भने, हामीले जबरजस्ती गर्नु हुँदैन। संसारमा अझै धेरै मानिसहरू छन् जो हाम्रो सहयोगप्रति खुल्ला हुन सक्छन् र हाम्रो मद्दत चाहन्छन्।
निष्कर्ष
हामी बुद्धको जीवनलाई धेरै कोणहरुबाट हेर्न सक्छौं। हामी ऐतिहासिक दृष्टिकोणबाट तथ्यहरू खोज्न प्रयास गर्न सक्छौं, जुन इतिहासको पश्चिमी दृष्टिकोणको सन्दर्भमा वैधता भएता पनि, यसबाट हामी निश्चित मिति वा वर्षहरूको ठ्याक्कै यथार्थमा पुग्न सक्दैनौं। वा, हामीले कथाहरूमा रहेका प्रतीकहरूबाट पाठ सकिने शिक्षाहरू हेर्न सक्छौं। यस्ता प्रतीकात्मक दृष्टिकोणहरू, जस्तै जु्ङ्गियन विश्लेषणमा प्रश्नहरू सोध्नु: यसले के जनाउँछ? यसले के प्रतिनिधित्व गर्छ?
हामी बुद्धको जीवनलाई महायान सन्दर्भमा पनि हेर्न सक्छौं, जहाँ बुद्धले युगौं (कल्प)अघि नै बुद्धत्व प्राप्त गरिसकेको भनेर प्रस्तुत गरिन्छ र उहाँले अनगिन्ती जन्महरूमा अरूको हितको लागि शिक्षाहरू दिनुभएको छ। यो महायान दृष्टिकोणले हामीलाई सार्वभौमिकता र परोपकारको गहिरो भाव सिकाउँछ। यसले हामीलाई यो सन्देश दिन्छ कि अहिले हामी जे गर्दैछौं, त्यो हामीभन्दा अघि आएका अनगिन्ती पुस्ताहरूको परिणाम हो। त्यसैले यदि हामी केही सकारात्मक कार्य गर्न खोजिरहेका छौं भने, त्यो कार्य केवल अहिलेको लागि नभई, भविष्यका अनगिन्ती पुस्ताहरूलाई ध्यानमा राखेर हुनुपर्छ।
तन्त्र मार्गको प्रस्तुतीकरणमा, बुद्धले एउटै समयमा फरक-फरक स्थानहरूमा विभिन्न तरिकाले शिक्षा दिनुहुन्छ, कतै उहाँ गहिरो दर्शनको शिक्षा दिनुहुन्छ भने, अर्कोतिर चार मुखसहित प्रकट भई, ती प्रत्येक मुखबाट फरक शिक्षा दिइरहनुभएको देखिन्छ। यसले के संकेत गर्दछ भने बुद्धका सम्पूर्ण विविध शिक्षाहरू, जुन हामीले इतिहासभरि विभिन्न रूपमा भेट्छौं, ती सबै एउटै मूल स्रोतबाट उत्पन्न भएका हुन्। ती शिक्षाहरूले एउटै आधारभूत सत्यलाई विभिन्न तरिकाबाट प्रस्तुत गरेका हुन्
हामीले बुद्धका विविध शिक्षाहरू, जसमा थेरवादको प्रस्तुति, महायान सूत्र परम्परा, वा महायान तन्त्र मार्ग, जेसुकै लिए तापनि, ती सबैमा केही आधारभूत सिद्धान्तहरू पाइन्छन्। यी सबै प्रस्तुतीकरणहरूमा आधारभूत सिद्धान्तहरू छन् जुन बुद्धमूर्ति का विभिन्न हात, खुट्टा र मुखहरूको संख्याले प्रतिनिधित्व गर्छ। बुद्धका आधारभूत शिक्षाहरू चार आर्य सत्य हुन्, जसलाई हामी चार अनुहारहरू प्रतिनिधित्व गर्छ भन्न सक्छौं। यस प्रकार बुद्धको जीवनको यो प्रस्तुति ऐतिहासिक तथ्यहरू पढ्नका लागि मात्र नभई बरु प्रत्येक प्रस्तुतीकरण र यसको उद्दश्यको प्रयोगका बारेमा अनुसन्धान गर्न मद्दत गर्न हो । र यिनै अन्वेषणहरूबाट हामी यो सामग्रीप्रति अझ गहिरो समझ, र कदर गर्न सक्नेछौं।
सारांश
बुद्धको जीवनका तीन संस्करणहरू छन्: थेरवाद परम्पराको प्रस्तुति, महायान सूत्रको प्रस्तुति, र महायान तन्त्रको प्रस्तुति। यिनीहरू एक अर्कासँग विवादमा छन् कि छैनन् भन्ने विषयमा बहसहरू भए तापनि, तर्कको माध्यमबाट यी तीनवटै फरक सन्दर्भ र उद्देश्यमा दिइएका शिक्षाहरू हुन् भनेर देखाउन सकिन्छ। यी फरक प्रस्तुतीकरणहरूले हामीलाई प्रेरणा दिन र शिक्षित गर्न उद्देश्य राखेका छन्। यदि हामी बुद्धको कथालाई हेर्छौं भने, उहाँ एउटा विशिष्ट समाजमा बस्नुभएको थियो जहाँ दुःखबाट मुक्त हुने उपायहरूबारे खास किसिमको विश्वास प्रणाली थियो। तर बुद्ध ती व्यवस्थाबाट सन्तुष्ट हुनु भएन र गैर-पदानुक्रमिक प्रणाली (non-hierarchical system ) भित्र सिकाइने सत्यको खोजी गर्नुभयो। आफ्नो घर र परिवारको सुविधा छोडेर, उहाँले आफ्ना आन्तरिक विकारहरूसँग लड्ने प्रयत्न गर्नुभयो। उहाँले मुक्ति अत्यन्त कठोर तपस्याबाट नभई, विश्वव्यपी सम्बन्धित दुःखप्रति करुणाको माध्यमबाट प्राप्त गर्नुभयो। बुद्धले धेरै ठूला बाधाहरूको सामना गर्नुभयो तर यिनीहरूले उहाँलाई निरुत्साहित गरेन र जब उहाँ बुद्ध भए, उहाँले करुणावश अरूलाई शिक्षा दिन स्वीकार गर्नुभयो। बुद्धका अनुयायीहरूका लागि, भिक्षु र भिक्षुणी दुवैका लागि भिक्षुत्व गठन भयो जसका नियमहरू समाजसँग मेल खाने गरी स्थापना गरिएका थिए।