हामी आफैं वा हाम्रो भावनाबारे केही विशेष छैन

परिचय

मनोप्रशिक्षण वा मनोवृत्ति प्रशिक्षण, तिब्बतीमा लोजोङ, एक धेरै फराकिलो विषय हो जुन हामीले आफ्नो जीवन कसरी अनुभव गर्छौं र हामीले अनुभव गरेका कुराहरूप्रति आफ्नो मनोवृत्ति कसरी परिवर्तन गर्न सक्छौं भन्ने कुरासँग सम्बन्धित छ। हामी सबैलाई थाहा छ जीवन उतार-चढावले भरिएको छ र प्रायः सजिलो हुँदैन। धेरै कुरा हामीसँग लगातार घटिरहन्छन्, र यी विभिन्न कारण र अवस्थाहरूको अत्यन्तै विस्तृत दायराबाट उत्पन्न हुन्छन्।

सजिलो उदाहरणको रूपमा, आज साँझ हामी सबै यहाँ भेला भएको कुरामा सोच्नुहोस्। यहाँ आउनको लागि के भयो? त्यहाँ सम्पूर्ण भौतिक पक्ष छ, यातायात र आवागमन, तपाईं शहरमा बस्नुहुन्छ भन्ने तथ्य र त्यसपछि तपाईंको परिवार र काममा के भइरहेको छ र सामान्यतया जीवनमा तपाईंको रुचि जे छ त्यो सबै छ। कारण र परिस्थितिहरूको विशाल मात्राको परिणाम स्वरूप, हामी यहाँ सँगै छौं, प्रत्येक व्यक्ति फरक पृष्ठभूमि र कारण र परिस्थितिहरूको फरक समूहबाट आएका छौं।

अब, हामी यहाँ बसिरहेका छौं, तपाईंहरू सबै हुनुहुन्छ, म छु, र एक अनुवादक पनि छन्। यहाँ हामीलाई रेकर्ड गरिरहेको भिडियो क्यामेरा पनि छ। तपाईंहरूले मलाई हेर्ने र क्यामेराले हेर्ने बीच के फरक छ? हामीजस्तै, क्यामेरा पनि विभिन्न कारण र अवस्थाहरूका कारण यहाँ छ: कसैले त्यसलाई बनायो, अर्कैले किन्यो, अर्को व्यक्तिले ल्यायो र अर्को व्यक्तिले यसलाई जडान गर्‍यो। क्यामेरा र हामी दुवैले जानकारी ग्रहण गर्छौं। तर वास्तविक फरक के हो भने, हामीले ग्रहण गरेको जानकारीको आधारमा भावना विकास गर्छौं, अर्थात् केही हदसम्मको सुख वा दु:ख अनुभव गर्छौं। क्यामेरा र कम्प्युटरले आफूले ग्रहण गरेको जानकारी अनुभव गर्दैनन्।

सुख के हो?

जीवनको आधारभूत सिद्धान्त के हो भने, हामी सबै सुखी हुन चाहन्छौं र दुखी हुन चाहँदैनौं। यसले हामीलाई सोच्न प्रेरित गर्छ, “ठीक छ, वास्तवमै सुख के हो? हामीले साँच्चिकै के चाहन्छौं?”

बौद्ध दृष्टिकोणबाट, खुशीलाई त्यस्तो अनुभूतिको रूपमा परिभाषित गरिएको छ जुन अनुभव गर्दा, हामी स्वाभाविक रूपमा त्यसबाट अलग हुन चाहँदैनौं। हामीलाई मन पर्छ र हामी निरन्तरता चाहन्छौं।

यो एउटा मानसिक अनुभव हो जुन शारीरिक अनुभूतिसँगै हुन सक्छ, जस्तै केही वा कसैलाई हेर्नु, वा मानसिक अनुभूति सँगै आउँछ, जस्तै केही वा कसैबारे सोच्नु। हामीले जे हेर्दैछौं वा जे सोच्दैछौं त्यसलाई मन पराउने होइन; बरु, हामीले हेर्दा वा सोच्दा कस्तो अनुभव गर्छौं भन्ने कुरा मन पर्छ। तर, खुशी शारीरिक सुखको अनुभूति जस्तो होइन। यो मानसिक अवस्था हो। यो आनन्दको विचलित भावना जस्तो पनि होइन, जसमा हामी केहीको राम्रो पक्षलाई अतिरञ्जित गर्छौं, जस्तै चकलेट, हाम्रो युवा अवस्था, वा खुशी आफैं, र त्यसलाई छोड्न चाहँदैनौं।

केही कुरा हेर्दा, जस्तै चलचित्र हेर्दा, हामीले अनुभव गर्ने खुशीको स्तर सानो हुन सक्छ। तर केही मिनेटपछि पनि हामी त्यही हेर्दैछौं र नजर हटाउन मन लाग्दैन भने, यसको अर्थ हामी सन्तुष्ट छौं र त्यो अनुभवबाट अलग हुन चाहँदैनौं। हामी भन्न सक्छौं, हामी अझै पनि “त्यो हेर्दा खुशी छौं।” यदि हामी त्यसबारे असन्तुष्ट हुन्थ्यौं भने, असन्तुष्टि भनेको त्यो अनुभूति हो जसबाट हामी स्वाभाविक रूपमा छुटिन चाहन्छौं, तब हामी सामान्यतया नजर हटाएर हाम्रो अनुभव बदल्ने प्रयास गर्थ्यौं। साथै, कहिलेकाहीँ हामी तटस्थ अनुभूति पनि गर्छौं, जहाँ न छुटिन मन लाग्छ, न नछुटिन चाहन्छौं। हामी उदासीन हुन्छौं।

तर प्रायः, जब हामी “खुशी” र “दुःखी” भन्ने शब्दहरू सोच्छौं, हामी तिनीहरूलाई चरम रूपमा लिन्छौं — या त ठूलो हाँसो लागेको अनुहार, या गहिरो दुःख र निराशा। तर खुशी र दुःखका अनुभूतिहरू यति नाटकीय हुनुपर्दैन, किनभने हाम्रो जीवनका हरेक क्षणहरूमा हामी कुनै न कुनै स्तरको खुशी वा दुःख अनुभव गरिरहेका हुन्छौं, र ती मध्ये धेरै क्षणहरू खास नाटकीय हुँदैनन्।

जीवनको उकालो र ओरालो

हामी प्रत्येक क्षणमा थुप्रै कुरा अनुभव गर्छौं, र हाम्रो यहाँ हुनु जस्तै यी सबै लाखौं कारण र अवस्थाहरू मिलेर आएका परिणाम हुन्। वरिपरि वा हाम्रो मनमा के भइरहेको छ भन्ने सूचना हामी ग्रहण गर्छौं, र त्यसैबेला हामी त्यसलाई खुशी वा दुःखी भावनाका फरक स्तरमा अनुभव गर्छौं। प्रायः हामी यस घटनालाई हाम्रो मुडका आधारमा वर्णन गर्छौं — राम्रो मुड वा खराब मुड।

जीवनको स्वभाव नै सधैं उतारचढाव भइरहने हो, होइन र? हाम्रो मुड सधैं हाम्रो वरिपरि भइरहेको कुरा वा हामीले गरिरहेको कामसँग मेल खान्छ भन्ने पनि हुँदैन। उदाहरणका लागि, हामी कुनै यस्तो कुरा गरिरहेका हुन सक्छौं जुन सामान्यतया हामीलाई मन पर्छ, तर खराब मुडका कारण हामी त्यसमा खुशी छैनौं र आनन्द लिँदैनौं। वा फेरि, हामी कुनै रमाइलो नलाग्ने कुरा, जस्तै कठिन शारीरिक व्यायाम गरिरहेका हुन सक्छौं, तर त्यसबेला हामी त्यसमा खुशी हुन्छौं र जारी राख्न चाहन्छौं। हाम्रो मुड सधैं हामी वास्तवमा के गरिरहेका छौं त्यससँग मेल खाँदैन भन्ने हेर्नु रोचक छ।

हामी प्रत्येक क्षणको अनुभव गर्दा त्यसप्रति हाम्रो कुनै न कुनै मनोवृत्ति हुन्छ। अहिले हामी यही मनोवृत्तिको कुरा गरिरहेका छौं, त्यसोभए यो के हो? मनोवृत्ति भनेको कुनै कुरा अनुभव गर्दा त्यसलाई हामी कसरी हेर्छौं भन्ने हो। मनोवृत्तिका धेरै प्रकारहरू हुन्छन्, र त्यसअनुसार नै हाम्रो मुडमा ठूलो असर पर्छ। केही हदसम्म, हामी आफैंले ती मुड र परिस्थितिहरू सिर्जना गर्छौं, जसका कारण जीवनमा सधैं उकालो र ओरालो भइरहन्छ। तपाईंले राम्रो महसुस गराउने कुनै औषधि लिँदा पनि, दीर्घकालमा ती उतारचढाव रहिरहन्छन्, होइन? तर, जसमा हामीले काम गर्न सक्छौं, त्यो हो हाम्रो मनोवृत्ति।

अब, जब हामी हाम्रो मनोवृत्ति प्रशिक्षणको कुरा गर्छौं, त्यसका दुई पक्ष हुन्छन्। तीमध्ये एउटा पक्ष भनेको विनाशकारी मनोवृत्ति हटाउने वा रोक्ने प्रयास गर्नु हो। “विनाशकारी” शब्द अलि गम्भीर लाग्न सक्छ, त्यसैले “गैर-उत्पादक” भन्न सकिन्छ। तर वास्तविक रूपमा, यस्तो मनोवृत्ति आत्म-विनाशकारी नै हुन्छ, किनभने यसले हामीलाई अझ खराब महसुस गराउँछ। अर्को पक्ष भनेको वस्तुहरूलाई हेर्ने तरिका अझ उत्पादक बनाउनका लागि आफूलाई प्रशिक्षित गर्नु हो।

यहाँ ध्यान दिनुपर्ने कुरा यो हो कि हामी यहाँ सामान्यतया भनिने “सकारात्मक सोचको शक्ति” को कुरा गरिरहेका छैनौं, जसमा अत्यधिक आशावादी दृष्टिकोण हुन्छ । “सबै कुरा राम्रो छ, सबै उत्कृष्ट र पूर्ण छ।” यसले केही हदसम्म मद्दत गर्न सक्छ, तर यो अलि सरल छ। हाम्रो मनोवृत्तिसँग प्रभावकारी रूपमा काम गर्नका लागि हामीले अझ गहिरो रूपमा हेर्न आवश्यक छ।

म के महसुस गर्दैछु भन्नेमा कुनै विशेष कुरा छैन

पहिले हामी हाम्रो भावनाप्रतिको मनोवृत्तिमा ध्यान दिऔँ, अर्थात् हामीले महसुस गरेको खुशी वा दुःखको स्तरप्रतिको हाम्रो मनोवृत्ति। हामी यसलाई अधिकांश मानिसहरूमा देखिने एउटै समस्याको सन्दर्भमा हेरौँ – आफ्ना भावनाहरूको महत्वलाई बढाइचढाइ गर्नु।

हामी आफ्नोबारेमा ठूलो कुरा बनाउँछौं। "म" बारेमा। हामीले महसुस गरिरहेको कुराबाट ठूलो कुरा बनाउँछौं। हामी सबै कुरा द्वैधवादी तरिकामा अनुभव गर्छौं। उदाहरणका लागि, हामी "म" को अनुभूति गर्छौं र त्यसपछि एकातिर खुशी र अर्कोतिर दुःख अनुभव गर्छौं। हामी यो दुःखसँग डराउँछौं। यसबाट आफूलाई जोगाउन सक्दोसम्म प्रयास गर्छौं र यसबाट छुटकारा पाउन खोज्छौं। तर यो मनोवृत्ति राख्दा हामीलाई वास्तवमा कस्तो महसुस हुन्छ? यसले सबै कुरालाई अझ नराम्रो बनाउँदैन र?

एकछिन सोच्नुहोस्।जब तपाईंको मुड खराब हुन्छ र तपाईं दुःखी हुनुहुन्छ, तपाईंको मनोवृत्ति कस्तो हुन्छ? म त्यो अर्थमा भनेको होइन जब तपाईं रोइरहनुभएको हुन्छ वा अत्यन्त दुःखी हुनुहुन्छ, तर त्यस्तो साधारण महसुस, जब तपाईं आफ्नो काम गर्दै हुनुहुन्छ वा टेलिभिजन हेर्दै हुनुहुन्छ, र तपाईं सोच्नुहुन्छ, “उफ्, आज त राम्रो लागेन।” के तपाईं सोच्नुहुन्छ, जस्तो हामी यहाँ बसिरहेका छौं र कुनै ठूलो कालो बादल हाम्रोतिर आउँछ, अनि हामी आफ्नो ढालहरू उठाउन चाहन्छौं, “मलाई यो चाहिँदैन!” के यो तपाईंको अनुभवको हिस्सा हो? प्रायः यस्तो लाग्छ कि खराब मुड आफैं आउँछ, र हामीले त्यसलाई कहिल्यै चाहँदैनौं। र जति बढी हामी त्यसमा ध्यान दिन्छौं, “यो कति खराब छ” भनेर, त्यति नै खराब हुँदै जान्छ। समस्या के हो भने हामीले घटनालाई बढाइरहेका हुन्छौं, र त्यसलाई दुई भागमा बाँडिरहेका हुन्छौं – “म” एकातिर, र खराब मुड अर्को तिर।

अब खुशीको बारेमा के? फेरि, हामी यसलाई अनुभव गर्ने तरिकामा द्वैतवादी दृष्टिकोण अपनाउनु पर्छ, एउटा पक्षमा "म" र अर्को पक्षमा खुशी – र त्यसपछि हामी यसलाई गुमाउने डरमा पर्छौं, त्यसैले हामी यसलाई लगाव हुन्छ र समातेर राख्न प्रयास गर्छौं। असुरक्षाको भावना हुन्छ किनकि हामी डराउँछौं कि यो बित्नेछ, र हामी यसलाई गुमाउनेछौं; हामी राम्रो महसुस गर्न छोड्नेछौं। त्यसकारण केवल आराम गरेर खुशी महसुस गर्न पनि गाह्रो हुन्छ, किनभने यही असुरक्षाले त्यसलाई नष्ट गर्छ, होइन र? यसमाथि, “म खुशी हुन योग्य छैन” भन्ने जस्ता थप जटिलताहरू पनि आउँछन्।

यदि तपाईं यसबारे सोच्न थाल्नुभयो भने, यो हास्यापद छ कि हामी प्रायः केही हदसम्म जनावर जस्तै हुन्छौं। कुकुरले कसरी खाने गर्छ, हेर्नुहोस्। ऊ खानेकुरा खान आनन्द लिइरहेको जस्तो देखिन्छ, तर सधैं वरिपरि हेरिरहन्छ, सधैं अलि तनावमा, कसैले आएर त्यसलाई खोस्ने हो कि भनेर। के तपाईंले कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ? हामी खुशी महसुस गरिरहेका हुन्छौं, तर डराउँछौं कि कसैले आएर त्यो खुशी हरण गर्नेछ। यो अलि विचित्र जस्तो लाग्छ।

त्यसपछि तटस्थ भावना छ, फेरि द्वैतवादी दृष्टिकोणबाट "म" र तटस्थ भावनाको। हामी तटस्थ भावनालाई अतिरञ्जित गरेर केही पनि होइन, कुनै भावना नै छैन भनेर बनाउँछौं। जसले गर्दा हामीले केही पनि महसुस गरिरहेका छैनौं जस्तो लाग्छ। यस्तो प्रायः हुन्छ, जब हामीलाई लाग्छ कि हामीले केही पनि महसुस गरिरहेका छैनौं। यस्तो अवस्थामा कहिलेकाहीँ लाग्छ कि हामी साँच्चै बाँचिरहेका छैनौं। यस्तो तटस्थ भावनाले वास्तवमा हामीलाई अलि असन्तुष्ट बनाउँछ। हामीलाई केही पनि महसुस नगर्नु मन पर्दैन।

खुशी, दुःखी र तटस्थ भावनाका प्रत्येक सम्भावनामा, जब हामी तिनलाई बढाएर ठूलो कुरा बनाउँछौं, त्यसले हामीलाई अझ बढी दुःखी बनाउँछ। त्यसैले, हाम्रो भावनाप्रतिको मनोवृत्तिले हाम्रो अनुभवमा धेरै ठूलो प्रभाव पार्छ। हामी प्रायः खुशी, दुःखी वा तटस्थ भावनालाई केही विशेष कुरा भनेर हेर्छौं, र तिनलाई आफ्नै अस्तित्वबाट अलग रूपमा हेर्छौं।

कल्पना गर्नुहोस्, तपाईंको अगाडि तीन थाल खाना छन्। एउटा निकै नराम्रो, अर्को स्वादिष्ट, र अर्को न त राम्रो न नराम्रो। यी क्रमशः दुःख, सुख र तटस्थ भावनाजस्तै हुन्। जब हामी यी भावनाहरू अनुभव गर्छौं, त्यो मानौं हामीले तिनलाई खाँदैछौं। केही हदसम्म यस्तो पनि लाग्छ, मानौं हामी चाह्यौं भने “नखाने” निर्णय गर्न सक्थ्यौं, तर भावनाको हकमा त्यसो गर्न सकिँदैन, हैन र? “म चाहन्छु मलाई कुनै भावना नै नहोस्” भनेर भन्न सकिँदैन। तर त्यस्तो भए हामीले बाँचिरहेको महसुस पनि गर्न सक्दैनौं, त्यसैले त्यो पनि सन्तोषजनक हुँदैन। हामीसँग “म” यहाँ छु र मुड वा भावना त्यहाँ छ, अलग–अलग भन्ने दुईपक्षीय सोच छ कि छैन भनेर जाँच्न सक्छौं।

गरिहाल

हामीले मनोवृत्ति प्रशिक्षण दिँदा सबैभन्दा पहिले "केही विशेष छैन" भन्ने मनोवृत्ति राख्नुपर्छ। यो साधारण जस्तो लागे पनि, वास्तवमा गहिरो कुरा हो। “अहिले म जसरी महसुस गर्दैछु, त्यसमा केही विशेष छैन।” जीवन उतारचढावयुक्त हुन्छ, कहिले राम्रो मुडमा हुन्छौं, कहिले नराम्रो मुडमा, र कहिले त्यति खास हुन्दैन।" यसमा अचम्म मान्नु पर्ने केही छैन, न त हामी कुनै विशेष व्यक्ति हौं जसले केवल निश्चित भावना मात्र महसुस गर्नुपर्छ र अरू भावना होइन। मुख्य कुरा के हो भने हामीले जुनसुकै अवस्थामा पनि आफ्नो जीवन चलाइरहनुपर्छ। 

उदाहरणका लागि, यदि तपाईंले आफ्ना बच्चाको हेरचाह गर्नुपर्छ भने, तपाईंको मूड राम्रो होस् वा नराम्रो, तपाईंले त्यो गर्नै पर्छ। तपाईं कार चलाएर काममा जानुहुन्छ, चाहे तपाईंको मन खुसी होस् वा नहोस्। हामीले आफ्नो भावना र अनुभवमा धेरै केन्द्रित हुँदा हामी अझ बढी दुःखी बन्छौं। यसको अर्थ यो होइन कि हामीले भावना नै महसुस गर्न छोड्नुपर्छ, कुरा त्यस्तो होइन। हामीले के महसुस गर्दैछौं भन्ने कुरा सचेत हुनुपर्छ, तर त्यसलाई ठूलो कुरा बनाउन हुँदैन। 

केही मानिसहरू दु:ख महसुस गर्न डराउँछन्, किनभने उनीहरूलाई लाग्छ कि त्यो महसुसले आफूलाई पूरै डुबाउनेछ। जस्तो कसैको मृत्यु हुँदा वा कुनै ठुलो दु:खद घटना हुँदा, मानिसले आफूलाई दु:खबाट जोगाउन खोज्छ, किनभने त्यो सहन गर्न नसकिने हुन्छ। कहिलेकाहीँ यो अचेतन रूपमा हुन्छ, यसका लागि सचेत रूपमा भावनालाई रोक्न आवश्यक छैन। हामीले यसलाई बाहिरबाट आउने कुनै वस्तु जस्तो ठानेर अस्वीकार गर्न खोज्ने गर्छौं। अरू त त्यस्ता पनि हुन्छन् जसलाई लाग्छ उनीहरू खुशी हुन योग्य छैनन्। । कुरा राम्रै चलिरहेको भए पनि, उनीहरू सोच्दछन् उनीहरूले खुशी महसुस गर्न हुँदैन, किनभने उनीहरू भित्रबाट राम्रो छैनन्। त्यसपछि अरू त्यस्ता हुन्छन् जसले सामान्य तटस्थ अवस्था सहन सक्दैनन्। उनीहरू सधैं मनोरञ्जन खोजिरहेका हुन्छन्, जस्तै सधैं गीत सुन्ने। उनीहरूलाई लाग्छ यसले रमाइलो गराउँछ र खुशी बनाउँछ, त्यसैले मौनताको तटस्थ भावना डर लाग्दो हुन्छ। त्यसैले धेरैजसो समय हामी भावनाबाट डराउँछौं। किन? किनभने हामीले तिनको अर्थ धेरै ठूलो बनाउँछौं, तिनको महत्व बढाएर देखाउँछौं। तर भावना त जीवनको सामान्य अङ्ग हो। हामी प्रत्येक क्षण त्यसैमार्फत अनुभव गर्छौं। यही कुरा हामीलाई भिडियो क्यामेराबाट फरक बनाउँछ, त्यसैले त्यहाँ केही विशेष छैन। यो सुन्दा सरल लाग्छ, तर यति सरल छैन।

हाम्रो झ्यालमा आएको जंगली चराको उदाहरण

हाम्रो आवश्यक कुरा एउटा सन्तुलन हो। स्वाभाविक रूपमा हामी खुशी हुन चाहन्छौं, तर त्यससँगै अहिले हामीसँग भएको जुनसुकै खुसीलाई नष्ट गर्न नचाहने अनुभूति आउन सक्छ। त्यसैले हामी त्यसमा अड्किन्छौं र त्यसप्रति असुरक्षित महसुस गर्छौं।  आफ्नै अनुभवबाट हामीलाई थाहा छ, अहिलेको खुशी लामो समय टिक्दैन। जीवनको स्वभाव नै उतारचढाव हुनु हो। यदि हामीले यो बुझ्यौं भने चिन्ता गर्न कुनै अर्थ हुँदैन। यसले हामीलाई त्यो खुशी जति समय रहन्छ, त्यति समय आनन्दपूर्वक अनुभव गर्न स्वतन्त्र बनाउँछ।

एउटा राम्रो उदाहरण छ, म कहिलेकाहीं यसका लागि प्रयोग गर्छु । मानौं एउटा धेरै सुन्दर जंगली चरा हाम्रो झ्यालमा आउँछ र त्यहाँ केहीबेर बस्छ। हामी त्यस चराको सुन्दरता हेरेर आनन्द लिन सक्छौं, तर हामीलाई थाहा छ कि त्यो जंगली हो र उडेर जानेछ। यदि हामीले समातेर पिंजडामा हाल्ने प्रयास गर्यौं भने त्यो चरा एकदम दुःखी हुनेछ। समात्ने क्रममा चरा तर्सिन्छ, उड्न खोज्छ र फेरि कहिल्यै फर्केर आउँदैन। तर यदि हामी शान्त भएर त्यो चरा बसेको बेलामा उसको सुन्दरताको आनन्द लिन्छौं भने कसैलाई डर लाग्दैन र दुःखी पनि हुँदैन, अनि सम्भवतः फेरि पनि फर्केर आउँन सक्छ।

खुशी पनि यो जस्तो देखिन्छ, होइन र? हामीलाई मनपर्ने मानिसहरूसँग पनि यस्तै हुन्छ। जब उनीहरू भेट्न आउँछन्, हामी प्राय “तिमी किन अझै अलि बेर सम्म बस्दैनौ?” भन्ने मनोवृत्ति हुन्छ। उनीहरूले कोट खोलेको नभए पनि हामी भन्दिन्छौं, “फेरि कहिले आउने?”यस्तै कुरा। यिनैले हाम्रो सुख आफैंले बिगार्ने अवस्था बनाउँछन् ।

केही खास छैन। केही पनि खास छैन। एउटा चरा हाम्रो झ्यालमा आउँछ। एक जना साथी हामीलाई भेट्न आउँछन्। हाम्रो साथीले फोन गर्छन्। केही खास छैन। यो रहुन्जेल मात्र आनन्द लिनुहोस्। हामी के अपेक्षा गर्छौं? हो, हामी सुख चाहन्छौं। जब हामी दुखी हुन्छौं,  हामीले अनुभव गरिरहेको कुराको स्वीकार गर्नुहोस्। केही खास कुरा छैन वा त्यहाँ आश्चर्य मान्ने केही छैन। त्यही दुःख पनि बित्छ। जब तपाईं यसलाई धकेल्न प्रयास गर्नुहुन्छ, यसले अझ खराब बनाउँछ।

त्यसैले हामी आफ्नो भावनाहरू विश्लेषण गर्न र हामी साँच्चै केको डर मान्छौं भनेर जाँच गर्न सक्छौं। के म दुखी महसुस गर्न डराउँछु? के म खुशी महसुस गर्न डराउँछु? किनभने म यसको योग्य छैन। के म तटस्थ महसुस गर्न डराउँछु किनभने त्यसपछि केही पनि छैन? हामी केको डर मान्छौं?

मैले संवेदनशीलता प्रशिक्षण नामको एउटा अभ्यास तयार पारेको छु, र यसको एउटा अभ्यासले मानिसलाई आफ्ना भावनाको डर हटाउन मद्दत गर्छ। प्रक्रिया सरल छ। तपाईंले हात हल्का गुदगुदी गर्नुहोस्, त्यसपछि चिमोट्नुहुनुहोस्, अनि फेरि सामान्य रूपमा समातेर राख्नुहोस्। एउटाले सुखद अनुभूति दिन्छ, अर्कोले त्यति राम्रो अनुभूति हुन्दैन, अर्को तटस्थ हुन्छ। यीमध्ये कुनै पनि विशेष हुँदैन।हुन्छ र? यी त भावना मात्र हुन्। त्यसले के फरक पार्छ? यस्तो सोच विकास गर्नु आवश्यक छ। आज मेरो मुड राम्रो छैन। अनि के भयो र? यो केही विशेष कुरा होइन। हामीले आफू खराब मुडमा भएको स्वीकार गर्छौं, र सुधार गर्न सकिने केहि छ भने त्यसतर्फ अघि बढ्छौं। सुधार गर्न सकिने केही छैन भने त्यसैसँग रहन्छौं। तपाईंले यसलाई सम्हाल्न खोजिरहनु पर्दैन। तपाईं आफ्नो काम निरन्तर गर्छौं। यदि तपाईंले त्यस अनुभूतिको अनुभव गर्ने तरिका बदल्न चाहनुहुन्छ भने आफ्नै दृष्टिकोण बदल्ने अर्को उपाय खोज्नु पर्छ।

यो, “केही विशेष छैन,” भन्ने पहिलो तह हो। म कसरी महसुस गर्छु भन्ने कुरामा कुनै विशेष पक्ष छैन। “म” भन्ने छुट्टै केही छैन जसलाई यी भावनाबाट जोगाउनु पर्छ। जीवनमा उतारचढाव हुन्छ। यही जीवनको स्वभाव हो।

मेरो बारेमा केही विशेष छैन

“अनुभूति विशेष छैन” भन्ने सोचसँग जोडिएको अर्को कुरा हो “म विशेष छैन, अहिले म महसुस गरिरहेको पनि विशेष छैन।” बुद्धधर्ममा यसलाई “आत्म–मोह” भनिन्छ। हामी सबै कुरा आत्म–मोहको आधारमा अनुभव गर्छौँ। यसको अर्थ के हो भने, चिन्ता केवल आफ्नै बारेमा मात्र हुन्छ। हाम्रो ध्यान आफ्नो मन, आफ्नो अनुभूति, आफ्नै अवस्थामै केन्द्रित हुन्छ। हामी अरूलाई बेवास्ता गरिन्छ। “अर्कोले के महसुस गर्छन् भन्ने कुराले फरक पर्दैन। म दुःखी छु।”

फेरि, चाल यो हो कि आफ्नो र आफूले सोचिरहेको कुराको बारेमा धेरै विशेष केही छैन भन्ने सोच्नु। "म" मा अल्झिने सन्दर्भमा हाम्रो मन जति संकुचित हुन्छ, हामी वास्तवमा त्यति नै दुखी हुन्छौं। यो एकदम तनावपूर्ण र कडा मांसपेशी जस्तै हो। हाम्रो मन यस्तै छ "म, म, म" तर यदि हामीले यस ग्रहमा रहेका सात अर्ब मानिस र असंख्य जनावरहरूको बारेमा सोच्यौं भने, हामीले महसुस गरेको कुरा विशेष केही होइन। सबैले अहिले केही न केही महसुस गरिरहेका छन्। कोही खुसी महसुस गर्दैछन्, कोही दुखी र कोही तटस्थ (उनीहरू सुतिरहेका होलान्!)। प्रत्येक व्यक्तिमा यो निरन्तर परिवर्तन भइरहेको छ। यसरी हेर्दा, म र मैले अहिले महसुस गरिरहेको कुराको बारेमा विशेष के छ?

जस्तै जब तपाईं भयानक ट्राफिक जाममा पर्नुहुन्छ। के तपाईं सोच्नुहुन्छ त्यो ट्राफिक जाममा अरू सबैले अद्भुत र साँच्चै खुसी समय बिताइरहेका छन्? जति धेरै हामी सोच्छौं, “म, म, म - म यहाँ अड्किएको छु, म निक्लिन सक्दिनँ, कत्रो समस्या” भन्ने सोच बढ्दै जाँदा दुःख बढ्छ। तपाईं सबैको अवस्था सम्झनुहुन्छ भने मन स्वतः खुल्छ, र आराम हुन्छ।

आज यहाँ आउँदै गर्दा ट्राफिक पूरै रोकिएको थियो। एउटा साइड सडकबाट धेरै कारहरू हाम्रो लेनमा मिसिन खोजिरहेका थिए। ती कारहरूले हाम्रो लेन काटेर अर्को दिशातर्फ जाँदै गरेको लेनमा प्रवेश गर्न चाहन्थे, त्यो लेन पनि चलिरहेको थिएन। उनीहरूले कुनै तरिका निकालेर विभिन्न लेन पार गरेर अर्को छेउमा पुग्नुपर्ने थियो। धेरैले बाटो दिन चाहँदैनथे। तपाईं सोच्नुहुन्छ “हे भगवान! उनीहरू कसरी पार हुन्छन्?” उनीहरू निकै बिस्तारै अगाडि बढ्थे र गाडीको अगाडिको भाग घुसाउँथे।हेर्दा यो रोचक बन्दै जान्थ्यो। हाम्रो अगाडिको चालक अगाडि सर्न सक्ने अवस्थामा पनि आफ्नो सेल फोनमा कुरा गरिरहेका थिए र ध्यान दिइरहेका थिएनन्। त्यसैले उनी अघि बढिरहेका थिएनन्, र पछाडिका कारहरू यसबाट धेरै रिसाइरहेका थिए।

यी सबै भइरहेको बेला, एकाएक, तपाईं "बिचरा म, म यो ट्राफिकमा फँसेको छु।" भनेर सोचिरहनु भएको हुँदैन। यो तपाईंले हेरिरहेको एउटा पूरै नाटक जस्तै हुन्छ। “यी कसरी बाटो निकाल्ने हुन्? कसरी अगाडि बढ्ने हुन्?” भन्ने सोच आएपछि ध्यान आफूमात्रमा रहँदैन।तपाईंले आफ्नो मनोवृत्ति बदलिएको हुन्छ। तपाईं “म” लाई ठूलो कुरा ठान्नुहुन्न। जब हामी "म" को यो ठूलो कुरा गर्न छोड्छौं "म विशेष छु। म यो ट्राफिकमा विशेष व्यक्ति हुँ" तब स्थिति अनुभव गर्ने सम्पूर्ण तरिका परिवर्तन हुन्छ। यसबारे सोच्नुहोस्।

आत्मा-मोहको समस्या

एउटा महान तिब्बती गुरु, खुनुको लामा भनेर चिनिन्छ, उहाँले एउटा अभ्यास सुझाव दिनु भएको थियो, जुन धेरै उपयोगी छ। उहाँले भन्नुभयो कि आफूलाई एकातिर र अरू सबैलाई अर्कोतिर राखेर, त्यसलाई अलग-अलग, एक पर्यवेक्षकको रूपमा हेर्ने कल्पना गर्नुहोस्। यस तस्वीरको एउटै पक्षमा रहेको “म” दुःखी छ, तर अर्को पक्षमा रहेका अरू सबै जना पनि त्यस्तै छन्। वा तपाईं ट्राफिकमा फँसिनु भएको छ र यी सबै मानिसहरू पनि त्यस्तै छन्। अब, त्यो तटस्थ पर्यवेक्षकको रूपमा, को बढी महत्वपूर्ण छ? एउटै व्यक्ति, “म,” जो सबैभन्दा अगाडि जान खोज्दैछ, वा ट्राफिकमा फँसेको ठूलो समूह? कृपया यो प्रयास गर्नुहोस्।

स्पष्ट छ, ठूलो समूह एउटै व्यक्तिभन्दा बढी महत्वपूर्ण हुन्छ, होइन र? यसको मतलब हामी केही होइनौं भन्ने होइन। वास्तवमा, यदि हामी सबैको बारेमा चासो राख्छौं र चिन्ता गर्छौं भने, हामी त्यस “सबै” मा समावेश छौं। यसमा केवल यो छ कि हामी अरू सबैभन्दा विशेष छैनौं, विशेष गरी हाम्रा भावनाको सन्दर्भमा।

त्यसैले समस्या आत्म-स्वार्थ हो, यो निरन्तर “म, म, म। म धेरै महत्वपूर्ण छु।” जब हामी दुःखी हुन्छौं, सोच्दै कि हाम्रो माथि यो बादल छ र एउटा “म” अलग छ, यो “म” को आत्म-महत्त्व हो। जब हामी खुशी हुन्छौं, तब पनि सबै “म, म, म” हुन्छ। हामी चाहँदैनौं कि कुनै ठूलो कुकुर आएर हाम्रो हड्डी लिएर जाओस्। कहिलेकाहीँ हामीमा हुन्छ, “म, म, म। म केही महसुस गरिरहेको छैन। मलाई मनोरञ्जन चाहिन्छ। मलाई मनोरञ्जन दिइयोस्।”

अरूलाई कदर गर्न मन खोल्नु

यो आत्मकेन्द्रित बानी, “म” र मेरो अनुभवमा सीमित ध्यान लाग्ने प्रवृत्ति, समस्या हो। यो दृष्टिकोण बदल्नुपर्छ। सबैलाई समेटेर सोच्नुपर्छ र सबैको हितको भावना राख्नुपर्छ। “सबै जना यो ट्राफिकबाट छुटून्।” यदि यसबारे सोचिन्छ भने, हामी मात्र कसरी ट्राफिकबाट छुटिन सक्छौं? ट्राफिक हट्नुपर्छ, जसमा सबै समावेश हुन्छन्। चिन्ता सबैमा फैलिँदा तपाईं बढी सहज हुनुहुन्छ। हामी कडा हुँदैनौं, न त ट्राफिकमा फँसेकोमा निराश हुन्छौं। र जब अन्ततः ट्राफिकबाट बाहिर निस्कनुहुन्छ, केवल “म बाहिर निस्किएँ” भनेर नसोच्नुहोस्। “सबै जना जहाँ जाँदै थिए, त्यहाँ पुगे” भनेर सोच्नु राम्रो हुन्छ। यसरी गर्दा तपाईं खुसीमा अल्झिँदैन, त्यो खुसी कसैले खोस्ला भन्ने डर पनि हुँदैन।

त्यो दुःखबाट उकास्न जिम्मेवारी लिने भावना। यद्यपि कुनै विशेष कुरा जस्तो नलागे पनि। संसारमा भइरहेका डर लाग्दो घटनाहरू सम्झेर निराश हुनुको केही अर्थ छैन। यस्तो कुरा स्वाभाविक हो र बारम्बार हुन्छ। तर सबैजना खुसी भए राम्रो हुन्छ, होइन?

जब तपाईं स्वेच्छाले जिम्मेवारी लिने भावना बनाउनुहुन्छ, “म सबैका बारेमा सोच्नेछु र सबै दु:खबाट मुक्त होउन् भन्ने चाहना राख्नेछु” भनेर सोच्नुहुन्छ, तब ठूलो साहस र आत्मविश्वास जन्मिन्छ। यो विषयबारे महामहिम दलाई लामाले धेरैपटक बुझाउनुभएको छ। हामी केवल आफ्नै बारेमा र आफ्नै दुःखबारे सोच्दा कमजोर हुन्छौं। तर अरू सबै र उनीहरूको दुःखबारे स्वेच्छाले सोच्न धेरै ठूलो शक्ति चाहिन्छ। यो कमजोरीको चिन्ह होइन, यो शक्तिको चिन्ह हो, जसले बलियो आत्मविश्वास दिन्छ। यस्तो सकारात्मक दृष्टिकोणले स्वाभाविक रूपमा खुशी पनि जन्माउँछ। त्यहाँ “म त बेचारा, ट्राफिकमा फँसे” भन्ने भावना हुँदैन। त्यसको सट्टा, हामी ट्राफिकमा फँसेका सबैलाई सम्झन्छौं, उनीहरू सबै मुक्त होऊन् भन्ने साँचो चाहना राख्छौं। सबैको बारेमा यस्तो सोच राख्नु साहसिक हुन्छ। अन्तमा हामी आफूलाई पनि राम्रो अनुभूति गर्छौं। हामी कमजोर होइनौं, न ट्राफिकले दबाएको छैन, हामी बलिया छौं।

यदि हामी ट्राफिकमा फँसेका अरूको बारेमा सोचिरहेका छौं र आफ्नो बारेमा मात्र होइन भने, यसले अप्रत्यक्ष रूपमा अरूलाई मद्दत गर्छ। उदाहरणका लागि, हामी आक्रामक हुँदैनौं र निरन्तर हर्न बजाउँदैनौं (जुन स्पष्ट रूपमा व्यर्थ छ किनकि कसैलाई अगाडि बढ्न सम्भव हुँदैन)। जब त्यो कार छेउको बाटोबाट आउने कार बिस्तारै घुस्दै तपाईंको बाटो काट्दा पनि तपाईं झ्याल खोलेर गाली गर्नुहुन्न। दुवै जना शान्त हुन्छौं। तर तपाईंको प्रभाव धेरै ठूलो हुँदैन।

यो एउटा सरल उदाहरण हो कि हामी हाम्रो मनोवृत्ति कसरी परिवर्तन गर्न सक्छौं, जीवनका प्राकृतिक उतार-चढावलाई अनुभव गर्ने गुणस्तर परिवर्तन गर्न। यसका लागि अभ्यास र अलिकति साहस चाहिन्छ, कि हामी आफूलाई यति विशेष र अनुभवलाई यति महत्वपूर्ण ठान्ने भावना पार गर्दै हरेक परिस्थितिबाट सर्वोत्तम लाभ उठाउन सकौँ।

क्रोधसँग सामना गर्नु

यदि हामी ट्राफिकमा फँस्छौं र कसैले बाटो काट्छ भने, हामी अनियन्त्रित रूपमा क्रोधको झटका अनुभव गर्न सक्छौं। दृष्टिकोण परिवर्तन गर्ने अर्को उपाय भनेको यो स्थिति किन भयो भनेर विभिन्न सम्भावित कारणहरूबारे सोच्नु हो, जस्तै चालकसँग बिरामी बच्चा छ र अस्पताल पुग्ने प्रयास गर्दैछ। यसले हामीलाई धेरै शान्त महसुस गराउन मद्दत गर्छ।

तर कुरा यो हो कि क्रोधका ती पहिलो झल्काहरू निरन्तर उठिरहन्छन्। क्रोधका बानी र प्रवृत्तिलाई छोड्न धेरै लामो प्रक्रिया लाग्छ। हतारिएको व्यक्तिसँग कुनै कारण होला भनेर सोचेको जस्तै, यस्तो सोचले हाम्रो दृष्टिकोण बदलिन्छ र क्रोधसँग अस्थायी रूपमा सामना गर्न मद्दत हुन्छ। क्रोधको जरालाई उप्काउन तपाईंले धेरै गहिरोसम्म जानुपर्छ, यो आफू र अरू व्यक्तिलाई कसरी बुझिन्छ भन्ने कुरासँग जोडिएको हुन्छ।

हामी जीवनमा घट्ने एउटा सानै घटनासँग आफूलाई र अरूलाई जोड्ने बानी राख्छौं। उदाहरणका लागि, ट्राफिकमा कसैले बाटो काट्न खोज्यो भने हामी उनलाई खराब व्यक्तिको रूपमा हेर्छौं, र त्यसैलाई उनीबारे हाम्रो सम्पूर्ण धारणा बनाइदिन्छ। यसरी हामी उनीहरूको जीवनमा घटेको एउटै कुरासँग उनीहरूलाई चिनिन्छ, विशेष गरी त्यो कुरा हामीसँग पनि सम्बन्धित छ भने। हामी उनीहरूलाई ठोस पहिचान दिन्छौं, जस्तै हामी आफ्नै बारेमा बनाउँछौं। अनि त्यहाँ यो ठोस “म” छ जो रिसाएको छ।

हामीले यो खुकुलो पार्ने प्रयास गर्नुपर्छ, त्यो बिन्दुसम्म जहाँ हामी तिनीहरू वा मलाई कुनै पनि कुरासँग चिनाउँदैनौं। तर यो गहिरो र लामो प्रक्रिया हो। कसैको स्थिर चित्र सोच्नुहोस्। त्यो तस्बिरले त्यो व्यक्तिको बारेमा सबै कुरा समेट्दैन। त्यसैले हामीले आफूलाई र हाम्रो जीवन र अरू मानिसहरूलाई फोटोग्राफको रूपमा हेर्न छोड्नुपर्छ। सबै कुरा सधैं परिवर्तन हुँदैछ। र एकपटक हामीले वस्तुहरूको यो भ्रामक दृष्टिकोणलाई खुकुलो पारेपछि, हामीलाई त्यसमा बानी बसल्नु पर्छ, किनभने सधैं कस्नु प्रवृत्ति हुन्छ। अन्ततः क्रोध, ईर्ष्या वा अरू कुनै तानिने अनुभूति नआउने अवस्था सम्भव हुन्छ।

खुसी हुनुमा केही गलत छैन

हाम्रो भावनालाई वा आफूलाई विशेष ठान्ने बानी नत्याग्ने, र आफू सहित कसैमा पनि स्थिर र सीमित पहिचान नथोपर्ने यो अभ्यासले हाम्रो जीवनको गुणस्तर सुधार गर्न मद्दत गर्छ। कठिन परिस्थितिहरू सम्हाल्न धेरै सजिलो हुन्छ र जीवन त्यति संगर्ष हुँदैन। हामी भावनात्मक रूपमा बढी सन्तुलित र खुसी व्यक्ति बन्छौं।

ठूलो उद्देश्य भनेको अरूको बारेमा सोच्नु र हामीले उनीहरूसँग कसरी व्यवहार गर्छौं भन्ने हो। यदि हामी परिवारमा बस्छौं र हाम्रा बच्चाहरू छन् र यदि हाम्रा साथीहरू र सहकर्मीहरू छन्, यदि हामी सधैं नराम्रो मुडमा छौं र लगातार "बिचरा म" र यस्तै कुराहरू सोचिरहन्छौं भने, हामी उनीहरूलाई मद्दत गर्न सक्ने धेरै कमजोर स्थितिमा हुन्छौं, र वास्तवमा यसले उनीहरूलाई दुखी बनाउँछ। त्यसैले हामीले आफ्नो मुडलाई कुनै न कुनै तरिकाले बढी उत्पादक तरिकाले सम्हाल्न चाहन्छौं किनभने यसले अरूलाई असर गर्छ, यसले हाम्रो परिवार र अरूलाई असर गर्छ, र हामी उनीहरूको बारेमा चिन्तित छौं। आफूमा काम गर्नुको अर्को कारण यही हो।

खुशीको खोज्ने इच्छा प्रायः जैविक कुरा हो र खुशी हुनुमा केही गलत छैन, र हामीले खुशी प्राप्त गर्ने प्रयास गर्नुपर्छ। तर जब हामीसँग खुशी हुन्छ, हामीले यसको स्वभाव बुझ्नुपर्छ, त्यो टिक्दैन, र त्यसैले आएको बेला सहज रूपमा आनन्द लिनुपर्छ। तपाईं त्यो कुरामा सहज हुनुभयो भने, खुशी हुने सम्भावना धेरै बढ्छ। र कहिलेकाहीँ हामी दुखी महसुस गर्नेछौं, तर त्यसो भए के हुन्छ? हामी के आशा गर्छौं? कुनै ठूलो कुरा होइन। केही विशेष छैन।

जब हामीले भइरहेको कुरामा केही विशेष छैन भन्ने सोच्नुहुन्छ, त्यही सोचले अझ बढी खुशी हुने एउटा तरिका हो। मुख्य कुरा, हामी चिन्तित हुनुहुन्न। “सधैं खुशिनै हुनुपर्छ, सधैं मनोरञ्जन चाहिन्छ, सधैं मेरो कुरा नै हुनुपर्छ” भन्ने लगातार बाध्य सोच छैन। यस प्रकारको सोच वास्तवमा अप्रिय हुन्छ। पहिले भनिएको कुरा सम्झनुहोस्, खुशी हुनु भनेको तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरासँग सधैं मिल्दैन। एउटै काम गर्दा केही दिन खुशी लाग्छ, केही दिन दुःखी लाग्छ, केही दिन तटस्थ लाग्छ। कुरा तपाईंको ध्यान कहाँ छ भन्नेमा निर्भर हुन्छ।

म एउटा उदाहरण दिन्छु। म दन्त चिकित्सककहाँ जान मन पराउँछु, किनकि मेरो दन्त चिकित्सक धेरै राम्रो व्यक्ति हुनुहुन्छ, र हाम्रो सम्बन्ध मैत्रीपूर्ण छ। हामी सधैं हाँसो–ठट्टा गर्छौं। त्यसैले त्यहाँ जानु सुखद हुन्छ। म “केहि ड्रिल गर्नुपर्ने होला कि, केहि गर्नुपर्ने होला कि” भन्ने चिन्तामा ध्यान दिँदिनँ। कुनै तनाव हुँदैन। म खुशीसँग सोच्छु, “भोलि साथीलाई भेट्न पाउँछु।”

तपाईंले यो अलि विचित्र लाग्न सक्छ। एक पटक मैले रुट क्यानाल गराएँ र म पूर्ण रूपमा आनन्दित भएँ। यो रोचक लाग्यो, किनकि मेरो मुख ठूलो खुला थियो र उनीहरूले धेरै उपकरणहरू राख्दै गए। म हाँस्न थालेँ किनकि कति धेरै राख्न सकिन्छ भनेर थाहा पाउन मन लाग्यो। ध्यान दिनुहोस्, मलाई पूर्ण रूपमा नोभोकेन दिइएको थियो, त्यसैले केही महसुस भएको थिएन।

अवश्य, नोभोकेनको इन्जेक्सनले दुख्छ। तर त्यसमा के भयो र? रुट क्यानालको आधा घण्टा लगातार पीडा सहने कि केही सेकेन्डको इन्जेक्सनको पीडा सहने? तपाईं त्यो सुई लगाउदा दुख्दा पनि, त्यो लगाउन खुशी हुनुहुन्छ, किनभने यो छोटो समयको लागि मात्र हो।

सबै कुरा हाम्रो सोचमा निर्भर हुन्छ। यो सोच प्रशिक्षण हो। यसले जीवनको गुणस्तर सुधार्छ। रुट क्यानाल चाहिन्छ भने, के हामी यसलाई यातना बनाउने छौं वा यसलाई त्यति नराम्रो नहुने बनाउने छौं? अनुभव त गर्नै पर्छ। विकल्प छैन, त्यसैले सकेसम्म राम्रो अनुभव बनाउनु उपयुक्त हुन्छ। यही यसको आधार हो।

सारांश

कोही पनि बिहान समस्या वा पीडाको इच्छा गरेर उठ्दैन। हामीले गर्ने सबै कुरा हामीलाई खुशी बनाउने उद्देश्यले गरिन्छ। तर पनि, यो लक्ष्य हामीबाट टाढा देखिन्छ किनभने हामी आफूलाई ध्यानमा राख्नमा धेरै केन्द्रित हुन्छौं, र हामी को हौं, हामी के गर्छौं, र हामी के महसुस गर्छौं भन्ने महत्त्वलाई बढाइचढाइ गर्छौं। हामीसँग भएको खुशीको आनन्द लिन असफल हुन्छौं वा हामीले सामना गर्नुपर्ने कठिनाइहरूमा ध्यान दिन्छौं। अरूको र उनीहरूको भावनालाई समेट्ने सोच विकसित गर्दै जाँदा, हामी सबैले भोग्ने उतारचढावलाई अझ सहज र खुशीसँग अनुभव गर्ने बाटो खुल्छ।

Top