नैष्क्रम्य : परिभाषा तथा अन्तर्य
नैष्क्रम्य (तिब्बतीः ङेजुङ्) केही प्रकारका दुःखहरूबाट मात्र मुक्त हुने अठोट होइन, तिनका कारणहरूबाट समेत मुक्त हुने अठोट हो। यसमा ती दुःख र तिनका कारणलाई छाडिदिने तत्परता आवश्यक हुन्छ। त्यसैले यसका लागि ठूलो साहस चाहिन्छ। यो सित्तैमा कुनै राम्रो कुरा हासिल गर्ने लक्ष्य राखेजस्तो मात्र होइन।
नैष्क्रम्यमा दुःख र त्यसका कारणहरूबाट मुक्ति सम्भव छ भन्ने तथ्यमाथिको विश्वास पनि अन्तर्निहित हुन्छ। यो फगत एक राम्रो कामना मात्र होइन। यो उक्त तथ्य तलका तीनै तरिकाले सत्य हुने विश्वास या श्रद्धा (तिब्बतीः धेपा) पनि हो।
- स्पष्ट चित्तका साथ गरिने विश्वास (तिब्बतीः धाङ्वाइ धेपा), जसले सो चीजप्रतिका अशान्तकारी आवेग (क्लेश) र दृष्टिकोणहरू चित्तबाट हटाउँछ। तसर्थ सही नैष्क्रम्यले चित्तलाई दुबिधा, आत्म–दया, र मनपर्ने चीज त्याग्नुपर्दा हुने पछुतोबाट पनि मुक्त गराउँछ।
- तथ्यलाई युक्तिका आधारमा गरिने विश्वास (तिब्बतीः हिछेपा)। दुःख र यसका कारणहरूबाट मुक्ति कसरी सम्भव छ भन्ने कुरा हामीले बुझ्नु पर्छ।
- तथ्यलाई त्यसप्रति प्रणिधान राखेर गरिने विश्वास (तिब्बतीः ङोन् धेकी धेपा) । बोधिचित्तका दुई चरण (बोधिप्रस्थान र बोधिप्रणिधि) जस्तै हामीले दुःख र यसका कारणहरूका केही अंशबाट मात्र मुक्त हुने इच्छा वा तत्परता देखाउने होइन। त्यो त हामी त्यति मात्र गर्न सक्छौं भन्ने धारणामा आधारित भएर गरिने हो। वास्तवमा हामीले ती दुवैलाई त्याग्नुपर्छ। वर्तमान स्थितिमा जतिसम्म सकिन्छ, त्यतिसम्म त्याग्नुपर्छ। र, आफूलाई त्यस्तो अभ्यासमा लगाउनुपर्छ जसले दुःख र यसका कारणहरूबाट सधैंका लागि छुटकारा पाउन सकियोस्।
हामीले के बुझ्नुपर्छ भने नैष्क्रम्य अति उत्साहित भएर गरिने तर अल्पकालका लागि मात्र टिक्ने त्याग जस्तो होइन। यस्तो त्याग जोसमा आएर उन्मत्त तरिकाले सबैथोक छोडछाड गर्नेजस्तो हुन्छ जसका पछाडि कुनै बाह्य तत्वले हाम्रो उद्धार गर्छ भन्ने अन्ध श्रद्धा हुन्छ। नैष्क्रम्यमा सशक्त लगनशीलता आवश्यक पर्ने तथ्यप्रति यथार्थ दृष्टिकोण रहन्छ। अरूबाट हामीले प्रेरणा मात्र लिन सक्छौं, श्रम हामी आफैंले गर्नुपर्ने हुन्छ।
फेरि, यसमा हुने प्रगतिका बारेमा हामीले एक यथार्थवादी दृष्टिकोण राख्नुपर्ने हुन्छ। संसारबाट मुक्त हुने कुरा कहिल्यै पनि रेखीय (लिनियर) हिसाबले जाँदैन, जसमा हरेक थोक दिनदिनै सुध्रिँदै जाओस्। हामी पूर्ण रूपमा मुक्त नहुन्जेल संसारको भोगाईमा तलमाथि परिरहन्छ। दीर्घकालीन रूपमा प्रगति भैरहेको हुन्छ, तर दिनदिनैको भोगाई हेर्ने हो भने हाम्रो मनोदशामा तलमाथि भैरहेको पाउँछौं
त्यसैले बौद्ध मार्गमा हिँड्दा आइपर्ने कठिनाइहरूको सामनाका लागि हामीले अनुशासन र धैर्य राख्नुपर्ने हुन्छ। र, कवचजस्तो सुरक्षा प्रदान गर्ने हर्षपूर्ण उत्साह (वीर्य, तिब्बतीः गोछा चोन्डु) विकसित गर्नु आवश्यक हुन्छ जसले उतारचढावका बावजूद हामीलाई मार्गमा कायम राख्छ। मुक्त हुने संकल्पलाई स्पष्ट निष्ठाको आधार प्रदान गर्यौं भने हामी निराशा र कुण्ठाबाट बच्नेछौं।
चोङ्खापाका अनुसार नैष्क्रम्यका दुई चरण
मार्गका तीन प्रमुख आयाम (त्रिमूलपथ, तिब्बतीः लाम्चो नाम्सुम्) मा चोङ्खापाले निम्नानुसार अन्तर बताउनुभएको छः
- नैष्क्रम्यको प्रारम्भिक तह जसमा हामी आफ्नो मूल लक्ष्यलाई वर्तमान जीवन सुधार्नेबाट भविष्यका जीवनहरू सुधार्नेतर्फ मोड्छौं।
- नैष्क्रम्यको माध्यमिक तह जसमा हामी आफ्नो मूल लक्ष्यलाई भविष्यका जीवनहरू सुधार्नेबाट अनियन्त्रित रूपमा पुनर्जन्म दोहोरिरहने संसारबाट मुक्तितर्फ मोड्छौं।
यसमध्ये पहिलो गैरबौद्धहरूले स्वर्ग जाने लक्ष्यका साथ विकसित गर्ने नैष्क्रम्यको भावना जस्तै हो। दोस्रो चाहिँ विशुद्ध रूपमा बौद्धमार्गीहरूको हो।
सरलीकृत (“धर्म लाइट”) नैष्क्रम्य
यो अन्तरलाई हामीले एक प्रारम्भिक चरणको अभ्यासद्वारा बुझ्न सक्छौं जसलाई धर्मको सरलीकृत संस्करण (या कोकाकोलाको सरलीकृत संस्करणलाई कोकाकोला लाइट भनेजस्तै धर्म–लाइट संस्करण) भन्न सकिन्छ। यो धर्म–लाइट संस्करणमा हामी आफ्नो ध्यानलाई तत्कालको सुखभन्दा जीवनका आगामी दिनहरूलाई सुखी बनाउने वा आगामी पुस्ताहरूको हित गर्ने दिशातर्फ मोड्छौं।
धर्म–लाइट स्तरको नैष्क्रम्य बौद्ध दृष्टिकोणमा तब मात्र मान्य हुन्छ जब हामी यसलाई धर्मको वास्तविक अभ्यास (या “रियल थिंग” धर्म) का दुई तहहरूसम्म पुग्ने सोपानको रूपमा लिन्छौं। यी रियल थिंग धर्मका तहहरूसम्म पुग्नका लागि पुनर्जन्मबारे बौद्ध शिक्षा सही रूपमा बुझ्नु र तर्कसंगत ढंगले ती सत्य हुन् भनी जान्नु आवश्यक हुन्छ। नत्र हामी भविष्यका जन्महरूको सुधार गर्ने वा अनियन्त्रित रूपमा दोहोरिरहने पुनर्जन्महरूबाट मुक्त हुने लक्ष्यमा पूरा निष्ठाका साथ कसरी काम गर्न सकौंला र?
धर्म–लाइट स्तरको नैष्क्रम्यमा हामी आफ्नो जीवनमा हाल विद्यमान समस्याहरूबारे विचार गर्छौं, जस्तै हाम्रा सम्बन्धहरू, भोग्नुपरेका कठिनाइहरू आदि। तिनका कारणहरूबारे पनि विचार गर्छौं, र समस्या तथा तिनका कारण दुवैलाई त्याग्ने तत्परता देखाउँछौं ताकि आफ्नो जीवनको स्थितिलाई सुधार्न सकियोस्। त्यो पनि तत्कालका लागि मात्र होइन, भविष्यका लागि पनि। यो मनोचिकित्सा मार्फत प्राप्त हुने मुक्ति जस्तै हो।
यो तहको मुक्तिका लागि गरिने प्रयत्नजस्तै हामीले जीवनलाई सुरक्षित दिशा प्रदान गर्ने (वा शरण लिने) धर्म–लाइट संस्करणको बाटो लिन सक्छौं। मानसिक व्याकुलताको सामनाका लागि हामी आफ्नो जीवनलाई सुरक्षित दिशा प्रदान गर्छौं ताकि तिनले हामीलाई कमभन्दा कम सताउन सकुन्। मार्गदर्शनका लागि यसमा पूर्ण वा आंशिक सफलता हासिल गरेका व्यक्तिहरूको सहारा लिन्छौं।
अस्थायी नैष्क्रम्य र शरणगमन
क्रमिक मार्ग–क्रम (लाम–रिम) मा शरणगमनको चर्चाभित्र प्रथमतः प्रारम्भिक तहको व्याख्या गरिएको छ। यो नीच लोकहरूमा पुनर्जन्म हुनसक्ने सम्भावनाको त्रास र त्रिरत्नमा शरण लिँदा उच्च लोकहरूमा पुनर्जन्म होला भन्ने विश्वासमा आधारित हुन्छ। धर्म–लाइट संस्करण जस्तै नैष्क्रम्यको यो तह पनि अस्थायी मात्र हो। नैष्क्रम्यको यो पूर्ण र शास्त्रसम्मत रूप होइन।
धर्मरत्नले दुःख र यसका हेतुहरूको पूर्ण निरोध र त्यसतर्फ लैजाने चित्तको यथार्थ मार्ग जनाउँछ। प्रारम्भिक तहको धर्मरत्न वास्तविक धर्मरत्न होइन। किनकि यसमा हामीले निरोध गर्न खोजेको दुःख स्थूल तहको दुःख मात्र हो; यसको कारण व्यावहारिक स्तरका हेतु र प्रत्ययप्रतिको अनभिज्ञता मात्र हो; यहाँ दुःखको निरोध अस्थायी मात्र हुन्छ; र यसमा केवल अकुशल कर्म गर्नबाट आफूलाई रोक्नु मात्र मार्गको रूपमा रहन्छ।
फेरि, यस्तो कथित धर्मरत्न जसलाई प्राप्त हुन्छ उनीहरूको उपलब्धि केवल उच्च लोकहरूमा पुनर्जन्म मात्र हो, जसको उदाहरणमा मनुष्य र देवता पर्छन्। बुद्ध वा शून्यताको अविकल्पात्मक बोध गरिसकेका आर्य संघ यसमा पर्दैनन्।
शास्त्रसम्मत नैष्क्रम्य र शरणगमन
लाम–रिमको माध्यमिक तहमा मात्र नैष्क्रम्य र शरणगमनको पूर्ण र शास्त्रसम्मत रूप पाइन्छ। यो तहमा यथार्थ दुःखलाई तीन प्रकारमा जानिन्छ (दुःख दुःख, विपरिणाम दुःख, र संस्कारधर्म दुःख), दुःखको यथार्थ कारणमा शून्यताको अनभिज्ञता पर्छ, र यथार्थ निरोध स्थायी हुन्छ – उच्च लोकमा पुनर्जन्म हुने वा ध्यानका उन्नत अवस्था प्राप्त गर्ने मात्र हुँदैन। यहाँ यथार्थ मार्ग भनेको शून्यताको अविकल्पात्मक बोध हो।
यसप्रकारले हामी शरणगमन गर्दै आफ्नो जीवनलाई सुरक्षित दिशा प्रदान गर्छौं र यथार्थ निरोध तथा यथार्थ मार्गसहितको त्यस्तो वास्तविक धर्मरत्नको लक्ष्य राख्छौं जुन बुद्धको चित्त प्रवाहमा पूर्ण रूपमा र आर्य संघको चित्त प्रवाहमा आंशिक रूपमा विद्यमान हुन्छ।
बोधिसत्वको तहमा नैष्क्रम्य र शरणगमन
लाम–रिमको उन्नत तहमा बोधिसत्वको जस्तो नैष्क्रम्य र शरणगमन हुन्छ। यसमा सबै जीव सांसारिक दुःख र दुःखका हेतुहरूबाट मुक्त होऊन् भन्ने लक्ष्य राखिन्छ। यो फगत उनीहरूको पीडा वा केही जीवहरूको मात्र दुःखमुक्तिमा सीमित रहँदैन। सबै जीव दुःख र दुःखका हेतुहरूबाट मुक्त होऊन् भन्ने कामना “करुणा” हो जसमा त्यस्तो मुक्ति सम्भव छ भन्ने दृढ विश्वास निहित हुन्छ। करुणा बोधिसत्व तहको नैष्क्रम्यको एक पक्ष हो।
सबै जीवलाई मुक्त गराउने क्षमताको विकास गर्न हामीलाई बोधिसत्व तहको नैष्क्रम्यको अर्को पक्ष आवश्यक हुन्छ। हामीले आफ्नो मुक्तिको बाधक नकारात्मक आवेग (क्लेशावरण, तिब्बतीः न्योन् डिब्) बाट मात्र छुटकारा पाएर हुँदैन, सर्वज्ञताको बाधक ज्ञानको आवरण (ज्ञेयावरण, तिब्बतीः शे डिब्) बाट पनि छुटकारा पाउनुपर्छ। यसका लागि सर्वज्ञता के हो र यसका अवरोधहरू के हुन् भन्ने थाहा पाउनु जरुरी हुन्छ, र यस्ता अवरोधहरूबाट स्थायी रूपमा छुटकारा पाउन सम्भव छ भन्ने दृढ विश्वास पनि आवश्यक हुन्छ। साथै अन्य सबैले यस्ता अवरोधहरूबाट छुटकारा पाउन सक्छन् भन्ने दृढ विश्वास पनि आवश्यक हुन्छ।
समापन टिप्पणी
बौद्धमार्गको अनुसरण गर्दा शुरुदेखि अन्तसम्मै दुःख र यसका हेतुहरूलाई त्याग्ने तत्परता आवश्यक हुन्छ। त्यसका लागि हामीले दुःखका हेतुहरू स्वार्थीपना, आलस्य, आसक्ति, रिस, आदि हुन् भनेर चिन्नुपर्छ र तिनलाई तात्कालिक रूपमा यथाशक्य त्याग्ने र स्थायी रूपमा तिनबाट आफूलाई जतिसक्दो चाँडो मुक्त गराउन प्रयत्नशील हुनुपर्छ।
तन्त्रको साधनामा अझ गहिरो तहको नैष्क्रम्य आवश्यक हुन्छ। यहाँ हामीले स्वयंका बारेमा बनाएका धारणा र तिनमा आफूले जोडेको पहिचानलाई यथाशक्य धेरै त्याग्ने र तिनबाट साँच्चिकै छुटकारा पाउने तत्परता राख्नुपर्छ। धर्म लाइटको प्रारम्भिक स्तरदेखि तन्त्रको उन्नत स्तरसम्मै गरिने नैष्क्रम्यको अभ्यास वास्तवमै ज्यादै गहिरो र व्यापक छ।