चित्तका तहहरू
सजीव र निर्जीवहरूका बीच एक निश्चित सीमारेखा छ। हाम्रो दैनिक जीवनमा पनि सजीवता र मानसिक गतिविधिका विभिन्न तहहरू हुन्छन्। जब हामी जाग्रत् अवस्थामा हुन्छौं, वा सपना देखिरहेका हुन्छौं, वा गहिरो निन्द्रामा सुतिरहेका हुन्छौं, वा बेहोश हुन्छौं – प्रत्येक अवस्थामा चित्तको गहिराई भिन्नै तहको हुन्छ। अनि मृत्युको समयमा जब चित्तको विघटनको प्रक्रिया श्वास रोकिइसक्दा पनि जारी रहन्छ, त्यो बेला चित्तको एक अर्को अझ गहिरो तह हुन्छ। मृत्युको समयमा के हुन्छ, हामीलाई थाहा छैन, तर जाग्रत् अवस्थामा, सपनामा र गहिरो निन्द्रामा भएको अनुभूति भने हामीलाई थाहा हुन्छ।
चित्त र चैतसिकबीचको फरक
प्राचीन भारतीय परम्पराका सबै मुख्य आध्यात्मिक अभ्यासहरू चित्तसँग सम्बन्धित छन्। उदाहरणका लागि, समाधिको अभ्यास छ, जसमा तल्लीन एकाग्रता साधिन्छ र विपश्यनाको अभ्यास छ, जसमा अभूतपूर्व कुशाग्र चित्त साधिन्छ। यी दुवै अभ्यास चित्त र यसको मनन गर्ने पक्ष तथा चित्तलाई उपयोग गर्ने विषयसँग सम्बन्धित छन्। त्यसैले चित्त के हो भन्ने जान्नु अति नै महत्वपूर्ण छ।
चित्त र यसका विभिन्न विभागहरू सम्बन्धमा धेरै व्याख्याहरू उपलब्ध छन्। उदाहरणका लागि, बुद्धधर्ममा चित्त र चैतसिकहरू बीचको फरकलाई स्पष्ट पारिएको छ। वास्तवमा सबै प्राचीन भारतीय पद्धतिहरूमा तपाईंले यस्तो व्याख्या पाउनुहुनेछ।
बौद्ध पद्धतिभित्र चित्त र चैतसिकबीचको फरक सम्बन्धमा अलग अलग व्याख्याका तरिका छन्। तीमध्ये दुई प्रमुख तरिका छन्ः एकले चित्तले लिने विषयको आधारमा भेद गर्छ भने अर्कोले चित्तको मूलभूत स्वरूपको आधारमा। उदाहरणका लागि, मैत्रेयले आफ्नो ग्रन्थ मध्यान्तविभागमा पहिलो तरिका अनुसार व्याख्या गर्नुभएको छ। यो पहिलो तरिकामा मूल चित्तको विषय/आयतनलाई लिएर त्यसको विभिन्न पक्षबाट भेद गरिन्छः चित्त कुनै विषयको समग्रतामा केन्द्रित हुन्छ भने चैतसिक वा चित्तका विभागहरू त्यो विषयका फरक फरक पक्षहरूमा केन्द्रित हुन्छन्। दोस्रो तरिका अनुसार भेद गर्नका लागि चित्तकै विभिन्न पक्ष लिइन्छ। मूल चित्तको हकमा कुनै पनि विषयको संज्ञा सम्पूर्ण चित्तले गर्छ भने चैतसिक वा चित्तका विभागहरूको हकमा विषयको अनुभूति चित्तको कुनै निश्चित पक्ष वा कार्यविशेषताले गर्छ।
यी दुवै अर्थात् चित्त र चैतसिक अन्तर्गत पनि हामी मुख्यतः दुई व्यापक वर्ग लिन सक्छौं। पहिलोमा भौतिक इन्द्रिय/आयतनको आवश्यकता पर्छ, दोस्रोमा पर्दैन। जसमा भौतिक इन्द्रियको आवश्यकता पर्छ, त्यो इन्द्रियजनित विज्ञान (प्रवृत्तिविज्ञान) हो भने जसमा भौतिक इन्द्रियको आवश्यकता पर्दैन, त्यो मनोविज्ञान हो। यहाँनेर हाम्रो चर्चा वैज्ञानिकहरूले गर्ने चर्चाको नजिक पुग्छ। यहाँ हामी इन्द्रियजनित विज्ञान (प्रवृत्ति विज्ञान) र मनोविज्ञानको को तुलना गर्दैछौं। हुनत कतिपय बेला मनोविज्ञानको लागि मन भन्ने शब्द मात्र पनि प्रयोग गरिन्छ।
अब मनोविज्ञानको चर्चा गरौं। यसका दुई प्रकार छन् : पहिलो त्यो जो तत्काल पूर्ववर्ती क्षणको इन्द्रियजनित विज्ञानलाई आधार बनाउँदै उत्पन्न हुन्छ, र दोस्रो त्यो जसमा यस्तो तत्काल पूर्ववर्ती क्षणको इन्द्रियजनित विज्ञान हुँदैन। हाम्रा ग्रन्थहरूका हरहमेशा क्रियाशील पाँच चैतसिकहरूको चर्चा गरिन्छ, जुन प्रवृत्तिविज्ञान लगायत प्रत्येक विज्ञानमा विद्यमान हुन्छ। उदाहरणका लागि हामीमा भेद गर्ने, खुसीको स्तर थाहा पाउने आदि चित्त हुन्छ। भेद गर्ने भन्नाले “यो भनेको यो हो, त्यो भनेको त्यो हो” जस्तो कुरा थाहा पाउने हो। वैज्ञानिकहरूका अनुसार यो चक्षु इन्द्रियमा होइन, मस्तिष्कमा हुन्छ। इन्द्रियजनित अनुभूति (सेन्सरी कग्निसन) आफैँले मात्र “यो भनेको यो हो” वा “त्यो भनेको त्यो हो” भनेर सोच्न सक्दैन। तर यस्तो इन्द्रियजनित बोधमा (सेन्सरी पर्सेप्सन) भेद गर्ने चैतसिक हुन्छ, उदाहरणका लागि उज्यालोबाट अँध्यारो छुट्याउने।
थप भेद
पक्कै पनि, बौद्ध दृष्टिकोण र परम्पराहरूमा यो सम्बन्धमा भिन्नाभिन्नै धारणा छन् र संज्ञाले कसरी काम गर्छ भन्ने सम्बन्धमा भिन्नाभिन्नै विचार छन्। वैभाषिक दृष्टिकोण अनुसार कुनै चीजको संज्ञा हुनका लागि बीचमा कुनै चैतसिकको माध्यम हुन जरुरी छैन, जबकि सौत्रान्तिक दृष्टिकोण अनुसार कुनै चीजको वास्तविक संज्ञा हुनुपूर्व बीचमा त्यस्तो माध्यम अर्थात् चैतसिक हुन्छ। यो दोस्रो धारणा वैज्ञानिक दृष्टिकोणसँग बढी मेल खान्छ।
त्यसैले बौद्ध परम्पराहरूमा संज्ञाले कसरी काम गर्छ लगायतका मोडलहरूमा धेरै बहस हुन्छ। उदाहरणका लागि दृश्य संज्ञालाई लिऊँ। सौत्रान्तिक र चित्तमात्र परम्पराहरूमा हुने बहस यस्तो हुन्छ – जब हामी विविध रंगयुक्त कुनै चीज हेर्छौं, के त्यसका स–साना अनेक पक्षहरू र उत्पन्न दृश्य संज्ञाहरूको संख्या बराबर हुन्छ? या थाहा पाइने चीजका अनेक पक्षहरूलाई समग्रमा एउटा मात्र दृश्य संज्ञाले थाहा पाउँछ? अथवा त्यो चीज अनेक रंगयुक्त भएपनि समग्रमा एउटै पक्ष हुने र त्यसलाई दृश्य संज्ञाको एउटै पक्षले देख्ने हो? यीमध्ये त्यो व्याख्या वैज्ञानिक दृष्टिकोणसँग बढी नजिक छ जसले यो भन्छ कि जतिसुकै विविध रंगहरू भएपनि चित्तले ती सबैलाई एकै ढिक्का बनाएर संज्ञा गर्छ (थाहा पाउँछ)।
मनोभावहरूको हकमा चाहिँ विज्ञानसँग मिल्ने ठ्याक्कै कुनै समान शब्द छैन। पल एकम्यान लगायतका आधुनिक वैज्ञानिकहरूको भनाइमा मनोभाव (इमोसन), मनोदशा (मुड), र प्रवृत्ति (ट्रेट) बीच फरक गर्न कठिन हुन्छ। वैज्ञानिकहरू आफ्नो कामका लागि प्राचीन ग्रन्थमा बताइएका कुराको उद्धरणलाई आधार बनाउँदैनन्, उनीहरू त आफ्नै अनुसन्धानलाई आधार बनाउँछन्। त्यसैले यहाँ दुवैले संयुक्त रूपमा अनुसन्धान गर्नु फलदायी हुन्छ। यसले वैज्ञानिक र बौद्ध अभ्यासी दुवैलाई असाध्यै लाभ हुनेछ।
वस्तुहरूको कुरा गर्ने हो भने कतिपयमा भौतिक गुण हुन्छन् भने कतिपय हामीलाई कुनै कुराको संज्ञा गराउने प्रकारका हुन्छन्। कतिपयलाई यी दुवै वर्गमा राख्न मिल्दैन, यद्यपि ती पनि सधैँ परिवर्तन भैरहन्छन्, जस्तो कि समय।
चित्तको मूल स्वरूप
प्रवृतिविज्ञान/संज्ञा (कग्निसन) अथवा होश (अवेयरनेस) त्यस्तो प्रक्रिया हो जसलाई चित्तको गतिविधि (मेन्टल एक्टिभिटी) का रूपमा प्रस्तुत गरिन्छ। यो चित्तको गतिविधि कुनै कुरा थाहा पाउने वा त्यसप्रति होशमा आउनेसँग सम्बन्धित छ। यसका खास विशेषताहरू निम्न छन्ः (१) स्पष्टता (क्लारिटी), जसमा कुनै कुराको प्रकटीकरण हुन्छ; (२) होश (अवेयरनेस), जसबाट कुनै कुराप्रतिको ज्ञान (अवेयर) वा संज्ञा (कग्निसन) हुन्छ; र (३) अनुभूति। कुनै कुराको अनुभूति हुँदा विभिन्न मनोभावहरू हुन्छन्, ती सकारात्मक या नकारात्मक हुन्छन्। यद्यपि चित्तको गतिविधि आफैंमा चाहिँ तटस्थ प्रकृतिको हुन्छ। चित्तको कुनै गतिविधि उपकारी छ कि अपकारी भन्ने कुरा त्यो कस्तो खालको चैतसिक (मेन्टल फ्याक्टर) हो भन्नेमा भर पर्छ न कि उक्त चित्त गतिविधिका रूपमा त्यसको मूल स्वरूप कस्तो छ भन्नेमा।
उदाहरणका लागि, रिस चित्तको मूल स्वरूपको अंग होइन; यो त हेतु र प्रत्ययहरूमा निर्भर भएर उत्पन्न हुने हो। कुनै पनि चीजको मूल स्वरूप यसरी आउने जाने भैराख्दैन र उत्पन्न हुन तथा विद्यमान रहनका लागि कुनै हेतु र प्रत्ययहरूमा निर्भर हुनु पर्दैन। यो निरन्तर उत्पन्न भैरहन्छ र रहिरहन्छ। तसर्थ रिस आदि निश्चित चैतसिकहरू कुनै हेतु प्रत्ययहरूमा निर्भर भएर उत्पन्न हुन्छन्, र त्यसरी मात्र तिनीहरू प्रभावी हुन्छन्।
जब रिस पूर्ण विकसित हुन्छ, तब यो चित्त स्वयं हो कि चैतसिक भनेर छुट्याउन कठिन हुन्छ। तर अभ्यासको बलमा हामी चित्तकै एक भागले रिसलाई उत्पन्न भएको बेला हेर्न सक्छौं, र यो उत्पन्न हुँदै गरेको र समाप्त हुँदै भएको देख्न सक्छौं। यसरी अवलोकन गर्ने कार्य आफैंमा रिसको बल कम गर्न सक्षम हुन्छ। तसर्थ, जब कुनै निश्चित चैतसिक वा चित्तको अवस्था उत्पन्न हुन्छ, त्यसलाई पनि प्रभावित गर्न सकिन्छ।
यो त भयो चित्तको स्वरूपका बारेमा केही कुरा।
मनोभाव र भौतिक शरीरबीच सम्बन्ध
अब मैले थप अनुसन्धान गर्न खोजेको अर्को रोचक विषयमा प्रवेश गरौं। हाम्रो भौतिक शरीरमा केही तत्वहरूमा आउने परिवर्तनले निश्चित मनोभावको उत्पत्ति हुन्छ। त्यस्तै कुनै मानसिक दृष्टिकोणको विकासले पनि शरीरमा परिवर्तन आउन सक्छ। उदाहरणका लागि रिस वा घृणालाई लिउँ। रिस उठेका बेला मस्तिष्कको कुनै एक भागमा रगतको सञ्चार ज्यादा हुन्छ। तर करुणाको अभ्यासमा अर्को भाग सक्रिय हुन्छ। त्यसैले सूक्ष्म स्तरमा हामीले के पहिला आउँछ भन्ने जानकारी लिनुपर्छः मस्तिष्कमा परिवर्तन आएर कुनै मनोभावको उत्पत्ति हुने हो या कुनै मनोभाव उत्पन्न भएर मस्तिष्कमा परिवर्तन आउने हो, यसमा थप अनुसन्धानको आवश्यकता छ।
उदाहरणका लागि, हाम्रो शरीरको स्नायुकोशिका (न्युरोन) हरूमा परिवर्तन भैरहेको हुन्छ। त्यो अलि सूक्ष्म स्तरमा हुन्छ। तर जब यस्ता सूक्ष्म परिवर्तनहरू जम्मा हुँदै जान्छन्, स्थूल रूपमा पनि परिवर्तन देखिन थाल्छ। डर लागेका बेला हाम्रो खुट्टामा रगतको सञ्चार धेरै हुन्छ ताकि हामी दौडन सकौं। त्यस्तै रिसाएका बेला पाखुरामा रगतको सञ्चार ज्यादा हुन्छ ताकि हामी लडाईं गर्न सकौं। यसरी मनोभाव र स्थूल रूपमा शरीरमा आउने परिवर्तनबीचको सम्बन्ध हामी देख्छौं। शारीरिक परिवर्तनको स्थूल प्रकटीकरणमा रगतको सञ्चार पर्छ, तर चित्तको अवस्थामा हुने परिवर्तन र शरीरमा आउने परिवर्तन कहाँनेर जोडिन्छन् त?
बौद्ध र हिन्दू तन्त्रमा उर्जाका सूक्ष्म तहहरूको चर्चा गरिन्छ : चित्त र चित्तका गतिविधि त्यसमा क्रियाशील हुन्छन्। यसभित्र “आन्तरिक वायु” को चर्चा आउँछ, जसको अर्थ पक्कै पनि कुनै उर्जासमान चीज हुनुपर्छ जसले स्थूल भौतिक शरीर र चित्तको गतिविधिबीच सम्बन्ध स्थापित गर्छ। यो चर्चा बौद्ध र हिन्दू दुवै परम्परामा साझा छ। त्यसैले वैज्ञानिकहरूले अनुसन्धान गर्नुपर्ने महत्वपूर्ण प्रश्न यो हो : मानसिक र शारीरिक गतिविधिबीच सम्बन्ध जोड्ने माध्यम या संयन्त्र के हो?
प्राचीन भारतका बौद्ध र गैर–बौद्ध दुवै परम्पराहरूमा “आन्तरिक संयोजक होश” को कुरा गरिन्थ्यो। [बुद्धधर्ममा यसलाई एक चैतसिकको रूपमा व्याख्या गरिन्छ, जसले चित्तको कुनै विषयसँग सम्पर्क हुँदा त्यो विषयलाई सुखकर, दुःखकर, वा तटस्थ खालको भनेर भेद गर्छ। यो नै सुख, दुख, वा तटस्थ भनेर अनुभूति गर्ने आधार बन्छ।] यो आन्तरिक संयोजक होशलाई शारीरिक संज्ञाको कारण मान्ने हो भने त्यसको आधारमा नै संज्ञा उत्पन्न हुन्छ र त्यो नै पीडा या खुसीको मानसिक अनुभूतिको तत्काल पूर्ववती अवस्था हुन्छ।
शारीरिक अनुभूतिहरूका लागि संज्ञा गर्ने कुनै निश्चित अंग हुन्छ, जस्तै दृष्टिको केन्द्र आँखामा छ। यद्यपि स्पर्शको ज्ञान शरीरमा रहेका ग्रहण–कोशिकाहरूमा उत्पन्न हुन्छ र यो सम्पूर्ण शरीरमा तथा अन्य इन्द्रियहरूमा पनि फिँजिएर रहन्छ। विज्ञानका अनुसार देख्ने र सुन्ने क्रियासँग सम्बन्धित संवेदी संयन्त्रहरू हरेकका लागि संज्ञा गर्ने एक अलग स्थान हुन्छ, तर ती सबै मस्तिष्कसँग जोडिएका हुन्छन्। ती मस्तिष्कमा फिँजिएर रहेका हुन्छन्। त्यसैले हामीले संज्ञानको कुनै त्यस्तो स्तरबारे अन्वेषण गर्नु जरुरी छ जो अन्य सबै संज्ञानात्मक स्तरहरूमा व्याप्त छ। बुद्धधर्म र विज्ञान दुवैले यस्तो साझा स्तर भएकोतर्फ इंगित गर्छन्।
मस्तिष्क र स्नायुतन्त्रको अन्वेषण गर्दा हामीले चित्तको स्थूल र सूक्ष्म स्तरहरूबीच भेद गर्नु आवश्यक हुन्छ। मानिस र कुकुर दुवैमा हुने खालको संवेदी ज्ञानलाई चित्तको स्थूल अवस्थाको फरक भनेर पहिचान गर्न सक्छौं। तर ती दुवैका मस्तिष्कमा हुने फरकले गर्दा दुवैको चित्तमा र तिनीहरूले स्थूलरूपमा के कार्य गर्छन् भन्ने कुरामा पनि फरक पर्छ। [उदाहरणका लागि मानिसको तुलनामा कुकुरहरूमा सुँघ्ने क्षमता अति प्रबल हुन्छ।] तर पक्कै पनि यस्तो संवेदी ज्ञानभन्दा सूक्ष्म स्तरको चित्त वा मानसिक गतिविधि पनि हुनुपर्छ।
भौतिक शरीरमाथि चित्तको निर्भरता कुन हदसम्मको छ, त्यसको आधारमा चित्तको सूक्ष्मताका विभिन्न तहहरू हुन्छन्। इन्द्रियजनित संज्ञा स्थूल स्तरमा सबैभन्दा धेरै शरीरमाथि निर्भर हुन्छ। त्यसका विपरीत क्लेश अर्थात् अशान्तकारी मनोभाव चित्तको ज्यादा सूक्ष्म स्तरमा हुन्छ जसको निर्भरता भौतिक शरीरमा कम हुन्छ। यही कुरा सपनाको हकमा पनि लागू हुन्छ : यो त भौतिक शरीरमाथि झनै कम निर्भर हुन्छ। त्यसो भए यस्तो सूक्ष्म स्तरको क्लेश र सपनाहरूको सन्दर्भमा पशुहरू र मनुष्यबीच के भेद हुन्छ त?
हाल मृत्युको प्रक्रियाको अन्वेषण गर्ने वैज्ञानिक उपकरण उपलब्ध छन्। विगत पन्ध्र वर्षदेखि यो खालको अनुसन्धान चलिरहेको छ। तर यस्तो अनुसन्धानमा मर्न लागेको मानिसको टाउकोमा इलेक्ट्रोडहरू जोडेर उसको चित्तको अवस्था कस्तो छ भनेर अध्ययन गर्नुपर्छ, र कसैको पनि यस्तो परीक्षण गर्दै गर्दा ठ्याक्कै मृत्यु भैहालेको छैन। त्यसैले यो खालको परीक्षणमा ज्यादै गम्भीरता अपनाउनुपर्ने हुन्छ। यहाँ त टाउकोमा इलेक्ट्रोडहरू जोडेको मानिसलाई अब तपाईं मर्नुस् भन्नुपर्ने हुन्छ, तर त्यसरी भन्न सकिँदैन। त्यसैले यो परीक्षणका लागि उपयुक्त अवसरको प्रतीक्षा गर्नुपर्ने हुन्छ।
मृत्युको प्रक्रियामा ठ्याक्कै के हुन्छ भन्ने कुराको मापनका लागि गम्भीर वैज्ञानिक परीक्षणहरू गरिएका छैनन्, यद्यपि भारतीय ग्रन्थहरूमा मानसिक गतिविधिहरूको तीन तहबारे बताइएको छ। तीमध्ये तेस्रो तह चाहिँ मृत्युको समयमा मात्र घटित हुन्छ। अझ विशेष रूपमा भन्ने हो भने, यो तब घटित हुन्छ जब श्वास रोकिन्छ र हृदयले काम गर्न छाड्छ तर मानसिक गतिविधि विघटनको प्रक्रिया भने केही मात्रामा चलिरहेको हुन्छ। यो तह अन्य कुनै पनि मानसिक स्तरको तुलनामा शारीरिक स्तरमा ज्यादै कम निर्भर देखिन्छ। त्यसैले स्थूल तह मस्तिष्क र न्युरोनहरूमा निर्भर हुने भएपनि यो सूक्ष्म तहका बारेमा स्पष्टता आउन बाँकी नै छ।
साथै, बुद्धधर्मको वर्गीकरण अनुसार क्लेशलाई स्थूल तहमा नराखी सूक्ष्म तहमा राखिनु मेरा लागि जिज्ञासाको विषय हो। स्थूल शारीरिक स्तरमा किन तिनीहरूको निर्भरता कम हुन्छ? एक पटक वैज्ञानिकहरूसँगको कुराकानीमा मैले प्रश्न राखेको थिएँ – “कुनै शारीरिक प्रक्रिया बिना मानसिक प्रक्रियाले मात्रै शरीरमा कुनै प्रभाव पार्न सक्छ?” उनीहरूको उत्तर थियो – “सैद्धान्तिक रूपमा त हो तर व्यवहारमा त्यस्तो हुँदैन।”
तर त्यो धेरै वैज्ञानिक तरिका होइन। यसका लागि एक सामान्य परीक्षण गर्न सकिन्छ। रुनु वा आँसु झार्नु मानसिक अवस्थाको शारीरिक प्रतिक्रिया हो, र यो खुशीमा पनि हुन सक्छ, दुःखमा पनि। यी दुईमा मनको अवस्थामा धेरै अन्तर हुन्छ, यद्यपि शारीरिक प्रतिक्रिया उही देखिएको हुन्छ। यदि खुसीका कारण आउने आँसु दाहिने आँखाबाट बग्ने र दुःखका कारण आउने आँसु देब्रे आँखाबाट बग्ने भए त शारीरिक स्तरमै पनि हामीले ती दुई अवस्थामा भेद गर्न सक्ने थियौं। तर त्यसो हुँदैन। यो स्थूल तहमा फरक पाइँदैन। त्यसैले आवेगको स्तरमा अन्वेषण गर्ने हो भने हामीले यो स्थूलतम शारीरिक स्तरभन्दा भित्र पसेर हेर्नुपर्छ। तैपनि चित्तको अन्वेषणका लागि शारीरिक स्तरबाट मस्तिष्कलाई मात्र लिने हो भने – हामीले कतै केही कुरा छुटाउँदैछौं कि भनेर प्रश्न गर्नुपर्छ, यदि त्यो कुरा ज्यादै आम छ भने।
बौद्ध तर्क प्रणालीमा हामी अनुमानका विभिन्न प्रकारहरूबारे चर्चा गर्छौं। उदाहरणका लागि, समान चीजहरूमा समान गुणहरू अवलोकन गरेर हामी सामान्यीकरण गर्न र त्यसैबाट एक श्रेणीको अनुमान गर्न सक्छौं। वा यी गुणहरूसँग कुनै चीज जोडिएको देखिँदैन भने हामी के अनुमान गर्न सक्छौं भने त्यो अर्कै श्रेणीमा पर्छ। तर मनका आवेगहरू र शरीरबीचको सम्बन्धसँग सरोकार राख्ने यी कुराहरू तर्कशास्त्रीय हिसाबले कुनै निष्कर्षमा पुग्नका लागि ज्यादै व्यापक र अनिश्चयात्मक विषय हुन्।