पूर्व कर्मको सकारात्मक शक्ति वर्तमान जीवनमा सफलताको कारक बन्न सक्छ
मानिसहरू पनि अनेक प्रकारका छन्। भविष्यको जन्म सुधार गर्नेसम्मको रुचि भएका मानिस पाउनु नै एकदमै दुर्लभ छ, बोधि प्राप्तिको कुरा त परै जाओस्। धेरै मानिस आफ्नो यही जन्मको लागि मात्र सुखको कामना गरिरहेका हुन्छन्। हुनत हामी सबै त्यस्तै कामना गर्छौं, हामी सबै सुख नै चाहन्छौं, कसैलाई पनि दुःख वा समस्या मन पर्दैन।
यो जीवनकालमा सुख चाहनेका लागि दुई प्रकारका सुख छन्ः शारीरिक र मानसिक। अधिकांश मानिस त कुनै न कुनै प्रकारको शारीरिक सुखको पूर्तिमा मात्र पूर्णतया केन्द्रित रहन्छन्। तर त्यसका लागि जति प्रयत्न गरेपनि र केही मात्रामा सुख प्राप्त गर्न सकेपनि हामीमध्ये धेरैलाई सुखको सही उपाय थाहा हुँदैन। उदाहरणका लागि कतिपय मानिस खानेकुरा, कपडा, वासस्थान वा मानसम्मानका खातिर व्यक्तिको हत्या गर्ने वा निर्दोष प्राणीहरूको बध गर्ने हदसम्म जान सक्छन्। कोही चोरी गर्छन्, कोही धोखाधडी त कोही डकैती गर्छन्। यो सबै सुखका खातिर वा कुनै प्रकारले भौतिक लाभ होस् भन्ने उद्देश्यले गर्छन्। तर जति प्रयत्न गरे पनि उनीहरूलाई आफ्नो कल्याणको सही उपाय भने थाहा हुँदैन। त्यसैले सुख होइन, आफ्ना लागि झन् बढी समस्याहरू सिर्जना गर्छन्।
अर्कातर्फ त्यस्ता व्यक्तिहरू पनि छन् जो जीवनयापनका लागि इमान्दार तरीका अपनाउँछन्। उनीहरूले व्यापार, व्यवसाय, कृषि, शिक्षा, कला, वा अन्य कुनै क्षेत्र अपनाएका हुन सक्छन्। यी व्यक्तिहरूलाई पनि दुई समूहमा बाँड्न सकिन्छ। एक त तिनीहरू जो सफल हुन्छन् र धनसम्पत्ति आर्जन गर्छन्। अर्को, तिनीहरू जो त्यत्ति सफल हुँदैनन् वा विल्कुलै असफल हुन्छन्। प्रश्न उठ्छ – यसको कारण के होला? किन कोही सफल हुन्छन् र कोही विफल? मानिसले आफ्नो विगतको जीवनकालमा जे जस्ता बीजहरू रोपेका छन् र जे जस्ता प्रवृत्तिहरू संग्रहित गरेका छन्, त्यसैअनुसारको फल हुन्छ। जसले विगतको जीवनमा विध्वंसात्मक काम गरेको हुन्छ, उसले त्यस्तै ठूलो नकारात्मक उर्जा संग्रहित गर्छ। परिणामस्वरूप उ यो जीवनमा असफल हुन्छ। जसले विगतको जीवनमा सिर्जनात्मक काम गरेको हुन्छ, उसले त्यस्तै सकारात्मक उर्जा संग्रहित गर्छ। त्यसले उसको वर्तमान जीवनलाई सफल वा सुखपूर्ण बनाउन भूमिका खेल्छ।
यदि तपाईंलाई मानिसको सफलता वा विफलतासम्बन्धी यस्तो व्याख्या चित्त बुझेन भने मान्नुुहोस् कि यो खालको अनमेल अवस्था हुनुपर्ने कुनै कारण नै छैन। यदि मानिसहरू उत्तिकै परिश्रम गर्छन् र उनीहरूको क्षमता एकैसमान छ भने सबैलाई सफलता पनि एकसमान नै प्राप्त हुनुपर्ने हो। कसैले सोच्लान्, सफलता उनीहरूले वर्तमान जीवनकालमा आजीविकाको लागि गर्ने कामको प्रकारमा निर्भर गर्छ — जस्तै व्यापार वा वाणिज्य। तर त्यसो हुँदैन। विगतका जीवनकालमा हामीले गरेका सकारात्मक कामद्वारा सिर्जित उर्जा वर्तमान जीवनमा सफलताको वास्तविक कारण (हेतु) बन्छ। वर्तमान जीवनमा हामीले गर्ने काम र व्यवहार त्यस्ता हेतुहरू फलित हुने परिस्थिति वा प्रत्यय बन्छन्, अर्थात् तिनलाई फलित हुने अवसर प्रदान गर्छन्।
यसप्रकारले हाम्रो सफलता हेतु र प्र्रत्ययहरूमा निर्भर गर्छ, जो एकैसाथ उत्पन्न हुन्छन्। हेतु विगतका जन्महरूबाट आउँछन्, ती सञ्चित उर्जाका रूपमा धेरै जन्महरूमा संग्रहित भएका हुन्छन्। प्रत्यय अर्थात् परिस्थिति चाहिँ यो जन्ममा हामीले लगाउने समय र श्रमद्वारा सिर्जित हुन्छ। फल प्राप्तिका लागि यी दुवै साथसाथै आउनुपर्छ।
भविष्यको जन्मको चिन्ता
यस जन्ममा मानिसहरू जति नै समृद्ध भएपनि र जति नै भोगविलासका सामग्रीले युक्त भएपनि आफूले संग्रह गरेका ती सबै सम्पत्तिबाट कोही पनि सन्तुष्ट भएको देखिँदैन। “मैले पाउनु पर्ने कुरा पर्याप्त पाइसकेँ, अब योभन्दा बढी मलाई चाहिएन” – कसैले यसो भन्दैन। मानिसहरू आफूसित भएको कुरामा कहिल्यै सन्तुष्ट हुँदैनन्। तिनीहरू सँधै त्योभन्दा बढीको चाहना गर्दछन्। त्यसका लागि उनीहरू जीवनभर पेशा–व्यवसायका पछाडि दौडिरहन्छन्। तर त्यस्तो पेशाको दौड कहिल्यै पूरा हुँदैन।
यो क्रम कहिल्यै नटुङ्गिने गरी दोहोरिरहन्छ। मानिलिऊँ हामी त्यस्तो किसान हौं जो सालैभरी हरेक ऋतुमा रोपाईं गरिरहन्छ, खेतको देखभाल गरिरहन्छ, र बाली काटिरहन्छ। एउटा ऋतु सकिएर अर्को आउँछ, उ पुनः त्यही सबै गर्छ। हामीले गर्ने पेशा–व्यवसायको दौड पनि त्यस्तै हो।
यो दौड एक दिन हठात् रोकिनेछ भनेर हामी सोच्दैनौं। तर मृत्यको समयमा यो रोकिएरै छाड्छ। त्यतिखेर हाम्रो मनमा खुशी हुँदैन, बरु शोक र संताप हुन्छ।
त्यसैले ती मानिस जो केबल खानेकुरा, लत्ताकपडा र मानसम्मान प्राप्त गर्ने उद्देश्यले पेशाको दौडमा आफ्नो जीवन बिताउँछन्, तिनीहरूले खासमा आफैंलाई ठगिरहेका हुन्छन्। उनीहरूले शारीरिक सुखसयलको सामान त जुटाउलान्, तर मानसिक रूपमा खुशी हुन सक्दैनन्। मानसिक खुशीको अभावमा उनीहरूको जीवन असन्तुष्टिमै बित्छ र दुःखी चित्तका साथ उनीहरू मर्छन्।
त्यसैले हामीले दीर्घकालीन रूपमा मानसिक खुशी प्राप्त हुने काम गर्नु जरुरी छ। जीवनभरका लागि भौतिक सुखसुविधाको सामान हासिल गर्यौं भने पनि त्यसबाट प्राप्त खुशी दीर्घकालीन हुन सक्दैन। साँच्चिकै दीर्घकालीन खुशी चाहने हो भने हामीले पुनर्जन्मको चिन्ता गर्नुपर्छ, किनभने त्यसरी चिन्ता गर्नाले हामी वास्तविक अर्थमा दीर्घकालीन खुशीका लागि काम गर्न सक्नेछौं।
यदि भविष्यका जन्महरूसम्म खुशी प्राप्तिको उद्देश्यले काम गर्छौं भने हाम्रो बाटो आध्यात्मिक हुनेछ, हामी धर्मको आध्यात्मिक अभ्यासमा लागेका व्यक्ति हुनेछौं। तर यो जन्मको क्षणिक सुखको मात्र चिन्ता गर्छौं भने हामी सांसारिक र भौतिक व्यक्ति हुनेछौं। भविष्यका जन्महरूलाई समेत ध्यानमा राखेर काम गर्नु नै आध्यात्मिक बन्नु हो।
भविष्यका जन्महरूसम्मको खुशीका लागि अकुशल कर्मबाट बच्नु आवश्यक
भविष्यका जन्महरूसम्म खुशी सुनिश्चित गर्न धर्मका केही “निवारक उपायहरू” अपनाउनुपर्ने हुन्छ। स्पष्टरूपमा भन्नुपर्दा यसको अर्थ अकुशल कर्म (विनाशात्मक व्यवहार) गर्नबाट बच्नु हो। यस्ता दश अकुशल कर्म छन्, जसमध्ये तीन शरीरसँग सम्बन्धित, चार वचनसँग सम्बन्धित, र तीन मनसँग सम्बन्धित छन्। यी सबै अकुशल कर्म गर्नबाट आफूलाई रोक्ने र जोगाउने हो भने हामी भविष्यका जन्महरूसम्म पनि खुशीको मार्ग प्रशस्त गर्न सक्छौं।
सकारात्मक खालका (कुशल) कर्म गर्नाले हामी आध्यात्मिक पथमा अग्रसर हुन्छौं जसबाट वर्तमान र भविष्यका जन्महरूमा हाम्रो परिस्थिति सुध्रिँदै जानेछ। उदाहरणका लागि, आशयपूर्वक कुनै जीवजन्तु वा किराफट्याङ्ग्रालाई मार्दा अथवा आशयपूर्वक चोरी गर्दा परिणाम पक्कै पनि विनाशात्मक आउँछ र त्यसले हामीलाई हानि हुन्छ। यस्तो परिणामप्रति सचेत रहनु कुशल कर्म हो। परिणामप्रति हामी सचेत हुन्छौं, र नमार्ने तथा नचोर्ने दृढ संकल्प लिन्छौं। जब मानिसले यस्तो संकल्प लिन्छ, नैतिकता र सदाचारको भित्री चेतनाले उसलाई त्यस्तो विनाशात्मक काम गर्नबाट बचाउँछ। कुनै प्रहरी वा सेनाको टुकडीले पहरा दिएर उ असल र सकारात्मक काममा प्रवृत्त हुन्छ कि हुँदैन हेरिराख्नु पर्दैन।
यसरी दृढ रूपमा शील पालना गर्नु माथि भनिएजस्तो निवारक उपाय अपनाउनु हो। यसले हामीलाई खुशी चित्तका साथ मर्न सहयोग गर्छ। नत्र हामी एकदमै दुःख र विषादले भरिएको चित्तका साथ मर्नेछौं। यदि यस्तो निवारक उपाय हामीले अपनाएका छौं र शीलवान जीवन बिताएका छौं भने मृत्युको बेला कुनै चिन्ता हुने छैन। हामी यो सुनिश्चितताका साथ मर्न सक्नेछौं कि आगामी जन्म पनि मनुष्य वा कुनै देवलोकमा देवताका रूपमा हुनेछ। हामी इन्द्र वा त्यस्तै कुनै देवताका रूपमा पनि जन्मिन सक्नेछौं।
सबै लोकमा समस्याहरू अनियन्त्रित रूपमा दोहोरिरहन्छन्
तर हामी मनुष्यलोकमा वा देवलोकमा देवताको राजाकै रूपमा जन्मियौं भने पनि समस्याहरू त आइ नै रहन्छन्। ती समस्याहरू बारम्बार र अनियन्त्रित रूपमा दोहोरिरहन्छन्। हामी कुन ठाउँमा जन्मियौं भन्ने कुराको कुनै अर्थ हुँदैन। त्यसैले अहिलेभन्दा खराब लोकमा जन्म नहोस् भन्ने उद्देश्यले मात्र अकुशल कर्मबाट जोगिनु र शीलपूर्ण जीवन बिताउनुको खासै अर्थ हुँदैन। जुनसुकै लोकमा र जुनसुकै रूपमा जन्मिए पनि हामीलाई आइपर्ने समस्याहरू रोकिने छैनन्।
त्यसैले हामीलाई योभन्दा माथिल्लो स्तरको प्रेरणा चाहिन्छ। उदाहरणका लागि, यदि हामीले स्थिर र शान्त चित्तको विकास गर्ने उद्देश्यले “शमथ” (संस्कृतमा) अर्थात् “शिने” (तिब्बतीमा) को अभ्यास गर्यौं भने परिणामस्वरूप हाम्रो पुनर्जन्म उच्च लोकहरूमा देवताका रूपमा हुनसक्छ। त्यस्तो लोकमा हुने सत्त्वहरू अलौकिक स्वरूपका वा रूपविहीन हुन सक्छन्। उक्त लोकमा उपलब्ध समस्त वैभवको हामी उपभोग गर्न सक्छौं। तर त्यस्ता उच्च लोकहरूमा पुनर्जन्म भयो भने पनि त्यसमा एकदमै विशेष केही हुनेवाला छैन। यो त कुनै गगनचुम्बी भवनको टुप्पामा पुगेको जस्तो मात्र हुनेछ, त्यहाँ पुगिसकेपछि फर्कनु बाहेक गर्नलाई अरु केही बाँकी रहँदैन।
बुद्धको वचनमा विश्वास
त्यसैले जुनसुकै लोकमा जन्मेपनि आफ्ना समस्याहरूबाट पार पाउन त्योभन्दा पर्तिर जाने प्रयास गर्नु आवश्यक छ। त्यसका लागि हामीले आफ्ना दुःख र समस्याहरूको मूल जरोमै पुग्नुपर्छ। प्रज्ञा जागृत गर्दै यथार्थ र भ्रमबीच स्पष्टसँग भेद गर्न सकेमा हामी त्यहाँसम्म पुग्न सक्छौं। यसरी हामी अन्ततः शून्यताको बोध गर्न सक्षम हुनेछौं। शून्यता बोधको अर्थ अस्तित्वबारे हाम्रा कपोलकल्पित धारणाको पूर्ण अभाव हुनु हो। यथार्थको यसरी स्पष्टसँग बोध भएपछि हाम्रा भ्रमपूर्ण प्रक्षेपणहरूको अन्त हुनेछ। यसैका माध्यमबाट हामी हरेक जीवनकालमा भोग्नुपर्ने दुःख र समस्याहरू अन्त गर्न सक्नेछौं। यसले हामीलाई चिरस्थायी खुशी प्रदान गर्छ। यो अवस्था हामी सबैले हासिल गर्न सक्छौं।
बुद्धका वचन संग्रहित शास्त्रीय ग्रन्थहरूबाट हामी शून्यताको शिक्षा लिन सक्छौं। तर ती ग्रन्थहरू प्रामाणिक भएको कुरामा कसरी विश्वस्त हुने? शून्यता मात्र नभई त्यहाँ प्रस्तुत बुद्धका अन्य सबै शिक्षा पनि प्रामाणिक हुन् भनी कसरी यकिन गर्ने? यसका लागि हामीले तर्क र विश्लेषणलाई आधार बनाउनुपर्ने हुन्छ। शून्यताकै उदाहरण लिऊँ। शून्यता शिक्षाको प्रामाणिकता स्थापित गर्न हामी तार्किक विश्लेषणको सहारा लिन्छौं। त्यस्तै गहन एकाग्रता र शान्त तथा स्थिर चित्तको प्राप्तिका लागि दिइएका शिक्षाको प्रामाणिकता थाहा पाउन हामी तिनलाई प्रयोग गरेर हेर्छौं। आफैँले त्यस्तो अवस्था हासिल गरेपछि ती शिक्षाको प्रामाणिकतामा हामीलाई यकिन हुन्छ। गहन एकाग्रताको उप–उत्पाद (बाइ–प्रोडक्ट) का रूपमा प्राप्त हुने अद्भूत र अतीन्द्रिय अभिज्ञाहरूको अनुभव पनि हामीलाई हुन सक्छ। यसरी आफ्नै अनुभवबाट हामी बुद्धले दिनुभएका शिक्षा सत्य भएको कुरा पक्कासँग जान्न सक्छौं।
एवंप्रकारले तर्क तथा व्यक्तिगत अनुभवको कसीमा राख्दै आफ्नै कडा परिश्रम तथा प्रयत्नका बलले हामी बुद्धका शिक्षा बुझ्ने काम गर्छौं। यसरी बुद्धवचनको प्रामाणिकतामा पक्कासँग यकिन गर्न सक्छौं। यसरी दृढ विश्वास उत्पन्न भएपछि हामी बुद्धले दिनुभएका अन्य बुझ्न कठिन शिक्षामाथि पनि यकिन गर्न सक्छौं।
उदाहरणका लागि, बुद्धले भन्नुभएको थियो – हामीले सकारात्मक व्यवहार गर्यौं भने परिणामस्वरूप पुनर्जन्म हुँदा उत्तम गति प्राप्त गर्नेछौं र मनुष्य वा देवताको रूपमा हाम्रो जन्म हुनेछ। तर, यदि हामीले विनाशात्मक वा नकारात्मक व्यवहार गर्यौं भने परिणामस्वरूप नरकलोकको जीव, प्रेत वा पशुको रूपमा जन्मिनेछौं। यो हामीले गर्ने व्यवहार र कार्य–कारण सम्बन्धमा तिनको प्रभावको चर्चा हो, जसलाई हाम्रो सामान्य अनुभव वा तर्कको आधारमा पुष्टि गर्न सकिँदैन। तर हामीले केवल धार्मिक ग्रन्थहरूप्रति अन्ध श्रद्धाको आधारमा मात्र त्यसलाई स्वीकार्नु पर्दैन, यसमा तर्कलाई आधार बनाउन सकिन्छ। यदि गहन एकाग्रता (समाधि) को अनुभव र शून्यताको बोधसम्बन्धमा बुद्धले दिनुभएका उपदेश तर्क र अनुभवका आधारमा पुष्टि गर्न सकिन्छ भने त्यसै सन्दर्भमा हामीले गर्ने कर्म र त्यसको नतिजासम्बन्धमा उहाँले दिनुभएका उपदेशलाई पनि स्वीकार गर्न सकिन्छ।
तसर्थ शून्यता, यथार्थता, र हामीले सोचेजस्तो असम्भव अस्तित्वको पूर्ण अभावजस्ता विषयमा बुद्धले दिनुभएका उपदेशबारे गम्भीर भई सोच्नु आवश्यक छ। यी सही छन् भनेर बुझेपछि हामीले बुद्धका थप कथनहरूमाथि विचार गर्नु आवश्यक हुन्छः जस्तै, सकारात्मक व्यवहारले हामीलाई खुशी दिन्छ र विनाशकारी तथा नकारात्मक व्यवहारले दुःख। यसरी बुद्धका यी भनाइहरु पनि सही छन् भन्नेमा हामी थप विश्वस्त हुनेछौं र त्यही विश्वासका आधारमा आफ्नो व्यवहारमा आवश्यक परिवर्तनहरू ल्याउने निर्णय गर्नछौं। यदि हामी खुशी हुन चाहन्छौं भने त्यस्तो व्यवहार गर्नुपर्दछ जसबाट खुशी पाइयोस्। अर्थात्, हामीले रचनात्मक र सकारात्मक कार्य गर्नु आवश्यक छ।
नैष्क्रम्य ः सबै दुःखबाट मुक्तिको अठोट
अहिले हामीलाई प्राप्त यो उत्कृष्ट मानव जीवन र यसका कारण प्राप्त आध्यात्मिक प्रगतिका सबै अवसरहरूका बारेमा हामीले विचार गर्नु उपयोगी हुनेछ। यस्तो उत्तम पुनर्जन्म हामीले त्यत्तिकै प्राप्त गरेका होइनौं। यो विगतका जन्महरूमा हामीले कमाएका थुप्रै सकारात्मक सञ्चित उर्जाहरूको परिणामस्वरूप प्राप्त भएको हो। हामीले धेरै रचनात्मक र सकारात्मक कार्यहरू गरेको हुनुपर्दछ, र त्यसैको बलमा यस्तो पुनर्जन्म र यी अवसरहरू पाएका छौं। त्यसकारण हामीले यस अवसरलाई व्यर्थ खेर फाल्नु हुँदैन। यदि हामी खाने, लाउने, सामाजिक मान प्रतिष्ठा आर्जन गर्नेलगायत यसै जन्मका सानातिना कुराहरुमा मात्र पूर्णरूपमा अल्झिरहन्छौं भने यो जीवन खेर जानेछ। यदि यस्तै कुराहरू हाम्रो एकमात्र ध्येय बनिरहे भने यो एक जुनीको भोगलिप्साबाट हामी उम्किन सक्नेछैनौं।
अर्कातर्फ, यदि हामीले आफ्नो सम्पूर्ण प्रयत्न भविष्यको जीवनमा सुखसयल प्राप्ति होस् भन्नेमा लगायौं र इन्द्रजस्तै देवताको रूपमा जन्मिने आकांक्षा राख्यौं भने पनि उत्तिकै समस्या हुनेछ। यस्तो देवताको जीवनलाई एकपटक विचार गरौं। यी देवतालाई असाध्यै धेरै सुख प्राप्त छ र तत्कालका लागि कुनै समस्या सतहमा देखिँदैन। तर मृत्युको बखत उनीहरूलाई असाध्यै धेरै ग्लानि र पश्चात्ताप हुनेछ, किनकि जिन्दगीभरको सुखसयल एक सपनाजस्तो सकिनेछ। मृत्युको बेला ती देवतालाई ज्यादै दुःख र बेखुशीको अनुभव हुनेछ। त्यसैले यस्तो देवलोकमा जन्मिने उद्देश्य राख्नाले हाम्रो समस्याको समाधान हुँदैन।
हामीले आफूलाई प्राप्त यो मानव शरीरलाई नै अभ्यासको आधार बनाउँदै यसको सकेसम्म सदुपयोग गर्नुपर्छ, किनकि यो जीवन पनि एक दिन नष्ट हुनेवाला छ। त्यस्तो कोही मानिस छैन जो जन्मेपछि नमरेको होस्। हामी सबैको मृत्यु निश्चित छ, केवल ढीलो वा चाँडो भन्ने कुरामात्र हो। को कहिले मर्छ, कसैले पनि निश्चित भन्न सक्दैन। यो यथार्थतामाथि चिन्तन गर्नाले हामी शान्त र गम्भीर हुन्छौं र मानव शरीरका रूपमा उपलब्ध अवसरहरूको तबसम्म पूर्ण सदुपयोग गर्न प्रेरित हुन्छौं जबसम्म हामी जीवित र स्वस्थ छौं।
त्यसैले हामीले यो जीवनकालको उपभोगका लागि मात्र सुखसयलका वस्तु जुटाउने पागलपनबाट उम्किनुपर्छ। यसका लागि वर्तमान जीवनका नाशवान चीजहरूको कुनै दीर्घकालीन सार छैन भन्ने कुराको चिन्तन गर्नुपर्ने हुन्छ। यो जीवनकालका लागि मात्र हुने चीजहरूप्रतिको तीव्र आसक्तिबाट हामी अलग्गिन्छौं र यस्तो आसक्तिका कारण उत्पन्न समस्याहरूबाट मुक्त हुने अठोट गर्छौं। यसरी मुक्तिका लागि गरिने अठोट नै “नैष्क्रम्य” हो।
त्यस्तै, हामीले भविष्यमा विभिन्न लोक र परिस्थितिमा हुनसक्ने पुनर्जन्मको सम्भावनाबारे चिन्तन गर्नुपर्छ। यदि मनुष्य वा देवताका रूपमा पुनर्जन्म भयो र त्यहाँ सबै वैभव र सुखसयलहरू प्राप्त छन् भने के विचार गर्नुपर्छ भने ती सबै पनि समस्याकै कारक हुनेछन्। जतिसुकै वैभव उपलब्ध भए पनि समस्याहरू आइरहनेछन्, ती समस्याहरू हाम्रो वशमा हुने छैनन्। त्यसैले भविष्यका जन्मका लागि पनि सुखभोगका सामग्रीप्रति आसक्त छौं भने त्यसबाट अलग हुनुपर्छ। यसका लागि दोस्रो प्रकारको अठोट आवश्यक हुन्छ। यो अठोट भविष्यका जन्ममा पनि यस्ता नाशवान कुराप्रतिको आसक्तिले जुन समस्या उत्पन्न हुन सक्छ, त्यसबाट मुक्तिका लागि हुनेछ।
त्यसैले हामी दुई प्रकारका अठोटको चर्चा गर्छौं। एक त यो जीवनका दुःखहरूबाट मुक्त हुने, र अर्को, भविष्यका जीवनहरूमा आउनसक्ने दुःखहरूबाट पनि मुक्त हुने।
अनित्यता
आध्यात्मिक साधक त्यो हो जसले यो जीवनमा आउने कुनै पनि अवस्था अपरिवर्तनीय हुँदैन भन्ने जान्दछ; अनित्यता र मृत्युको यथार्थलाई स्मरण गर्दछ; र आफ्नो जीवनमा भएका र कुनै पनि मानवको जीवनमा हुनसक्ने दुःखप्रति सजग हुन्छ। यस्तो सजगताले उक्त साधकलाई दुःखहरूबाट मुक्तिका लागि निवारक उपायहरू अपनाउन प्रेरित गर्छ। अनित्यता, दुःख, मृत्यु आदिप्रति आँखा चिम्लिँदैमा ती हाम्रो जीवनबाट जाँदैनन्। गैदिने भए त निकै राम्रो हुने थियो, तर यथार्थमा त्यसो हुँदैन। हामी एकदिन मर्छाैं, हाम्रा जीवनमा दुःखहरू छन् भन्ने कुरालाई बेवास्ता गर्दैमा ती कुराहरू हराउँदैनन्। त्यसैले बेवास्ताभन्दा ती समस्याहरूप्रति सजग हुनु नै राम्रो हो। तिनलाई यथार्थको धरातलमा उभिएर सामना गर्नु र तिनको निराकरणका लागि आवश्यक उपाय अपनाउनु नै राम्रो हो। आध्यात्मिक साधना यसैसँग सम्बन्धित छ।
बुद्धले यी उपायहरूको शिक्षा दिने क्रममा अनित्यताको शिक्षा दिनुभएको थियो। कुनै पनि चीज किन अपरिवर्तनीय हुँदैन भन्ने शिक्षा दिनुभएको थियो। उहाँको सम्पूर्ण आध्यात्मिक खोज यही अनित्यताको बोधका कारण शुरु भएको थियो। वास्तवमा उहाँको जीवनको अन्त हुनुमा पनि यही अनित्यताको शिक्षालाई व्यावहारिक ढंगले सबैलाई बुझाउने सन्दर्भ अन्तनिर्हित रहेको थियो।
चार आर्यसत्य
समस्याहरू हावाबाट उत्पन्न हुँदैनन्। कुनै कारणबिना नै ती हाम्रो भागमा आइलाग्ने होइनन्। वास्तवमा हाम्रा सबै यथार्थ समस्या र दुःखहरू कुनै यथार्थ कारणले गर्दा नै उत्पन्न भएका हुन्छन्। त्यसका पछाडि हाम्रा आवेगात्मक व्यवहार तथा अशान्तकारी मनोभाव (क्लेश) र धारणाहरू (मिथ्या दृष्टि) हुन्छन्। अर्थात् ती सबै हाम्रो अकुशल कर्म र अज्ञानताका कारण हुन्छन्। अज्ञानताको वशमा परी गरिने अकुशल कर्मले हाम्रा लागि दुःख उत्पन्न गर्छ।
हाम्रो दुःखका यी दुई कारण (अकुशल कर्म र अज्ञानता) मध्ये अकुशल कर्मका पछाडि क्लेश र मिथ्या दृष्टि हुन्छन्। बौद्ध ग्रन्थहरूमा वर्णित ८४,००० प्रकारका क्लेश र मिथ्या दृष्टिका पछाडि एउटै कारण हुन्छ, त्यो हो – अज्ञानता अर्थात् त्यस्तो बेहोशी जसको वशमा परी स्थायी र शाश्वत प्रकृतिको अस्तित्व तथा स्वरूपहरूप्रति आसक्त बनेर त्यसैलाई पकडेर बस्न हामीलाई प्रेरित गर्छ।
तर यस्तो स्थायी र शाश्वत प्रकृतिको कुनै चीज अस्तित्वमा छैन ¬– न हाम्रो हकमा न अरु कसैको हकमा। तैपनि यस्ता चीज वा स्वरूपहरूलाई साँच्चिकै स्थायी र शाश्वत ठानी हामी पकडिरहन्छौं। त्यसैले जब हामी साँच्चिकै स्थायी र शाश्वत स्वरूप हुन असम्भव छ भन्ने कुराको बोध गर्छौं, यो कुरालाई आफ्नो विवेकद्वारा जान्दछौं, तब त्यसले हाम्रो आसक्तिको विषलाई तोड्न प्रतिविष (एन्टीडोट) को भूमिका खेल्छ।
जब कुनै पनि चीजको हकमा यस्तो अपरिवर्तनशील अस्तित्व हुँदैन भन्ने कुराको हामी बोध गर्छौं, तब त्यस्तो बोधलाई “चित्तको यथार्थ मार्ग” भनिन्छ। यो नै चार आर्यसत्यमध्ये एक, “मार्ग सत्य” हो। चित्तको यस्तो यथार्थ मार्गलाई आर्य अर्थात् उच्चकोटीको क्षमतायुक्त मानिसले सत्य हो भनी देख्छन् र यसले निर्वाण तथा बोधिसम्म पुर्याउँछ भनी जान्दछन्।
विवेकपूर्ण बोध (प्रज्ञा) का माध्यमद्वारा यस्तो साँच्चिकै अपरिवर्तनशील स्वरूप कुनै चीजको पनि हुँदैन भनी जान्ने चित्तको यथार्थ मार्ग विकास भयो भने हामीमा कुनै क्लेश र मिथ्या दृष्टि हुने छैन। अज्ञानताको वशमा परी हामी अस्तित्वका बारेमा असम्भव कल्पना गर्छौं र त्यस्तै प्रक्षेपण गर्छौं। क्लेश र मिथ्या दृष्टि भएन भने हामी अकुशल काम गर्दैनौं। अकुशल काम गरेनौं भने आफ्ना लागि थप दुःखहरू सिर्जना गर्दैनौं। हाम्रो चित्तमा दुःख उत्पन्न हुन छाड्यो भने त्यो अवस्था “यथार्थ निरोध” को अवस्था हो।
चार तथ्यहरूको यो प्रस्तुतिलाई आर्य अर्थात् उच्च क्षमतायुक्त मानिसहरूले सत्य भनी जान्न सक्छन्। यो नै चार आर्यसत्य हो। पहिलो दुई सत्यले हाम्रा समस्याहरूको बारेमा चर्चा गर्छन् – एक हो, यथार्थ दुःख र अर्को, ती दुःखको यथार्थ कारण अर्थात् अकुशल कर्म र क्लेश तथा मिथ्या दृष्टि। पछिल्लो दुई सत्य मुक्तिसँग सम्बन्धित छन्। यसको चिन्तनमार्फत् हामी आफ्ना दुःखका कारणहरूलाई सदाका लागि निर्मूल गर्दै दुःखलाई यथार्थमा निरोध गर्ने प्रयत्न गर्छौं। त्यसो गर्ने उपाय भनेको सही चित्तमार्गको विकास हो। यी चार सत्य उच्चकोटीका मानिसले मात्र देख्न सक्छन् भनी हामी जान्दछौं।
आफूलाई प्राप्त यो अमूल्य मानव जीवनको अद्भूत अवसरको उपयोग गर्दै हामीले यी चार आर्यसत्यहरूको बोध गर्नु आवश्यक छ। त्यसो गर्नु भनेको यस जन्ममा उपलब्ध अवसरहरूको उचित उपयोग गर्नु हो। आफ्नो चित्तलाई स्थिर र शान्त बनाउन सक्यौं र त्यसको आधारमा चीजहरूको अपरिवर्तनीय अस्तित्व हुँदैन भन्ने कुराको बोध राम्रोसँग गर्यौं भने चित्तमा एक हितकारी प्रवृत्तिको निर्माण हुनेछ। तब हामी आफ्ना सबै दुःखहरू सदाका लागि हटाउन सक्षम हुनेछौं।
करुणाको विकास
आफ्ना लागि सबै दुःखहरू निर्मूल गर्नु एकदमै राम्रो कुरा हो। तर त्यति मात्र पर्याप्त हुँदैन। आफ्नो दुःख त एक्लो व्यक्तिको दुःख हो, हामी बाहेक पनि यो संसारमा अनगिन्ती मानिसहरू छन्। सबै जीवहरू कति छन्, त्यो गन्न सकिँदैन। ती सबैका आ–आफ्नै दुःख छन्, सबैजना कुनै न कुनै हिसाबले दुःखी छन्। त्यसैले आफ्ना लागि मात्र सोच्नु युक्तिसंगत हुँदैन। हामीले सबैको समस्या अन्त गर्नेतर्फ सोच्नुपर्छ।
यी सबै जीवका मानसिक क्षमता सीमित होलान्। तर उनीहरूको हामीप्रति अत्यन्तै ठूलो कृपा छ। अरूले अति नै धेरै दयालु व्यवहार हामीप्रति गरेका हुन्छन्। एक बुद्धको दया र सामान्य क्षमतायुक्त मानिसले गर्ने दया सारमा उत्तिकै महत्वपूर्ण छन। उदाहरणका लागि, मानिलिऊँ तपाईंलाई मह खान मन पर्छ। सोच्नुहोस् त्यो मह कहाँबाट आयो। धेरै मौरीले मिलेर उक्त मह बनाएका हुन्छन्, त्यसका लागि उनीहरूले धेरै मेहनत गरेका हुन्छन्ः अनगिन्ती फूलको वरिपरि चक्कर लगाएका हुन्छन्, त्यसको पराग भेला पारेका हुन्छन्, र घारमा लगेर जम्मा गरेका हुन्छन्। यी स–साना किराहरूले काम नगर्ने हो भने हामी मानिसले कहिल्यै महको स्वाद लिन पाउने थिएनौं। हामी तिनको परिश्रम र दयाप्रति अनुगृहित छौं। त्यस्तै हामीमध्ये कतिले मासु खान्छौं होला। कतिले विरामी वा कमजोर भएका बेला शरीरमा तागत दिन भनी यस्ता खानेकुरा खान्छन्। त्यो कहाँबाट आउँछ? त्यो ती जनावरबाट आउँछ जसले आफ्नो ज्यान दिएर हामीलाई तागत र पौष्टिकता दिने मासु प्रदान गर्छन्।
त्यसैले आफ्ना सबै दुःखबाट मुक्त हुने दृढ अठोट लिइसकेपछि हामी त्यही भावना अरूका हकमा पनि विकसित गर्छौं। जसरी हामी आफ्ना दुःखहरूबाट मुक्ति पाउने संकल्प लिन्छौं, त्यसैगरी अरू सबैजना त्यसरी नै दुःखबाट मुक्त होऊन् भन्ने कामना गर्छौं। यस्तो भावनालाई “करुणा” भनिन्छ।
तर यदि हामी आफ्नै दुःखहरूका बारेमा गम्भीरतापूर्वक सोच्दैनौं र त्यस्ता दुःख अब चाहिएनन्, म तिनबाट मुक्ति चाहन्छु भन्ने भावना राख्दैनौं भने अरूको दुःखलाई पनि गम्भीर रूपमा लिन धेरै गाह्रो हुन्छ। त्यसो हुँदा अरूलाई उनीहरूको दुःखबाट मुक्ति दिलाउन इमान्दारीपूर्वक काम गर्न र करुणाको विकास गर्न सक्षम हुँदैनौं। उदाहरणका लागि, कुनै सरकारी अधिकारीले आफ्नोे जीवनमा धेरै दुःखको सामना गरेको छ, र केहीगरी उच्च ओहदामा पुगेको छ भने उसले स्वाभाविक रूपमा अरूको समस्याप्रति समानुभूति र करुणा राख्न सक्छ। यस्तो व्यक्तिलाई अरूको सहायता गर्न सजिलो हुन्छ। तर कुनै अधिकारी त्यस्तो पनि हुन सक्छ जसले आरामको मात्र जीवन बाँचेको छ, दुःखकष्ट के हो जानेकै छैन। उसलाई अरूको दुःखकष्ट बुझ्न र उनीहरूलाई सहयोग गर्न सजिलो हुँदैन।
बोधिचित्त
अरु सबैजना दुःखबाट मुक्त होऊन् भनी कामना गर्ने चित्तवृत्तिलाई “करुणा” भनिन्छ। त्यस्तै अरु सबैलाई सुख प्राप्त होस् भनी कामना गर्ने चित्तवृत्तिलाई “मैत्री” भनिन्छ। हामी सबै सत्त्वलाई सुख प्राप्त होस् र उनीहरूलाई दुःखबाट मुक्ति मिलोस् भन्ने कामना गर्छौं र सबैजनाले मप्रति दयाभाव देखाएका छन् त्यसैले म उनीहरू सबैको दुःख मुक्तिको लागि सतही रूपमा मात्र नभई भित्रैदेखि प्रयत्न गर्छु भनी जिम्मेवारीका साथ संकल्प लिन्छौं भने त्यस्तो संकल्पलाई “असाधारण संकल्प” भनिन्छ।
तर यदि हामी आफ्नो स्वार्थी सोचमा मात्र अल्झिएका छौं भने बुद्धको जस्तो असल गुणहरूको विकास गर्ने वा त्यो तहको बोध गर्ने कुनै सम्भावना नै हुँदैन। अर्कातर्फ, यदि स्वार्थीपना छाड्यौं र अरूको हितको सरोकार राख्यौं भने त्यस्तो चित्तवृत्तिले हामीलाई सम्यक सम्बुद्ध बन्ने आधार प्रदान गर्छ। स्वार्थी चित्त भयो भने आफ्ना लागि धनसम्पत्ति जम्मा गर्न प्राणीहत्या, चोरी आदिसम्मको कृत्य गर्न सकिन्छ। यस्ता अकुशल कर्मले हाम्रा लागि थप दुःख मात्र सिर्जना गर्छ। यो सबैको जडमा हाम्रो स्वार्थीपना नै रहेको हुन्छ।
शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गर्नु, अर्थात् आफ्नो चित्तलाई पूर्ण निर्मल र पूर्ण विकसित गर्न सक्नुका पछाडि एउटै मात्र कारण थियो। त्यो हो, अरूको हितप्रति पूर्ण समर्पण। वास्तवमा सबै युगका सबै बुद्धले यसरी नै अरुको हितप्रतिको पूर्ण समर्पणले नै बुद्धत्व पाएका हुन्छन् र आफ्नो चित्तको पूर्ण सम्भाव्यता प्रस्फुटित गर्न सकेका हुन्छन्। “सबै सत्त्वलाई खुशीको मार्ग प्रदान गर्ने र उनीहरूलाई दुःखबाट मुक्ति दिलाउने” असाधारण संकल्पका साथ हामी साधना गर्छौं, तर यथार्थवादी भएर हेर्ने हो भने त्यो क्षमता हामीमा हुँदैन, चाहे जतिसुकै तीव्र चाहना किन नगरौं। त्यो क्षमता त बुद्धसँग मात्र हुन्छ। बुद्धले मात्र सबै सत्त्वलाई दुःखबाट मुक्त हुन र खुशी प्राप्त गर्न सहयोग गर्ने क्षमता राख्छन्।
त्यसैले हामीले आफ्नो हृदयलाई पूर्णरूपमा अरूको हितका लागि समर्पित गर्नु आवश्यक छ। र, बुद्धको जस्तै संबोधि प्राप्त गर्ने लक्ष्य राख्नु आवश्यक छ ताकि अरूलाई सर्वोत्तम तरीकाले सहयोग गर्न सकियोस्। यो नै “बोधिचित्त” को लक्ष्य हो।
मानिलिऊँ यस्तो बोधिचित्तको लक्ष्यप्रति समर्पित हृदयका साथ हामीले कुनै सानै मात्र कर्म गर्यौं। उदाहरणका लागि फूल चढाउने कामलाई लिऊँ। यदि यसरी फूल चढाउने काम सबैको हितको उद्देश्य राख्दै र त्यसो गर्न हरसम्भव तरीकाले सकियोस् भन्दै संबोधि प्राप्त गर्ने लक्ष्यका साथ गरिन्छ भने त्यसबाट प्राप्त पुण्यको बल अपरीमित हुन्छ। वास्तवमा, यदि हाम्रो लक्ष्य सबैको हित गर्ने रहेछ भने त्यसबाट हुने लाभ पनि त्यही अनुपातको हुनेछ। यो संसारमा जति संख्यामा सत्त्वहरू छन्, त्यतिकै अनुपातमा असीम लाभ हुनेछ। यसरी आफ्नो हृदयलाई इमान्दारीपूर्वक विशुद्ध तरीकाले प्रतिबद्ध गरायो भने त्यसबाट हुने लाभ भनेको सिंगै विश्वबराबरको सुन र हिराजुहारात बुद्धलाई अर्पण गरेको भन्दा बढी हुनेछ। विश्वका सबै प्राणीलाई भोजन गराएको भन्दा पनि यस्तो विशुद्ध हृदयका साथ बोधिचित्तको लक्ष्य राखी गरिएको सानो कामको पुण्य बढी हुनेछ।
यसलाई तर्कका माध्यमबाट यसरी बुझौं – विश्वका सबै प्राणीलाई भोजन दिइयो भने त्यो भोजनले ती प्राणीको भोक केवल एकपटकका लागि शान्त गर्न सक्छ। उनीहरू पुनः भोकाउनेछन्। भोकको समस्या जस्ताको तस्तै रहिरहनेछ। तर यदि हामीले बोधिचित्तको लक्ष्यका साथ सबै सत्त्वको सबै दुःख सधैँका लागि अन्त गर्ने कामना गर्यौं र त्यो लक्ष्यलाई हरसम्भव हासिल गर्न आफैं बुद्धत्व प्राप्तिमा समर्पित भयौं भने त्यसभित्र उनीहरूको भोक मेट्ने मात्र समेटिँदैन, अपितु उनीहरूका सबै समस्या सधैँका लागि अन्त गर्ने व्यापक क्षमता समेटिन्छ।
समापन टिप्पणी
हामीले कुनै पनि जीवलाई हानि नपुर्याउने दृढ प्रतिज्ञा गर्यौं भने त्यो बोधिचित्त विकास गर्ने दिशामा महत्त्वपूर्ण कदम हुनेछ। अरू जीवलाई हानि पुर्याउँदा हुने बेफाइदा र त्यसका दोषबारे जान्यौं र त्यसो नगर्ने प्रतिज्ञा लियौं भने अनेक लाभ हुनेछन्। स्पष्टै छ, यस्तो आचरण अत्यन्तै सम्मानयोग्य हुनेछ। कसैलाई हानि नपुर्याउने दृढ प्रतिज्ञा भनेको त्यस्तो आध्यात्मिक कदम हो जुन हामी सबैले अहिल्यै लिन सक्छौं। हामीले आध्यात्मिक अभ्यासलाई एकदम दुर्गम्य वा आफ्नो पहुँचबाट बाहिर छ भनेजसरी हेर्नु हुँदैन।
संक्षेपमा भन्दा, आध्यात्मिक साधक हुनका लागि हामीले असाधारण खालको जीवन जिउनुपर्छ भन्ने छैन। इतिहास साक्षी छ, कैयौं गृहस्थीहरू उच्चकोटीका आध्यात्मिक साधक रहेका छन्। भारतका चौरासी महासिद्धको जीवनी पढ्ने हो भने हामी पाउनेछौं, तीमध्ये धेरै सिद्धहरू गृहस्थी थिए।
त्यस्तै हामी बृद्ध भयौं, अब आध्यात्मिक साधना गर्न सक्दैनौं भनेर पनि हीनभावना लिनु आवश्यक छैन। इतिहासमा श्रीजाति नामका एक गृहस्थीको दृष्टान्त छ जसले ८० वर्षको उमेरमा आध्यात्मिक साधना शुरु गरेका थिए। उनी त्यही जीवनमा अर्हत बनेका थिए। त्यसैले साधनाका लागि हामी कहिल्यै धेरै बृद्ध हुँदैनौं।
अर्कातर्फ, यदि तपाईं युवा हुनुहुन्छ भने तुच्छ चञ्चलतामै आफ्नो जीवन नष्ट गर्नु हुँदैन, आफूसँग भएका उर्जाको उपयोग गर्दै त्यसलाई आध्यात्मिक साधनामा लगाउनु पर्छ। साधनालाई पन्छाएर बुढेसकालमा गरौंला भन्न सकिँदैन, किनकि हामीलाई आफ्नो मृत्यु कहिले हुन्छ, थाहा हुँदैन। फेरी, बुढेसकाल प्रायः अप्रत्यासित रूपमा एक्कासी हाम्रासामु आइपुग्छ। जतिखेर हामीलाई आफ्नो बुढेसकाल आएको थाहा हुन्छ, जीवन त त्यत्तिकै चिप्लिएर सकिएछ भन्ने बोध पनि साथसाथै हुन्छ।
हामीले गर्न सक्ने कैयौं स–साना सकारात्मक कामहरू हुन सक्छन्। मलाई विदेशका केही त्यस्ता मानिसबारे जानकारी छ जो चराहरूलाई खाना खुवाउनका लागि निकै परिश्रम र पैसा खर्च गर्छन्। उनीहरूले आफ्नो घरबाहिर चरालाई चारा खुवाउने फीडर राखेका हुन्छन्। हरेक दिन हजारौं रूपैयाँ चराको खानेकुरा किन्न खर्च गर्छन्। यहाँसम्म कि आफू नहुँदा चरालाई कसले खुवाउला भनेर घर छाडेर छुट्टी मनाउन पनि जाँदैनन्। यो एक अद्भूत अभ्यास हो। मलाई ती मान्छे देख्दा खुशी लाग्छ। यो एकप्रकारको बोधिसत्त्व अभ्यास नै हो। कैयौं तिब्बतीहरू तीर्थयात्राका लागि भारत जाँदा परेवालाई रोटीका टुक्रा र अरू चरालाई चामलका गेडा दिँदै हिँड्छन्। यो एक अति उत्तम अभ्यास हो, यसबाट दीर्घजीवन प्राप्त हुन्छ।
सारांश
हामीले माथि गरेका चर्चालाई निम्न मुख्य बुँदामा समेट्न सकिन्छः
- एक स्नेही र मैत्रीपूर्ण हृदयको विकास गर्दै सबैको हितका लागि निरन्तर काम गर्ने।
- कसैलाई कहिल्यै कुनै चोट नपुर्याउने, कसैको कुनै हानि नगर्ने र कसैलाई समस्यामा नपारिदिने।
एक उत्कृष्ट आध्यात्मिक साधनाका लागि यी मुख्य बुँदाहरू हुन्। हामीलाई प्राप्त यो अद्भूत मनुष्य चोलालाई साधनाको आधारभूमिमा रूपमा भरपूर उपयोग गर्दै हृदयमा अरूको हितप्रति समर्पित बोधिचित्त र बोधि प्राप्तिको लक्ष्य राख्नु आवश्यक छ। यसबाट हामी चित्तको एकदमै निर्मल र पूर्ण प्रस्फुटित अवस्था हासिल गर्न सक्नेछौं, अर्थात् सम्यक सम्बुद्ध बन्न सक्नेछौं।