प्राचीन समयमा लिङ्ग भिन्नताहरू सायद त्यति महत्त्वपूर्ण थिएन। तर, सभ्यता विकसित हुँदै जाँदा समाजलाई शत्रुहरूबाट जोगाउन बल र शक्तिको भूमिका झन् आवश्यक बन्दै गयो। त्यसको परिणामस्वरूप, बढी शारीरिक शक्ति भएकाले पुरुषहरू हावी भए। पछि, शिक्षा र बुद्धिको भूमिका बढी महत्वपूर्ण बन्यो र यस सन्दर्भमा पुरुष र महिलाबीच कुनै भिन्नता छैन। तर आजकल भने, विवाद र अन्य समस्याहरूको समाधानमा माया र आत्मीयताको भूमिका सबैभन्दा महत्वपूर्ण छ। यी दुई गुणहरूले शिक्षा र बुद्धिको प्रयोगलाई नियन्त्रण गर्न र त्यसलाई विनाशकारी दिशामा मोडिनबाट रोक्न आवश्यक पर्छ। त्यसैले, अहिले महिलाहरूले अझ केन्द्रीय भूमिका लिनुपर्छ किनकि, सायद जैविक कारणहरूले, उनीहरूले पुरुषहरूको तुलनामा माया र आत्मीयता स्वाभाविक रूपमा सजिलै विकास गर्न सक्छन्। यस क्षमताको स्रोत बच्चालाई गर्भमा राख्नु र सामान्यतया नवजात शिशुहरूको मुख्य हेरचाहकर्ता भएको कारणले आउँछ।
युद्ध परम्परागत रूपमा प्रायः पुरुषहरूले नै सञ्चालन गरेका छन्, किनकि उनीहरू आक्रामक व्यवहारका लागि शारीरिक रूपमा बढी उपयुक्त देखिन्छन्। अर्कोतर्फ, महिलाहरू प्रायः अरूको असुविधा र पीडाप्रति बढी संवेदनशील र हेरचाह गर्ने प्रवृत्तिको हुन्छन्। यद्यपि पुरुष र महिलामा आक्रामकता र आत्मीयताको समान क्षमता हुन्छ, कुन गुण सजिलै प्रकट हुन्छ भन्नेमा भने उनीहरू फरक हुन्छन्। त्यसैले, यदि संसारका अधिकांश नेताहरूमहिलाहरू भएको भए, सायद युद्धको खतरा कम हुनेथियो र विश्वव्यापी चिन्ताको आधारमा बढी सहकार्य हुनेथियो। यद्यपि, पक्कै पनि, केही महिलाहरू पनि कठिन हुन सक्छन्! म नारीवादीहरूको भावनासँग सहानुभूति राख्छु, तर उनीहरूले केवल चिच्याउनु मात्र हुँदैन। उनीहरूले समाजमा सकारात्मक योगदान पुर्याउने प्रयास गर्नुपर्छ।
कहिलेकाहीँ धर्ममा पुरुषको महत्त्वमा जोड दिइएको पाइन्छ। तर, बौद्ध धर्ममा सबैभन्दा उच्च व्रतहरू, अर्थात् भिक्षु र भिक्षुणीको व्रतहरू समान छन् र दुवैमा समान अधिकार हुन्छन्। यो यथार्थ हो, यद्यपि केही धार्मिक क्रियाकलापमा सामाजिक परम्पराका कारण भिक्षुहरूलाई पहिले प्राथमिकता दिइन्छ। तर बुद्धले दुवै सङ्घ समूहलाई आधारभूत अधिकार समान रूपमा दिनुभएको थियो। भिक्षुणी दीक्षा पुनःस्थापना गर्ने कि नगर्ने भन्ने छलफल गर्नुको कुनै अर्थ छैन; प्रश्न भनेको केवल विनयको सन्दर्भमा यसलाई कसरी सही तरिकाले गर्ने भन्ने हो।
शान्तारक्षितले मुलसर्वास्तिवाद भिक्षु दीक्षा तिब्बतमा ल्याउनुभएको थियो। तथापि उहाँसँगै आएका सबै भारतीयहरू पुरुष मात्र भएकाले र भिक्षुणी दीक्षाका लागि द्विसङ्घ आवश्यक हुने भएकाले उहाँ भिक्षुणी परम्परा ल्याउन सक्नुभएन। पछि केही तिब्बती लामाहरूले आफ्ना आमा भिक्षुणी बनाइदिए, तर विनयको दृष्टिले यी दीक्षाहरूलाई प्रामाणिक मानिएन। सन् १९५९ देखि मैले धेरै गुम्बामा शिक्षा स्तर मठका भिक्षुहरूको स्तरसम्म पुर्याउन आवश्यक ठानेँ। मैले त्यसलाई लागू पनि गरें र आज हामीसँग विद्वान भिक्षुणीहरू पनि छन्। तर भिक्षुणी दीक्षा पुनःस्थापना गर्ने विषयमा भने म एक्लै निर्णय गर्न सक्दिनँ। यो प्रश्न विनयअनुसार नै तय गर्नुपर्छ।
अब हामीसँग यो प्रश्नलाई अन्य बौद्ध परम्पराहरू, जस्तै चिनियाँ, कोरियाली र भियतनामी परम्पराहरूसँग छलफल गर्ने अवसर छ, जहाँ अझै पनि भिक्षुणी दीक्षा अवस्थित छ। पहिले नै करिब दुई दर्जन तिब्बती महिलाहरूले धर्मगुप्तक परम्परा अनुसार उनीहरूसँग भिक्षुणी दीक्षा लिइसकेका छन्। कसैले पनि उनीहरू अहिले भिक्षुणी भएका कुरालाई अस्वीकार गर्दैन।
गत तीस वर्षदेखि हामीले मुलसर्वास्तिवाद र धर्मगुप्तक विनय ग्रन्थहरूमा अनुसन्धान गर्दै आएका छौँ। विनय संस्कृतमा आधारित यी दुई परम्परामा र पाली परम्परामा पनि पाइने भएकाले, तीनवटै विनय परम्पराका सङ्घका ज्येष्ठ आचार्यहरू एकत्रित भई यस विषयमा छलफल गर्ने र आफ्नो अनुभव साझा गर्ने कुरा उपयोगी हुन्छ। पहिल्यै नै श्रीलङ्कामा भिक्षुणी दीक्षा पुनःस्थापित भइसकेको छ र थाइल्याण्डमा पनि त्यस्तै गर्ने चासो थप अनुसन्धान उपयोगी हुनेछ ताकि एक दिन हामी शान्तारक्षितको असफलतालाई सुधार्न सक्नेछौं तर एक व्यक्तिको हैसियतले यो विषयमा निर्णय गर्ने शक्ति मसँग छैन, किनकि त्यो विनय प्रक्रिया अनुसार हुनेछैन। मेरो अधिकार भनेको अनुसन्धान सुरु गर्ने मात्र हो।
हामी सबैले धर्मगुप्तक परम्पराअनुसार भिक्षुणी दीक्षा प्राप्त गरेका तिब्बती र पश्चिमी महिलाहरूलाई धर्मगुप्तक भिक्षुणी भनेर स्वीकार्छौँ र मान्यता दिन्छौँ। समस्या यो होइन। समस्या भनेको मुलसर्वास्तिवाद विनय ग्रन्थअनुसार भिक्षुणी दीक्षा दिने तरिका खोज्नु हो। यसको लागि त अहिले यहाँ बुद्ध हुनु आवश्यक पर्छ। यदि म बुद्ध भएको भए निर्णय गर्न सक्थेँ; तर त्यो अवस्था होइन। म बुद्ध होइन। केही विषयमा म अधिनायकझैँ निर्णय लिन सक्छु, तर विनयसँग सम्बन्धित विषयमा होइन। म धर्मगुप्तक परम्पराअनुसार दीक्षा लिएका तिब्बती भिक्षुणीहरूलाई समूहमा भेला गराएर तीन सङ्घीय क्रियाकलाप गर्न सक्ने व्यवस्था गर्न सक्छु: [द्विमासिक अपराध शुद्धीकरण (संस्कृत: पोषध), वर्षा वासको स्थापना (संस्कृत: वर्षोपनायिका), र वर्षा वासको अन्त्यमा नियमहरूबाट मुक्त हुने प्रक्रिया (संस्कृत: प्रवारण)]। तर दीक्षा समारोह पुनर्स्थापनाको कुरामा, यो फरक मामला हो। यद्यपि म यो होस् भनी चाहन्छु, यसका लागि वरिष्ठ भिक्षुहरूको सहमति चाहिन्छ। उनीहरूमध्ये केहीले कडा विरोध गरेका छन्। सर्वसम्मत सहमति छैन र त्यही समस्या हो। तथापि, धर्मगुप्तक परम्पराका यी तीन सङ्घीय क्रियाकलाप सम्बन्धी उचित ग्रन्थहरूलाई चिनी भाषाबाट तुरुन्तै तिब्बतीमा अनुवाद गराउन म सक्छु। यसलाई कसैले पनि विरोध गर्न सक्दैन।
अरू पक्षहरूका लागि हामीलाई अझै बढी छलफल आवश्यक छ। अन्य बौद्ध परम्पराका सङ्घको समर्थन महत्त्वपूर्ण छ र त्यसैले यो बैठक प्रक्रियामा उपयोगी चरण हो। अर्को कदमका रूपमा, म यस अन्तर्राष्ट्रिय सङ्घका ज्येष्ठ आचार्यहरूको समूहलाई भारत आउन निमन्त्रणा गर्दछु। उनीहरूले मुलसर्वास्तिवाद भिक्षुणी दीक्षा पुनःस्थापना गर्ने विषयमा विरोध गर्ने संकुचित सोच भएका तिब्बती ज्येष्ठ भिक्षुहरूसँग यो विषयमा छलफल गरून्।
यदि बुद्ध आज यहाँ हुनुहुन्थ्यो भने, उहाँले निस्सन्देह अनुमति दिनुहुन्थ्यो होल। तर म बुद्धको रूपमा काम गर्न सक्दिनँ। यद्यपि आठौं शताब्दीदेखि तिब्बतमा संन्यास परम्परा रहँदै आएको छ, हाम्रो बीचमा कहिल्यै पनि सङ्घीय क्रियाकलाप गर्ने भिक्षुणीहरू थिएनन्, त्यसैले अब यो हुनेछ। तर दीक्षाको बारेमा निर्णय गर्न अझै धेरै चाँडो हो।
यस वर्ष यी तीनवटा भिक्षुणी सङ्घीय क्रियाकलाप सुरु गर्न गाह्रो पर्न सक्छ, तर अर्को वर्षसम्म हामी यसलाई सुरु गर्न सक्षम हुनुपर्छ। भिक्षुणी प्रतिमोक्ष पहिले नै चिनियाँ भाषाबाट तिब्बतीमा अनुवाद भइसकेको छ। यो करिब तीसदेखि चालीस पृष्ठ लामो छ। तिब्बती धर्मगुप्तक भिक्षुणीहरूले यसलाई मन देखिनै पढ्नु पर्नेछ। तर ती तीन सङ्घीय क्रियाकलापका वास्तविक ग्रन्थहरू अझै पनि अनुवाद गर्न बाँकी छ।
यद्यपि तिब्बती भिक्षुणीहरूले मुलसर्वास्तिवाद भिक्षुणी दीक्षा चाहन सक्छन्, धर्मगुप्तक भिक्षुणी दीक्षालाई मुलसर्वास्तिवादको रूपमा स्वीकार गर्न सकिँदैन। यदि यी दुई परम्परा आदानप्दान सकिने भएको भए, तिब्बतमा अतिशालाई महासांघिक भिक्षु दीक्षा नदिन अनुरोध गर्ने कुनै कारण नै हुने थिएन। [जब भारतीय आचार्य अतिशालाई ११औँ शताब्दीको सुरुतिर राजा जाङछुब वो (तिब्बती: བྱང་ཆུབ་འོད།) ले तिब्बतमा निमन्त्रणा गरेका थिए, त्यतिबेलासम्म उनका हजुरबुवा राजा येशे वोले आफ्नै राज्यमा पूर्व भारतीय आचार्य धर्मपाललाई निमन्त्रणा गरेर र उहाँको आगमनपश्चात मुलसर्वास्तिवाद भिक्षु दीक्षा पुनःस्थापना गराइसकेका थिए। अतिशालाई तिब्बतमा महासांघिक भिक्षु दीक्षा नदिन अनुरोध गरिएको थियो, किनकि त्यसो गर्दा तिब्बतमा दुईवटा विनय परम्परा प्रवेश गर्ने थिए।]
त्यसैगरी, यदि धर्मगुप्तक दीक्षा मुलसर्वास्तिवाद दीक्षा हो भने, त्यसो भए थेरवाद दीक्षालाई पनि मुलसर्वास्तिवाद दीक्षा भन्नुपर्ने हुन्छ, जुन असम्भव र असंगत हुन्छ। त्यसैले हामीले मुलसर्वास्तिवाद भिक्षुणी दीक्षालाई पूर्णतः मुलसर्वास्तिवाद विनयअनुसार पुनःस्थापित गर्न आवश्यक छ।
यस जाडोमा, अब हामीले भारतमा—बोधगया, सारनाथ वा दिल्लीमध्ये कुनै एक ठाउँमा यस जस्तै अर्को सम्मेलन आयोजना गरौँ। यस ह्याम्बर्ग सम्मेलनमा सहभागी भएका अन्तर्राष्ट्रिय वरिष्ठ संघहरू अतिरिक्त हामी सबै शीर्ष तिब्बती सङ्घ नेताहरू र चारवटै तिब्बती परम्पराका सबै प्रमुख मठाधीशहरूलाई निमन्त्रणा गर्नेछौँ, सम्भवतः बोनपोहरूसहित। बोनपोहरूसँग अझै पनि भिक्षुणीहरू छन्। हामी करिब सय जना वरिष्ठहरू, सबैभन्दा सम्मानित भिक्षु विद्वानहरूलाई पनि निमन्त्रणा गर्नेछौँ। त्यसपछि म अन्तर्राष्ट्रिय संघका वरिष्ठहरूलाई उनीहरूका सामु, व्यक्तिगत रूपमा, भिक्षुणी दीक्षाको पुनर्स्थापनाको पक्षमा उनीहरूका युक्तिसंगत तर्कहरू प्रस्तुत गर्न अनुरोध गर्नेछु। यो निकै उपयोगी हुनेछ। यस्तो सम्मेलनको खर्च हामी तिब्बतीहरूले व्यहोर्नेछौँ र यसलाई कसले आयोजना गर्ने उपयुक्त हुन्छ भन्ने निर्णय पनि गर्नेछौँ।
पछिल्ला छब्बीस शताब्दीमा, अभिधर्मको पालि र संस्कृत संस्करणहरूबीच धेरै भिन्नताहरू विकसित भएका छन्। नागार्जुनले केही विषयहरू स्पष्ट गर्नुभएको छ; अन्य प्रस्ट भिन्नताहरू भने परीक्षणको आधारमा स्पष्ट गर्न सकिन्छ। त्यही भावनामा, हामी बुद्धका वचन विषयहरूलाई परीक्षण गर्न स्वतन्त्र छौँ। जस्तै सुमेरु पर्वत, पृथ्वी समतल भएको, सूर्य र चन्द्रमा करिब एउटै आकार र पृथ्वीबाट एउटै दूरीमा हुनु भन्ने कुराहरू, यी सबै पूर्ण रूपमा अस्वीकार्य छन्। मेरो आफ्नै ल्हासास्थित गुरुहरूले समेत मेरो दुर्बिनमार्फत चन्द्रमामा पहाडका छायाँ देखे र चन्द्रमाले आफ्नै प्रकाश उत्सर्जन गर्दैन भन्ने कुरामा सहमत हुनुपर्यो, जसरी अभिधर्मले दाबी गर्छ। त्यसैले नागार्जुनका स्पष्टिकरणका लागि सङ्घीय छलफलको आवश्यकता छैन। यही कुरा सूत्रसम्बन्धी विषयहरूमा पनि लाग्छ। तर विनयको कुरा आउँदा भने यो पूर्ण रूपमा फरक हुन्छ।
विनय ग्रन्थहरूको सबै अनुवाद सर्वज्ञलाई वन्दनाबाट सुरु हुन्छन्। यसको अर्थ बुद्धले नै ती ग्रन्थहरूको प्रमाणित गर्नु भएको हो, किनभने केवल सर्वज्ञ बुद्धलाई मात्र कुन कर्म अभ्यास गर्नुपर्छ र कुन कर्म त्याग गर्नुपर्छ भन्ने पूर्ण ज्ञान हुन्छ। अर्कोतर्फ, अभिधर्म ग्रन्थहरूमा भने मञ्जुश्रीलाई वन्दना गरिन्छ। त्यसैगरी, बुद्धले परिनिर्वाण प्राप्त गरेपछि सङ्घ परिषद् बसेको थियो र त्यसले विनयमा केही परिवर्तनहरू गरेको थियो। यसो गर्न बुद्धले अनुमति दिनुभएको थियो र यो अरू विषयहरूमा पनि विस्तार गर्न सकिन्छ। उदाहरणका लागि, हामी तिब्बतीहरूले बोधिसत्त्वयान र तन्त्रयान दुवै अभ्यास गर्छौं, जसका आफ्नै-आफ्नै व्रतहरू छन्। तिनीहरूका केही विषयहरू र प्रतिज्ञाहरू विनयसँग विरोधाभासी छन्। यस्ता अवस्थामा, उच्च स्तरका व्रतहरूले तल्लो स्तरका व्रतहरूलाई भन्दा प्राथमिकता पाउनुपर्छ।
एकाइसौँ शताब्दीमा युद्धको अवधारणा पुरानो भइसकेको छ। यसको सट्टा, विवादहरू समाधान गर्नका लागि संवाद आवश्यक छ, र त्यसका लागि केवल बुद्धिमत्ता मात्र पर्याप्त हुँदैन। हामीलाई अर्काको हितमा हार्दिक चासो र आत्मीयताको पनि आवश्यकता हुन्छ। इमानदार संवादका लागि करुणा अझ महत्त्वपूर्ण हुन्छ। महिलाहरू जैविक कारणले गर्दा पुरुषभन्दा अरूको पीडा प्रतिको संवेदनशीलता बढी हुन्छिन्। उदाहरणका लागि, धेरैजसो महिला वध गर्ने वा मासु काट्ने काममा हुँदैनन्। त्यसैले अन्तर्राष्ट्रिय वार्ताका लागि महिलाहरूको ठूलो आवश्यकता छ र उनीहरूले अझ ठूलो भूमिका लिनुपर्छ।
बुद्धका शिष्यमण्डलीलाई भिक्षु, भिक्षुणी, उपासक र उपासिका गरि चार भागमा विभाजित गरिएको छ । यसबाट स्पष्ट हुन्छ कि महिला र पुरुष दुवैले समान भूमिका खेल्छन्। तर वर्तमान अवस्थामा तिब्बतीहरूमा यो चार खालको मण्डली अपूर्ण छ। बहुमूल्य मानवीय पुनर्जन्मका आठ वा दश गुणमध्ये एक गुण भनेको मध्यदेशमा जन्मिनु हो, जसलाई भौगोलिक वा आध्यात्मिक दुवै दृष्टिले परिभाषित गर्न सकिन्छ। तिब्बत भौगोलिक दृष्टिले मध्यदेश होइन। आध्यात्मिक दृष्टिले हेर्दा, त्यो भूमिलाई मध्यदेश भनिन्छ जहाँ बुद्धका चारै प्रकारका शिष्यहरू पूर्ण रूपमा उपस्थित हुन्छन्। तर भिक्षुणी नभएसम्म यो अपूर्ण रहन्छ। धेरै तिब्बतीहरू भन्छन् कि भिक्षु भए मध्यदेश हो, किनभने चार समूहमध्ये भिक्षु सबैभन्दा महत्वपूर्ण हुन्। तर यसरी भन्नाले केवल मध्यदेशको समानता र बहुमूल्य मानवीय पुनर्जन्मको समानता मात्र परिभाषित हुन्छ। यसबारे तिब्बतका पूर्व गुरुहरूले यसमा ध्यान दिनुपर्थ्यो।
सङ्घसमूहसँग परामर्श नगरी नै म तिब्बती भिक्षुणीहरूको शिक्षा सुधारको पहल गर्न सक्छु। मैले यसो गरिसकेको छु र अहिले धेरै भिक्षुणीहरू उच्च विद्वत्ताको स्तरसम्म पुगेका छन्। मुंडगोडका गुम्बाहरूमा मैले घोषणा गरेको थिएँ कि हामीले गेशेमा परीक्षाका लागि तयारी गर्नुपर्छ। केही वरिष्ठ भिक्षुहरूले आपत्ति जनाए, तर मैले उनीहरूलाई भनेँ कि बुद्धले पुरुष र महिलालाई भिक्षु र भिक्षुणी बन्न समान अधिकार दिनुभएको छ भने, गेशे र गेशेमा बन्ने समान अधिकार किन नहुने? मेरो विचारमा समस्या के हो भने ती वरिष्ठ भिक्षुहरू यस्तो प्रकारको सोचमा बानी परेको छैनन्।
साठीको दशकको सुरुतिर मैले केवल भिक्षुहरूलाई मात्र नभई भिक्षुणीहरूलाई पनि बोलाएँ र उनीहरूलाई पनि द्वैमासिक सोजोङ समारोहमा सहभागी हुन सक्ने भनेर भनेँ। त्यतिबेला भिक्षुणीहरू थिएनन्, त्यसैले श्रमणेरिका नवदीक्षित भिक्षुणीहरूलाई सामान्यतया भिक्षुहरूको सोजोङमा सहभागी हुन दिइँदैन, तर मेरो गुरुहरूले यसमा स्वीकृति दिनुभयो। त्यसपछि हामीले यसलाई सुरु गर्यौँ। दक्षिण भारतका गुम्बाहरूबाट केही व्यंग्यात्मक आपत्तिहरू आए, किनभने भिक्षु र भिक्षुणीहरूले एउटै साथमा सोजोङ गर्नु कहिल्यै चलन थिएन। तर त्यसका कारणले कुनै भिक्षुहरूले व्रत त्याग गरेनन्!
सत्तरीको दशकदेखि, केही तिब्बतीहरूले चिनियाँ परम्पराबाट भिक्षुणी दीक्षा लिएका छन्। ताइवान भ्रमणको एक मुख्य कारण त्यहाँको भिक्षुणी परम्परा आफैले हेर्नु र त्यसको अवस्थाको जाँच गर्नु थियो। मैले लोसाङ छेरिङ्लाई भिक्षुणी व्रतबारे अनुसन्धान गर्न नियुक्त गरें र उनले अहिले दुई दशकदेखि गर्दै आएका छन्। हामीले सक्दो प्रयास गरिसकेका छौं। मैले प्रमुख चिनियाँ दीक्षा दिने भिक्षुहरूलाई अन्तर्राष्ट्रिय संघ सभा आयोजना गर्न अनुरोध गरें, तर तिनीहरूले यसो गर्न सकेनन्। जनवादी गणतन्त्र चीनतर्फबाट आउने कठिनाइ र जटिलताहरूका कारण म स्वयंले त्यस्तो बैठक बोलाउन सकिनँ। मलाई लाग्यो कि अर्को संस्थाले यस्तो सभा बोलाएको राम्रो हुन्थ्यो, र त्यसैले मैले जम्पा चोड्रोएनलाई त्यसो गर्न भनें। एक व्यक्तिगत भिक्षुले गर्न सक्ने सबै काम भइसकेको छ। अब हामीलाई तिब्बती भिक्षु वृद्धहरूको व्यापक मठीय सहमति चाहिन्छ।
नवदीक्षित भिक्षु र भिक्षुणीको दीक्षा प्रक्रियामा उल्लेख गरिएको छ कि उचित सम्मान गर्ने विषयहरू थाहा पाउनुपर्छ। त्यहाँ भनिएको छ कि यद्यपि व्रतको दृष्टिकोणले भिक्षुणीहरू उच्च छन्, तथापि उनीहरू नवदीक्षित भिक्षुहरूको श्रद्धाका विषय हुनु हुँदैन। सम्भवतः यसलाई बोधिसत्व र तान्त्रिक व्रतलाई, विशेष गरी महिलालाई निन्दा नगर्ने तान्त्रिक व्रतलाई ध्यानमा राखी पुनः शब्दबद्ध गर्नुपर्ने हुन्छ। त्यस दृष्टिकोणले हेर्दा, विनयाको यस विषयलाई यथावत् राख्नु असुविधाजनक हुन्छ। त्यसैले, तीन प्रकारका व्रतहरूलाई पालन गर्ने क्रममा केही साना विषयहरूलाई पनि परिमार्जन गर्नुपर्ने हुन्छ। त्यस्तै, मूलसर्वास्तिवाद भिक्षुणी व्रतहरू ग्रहण गर्नु अघि तिनको अध्ययन गर्ने सन्दर्भमा, धर्मगुप्तक परम्परामा भिक्षुणी बनेकाहरूले ती व्रतहरू पढ्न र अध्ययन गर्न सक्छन्, यद्यपि तिनीहरूले आफ्ना विधिहरू धर्मगुप्तक अनुसार नै सम्पादन गर्नुपर्छ। तर, भिक्षुणी नभएकाहरूले ती व्रतहरूको अध्ययन गर्नुमा अझै समस्या रहन्छ।
यी सबै परिमार्जनहरू गर्दा र विशेष गरी मूलसर्वास्तिवाद भिक्षुणी दीक्षालाई पुनर्स्थापना गर्ने सन्दर्भमा, यो कार्य केवल केही तिब्बती संघले मात्र गर्नु अत्यनतै अनुचित हुन्छ। हामीले संघमा विभाजनबाट बच्नुपर्छ। हामीलाई समग्र तिब्बती संघभित्र व्यापक सहमति चाहिन्छ र त्यसैले हामी त्यस दिशामा थप कदमहरू चालिरहेका छौं। तपाईंहरू सबैको प्रयासप्रति म आभारी छु।