बुद्धधर्मका प्रकारहरू

एशियाका विभिन्न देश तथा संस्कृतिहरूमा बुद्धका शिक्षाहरूको विस्तार हुने क्रममा त्यहाँका मानिसहरूले शिक्षाका ती पक्षहरूमा बढी ध्यान दिए जुन उनीहरूको स्थानीय मान्यताहरूसँग ज्यादा मेल खान्थे। यस प्रकार बुद्धधर्मका अनेक स्वरूपहरू विकसित भए। यी विभिन्न प्रकारका स्वरूपहरूमा अलग–अलग दृष्टिकोण र शैलीमा बढी झुकाव हुन पुग्यो। तर सबैले बुद्धका सबैभन्दा महत्वपूर्ण शिक्षाहरूलाई संरक्षण गरेका छन्। बुद्ध आफैंले पनि शिक्षा दिँदा शिष्यहरूको अलग–अलग मनोवृत्तिलाई मिल्ने गरी परिमार्जन गरेर दिनुहुन्थ्यो। उहाँको शिक्षाको विस्तारको क्रममा पनि यही शैली अपनाइएको पाइन्छ।

वर्तमान युगमा प्रचलित बुद्धधर्मका प्रमुख प्रकारहरूको प्रतिनिधित्व गर्ने थेरवाद, चीनियाँ र तिब्बती बुद्धधर्मका मूलभूत विशेषताहरूका बारेमा केही चर्चा गरौं।

थेरवाद

दक्षिणपूर्वी एशियामा प्रचलनमा रहेको थेरवादले स्मृति ध्यानमा बढी जोड दिन्छ। यो विधिमा श्वासमाथि, बसेको अवस्थामा शरीरमा भैरहेका संवेदनाहरूमाथि तथा अत्यन्तै सुस्तरी हिँड्दै शरीरको चाल र हिंड्ने इच्छामाथि होशपूर्वक ध्यान गरिन्छ। आउँदै गरेको र जाँदै गरेको प्रत्येक क्षणलाई होशपूर्वक हेर्दा अनित्यताको अनुभवजन्य ज्ञान हुन्छ। यो ज्ञानलाई आफूले भोग्ने हरेक भोगाइमा लागू गरेर हेर्दा साधकलाई ज्ञान हुन्छ कि अविकारी, अविनाशी आत्म भन्न मिल्ने कुनै पनि चीज हुँदैन जुन अरु सबै चीज र मानिससँग असम्बद्ध होस्। हरेक कुरा क्षणिक हुन्छ। यस प्रकारले साधकले यथार्थको बोध गर्छ जसले उसलाई आत्म–केन्द्रित चिन्ता र यसका कारण हुने बेखुशीहरूबाट मुक्त गराउन सक्छ। 

थेरवादमा असीम मैत्री, करूणा, उपेक्षा (समभाव) र मुदिताका विषयहरूमा पनि ध्यान गर्न सिकाइन्छ। विगतका केही दशकयता थाइल्याण्डबाट “संलग्न बुद्धधर्म” (इन्गेज्ड बुद्धिज्म) नामको अभियान शुरु भएको छ जसअन्तर्गत बौद्धमार्गीहरू सामाजिक तथा पर्यावरणीय संरक्षणका काममा संलग्न हुने गरेका छन्। 

थेरवाद भिक्षुहरू सर्वसाधारणका लागि बुद्धधर्मका ग्रन्थहरूको पाठ, उच्चार–गायन, तथा धार्मिक कर्मकाण्डको सेवा पनि प्रदान गर्छन्। भिक्षुहरू प्रतिदिन मौन रहँदै भिक्षाटनका लागि निस्कन्छन् र गृहस्थीहरू उनीहरूका लागि भोजन अर्पण गरेर दानशीलताको अभ्यास गर्छन्। 

पूर्वी एशियाली महायान

चीनबाट विस्तारित पूर्वी एशियाली महायान परम्पराका दुई मुख्य शाखा छन्ः सुखावती (प्योर ल्याण्ड) र जापानमा प्रचलित जेन।

  • सुखावती परम्पराले अमिताभ बुद्धको नाम जपमा जोड दिएको छ। अमिताभ अनन्त प्रकाशपुञ्ज (विपुलप्रभ) बुद्ध हुन्। उनको नाम जपद्वारा आनन्दमयी सुखावती भूवनमा प्रवेश हुन्छ, जुन एक प्रकारको स्वर्गजस्तै हो। यहाँ बुद्ध बन्नका लागि सबै वातावरण अनुकूल हुन्छ।
  • जेन परम्परामा कडा ध्यान साधनाको माध्यमद्वारा चित्तलाई सबै वैचारिक अवधारणाहरूबाट अलग र शान्त राख्नेमा जोड दिइन्छ ताकि चित्तको करुणा र प्रज्ञायुक्त निर्मल स्वरूप प्रस्फूटित हुन सकोस्। 

दुवै परम्परामा भिक्षु र भिक्षुणीहरू धर्मग्रन्थको वाचन गर्छन् र कन्फ्यूशियन संस्कृति अनुरूप सर्वसाधारणका लागि पुर्वज–पितृ अनुष्ठानका विधिहरू सञ्चालन गरिदिन्छन्।

तिब्बती महायान

मध्य एशियामा फैलिएको तिब्बती स्वरूपको महायान बुद्धधर्मले भारतीय बुद्धधर्मको ऐतिहासिक विकासक्रमलाई प्रतिनिधित्व गर्छ। त्यसमा पनि विशेष गरी नालन्दा लगायतका प्रमुख विहार–विश्वविद्यालयहरूको परम्परालाई यसले सम्पूर्ण रूपमा सुरक्षित राखेको छ। यसले चित्तको स्वरूप, क्लेश र यथार्थजस्ता विषयको अध्ययनलाई विशेष जोड दिएको छ। यी विषयहरूमा गहन ध्यानसाधना र तार्किक विश्लेषण तथा शास्त्रार्थका माध्यमद्वारा यसको अभ्यास गरिन्छ। 

तिब्बतमा यो पद्धतिलाई भारतीय बौद्ध परम्पराको तन्त्र साधनासँग जोडेर अभ्यास गरिन्छ। यसअन्तर्गत साधकले कल्पनाशक्तिको प्रयोग गर्दै शरीरका सूक्ष्म ऊर्जाहरूको साधनाद्वारा आफूलाई बुद्धत्वको स्तरसम्म लैजान्छ। यो उद्देश्यको प्राप्तिका लागि शून्यता र करूणामा ध्यान केन्द्रित गरिन्छ। यसअन्तर्गत साधकले स्वयंलाई एक निश्चित बुद्ध–स्वरूपमा परिवर्तित भएको कल्पना गर्छ। यी बुद्ध–स्वरूपहरूलाई कहिलेकाहीँ “ध्यान देवता” भनिन्छ, तर उनीहरू आफ्नो अर्थ या भूमिकाको दृष्टिले ईश्वरको पर्याय चाहिँ होइनन्। त्यसै पनि बुद्धधर्म कुनै दृष्टिले पनि ईश्वरहरू मान्ने धर्म होइन। प्रत्येक बुद्ध–स्वरूपले बुद्धको सम्बुद्ध अवस्थाको कुनै पक्ष (जस्तै ज्ञान वा करुणा) को प्रतीकात्मक प्रतिनिधित्व मात्र गर्छ। स्वयंलाई यो स्वरूपमा कल्पना गर्ने र सम्बन्धित मंत्रोच्चारण गर्नाले साधकले आफूभित्र भएको भ्रमपूर्ण र नकारात्मक छविमाथि विजय प्राप्त गर्न र उक्त “ध्यान देवता” का गुणहरू आफूभित्र विकसित गर्न सक्छ। यसप्रकारको अभ्यास एकदमै उन्नत श्रेणीको अभ्यास हो र यो एक पूर्णतः योग्य गुरुको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ। 

तिब्बती बुद्धधर्ममा धेरै प्रकारका उच्चार–गायनहरू तथा अनुष्ठानहरू पनि हुन्छन्। तिनको उद्देश्य त्यस्ता नकारात्मक शक्तिहरू र अवरोधहरूलाई हटाउने हुन्छ जसलाई विभिन्न दानवहरूको रूपमा कल्पना गरिन्छ। यस्तो अनुष्ठान सम्पन्न गर्ने क्रममा साधकले आफूलाई एकदमै शक्तिशाली स्वरूपमा कल्पना गर्छन् जसले ध्यानमा आवश्यक पर्ने बल प्रदान गर्छ र अवरोधहरूलाई पन्छाउन सहयोग गर्छ। त्यस्तै मैत्री र करुणाको विकास गर्ने ध्यान विधिहरूमा विशेष जोड दिइएको छ। यसमा पनि कल्पनाशक्तिको सहायता लिइन्छ। 

सारांश

चाहे थेरवाद पद्धतिको स्मृति ध्यानको अभ्यास होस् वा चीनमा अभ्यास गरिने अमिताभ बुद्धको नाम जप, अथवा तिब्बतमा गरिने शास्त्रार्थ वा कल्पनाशक्तिका ध्यानहरू – सबै पद्धतिहरू बुद्धधर्मको एउटै आधारभूत सन्दर्भको सेरोफेरोभित्र रहेका छन्। यी सबै पद्धतिहरूले दुःखबाट मुक्ति र आफ्ना क्षमताहरूको पूर्ण उपलब्धिका लागि प्रभावकारी विधिहरू सिकाउँछन्। सबै पद्धतिले केवल आफ्ना लागि मात्र नभई सबैका लागि सकेसम्म धेरै कल्याणको उद्देश्य बोकेका छन्।

Top