हामी चाहे ठूला शहरका बासिन्दा हौँ वा सानोका, अथवा गाउँका। आधुनिक युगका समस्याहरूको सामना सबैले गर्नैपर्छ। ती समस्याहरूलाई अधिकांश मानिसले “तनाव” भनेर बुझ्छन्। अहिले हाम्रा लागि धेरैभन्दा धेरै चीज उपलब्ध छन् – चाहे त्यो सूचना होस्, या चलचित्र, या टिभी च्यानल, या संगीत, या सामाजिक सञ्जालका फीड, म्यासेज, अनलाइन सामग्रीहरू, या त्यस्तै अनेक थोक। जब ती उपलब्ध हुन्छन्, हामीलाई अझ थप चाहिन्छ। सतही रूपमा हेर्दा तिनले हाम्रो जीवनमा सुधार ल्याउँछन्, तर त्योसँगै हाम्रो जीवन थप जटिल र तनावग्रस्त हुन्छ। विशेष गरेर तब जब हाम्रा अगाडि ज्यादै धेरै विकल्पहरू उपलब्ध हुन्छन्। समाचार, इमेल, इन्स्ट्यान्ट म्यासेज आदि कुनै पनि कुरामा हामीलाई पछाडि पर्न मन लाग्दैन। केही कुरामा छुटिएला कि भन्ने हामीलाई डर लाग्छ। कुनै टिभी कार्यक्रम हेर्दै छौं भने त्योभन्दा राम्रो कार्यक्रम पो छुट्यो कि भन्ने छट्पटी हामीलाई भैरहन्छ।
हामीलाई सोसाइटीमा पर्नुपर्छ, साथीहरूको समूहमा भइरहनुपर्छ, सोसल मिडियामा जे पोष्ट गरेपनि हामीलाई धेरै “लाइक” चाहिन्छ। हामी शान्त रहनै सक्दैनौं, र हामीलाई आउने “लाइक” को संख्या वा इन्टरनेटमा उपलब्ध भएको सूचनाबाट कहिल्यै सन्तुष्ट हुँदैनौं। फोनमा म्यासेज आएको संकेत देख्दा हामी उत्साहित हुन्छौं, थप “लाइक” आयो कि आएन भन्दै आफ्नो फेसबुक पेज चेक गरिरहन्छौं, र समाचार दुर्व्यसनीजस्तै केही नयाँ घटना घट्यो कि भन्दै फेरि फेरि समाचार चेक गरिरहन्छौं। केही कुरामा आफू नछुटौं भन्ने चाहन्छौं, तर ती कुनै पनि कुरामा हामी सन्तुष्ट हुँदैनौं र थप कुनै न कुनै कुरा खोजिरहन्छौं।
अर्कातर्फ, आफ्नो परिस्थितिलाई सम्हाल्न नसक्ने महसुस गरी त्यसबाट भाग्न खोज्छौं र चाहे सब–वेमा होस् या यताउता हिँड्दै गर्दा, आफ्ना मोबाइल यन्त्र हेर्न र गीतसंगीत सुन्दै मन भुलाउन थाल्छौं। हामी आफूलाई वरिपरि घटिरहेको यथार्थबाट बन्द गराउन खोज्छौं, र आफ्नै निजी अवास्तविक दुनियाँमा पलायन हुन खोज्छौं। हामी सधैंभरि मनोरञ्जनमा भुलिरहनु पर्ने बाध्यकारी आवश्यकता महसुस गर्छौं। एकातर्फ हामी चैन र शान्तिको कामना राख्छौं भने अर्कातर्फ सूचना, संगीत आदिको अभावमा हुने रिक्तताबाट डराउँछौं। बाहिरी संसारका तनावहरूबाट आफूलाई मुक्त गराउने प्रयासमा हुन्छौं, त्यसैले अरू कुरा छाडेर इन्टरनेटको अवास्तविक दुनियाँमा आफ्नो सहारा खोज्न थाल्छौं। तर त्यहाँ पनि सामाजिक सञ्जालका तथाकथित “साथीहरू” को साथ र स्वीकारोक्तिकै भर पर्नुपर्ने हुन्छ, जसले गर्दा कहिल्यै सुरक्षित महसुस गर्न सक्दैनौं। के यसरी मोबाइल यन्त्रहरूको सहारा खोज्नाले हामी समस्याबाट मुक्त हुन सकौंला त?
यस्तो आदतको वशमा गरिने दिनचर्यामा अल्झिएका कारण अनुभूति हुने दुःखलाई चिन्नुपर्छ र त्यसको स्रोत के हो, जान्नुपर्छ। त्यो दुःखबाट मुक्त हुने अठोट गर्नुपर्छ। यसका लागि दुःखको स्रोतबाट मुक्त हुने तरिका जान्नु र त्यसले काम गर्छ भन्ने कुरामा दृढ विश्वास हुनु जरुरी हुन्छ। तर हाम्रो उद्देश्य भनेको सुधबुध गुमाएर केही होस नै नहुने खालको सुख प्राप्त गर्नु होइन। सुख भनेको दुःखको अनुपस्थिति मात्र होइन, दुःख नभोगेका बेला हुनसक्ने एकखाले उदासीन र भावहीन अवस्था मात्र होइन।
दुःखको स्रोत हाम्रो आफ्नै मन हो
हामीले अनुभूति गर्ने बेखुसी, दुःख, र तनावको स्रोत बाह्य चीजहरू वा परिस्थितिहरू होइनन्। भएका भए तिनको सामना गर्ने हरेक व्यक्तिको अनुभूति एकैखालको हुने थियो।
दुःखको स्रोत अनेक दृष्टिकोण तथा आवेगहरूले युक्त हाम्रो आफ्नै मन हो र आधुनिक जीवनका यथार्थहरूलाई सामना गर्ने हाम्रो आफ्नै भ्रमपूर्ण तौरतरिका हो।
हामीमा स्वयंलाई हानि गर्ने प्रबल प्रवृत्तिहरू छन्, जो असुरक्षा, आसक्ति, द्वेष, भय आदि अशान्तकारी क्लेश र दृष्टिकोणका कारण आउँछन्। तिनका कारण हामी त्यस्ता काम गर्न पुग्छौं जसबाट थप तनाव र समस्याहरू सिर्जना हुन्छ। यसले पुनरावृत्ति भैरहने चक्रजस्तो हाम्रो क्लेश र दृष्टिकोणलाई थप मजबुत बनाउँछ।
यस्तो अशान्तकारी क्लेश र दृष्टिकोणलाई हामीमा हुने अज्ञानले आधार प्रदान गर्छ। या त हामीलाई आफ्नो व्यवहारले स्वयंमा के असर गर्छ थाहा हुँदैन र आफ्नो परिस्थितिप्रति यथार्थवादी हुँदैनौं, या त्यसप्रतिको हाम्रो बुझाइ गलत हुन्छ। उदाहरणका लागि धेरै “लाइक” पाउनाले हामीलाई थप सुरक्षित बनाउँदैन, तर बनाउँछ भन्ने हामीलाई लाग्छ। यो दृष्टिकोणका कारण हामीमा धेरैभन्दा धेरै “लाइक” पाउने लालसा बनिरहन्छ र कति लाइक पाइएछ भनेर हामी लगातार चेक गरिरहन्छौं। तर जति लाइक पाए पनि हामी सन्तुष्ट हुँदैनौं र मनमा शान्ति हुँदैन। अथवा कम्प्युटर गेमको अवास्तविक दुनियाँमा हराएर आफ्नो जीवनका यावत समस्याहरूबाट मुक्ति पाइएला भनेर सोच्न सक्छौं। यस्तो अज्ञान र अबोधपना तथा त्यसका कारण उत्पन्न हुने आसक्ति लगायतका क्लेशले हाम्रो स्वयंलाई हानि गर्ने नकारात्मक प्रवृत्ति र चित्तको अशान्त अवस्थालाई थप मजबुत बनाउँछन्।
यस्तो प्रवृत्तिको सामना गर्न हामीलाई आफ्नो परिस्थितिको बोध गर्ने प्रज्ञा वा होसपूर्ण विवेकको आवश्यकता हुन्छ। उदाहरणका लागि आफ्नो रोजगारीलाई लिऊँ जो कठिन होला। त्यसको सामना त हामीले गर्नुपर्ने नै हुन्छ, किनकि त्यो यथार्थ हो। तर हामीले आफ्नो क्षमताले भ्याएसम्म मात्र सामना गर्न सक्छौं। यो यथार्थलाई र आफ्नो सीमिततालाई हामीले स्वीकार गर्नुपर्छ। परिस्थितिलाई कुनै भयानक दानवजस्तो रूपमा लिन र सोचेजस्तो उत्कृष्ट हुन नसकेकोमा आफूमै खराबी रहेछ भन्ने सोच्न छाड्नुपर्छ। आफूले सामना गर्नुपरेको यथार्थलाई बढाइचढाइ वा न्यूनीकरण नगरी सजगता कायम राख्न हामीलाई मानसिक स्थिरता चाहिन्छ। तथ्यलाई हेर्न भुल्यौं भने भुलेँछु भनेर जान्ने होस् पनि चाहिन्छ। यसका अतिरिक्त हामीलाई आत्म–संयमको आवश्यकता हुन्छ ताकि आफूलाई हानि गर्ने आदतहरूलाई व्यवहारमा उतार्नबाट बच्न सकियोस्।
आत्म–संयमको अभ्यास गर्दा हामी साना कुराहरूबाट सुरु गर्छौं। तनावको अवस्थामा हामीमा कोर्टिसोल (तनावसँग सम्बन्धित हार्मोन) को स्तर बढ्न थाल्छ र त्यसबाट मुक्तिका लागि चुरोट तान्ने, सामाजिक सञ्जालमा भुल्ने या इन्टरनेटमा कुनै रोचक सामग्री खोज्ने गर्न थाल्छौं। त्यसले अलिकति राहत दिन्छ भन्ने अपेक्षाले डोपामिन (राम्रो कुराको आशामा बढ्ने हार्मोन) को स्तर बढ्छ। तर चुरोट तानिसकेपछि वा इन्टरनेट हेरिसकेपछि पनि हामीलाई तृप्ति हुँदैन र तनाव पुनः फर्किन्छ।
त्योबेला चुरोटले वा सामाजिक सञ्जालको “लाइक” ले वा नयाँ समाचार पढ्नाले समस्याको समाधान गर्छ भन्ने भ्रममा विश्वास गर्नुका कारण हामीलाई हुने हानिबारे विचार पुर्याउनुपर्ने हुन्छ। र त्यो अवस्थाबाट मुक्ति पाउने अठोटको विकास गर्नुपर्छ। त्यसैले हामीले चुरोट तान्न छोड्नुपर्छ, इमेल वा म्यासेज कतिबेला चेक गर्ने, र समाचार वा सामाजिक सञ्जाल कतिपटक हेर्ने भन्ने कुरालाई व्यवस्थित गर्नुपर्छ। चुरोट तान्ने वा इन्टरनेट हेर्न थाल्ने बाध्यकारी आवेग उत्पन्न भयो भने त्यसलाई क्रियान्वित गरिहाल्नबाट आफूलाई रोक्छौं।
जसरी शारीरिक भद्दापनबाट मुक्ति पाउन आहारमा नियमन गर्नु जरुरी हुन्छ, त्यसैगरी मानसिक भद्दापनबाट मुक्ति पाउन अत्यधिक सूचनाको लतलाई नियन्त्रित गर्नु जरुरी हुन्छ।
जसरी हामी आफ्नो आहारको मात्रालाई नियमन गर्छौं, त्यसरी नै आफूले ग्रहण गर्ने सूचना, म्यासेज, संगीत आदिको मात्रालाई नियमन गर्नुपर्छ।
यसरी पुराना विनाशकारी आदतहरूबाट आफूलाई रोक्न खोज्दा पहिला त हाम्रो शरीरमा कोर्टिसोलको स्तर बढ्छ र तनाव बढ्छ किनकि पुराना आदतहरू निकै शक्तिशाली हुन्छन्। यो चुरोट वा इन्टरनेट, मोबाइल, संगीत आदिको लत छोड्दा हुने असर जस्तै हुन्छ। तर यसरी आफूलाई रोक्दाखेरिको तनाव विस्तारै समाप्त हुँदै जान्छ र हामी मनमा शान्तिपूर्ण निकासको अनुभूति गर्छौं। त्यस्ता नकारात्मक आदतलाई सकारात्मक आदतले प्रतिस्थापन गर्नु आवश्यक हुन्छ। उदाहरणका लागि हामी सबै यो मानवताको अंग हौं, एकआपसमा अन्तरनिर्भर छौं र हाम्रो कल्याण अरू सबैको कल्याणमा निर्भर गर्छ भनेर जान्ने बानीको विकास गर्न सक्छौं। र यदि त्यसो गर्यौं भने अरूसँग जोडिने र आत्मीयताको अनुभव गर्ने चाहनालाई पूरा गर्न सक्छौं, जुन इन्टरनेट र सामाजिक सञ्जालले गर्न सक्दैन। यसले हाम्रो अक्सीटोसिन हार्मोन (आत्मीयताको अनुभूति गराउने हार्मोन) को स्तर बढ्छ र हामी ज्यादा सुख र सुरक्षाको अनुभूति गर्न सक्छौं।
आफूलाई हानि गर्ने आदतहरूबाट मुक्ति
संक्षेपमा, यदि हामी आफूलाई मुक्त गराउने अठोट लिन्छौं र नकारात्मक आदतहरूबाट आफूलाई बचाउन चाहन्छौं भने आत्म–संयम (शील), मानसिक स्थिरता (समाधि), र होशपूर्ण विवेक (प्रज्ञा)को तीन खण्डीय मार्गमा आफूलाई प्रशिक्षित गर्नुपर्ने हुन्छ। यी तीनै खण्डको विकासको अभ्यास एकैसाथ गर्नुपर्ने हुन्छ, र यसका लागि निम्न तत्वहरूबाट आफूलाई मुक्त गराउनुपर्ने हुन्छ जसले अभ्यासमा बाधा पुर्याउँछन्।
- अफसोच गर्नाले आत्म–संयममा बाधा पुग्छ : हामीलाई इन्टरनेटमा नबसेको र म्यासेज वा इमेलको तत्काल उत्तर नदिएको जस्तो कुरामा अफसोच हुन सक्छ। यसबाट बच्ने एक उचित उपाय के हुन सक्छ भने कम्प्युटर र मोबाइल डिभाइसमा नोटिफिकेसन अलार्म बन्द गर्ने र कुनै निश्चित समयमा मात्र चेक गर्ने। महत्वपूर्ण विषय छ भने पढ्ने बित्तिकै तत्काल उत्तर दिइहाल्ने। कम महत्वपूर्ण कुरा छ भने आत्म–संयम अपनाउँदै आफूलाई अलिक फुर्सद भएको बेलामा उत्तर दिनुपर्छ। अथवा हामीले दिनको कुनै निश्चित समय त्यस्ता म्यासेज वा इमेलको उत्तर दिनका लागि निर्धारित गर्न सक्छौं।
- सुस्ती, मानसिक आलस्य वा छटपटाहटले मानसिक स्थिरतामा बाधा पुग्छ : यस्ता तत्वले हामी के भुल्न पुग्छौं भने निरन्तर म्यासेज चेक गरिरहने काम बन्द गर्ने हो भने हाम्रो जीवनमा जटिलता कम हुन्छ।
- संशययुक्त मानसिक विचलनले होशपूर्ण विवेकमा बाधा पुग्छ : यदि म्यासेज चेक गर्नका लागि कुनै निश्चित समय निर्धारित गर्यौं भने पनि हामीलाई त्यसो गर्नु ठीक थियो कि थिएन भनेर शंका लाग्न सक्छ। खासगरी म्यासेज चेक गर्नबाट आफूलाई रोक्दा हुने कठिनाइ वा तनावका कारण यस्तो शंका उत्पन्न हुन सक्छ। यस्तो शंकाबाट पार पाउन हामीले आफ्नो आदत परिवर्तन गर्दा हुने फाइदालाई स्मरण गर्नु पर्छ।
आफ्नो जीवनलाई सुखी बनाउन हामी अन्य उपाय पनि अपनाउन सक्छौं। उदाहरणका लागि भीडभाडयुक्त सब–वेमा भएका बेला जति धेरै आफ्नो बारेमा मात्र सोच्छौं र आफूलाई सुरक्षित राख्ने इच्छाले मोबाइल फोनमा मात्र हराउन खोज्छौं, त्यति नै आफूलाई संकीर्ण महसुस गछौं। हाम्रो उर्जा खुम्चिन पुग्छ र थप तनावको अनुभव हुन्छ। खतराबाट सशंकित हुने भएकाले तनाव–मुक्त हुन सक्दैनौं। मोबाइलमा आफूले खेल्दै गरेको खेल वा आइपडमा सुन्दै गरेको संगीतमा तल्लीन त हौंला, तर हामीले आफू वरिपरि एक दिवाल खडा गरिरहेका हुन्छौ, आफूलाई अरूले विघ्न नपुर्याओस् भन्ने सोच्छौं र रक्षात्मक बन्न पुग्छौं। तर त्यसो नगरी यदि आफूलाई सब–वेमा भएका सबै मानिसको समूहकै एक अंगका रूपमा जान्यौं र आफूजस्तै अवस्थामा भएका ती सबैप्रति स्नेह र करुणाको भाव राख्यौं भने हाम्रो मन र हृदय खुल्छ। संभावित खतराप्रति सजग पनि हुन्छौं तर आफूमा मात्र केन्द्रित हुने पागलपनबाट मुक्त हुन्छौं। हामी अरू सबैजना पनि सुरक्षित होउन् भन्ने कामना गर्छौं। अरूलाई आफ्नो खेल वा संगीत थोपर्ने र आफूलाई अरूबाट अलग्याउने काम गर्दैनौं। किनकि त्यसो गर्नाले हाम्रो एकाकीपन मात्र बढ्छ। बरु आफूलाई वरिपरीका सबै मानिसको समूहको एक अंगका रूपमा हेर्नाले जसरी कुनै पशु आफ्नो बथानमा रहँदा सुरक्षित महसुस गर्छ त्यसरी नै हामी सुरक्षाको अनुभूति गर्छौं। तर यो उपायलाई प्रभावकारी रूपमा अपनाउन हामीले आत्म–संयम, मानसिक स्थिरता र होसपूर्ण विवेकको अभ्यासमा आफूलाई प्रशिक्षित गर्नुपर्ने हुन्छ।
कार्यस्थलमा भएका बेला अपनाउन सकिने अर्को उपाय के हुन सक्छ भने कामबाट केही क्षण फूर्सद लिनका मोबाइल वा इन्टरनेट हेर्नुको साटो कुर्सीबाट उठेर कोठाभित्रै यताउता टहलिन सक्छौं। इन्टरनेट वा फोनको साटो कम उद्दीपक कुराहरूमा आफूलाई लगाउन सक्छौं।
सारांश
समस्याबाट मुक्त हुने अठोट लिँदै हानिकारक आदतहरूका कारण हुने तनावलाई न्यूनीकरण गर्न माथिको तीन खण्डको अभ्यास अनुसारका उपायहरू अपनाउने हो भने रोजगारी, परिवार र आर्थिक अवस्थासँग सम्बन्धित अनेक प्रकारका तनावहरूको सामना गर्न सक्ने शान्त चित्त प्राप्त गर्न सक्छौं। अत्यधिक सूचना, इन्टरनेट र सामाजिक सञ्जालको अति उपयोगको लतबाट आउने आधुनिक जीवनका समस्याहरूको सामना गर्न यो उपाय ज्यादा उपयोगी साबित हुन सक्छ। यसको अर्थ हामीले आफ्नो इन्टरनेट र मोबाइल यन्त्रहरूलाई पूर्णतः त्याग्नुपर्छ भनेको होइन, बरु तिनलाई ज्यादा हितकार र स्वस्थकर ढंगले उपयोग गर्ने राम्रा बानीहरूको विकास गर्नुपर्छ।