एस ई ई सिकाइ : सार्वभौमिक मूल्यको एउटा प्रशिक्षण कार्यक्रम

सामाजिक, भावनात्मक र नैतिक सिकाइ, इमोरी विश्वविद्यालय, संक्षिप्त रूपरेखा

सामाdजिक, भावनात्मक र नैतिक सिकाइ के हो?

सामाजिक, भावनात्मक र नैतिक (एस ई ई) सिकाइ भावनात्मक रूपमा स्वस्थ र नैतिक रूपमा जिम्मेवार व्यक्ति, सामाजिक समूह र बृहत् समुदायहरूलाई हुर्काउनका लागि बनाइएको एक कार्यक्रम हो। मुख्यतया विद्यालय र उच्च शिक्षा संस्थाहरूमा प्रयोगका लागि बनाइएको भए तापनि, यो कार्यक्रम अन्य सन्दर्भहरूमा पनि प्रयोगगर्न उपयुक्तछ। 

इमरी विश्वविद्यालयको चिन्तनशील विज्ञान तथा करुणा–आधारित नैतिकता केन्द्रद्वारा विकसित यो प्रशिक्षण कार्यक्रमले नैतिकतामा व्यापक ध्यान दिन्छ। यहाँ प्रस्तुत नैतिकता कुनै विशेष संस्कृति वा धर्ममा आधारित छैन, यो करुणा, सहिष्णुता र क्षमा जस्ता सार्वभौमिक आधारभूत मानव मूल्यहरूमा आधारित छ। एस ई ई सिकाइका अभ्यासहरूले व्यक्तिहरूलाई आफू र अरूको हेरचाह सरल र सीपपूर्ण रूपमा गर्न सहयोग गर्छ, यो शारीरिक र भावनात्मक स्वास्थ्यका लागि आवश्यक हुन्छ। कार्यक्रमले अन्तरनिर्भरता सम्बन्धी जागरूकता र आलोचनात्मक सोच कौशल विकासमा पनि जोर दिन्छ, जसले बढ्दो जटिल संसारमा मानिसहरूलाई जिम्मेवार विश्व नागरिक बन्न तयार पार्न मद्दत गर्छ।

यो कार्यक्रम "सार्वभौमिक मूल्यहरू" मा आधारित छ र त्यसैले यसलाई अन्तर्राष्ट्रिय रूपमा विभिन्न देश र संस्कृतिहरूमा प्रयोग गर्न सकिन्छ। सामान्य ज्ञान, साझा अनुभव र विज्ञानमा आधारित भएर, प्रस्तुत गरिएका श्रेणी र अभ्यासहरूलाई जस्ताको तस्तै प्रयोग गर्न वा विभिन्न मानिसहरूको धार्मिक र सांस्कृतिक मूल्यहरूबाट प्रेरणा लिएर तिनीहरूलाई अनुकूलन गर्न पनि सम्भव छ। यस समावेशी, बृहत् कार्यक्रमको उद्देश्य सबै उमेरका मानिसहरूलाई सामाजिक, भावनात्मक र नैतिक दक्षताहरू सिकाउनु हो। यस सन्दर्भमा, मानिसहरूलाई गणित, विज्ञान, विदेशी भाषा वा अन्य कुनै पनि शैक्षिक विषय सिकाउने तरिकासँग यो फरक छैन। शिक्षालाई व्यक्ति र समग्र समाज दुवैका लागि बढी खुशी र सद्भाव ल्याउने मूल्य र क्षमताहरूलाई बढावा दिन विस्तार गर्न सकिन्छ, र वास्तवमा यो पनि हुनुपर्छ।

तीन आयाम, तीन क्षेत्र

एस ई ई सिकाइका तीन आयामहरू छन् जसले यसले विकास गर्न खोज्ने दक्षताका प्रकारहरूलाई समेट्छ:

  • जागरूकता
  • करुणा
  • संलग्नता

यसबाहेक, यी तीन आयामहरू तीन विभिन्न क्षेत्रहरूमा विस्तार हुन्छन्:

  • व्यक्तिगत
  • सामाजिक
  • वैश्विक

तीन आयामहरू

जागरुकता – हाम्रा विचार, भावना र अनुभूतिहरूको बारेमा बुझाइ विकास गर्नु। जागरूकताले हामीलाई हाम्रो आफ्नै भित्री जीवन, अरूको उपस्थिति र आवश्यकताहरू, र हाम्रो जीवन तथा हामी रहेको संसारको एक विशेषताको रूपमा अन्तरनिर्भरतालाई बुझ्न मद्दत गर्दछ। यसलाई विकास गर्न अभ्यास र ध्यानको परिष्करण आवश्यक पर्दछ। 

करुणा – आफू, अरू र समग्र मानवजातिसँग सम्बन्ध राख्ने तरिका सिक्ने तालिम हो, जसमा दयालुता, सहानुभूति र उनीहरूको सुख र दुःखप्रति चिन्ता समावेश हुन्छ। यसका लागि आलोचनात्मक सोच, आफ्नै आवश्यकता र चाहनाहरूको बुझाइ, र दीर्घकालीन कल्याण सुनिश्चित गर्ने कुरा छुट्याउने क्षमता आवश्यक पर्छ। त्यसपछि यसको दायरा अरूको आवश्यकतालाई समेट्न विस्तार हुन्छ र अन्ततः सम्पूर्ण मानवताका साझा आवश्यकताहरूलाई पहिचान गर्न पुग्छ। 

संलग्नता – जागरूकता र करुणा सम्बन्धी तालिमबाट प्राप्त विधिहरूलाई व्यवहारमा उतार्नु। यसमा व्यक्तिगत, सामाजिक र सामुदायिक कल्याणका लागि अनुकूल हुने व्यवहार र दृष्टिकोणका प्रकारहरूबारे सिक्नु समावेश छ। यसका लागि आत्म-नियन्त्रण, सामाजिक सीप र विश्व नागरिकको रूपमा सक्रिय सहभागिता आवश्यक पर्छ।

यी तीन आयामहरूलाई आधारभूत मूल्यको रूपमा विकास गर्नु केवल ज्ञान आर्जन गर्नु मात्र होइन, तर तिनीहरूको व्यक्तिगत स्तरमा सान्दर्भिकता महसुस गरी त्यसपछि गहिरोसँग आत्मसात् गर्नु हो। यसका केही चरणहरू छन्:

  • प्रारम्भमा, हामी सुनेर, पढेर र अनुभव गरेर सिक्छौं, आधारभूत जानकारीसँग परिचित हुन्छौं र प्रत्येक मूल्यको समझ विकास गर्छौं।
  • आलोचनात्मक चिन्तन प्रयोग गरेर, हामी विभिन्न दृष्टिकोणबाट मूल्यहरूको अनुसन्धान गर्छौं र तिनीहरूलाई आफ्नै परिस्थितिमा लागू गर्छौं, जसले "आलोचनात्मक अन्तर्दृष्टि" तर्फ लैजान्छ। यसले ती "आ-हा" क्षणहरूलाई जनाउँछ जहाँ हामी व्यक्तिगत अन्तर्दृष्टि प्राप्त गर्छौं र ज्ञानको पहिलो तहलाई आफ्नै जीवनसँग जोड्छौं।
  • बारम्बार परिचित गराउने प्रक्रियाले मूल्यहरूलाई चरित्रगत शक्ति र व्यक्तित्वगत विशेषतामा रूपान्तरण गर्छ। जबसम्म मूल्यहरू स्वतःस्फूर्त नहुन्जेल यो निरन्तर अभ्यास, छलफल र बहसबाट सम्भव हुन्छ।

तीन क्षेत्रहरू

व्यक्तिगत – अरूको र बृहत् समुदायको आवश्यकताहरूको ख्याल राख्न, हामीले पहिले आफ्नो आवश्यकता र भित्री जीवनको ख्याल राख्न सिक्नुपर्छ। यो भावनात्मक साक्षरता विकास गरेर सम्भव हुन्छ, जसले हामीलाई भावनाहरू पहिचान गर्न र तिनीहरूको प्रभाव बुझ्न सक्षम बनाउँछ, जसले गर्दा हामी आफू र अरूलाई हानि पुऱ्याउन सक्ने आवेगपूर्ण व्यवहारबाट जोगिन सक्छौं।

सामाजिक – मानव भएर हामी सामाजिक स्वभावका हुन्छन्, र अरूसँग राम्रो सम्बन्ध राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ। हामी सिकाइ, आत्मचिन्तन र सक्रिय अभ्यासबाट सामाजिक गुणहरू विकास गर्न सक्छौं।

वैश्विक – जटिल हुँदै गयिरहेको संसारमा, करुणा मात्र पर्याप्त हुँदैन। हामी बाँचिरहेका अन्तरनिर्भर वैश्विक प्रणालीहरूको गहिरो बुझाइ पनि आवश्यक हुन्छ। परिस्थितिहरूलाई बहु दृष्टिकोणबाट हेर्न जान्नुले समस्या समाधानलाई अझ समग्र प्रक्रिया बनाउँछ र विषयहरूलाई साना, असम्बन्धित टुक्राहरूमा विभाजन गर्ने प्रवृत्तिबाट जोगाउँछ।

अधिकम सूत्रहरू

अधिगम सूत्रहरू माथि उल्लेखित तीन मूल्यहरूको अन्वेषण, मूल्याङ्कन र आत्मसात् गर्ने तरिकाहरू हुन्। यिनीहरूले ती मूल्यहरूको बारेमा हाम्रो ज्ञान र बुझाइलाई स्थिर आधारमा समयसँगै मजबुत बनाउँछ। यस्ता चारवटा छन्:

  • आलोचनात्मक सोच – विषयहरू र अनुभवहरूलाई तार्किक तर्क, बहु दृष्टिकोण, संवाद र बहस मार्फत अन्वेषण गरी गहिरो बुझाइमा पुग्नु।
  • चिन्तन अभ्यासहरू – सीपहरूलाई आत्मसात गर्नका लागि संरचित तरिकाले व्यक्तिगत अनुभवहरूमा ध्यान केन्द्रित गर्नु।
  • वैज्ञानिक दृष्टिकोण - भावनाहरू र संसारलाई विज्ञानको दृष्टिले बुझ्ने, जसले संस्कृति वा धर्मप्रति निष्पक्ष रहने आधार दिन्छ।
  • संलग्न सिकाइ – सहभागी सिकाइ रणनीतिहरूमा संलग्न हुनु, जस्तै रचनात्मक अभिव्यक्ति (कला, संगीत, लेखन) वा पारिस्थितिक सिकाइ (प्राकृतिक संसारसँग प्रत्यक्ष संलग्नता), जसले पछि आत्मचिन्तन गर्न सहयोग पुर्याउँछ। 

चारै अधिगम सूत्र करुणामा आधारित छन्, जुन  करुणा तीन आयामको केन्द्रमा रहन्छ। प्रयः करुणालाई कमजोरी ठानिन्छ। अरूले चाहेको कुरामा आफैँले घाटा व्यहोर्नु, वा दमनजस्ता गलत व्यवहार सहनु भन्ने बुझाइ हुन्छ। एस ई ई सिकाइले करुणालाई साहसिक करुणा भनेर बुझ्छ। यसले अरूप्रति चिन्ता र विचार देखाउने दृढ धारणालाई जनाउँछ। यो भित्री शक्तिबाट उत्पन्न हुन्छ र भित्री शक्ति नै बढाउँछ।

सारांश

एस ई ई सिकाइमा संलग्न हुँदा, हामीले आफ्नै विचार र भावनाहरू, साथै अरू र उनीहरूको मानसिक जीवनबारे प्रत्यक्ष रूपमा गहिरो चेतना प्राप्त गर्छौं। हामीले भावनात्मक स्वच्छता र आत्म-हेरचाहका सीपहरू विकास गर्छौं, जसमा अरूप्रति साहसी करुणा र सबै ठाउँका सबै मानिसहरूलाई मूल्य दिने साझा मानवताको पहिचान समावेश हुन्छ। अन्ततः, लाभदायक व्यवहार र विनाशकारी व्यवहारबीच छुट्याउन सक्ने भएर, हामी अरूसँग उत्पादक र हितकारी सम्बन्ध राख्न सक्छौं, जसले व्यापक सामाजिक हितका लागि विश्वव्यापी स्तरमा संलग्न हुन मद्दत गर्दछ। यसरी, एस ई ई सिकाई एक बृहत् कार्यक्रम हो जसले हामीलाई मूल्य र सीपहरूको दिशा दिन्छ, जसले हामीलाई स्वस्थ आत्म-सम्मानको भावना विकास गर्न, वरिपरिकाहरूसँग राम्रो सम्बन्ध राख्न, र जिम्मेवार विश्व नागरिक बन्न सक्षम बनाउँछ।

यदि तपाईं अझ गहिराइमा जान चाहनुहुन्छ भने एस ई ई सिकाइ रुपरेख को पूर्ण संस्करण पढ्नुहोस् र चिन्तनशील विज्ञान तथा करुणा आधारित नैतिकता केन्द्रका अन्य कार्यक्रमहरूबारे अध्ययन गर्नुहोस्।

Top