वर्तमान विश्वमा बुद्धधर्म

दक्षिण र दक्षिणपूर्वी एशियामा मानिने थेरवाद बुद्धधर्म

भारत

सातौं शताब्दीमा आइपुग्दासम्म भारतमा बुद्धधर्मको प्रभाव कम हुन थालिसकेको थियो। बाह्रौं शताब्दीमा पालवंशको शासनकालको पतनपछि बुद्धधर्म यहाँबाट झण्डै विलुप्तजस्तै भयो। केवल उत्तरी हिमालय क्षेत्रमा यसको केही शेष बाँकी थियो। उन्नाइसौं शताब्दीमा श्रीलंकाका बौद्ध अगुवा अनागरिक धर्मपालले केही बेलायती विद्वानहरूको सहयोगमा महाबोधी समाजको स्थापना गरेपछि भारतमा बुद्धधर्मले पुनर्जीवन पायो। उनीहरूको एउटा मुख्य उद्देश्य भारतका बौद्ध तीर्थस्थलहरूको पुनर्स्थापना गर्नु थियो। त्यसमा उनीहरू सफल पनि भए, र ती बौद्ध स्थलहरूमा विहारहरूको निर्माण गरे। ती विहारहरूमा अहिले भिक्षुहरू बस्छन्।   

सन् १९५० को दशकमा अम्बेडकरले नव–बौद्ध अभियानको शुरुवात गरे जसअन्तर्गत लाखौं दलितहरूले जातीय हिंसाबाट मुक्तिका लागि बुद्धधर्म अपनाए। विगत दशकमा मध्यमवर्गीय शहरी वासिन्दाहरूमा बुद्धधर्मप्रति रुचि बढ्दै गएको पाइएको छ। अहिले भारतीय जनसंख्याको करीब दुई प्रतिशत बौद्ध धर्मावलम्बी छन्।

श्रीलंका

तेश्रो शताब्दीमा भारतीय सम्राट अशोकका छोरा महेन्द्रले श्रीलंकामा बुद्धधर्म लिएर गए। त्यसपछि यो देश बौद्ध शिक्षाको केन्द्र नै बन्यो। बुद्धधर्मको सबैभन्दा लामो अटुट श्रृंखला यही देशमा जीवित छ। यद्यपि, यहाँ पनि युद्धका कारण लामो समयसम्म बुद्धधर्म कमजोर अवस्थामा रह्यो। सोह्रौं शताब्दीपश्चात् यो टापु देश उपनिवेशको रूपमा रहँदा युरोपेली धर्मप्रचारकहरूले मानिसलाई इशाई धर्ममा परिवर्तित गर्ने गरेका कारण पनि बुद्धधर्म कमजोर बन्यो।

उन्नाइसौं शताब्दीमा बेलायती विद्वानहरू र थियोसोफिस्टहरूको सहयोगमा यहाँ बुद्धधर्मको निकै राम्रो पुनरोत्थान भयो। प्राज्ञिक अध्ययन, भिक्षुहरूद्वारा गृहस्थीका लागि गरिने पुरोहित सेवा र गृहस्थीहरूलाई ध्यानको अभ्यासमा प्रेरित गर्नेजस्ता कामका कारण यो अभियानलाई “प्रोटेस्टेन्ट बुद्धधर्म” पनि भनेर बुझ्न सकिन्छ। सन् १९४८ मा श्रीलंकाले स्वतन्त्रता पाएपश्चात् यहाँ बौद्ध धर्म र संस्कृतिप्रतिको रुचिमा व्यापक बृद्धि भएको छ।

हाल ७० प्रतिशत श्रीलंकाली जनता बौद्ध धर्मावलम्बी छन्। त्यसमध्ये अधिकांश थेरवाद बुद्धधर्म मान्नेहरू छन्। तीस बर्ष लामो गृहयुद्धबाट मुक्त भएको यो देशमा अहिले ‘राष्ट्रवादी’ बुद्धधर्मको उदय हुँदै गएको देखिन्छ, जसअन्तर्गत ‘बोडु बल सेना’ (बौद्ध बल सेना) जस्ता केही संस्थाहरू मुस्लिमविरोधी दंगा र नरमपन्थी बौद्ध अगुवाहरूमाथि आक्रमण गर्ने काममा संलग्न देखिन्छन्।

म्यान्मार (बर्मा)

बर्मामा बुद्धधर्मको इतिहास २,००० वर्षभन्दा पुरानो भएको ऐतिहासिक अध्ययनहरूले देखाउँछन्। यो देशका ८५ प्रतिशत जनता आफूलाई बुद्धधर्मको अनुयायी रहेको बताउँछन्। यहाँ ध्यान साधना, व्यवस्थित संघ अभ्यास र अत्यन्तै श्रद्धावान् गृहस्थीहरूको लामो परम्परा चलिआएको छ। गृहस्थी जीवन बिताएका विपश्यना ध्यान आचार्य एस. एन. गोयन्का बर्मेली बौद्ध समुदायका एक प्रख्यात अग्रणी हुनुहुन्थ्यो।

बेलायतबाट सन् १९४८ मा स्वतन्त्र भएपछि नागरिक र सैनिक शासकहरूले बर्मामा शासन गरे, तर दुवैथरीले थेरवाद बुद्धधर्मको प्रवर्द्धन नै गरे। यद्यपि, सैनिक शासनअन्तर्गत बर्मामा बुद्धधर्ममाथि कडा निगरानी राखियो र विद्रोहीहरूलाई शरण दिने बौद्ध विहारहरूलाई ध्वस्त पारियो। तैपनि सैनिक शासनविरुद्ध प्रदर्शन हुँदा भिक्षुहरू अग्रपंक्तिमा हुन्थे। तीमध्ये ८८८८ विद्रोह र २००७ को स्याफ्रोन क्रान्ति उल्लेखनीय छन्। 

विगत दशकमा यहाँ कैयौं राष्ट्रवादी समूहहरूको उदय भएको छ, जसको लक्ष्य बुद्धधर्मको पुनरोत्थान र इस्लाम धर्मको विरोध हो। तीमध्ये ९६९ समूहको नेता अशिन विराथु नामका एक भिक्षुले आफूलाई “बर्मेली बिन लादेन” को उपनाम दिएका छन्। मुस्लिमद्वारा चलाइएका पसलहरू बहिस्कार गर्ने उनको अभियान हो। “बुद्धधर्मको रक्षा” गर्ने नाममा यहाँ मस्जिद र मुस्लिमका घरहरूमाथि हिंसात्मक आक्रमणहरू हुने गरेका छन्। मुस्लिम समुदाय पनि प्रतिरक्षामा उत्रिने भएकाले हिंसा झन् थपिएको छ।

 बंगलादेश

यो क्षेत्रमा इस्वी संवतको एघारौं शताब्दीसम्म बुद्धधर्मको व्यापकता थियो। हाल यहाँ एक प्रतिशतभन्दा कम जनसंख्या मात्र बौद्धमार्गी छन्। उनीहरू पनि बर्मा नजिकको चिट्टगोङ् पर्वतीय क्षेत्रमा सीमित छन्।

राजधानी ढाकामा चार बौद्ध मन्दिरहरू छन्। पूर्वी भागका गाउँहरूमा अरु मन्दिरहरू पनि छन्। बर्मासँग सम्बन्ध विच्छेद हुँदा यहाँ बुद्धधर्मको ज्ञान र अभ्यास अत्यन्त न्यून मात्रामा छ।

थाइल्याण्ड

दक्षिण–पूर्वी एशियाली साम्राज्यहरूमा बुद्धधर्म इस्वी संवत् पाँचौं शताब्दीतिर मात्र भित्रियो। यहाँ पनि थेरवादको अभ्यास गरिन्छ, तर तिनमा स्थानीय धर्महरू, हिन्दूधर्म र महायान बुद्धधर्मको प्रभाव देखिन्छ। श्रीलंका र बर्माजस्तो महिलाहरूलाई भिक्षुणी दीक्षा दिने चलन यहाँ कहिल्यै चलेन। देशका करीब ९५ प्रतिशत जनता बौद्ध धर्मावलम्बी छन्।

यहाँको बौद्ध भिक्षु सम्प्रदायले थाइ राजकीय प्रणालीको अनुकरण गर्दछ। त्यसै अनुसार एक सर्वोच्च कूलपिता (प्याट्रिआर्क) छन् र अग्रजहरूको एक सभा (काउन्सिल अफ एल्डर्स) छ। उनीहरूको काम सम्प्रदायको पवित्रता कायम राख्ने हो। भिक्षु संघहरूमध्ये कोही जंगलमा बस्छन्, कोही गाउँमा। दुबैलाई स्थानीय गृहस्थी समुदायले अत्यन्तै श्रद्धा र सहयोग गर्छन्। 

वन परम्पराका ध्यानी भिक्षुहरू सुनसान जंगलमा बस्छन् र ध्यानको गहन अभ्यास गर्छन्। उनीहरू विनयको पालना पनि दृढतापूर्वक गर्छन्। ग्राम परम्पराका भिक्षुहरू चाहिँ मूलतः धर्मग्रन्थहरू कण्ठस्थ गर्छन् र स्थानीय मानिसहरूका लागि पुरोहितको काम गरिदिन्छन्। भूतप्रेतमा विश्वास गर्ने थाइ संस्कृतिअनुसार यी भिक्षुहरूले गृहस्थीहरूलाई बुटी वा जन्तर लगाइदिने काम पनि गर्छन्। भिक्षुका लागि एक बौद्ध विश्वविद्यालय छ, जहाँ मूलतः शास्त्रीय पालि भाषाबाट आधुनिक थाइ भाषामा बौद्धग्रन्थहरूको अनुवाद गर्ने प्रशिक्षण दिइन्छ।

 लाओस

लाओसमा बुद्धधर्मले सर्वप्रथम सातौं शताब्दीमा प्रवेश पाएको थियो। हाल देशका ९० प्रतिशत मानिस जीवात्मवादमिश्रित बुद्धधर्ममा विश्वास गर्ने बताउँछन्। कम्युनिष्ट शासनमा अधिकारीहरूले शुरुमै धर्मलाई दबाउने काम गरेनन्, बरु आफ्नो राजनीतिक अभिष्ट प्राप्तिका लागि बौद्ध संघलाई प्रयोग गरे। तर विस्तारै उनीहरूले बुद्धधर्ममाथि कठोर दमन गर्न थाले। सन् १९९० पछि यहाँ बुद्धधर्मको पुनरोत्थान भएको छ। हाल नागरिकहरू अत्यन्तै श्रद्धावान् देखिन्छन्। अधिकांश पुरुष जीवनमा छोटो समयका लागि मात्र भए पनि बौद्ध विहार वा मन्दिरको सदस्य बन्छन्। अधिकांश सर्वसाधारण गृहस्थीहरू भिक्षुलाई खानेकुरा दान गर्छन् र पूर्णिमाको दिन मन्दिर जान्छन्।

क्याम्बोडिया

क्याम्बोडियामा तेह्रौं शताब्दीदेखि नै थेरवाद बुद्धधर्म राष्ट्रिय धर्मका रुपमा मानिँदै आएको छ। हाल देशका ९५ प्रतिशत मानिस बौद्धमार्गी छन्। सन् १९७० को दशकमा खमेर रुजले बुद्धधर्ममाथि आक्रमण गर्ने र यसलाई ध्वस्त पार्ने प्रयत्न गरेको थियो। सन् १९७९ मा आइपुग्दा करीब सबै भिक्षुहरूको या त हत्या गरियो या देशबाट लखेटियो। प्रत्येक मन्दिर र पुस्तकालय ध्वस्त बनाइएको थियो। 

तर राजकुमार सिंहानुक राजाको रूपमा पुनर्स्थापित भएपछि धर्ममाथिको नियन्त्रण विस्तारै खुकुलो गरियो। बुद्धधर्ममा जनताको रुचि पुनः जाग्न थाल्यो। क्याम्बोडियाली जनता ज्योतिष, भविष्यवाणी र भूतप्रेत जस्ता कुरामा अत्यन्तै विश्वास गर्छन्। त्यसैले यहाँ भिक्षुहरू धामीको काम पनि गर्छन्। उनीहरू शिशुको नामाकरण, विवाह, मृत्युसंस्कार जस्ता विभिन्न रीतिरिवाजमा पनि सामेल हुन्छन्।

भियतनाम

यहाँ बुद्धधर्म भित्रिएको २,००० वर्षभन्दा बढी भैसक्यो। पहिला भारत र त्यसपछि मुख्यरूपमा चीनबाट यहाँ बुद्धधर्मको विस्तार भएको हो। तर पन्ध्रौं शताब्दीतिर आइपुग्दा शासकवर्गलाई बुद्धधर्म मन पर्न छाड्यो। बीसौं शताब्दीको शुरुवातमा केही पुनरोत्थान भयो, तर फेरी गणतन्त्रवादी अवधिमा क्याथोलिक पक्षधर नीतिले बुद्धधर्मलाई आफ्नो शत्रु भन्ठान्यो। हाल १६ प्रतिशत भियतनामीले आफूलाई बौद्धमार्गी बताउँछन्। यो संख्या थोरैजस्तो देखिएपनि बुद्धधर्म देशको सबैभन्दा ठूलो धर्म हो।

हाल यहाँको सरकार बुद्धधर्मप्रति अपेक्षाकृत उदार छ, यद्यपि सरकारको मातहत नरही कुनै बौद्ध मन्दिर सञ्चालन गर्न पाईंदैन।

 इन्डोनेशिया र मलेसिया

यो क्षेत्रमा दोश्रो शताब्दीतिर भारतबाट व्यापारिक मार्गहरू हुँदै बुद्धधर्मको प्रवेश भएको थियो। देशको इतिहासको अधिकांश कालखण्डमा बुद्धधर्म र हिन्दूधर्म सँगसँगै प्रचलनमा रहे। पन्ध्रौं शताब्दीमा अन्तिम हिन्दु–बौद्ध साम्राज्य मजापहितको पतनसँगै यी दुवै धर्महरूको पतन भयो। सत्रौं शताब्दीमा आइपुग्दा इस्लामले यी दुवै धर्मलाई पूर्णतः विस्थापित गरिसकेको थियो।

इन्डोनेशियाली सरकारको पञ्चशीलको नीतिले गर्दा त्यहाँ सबै धर्मले ईश्वरमाथि विश्वास गर्नुपर्ने हुन्छ। बुद्धधर्मले ईश्वरलाई छुट्टै अस्तित्वको रूपमा नमाने पनि आदिबुद्धलाई मान्दछ। भारतमा एक हजार वर्षअघि प्रचलित कालचक्र तन्त्रमा आदिबुद्धको चर्चा गरिएको छ। आदिबुद्ध समय र अरु सबै सीमाहरूबाट पर सबै दृश्यमान जगतका सर्वदर्शी सृष्टिकर्ता हुन्। कुनै निश्चित अस्तित्वयुक्त सत्व नभएपनि आदिबुद्धलाई प्रतीकात्मक स्वरूपमा प्रस्तुत गर्ने गरिन्छ। आदिबुद्ध चित्तको निर्मल ज्योतिको स्वरूपमा सबै सत्वहरूमा विद्यमान हुन्छन्। यसै आधारमा यहाँ इस्लाम, हिन्दूधर्म, कन्फ्युसियनिज्म, क्याथोलिक र प्रोटेस्टेन्टहरूजस्तै बुद्धधर्मलाई पनि मान्यता प्रदान गरिएको छ।

बाली र देशका अन्य भागमा श्रीलंकाली भिक्षुहरूले थेरवाद बुद्धधर्मको पुनरोत्थानको काम गरिरहेका छन्। तर यस्तो प्रयास एकदमै सीमित मात्र छ। बालीमा हिन्दूधर्म, बुद्धधर्म र परम्परागत स्थानीय धर्मको मिश्रित स्वरुपका अनुयायीले केही मात्रामा यसमा रुचि देखाएका छन्। देशमा भएका केही अन्य बौद्धमार्गी चाहिँ चीनियाँ मूलका इन्डोनेशियालीहरू हुन्। यिनीहरू कूल जनसंख्याको पाँच प्रतिशत मात्र छन्। यसका अतिरिक्त थेरवाद, चीनियाँ र तिब्बती परम्परामिश्रित बौद्धधर्म मान्ने इन्डोनेशियालीहरूको नगण्य समुदायहरू पनि छन्।

मलेशियामा २० प्रतिशत जनसंख्या बुद्धधर्म मान्दछन्। तिनीहरू मुख्यतः चीनियाँ मूलका हुन्। करीब आधा शताब्दीअघि यहाँ बुद्धधर्ममा रुचि कम हुन थाल्यो। सन् १९६१ मा बुद्धधर्मको प्रचारका लागि बौद्ध मिसनरी समाज (बुद्धिस्ट मिसनरी सोसाइटी) को गठन भयो। विगत एक दशकयता खासगरी युवाहरूले बौद्ध अभ्यासमा रुचि देखाएका छन्। हाल यहाँ थेरवाद, महायान र वज्रयानका अनेकन केन्द्रहरू सञ्चालित छन्। यी केन्द्रहरूले यथेष्ट आर्थिक र अन्य सहायता प्राप्त गरेका छन्।

पूर्वी एशियाली महायान बुद्धधर्म

चीन

चीनियाँ इतिहासमा विगत २,००० वर्षदेखि बुद्धधर्मको अहम् भूमिका रहेको छ। चीनियाँ बुद्धधर्मले पूर्वी एशियामा बौद्ध परम्पराको विस्तार गर्न धेरै महत्वपूर्ण भूमिका खेलेको छ। थाङ् राजवंशको प्रारम्भिक काल (सन् ६१८–९०७) बुद्धधर्मका लागि स्वर्णिम युग रह्यो। यो समयमा कला र साहित्य धेरै विकास भएको थियो।

सन् १९६० र ७० का दशकहरूका साँस्कृतिक क्रान्तिका दौरान अधिकांश चीनियाँ बौद्ध गुम्बाहरू नष्ट गरिए। कैयौं पुराना भिक्षु र भिक्षुनीहरूलाई या त मारियो या जेल हालियो। तिब्बत र मंगोलियामा त बुद्धधर्ममाथिको दमन झनै भयंकर थियो। तर चीनमा सुधारको लहर शुरु भएपछि र बाहिरी विश्वसँग खुला हुन थालेपछि परम्परागत धर्महरूमा मानिसको रुचि पुनः जाग्न थाल्यो। नयाँ मन्दिरहरूको निर्माण भयो र पुरानाहरूको जीर्णोद्धार भयो। ग्रामीण क्षेत्रबाट धेरै मानिस बौद्ध मन्दिरहरूमा बस्न आउन थाले। उनीहरूको आर्थिक र शैक्षिक स्तर प्रायः न्यून भएको पाइन्छ। कतिपय मन्दिरहरू केवल पर्यटक आकर्षणको केन्द्रका रूपमा मात्र रहेका छन्। त्यहाँ बस्ने मठवासीहरू टिकट संकलन र मन्दिरको हेरचाह गर्ने काममा मात्र सीमित छन्।

हाल बुद्धधर्ममा रुचि राख्ने चीनियाँ नागरिकहरूको संख्या धेरै छ। तिब्बती बुद्धधर्ममा मानिसको झुकाव उल्लेखनीय रूपमा बढ्दै गएको छ। करीब २० प्रतिशत चीनियाँ जनताले बुद्धधर्म मान्ने गरेको अनुमान गरिन्छ। देशभरी नै बौद्ध मन्दिरहरूमा भीड देखिन्छ। मानिसहरू आर्थिक हिसाबले सम्पन्न र व्यस्त हुने क्रम बढ्दै गएको छ र सँगसँगै बढ्दो तनावका कारण उनीहरू चीनियाँ तथा तिब्बती बुद्धधर्मप्रति आकर्षित हुँदै गएका छन्। हान जातिका चीनियाँहरू विशेष गरी तिब्बती बुद्धधर्मप्रति आकर्षित देखिन्छन्। तिब्बती लामाहरूले चीनियाँ भाषामा प्रशिक्षण दिने क्रम पनि बढ्दै गएको छ। 

ताइवान, हङकङ र अन्य चीनियाँ भूभाग

 चीनबाट विस्तारित पूर्वी एशियाली शैलीको महायान बुद्धधर्मको अभ्यास ताइवान र हङकङमा सबैभन्दा सशक्त रुपमा विद्यमान छ। ताइवानमा भिक्षु भिक्षुणीहरूको एकदमै सशक्त सम्प्रदाय छ। गृहस्थीहरू उनीहरूलाई खुला दिलले सहयोग गर्छन्। यहाँका बौद्ध विश्वविद्यालयहरू र अन्य कतिपय बौद्ध कार्यक्रमहरू समाजसेवामा संलग्न रहेका छन्। हङकङमा पनि भिक्षुहरूको समृद्ध समुदाय छ। मलेसिया, सिंगापुर, इन्डोनेशिया, थाइल्यान्ड र फिलिपिन्सका चीनियाँ वासिन्दाहरू चाहिँ पूर्वजको कल्याण र जीवितको सम्पन्नता र समृद्धिका लागि गरिने रीतिरिवाजमा बढी जोड दिन्छन्। यस अतिरिक्त गृहस्थीहरू आफ्नो स्वास्थ्य सम्बन्धी र मनोवैज्ञानिक समस्या लिएर बौद्ध भविष्यवक्ताहरूकहाँ पुग्छन् जसले अर्धवेहोशी जस्तो (ट्रान्स) अवस्थामा पुगेर उनीहरूको भविष्य बताउने काम गरिदिन्छन्। “एशियन टाइगर” भनेर चिनिने यी देशका अर्थव्यवस्था चलाउने धनाढ्य चीनियाँ व्यापारीहरू आफ्नो आर्थिक सफलताका लागि अनुष्ठान गराउन भिक्षुहरूकहाँ पुग्छन्, र उनीहरूलाई उदारतापूर्वक दान दिन्छन्। ताइवान, हङकङ, सिंगापुर र मलेसियामा पनि तिब्बती बुद्धधर्म अनुयायीहरूको संख्या बढ्दै गएको छ।

दक्षिण कोरिया

 इस्वी तेश्रो शताब्दीमा बुद्धधर्म विस्तार हुँदै चीनबाट कोरियाली प्रायद्वीपमा पुग्यो। अहिले यहाँ केही कट्टरपन्थी क्रिश्चियनहरूले बुद्धधर्ममाथि आक्रमण गर्न शुरु गरेका छन्।   यस्ता समूहहरूले विगत दशकमा कैयौं बौद्ध मन्दिरहरूलाई ध्वस्त बनाए र तिनमा आगो लगाए। तैपनि यहाँ बुद्धधर्म अझैसम्म सुदृढ छ। हाल यहाँका २३ प्रतिशत जनता बुद्धधर्म मान्दछन्।

 जापान

इस्वी पाँचौं शताब्दीमा बुद्धधर्म विस्तार हुँदै कोरियाबाट जापान पुग्यो।त्यही बेलादेखि बुद्धधर्मले यहाँको समाज र संस्कृतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। तेह्रौं शताब्दीपछि मन्दिरमा विवाहित पुरोहितहरू बस्न थाले। उनीहरूलाई रक्सी खान कुनै रोकटोक थिएन। यी पुजारीहरूले विस्तारै ब्रह्मचारी भिक्षुहरूलाई विस्थापित गर्न थाले। केही बौद्ध सम्प्रदायहरू ऐतिहासिक समयदेखि नै एकदमै राष्ट्रवादी रहेका छन्। उनीहरू जापानलाई बौद्ध स्वर्ग भन्ठान्छन्। हालका दिनमा चाहिँ केही उग्रवादी विध्वंशकारी संगठनहरू छन् जसले आफूलाई बौद्धमार्गी भन्छन्, तर उनीहरूको शाक्यमुनि बुद्धको शिक्षासँग कुनै साइनो छैन।

देशका करीव ४० प्रतिशत जनता आफूलाई बौद्धमार्गी भन्न मन पराउँछन्। धेरै जापानीहरू बौद्ध शिक्षालाई परम्परागत जापानी धर्म शिन्तोसँग मिसाएर ग्रहण गर्छन्। उनीहरू जन्म र विवाहका संस्कार शिन्तो धर्मअनुसार गर्छन्। तर मृत्यु संस्कार बौद्ध पुजारीहरूले गरिदिन्छन्। 

जापानका मन्दिरहरू एकदमै सुन्दर हुन्छन्। पर्यटक र स्थानीय दुवैका लागि ती मन्दिरहरू खुला छन्, यद्यपि तीमध्ये धेरै व्यापारिक उद्देश्यका साथ सञ्चालित छन्। बुद्धधर्मको वास्तविक अध्ययन र अभ्यासको अवस्था चाहिँ कमजोर छ। हाल विश्वका ठूला बौद्ध संस्थाहरूमध्ये एक ‘सोका गक्काई’ को स्थापना जापानमा भएको हो।

मध्य एशियाली महायान बुद्धधर्म

तिब्बत

 तिब्बतमा बुद्धधर्म इस्वीको सातौं शताब्दीमै पुगिसकेको थियो। तात्कालीन तिब्बती राजाहरूको संरक्षण र राजखानदानको सहयोगका कारण बुद्धधर्म तिब्बती जीवनशैलीको विभिन्न तहमा पुग्यो र अभिन्न अंगको रुपमा रह्यो।

तर तिब्बतमाथि जनवादी गणतन्त्र चीनले कब्जा गरेपछि त्यहाँ बुद्धधर्ममाथि निर्मम दमन गरियो। साढे ६ हजार गुम्बा र आश्रमहरूमध्ये १५० जति मात्र बाँकी रहे, अन्य सबै नष्ट गरिए। उच्चतहका लामाहरूको या त हत्या गरियो या चीनियाँ यातना शिविरमा उनीहरूको मृत्यु भयो। साँस्कृतिक क्रान्ति पछाडि अधिकांश गुम्बाहरूको पुनर्निर्माण पूर्व लामाहरूको प्रयासमा भएको छ। स्थानीय र निर्वासित तिब्बती जनताले यसमा साथ र सहयोग प्रदान गरेका छन्। सरकारले दुइ–तीनवटा बाहेक अन्य गुम्बाको पुनर्निर्माणमा सहयोग गरेको छैन।

चीनको कम्युनिस्ट सरकार नास्तिक भएपनि यसले पाँचवटा धर्मलाई “मान्यताप्राप्त धर्म” को दर्जा दिएको छ, जसमध्ये एक बुद्धधर्म हो। सरकारले आफूलाई धार्मिक मामिलाबाट अलग राख्ने बताउँदै आएको छ, तर दलाई लामाले एक तिब्बती बालकलाई पन्चेन लामा भनेर पहिचान गर्नुभएपछि उनी र उनको परिवारलाई तत्कालै बेपत्ता पारियो। चीनियाँ सरकारले आफैँले एक नयाँ पन्चेन लामाको खोजी गर्यो। एक आधा चीनियाँ, आधा तिब्बती मूलको बालकलाई पन्चेन लामा घोषणा गरिदियो। दलाई लामाले पहिचान गर्नुभएको बालकको त्यसपछि कुनै अत्तोपत्तो छैन।

हाल हरेक गुम्बा, ननरी र मन्दिरमा सरकारी कार्यदल (वर्क–टीम) राखिएको छ। यस्तो टीममा सादा पोसाकका प्रहरीहरू परिचालित हुन्छन् जो अनेक कामहरूमा “सहयोग” गर्छन्। खासमा उनीहरूको काम भनेको लामाहरूले के गर्छन् त्यसको निगरानी गर्नु र त्यसको सूचना सम्बन्धित अधिकारीसम्म पुर्याउनु हो। कतै कतै यस्तो टीम गुम्बाका लामाहरूजत्तिकै ठूलो संख्यामा रहेका छन्। सरकारी हस्तक्षेपका अतिरिक्त तिब्बतभित्र बुद्धधर्मको अर्को समस्या भनेको योग्य शिक्षकहरूको अभाव हो। भिक्षु, भिक्षुणी र सर्वसाधारण सबैजना धर्म सिक्न इच्छुक छन्, तर यहाँ उपलब्ध अधिकांश शिक्षकहरूको आफ्नै प्रशिक्षण त्यसका लागि पर्याप्त छैन। विगत दशकमा यहाँको सरकारले ल्हासा नजिक एक बौद्ध “विश्वविद्यालय” खोलेको छ। यसमा युवा टुल्कुहरूलाई तिब्बती भाषा, लेखनकला, औषधिविज्ञान, एक्युपन्चर र बौद्ध दर्शनसम्बन्धी तालिम दिइन्छ। डिजिटल युगले युवा तिब्बतीहरूलाई बुद्धधर्मसँग नजिकिन सहयोग गरेको छ। उनीहरूमध्ये धेरै वी–च्याट र वीबो जस्ता सामाजिक सञ्जालका ग्रुपहरूमा बौद्ध शिक्षा र कथाहरू आदानप्रदान गर्छन्। वर्तमान समयमा बुद्धधर्मको जानकारी लिएर आफूलाई “सच्चा तिब्बती” साबित गर्न सकिन्छ भन्ने भावना बढ्दै गएको छ। 

पूर्वी तुर्किस्तान

पूर्वी तुर्किस्तानमा बसोबास गर्ने काल्मिक मंगोलका अधिकांश गुम्बाहरू साँस्कृतिक क्रान्तिका दौरान ध्वस्त गरिएको थियो। हाल तीमध्ये धेरैको पुनर्निर्माण भएको छ, तर यहाँ योग्य शिक्षकहरूको अभाव तिब्बतभन्दा बढी खट्किएको छ। युवा भिक्षुहरू अध्ययनको अवसर नपाएर हतोत्साहित भएका छन्। उनीहरूमध्ये कतिपय विस्थापित भएका छन्।

भित्री मंगोलिया

 जनवादी गणतन्त्र चीनको नियन्त्रणमा गएपछि तिब्बती बौद्धमार्गीहरूको सबैभन्दा खराब हालत भित्री मंगोलियामा भएको छ। साँस्कृतिक क्रान्तिका दौरान पश्चिमी भूभागमा रहेका अधिकांश गुम्बाहरू ध्वस्त गरिए। पहिला मन्चुरियाको अधीनमा रहेको पूर्वी भूभागका गुम्बाहरू दोश्रो विश्व युद्धको दौरानमै स्टालिनका सेनाले उत्तरी चीनलाई जापानको नियन्त्रणबाट मुक्त गराउने क्रममा ध्वस्त पारिसकेका थिए। उक्त विध्वंसपश्चात त्यहाँ रहेका ७०० गुम्बामा २७ वटा मात्र बाँकी रहेका थिए।

सन् १९८० को दशकदेखि मन्दिर र गुम्बाहरूको पुनस्र्थापना गर्ने प्रयास शुरु भएको छ। यी मन्दिर र गुम्बाहरूमा मंगोलियन मात्र होइन, हान जातिका चीनियाँहरू पनि धर्म पालनाका लागि जाने गरेका छन्।

 मंगोलिया

 मंगोलियामा हजारौं गुम्बाहरू थिए। सन् १९३७ मा स्टालिनको आदेशमा भएको आक्रमणपछि तीमध्ये सबै या त पूर्ण या आंशिक रूपमा ध्वस्त भए। सन् १९४६ मा उलान बटारमा एक गुम्बा प्रतीकात्मक रूपमा पुःन सञ्चालनमा आयो। सन् १९७० को दशकमा भिक्षुहरूका लागि पाँच–वर्षे तालिम सञ्चालन गर्न एक कलेज खोलियो। तर त्यसको पाठ्यक्रम एकदमै छोटो थियो र मार्क्सवादी अध्ययनमा धेरै जोड दिइएको थियो। भिक्षुहरूलाई समुदायमा थोरै मात्र धार्मिक कृत्य गर्न दिइन्थ्यो। सन् १९९० मा कम्युनिष्टको पतनपछि बुद्धधर्ममा व्यापक रुचि बढ्न थाल्यो। यसको पुनरोत्थानका लागि निर्वासित तिब्बतीहरूले सहयोग गरेका छन्। नयाँ भिक्षु (लामा) हरू अध्ययनका लागि भारत जान्छन्। दुई सयभन्दा बढी गुम्बाहरूको सामान्य पुनर्निर्माण भएको छ।

सन् १९९० पछि पनि मंगोलियामा बुद्धधर्ममा समस्याहरू आइरहेका छन्। त्यसमध्ये सबैभन्दा गम्भीर समस्या भनेको मोर्मोन, एड्भेन्टिस्ट र बाप्टिस्ट मिसनरी क्रिश्चियनहरूको आगमन हो। उनीहरू अंग्रजी शिक्षणको बहानामा प्रवेश गरेका हुन्। उनीहरू धर्म परिवर्तन गर्ने शर्तमा बालबालिकालाई अमेरिकामा अध्ययनका लागि लिएर जान्छन्। स्थानीय मंगोलियन भाषामा प्रकाशित जिसस क्राइस्टका सुन्दर पुस्तकहरू सित्तैमा बाँड्छन्। धेरै युवाहरू क्रिश्चियन धर्ममा आकर्षित हुन थालेपछि बौद्ध संस्थाहरूले पनि बुद्धधर्मसम्बन्धी सूचनाहरू स्थानीय भाषामा अनुवाद गरी बाँड्न थालेका छन्। पुस्तक, पत्रिका, टेलिभिजन र रेडियो कार्यक्रमहरूका माध्यमबाट धर्मको सन्देश बाँड्ने काम भैरहेको छ। 

अहिले मंगोलियामा जबरजस्ती धर्म परिवर्तनको काममा रोक लगाइएको छ। सन् २०१५ मा यहाँ ५३ प्रतिशत जनसंख्या बौद्धमार्गी र २.१ प्रतिशत क्रिश्चियन थिए।

निर्वासित तिब्बतीहरू

मध्य एशियाका तिब्बती परम्पराहरूमध्ये सबैभन्दा सशक्त परम पूजनीय दलाई लामासँग नजिक रहेका तिब्बती शरणार्थीहरूको समुदायमा देखिन्छ। यो समुदाय तिब्बतमा चीनको सैन्य आक्रमणपछि सन् १९५९ मा भएको जनविद्रोहपश्चात भारतमा निर्वासित अवस्थामा छ। उनीहरूले तिब्बतका प्रमुख गुम्बा र ननरीहरूको पुनः शुरुवात गरेका छन्, जहाँ अध्येता, ध्यानसाधक, र शिक्षकहरूका लागि पारम्परिक ढंगबाट पूर्ण प्रशिक्षण कार्यक्रम चलाइन्छ। यहाँ तिब्बती बौद्ध परम्पराका हरेक दर्शनका सबै पक्षहरूको संरक्षणका लागि अध्ययन, अनुसन्धान, र प्रकाशनका कामहरू हुन्छन्।

 निर्वासित तिब्बतीहरूले लद्दाख, सिक्किमलगायत भारतका अन्य भूभाग, नेपाल र भुटानमा बुद्धधर्मलाई पुनर्जीवन दिएका छन्। उनीहरूले यहाँ शिक्षा बाँडेका छन् र गुरुशिष्य परम्परालाई जीवन्तता दिने र ज्ञान हस्तान्तरण गर्ने काम गरेका छन्। यी भूभागका धेरै भिक्षु र भिक्षुणीहरू तिब्बती गुम्बा र ननरीहरूमा शिक्षा तथा साधनाको ज्ञान प्राप्त गरिरहेका छन्।

नेपाल

नेपालका अधिकांश जनता हिन्दू धर्मावलम्बी छन् तर यो बुद्ध जन्मभूमिमा बौद्ध संस्कृतिको गहन प्रभाव देखिन्छ। नेवार, गुरुङ, तामाङ र अन्य जनजाति समुदायले पारम्परिक नेपाली बुद्धधर्मको अभ्यास गर्छन्। देशका करीब नौ प्रतिशत जनता बौद्ध धर्मावलम्बी छन्।

बौद्ध र हिन्दू धर्महरूको सम्मिश्रण भएको नेपाल एकमात्र त्यस्तो देश हो जहाँ विहारहरूभित्रका बौद्ध समुदायमा पनि जातीय विभेदको व्यवस्था कायम छ। विगत ५०० वर्षयता विवाहित भिक्षुहरूको परम्परा अभ्यासमा रहेको छ। त्यस अन्तर्गत निश्चित आनुवांशिक जातीय समुदायले मन्दिरको पुजारी र कर्मकाण्ड सञ्चालकको रूपमा काम गर्छन्।

रसिया

बुर्यातिया, तुभा र काल्मिकिया रसियाका तीन परम्परागत बौद्ध क्षेत्रहरू हुन्। तर यहाँ भएका सबै बौद्ध गुम्बाहरू सन् १९३० को दशकको अन्ततिर स्टालिनले पूर्णतः ध्वस्त पारेका थिए। तीमध्ये बुर्यातियामा भएका तीन गुम्बाहरू पूर्ण ध्वस्त भएनन्, क्षतिग्रस्त मात्र भए। सन् १९४० को दशकमा स्टालिनले बुर्यातियाका दुई गुम्बा पुनः सञ्चालन गर्न दिए। तर त्यो नामको मात्र थियो किनकि तिनमा रसियन गुप्तचर संस्था केजीबीले कडाईका साथ निरीक्षण गर्दथ्यो। भिक्षु भेष त्याग्न बाध्य पारिएका भिक्षुहरूले दिउँसोको समयमा युनिफर्मजस्तो गरी भिक्षु कपडा लगाउनु पथ्र्यो। उनीहरूको काम केही कर्मकाण्डमा मात्र सीमित राखिएको थियो। देशमा कम्युनिज्मको पतनपछि यी तिनै क्षेत्रमा बुद्धधर्मको व्यापक पुनरोत्थान भएको छ। निर्वासित तिब्बती समुदायले यहाँ बौद्ध शिक्षकहरू पठाएका छन्। त्यस्तै यहाँका युवा भिक्षुहरू भारतका विभिन्न गुम्बाहरूमा गई शिक्षा ग्रहण गर्छन्। हाल बुर्यातिया, तुभा र काल्मिकियामा बीसभन्दा बढी बौद्ध गुम्बाहरूको पुनर्स्थापना गरिएको छ।

गैर–बौद्ध देशहरू

युरोपेली देशहरूले बौद्ध धर्मावलम्बी देशहरूलाई आफ्नो उपनिवेश बनाएपछि इस्वीको उन्नाइसौं शताब्दीमा युरोपले बुद्धधर्मको बारेमा विस्तृत जानकारी पायो। क्रिश्चियन धर्मप्रचारकहरू र विद्वानहरूमार्फत यो जानकारी युरोप पुग्यो। करीब यही समयतिर चीनियाँ र जापानी आप्रवासी कामदारहरूले उत्तरी अमेरिकामा बौद्ध मन्दिरहरूको निर्माण गरे।

हाल बुद्धधर्मका सबै प्रकारहरू विश्वका विभिन्न भागमा पाइन्छन्। पारम्परिक गैर–बौद्ध देशहरूमा पनि यो पुगेको छ। यसको संवाहकको काम मुख्यतः दुई समुदायले गरेका छन्ः एशियाली आप्रवासीहरू र गैर–एशियाली साधकहरू। यसमध्ये एशियाली आप्रवासीहरूले विशेष गरी अमेरिका र अस्ट्रेलिया तथा केही मात्रामा युरोपेली देशहरूमा आफ्नो परम्पराका धेरै बौद्ध मन्दिरहरूको निर्माण गरेका छन्। यी मन्दिरहरू स्थापनाको मुख्य उद्देश्य भक्ति साधना लगायतका अभ्यास गर्ने ठाउँ प्रदान गर्नु र आप्रवासी समुदायलाई जोडेर राख्न तथा उनीहरूको आफ्नो साँस्कृतिक पहिचानलाई जीवित राख्न एक सामुदायिक केन्द्र प्रदान गर्नु रहेको छ। हाल अमेरिकामा चालिस लाखभन्दा बढी र युरोपेली देशहरूमा बीस लाखभन्दा बढी बौद्ध धर्मावलम्बीहरू रहेका छन्।

विभिन्न बौद्ध परम्पराका हजारौं “धर्म–केन्द्रहरू” हाल विश्वका हरेक भाग र हरेक महादेशमा गरी १०० भन्दा बढी देशहरूमा स्थापना गरिएका छन्। यीमध्ये अधिकांश तिब्बती, जेन, र थेरवाद बुद्धधर्मका केन्द्रहरू रहेका छन्। गैर–एशियाली नागरिकहरू पनि यी केन्द्रहरूमा जान्छन् र ध्यान, अध्ययन तथा विभिन्न धार्मिक क्रियाहरूको अभ्यास गर्छन्। यहाँका शिक्षकहरू एशियाबाट आएका बौद्धमार्गीहरू र पश्चिमेलीहरू दुवै छन्। अमेरिका, फ्रान्स र जर्मनीमा यस्ता केन्द्रहरू धेरै संख्यामा छन्। कतिपय गम्भीर विद्यार्थीहरू गहन अध्ययनका लागि एशियाली देशहरूमा जान्छन्। यसका अतिरिक्त, विश्वभरी नै अनेकौं विश्वविद्यालयहरूमा बौद्ध अध्ययनका कार्यक्रमहरू सञ्चालन गरिन्छन्। बुद्धधर्म र अन्य धर्म तथा विधाहरू (जस्तैः विज्ञान, मनोविज्ञान, चिकित्साशास्त्र) बीचको छलफल, संवाद र विचारहरूको आदानप्रदान दिनदिनै बढ्दो क्रममा छ। परम पूजनीय दलाई लामाले यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।

Top