
सरल भाषामा भन्ने हो भने, बोधिसत्व भनेको बुद्धिमान र करुणामय व्यक्ति हुन् जसले अरू सबैलाई माया गर्छन्। पक्कै पनि संसारमा धेरै बुद्धिमान र दयालु मानिसहरू छन्, त्यसोभए बोधिसत्वलाई केले फरक बनाउँछ? सुरुवातको लागि, बोधिसत्वहरूले अरूको भलाइको मात्र कामना गर्दैनन्, उनीहरूलाई अरूको दुःख वास्तवमै अन्त्य गर्न सक्ने धेरै कुशल तरिकाहरू थाहा हुन्छ, र सबै प्राणीहरूको वास्तविक मद्दतका लागि उनीहरू निरन्तर काम गर्छन्। बोधिसत्वहरूले सबै समस्याहरूको गहिरो जरालाई बुझ्छन् र यस जरालाई काट्न सकिनेमा आत्मविश्वासी हुन्छन्, जसले गर्दा प्राणीहरूलाई फेरि कहिल्यै कुनै समस्या नहोस्। यही ज्ञान र लक्ष्यले बोधिसत्वको करुणालाई यति शक्तिशाली बनाउँछ।
"बोधिसत्व" भन्ने शब्द दुई संस्कृत शब्दहरूबाट आएको हो: "बोधि" जसको अर्थ “बुद्धत्व” हुन्छ, र "सत्त्व" जसको अर्थ “प्राणी” हुन्छ। प्रारम्भिक बौद्ध शिक्षाहरूमा “बोधिसत्व” शब्द बुद्ध शाक्यमुनि बुद्धत्व प्राप्त गर्नु अघिको अवस्थामा वर्णन गर्न प्रयोग गरिएको थियो। उदाहरणका लागि, बुद्धका पूर्वजन्मका कथाहरूमा उहाँलाई बोधिसत्वको रूपमा वर्णन गरिएको छ। त्यसैले, बुद्धझैँ, जसले अनगिन्ती जन्महरूमा जाग्रत हुन अविश्वसनीय प्रयास र शक्ति लगाउनु हुन्छ, बोधिसत्व भनेको त्यस्तो व्यक्ति हो जसले सबै प्राणीहरूको हितका लागि बुद्धत्वको यात्रामा आफूलाई समर्पित गरिन्छ। यद्यपि तिनीहरूले अरूलाई मद्दत गर्ने धेरै तरिकाहरू जान्छन्, तिनीहरूले पूर्ण रूपमा देख्न सक्दैनन् कि कुन विधि प्रत्येक व्यक्तिको लागि सबैभन्दा उपयुक्त हुनेछ। केवल बुद्धले मात्र यो जान्छन्। त्यसैले, अरूलाई सकेसम्म मद्दत गर्दै, तिनीहरू बुद्ध बन्नको लागि आफूमा पनि थप काम गरिरहेका हुन्छन्।
बोधिसत्वहरूले सबै प्राणीहरूको मुक्ति का लागि काम गर्ने प्रतिज्ञा गर्छन्। त्यसैले उनीहरूको अन्तिम लक्ष्य केवल आफ्नो बुद्धत्व प्राप्त गर्नु मात्र होइन, सबै प्राणीहरूले पनि बुद्धत्व प्राप्त गर्न सहयोग गर्नु हो। तिनीहरूको महान करुणाका कारण, उनीहरूले अरूलाई सहयोग गर्न आफ्नै बुद्धत्वलाई स्थगित राख्छन्, र यसै कारण उनीहरूलाई आध्यात्मिक मार्गदर्शक तथा संरक्षकको रूपमा सम्मान गरिन्छ।
बोधिसत्वका अभ्यासहरू र गुणहरू
बोधिसत्वहरूसँग केही हदसम्म बुद्धसँग पूर्ण रूपमा हुने धेरै गुणहरू हुन्छन्। उनीहरूले यी गुणहरूलाई अझ विकास गर्छन् ताकि आफूलाई बुद्धत्वको नजिक पुर्याउन सकून् र अरूको हितमा अझ बढी योगदान दिन सकून्। यहाँ बोधिसत्वका केही प्रमुख गुणहरूको संक्षिप्त प्रस्तुत गरिएको छ:
- करुणा – बोधिसत्वहरूले सबै अन्य प्राणीहरूलाई माया गर्छन्। हामीमध्ये धेरैजसोले आफूलाई पहिलो स्थानमा राख्छौं, तर बोधिसत्वहरूले अरूलाई आफूभन्दा अगाडि राख्छन्। उनीहरू त्यस्ता आमा जस्तै हुन्छन् जसले सबै प्राणीलाई आफ्नो प्रिय एक मात्र सन्तानको रूपमा हेर्छिन्। जब त्यो सन्तान बिरामी हुन्छ, आमाले आफ्नो सन्तानलाई पीडामा देख्न सक्दिनन् र मद्दत गर्न जुनसुकै काम गर्न तयार हुन्छिन्। त्यसैगरी, बोधिसत्वहरू हामीमध्ये कुनै पनि प्राणीलाई दुःख भोगिरहेको देख्न सक्दैनन्। उनीहरू सबैको समान रूपमा हेरचाह गर्न मात्र चाहँदैनन्, बरु जहिले र जसरी सक्छन् सक्दो मद्दत पनि गर्छन्।
- प्रज्ञा – बोधिसत्वहरूले के फाइदाजनक र के हानिकारक छ भन्ने छुट्याउन सक्छन्। उनीहरूले वास्तविकता र कल्पना बीचको भिन्नता पनि छुट्याउन सक्छन्। यी गहिरो बुझाइहरूले उनीहरूलाई अरूलाई मोक्षतर्फ मार्गदर्शन गर्न मद्दत गर्छ।
- कुशल उपाय – बोधिसत्वहरूलाई अरूलाई कसरी मद्दत गर्ने भन्ने राम्रो ज्ञान हुन्छ, र त्यसका लागि विभिन्न विधिहरू प्रयोग गर्छन्।
- उदारता – बोधिसत्वहरू भौतिक सम्पत्ति र आफ्नो समय र शक्ति दुवैको हिसाबले उदार हुन्छन्। तिनीहरू अरूलाई मद्दत गर्न आफ्नो सबै कुरा दिन तयार हुन्छन्, र तिनीहरू आफ्ना सम्पत्ति वा उपलब्धिहरूमा लगाव हुँदैनन्।
- धैर्य – बोधिसत्वहरू आफू र अरू दुवैसँग धैर्यशील हुन्छन्। उनीहरूलाई थाहा हुन्छ कि बुद्धत्वको मार्ग लामो हुन्छ, र अरूलाई उनीहरू जति गति सके त्यही अनुसार मद्दत गर्न समय दिन तयार हुन्छन्।
- नैतिक आचरण– बोधिसत्वहरू नैतिक आचरणप्रति प्रतिबद्ध हुन्छन्, जसको अर्थ उनीहरूले अरूलाई हानि पुर्याउने कार्यहरूबाट टाढा रहन्छन् र सबै प्राणीलाई लाभ हुने कार्यहरूलाई विकास गर्छन्।
- साहस – बोधिसत्वहरू साहसी र निडर हुन्छन्, अरूलाई मद्दत गर्नका लागि अवरोध र चुनौतीहरूको सामना गर्न तयार हुन्छन्। कठिन परिस्थितिहरू वा अरूको हितका लागि जोखिम लिन उनीहरू डराउँदैनन्।
आजको समयमा कार्यरत बोधिसत्व
बोधिसत्वको एक उत्कृष्ट उदाहरण परमपावन चौधौं दलाई लामा हुनुहुन्छ। परमपावनले बिहान सबेरैदेखि राति ढिलोसम्म अथक, निरन्तर काम गर्नुहुन्छ। उहाँले हरेक दिन बिहान ३ बजेदेखि धेरै घन्टा ध्यान गरेर सुरु गर्नुहुन्छ र त्यसपछि दिनको बाँकी समय अरूलाई भेटेर र मद्दत गरेर बिताउनुहुन्छ।
एक पटक, परमपावन लामो यात्रापछि स्पिति आउनुभयो। त्यस बेलासम्म, उहाँले धेरै दिनसम्म शिक्षा दिनुभएको थियो र धेरै बोलेको कारणले उहाँको आवाज बसेको थियो। उहाँलाई अझ थकाउन नचाहेर, मैले उहाँलाई बस्न अनुरोध गरें र श्रोताहरूलाई करुणाको ओम् मणि पद्मे हुम् मन्त्रको दीक्षा मात्र दिन भनें, जसमा उहाँले सहमति जनाउनुभयो। तर शिक्षा सुरु भएपछि, उहाँले भन्नुभयो कि मैले उहाँलाई आराम गर्नु भनेको भए पनि, उहाँ राम्रो निद्रा लागेको थियो र कसैको समय बर्बाद गर्न नचाहेर शिक्षा दिने निर्णय गर्नुभएको थियो। त्यसपछि उहाँले सबै शुभ गुणहरूको आधार (foundation of All Good Qualities) मा झन्डै ३ घन्टासम्म निरन्तर शिक्षा दिनुभयो, त्यो बेलामा उहाँको आवाज ठीक भयो।
उपदेश सकिएपछि, मैले उहाँलाई उहाँको कोठासम्म पुर्याएँ जहाँ उहाँले आफ्नो बाहिरको लुगा फुकालेर सोफामा बस्नु भयो, र उहाँले भन्नुभयो कि म जान सक्छु किनभने उहाँ धेरै थाक्नु भएको छ। तर मैले उहाँको अनुहारमा कुनै थकान देखिनँ; वास्तवमा, मैले देखेको अनुहार पूर्ण उर्जाले भरिएको थियो। मलाई लाग्यो कि ८० वर्षका कुनै सामान्य व्यक्तिले यसरी काम गर्न सक्दैनन्। परमपावन दलाई लामा साँच्चै अद्भुत हुनुहुन्छ!
मैले सोचें यसको रहस्य के होला भनेर सोचे। यो करुणा बाहेक अरू केही होइन। उहाँले अरूलाई स्थायी रूपमा दुःखबाट बाहिर निकाल्न अथक परिश्रम गर्नुहुन्छ। हामी ४ वा ५ घन्टा भिडियो गेम खेल्न सक्छौं र थकदैनौं, तर उहाँले हेर्नुहुन्छ कि एक मात्र लाभदायी कुरा अरूलाई मद्दत गर्नु हो, त्यसैले उहाँ थाक्नुहुन्न। बोधिसत्त्वका गुणहरू – करुणा, बुद्धि, साहस, आदि – हेर्दा, हामी निश्चयपूर्वक देख्न सक्छौं कि परम पावन वास्तवमै बोधिसत्त्व हुनुहुन्छ।
निष्कर्ष
बोधिसत्त्वहरू शक्तिशाली र करुणामय मार्गदर्शक हुन्, जसले आफ्ना अनुयायीहरूलाई बोधि प्राप्तिको मार्गमा सहयोग गर्छन्। आफ्नो निःस्वार्थ कर्म र शिक्षाका माध्यमबाट, उनीहरू बौद्धहरूका लागि आदर्शका रूपमा सेवा गर्छन् र हामीलाई यी गुणहरू आफैंमा विकास गर्न प्रेरित गर्छन्। यसरी, बोधिसत्त्वहरूले संसारभरिका लाखौं बौद्धहरूको आध्यात्मिक जीवनमा अझै पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन्, जसले उनीहरूलाई बढी बुद्धि र करुणा प्राप्त गर्न खोज्नेहरूको लागि प्रेरणा र मार्गदर्शनको स्रोत प्रदान गर्दछ।
बाहिरी रूपमा, कोहि को बोधिसत्त्व हो वा होइन भन्ने पहिचान गर्न सकिँदैन, र वास्तवमा हामी प्रत्येकले आफैं बोधिसत्त्व बन्न सक्छौं। यदि हामी सबै प्राणीहरूलाई सहयोग गर्न सक्ने उद्देश्यका साथ बुद्ध बन्न प्रयास गर्दैछौं भने, हामी बोधिसत्त्व हौं। कति राम्रो हुन्थ्यो यदि हामीमा अरूलाई मद्दत गर्ने इच्छा मात्र नभएर क्षमता पनि भएको भए र हामीले आफ्नो समय र शक्ति सबै प्राणीहरूको खातिर काम गर्न लगाउथ्यो। यदि हामी साँच्चै अरूलाई लाभ पुर्याउन चाहन्छौं भने, पहिले हामी बोधिसत्त्व बन्नु पर्छ, र त्यसपछि हामी बुद्ध बन्नतर्फ काम गर्न सक्छौं। यसभन्दा जीवनलाई अर्थपूर्ण बनाउने अरू केही छैन।