अर्थपूर्ण जीवन जिउनु
यतिका वर्षमा हाम्रो शरीरमा निकै परिवर्तन आइसकेको छ। यो परिवर्तनलाई अध्यात्म वा ध्यानको अभ्यासले पनि रोक्न सक्दैन। हामी अनित्य छौं, सधैँभरी परिवर्तन भैरहेका छौं, प्रत्येक क्षण हामीमा परिवर्तन आइरहेको हुन्छ। यो प्रकृतिको नियम नै हो। समय बितिरहेको हुन्छ, कुनै शक्तिले त्यसलाई रोक्न सक्दैन। त्यसैले हामीले समयको सही उपयोग गरिरहेका छौं कि छैनौं, त्यो महत्त्वपूर्ण हुन्छ। के हामी आफ्नो समय अरूका लागि समस्या खडा गर्न त प्रयोग गरिरहेका छैनौं। यदि छौं भने त्यसले अन्ततः हामीलाई नै भित्रैदेखि दुःखी तुल्याउँछ। मेरो विचारमा त्यसो गर्नु समयको गलत उपयोग हो।
समयको सही उपयोग गर्न हामीले हरेक दिन एक उचित प्रेरणामा आफ्नो चित्तलाई स्थापित गर्नुपर्छ, र दिनभर त्यही प्रेरणालाई जीवित राखेर चल्नुपर्छ। यस्तो प्रेरणा सम्भव भएसम्म अरूलाई सहयोग गर्ने उद्देश्यको हुनुपर्छ। भएन भने पनि कम्तीमा अरूलाई हानि गर्नबाट बच्ने खालको हुनुपर्छ। यो ढंगबाट चल्ने हो भने हरेक पेशा उस्तै हुन्। तपाईंको पेशा जेसुकै भएपनि आशय सकारात्मक राख्न सक्नुहुन्छ। यदि हामीले आफ्नो समयलाई त्यस हिसाबले उपयोग गर्यौं र दिन, हप्ता, महिना, वर्ष र दशकहरूको उपयोग त्यसै तरीकाले गर्यौं भने हाम्रो जीवन अर्थपूर्ण बन्नेछ। त्यसो हुँदा कम्तीमा पनि हामीले आफ्नो व्यक्तिगत तहमा चित्तलाई खुशी राख्ने दिशामा काम गर्न सक्नेछौं। हाम्रो अन्त ढीलोचाँडो आउँछ, र त्यो दिन हाम्रो मनमा कुनै पश्चात्ताप हुनेछैन किनकि हामीले आफ्नो समय सिर्जनात्मक तरीकाले बिताएका हुनेछौं।
मृत्युबारे यथार्थवादी दृष्टिकोण
वर्तमान जीवन सधैंभरी रहने छैन। तर “मृत्यु मेरो शत्रु हो” भनेर सोच्नु चाहिँ गलत हुनेछ। किनकि मृत्यु जीवनको नै एक अंग हो। बुद्धधर्मको कोणबाट सोच्दा शरीरलाई एकअर्थमा आफ्नो वैरी मान्न सकिन्छ। र, हामीले यस्तो सोचाइ राख्नु पनि पर्छ, किनकि साँच्चिकै मोक्ष वा निर्वाणको उद्देश्य राख्नका लागि यस्तो दृष्टिकोण चाहिन्छ। यो जन्म, जीवन, र यसको सम्पूर्ण स्वभाव दुःखले भरिएको छ त्यसैले हामी यसबाट छुटकारा चाहन्छौं। तर यस्तो दृष्टिकोणले अनेक समस्या पनि निम्त्याउन सक्छ। यदि मृत्युलाई शत्रु मान्ने हो भने यो शरीर पनि शत्रु हुनेछ, र यो सम्पूर्ण जीवन नै हाम्रो शत्रु हुनेछ। त्यसरी सोच्नु त अलि बढी नै हुनेछ।
मृत्युको अर्थ अस्तित्वको समाप्ति हो। कम्तीमा पनि यो शरीरको अस्तित्व मृत्युसँगै सकिन्छ। यो जीवनकालमा जेजति कुराप्रति हामीले निकटको सम्बन्ध विकसित गरेका छौं, त्यसबाट बिछोडिनुपर्छ। जनावरहरूलाई पनि मृत्यु मन पर्दैन। मानिसका हकमा पनि त्यही हो। तर हामी यो प्रकृतिका अंश हौं, र मृत्यु जीवनको एक अंश। तार्किक दृष्टिले हेर्दा जीवनमा शुरुवात र अन्त दुवै हुन्छ – यहाँ जन्म पनि छ, मृत्यु पनि। त्यसैले मृत्यु अस्वाभाविक होइन। तर मलाई लाग्छ, मृत्युप्रतिको अस्वाभाविक धारणा र दृष्टिकोणका कारण हामी अनावश्यक रूपमा चिन्तित र व्याकुल हुने गर्छौं।
बौद्ध साधकका रूपमा हामीले हरेक दिन आफूलाई मृत्यु र अनित्यताका बारेमा स्मरण दिलाउनु एकदमै महत्त्वपूर्ण छ। अनित्यताका दुई स्तर छन् – स्थूल [सबै निर्मित चीजको एकदिन अन्त्य हुनेछ] र सूक्ष्म [हेतु र प्रत्ययद्वारा प्रभावित सबै चीज हरेक क्षण परिवर्तनशील छन्]। बुद्धधर्मको खास शिक्षा चाहिँ यही सूक्ष्म स्तरको अनित्यता हो। तर स्थूल स्तरको अनित्यता पनि हाम्रो साधनाको महत्त्वपूर्ण अंग हो। यसको बोधले हाम्रा त्यस्ता क्लेशलाई कम गर्न मद्दत गर्छ जो चीजहरू नित्य हुन्छन् भन्ने सोचका कारण जन्मिन्छन्।
महान राजा महाराजाहरूको उदाहरण लिऊँ। यस्ता राजा महाराजा पश्चिममा पनि थिए। विशाल दरबार र किल्लाभित्र बस्ने उनीहरू आफूलाई अजर अमर ठान्थे होलान्। तर अहिले ती संरचनाको हालत हेरौं त कस्तो छ! चीनको ग्रेटवाललाई नै हेरौं। यसको निर्माण गर्ने चीनका प्रजाले असाध्यै धेरै दुःख खेप्नुपरेको थियो। त्यो निर्माणको बेला यस्तो सोचिएको थियो होला – “मेरो शक्ति र साम्राज्य सधैँ रहनेछ।” वा, “मेरा सम्राट सधैँ रहिरहनेछन्।” बर्लिनको पर्खाल ठड्याउँदा पनि त्यस्तै भएको थियो। पूर्वी जर्मनीका कम्युनिष्ट नेताहरूले यो एक हजार बर्षसम्म रहनेछ भनेका थिए। त्यस्तो सोचाइ उनीहरूले आफूलाई, आफ्नो पार्टीलाई, र आफ्ना विचारहरूलाई असाध्यै आसक्तिपूर्वक पकड्नु र ती अनन्तसम्म रहनेछन् भनी ठान्नुको परिणाम हो।
हामीलाई सकारात्मक कामनाहरू चाहिन्छन्, ती सही प्रेरणाकै अंग हुन्। कामनाबिना गति हुँदैन। तर अज्ञानतासँग गाँजिएको कामना चाहिँ खतरनाक हुन्छ। उदाहरणका लागि, हामीमा एक खालको शाश्वतताको धारणा हुनसक्छ, जसले “म त सधैँ नित्य रहिरहन्छु” भन्ने भावना जगाउँछ। तर यथार्थ त्यस्तो हुँदैन। त्यो अज्ञानता हो। यस्तो भावनालाई तपाईंले कामनासँग लगेर जोडिदिनुभयो भने हाम्रो कामना पनि त्यही दिशामा जान्छ – अझ बढी चाहियो, अझ ज्यादा चाहियो, अझै धेरै। यसले हामीलाई थप समस्यामा मात्र पार्छ। तर प्रज्ञाका साथ गरिने कामना चाहिँ सकारात्मक हुन्छ, त्यो हामीलाई आवश्यक पर्छ।
तन्त्र साधनामा हामीलाई अनित्यताको बोध गराइराख्ने साधनहरूको आवश्यकता पर्छ। खप्पर वा त्यस्तै केही चीज, अथवा कुनै मण्डलको अभ्यासमा हामी चिहान, मसानघाट आदिको स्मरण गर्छौं। यी हामीलाई अनित्यताको स्मरण गराउने प्रतीकहरू हुन्। एक दिन म कतै जाँदा मेरो कार चिहान भएर जानुपरेको थियो। मेरो स्मृतिमा त्यो तात्तातो थियो, र सार्वजनिक भाषणमा त्यही कुरा गरेँ – “म भर्खरै एक चिहानतिरबाट आएको हुँ। त्यो हाम्रो अन्तिम गन्तव्य हो। हामी सबैले एक दिन त्यहीँ जानुपर्छ।” जीजस क्राइस्टले क्रशमा झुण्डिएर आफ्ना अनुयायीहरूलाई एक दिन मृत्यु अवश्य आउँछ भन्ने संदेश दिनुभएको थियो। बुद्धको संदेश पनि त्यस्तै थियो। अल्लाहको बारेमा मलाई थाहा छैन, किनकि उहाँको कुनै रूप छैन। तर मोहम्मदले पनि त्यही संदेश दिनुभएको थियो।
त्यसैले हामीले यो यथार्थलाई स्वीकार्नु पर्छ कि ढीलोचाँडो मृत्यु त अवश्यै आउँछ। मृत्यु अवश्यंभावी भएको कुरालाई तपाईंले शुरुदेखि नै कुनै ढंगले स्वीकार गर्न सक्नुभयो भने मृत्युका बखत व्याकुलता कम हुनेछ। बौद्ध अभ्यासीका रूपमा हामीले यो कुरा हरेक दिन स्मरण गरिरहनु पर्छ, यो एकदमै महत्त्वपूर्ण छ।
मृत्युका बखत के गर्ने
हाम्रो अन्तिम समय आयो भने त्यसलाई सहजतासाथ स्वीकार गर्नुपर्छ, कुनै विचित्रको घटना हुन लाग्यो भनेजसरी लिनु हुँदैन। अरू कुनै उपाय नै छैन। त्यो समयमा ईश्वरवादी धर्ममा आस्था राख्ने मानिसले यसरी सोच्नुपर्छ – “यो जीवन ईश्वरको सिर्जना थियो। त्यसैले यसको अन्त पनि ईश्वरकै चाहना अनुसार हुँदैछ। मलाई मर्न मन त पर्दैन, यद्यपि यो ईश्वरको सिर्जना भएकाले मृत्युको पनि कुनै अर्थ होला।” जसले सृष्टिकर्ता ईश्वरमा साँच्चिकै विश्वास गर्छ, उसले यस्तै तरीकाले सोच्नुपर्छ।
पुनर्जन्ममा विश्वास गर्ने भारतीय परम्पराका मानिसले आफ्नो भविष्यको जन्मका बारेमा सोच्नुपर्छ। चिन्ता, चिन्ता, र चिन्ता मात्र गर्न छाडेर पुनर्जन्म राम्रो होस् भन्दै उपयुक्त हेतुहरूको निर्माण गर्ने दिशामा प्रयत्न गर्नुपर्छ। उदाहरणका लागि, अन्तिम क्षणमा आफ्ना सबै सद्गुणहरूको परिणामना गर्नुपर्छ ताकि पुनर्जन्ममा तपाईंको जीवन राम्रो होस्। अनि आफ्नो आस्था जेसुकैमा भएपनि मर्ने बेला चित्त शान्त हुनुपर्छ। त्योबेला रिस, अत्यधिक डर जस्ता मनोभाव हुनु राम्रो होइन।
सम्भव भएसम्म बौद्ध साधकहरूले अहिले उपलब्ध समयलाई नै उपयोग गरेर पुनर्जन्मका बारेमा सोच्नुपर्छ। बोधिचित्त साधना र केही तन्त्र साधनाहरू यसका लागि उपयुक्त हुन्छन्। तन्त्र साधनाले बताएअनुसार मृत्युका बेला शरीरका धातुहरूको लय आठ तहमा हुन्छ – पहिले स्थूल तहमा हुन्छ, त्यसपछि सूक्ष्म तहमा। तन्त्रसाधकहरूले यसलाई आफ्नो दैनिक साधनामा समावेश गर्नुपर्छ। म हरेक दिन मृत्यु ध्यान गर्छु, फरक फरक मण्डलमा त्यो साधना गर्छु, कम्तीमा पाँच पल्ट गर्छु, त्यसैले अहिलेसम्म बाँचेको छु! आज विहान मात्र मैले तीन पटक मृत्युको अभ्यास गरिसकेँ।
यस प्रकारका अभ्यासहरूले भविष्यमा राम्रो जन्म हुने कुराको प्रत्याभूति दिन्छन्। धर्ममा आस्था नराख्नेहरूले पनि अघि मैले भनेजस्तै अनित्यताको सत्यलाई यथार्थवादी भएर सोच्नुपर्छ।
मृत्युशैय्यामा भएकालाई कसरी सहयोग गर्ने
मृत्युशैय्यामा भएका बेला कसरी सहयोग गर्ने भन्ने केही ज्ञान भएका मानिस वरिपरि भए भने मर्न लागेका मानिसलाई फाइदा हुन्छ। अघि मैले भनेजस्तै सृष्टिकर्ता ईश्वरमाथि विश्वास गर्ने मानिसका हकमा उनीहरूलाई ईश्वरको स्मरण दिलाइदिनुपर्छ। बौद्ध दृष्टिकोणबाट हेर्दा पनि ईश्वरप्रति एकचित्त श्रद्धा भयो भने फाइदै हुन्छ। जसलाई कुनै धर्ममा आस्था छैन, उनीहरूले पनि यथार्थवादी भएर सोच्नुपर्छ, उनीहरूको मनलाई शान्त रहन सहयोग गर्नुपर्छ।
मृत्युसैय्या वरिपरि रोइकराइ गर्ने आफन्तहरू छन् भने मर्ने मानिसको मन शान्त हुन सक्दैन। त्यहाँ अति धेरै आसक्ति उत्पन्न हुन्छ। यस्तो अति आसक्तिले मृत्युप्रति रिस पैदा हुने, मृत्युलाई शत्रु ठान्ने सम्भावना हुन्छ। त्यसैले त्योबेला उनीहरूको मनलाई शान्त रहन सहयोग गर्नुपर्छ। यो महत्त्वपूर्ण छ।
मलाई धेरैपटक मरणासन्न रोगी राख्ने बौद्ध केन्द्रहरूमा भ्रमणको निम्तो आउने गर्छ। अस्ट्रेलियामा यस्तै एक भिक्षुणी आश्रम छ, जहाँका भिक्षुणीहरू मरणासन्न मानिस र गम्भीर विरामीहरूको सेवामा पूर्णतया समर्पित छन्। हामीले दैनिक रूपमा गर्ने करुणाको अभ्यासलाई व्यवहारमा उतार्ने यो एक उत्तम उपाय हो। यो एकदमै महत्त्वपूर्ण छ।
सारांश
मृत्यु कुनै विचित्रको घटना होइन। हरेक दिन, सारा संसारभर मृत्यु घटित भैरहेको हुन्छ। हामी अवश्य नै मर्नेछौं भन्ने बोध भयो भने अर्थपूर्ण जीवन जिउने प्रेरणा मिल्छ। मृत्यु कुनै पनि बेला हुन सक्छ भन्ने बोध भयो भने हामी सानातिना कुरामा झगडा वा विवाद गरेर बस्ने सम्भावना न्यून हुन्छ। यसबाट हामीलाई आफ्नो जीवनको यथाशक्य सदुपयोग गर्ने र अरूलाई सकेसम्म सहयोग गर्ने प्रेरणा मिल्छ।