तेस्रो आर्यसत्य ः दुःखको यथार्थ निरोध

जीवनका यथार्थ दुःखहरू र तिनका यथार्थ कारणको पहिचान गरिसकेपछि यदि हामी तिनबाट साँच्चिकै छुटकारा पाउन चाहन्छौं भने तिनलाई फेरी दोहोरिनबाट रोक्नुपर्छ। बुद्धले आफ्नै अनुभूतिबाट जान्नुभएको र अरूलाई ज्ञान दिनुभएको तेस्रो आर्यसत्य के हो भने सबै दुःखलाई र तिनका कारणहरूलाई फेरी कहिल्यै दोहोरिन नदिने गरी यथार्थ निरोध गर्न सम्भव छ। यो किन सम्भव छ भने चित्तको वास्तविक स्वरूप शुद्ध छ।

यथार्थ दुःख र तिनका यथार्थ कारण

बुद्धले बताउनुभएको छ कि जीवनमा हामीले सामना गर्नुपर्ने व्यक्तिगत दुःखहरू धेरै छन्, तर यथार्थ दुःख भनेको ती दुःखहरूलाई बारम्बार उत्पन्न गराउने क्रियालाई आफैंले निरन्तरता दिनु हो। हामी अनियन्त्रित रूपमा उतारचढाव भैरहने बेखुसी वा असन्तुष्टिपूर्ण खुसीको अनुभव गरिरहन्छौं, र प्रत्येक पुनर्जन्ममा एक सीमित क्षमतायुक्त शरीर र मनलाई ग्रहण गरिरहन्छौं; तिनैलाई आधार बनाउँदै त्यस्तै भावनात्मक उतारचढाव भोगिरहन्छौं। बुद्धले के पनि बताउनुभयो भने यो सबैलाई निरन्तर कायम राख्ने यथार्थ कारण हाम्रो आफ्नो मनभित्रै छ।

हाम्रो मनले हामी जुन व्यवहार गर्छौं त्यसको आफू तथा अरूमा हुने असर, र हामी आफैं तथा अन्य सम्पूर्ण जीव जगत कसरी अस्तित्वमा छन् भन्ने सम्बन्धमा गलत प्रक्षेपण गर्छ। “म” भन्ने एक ठोस, आत्म–निहित सत्ताको रूपमा आफू अस्तित्ववान छु भन्ने काल्पनिक प्रक्षेपण हामी गर्छौं। त्यस्तै मनलाई हामी मस्तिष्कभित्र भएको एक ठोस तत्त्व हो भन्ठान्छौं र त्यसैमा आफूलाई तादात्म्य गर्न खोज्छौं, किनकि यसले बोलिरहेको कुरा आफैंले बोलिरहेजस्तो लाग्छ। अथवा यसलाई कुराहरू बुझ्ने र सोच्नलाई प्रयोग गरिने यन्त्र हो भन्ठान्छौं। यी दुवै प्रक्षेपण यथार्थसँग मेल खाँदैनन् भन्ने कुराप्रति हामी अनभिज्ञ हुन्छौं; अझ खराब त के भने ती यथार्थ नै हुन् भन्ने ठान्छौं। 

तपाईंलाई कहिल्यै “मलाई कसैले माया गर्दैन, कसैलाई मेरो आवश्यकता नै छैन” भन्दै आफूप्रति टीठ लागेको छ? अथवा कुनैबेला अति तनावग्रस्त भएर “म केही चीज पनि राम्रोसँग गर्न सक्दिन, यो त मेरा लागि सम्हाल्नै नसक्ने अवस्था भयो” भन्ने सोच्नुभएको छ? के त्यो सुखी चित्तको अवस्था हो? अवश्य पनि होइन। हामी आफूप्रतिको टीठ र बेखुसीमै डुबेर बसिराख्न सक्छौं, अथवा यस्तो मनोभावबाट मुक्ति खोज्न पनि सक्छौं। मुख्य कुरा यो अवस्थालाई कसरी लिने भन्ने हो। कुनैबेला लाग्छ यो अवस्था एक रंग भर्ने किताबजस्तो हो, जहाँ बेखुसी कालो बादल जस्तै वरिपरी ठोस रेखाले घेरिएर आत्म–निहित भई बसेको छ। योसँग एक “म” छ, जो आफैं एक ठोस रेखाभित्र घेरिएर आत्म–निहित भई बसेको छ। यो भ्रमलाई यथार्थ हो भन्ने सोच्छौं, किनकि हामीलाई फगत त्यही नै सत्य हो जस्तो लाग्छ। यस्तै सोचका आधारमा हामी विचलनकारी आवेग (क्लेश) ले युक्त हुन्छौं, र कसैको प्रेममा तीव्र आसक्तिले भरिन्छौं अथवा उसले प्रेम गर्न मानेन भने रिसाउँछौं। यस्तो आवेगले एक बाध्यकारी कार्मिक बल उत्पन्न गर्छ र हामी उक्त व्यक्तिलाई आफूसँग समय व्यतीत गर्न तथा आफूलाई प्रेम गर्न दवाब दिन्छौं। यदि उसले मानिहाल्यो भने पनि त्यसबाट प्राप्त हुने अल्पकालीन खुसीले हामीलाई कदापि पुग्दैन र हामी थप आग्रह गरिरहन्छौं। यसबाट दुःखको पुनरावृत्ति भैरहन्छ। 

यो गोलचक्करमा मन भ्रमित र अस्पष्ट हुन्छ। हामी सोझो तरीकाले सोच्न सक्दैर्नौं र हाम्रो व्यवहार नियन्त्रणबाहिर पुग्छ। तर के यस्तै भ्रम हाम्रो मनको शुद्ध स्वरूप हो त? यसको उत्तर जान्नका लागि बुद्धधर्ममा केलाई “मन” भनिन्छ त्यो जान्नुपर्छ। मन भनेको टाउकोभित्र भरिएको आत्म–निहित बस्तु होइन, बरू यसले एक मानसिक प्रकृयालाई जनाउँछ। यो कुनै कुराको अनुभूति गर्ने अलग र विषयगत मानसिक प्रकृया हो। भिन्न भिन्न चीज भिन्न भिन्न अवस्थामा भिन्नै तरिकाले अनुभूतिमा आउँछन्, त्यसैले मन निरन्तर परिवर्तन भैरन्छ। तर यसको सामान्य प्रकृति सधैँ उस्तै रहन्छ। यसको गहनतम (पारमार्थिक) स्वभाव पनि सधैँ उस्तै नै छ––त्यो के भने यो असम्भव तरिकाले अस्तित्वमा रहन सक्दैन। 

यो मनको अनेक खाले असम्भव अस्तित्वको कल्पना हामी गरिरहेका हुन्छौं। उदाहरणका लागि, हामी यो मनलाई एक ठोस वस्तुका रूपमा लिन्छौं, र यसको तादात्म्यता “म” भनिने अर्को ठोस वस्तुसँग अथवा उक्त “म” ले प्रयोग गर्ने कुनै चीजसँग रहेको ठान्छौं। यी दुवै मिथ्या धारणा हुन् र यिनको सम्बन्ध चित्तको वास्तविक स्वरूपसँग छैन। यी कोरा कल्पना मात्र हुन्, चित्तको वास्तविक स्वरूपको अंग यी होइनन्। त्यसैले यस्ता कल्पनामा आधारित कुनै पनि मानसिक व्यवस्था चित्तको वास्तविक स्वरूपको अंग हुन सक्दैन। यी मानसिक व्यवस्थाहरूमा “म” प्रतिको मिथ्याभाव रहन्छ। यो मिथ्याभाव त्यस्तो क्लेश हो जो उक्त “म” लाई बचाइराख्न र “म” लाई नै टेवा दिने निरर्थक कामहरूमा हामीलाई लगाउन उत्पन्न हुन्छ। यी केही पनि चित्तको वास्तविक स्वरूपका अंग होइनन्, बरू वास्तविक स्वरूपबारे भएको मिथ्या धारणाका अंग हुन्। त्यसैले यदि यस्ता मिथ्या धारणालाई सही बोधले प्रतिस्थापित गर्न सकियो भने तिनका अंगहरू पनि सधैँका लागि समाप्त हुनेछन्। अर्कातर्फ, मैत्री र करूणा जस्ता सकारात्मक मनोभावहरू चित्तको वास्तविक स्वरूपप्रतिको मिथ्या धारणामा आधारित छैनन्। यो अन्तरका कारणले सही बोध प्राप्त हुँदा पनि ती रहन्छन्।

तसर्थ, दुःखको यथार्थ निरोध भनेको सिंगै हाम्रो चित्तको निरोध होइन। मैत्री, करुणा, सम्यक दृष्टिजस्ता सद्गुणहरूका साथ यो चित्त एक जीवनबाट अर्को जीवनमा चलिरहन्छ। निरोध हुने भनेको अज्ञान, विचलनकारी आवेग र बाध्यकारी कार्मिक प्रवृत्तिका कारण सीमित क्षमतायुक्त शरीर र मनका साथ अनियन्त्रित रूपमा भैरहने बारम्बारको पुनर्जन्मको श्रृङ्खला हो। 

यथार्थ निरोधका चार पक्ष

तेस्रो आर्यसत्य, अर्थात् यथार्थ निरोधका चार पक्ष छन्।

  • प्रथमतः यो सबै खाले दुःखहरू उत्पन्न गराइराख्ने यथार्थ कारणहरूको यथार्थ निरोध हो। हुनत दुःखको हरेक अध्यायको समाप्ति स्वतः पनि हुन्छ, किनकि हेतु र प्रत्ययहरूको प्रभावले बनेको हरेक चीज अनित्य हुन्छ, त्यसैले त्यसको समाप्ति हुनै पर्छ। “यथार्थ निरोध” को अर्थ के हो भने यस्ता अध्यायको पुनरावृत्ति हुँदैन। चित्तको स्वरूप शुद्ध छ, त्यसैले यो यस्ता यथार्थ कारणहरूबाट पनि मुक्त छ। यो तथ्य जानेपछि यथार्थ दुःखहरूको पुनरावृत्ति भैरहनुबाट मुक्ति हुन सक्दैन भन्ने मिथ्या धारणा काटिन्छ। 
  • दोस्रो, यथार्थ निरोध भनेको शान्तिपूर्ण अवस्था हो किनकि यसमा सबै विचलनकारी मानसिक तत्त्वहरू शान्त भैसकेका हुन्छन्। जसरी कडा दुखाइनिवारक औषधिको सेवनले हामीलाई दुखाइ थाहा हुँदैन, त्यसैगरी गहन एकाग्रता उपलब्ध भयो भने हामीलाई दुःख थाहा हुँदैन। तर त्यो नै हाम्रा सबै दुःखको साँच्चिकै अन्त हो भन्ठान्नु भन्नु मिथ्या धारणा हो, जसलाई यथार्थ निरोधको प्राप्तिले काट्छ। एकाग्रताको अवस्थामा हामी जति नै बेर दुःख र पीडा अनुभव नगरी बसे पनि हाम्रो समस्याको यथार्थ कारणको निराकरण भएको हुँदैन। यो त केही बेरलाई अवकासको अवस्था जस्तो मात्र हो। जब एकाग्रताको अवस्था सकिन्छ, अर्थात् औषधिको प्रभाव सकिन्छ, हाम्रा समस्या पुनः फिर्ता आइहाल्छन्।
  • तेस्रो, यथार्थ निरोध उच्चतम अवस्था हो। कुनै पनि सांसारिक उपलब्धिभन्दा यो माथिको अवस्था हो। अत्यन्तै सुन्दर कृत्रिम संसारको निर्माण गरेर त्यसमा हामी पलायन हुन सकौंला, तर आफ्ना यथार्थ दुःख र तिनका यथार्थ कारणबाट बच्न सक्दैनौं। त्यसरी त्यहाँ लुक्दैमा यो “यथार्थ संसार” का हाम्रा समस्याहरू हराएर जाँदैनन्। 
  • अन्तमा, यथार्थ निरोध सबै यथार्थ दुःख र तिनका यथार्थ कारणहरूबाट निश्चित रूपमा पूर्ण छुटकारा भएको अवस्था हो, आंशिक वा अस्थायी छुटकारा मात्र होइन। हुनत यो छुटकाराका पनि विभिन्न तहहरू र चरणहरू हुन्छन्, किनकि आफू र अरू सबै जीव तथा जगत कसरी अस्तित्ववान छन् भन्ने सम्बन्धमा हाम्रो अज्ञान र मिथ्या धारणा एकदमै गहिरो आदत तथा प्रवृत्तिका रूपमा गाडिएर बसेका हुन्छन्। तैपनि तिनको पूर्ण निराकरण गर्न सम्भव छ, ताकि ती कहिल्यै फर्केर नआउन्। यो सम्भव छ, किनकि ती चित्तको शुद्ध स्वरूपका अंग होइनन्। ती क्षणिक दाग मात्र हुन्, चित्त त आफ्नो स्वभावैले शुद्ध छ।  

सारांश

यदि यथार्थ दुःखहरूलाई निरन्तर कायम राख्ने यथार्थ कारणहरूबाट सदाका लागि आफूलाई छुटकारा दिलाउन सम्भव छ भने किन तिनलाई केही कम गर्ने वा क्षणिक रूपमा दबाउनेमा मात्र सीमित हुनु? अवश्य पनि, तिनबाट सदाका लागि मुक्ति पाउनका लागि तिनीहरूको दोहोरिने क्रम र तीव्रतालाई क्रमशः कम गर्दै लैजानु पर्छ। बुद्धले बताउनुभएको छ, हामी तिनीहरू सबैको पूर्ण निरोध गर्न सक्छौं। त्योभन्दा कमको लक्ष्य किन लिनु? 

Top