प्रारम्भिक टिप्पणी
सबै बौद्ध परम्पराले मार्गमा प्रगतिका लागि आध्यात्मिक गुरुको महत्वलाई जोड दिएका हुन्छन्। आध्यात्मिक गुरुहरूले केवल निम्न काम मात्र गर्दैनन् :
- सूचना दिने
- प्रश्नको उत्तर दिने
- शिष्यले कति जानेको छ भनेर जाँच्ने
- शिष्यको बौद्धिक, भावनात्मक, तथा ध्यानमा प्रगतिको अवस्थाको परीक्षण गर्ने वा जाँच्ने।
आध्यात्मिक गुरुले निम्न काम पनि गर्छन् :
- शील, संवर र अभिषेक प्रदान गर्ने
- आदर्श व्यक्तिको भूमिका निभाउने
- स्वयं उदाहरण बनी प्रेरणा दिने
- बुद्धबाट आएको अटुट परम्पराको श्रृंखलासँग जोड्ने।
गुरु र शिष्यका विभिन्न तहहरू हुन सक्छन्, त्यसैले मार्गमा उनीहरूको सम्बन्ध जोडिने तरिका पनि फरक फरक हुन सक्छ।
साँस्कृतिक पक्ष
आध्यात्मिक गुरुसँग शिक्षा लिने आधुनिक पश्चिमी जगतको तरिका पारम्परिक पूर्वीय तरिकाभन्दा विल्कुल भिन्न छ।
पारम्परिक एशियाली समाजमा धर्मका शिष्य प्राय :
- भिक्षु वा भिक्षुणी हुन्छन्, जो पूर्णकालिक रूपमा आध्यात्मिक मार्गमा प्रतिबद्ध हुन्छन्।
- धर्म अध्ययन र अभ्यासका अतिरिक्त उनीहरूको अरू कुनै मूख्य कार्य हुँदैन।
- अन्य शिक्षा लिनुअघि बाल्यकालमै बुद्धधर्मको अध्ययन शुरु गर्छन्।
- परिणामस्वरूप वयस्क भैसक्दा पनि गणित, सामाजिक शिक्षा, विज्ञानजस्ता अन्य “आम” विषयहरूको शिक्षा न्यूनतम मात्र लिएका हुन्छन्।
- महिलाको भूमिका, सामाजिक सत्ता संरचना आदि विषयमा पारम्परिक एशियाली दृष्टिकोण राख्ने हुन्छन्, जस्तो कि महिलालाई निम्न श्रेणीमा राख्ने, मर्यादाक्रम अनुसार चल्ने, आदि।
आधुनिक पश्चिमा समाजमा धर्मका शिष्य प्राय :
- गृहस्थी हुन्छन्, जो आफ्नो पेशामा वा व्यक्तिगत जीवनमै व्यस्त हुन्छन्।
- धर्मका लागि उनीहरूसँग छुट्टै समय हुँदैन।
- शिक्षित वयस्कका रूपमा धर्म अध्ययन गर्न आउँछन्।
- लैंगिक समानता र लोकतान्तिक सामाजिक संरचनाको माग गर्छन्।
आर्थिक पक्षको कुरा गर्दा पारम्परिक एशियाली समाजमा आध्यात्मिक गुरुहरूलाई समाजले नै सहयोग गरिरहेको हुन्छ। गैर–शिष्यहरूले समेत उनीहरूलाई दान भेटी आदि चढाउँछन्। तर आधुनिक पश्चिमी जगतमा आध्यात्मिक गुरुहरूले आफ्नो ख्याल आफैं राख्नुपर्छ। त्यसैले धेरै गुरुहरूले धर्म केन्द्र चलाउँछन्, जहाँ आर्थिक, संगठनात्मक र प्रशासनिक कुराहरू व्यवस्थापन गर्नुपर्ने हुन्छ।
यी सबै कुराले गुरु–शिष्य सम्बन्धलाई प्रभावित पारिरहेको हुन्छ। धेरै आध्यात्मिक साधकहरूको उद्धार भएको छ भने कतिपय अवस्थामा भ्रान्त धारणा विकसित भएको, त्रुटि भएको, र आध्यात्मिक रूपमा क्षति पुगेको पनि पाइन्छ।
खतराहरू
तिब्बती परम्परामा गुरु–समर्पण सम्बन्धी ग्रन्थहरूमा साधनाको मार्गमा आउनसक्ने खतराहरूलाई बढाइचढाइ गरी बताइएको छ। यी ग्रन्थहरू शील, संवर लिएका प्रतिबद्ध भिक्षु भिक्षुणीहरूका लागि लेखिएको हुन्छ र तान्त्रिक अभिषेकको तयारीका लागि तिनको पुनरावलोकन गरिन्छ। यिनमा पाइने निर्देशनहरू धर्म केन्द्र पुग्ने आरम्भिक विद्यार्थीका लागि होइन, जसले बुद्धधर्मका बारेमा केही जानेका हुँदैनन्।
त्यसैले हामी यी दुई अतिवादबाट बच्नुपर्छ :
- आध्यात्मिक गुरुको देवत्वकरण, जसबाट हामी ठगिने र दुर्व्यवहार भोग्नुपर्ने सम्भावना बढ्छ।
- गुरुको दानवीकरण, जसले एक खालको पागलपनको सिर्जना गर्छ र मार्गमा अघि बढ्ने प्रेरणा तथा गहन लाभ प्राप्त हुनसक्ने सम्भावना बन्द गरिदिन्छ।
गैर–परम्परागत विश्लेषण
मैले आफ्नो पुस्तक “रिलेटिंग टु अ स्पिरिचुअल टिचर : बिल्डिंग अ हेल्थी रिलेशनशिप (इथाका : स्नो लायन, २०००)” मा यो विषयको विश्लेषण गर्दै गुरु–शिष्यको सम्बन्धलाई स्वस्थ बनाउने तरिकाहरू प्रस्तुत गरेको छु। मैले यहाँ यो समस्यालाई विश्लेषण गर्न हंगेरीका मनोचिकित्सक डा. इभान बास्जोर्मेनी–नागीले सुझाउनुभएको तरिकालाई आधारका रूपमा लिँदै एक गैर–पारम्परिक तरिका प्रस्तुत गरेको छु। डा. बास्जोर्मेनी–नागी पारिवारिक उपचार र सन्दर्भ–केन्द्रित उपचार प्रणालीका संस्थापकमध्ये एक हुनुहुन्छ।
सम्बन्धका ६ आयाम
गुरु र शिष्य दुवैको कोणबाट ६–६ तरिकाले हामी गुरु शिष्य सम्बन्धका आयामहरूको विश्लेषण गर्न सक्छौं। यसबाट सम्बन्धमा समस्या आएको अवस्थामा हामी त्यसको तहसम्म पुग्न सक्छौं ताकि दुवै पक्षले एक स्वस्थ संतुलन कायम राख्न आवश्यक संशोधन र परिवर्तन गर्न सकुन्।
ती ६ आयाम हुन्ः
- दुवै पक्ष तथा उनीहरूको सम्बन्धको परिवेशलाई प्रभावित गर्ने तथ्यहरू
- दुवै पक्षका लागि सम्बन्धको लक्ष्य र यसलाई प्रभावित गर्ने मनोवैज्ञानिक पक्षहरू
- सम्बन्धमा दुवै पक्षले स्वयंलाई र एक अर्कालाई निर्धारित गर्ने भूमिका, त्यसबाट हुने अपेक्षा र दुवैले स्वयंका बारेमा राख्ने मत
- सम्बन्धप्रति दुवै पक्षको प्रतिबद्धता र संलग्नताको स्तर, तथा यसलाई प्रभावित पार्ने मनोवैज्ञानिक कारकहरू
- दुवै पक्षका अन्य मनोवैज्ञानिक कारकहरू
- सम्बन्धले कसरी काम गर्छ तथा दुवै पक्षलाई यसले के असर गर्छ भन्ने तथ्य
दुवै पक्ष तथा उनीहरूको सम्बन्धको परिवेशलाई प्रभावित गर्ने तथ्यहरू
सम्बन्धलाई प्रभावित गर्ने तथ्यहरूमा निम्न कुराहरू पर्छन् :
- लिंग र उमेर
- साँस्कृतिक पृष्ठभूमि – एशियाली हो कि पश्चिमेली
- एउटै भाषा बोल्छन् कि व्यक्तिगत संवाद र धर्मशिक्षणका बेला अनुवादक चाहिन्छ
- भिक्षु हो कि गृहस्थ
- कतिसम्म धर्मशिक्षा वा सांसारिक शिक्षा प्राप्त गरेको छ
- भावनात्मक र नैतिक परिपक्वताको हिसाबले आध्यात्मिक गुरु वा शिष्य हुने योग्यता कस्तो छ
- एकले अर्कालाई दिनसक्ने समय
- गुरुका अरू शिष्यहरूको संख्या
- गुरु शिष्यकै शहरमा बस्छन् कि कहिलेकाहीँ मात्र आउँछन्
परिवेश :
- पश्चिमेली धर्म केन्द्र – शहरी केन्द्र हो कि आवसीय केन्द्र
- धर्म केन्द्र हो भने स्वतन्त्र हो कि कुनै ठूलो धार्मिक संस्थाको शाखा हो
- गोन्पा हो भने एशियाली हो कि पश्चिमेली
दुवै पक्षका लागि सम्बन्धको लक्ष्य र यसलाई प्रभावित गर्ने मनोवैज्ञानिक कारकहरू
कुनै पनि सम्बन्धमा दुवै पक्षका लागि सम्बन्धको लक्ष्य प्रायः मिश्रित प्रकृतिको हुन्छ। गुरु–शिष्यबीचको सम्बन्धमा पनि यही कुरा लागु हुन्छ।
शिष्य गुरुकहाँ निम्न कारणहरूले आउँछन् :
- जानकारी लिन तथा तथ्यहरू जान्न
- ध्यान सिक्न
- आफ्नो व्यक्तित्वको विकास गर्न
- वर्तमान जीवन सुधार्न
- भविष्यको जीवन सुधार्न
- अनियन्त्रित तवरले दोहोरिरहने पुनर्जन्मको चक्र अर्थात् संसारबाट मुक्ति पाउनका लागि
- बोधि लाभ गर्न, ताकि अरूलाई पनि आफूले जस्तै मुक्ति र बोधि लाभमा सहयोग गर्न सकियोस्
- विश्रान्तिको अनुभव गर्न
- आफूजस्तै सोचाई भएका अन्य शिष्यहरूसँग सामाजिक सम्बन्ध विकसित गर्न
- असाधारण चीजहरूमा पहुँच पाउन
- शारीरिक वा भावनात्मक समस्याहरूको चामत्कारिक उपचार पाउन
- रोचक र जादुई व्यक्तित्ववाला “धर्म–जंकी” जस्तो गुरुबाट “धर्म–बुटी” प्राप्त गर्न
यसका अतिरिक्त शिष्यले गुरुमा निम्न कुराहरू खोजिरहेको हुन सक्छ :
- बौद्ध मार्गमा मार्गदर्शन तथा प्रेरणा
- उपचार
- पुरोहितले दिनेजस्तो सल्लाहसुझाव
- माता वा पिताको प्रतिरूप
- आफ्नो कार्यको अनुमोदन
- जीवनमा के गर्ने भनी निर्देशन दिने व्यक्ति
त्यस्तै आध्यात्मिक गुरुले पनि निम्न कुराहरू खोजिरहेको हुन सक्छ :
- तथ्यहरू बताउन
- मौखिक आगम प्रदान गरी धर्मको संरक्षण गर्न
- शिष्यको व्यक्तित्व निखार्न
- शिष्यको भावी जन्महरूको समेत कल्याणको बीजारोपण गर्न
- उच्चतर पुनर्जन्म, मुक्ति तथा बोधिप्राप्तिमा शिष्यलाई सहयोग गर्न
- धर्मकेन्द्र स्थापना गर्न वा यस्ता केन्द्रहरूको धर्मसाम्राज्य खडा गर्न
- आफ्नो परम्परामा नयाँ प्रवेशीहरू बढाउन
- भारतमा रहेको गोन्पाको सहयोग वा तिब्बतमा गोन्पा पुननिर्माणका लागि अर्थ संकलन
- शरणार्थीका रूपमा एक सुरक्षित स्थान
- जीवन निर्वाह गर्न वा धनी बन्न
- अरूलाई आफ्नो अधीनमा राखी शक्तिशाली बन्न
- यौनजन्य लाभ उठाउन
दुवै पक्षलाई असर गर्ने नकारात्मक मनोवैज्ञानिक कारकहरूमा निम्न पर्छन् :
- एक्लोपना
- पट्यार
- पीडा
- असुरक्षाको भाव
- आधुनिक हुने चाहना
- समूहको दवाब
दुवैले स्वयं र अर्काको लागि निर्धारित गरेको भूमिका र त्यसबाट राखिने अपेक्षा, तथा दुवैको स्वयंप्रतिको धारणा
आध्यात्मिक गुरुले स्वयंलाई वा शिष्यले गुरुलाई निम्न रूपमा लिन सक्छन् :
- बुद्धधर्मका प्राध्यापकहरू, जसले बुद्धधर्मबारे जानकारी प्रदान गर्छन्
- धर्म प्रशिक्षकहरू, जसले जीवनमा धर्म कसरी लागू गर्ने भन्ने सिकाउँछन्
- ध्यान वा कर्मकाण्डका प्रशिक्षक
- आध्यात्मिक गुरु जसले शिष्यहरूलाई शील, संवर प्रदान गर्छन्
- तन्त्र आचार्य, जसले तन्त्र अभिषेक दिन्छन्
त्यस्तै शिष्यले स्वयंलाई वा गुरुले शिष्यलाई निम्न रूपमा लिन सक्छन् :
- बुद्धधर्मका अध्येताहरू जो धर्मबारे जानकारी लिन चाहन्छन्
- धर्मका विद्यार्थीहरू जो दैनिक जीवनमा धर्म कसरी लागू गर्ने सिक्न चाहन्छन्
- ध्यान वा कर्मकाण्डको प्रशिक्षार्थी
- शिष्य, जसले गुरुसँग शील थापेको मात्र छ
- शिष्य, जसले गुरुबाट व्यक्तिगत रूपमा मार्गदर्शन पाइरहेको छ।
सम्बन्धका कारण दुवै पक्षले स्वयंका बारेमा कस्तो अनुभूति गर्छन्, त्यो आयामको चर्चा गरौं।
शिष्यले स्वयंका बारेमा यस्तो अनुभूति गर्न सक्छ :
- सुरक्षित
- कसैको अधीनमा भएको
- परिपूर्ण
- संतृप्त
- सेवक
- धार्मिक सम्प्रदायको सदस्य
त्यस्तै आध्यात्मिक गुरुले पनि स्वयंका बारेमा यस्तो अनुभूति गर्न सक्छ :
- स्वामी
- सामान्य साधक
- रक्षक
- उपदेशक
- मनोविशेषज्ञ
- आफ्नो धार्मिक केन्द्र वा साम्राज्यको सञ्चालक
- गोन्पाको आर्थिक सहयोगी
दुवै पक्षको प्रतिबद्धताको स्तर, आपसी सम्बन्धमा संलग्नता, र तिनलाई प्रभाव पार्ने मनोवैज्ञानिक कारक
शिष्यको सम्भावित व्यवहार :
- शुल्क तिर्ने, दान गर्ने, वा गुरुलाई कुनै दान दक्षिणा नचढाई वा शुल्क नतिरी शिक्षा लिने
- बुद्धधर्मप्रति, गुरुप्रति वा परम्पराप्रति गहन रूपमा प्रतिबद्ध हुने वा त्यत्तिकै हल्कारूपमा जोडिने
- गुरुसँग शरणगमन गरिसकेको वा गर्ने चाहने राखेको वा त्यस्तो चाहना नराखेको
- गुरुलाई सहयोग गर्न प्रतिबद्ध
- गुरुप्रति अनुगृहित हुने
- गुरुप्रति ऋणी भएको ठान्ने
- गुरुप्रति निष्ठा राख्नुपर्छ भनेर ठान्ने – यसमा समूहको दवाबले भूमिका खेल्छ
- आफूले केही गल्ती गरेमा नर्क पुगिन्छ भनेर ठान्ने
गुरुले गर्ने सम्भावित व्यवहार :
- शिष्यलाई नैतिक रूपमा मार्गदर्शन गर्ने जिम्मेवारी लिने
- शिष्यहरूको जीवनलाई नियन्त्रित गर्ने चाहना राख्दै उनीहरूलाई के गर्ने भनेर निर्देशन दिने
- आफ्ना गुरुले शिक्षा दिन खटाएकाले सो कर्तव्य निर्वाह गर्ने
- आफूले केवल एक सामान्य काम गरेको ठान्ने
सम्बन्धको यो आयामलाई प्रभाव पार्ने नकारात्मक मनोवैज्ञानिक कारकहरू :
- प्रतिबद्धताको भय
- भूमिकासँगै आउने अधिकारको भय, संभवतः विगतमा कुनै दुर्व्यवहार भएका कारणले
- उपयोगी हुनुपर्ने वा माया पाउनुपर्ने चाहना
- अर्कोले आफूलाई ध्यान देओस् भन्ने चाहना
- अरूलाई नियन्त्रित गर्ने चाहना
- आफ्नो कुरा प्रमाणित गरेर देखाउने चाहना
दुवै पक्षलाई प्रभाव पार्ने अरू मनोवैज्ञानिक कारक
यसमा निम्न कुराहरू पर्छन् :
- अन्तर्मुखी हो कि बहिर्मुखी
- बुद्धिमान, आवेगी, वा भक्त स्वभावको
- स्नेहपूर्ण व्यवहार गर्छ कि रुखो
- शान्त छ कि रिसाहा
- आफूलाई ध्यान दिइरहोस् वा समय दिइरहोस् भन्ने चाहना
- अरू शिष्य वा गुरुप्रति इर्ष्याभाव
- हीन भावना या अहंकारले युक्त
सम्बन्धले कसरी काम गर्छ र दुवै पक्षमा यसको के प्रभाव हुन्छ
गुरु र शिष्य दुवैको जोडा कस्तो छ?
- राम्रो जमेको
- एक अर्कामा भएका उत्तम गुणहरूलाई प्रस्फुटित गर्न सहयोग गर्ने वा बाधा पुर्याउने
- फरक फरक अपेक्षा लिएका कारण एक अर्काको समय बर्बाद गर्ने
- वरीयताक्रम मानेका कारण शिष्यले आफूलाई शोषित, नियन्त्रित र परिणामस्वरूप हीन महसुस गर्ने (हीन–भावना अझै बढाउने), र गुरुले आफूलाई अधिकारसम्पन्न वा उच्चकोटिको ठान्ने खालको छ कि? यहाँ के ख्याल राख्नुपर्छ भने एउटाले जस्तो महसुस गर्छ, अर्कोले पनि त्यहीअनुरुप गर्नुपर्छ भन्ने छैन
- दुवै थप उत्साहले भरिने वा खोक्रोपनको महसुस गर्ने
सारांश
हामीले गुरु–शिष्य सम्बन्धलाई यी ६ वटै आयाम र तिनका घटक तत्वहरूको सन्दर्भमा परीक्षण गर्नुपर्छ। यी सबै तत्व वा कारकहरूको अवस्था हेर्दा कतै बेमेल जस्तो देखियो भने दुवै पक्षले तिनलाई सुधार्ने वा समन्वय गर्ने अथवा परिमार्जन गर्ने प्रयास गर्नुपर्छ। सांस्कृतिक पृष्ठभूमि वा भिन्न मनोदशाका कारण एक पक्ष यसप्रकारले समस्या समाधान गर्न अनिच्छुक देखियो भने अर्को पक्षले या त आफ्नो तर्फबाट सकेसम्म सुधारको प्रयास गर्नुपर्छ या त्यस्तो सम्बन्धबाट आफूलाई अलि दूरीमा राख्नुपर्छ।