बुद्धले हामी जीवनमा कुनै पनि सकारात्मक लक्ष्यसम्म पुग्ने चाहना राख्छौं भने ६ महत्त्वपूर्ण चित्तावस्थाको विकास गर्नु जरुरी हुन्छ भनी बताउनुभएको थियो। ती चित्तावस्थालाई “पारमिता” को नाम दिइएको छ, जसलाई बुद्धले जस्तै पूर्णता प्रदान गर्न सक्यौं भने हामी पनि निर्वाण र बोधि लाभ गर्न सक्छौं। मैले तिनलाई संस्कृतको पारमिता शब्दको भावसँग मिल्नेगरी “दूरव्यापी क्षमताहरू” भनेर अनुवाद गर्ने गरेको छु, किनकि तिनको मद्दतले हामी आफ्नो दुःखको महासागर तरेर अर्को किनारसम्म पुग्न सक्छौं।
हामी यी ६ चित्तावस्थालाई एक सुन्दर सूचीका रूपमा सजाएर मात्र राख्दैनौं, तिनलाई समन्वित गर्दै आत्मसात गर्छौं र दैनिक जीवनमा तिनलाई उतार्ने काम गर्छौं। लाम–रिम मार्गक्रमअन्तर्गत प्रेरणाका तीन स्तर अनुरूप तिनको विकास गर्नु र आफ्नो जीवनमा उतार्नुका लाभ ज्यादै धेरै छन्।
- तिनले हामीलाई दुःखबाट बच्न र तिनको समाधान गर्न सक्षम बनाउँछन्।
- तिनले हामीलाई क्लेश र मानसिक अशान्तिबाट मुक्त हुन सहयोग गर्छन्।
- तिनले हामीलाई अरूको सच्चा हित गर्न सक्षम बनाउँछन्।
पारमिताका सकारात्मक चित्तावस्थाको विकास गर्न आफूलाई प्रशिक्षित गर्ने क्रममा हामीले यी तीनमध्ये एक वा धेरै लक्ष्यहरूलाई स्मरणमा राख्नुपर्छ। यसले ती पारमितालाई थप बलशाली बनाउन प्रयत्नशील रहने प्रेरणा प्रदान गर्छ।
१. दान पारमिता
दानको अर्थ अरूलाई आवश्यक परेका कुरा दिने तत्परता हो। यसका लाभहरू निम्नानुसार छन् –
- यसले हामीलाई आत्म–सम्मानको भाव दिन्छ किनकि हामीले कसैका लागि केही योगदान गर्न सक्यौं। यसबाट हामीलाई हीनता र निराशाको भावबाट मुक्त हुन सहयोग मिल्छ।
- यसले आसक्ति, दरिद्रीपन र कन्जुस्याईंबाट मुक्त हुन सहयोग गर्छ। यी त्यस्ता मानसिक अवस्था हुन् जसबाट समस्याको चक्र चलिरहन्छ।
- जसलाई जरुरत छ, उसलाई सहयोग मिल्छ।
२. शील पारमिता
शील पारमितामा हामी विनाशात्मक व्यवहार (अकुशल कर्म) का हानि जानेर त्यसबाट आफूलाई अलग राख्छौं। यसका लाभहरू निम्नानुसार छन् –
- यसले हानिकारक ढंगले व्यवहार गर्नु, बोल्नु र सोच्नुका कारण उत्पन्न हुने समस्याहरूबाट बच्न सहयोग गर्छ। यसबाट अरूले हामीलाई विश्वास गर्ने आधार तैयार हुन्छ, जुन सच्चा मित्रताको जग हो।
- यसले बाध्यात्मक रूपमा गरिने नकारात्मक व्यवहार नियन्त्रण गर्न र आत्मसंयमको विकास गर्न सहयोग गर्छ, जसबाट मन शान्त र स्थिर बन्छ।
- यसले अरूलाई हानि गर्नबाट हामीलाई रोक्छ।
३. क्षान्ति पारमिता
क्षान्ति नरिसाइकन वा विचलित नभैकन कठिनाइको सामना गर्नसक्ने क्षमता हो। यसका लाभहरू निम्नानुसार छन् –
- कुनै कुरा भनेअनुसार नभएको अथवा आफू वा अरूबाट कुनै त्रुटि भएको अवस्थामा बखेडा खडा गर्नबाट हामीलाई बचाउँछ।
- यसले अशान्त बनाउने रिस, अधैर्य, र असहिष्णुताजस्ता मनोभावलाई नियन्त्रित गर्न सहयोग गर्छ। हामी विषम परिस्थितिमा पनि आफूलाई संयमित राख्न सक्छौं।
- अरूले हाम्रो सल्लाह मानेनन्, कुनै गल्ती गरे, जथाभावी काम गरे वा बोले, वा हामीलाई कुनै तवरले सताए भने पनि हामी रिसाउँदैनौं। यसकारण हामी अरूलाई राम्रोसँग सहयोग गर्न सक्छौं।
४. वीर्य पारमिता
वीर्य पारमिता भनेको परिस्थिति प्रतिकूल हुँदा पनि हिम्मत टुट्न नदिई नायक जस्तो साहसका साथ अन्तिमसम्मै प्रयत्नमा लगनशील भैराख्नु हो। यसका लाभहरू निम्नानुसार छन् –
- यसले हतोत्साहित नभै आफूले शुरु गरेको काम सम्पन्न गर्ने बल प्रदान गर्छ।
- यसले हीनभावना, अल्छीपना, अन्य बेकारका कुराहरूमा अल्झेर काम टार्ने प्रवृत्ति आदिबाट मुक्त हुन सहयोग गर्छ।
- यसले एकदमै कठिन कामहरू पनि सम्पन्न गर्न सहयोग गर्छ, र कठिन व्यक्तिहरूलाई सहयोग गर्ने क्रममा आउने निराशाबाट हामीलाई बचाउँछ।
५. ध्यान पारमिता
ध्यानको बेलाको एकाग्र चित्त मानसिक दौडाहा, सुस्ती, र भावनात्मक विचलनबाट पूर्ण मुक्त अवस्थामा हुन्छ। यसका लाभहरू निम्नानुसार छन् –
- यसले हामीलाई आफ्नो काममा पूर्ण एकाग्र रहन सक्षम बनाउँछ, जसका कारण हामी त्रुटि र दुर्घटना गर्नबाट बच्छौं।
- यसले तनाव र बेचैनी, अति उत्साह, विस्मृति, वा भावनात्मक उत्तेजनाबाट मुक्त हुन सहयोग गर्छ।
- यसले अरू कसरी बोल्दैछन्, कस्तो व्यवहार गर्दैछन् भन्ने कुराप्रति सजग रहन सहयोग गर्छ, जसबाट हामी उनीहरूलाई सहयोग गर्ने उत्तम तरिका जान्न सक्छौं।
६. प्रज्ञा पारमिता
प्रज्ञा चित्तको त्यस्तो अवस्था हो जसले सही छनौट गर्न सक्छ, उचित र अनुचित तथा ठीक र बेठीकबीच पक्कासँग भेद गर्न सक्छ। यसका लाभहरू निम्नानुसार छन् –
- यसले हामीलाई कुनै विशेष परिस्थितिमा के गर्ने, कस्तो व्यवहार गर्ने भन्ने कुरा स्पष्ट र सही ढंगले जान्न सक्षम बनाउँछ, जसबाट हामी भविष्यमा पछुतो हुने काम गर्नेछैनौं।
- यसले अनिर्णय र भ्रान्तिबाट छुट्कारा पाउन सहयोग गर्छ।
- यसले हामीलाई अरूको अवस्थाबारे सही बोध गर्न सक्षम बनाउँछ। यसबाट हामी के कुरा बोल्दा वा गर्दा उनीहरूको हित हुन्छ, जान्दछौं।