"मनो प्रशिक्षण" भन्नाले हामीले कुनै व्यक्ति वा परिस्थितिलाई हेर्ने तरिका परिवर्तन गर्ने विधिहरूलाई जनाउँछ। तथापि, "मनो प्रशिक्षण" शब्दप्रति हामीले सावधान हुनुपर्छ, किनकि यसले एकाग्रता र स्मरणशक्तिमा तालिम समावेश गरेको जस्तो सुनिन्छ। वास्तवमा यसले त्यो कुरालाई जनाउँदैन। तिब्बती भाषामा मन प्रशिक्षणका लागि प्रयोग हुने शब्द लो-जोङ् मा, लो शब्द केवल "मन" मात्र होइन। यस शब्दमा 'मनोवृत्ति' भन्ने अर्थ बढी हुन्छ। 'प्रशिक्षण' भन्ने शब्द, तिब्बतीमा 'जोङ्', का दुई अर्थ छन्: 'सफा गर्नु', जसले नकारात्मक मनोवृत्तिलाई हटाउँछ, र 'प्रशिक्षण दिनु', जसले सकारात्मक मनोवृत्तिमा तालिम दिन्छ। त्यसैले कहिलेकाहीँ 'मन प्रशिक्षण' लाई 'मनोवृत्ति प्रशिक्षण' भनेर बुझ्दा स्पष्ट हुन्छ।
सफा गर्नुपर्ने मुख्य नकारात्मक दृष्टिकोण हाम्रो आत्म-स्नेह दृष्टिकोण हो, जसमा आत्म-केंद्रित र स्वार्थी हुनु, केवल आफ्नै बारेमा मात्र सोच्नु समावेश हुन्छ। सकारात्मक दृष्टिकोण भनेको अरूको कदर गर्ने दृष्टिकोण हो, जसमा मुख्य रूपमा प्रेम र करुणाका साथ अरूको कल्याणबारे सोच्नु समावेश हुन्छ। सबै मन प्रशिक्षण प्रविधिहरूमा प्रयोग गरिने विधि बुद्धको सामान्य दृष्टिकोण, जसलाई 'चार आर्य सत्य' भनिन्छ, सँग राम्रोसँग मेल खान्छ।
चार आर्य सत्य
बुद्धले हाम्रो जीवनका समस्याहरूलाई कसरी पार गर्ने भनेर एकदमै व्यावहारिक स्तरमा सिकाउनुभयो। वास्तवमा, उहाँले सिकाउनुभएको हरेक कुरा यही उद्देश्यमा केन्द्रित थियो। हामी सबैसँग विभिन्न स्तर र प्रकारका धेरै समस्याहरू हुन्छन्। केही समस्याहरू स्थूल हुन्छन् र धेरै दुःख दिन्छन्; तिनीहरूले हामीलाई शारीरिक, मानसिक, वा दुवै प्रकारको धेरै पीडा दिन्छन्। अरू केही सूक्ष्म हुन्छन्, तर पनि ती धेरै पीडादायी हुन्छन्। उदाहरणका लागि, हामी जीवनमा विभिन्न कुराहरूको आनन्द लिन्छौं, तर हामी निराश हुन्छौं, किनभने तिनीहरूले हामीलाई पूर्ण रूपमा सन्तुष्ट पार्दैनन्। तिनीहरू सधैंका लागि रहँदैनन्; तिनीहरू परिवर्तन हुन्छन्। हाम्रो जीवनका कुराहरू कहिल्यै स्थिर हुँदैनन्; तिनीहरू माथि तल भइरहन्छन्। कहिलेकाहीँ कुराहरू राम्रो हुन्छन्, कहिलेकाहीँ हुँदैनन्; र वास्तवमा अस्थिर कुरा हामी कस्तो महसुस गर्छौं भन्ने हो। कहिलेकाहीँ हामी खुसी महसुस गर्छौं, कहिलेकाहीँ दुःखी; कहिलेकाहीँ त हामीलाई केही महसुस नै नभएको जस्तो लाग्छ, र अर्को क्षणमा हामीलाई कस्तो महसुस हुनेछ भन्ने हामीलाई कुनै थाहा हुँदैन। यो हामीसँग को छ वा हामी के गरिरहेका छौं भन्ने कुरामा पनि त्यति निर्भर भएको जस्तो लाग्दैन – अचानक हाम्रो मुड परिवर्तन हुन्छ।
हामी सबैसँग भावनात्मक समस्याहरू पनि छन्, र ती जीवनमा विभिन्न समस्याहरू निम्त्याउँछन्। साँच्चै निराशाजनक कुरा के हो भने ती बारम्बार दोहोरिने जस्तो देखिन्छन्। हामी आफैंका लागि झन्-झन् धेरै समस्या सिर्जना गरिरहेका छौं, यद्यपि कहिलेकाहीँ ती अरूबाट आएका जस्तो देखिन्छन्। तर यदि हामीले अझ नजिकबाट र इमान्दारपूर्वक हेर्यौं भने, हाम्रा धेरै समस्याहरूको स्रोत हामी आफैं हौं र विशेष गरी जीवनमा जे हुन्छ त्यसप्रति हाम्रो स्वकेन्द्रित दृष्टिकोण हुन्छ।
बुद्धले यी सबै कुरा देख्नुभयो। उहाँले यो आफ्नै जीवनमा बुझेका थिए, र अरूको जीवनमा पनि यही स्थिति देख्नुभयो। सबै मानिस एउटै अवस्थाबाट गुज्रिरहेका छन् भनेर उहाँले देख्नुभयो। स्थुल स्तरमा हेर्दा, जीवनका सामान्य घटनाहरूमा हामी सबैलाई कठिनाइ हुन्छ, जस्तै जन्मिनु, हुर्किनु, बिरामी पर्नु, बुढिनु र मर्नु, साथै हाम्रो भावना नियंत्रित नहुने गरी लगातार माथि तल हुनु। तर उहाँले भन्नुभयो कि यी सबै समस्याहरूका आफ्नै कारण हुन्छन्। ती कहींबाट अचानक आउँदैनन्। कुनै बाह्य शक्तिले यी समस्याहरू पठाइरहेको हुन्दैनन्, चाहे हामी त्यसलाई “ईश्वर” भनौं वा भाग्य वा नियति जस्ता निर्जीव शक्ति भनौं। समस्याहरूको वास्तविक स्रोत त्यो होइन।
हाम्रो समस्याहरूको वास्तविक स्रोत हाम्रो भित्रै हुन्छ, र जब हामी भन्छौँ कि यो भित्रै छ, यसको अर्थ हामी जन्मजात खराब वा दोषी छौँ भन्ने होइन। बुद्धले पनि तपाईं जन्मैदेखि खराब, पापी भएर जन्मिएको भन्नुभएको होइन; उहाँले भन्नुभएको कुरा त हाम्रो समस्याहरूको मूल कारण वास्तविकताप्रति भएको हाम्रो भ्रम हो। हामी मूर्ख छौँ भनेर होइन, तर हाम्रो दैनिक अनुभवमा वस्तुहरू हामीलाई वास्तविकतासँग मेल नखाने, असम्भव रूपमा अस्तित्वमा रहेको जस्तो देखिन्छन्। विशेषगरी हामीले आफूलाई र अरूलाई कसरी हेर्छौँ भन्ने कुरामा यो धेरै लागू हुन्छ, किनकि त्यसले नै हाम्रो व्यवहार र दृष्टिकोणलाई आकार दिन्छ। हाम्रो आत्मकेन्द्रितता र आत्म-आसक्तिका कारण, हामी स्वयंलाई सबैभन्दा महत्वपूर्ण व्यक्तिको रूपमा देख्छौँ, र सबै कुरा हाम्रो मनले चाहेझैँ हुनुपर्ने जस्तो लाग्छ। अरूले के अनुभव गर्छन् भन्ने त कतै छैन जस्तो—उनको भावनाले त कुनै अर्थ नै राख्दैन, अस्तित्व नै छैन जस्तो। मलाई लाग्छ, हामी यसलाई यसरी बुझ्न सक्छौँ कि हाम्रो धेरै अनुभवहरू वास्तवमा हाम्रो आफ्नै प्रक्षेपणहरू र अवास्तविक अपेक्षाहरूबाट बनेका हुन्छन्, वास्तविकतामा हामीले सामना गर्ने परिस्थितिहरूबाट होइन।
तर बुद्धले भन्नुभयो कि यो अवस्थालाई अन्त्य गर्न सकिन्छ—यी समस्याहरू पुनः कहिल्यै नदोहोऱिने गरी रोक्न सकिन्छ। हामी सधैं यिनै समस्यामा पीडित रहन बाध्य छौँ भन्ने होइन। समाधान भनेको आफैँलाई लागूपदार्थ खानु, मदिरा पिउनु, वा केही समयका लागि पीडा नमहसुस होस् भनी समस्याबाट बच्न खोज्नु मात्र होइन। न त गहिरो ध्यानमा छिर्दै केही नसोचेर बस्नु नै यिनको समाधान हो। यस्ता उपायहरू धेरैजसो अस्थायी मात्र हुन्छन्, र तीले हाम्रो समस्यालाई वास्तविक रूपमा हटाउँदैनन्। यदि हामी समस्याहरूबाट मुक्त हुन चाहन्छौँ भने, तिनीहरूको मूल कारणबाट मुक्त हुनुपर्छ। हामीलाई आफ्नो भ्रम हटाउनुपर्छ। भ्रमलाई सही बुझाइ (सम्यक् दृष्टि) ले प्रतिस्थापन गर्नुपर्छ। हामी सबै समान छौँ—हरेक मानिस सुखी हुन चाहन्छ, कसैले दुःखी हुन चाहँदैन, र खुशीको हक कसैको अरूभन्दा बढी वा कम हुँदैन। साथै, हामी त केवल एक व्यक्ति मात्र हौँ, तर अरू असंख्य छन्। यदि हामीले यस वास्तविकतालाई देख्यौँ र त्यसअनुसार आफ्नो दृष्टिकोण परिवर्तन गर्यौँ भने, बिस्तारै–बिस्तारै, हाम्रो समझ गहिरिँदै जाँदा, हाम्रो भावनात्मक अवस्था पनि परिवर्तन हुँदै जानेछ।
मन प्रशिक्षण
हामी हाम्रो जीवनको धेरैजसो समय परिकल्पनाको संसारमा बिताउने भएकाले, हाम्रो भ्रमले हामीले अनुभव गर्ने हरेक कुराप्रतिको हाम्रो दृष्टिकोणलाई आकार दिन्छ। आफूलाई मात्र माया गर्ने दृष्टिकोणले, हामी आफूलाई जे हुन्छ त्यसलाई स्वार्थी तरिकाले हेर्छौं, जसले हामी र अरूका लागि अझ बढी दुःख र समस्या सिर्जना गर्छ। तर दृष्टिकोणमा परिवर्तन आएपछि, जीवनका घटनाहरूको हाम्रो अनुभव पनि निकै बदलिन्छ।
उदाहरणका लागि, विमानस्थलमा हाम्रो उडानमा ढिलाइ हुनुलाई व्यक्तिगत विपत्ति मान्नुको सट्टा, हामी यसलाई यसरी हेर्न सक्छौं कि वास्तविकतामा अब हामी र उडानका सबै यात्रुहरूले प्रतीक्षालयमा थप समय पाएको छौं। त्यसपछि हामी परिस्थितिलाई हेर्ने तरिका परिवर्तन गर्न सक्छौं र अब अरू सबैले ढिलाइलाई कसरी सामना गरिरहेका छन् भन्ने दृष्टिकोण लिएर यसलाई सहयात्रीसँग कुराकानी सुरु गर्ने अवसरको रूपमा हेर्न सक्छौं र मैत्रीपूर्ण व्यवहार गरेर र विचलित नभईकन उक्त व्यक्तिलाई शान्त हुन र विचलित नहुन मद्दत गर्न सक्छौं। जसरी शारीरिक व्यायामद्वारा हामी हाम्रो शरीरलाई बलियो र सहनशील बनाउन सक्छौं; त्यसरी नै ध्यानद्वारा, हामी हाम्रो मन र यसका दृष्टिकोणहरूलाई पनि बलियो र सकारात्मक बनाउन सक्छौं र भावनात्मक रूपमा विचलित नभई, सम्भावित रूपमा असहज परिस्थितिहरूको लागि बढी सहनशीलता प्राप्त गर्न सक्छौं।
भावनात्मक शक्ति प्राप्त गर्ने
कहिलेकाहीँ हामी हाम्रा समस्याहरू के हुन् भनेर बुझ्न सक्छौं। हामी बुझ्छौं कि हाम्रो मन साँघुरो र संकुचित भएकोले, र हामीले केवल आफ्नो बारेमा मात्र सोचेकोले हामीले कुनै विशेष प्रकारको भावनात्मक असन्तुलन भोगिरहेका छौं, तर यसले हाम्रो भावनालाई परिवर्तन गरेको जस्तो लाग्दैन। हामीलाई लाग्छ कि हाम्रो बुझाइले हामीले महसुस गरिरहेको तरिकामा साँच्चै असर गर्न सक्दैन। तर यहाँ समस्या यो हो कि त्यो बुझाइ वास्तवमा पर्याप्त गहिरो नहुनु हो। यो पर्याप्त गहिरो नभएको मात्र होइन, तर हाम्रो मनोवृत्तिमा परिवर्तन ल्याउनका लागि यो पर्याप्त लामो समयसम्म मनमा बसेको पनि छैन।
यसलाई बुझाउन फेरि शारीरिक स्वास्थ्यको उदाहरण लिऔं। मानौं हामी सधैं शारीरिक रूपमा कमजोर, थकित र भारी महसुस गर्छौं, त्यसैले हामी जिम वा फिटनेस क्लब जान थाल्छौं र नियमित रूपमा व्यायाम गर्न सुरु गर्छौं। जब हामीले व्यायाम कार्यक्रम सुरु गरेपछि, यसले तुरुन्तै हाम्रो शारीरिक अनुभूति परिवर्तन हुन्दैन। हाम्रो स्वास्थ्यमा यसको प्रभाव महसुस हुन सामान्यतया केही महिना लाग्छ। तर, जति लामो समयसम्म हामी व्यायाम गर्छौं, र यो हाम्रो जीवनको एक नियमित दिनचर्याको हिस्सा बन्छ, तब केही समयपछि यसले हामीलाई महसुस हुने तरिकाले साँच्चै परिवर्तन हुन्छ, हामीलाई उत्कृष्ट महसुस हुन थाल्छ। हामी आफैँबारे राम्रो महसुस गर्छौं र त्यसले हामीलाई अरूसँगको व्यवहारमा पनि राम्रो महसुस गर्न मद्दत गर्छ।
हाम्रो मन, भावना र दृष्टिकोणभित्र के भइरहेको छ भन्ने केही बुझाइ हुँदा पनि यस्तै हुन्छ। जति लामो समयसम्म हामीले त्यो बुझाइ कायम राख्छौं र आफूलाई निरन्तर सम्झाइरहन्छौं, हाम्रो बुझाइ त्यति नै गहिरो बन्दै जान्छ। त्यसपछि यद्यपि भावनात्मक परिवर्तन तुरुन्तै हुँदैन, हामीले आफ्नो दृष्टिकोण परिवर्तन गर्दै जाँदा बढी भावनात्मक सन्तुलन र शक्ति प्राप्त गर्न थाल्छौं।
आफ्नैमाथि काम गर्नका लागि प्रेरणाका स्तरहरू
फिटनेस क्लब जानका लागि आत्म-अनुशासन मात्र होइन, सचेतना पनि चाहिन्छ, जसको अर्थ हो जाने कुरा सम्झिनु र नबिर्सनु हो। यी सबैको आधारमा हामीले 'हेरचाह गर्ने भावना' भन्छौं – हामी आफ्नो ख्याल राख्छौं, हामी कस्तो देखिन्छौं, हामीलाई कस्तो महसुस हुन्छ, आदि कुरामा ध्यान दिन्छौं। हामी आफूलाई गम्भीरतापूर्वक लिन्छौं र एक अर्थमा, खुसी हुन र राम्रो महसुस गर्न पाउने हाम्रो 'अधिकार' को सम्मान गर्छौं। हामीले आफूलाई बुझ्ने, हाम्रो भावनात्मक जीवनले कसरी काम गर्छ भनेर बुझ्ने कुरामा पनि यही कुरा लागू हुन्छ। त्यो पनि हामीले आफूलाई ख्याल गर्ने कुरामा, र हामीसँग राम्रो भावनात्मक स्वास्थ्यको अधिकार पनि छ भन्ने महसुस गर्ने कुरामा निर्भर हुन्छ।
आफ्नोप्रति यो हेरचाह गर्ने दृष्टिकोण आत्म-मोह दृष्टिकोणभन्दा निकै फरक छ। आत्म-मोह दृष्टिकोणमा, हामी केवल आफ्नो मात्र सोच्छौं र अरूको भलाइलाई बेवास्ता गर्छौं। हामीलाई हाम्रो दृष्टिकोण र व्यवहारले हामीले अन्तरक्रिया गर्ने वा केवल भेटघाट गर्ने मानिसहरूलाई कसरी असर गर्छ भन्ने कुराको कुनै वास्ता हुँदैन। अर्कोतर्फ, हेरचाह गर्ने मनोवृत्तिमा, हामी महसुस गर्छौं कि हाम्रो जीवनका दुःख र समस्याहरू हाम्रो स्वार्थपरता र स्वार्थी मनोवृत्तिबाट आउँछन् र, हामी खुसी हुन चाहने हुनाले, हामी आफ्नो ख्याल राख्छौं ताकि हामी यो अवस्थाको बारेमा केही गर्न सकौं। हामी आफ्नो मनोवृत्ति र व्यवहार परिवर्तन गर्न आफूमाथि काम गर्नेछौं, र हामीले हासिल गर्न तालिम गरिरहेका कुराहरूलाई व्यवहारमा उतार्न भविष्यमा सावधान रहनेछौं।
अब यसरी आफ्नै सुधारका लागि काम गर्न धेरै तहका प्रेरणा हुन्छन्। प्रेरणा भन्नाले के हो भन्ने बुझ्दा, हामीले लक्ष्य के हो र त्यो लक्ष्यतर्फ लैजाने भावनात्मक शक्ति के हो भन्ने कुरा हेर्छौं। बौद्ध शिक्षाले मार्गमा अघि बढ्दा क्रमिक रुपमा बढ्ने प्रेरनाका तहहरू बताउँछ। हामी आफ्नो जीवनको गुणस्तर सुधार्न काम गर्छौं, किनकि अहिले सन्तोषजनक छैन। यस्तो अवस्था रोकिओस् भन्ने चाहना हुन्छ र बिग्रियोस् भन्ने चाहना हुँदैन। सुधारियो भने अझ राम्रो हुन्छ। हामी असन्तुष्ट हुन्छौं र केही गर्नुपर्छ भन्ने बिन्दुमा पुग्छौं।
हामी अझ उन्नत तहमा, केवल यस जीवनमा मात्र नभई भविष्यका जीवनहरूमा पनि सोच्न सक्छौं। भविष्यका जीवनहरूमा पनि अवस्था बिग्रियोस् भन्ने हामीले चाहँदैनौं। यस जीवनमा सुधार चाहनामा जस्तै भावनात्मक शक्तिद्वारा हामीलाई अघि बढाउँछ, तर हामी लामो समयको दृष्टिले हेर्छौं। यी दुईको बीचमा एउटा मध्यवर्ती चरण पनि हुन सक्छ, जसमा हामी सोच्छौं कि हाम्रो परिवारमा भएका वा हाम्रो व्यवहारमा देखिने विभिन्न समस्याहरू भविष्यका पुस्तामा निरन्तर नचलोस्।
भविष्यका जीवनको कुरा मात्र सोच्नुको सट्टा, हामी सम्पूर्ण असन्तोषजनक, निराशाजनक पुनर्जन्मको चक्रबाट पूर्णरूपमा बाहिर निस्किन चाहने प्रेरणा पनि पाउन सक्छौं, वा करुणाबाट प्रभावित भई, हामी सबैलाई यी सबै तहका समस्याहरू पार गर्न मद्दत गर्ने सोचमा लाग्न सक्छौं। यदि हामी त्यसै गरिरहेका छौं भने, हामी तब बुद्ध बन्ने दिशामा काम गरिरहेका छौं।
वास्तवमै यी उच्च स्तरका प्रेरणा प्राप्त व्यक्ति बन्नका लागि अत्यधिक प्रशिक्षण आवश्यक पर्छ। तथापि, हामी जुनसुकै स्तरमा भए पनि बुद्धका शिक्षाहरूमा सहयोगी हुने धेरै विधिहरू पाउँछौं। उदाहरणका लागि, यदि हामीले केवल यसै जीवनको कुरा मात्र सोच्ने हो भने पनि, हामी केवल आफू र आफ्ना समस्याहरू पार गर्ने विचारले मात्र होइन, अरूको बारेमा सोच्ने करुणाले पनि प्रेरित हुनेछौं। अर्को शब्दमा, हामी हाम्रा समस्याहरूलाई केवल तिनीहरूले हामीलाई दुःख दिन्छन् र हाम्रो लागि अत्यन्त पीडादायी छन् भन्ने कारणले मात्र पार गर्न खोजिरहेका छैनौं, तर ती समस्याहरूले हामीलाई अरूलाई उत्तम सहयोग गर्नबाट पनि रोक्छन् भन्ने कारणले पनि हो। यो मन-प्रशिक्षणको तरिकाले आफूमाथि काम गर्नु हो।
उदाहरणका लागि, मानौं हामी मद्यपानको लतमा परेका छौं। एक दृष्टिकोणबाट, हामी मदिरामाथिको निर्भरतालाई जित्न प्रेरित हुन सक्छौं किनकि यो हामीलाई, हाम्रो स्वास्थ्यलाई र हाम्रो जीवनका सबै पक्षलाई अत्यधिक हानि पुर्याइरहेको हुन्छ। बिहान उठ्दा आउने ह्याङ्ओभरले पनि हामीलाई नराम्रो महसुस गराउँछ। तर यदि हामीले आफ्नो परिवारको बारेमा सोच्यौँ भने, हामी अझ बढी प्रेरित हुन सक्छौं। उदाहरणका लागि, हामी सोच्नेछौं कि मेरो मदिरा सेवनले मलाई राम्रो अभिभावक बन्नबाट कसरी रोकिरहेको छ, म मदिराले मातेर कतिपय बेला पागल जस्तो व्यवहार गर्छु, र यसले मेरो परिवार, मेरा साथीहरू आदिमा साँच्चै नराम्रो असर पारिरहेको छ। जब हामी महसुस गर्छौं कि हाम्रो परिवारलाई हाम्रो आवश्यकता छ, र हाम्रो मद्यपानको समस्याले उनीहरूको त्यो वास्तविक आवश्यकता पूरा गर्नबाट हामीलाई रोक्दैछ, तब त्यसले हामीलाई त्यो निर्भरतालाई जित्न थप शक्ति दिन्छ।
त्यसैले, हामी यी बौद्ध विधिहरू यस जीवनलाई सुधार गर्ने प्रयोजनमा अभ्यास गरिरहेका भए पनि, अरूप्रति प्रेम र करुणाको प्रेरणा अत्यन्त महत्वपूर्ण हुन्छ। अरूलाई माया गर्ने मन प्रशिक्षणका यी शिक्षाहरूमा यस कुरालाई जोड दिइएको छ: यद्यपि हामी यी विधिहरूलाई केवल आफ्नै सुखका लागि प्रयोग गर्न सक्छौं, अरूलाई राम्रो सहयोग गर्न सक्ने गरी यी विधिहरू प्रयोग गर्नु निश्चय नै धेरै उत्तम हो।
जीवनका आठ क्षणिक कुराहरू (आठ सांसारिक चिन्ताहरू)
हाम्रो जीवनमा हामी विभिन्न कठिन परिस्थितिहरूको सामना गर्छौं। ती परिस्थितिहरू पीडादायी हुने अर्थमा कठिन हुन सक्छन्। ती शारीरिक रूपमा पीडादायी हुनैपर्छ भन्ने छैन; ती मानसिक रूपमा पनि हुन सक्छन्। हामी यी कठिन परिस्थितिहरूलाई उदाहरणका लागि ती अवस्थाहरूको रूपमा बुझ्न सक्छौं जसले हाम्रा विघटनकारी भावनाहरूलाई तीव्र रूपमा उत्पन्न गराउँछन्। यी विघटनकारी भावनाहरू एकतर्फ रिस हुन सक्छन्, तर अर्कोतर्फ ती तीव्र आसक्ति पनि हुन सक्छन्। हामी सबैलाई थाहा छ कि जब हाम्रो मन रिस वा वैरभावले भरिन्छ, वा जब यो तीव्र आसक्ति र तीव्र चाहनाले भरिन्छ, तब हामी कति असहज महसुस गर्छौं।
केही परिस्थितिहरू विशेष गरी कठिन हुन्छन् र ती बौद्ध धर्ममा आठवटा तथाकथित 'जीवनका क्षणिक वस्तुहरू' को सूचीमा उल्लेख गरिएका छन्। कहिलेकाहीँ तिनीहरूलाई 'आठ सांसारिक चिन्ताहरू' वा 'आठ सांसारिक धर्महरू' भनेर अनुवाद गरिन्छ, तर ती हाम्रो जीवनमा घट्ने क्षणिक वस्तुहरू हुन्; ती स्थिर छैनन्, ती बित्छन्। ती चार जोडीमा आउँछन्:
- प्रशंसा वा आलोचना पाउनु – यदि हामीले प्रशंसा पाउँछौं भने, हामी हर्षित हुन्छौं र त्यसमा आसक्त हुन्छौं; र जब हामीमाथि आलोचना हुन्छ, हामी निकै दुःखी र रिसाउँछौं।
- राम्रो वा नराम्रो खबर पाउनु – जब हामीले राम्रो खबर पाउँछौं, हामी धेरै उत्साहित हुन्छौं, र अवश्य पनि हामी त्यसमा आसक्त हुन्छौं, हामी चाहन्छौं कि त्यो लामो समयसम्म टरोस्, जुन कहिल्यै हुँदैन। जब हामी नराम्रो खबर सुन्छौं, हामी धेरै दुःखी, र प्रायः निराश र रिसाउँछौं।
- लाभ वा हानिको अनुभव गर्नु – जब हामीले केही पाउँछौं, उदाहरणका लागि कसैले हामीलाई केही दिन्छ, हामी सबै खुसी र उत्साहित हुन्छौं, र सोच्छौं, "ओहो, कति राम्रो।" त्यसपछि, जब हामी चीजहरू गुमाउँछौं, वा मानिसहरूले ती हामीबाट खोस्छन्, वा ती टुट्छन्, हामी निकै दुःखी हुन्छौं। लाभ र हानि हाम्रो जीवनमा मानिसहरू आउने कुरामा पनि हुन सक्छ। हामीले एक साथी पाउँछौं, वा हामीले कुनै प्रियजन गुमाउँछौं, वा स्पष्ट रूपमा यो आर्थिक पनि हुन सक्छ।
- कामहरू राम्रो हुनु वा नराम्रो हुनु – हामी निकै उत्साहित र आसक्त हुन्छौं, वा हामी निराश र रिसाउँछौं।
आत्मकेन्द्रितताका कारण यी आठ अस्थायी अवस्थाहरूले हामीलाई विचलित बनाउँछन्। हामी आफ्नै बारेमा र हामीलाई के हुन्छ भन्ने कुरामै मात्र सोचिरहेका हुन्छौं, र त्यसैका कारण कहिले हामी “म कति अद्भुत छु” भनेर महसुस गर्छौं भने कहिले “हाय, म कति दयनीय छु” भनेर सोच्दछौं।
अस्थायी प्रतिद्वन्द्वी शक्तिहरूको प्रयोग
बुद्धले जीवनका यी आठ क्षणिक कुराहरूको प्रतिक्रियामा प्रायः उत्पन्न हुने क्लेशकारी भावनाहरूलाई पार गर्न धेरै विभिन्न विधिहरू सिकाउनुभयो। यी सबै विधिहरूले हामीले अनुभव गरिरहेका कुरालाई अरूको हितलाई महत्व दिने अझ लाभदायी दृष्टिकोणबाट हेर्ने अभ्यास गर्न सिकाउँछन्। एउटा विधि भनेको कुनै परिस्थितिलाई अस्थायी प्रतिद्वन्द्वी शक्तिको दृष्टिकोणबाट हेर्नु हो। यसले क्लेशकारी भावनाहरूलाई सधैंका लागि पूर्ण रूपमा हटाइदिँदैन। यो पर्याप्त गहिरोसम्म जाँदैन, तर यो अत्यन्तै सहयोगी भने अवश्य हुन्छ।
रिसको प्रतिद्वन्द्वीको रूपमा प्रेम
उदाहरणका लागि, मानौं हाम्रो लागि सबै कुरा नराम्रो भइरहेको छ। हाम्रो जीवनमा कोही यस्तो व्यक्ति छ जसले हामीलाई धेरै नराम्रो र अप्रिय तरिकाले व्यवहार गरिरहेको छ, र हामी सधैं त्यो व्यक्तिसँग रिसाइरहन्छौं। केवल आफ्नो बारेमा मात्र सोच्दै, हामी 'मलाई उनीहरूले मलाई जसरी व्यवहार गरिरहेका छन्, त्यो मन पर्दैन' भन्ने कुरामा आसक्त छौं। यहाँ क्रोधको लागि अस्थायी प्रतिपक्षीको रूपमा हामीले प्रयोग गर्ने कुरा प्रेम हो। अब यहाँ हामी अत्यन्तै सरल ढङ्गले “ल, यस व्यक्तिप्रति रिस नमान, उसलाई प्रेम गर” मात्र भनिरहेका छैनौँ। स्पष्ट रूपमा भन्नुपर्दा, हामीमध्ये धेरैका लागि त्यस्तो परिवर्तन तुरुन्तै सम्भव हुँदैन। तर यहाँ मुख्य कुरा के हो भने—अरूको हितलाई मूल्य दिने आधारमा बुझाइ (समझदारी) प्रयोग गरेर आफ्नो भावनात्मक अवस्था र दृष्टिकोण परिवर्तन गर्न सकिने एउटा राम्रो उदाहरण यही हो।
यो व्यक्ति हामीप्रति अत्यन्तै खराब व्यवहार गरिरहेको छ, तर उनी किन यसरी व्यवहार गरिरहेका होलान्? उनीहरूलाई कुनै न कुनै कुराले सताइरहेको छ। तपाईंको जीवनमा पनि यस्ता मानिसहरू अवश्यै होलान्, जो सधैं गुनासो गरिरहन्छन्। जब उनीहरू तपाईंको साथमा हुन्छन्, उनीहरूको सम्पूर्ण कुराकानी यही कुरा र त्यो कुराको गुनासोमै बित्छ। उनीहरू सधैं आफ्नै बारेमा मात्र कुरा गर्छन्, र उनीहरूसँग बस्दा पूर्ण रूपमा “उत्साहहीन” अनुभव हुन्छ। यदि हामीले यसलाई विश्लेषण गर्यौं भने, त्यो व्यक्ति स्पष्ट रूपमा अत्यन्तै दुःखी भएकोले यस्तो व्यवहार गरिरहेको छ। हाम्रो दृष्टिकोण परिवर्तन गर्ने एक उपयोगी उपाय यसरी सोच्नु हो: "यदि यो व्यक्ति खुसी हुन सकेको भए, तब उसले सधैं गुनासो गर्न र मलाई यति गाह्रो बनाउन छोड्ने थियो।" बौद्ध धर्ममा प्रेमको परिभाषा भनेको अरू व्यक्ति खुशी होऊन् र खुशीका कारणहरू प्राप्त गरून् भन्ने कामना गर्नु हो। त्यसैले, यो व्यक्ति टाढा जाओस् र हामीलाई नसताओस् भन्ने चाहना राख्नुको सट्टा, उनीहरू खुशी होऊन्, उनीहरूलाई सताइरहेको जे छ त्यो हटोस् भन्ने कामना विकास गर्यौं भने, हामी कम विचलित हुनेछौं। ध्यानमा यस्तो मनोवृत्ति परिवर्तन लागू गर्न अभ्यास गर्नुलाई "मनो-प्रशिक्षण" भनिन्छ।
अत्यधिक यौन आकर्षणलाई कम गर्ने
त्यसैगरी, यदि हामी कसैप्रति धेरै आकर्षित छौं भने, हामी आफ्नो कल्पनाको प्रयोग गरेर केही अस्थायी अवरोधहरू सिर्जना गर्छौं। स्वार्थी भएर र त्यो व्यक्तिलाई केवल आफ्नो आनन्दको लागि उपभोग गर्ने वस्तुको रूपमा सोच्नुको सट्टा, हामी उनीहरूको भित्री अंगहरू कस्तो देखिन्छन् भनेर कल्पना गर्न सक्छौं – उनीहरूको पेट, आन्द्रा, मस्तिष्क र यस्तै कुराहरू। विशेष गरी जब हामी उनीहरूको अनुहार हेर्छौं, उनीहरूको खोपडीको हड्डीको संरचना कस्तो छ भनेर कल्पना गर्न सहयोगी हुन्छ। र अवश्य पनि हामीले जे कल्पना गरिरहेका छौं त्यो सत्य हो, किनकि त्यही नै यस व्यक्तिको छालामुनि रहेको वास्तविकता हो।
अर्को प्रभावकारी तरिका भनेको उनीहरूलाई बच्चाको रूपमा कल्पना गर्नु र त्यसपछि उनीहरू एकदमै वृद्ध व्यक्ति हुँदा कस्तो देखिनेछन् भनेर कल्पना गर्नु हो। यसरी, हामी हाम्रो आसक्तिलाई कम गर्न सक्छौं, विशेष गरी यदि यो यौन आकर्षण हो भने, किनभने हामीले देखेको कुरा केवल बाहिरी रूप हो र यो पक्कै पनि स्थायी हुनेछैन भन्ने कुरा बुझेर। वा यदि उनीहरूलाई कुनै डरलाग्दो छालाको रोग भएको भए, वा उनीहरू धेरै गहिरो डण्डीफोरले ढाकिएका भए, के हामी अझै पनि उनीहरूलाई त्यति आकर्षक पाउने थियौं? हामीले यो व्यक्तिभित्र वास्तवमा आन्द्रा र कंकाल छ भन्ने कुरा जति बढी बुझ्छौं, हाम्रो दृष्टिकोण त्यति नै परिवर्तन हुन्छ र हाम्रो भावनात्मक अस्थिरता शान्त हुन्छ। हामी अझ स्थिर बन्छौं।
हामीले जसप्रति यति प्रबल यौन आकर्षण महसुस गर्छौं, त्यो व्यक्तिप्रति जब हामीमा यति प्रबल आसक्ति र आकर्षण हुन्छ, प्रायः त्यो केवल उनको शरीरमा मात्र केन्द्रित हुन्छ। हामी यो तथ्य बिर्सन्छौं कि उनी पनि एक मानव हुन्, जो खुशी हुन चाहन्छन्, दुःखी हुन चाहँदैनन्, र केवल यौन वस्तुको रूपमा व्यवहार गरिन चाहँदैनन्। यस व्यक्तिसँग आफ्नै असुरक्षा, आफ्नै भावनात्मक समस्या, आफ्नै पारिवारिक समस्याहरू हुन्छन्, र यसरी हेर्ने तरिकाहरू उनीहरूलाई केवल यौन वस्तुको रूपमा हेर्ने कुराको विपरीत हुन्छन्। हामी वास्तवमा उनीहरूलाई एक वास्तविक मानवको रूपमा हेर्छौं र उनीहरूको खुशी र भलाइको लागि सच्चा चासो विकास गर्न थाल्छौं।
भिखारीहरू वा अपाङ्ग व्यक्तिहरूप्रति घृणा वा उदासीनताबाट टार्ने
जब हामी निकै कुरूप वा घिनलाग्दो लागने कसैलाई देख्दा, तब अस्थायी विरोधी लागू गर्नु पनि अत्यन्त प्रभावकारी हुन्छ। यो विशेष गरी भिक्षुकहरू र अत्यन्तै गरिब मानिसहरूलाई भेट्दा उपयोगी हुन्छ, जस्तै यहाँ मेक्सिकोमा, वा भारतजस्ता देशहरूमा, जहाँ यस्ता मानिसहरूसँग अरू देशहरूको तुलनामा धेरै पटक सामना गर्नुपर्छ। हामी यसलाई अपाङ्ग व्यक्तिहरूप्रति पनि प्रयोग गर्न सक्छौं—चाहे उनीहरू दृष्टिविहीन, श्रवणविहीन, वा पक्षाघातग्रस्त नै किन नहुन्—जसप्रति हामी प्रायः असहज र अप्ठ्यारो महसुस गर्छौं।
मलाई याद छ बर्लिनमा एकपटक अपाङ्ग व्यक्तिहरू सम्बन्धी एउटा प्रदर्शनी आयोजना गरिएको थियो। त्यसको एउटा खण्डमा पक्षाघात भएका मानिसहरूसँगको भिडियो अन्तर्वार्ताहरूको शृङ्खला थियो। उनीहरूका अंगहरू अनियन्त्रित रूपमा कम्पन गरिरहेका थिए, मुख एकतर्फ झोल्लिएको थियो र बोली अस्पष्ट थियो। यी मानिसहरू आफ्नो यौन जीवनको बारेमा कुरा गरिरहेका थिए, र बताइरहेका थिए कि वास्तवमा उनीहरूमा पनि अरू सबैजस्तै भावना, यौन आवश्यकताहरू र सम्बन्धको इच्छा हुन्छ। त्यसपछि उनीहरूले आफूले कायम गरेका मायापूर्ण सम्बन्धहरूको बारेमा वर्णन गरे। शहरका सबै विद्यालयका बालबालिकाहरूलाई यो प्रदर्शनीमा जान अनिवार्य गरिएको थियो, जुन कुरा मलाई अद्भुत लाग्यो, जसले यी मानिसहरू पनि अरू सबैजस्तै वास्तविक मानिसहरू हुन् भन्ने देखाउँथ्यो। यस्ता व्यक्तिहरूसँग हुँदा उत्पन्न हुने हाम्रो स्वार्थी घृणा, उदासीनता वा असहजतालाई हटाउन यो एउटा अत्यन्तै सहयोगी हुन्छन्।
अर्को एउटा उपाय भनेको, सडकमा कुनै वृद्ध व्यक्ति भिक्षा मागिरहेको देख्दा, त्यही ठाउँमा “मेरो आमा” घरविहीन भएर भिक्षा मागिरहनुभएको छ भन्ने कल्पना गर्नु हो, वा “मेरो बुबा” भनेर सोच्नु हो। त्यस्तै, यदि सडकमा भट्किएको कुनै युवा पनि भिक्षा मागिरहेको देख्यौं भने, त्यस्तो अवस्थामा “मेरो छोरा” वा “मेरो छोरी” भएको कल्पना गर्नु हो। व्यक्तिलाई हेर्ने हाम्रो दृष्टिकोणमा आएको यो परिवर्तनले हामीले उसलाई कसरी बुझ्छौं र हेर्छौं भन्ने तरिकाले हाम्रो भावनात्मक प्रतिक्रिया पूर्ण रूपमा बदलिदिन्छ।
म स्वीकार गर्छु, मैले यो कहिल्यै गरेको छैन। तर मलाई न्यूयोर्कका एक पश्चिमी जेन शिक्षकको बारेमा थाहा छ, जसले आफ्ना विद्यार्थीहरूलाई यदि उनीहरूले चाहन्छन् भने आफूसँग कुनै पनि पैसा, क्रेडिट कार्ड वा डेबिट कार्ड, वा यस्तै अरू केही पनि नलिई सडकमा जान लगाउँछन्, र एक हप्तासम्म घरविहीन भएर भिक्षा माग्न भन्छन्, ताकि त्यस्तो जीवन कस्तो हुन्छ भन्ने अनुभव प्रत्यक्ष रूपमा गर्न सकून्।
यी कठिन परिस्थितिमा रहेका अरू प्रति हाम्रो उदासीनतालाई पार गर्नका लागि अत्यन्त शक्तिशाली "औषधि" हुन्। म त सोच्दैछु, जब हामी यस्ता मानिसहरूलाई भेट्छौं, हामी त उनीहरूलाई हेर्न पनि चाहँदैनौं। यसले हामीलाई असहज महसुस गराउँछ। त्यो अवस्थामा आफूलाई कल्पना गर्नुहोस्। त्यहाँ तपाईं संघर्ष गरिरहनुभएको छ र कसैले पनि तपाईंलाई हेर्न वा तपाईंको अस्तित्व स्वीकार्न चाहँदैन, वा तपाईंलाई लामखुट्टेझैँ गरेर धपाइदिन्छ। खैर, यो प्रतिपक्षी शक्तिहरू प्रयोग गर्ने एउटा विधि हो, तर यी अस्थायी हुन्, यी समस्याको जरासम्म पुग्दैनन्।
सबैभन्दा गहिरो रूपमा काम गर्ने प्रतिपक्षी उपाय लागू गर्नु
दोस्रो मन प्रशिक्षण विधि भनेको यस्तो विपक्षी प्रयोग गर्नु हो जुन केवल अस्थायी उपाय मात्र नभई समस्याको मूलसम्म पुगेर त्यसलाई हटाउने खालको हो। यसको अर्थ यस्तो मानसिक अवस्था लागू गर्नु हो जुन भ्रमपूर्ण, गलत अवस्थाको पूर्ण प्रतिकूल, बिल्कुल उल्टो हुन्छ। यसको सम्बन्ध शून्यताको बुझाइसँग छ, अर्थात् कुनै व्यक्ति वा परिस्थितिको अस्तित्वलाई हेर्ने गलत तरिका वास्तविकतासँग मिल्दैन। अर्कोतर्फ भन्नुपर्दा, हाम्रो मोह वा क्रोधको आधारमा मुख्य रूपमा हाम्रो वस्तुहरूको अस्तित्वबारेको भ्रम नै हुन्छ।
यो शून्यताको गहिरो छलफल गर्ने समय होइन, त्यसैले कुरालाई एकदमै आधारभूत तहमा राखौं। उदाहरणका लागि, मानौं तपाईं बिरामी हजुरबा-हजुरआमा वा वृद्ध आमाबुवालाई भेट्न वृद्धाश्रममा जानुहुन्छ। तपाईं उनीहरूको कोठातिर हलवे हुँदै जाँदा, तपाईं एउटी खुम्चिएकी वृद्ध महिलाको छेउबाट गुज्रनुहुन्छ जो ह्वीलचेयरमा निहुरिएर बसेकी छिन्, आफैसँग बडबडाउँदै, थुक चुहाउँदै र काखमा रहेको तौलियामा चिमोटिरहेकी छिन्। तपाईं त्यस्तो व्यक्ति देख्नुहुन्छ र धेरै असहज महसुस गर्नुहुन्छ। तपाईंलाई लाग्छ कि उनी सधैं यस्तै थिइन्। र यदि, तपाईं हिँड्दै गर्दा, उनले आफ्नो हात अगाडि बढाएर तपाईंको हात समात्न वा केवल छुन खोजिन् भने, तपाईं तर्सिनुहुन्छ। तपाईं केवल आफ्नो बारेमा मात्र सोचिरहनुभएको हुन्छ।
यहाँ हामी अस्थायी विपक्षी शक्ति प्रयोग गर्न सक्छौं, जस्तो कि सम्झनु कि यो एउटा मानव हो। उनको जीवन, परिवार, पेशा थियो र उनी पहिले जवान थिइन्; उनी सधैं यसरी देखिएकी होइनन्। उनी केवल मानव सम्पर्क चाहानले हात बढाइरहेकी हुन्। यो प्रभावकारी हुनेछ, तर हामी अझ गहिरो विधि प्रयोग गर्न सक्छौं। यसले यो स्वीकार्न लगाउँछ कि मैले कल्पना गरेजस्तो—जसरी उनी देखिन्छिन्, बूढी र जीर्ण, कहिल्यै अरू केही नभएकी—त्यस्तो हुनु असम्भव छ। कसैले पनि यसरी, समयमा स्थिर तस्वीरमा जस्ता जमेझैं अस्तित्वमा रहन सक्दैन। त्यसपछि हामी यसमा ध्यान केन्द्रित गर्नेछौं: “त्यस्तो कुरा केही हुँदैन, त्यो असम्भव छ।” यो हाम्रो गलत धारणालाई रोक्ने धेरै शक्तिशाली तरिका हो, जसले हामीलाई उनको प्रति बढी यथार्थपरक र करुणामय दृष्टिकोण अपनाउन मद्दत गर्छ।
विचलित भावनाहरूलाई शान्त पारेर अन्तरनिर्हित गहिरो चेतना प्रकट गर्ने
विचलित पार्ने भावनाहरूलाई शान्त पार्दै अन्तर्निहितलाई प्रकट गर्ने अर्को विधि भनेको "महामुद्रा" भनिने उन्नत ध्यान प्रकारमा प्रयोग गरिने हो, जसमा "अन्तर्निहित गहिरो चेतनालाई हेर्ने" गरिन्छ, जसमा विचलित पार्ने भावना स्वतः विमोचन हुन्छ। यो विधि हाम्रो मनले वास्तविकतालाई बुझ्ने आधारभूत संयन्त्रहरूको प्रयोग गर्छ – सरल भाषामा भन्नुपर्दा, “हाम्रो मनले कसरी काम गर्छ” भन्ने कुराको प्रयोग गर्छ।
उदाहरण हेरौं। मानौं हामी कसैप्रति गहिरो आकर्षण र तीव्र चाहना राख्छौं। यदि हामीले त्यो भावनात्मक अवस्थाको तनावलाई शिथिल बनाउन सक्यौं भने, त्यसको मुनि जे भेटिन्छ, त्यसलाई "व्यक्तिगत गहिरो चेतना" भनिन्छ। अर्को शब्दमा, यो व्यक्तिलाई हामीले कसरी चिनेका छौं भन्ने कुरामा जे भइरहेको छ भने, हामीले अरू कसैको सट्टा यस व्यक्तिलाई एक व्यक्तिगत रूपमा विशिष्ट गरिरहेका छौं। मनको आधारभूत संरचनाको हिसाबले वास्तवमा त्यति मात्रै भइरहेको हुन्छ। त्यसपछि हामी त्यसमा "यो व्यक्ति साँच्चै विशेष छ" भन्ने कुरा प्रक्षेपण गर्छौं। हामी केही गुणहरूलाई अतिरञ्जित गर्छौं र त्यसपछि आकर्षण र तीव्र चाहना, वा आसक्ति अनुभव गर्छौं।
लालसा तब हुन्छ जब तपाईंसँग कुनै वस्तु हुँदैन र तपाईं त्यसलाई प्राप्त गर्न चाहनुहुन्छ; र आसक्ति तब हुन्छ जब तपाईंसँग त्यो वस्तु हुन्छ र तपाईं त्यसलाई छोड्न चाहनुहुन्न। यी दुवै स्पष्ट रूपमा पूर्णतया आत्मकेन्द्रित छन्। यदि हामीले यस मानसिक अवस्थामा अतिशयोक्ति र आसक्तिको कडा ऊर्जालाई शिथिल बनायौं भने, बाँकी रहन्छ केवल मनले त्यस वस्तुतर्फ गरिरहेको आधारभूत संरचना, जुन केवल त्यसलाई परिभाषित गरिरहेको छ। बस यत्ति।
यो विधि वास्तवमै निकै उन्नत भए पनि, यदि यसलाई सही रूपमा प्रयोग गर्न सकियो भने अत्यन्त प्रभावकारी हुन्छ। तर यसमा भावनाहरूले बगाएर लैजान नदिन केही परिपक्वता आवश्यक पर्छ। कुनै कुरासँग भावनात्मक रूपमा व्यवहार गर्दा भित्रभित्र के भइरहेको छ भन्ने कुरा देख्न सक्नुपर्छ र त्यसपछि आफैँलाई शान्त पार्न सक्नुपर्छ। जति हामी भावनाको आधारमा रहेको मूल संज्ञानात्मक संरचनालाई स्पष्ट रूपमा देख्छौँ, उति नै ती भावना आफैँ स्वतः शिथिल हुँदै विलीन हुन्छन्।
नकारात्मक परिस्थितिहरूलाई सकारात्मकमा रूपान्तारण: हामी अरूलाई कसरी हेर्छौं
अर्को विधि भनेको, आफ्नो अभ्यासका लागि अनुकूल छैनन् जस्तो लाग्ने परिस्थितिहरूलाई अनुकूल परिस्थितिमा रूपान्तरण गर्नु हो। यो परम्परागत मन-प्रशिक्षण का ग्रन्थहरूमा सिकाइने मुख्य विधि हो, विशेष गरी लाङ्ग्री ताङ्पाले रचेको मन प्रशिक्षणका आठ श्लोक मा मुख्य रूपमा सिकाइको छ। महान भारतीय आचार्य शान्तिदेवले आफ्नो ग्रन्थ बोधिसत्त्व आचारमा प्रवेश मा यस प्रकारको दृष्टिकोणलाई संकेत गर्ने एक श्लोक प्रस्तुत गरेका छन्। उनले लेखेका छन्,
(VI.10) यदि कुनै कुरा सुधार्न सकिन्छ भने, त्यसको कारणले किन खराब मनस्थितिमा पर्नु ? र यदि सुधार्नै सकिँदैन भने, त्यसप्रति खराब मनस्थितिमा पर्नुले के फाइदा हुन्छ ?
यदि तपाईंले परिस्थिति परिवर्तन गर्न केही गर्न सक्नुहुन्छ भने, किन चिन्तित हुनुहुन्छ? सिधै परिवर्तन गर्नुहोस्। र यदि तपाईंले केही गर्न सक्नुहुन्न भने, किन चिन्तित हुनुहुन्छ? यसले कुनै फाइदा गर्दैन। त्यसैले, यदि हामी यस्तो परिस्थितिमा छौं जुन हामीलाई अत्यन्त हानिकारक र अत्यन्त कठिन लाग्छ, जस्तै आलोचना वा कामहरू खराब हुँदैछन्, र हामी साँच्चै परिस्थिति परिवर्तन गर्न सक्दैनौं भने, किन चिन्तित हुनुहुन्छ? केवल त्यसप्रति आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहोस्।
विरोधी परिस्थितिलाई सकारात्मकमा रूपान्तरण गर्ने धेरै फरक तरिकाहरू छन्। हाम्रो दृष्टिकोण परिवर्तन गर्ने केही तरिकाहरू अरूले हामीलाई समस्या दिँदा तिनीहरूलाई फरक दृष्टिले हेर्नेसँग सम्बन्धित छन्, र केही तरिकाहरू यी कठिन परिस्थितिहरूमा हामीले आफूलाई कसरी हेर्छौं भन्नेसँग सम्बन्धित छन्। पहिले अरूप्रति हाम्रो दृष्टिकोणसँग सम्बन्धित तरिकाहरू हेरौं।
झन्झटिला मानिसहरूलाई मनोकामना पूरा गर्ने रत्नको रूपमा हेर्नु
झन्झटिला मानिसहरूप्रति हाम्रो दृष्टिकोण परिवर्तन गर्ने एउटा तरिका भनेको उनीहरूलाई 'मनोकामना पूरा गर्ने रत्न' जस्तै हेर्नु हो। उदाहरणका लागि, हामी सोच्न सक्छौं, "यहाँ कोही व्यक्ति छन् जसले मलाई चुनौती दिइरहेका छन्; उनीहरूले मलाई बढ्न, मैले कति विकास गरेको छु भनेर परीक्षण गर्ने अवसर दिइरहेका छन्। यो अद्भुत छ।" वा, "यो व्यक्तिले मलाई दिउँसोको खानामा बोलाएको छ, र उसले सधैं गुनासो गरिरहन्छ, र उसको साथमा हुँदा एकदमै निराशाजनक महसुस हुन्छ, र यो अद्भुत छ! यो व्यक्तिले मलाई बोलाउनु कति राम्रो भयो, किनभने अब मैले धैर्य र समझदारीको साँच्चै अभ्यास गर्ने मौका पाएको छु।" त्यसैले, तिनीहरू इच्छा पूरा गर्ने रत्न जस्तै हुन्। "कति राम्रो, मेरो छिमेकीले मलाई त्यो बच्चाको हेरचाह गर्न भनेका छन् जसले मलाई थाहा छ, पूरै साँझ रुनेछ र चिच्याउनेछ। यो त गज्जब भयो।"
शान्तिदेवले यसलाई निकै सुन्दर रूपमा भन्नुभएको छ,
( VI.107) त्यसैले, म त्यस्तो शत्रुबाट प्रसन्न हुनेछु जो मेरो घरमा खजाना जस्तै अचानक देखा पर्छ, जसलाई मैले थकाइले प्राप्त गर्नु परेको छैन, किनकि ऊ बोधिसत्व आचरणका लागि मेरो सहायक बनेको छ।
सबैको भलाइको लागि बोधिलाभ प्राप्त गर्न समर्पित एक बोधिसत्वलाई सबैभन्दा बढी खुसी के कुराले दिन्छ भने, जब कसैले उनीहरूलाई आफ्नो लागि केही गर्न आग्रह गर्नुहुन्छ। यदि कसैले उनीहरूलाई केही गर्न आग्रह गरिरहेको छैन भने, उनीहरूलाई धेरै दुःख लाग्छ, उनीहरू आफू निर्थक भएको जस्तो महसुस हुन्छ। मेरो एउटा वेबसाइट छ र मलाई धेरै इ-मेलहरू आउँछन्, प्रश्नहरू सोध्न वा केही काम गर्न भन्न, र आउने इ-मेलहरूको संख्याले गर्दा दिक्क हुन धेरै सजिलो हुन्छ। तर यदि मैले साँच्चै यसरी अभ्यास गर्न सकूँ भने, म अत्यन्तै खुशी हुनेछु। जति धेरै आउँछ, त्यति नै धेरै मानिसहरूलाई मद्दत गर्ने अवसर मलाई मिल्छ। यदि हामी बौद्ध तरिकाले यसरी प्रार्थना गरिरहेका छौँ कि “म सबै प्राणीहरूको हितका लागि उपयोगी बनूँ”, र त्यसपछि साँच्चै नै झन्–झन् धेरै प्राणीहरू हामीकहाँ आएर मद्दत माग्छन् भने, के हाम्रो प्रार्थना पूरा भएको होइन र?
शान्तिदेवले लेख्नुभएको अनुसार,
(VII.64) मानिसहरूले सुखको लागि कर्म गरे तापनि, उनीहरू सुखी हुन्छन् वा हुँदैनन् भन्ने कुरा स्पष्ट हुँदैन; तर (एउटा बोधिसत्वका लागि) जसका कर्महरूले वास्तवमै सुख उत्पन्न गर्छन्, ती कर्महरू नगरी उनी कसरी सुखी हुन सक्छन्?
हामीलाई दुःख दिने मानिसहरूलाई हाम्रो बिरामी बच्चास्तै हर्नु
दृष्टिकोण परिवर्तन गर्ने अर्को तरिका भनेको—हामीलाई धेरै दुःख दिने र जससँग बस्न अप्रिय लाग्ने व्यक्तिलाई हाम्रो बिरामी बच्चाजस्तै हेर्नु हो। जब हाम्रो बच्चा बिरामी हुन्छ, झर्किने र रोइरहने हुन्छ, उसले हामीलाई निकै सताउन सक्छ। तर पनि हामी उसप्रति गहिरो माया राख्छौँ, किनकि हामी बुझ्छौँ कि ऊ बिरामी छ। सायद उसलाई सुताइदिनु पर्छ, वा अरू केही आवश्यक हुन्छ। र यदि धेरै थाकेको हाम्रो बच्चाले भन्छ, “म तिमीलाई घृणा गर्छु, म सुत्न चाहन्न,” भने हामी त्यसलाई गम्भीर रूपमा लिँदैनौँ, किनकि ऊ बिरामी छ। त्यसैगरी, हामीसँग बस्न अप्रिय लाग्ने यस व्यक्तिप्रति आफ्नो दृष्टिकोण मात्र परिवर्तन गर्ने कुरा हो—उनीहरूलाई झर्कोलाग्दो उपद्रवी ठान्नुको सट्टा, बिरामी बच्चाको रूपमा हर्नु हो। यस तरिकाले, हामी केवल उनीहरूको बारेमा मात्र चिन्तित हुन्छौं, न कि हाम्रो आफ्नै बारेमा।
हामीलाई दुःख दिने मानिसहरूलाई हाम्रो गुरुजस्तै हेर्नु
तेस्रो उपय भनेक उनीहरूलाई हाम्रो गुरुका रूपमा हेर्नु हो। अतिशा तिब्बत जानुहुँदा, उहाँले आफूसँग भारतबाट एउटा भान्से ल्याउनुभएको थियो भन्ने प्रसिद्ध कथा छ। त्यो भारतीय भान्सेले कहिल्यै निर्देशन पालना गर्दैनथ्यो र सधैँ प्रतिवाद गरिरहन्थ्यो। तब तिब्बतीहरूले अतिशालाई भने, “उहाँलाई भारतमै फर्काइदिनु हुँदैन? हामी तपाईंका लागि पकाइदिन्छौँ।” अतिशाले भन्नुभयो, “होइन, होइन! ऊ मेरो भान्से मात्र होइन; ऊ त धैर्यको मेरो गुरु हो।” यसैले, यदि हाम्रो जीवनमा कुनै झर्कोलाग्दो नातेदार छ, जससँग हामीलाई जसोतसो व्यवहार गर्नै पर्छ भने, त्यस व्यक्तिलाई धैर्यको हाम्रो गुरुका रूपमा हेर्नु अत्यन्तै उपयोगी हुन्छ।
वास्तवमा, मानिसहरूले हामीलाई धेरै–धेरै कुरा सिकाउन सक्छन्। उदाहरणका लागि, गलत व्यवहार गरेर पनि उनीहरूले हामीलाई त्यस्तो व्यवहार नगर्न सिकाउन सक्छन्। हाम्रो कुकुरसमेत हाम्रो गुरु हुन सक्छ। के तपाईंले कहिल्यै ध्यान दिनुभएको छ—दिनभरि कुकुरलाई साथमा लिएर हिँड्दा, कुकुर जहाँसुकै जमिनमा पल्टिएर सजिलै आराम गर्न सक्छ, सुत्नसमेत सक्छ; तर हामीचाहिँ भन्छौँ, “ओहो, यो त विशेष खाट हुनुपर्छ, विशेष ओछ्यानको कपडा हुनुपर्छ, नरम हुनुपर्छ,” वा “कडा हुनुपर्छ,” यस्तै–यस्तै। कुकुरले गुनासो गर्दैन। ऊ जहाँसुकै सजिलै पल्टिन सक्छ। यो त एकदमै ठूलो शिक्षा हो। यी सबै अरूलाई फरक ढङ्गले हेर्ने तरिकाहरू हुन्, जब उनीहरूले हामीलाई दुःख दिइरहेका हुन्छन्—उनीहरूलाई इच्छा पूरा गरिदिने रत्नझैँ, वा हाम्रो बिरामी बच्चाजस्तै, वा हाम्रो गुरुका रूपमा हेर्नु हो।
नकारात्मक परिस्थितिहरूलाई सकारात्माकमा रूपान्तण: हामी आफूलाई कसरी हर्छौं
अरूलाई विजय दिनु
यी अवस्थाहरूमा हामीले आफूलाई फरक दृष्टिकोणले हेर्न र आफूप्रतिको मनोवृत्ति परिवर्तन गर्न सक्ने केही तरिकाहरू पनि छन्। पहिलो तरिका हो "अन्यलाई विजय दिनुहोस् र हार आफूमा स्वीकार गर्नुहोस्।" अर्को शब्दमा भन्नुपर्दा, आफूलाई माया गर्ने मनोवृत्तिले हामी सधैं आफूलाई यसरी सोच्ने गर्छौं, "मैले जित्नुपर्छ; मेरो कुरा मान्नुपर्छ र अर्को व्यक्तिले हार मान्नुपर्छ"; जबकि, यदि हामीले हार आफैं स्वीकार गर्छौं भने, बहस समाप्त हुन्छ। उदाहरणका लागि, एउटा सामान्य उदाहरण, तपाईं आफ्नो साथी वा जीवनसाथीसँग हुनुहुन्छ र कुन रेस्टुरेन्ट जाने भनेर निर्णय गर्नुपर्ने भयो? यदि तपाईंको साथी एउटा विशेष ठाउँमा जान चाहन्छ र तपाईं अर्को ठाउँमा जाने जिद्दी गर्नुहुन्छ भने, तपाईंहरूबीच बारम्बार बहस सुरु हुन्छ। तर अन्ततः, यसले के फरक पार्छ र? यदि, तपाईंले सहजै सहमति जनाएर, "ठीक छ। हामी तिम्रो रेस्टुरेन्टमा जाऔं," भन्नुभयो भने, बहस समाप्त हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, यदि हामीले आफूभन्दा बढी अर्को व्यक्तिलाई माया गर्छौं र उनीहरूलाई नै विजय दिन्छौं भने बहस समाप्त हुन्छ।
अहिले हामी साँच्चै अत्यन्तै गम्भीर अवस्थाहरूको कुरा गरिरहेका छैनौं, जहाँ अर्को व्यक्ति केही अत्यन्त नकारात्मक र विनाशकारी सुझाव दिइरहेको होस्, तर जब साँच्चै कुनै गहिरो फरक पर्दैन, तब अर्कोलाई विजय दिनुहोस्। पक्कै पनि यस रणनीतिप्रति आपत्ति हुन सक्छ, यदि तपाईं सधैं झुक्नुहुन्छ र अर्को व्यक्तिले तपाईंको फाइदा उठाउँछ भने, त्यसैले स्पष्ट रूपमा, यो विधि कहिले प्रयोग गर्ने भन्ने कुरामा तपाईं संवेदनशील हुनुपर्छ। तर त्यस्ता धेरै परिस्थितिहरू छन्, जहाँ यो समस्या समाधान गर्ने सबैभन्दा राम्रो तरिका हुन्छ।
म तपाईंलाई मेरो आफ्नै अनुभवबाट एउटा उदाहरण दिन्छु। म बर्लिनको मुख्य रेस्टुरेन्ट क्षेत्रको एक व्यस्त कुनामा बस्छु। म एउटा अपार्टमेन्ट भवनमा बस्छु र भुइँतलामा पहिले एउटा धेरै शान्त ट्याभर्न थियो, तर त्यसपछि त्यहाँ एउटा नयाँ रेस्टुरेन्ट आयो, एउटा धेरै लोकप्रिय स्पेनिस रेस्टुरेन्ट। यो रेस्टुरेन्ट हप्ताको सातै दिन बिहान सात बजेदेखि बिहानको तीन बजेसम्म खुल्छ। जब मौसम न्यानो हुन्छ, उनीहरूले मेरो भवनको दुवैतिर बाहिर टेबलहरू राख्छन्। मानिसहरू बाहिर बसेर बियर वा वाइन पिउँछन्, र बिहान तीन बजेसम्म ठूलो स्वरले कुरा गर्छन् र हाँस्छन्। जब उनीहरूले भर्खरै रेस्टुरेन्ट खोलेका थिए, बाहिरी टेबलहरू मेरो सुत्ने कोठाको झ्यालमुनि नै थिए, म राति त्यहाँ सुत्न सक्दिनथेँ, कोलाहलका कारण निद्रा लाग्दैनथ्यो। निराश, रिसाएर र उनीहरूको रमाइलोबारे नसोची केवल आफ्नो बारेमा मात्र सोच्दा, म विभिन्न कल्पनाहरू गर्थेँ। मैले आफूलाई मध्ययुगीन किल्लामा भएको र उम्लिरहेको अलकत्राको ठूलो भाँडो लिएर मानिसहरूमाथि खन्याइरहेको कल्पना गर्थेँ। तर म सधैँ फोन गरेर, "मानिसहरूलाई चुप लाग्न भन्नुहोस्, नत्र म प्रहरी बोलाउँछु!" भनिरहने झर्को बूढो मान्छे बन्न सक्दिनथेँ। यसले काम गर्दैनथ्यो।
त्यसैले मैले यो समस्यासँग जुध्ने एउटै उपाय भनेको अरूलाई विजय दिनु र आफूले हार स्वीकार गर्नु हो भन्ने निर्णय गरेँ। उनीहरूले गर्मीको साँझ रमाइलो गर्नु मेरो शयनकक्षमा शान्तसँग सुत्न सक्नुभन्दा बढी महत्वपूर्ण थियो। मेरो घरमा सडकतर्फ नफर्किएको एउटै कोठा भान्सा हो। मेरो भान्सा धेरै ठूलो छ, र बिहानको खाजाका लागि उचाइ बढाइएको प्लेटफर्म पनि छ। त्यहाँ प्रशस्त खाली ठाउँ छ। त्यसैले न्यानो महिनाहरूमा म त्यहीँ सुत्छु। दिनको समयमा म गद्दा भित्तासँग ठड्याएर राख्छु, र राति त्यसलाई भुइँमा ओछ्याएर भान्सामै सुत्छु। त्यहाँ पूर्ण रूपमा शान्त हुन्छ, र वास्तवमा त्यो घरकै सबैभन्दा चिसो कोठा पनि हो।
म भान्सामा सुत्न पाउँदा धेरै खुसी छु। मैले उनीहरूलाई विजय दिएको छु, र मलाई उनीहरू कति जोरले होहल्ला गर्छन् भन्ने कुराले फरक पर्दैन, किनकि म उनीहरूको आवाज सुन्दिनँ। नयाँ वर्ष आउनुअघि दिनहरूमा पनि यो धेरै राम्रो हुन्छ, किनकि जर्मनहरूलाई पटाकाहरू धेरै मन पर्छ। सडकबाट धेरै जोरले आवाज आउँछ, तर फेरि, यदि मैले यसबारे आफ्नो दृष्टिकोण परिवर्तन गरी भान्सामा सुतेर उनीहरूलाई विजय दिएँ भने कुनै समस्या हुँदैन।
मसँग हुने नकारात्मक घटनाहरूले मेरो नकारात्मक कर्म जलाइरहेको छन्
दोस्रो विधि भनेको हामीसँग भइरहेका नकारात्मक कुराहरूलाई “मेरो नकारात्मक कर्म जलिरहेको छ” भनेर हेर्नु हो। यसको अर्थ हामी यसलाई सजायका रूपमा स्वीकार गर्छौँ भन्ने होइन, तर यो कठिन परिस्थिति सानो रूपमै केही नकारात्मक कर्म जलाइरहेको छ भन्ने बुझाइ हो, जसले गर्दा भविष्यमा त्यो कर्म अझै भयानक रूपमा परिपक्व हुनबाट रोक्छ। एउटा साधारण उदाहरण लिऔँ: तपाईं ट्राफिक जाममा पर्नुहुन्छ र लामो समयसम्म हिँड्न सक्नुहुन्न। त्यसबेला तपाईं यसो सोच्नुहुन्छ, “राम्रै भयो! यसले भविष्यमा, जस्तै जीवनको उत्तरार्धमा स्ट्रोक भएर साँच्चै हिँड्नै नसक्ने अवस्था आउन सक्ने कर्मलाई अहिले नै जलाइरहेको छ।” यसरी, यी नकारात्मक कुराहरू भइरहेका छन् भन्ने तथ्यमा नै हामी आनन्द मान्छौँ, किनकि यसले भविष्यमा चीजहरू धेरै राम्रो ढंगले अघि बढ्नका लागि बाटो सफा गरिरहेको हुन्छ।
परम्परागत बौद्धहरू हानिकारक आत्माहरूमा विश्वास गर्छन्। यदि हामी पनि तिनको अस्तित्व स्वीकार गर्छौँ भने, यो दृष्टिकोणको परिवर्तनलाई अझ एक कदम अगाडि बढाएर हानिकारक आत्माहरूलाई यसो भन्न पनि सक्छौँ: “मलाई अझ बढी दुःख पठाऊ। अझ धेरै गर।” हालसालै मसँग यसैसँग सम्बन्धित एउटा निकै रोचक अनुभव भयो। करिब जुलाईको मध्यतिरदेखि करिब दुई महिनासम्म सबै कुरा बिग्रँदै गयो। जताततै समस्या नै समस्या। सबै चीजहरू बिग्रिन थाले। मेरो ढाडमा आएको एउटा अचम्मको गाँठोमा संक्रमण भयो र करिब दुई महिनासम्म म फिटनेस क्लब जान सकिनँ, किनकि अन्ततः संक्रमण निको भएपछि त्यो गाँठो काटेर हटाउनुपर्यो। त्यसपछि मेरो कम्प्युटरमा निकै खराब भाइरस लाग्यो। त्यसले एउटा हार्ड डिस्कसमेत नष्ट गरिदियो, जसका कारण म एक महिना जति आफ्नो नियमित कम्प्युटर बिना नै बस्नुपर्यो। त्यसपछि प्रिन्टर बिग्रियो; अनि मेरा दुईवटा भिडियो प्लेयर थिए—दुवै बिग्रिए। म ज्योतिषशास्त्रको ठूलो प्रशंसक हुँ—कुनै कारणवश मैले विभिन्न मानिसहरूका सङ्कलन गरेर राखेका सबै राशिफलहरूको डाटाबेस नै हरायो। त्यो जानकारी फेरि पाउने कुनै सम्भावना छैन। त्यसपछि म सधैं प्रयोग गर्ने मेरो मनपर्ने कप फुट्यो, र यसैबीच—मैले फ्रान्समा परमपावन दलाई लामाबाट शिक्षण लिन जाँदा—एयरलाइन्सले मेरो सामान नै हराई दियो।
यो नै अन्तिम घटना थियो। जब मेरो सामान हरायो, म हाँसेँ मात्र; त्यो यति धेरै हास्यास्पद लाग्यो। त्यसपछि मैले सोचेँ, “हानिकारक आत्माहरू, अझ लिई जाओ! अब अरू के–के बिगार्ने हो?” यसले मलाई धेरै राम्रो महसुस गरायो। अवरोधहरू टाढा राख्न भावनात्मक पर्खालहरू खडा गर्नुको सट्टा, मैले ती सबैलाई खुला रूपमा स्वीकार गरेँ, यहाँसम्म कि अझ बढी आउन पनि स्वागत गरेँ।
केही वर्ष पहिले, मैले पहिले रुट क्यानल गराएको दाँतमुनिको जबडाको हड्डीमा मलाई संक्रमण भयो र जबडाको हड्डीको एउटा टुक्रा काट्नका लागि दन्त शल्यक्रिया गराउनुपर्यो। फ्रान्सको त्यो यात्राको केही समयपछि, म दन्त चिकित्सककहाँ गएँ र उनले मलाई खुसीको खबर दिए कि घाउको दागमा संक्रमण फेरि फर्किएको छ, र हड्डीबाट त्यसलाई अझ बढी काट्नका लागि मैले दोस्रो दन्त शल्यक्रिया गराउनुपर्यो। मैले यो समाचारलाई, "राम्रै भयो! यसले मेरो वेबसाइटमा नयाँ भाषाका खण्डहरू राख्ने बाटोमा रहेका अवरोधहरू हटाइरहेको छ।" भन्ने मनोवृत्तिले सकारात्मक कुरामा बदल्न सकें।
बौद्ध शिक्षा अनुसार, तपाईंले जे जति सकारात्मक कुरा हासिल गर्न खोज्नुहुन्छ, त्यति नै बढी अवरोधहरू त्यसलाई रोक्नका लागि खडा हुन्छन्। त्यसैले मैले यी सबै घटनाहरूलाई अवरोधहरू जलाएर हटाउने एक अद्भुत परिस्थिति भनेर हेरेँ, र मैले हानिकारक आत्माहरूलाई भनेँ, "अझ धेरै अवरोधहरू ल्याऊ; ममाथि फ्याँनु!" यसो गर्दा, सबै कुरा टुटिरहेको र बिगिरहेको यस सम्पूर्ण अवधिमा म बिलकुलै दुःखी थिइनँ। त्यसैले, यदि तपाईंले साँच्चै यो मन-प्रशिक्षणको विधि लागू गर्न सक्नुभयो भने, यो साँच्चै काम गर्छ। कुनै परिस्थितिलाई अत्यन्तै कठिन, भयानक र निराशाजनक ठान्नुको सट्टा, तपाईं आफ्नो दृष्टिकोण परिवर्तन गरेर त्यसलाई केही अद्भुतको रूपमा हेर्नुहुन्छ।
अरूलाई सुख दिनु र उनीहरूको दुःख आफूमाथि लिनु (तोङ्लेन)
मैले उल्लेख गर्न चाहेको अन्तिम विधि सम्भवतः सबैभन्दा उन्नत र कठिन विधि हो। यसलाई तोङ्लेन (आय-प्रदान) भनिन्छ, अर्थात् दिनु र लिनु। जब तपाईं कुनै कठिन अवस्थाको सामना गरिरहनु भएको हुन्छ, जस्तै दाँत दुखेको अवस्थामा, यो विधि यस्तो सोच्ने हो, “सबैको दाँत दुखाइ उनीहरूबाट हटोस् र ममाथि परिपक्व होस्। मैले सबैको दाँत दुखाइ आफूमाथि लिएर, अब कसैले पनि फेरि कहिल्यै दाँत दुखाइ भोग्न नपरोस्।” यसरी सबैप्रति आफ्नो मन र हृदय खोल्दै, स्वेच्छाले दुःख स्वीकार गर्दा, ‘बेचारा म मात्रै’ भन्ने सोचबाट आउने कडापन, डर र दुःखलाई हामी पार गर्छौँ। आय-प्रदान अभ्यासमा हामी अझ अगाडि बढेर यस्तो सोच्छौँ, “म उनीहरूको सबै पीडा र दुःख विलीन गरिदिन्छु, र आफ्नो मनको मौलिक सुखसँग जोडिँदै, त्यो सुख सबैलाई पठाउँछु।”
मैले पहिले नै भनेको थिएँ कि मेरो जबडामा दोस्रो शल्यक्रिया गर्नुपरेको थियो, र त्यो पूरा अपरेसनभरि तपाईं होसमा नै हुनुहुन्छ। यो निकै रमाइलो छ! उनीहरूले मुखको एकतर्फको पूरै मसुडो काट्छन्, त्यसलाई तानेर खोल्छन् र त्यसपछि विद्युतीय आरा जस्तो औजारले जबडाको हड्डीको एक टुक्रा, दाँतको जराको सानो टुप्पो र वरिपरिको केही मासु काट्छन्। उनीहरूले गर्ने तरिका साँच्चै मध्ययुगीन जस्तै छ। पहिलो पटक जब मैले यो गराएँ, मलाई उनीहरूले के गरिरहेका थिए त्यो धेरै, धेरै रोचक लाग्यो। वास्तवमा यो त्यति दुखाइयुक्त थिएन, किनभने एनेस्थेसिया निकै राम्रो थियो, यद्यपि बीचमा मैले थप लिनुपर्यो। तर दोस्रो पटक जब मैले यो गराएँ, संक्रमण धेरै बढी थियो, र जब संक्रमण हुन्छ, नोभोकेनले त्यो क्षेत्रमा काम गर्दैन, त्यसैले यो अत्यन्तै पीडादायी थियो।
मैले महामुद्रामा पनि प्रयोग गरिने विधि अपनाएँ – यो त केवल एउटा संवेदना मात्र हो, ठूलो कुरा केही होइन। हातमा गुदगुदी गर्दा होस्, चिमोट्दा होस्, कोतर्दा होस्, वा काट्दा होस् – यो त शारीरिक संवेदना मात्र हो, त्यसभन्दा बढी केही होइन, त्यसैले यसलाई ठूलो कुरा नबनाऊ। यो तरिका केही हदसम्म काम गर्यो, तर त्यसपछि मलाई तोङ्लेनको याद आयो। त्यो समय तिब्बतमा अत्यन्तै धेरै दमन र यातना भइरहेको बेला थियो। मैले त्यहाँका मानिसहरूले भोगिरहेका अकल्पनीय पीडाबारे सोच्न थालेँ, र त्यससँग तुलना गर्दा मैले भोगिरहेको पीडा त केही पनि थिएन, त्यो सामान्य थियो। त्यो दुई मिनेटजति मात्र रहन्थ्यो र त्यसपछि समाप्त भइहाल्थ्यो।
त्यसैले, "बेचारा म, म दुःख भोगिरहेको छु" भनेर सोच्नुको सट्टा मैले आफ्नो दृष्टिकोणलाई फराकिलो बनाएर तिब्बतका ती सबै मानिसहरूको बारेमा सोचेँ र सोचेँ, "उनीहरूले भोगेको दुःखको मात्रा मैले भोगेको यो सानो दुःखभन्दा धेरै गुणा बढी छ," र यसले मेरो दुःखलाई पूर्ण रूपमा फरक दृष्टिकोणबाट हेर्न मद्दत गर्यो। त्यसपछि मैले सोचेँ, "उनीहरूको सबै दुःख र पीडा मेरो जबडाको यस पीडामा समाहित होस्, र म यस अवस्थामा शान्त र खुशी रहँदा, म उनीहरूलाई त्यो मानसिक शान्ति दिन सकूँ।"
यद्यपि मैले यो विधि १०० प्रतिशत सही तरिकाले गर्न सकेको थिइनँ, तैपनि यस अवस्थासँग जुध्न यसले अत्यन्तै धेरै मद्दत गर्यो। यदि यसलाई सही रूपमा गर्न सकियो भने, वास्तवमै अरूको पीडा आफूले अनुभूति गर्न चाहने, र त्यो पीडाले आफ्नै पीडालाई अझ बढाओस् भन्ने चाहना पनि हुन्छ। इमानदारीपूर्वक भन्नुपर्दा, त्यसरी साँचो मनले गर्न सक्नु भनेको निकै उच्च स्तरको अभ्यास हो। शब्दमा त भन्न सकिन्छ, तर त्यसले मात्र केही अर्थ राख्दैन। साँच्चै नै त्यस्तो हुन देऊँ भन्ने चाहना राख्नु भनेको अर्कै कुरा हो। तर कम्तीमा पनि उनीहरूको दुःख आफूमा तानेर लिने अनुभूति, र आफूले भोगिरहेको यो दुःख उनीहरूले भोगिरहेका दुःखका लागि पर्याप्त होस् भन्ने भावना – कम्तीमा त्यो स्तरसम्म भने यो अभ्यास सम्भव छ।
तर यसलाई वास्तविक अभ्याससँग भ्रमित गर्नु हुँदैन। वास्तविक अभ्यास भनेको अझ धेरै गहिरो र आमूल परिवर्तनकारी हुन्छ। किनभने यहाँ तपाईंले विकास गरिरहनुभएको र प्रयोग गरिरहनुभएको मानसिक अवस्था यस्तो हो, पीडासँग लड्नुको सट्टा, आफू यसलाई सम्हाल्न सक्षम छु भन्ने आत्मविश्वासका साथ तपाईं स्वेच्छाले त्यसलाई स्वीकार गर्नुहुन्छ। यदि तपाईं यो अभ्यास सबै प्राणीहरूको दुःखलाई समेट्ने यति ठूलो स्तरमा गरिरहनुभएको छ भने, स्वाभाविक रूपमा तपाईंमा आफ्नै पीडालाई पनि स्वीकार गर्ने र त्यससँग जुध्ने आत्मविश्वास हुन्छ, त्यससँग लड्ने होइन, त्यसबाट आतंकित हुने पनि होइन। त्यसैले यो कुनै जादुई विधि होइन; यदि यसमा के भइरहेको छ भनेर विश्लेषण गर्नुभयो भने, यो अत्यन्तै अर्थपूर्ण र तर्कसंगत लाग्छ।
सारांश
यी त मन प्रशिक्षण (लोजोङ) मा प्रयोग गरिने केही विधिहरू हुन्, जसको उद्देश्य आत्मकेन्द्रितता (आफूलाई मात्र प्राथमिकता दिने बानी) लाई पार गर्नु र हाम्रो मुख्य चासो अरूप्रति केन्द्रित गर्नु हो। हाम्रो प्रेरणाको स्तर जे भए पनि, यस्तो दृष्टिकोणको परिवर्तन अत्यन्तै उपयोगी हुन्छ। यसबाट आउने आत्म-रूपान्तरण भनेको सोच्ने र साँचो मनले महसुस गर्ने क्षमता हो, "जे जस्तो प्रतिकूल, कठिन परिस्थितिहरू आए पनि, म 'म कस्तो बिचरा' भनेर सोच्ने छैन र त्यसले मलाई हानि पुऱ्याउन दिने छैन।
यसको सट्टा, जीवनप्रतिको एउटा सामान्य दृष्टिकोण विकास हुन्छ: “जे भए पनि, म यसलाई रूपान्तरण गर्न सक्छु। म यसलाई अरूप्रति अझ बढी करुणा र चासो विकास गर्न प्रयोग गर्न सक्छु। यो कुनै बाधा बन्ने छैन।” यस्तो दृष्टिकोण राख्न सक्नुले जीवनमा अपार साहस प्रदान गर्छ। म यसलाई मलाई निराश पार्न दिनेछैन।" यसको सट्टा, हामी जीवनमा यस्तो सामान्य दृष्टिकोण विकास गर्छौं कि "जे भए पनि, म यसलाई रूपान्तरण गर्न सक्छु। म यसलाई अरूको लागि बढी चासो विकास गर्न प्रयोग गर्न सक्छु। यो कुनै बाधा बन्नेछैन।" यस्तो दृष्टिकोणले तपाईंलाई जीवनमा अपार साहस दिन्छ।